कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्वतमा परिवर्तन

उत्तमबाबु श्रेष्ठ

१७९९ जून ५ मा ३२ वर्षीय जर्मन अन्वेषक, भूगोलवेत्ता, वातावरणविद् अलेक्जन्डर फोन हम्बल्ट ल्याटिन अमेरिकाको यात्रामा निस्किए । भेनेजुयला अनि क्युबा हुँदै १८०२ जनवरी ६ मा उनी झन्डै भूमध्यरेखामा अवस्थित इक्वेडरको राजधानी कितो पुगे, जहाँबाट उनको एन्डिज पर्वत शृंखलामा पर्ने चिमबोराजो पर्वतको आरोहण सुरु भयो ।

पर्वतमा परिवर्तन

१८४१ मा जर्ज एभरेस्टले सगरमाथा पत्ता लगाउनुअघिसम्म ६,२६८ मिटर अग्लो चिमबोराजोलाई संसारकै उच्च हिमशिखर मानिन्थ्यो । त्यसैले चिमबोराजोको ५,८७८ मिटर उचाइमा पुगेका हम्बल्ट त्यसपछिका ४० वर्षसम्म उच्च शिखर पुग्ने संसारकै पहिलो आरोही बनिरहे । यद्यपि उनको पर्वतारोहणको उद्देश्य कीर्तिमान कायम गर्ने नभई पर्वतीय अध्ययन–अनुसन्धानको प्रारम्भ गर्नु थियो । एकैसाथ भूमध्यरेखादेखि हिमरेखासम्म छिचोलेका हम्बल्टले चिमबोराजोको वातावरणीय चित्रणमा लेखे— जीवन्त, विविधतापूर्ण, परस्पर जालोझैं जेलिएको परिवर्तनशील पर्वत ।


चिमबोराजोबारे हम्बल्टको चित्रण यताको सगरमाथासम्म पनि मिल्छ । युरोपको आल्प्स्देखि एसियाको हिमालय र ल्याटिन अमेरिकाको एन्डिजसम्मका पर्वतहरूमा एकरूपता पाइन्छ । अध्ययनहरूले पुष्टि गरेका छन्— पर्वतमा जति जैविक र सांस्कृतिक विविधता पृथ्वीको कुनै पनि भूभागमा पाइँदैन ।


जैविक विविधताको केन्द्र

पर्वतहरू जैविक विविधताका केन्द्र हुन् । एउटा पर्वतीय ढलानमा फरक हावापानी पाइने र त्यहाँको उबडखाबडले स्थानीय छुटै वासस्थान (निस) बनाइदिने भएकाले पर्वतहरूमा विविधतापूर्ण जीवन सम्भव हुन्छ । पर्वतले २५ प्रतिशत भूभाग मात्रै ओगटे पनि पृथ्वीमा पाइने ८७ प्रतिशतभन्दा बढी उभयचर, चराचुरुंगी र स्तनधारी जीवजन्तु पर्वतीय क्षेत्रमा पाइन्छन् । पर्वतीय क्षेत्रमा पाइने धेरैजसो वनस्पति र जीवजन्तुहरू रैथाने अर्थात् अन्यत्र नभेटिने छन् । रैथाने प्रजातिको प्रचुरता र अतुलनीय विविधताका कारण पर्वतलाई वैज्ञानिकहरू पृथ्वीको जैविक विविधताको केन्द्र (हटस्पट) भन्छन् । पर्वतीय क्षेत्र जैविक विविधतासँगै खाद्य विविधतामा पनि धनी छ । मानवजातिले अहिलेसम्म घरेलुकरण गरेका २० महत्त्वपूर्ण खाद्य बालीमध्ये मकै, गहुँ, जौ, आलु, स्याउ, गोलभेँडा आदिको उत्पत्तिस्थल नै पर्वत हो । पर्वतीय क्षेत्रमा पाइने जैविक र खाद्य विविधताले विविधतापूर्ण संस्कृति निर्माणलाई सहज तुल्यायो र पर्वतीय क्षेत्र सांस्कृतिक विविधताको केन्द्र पनि बन्न पुग्यो । उदाहरणका लागि, सांस्कृतिक विविधताको एउटा सूचकांक भाषिक विविधतामा पर्वतीय क्षेत्रहरू संसारमै अग्रणी छन् ।


हाल विश्वका करिब १२ प्रतिशत मानिस पर्वतीय क्षेत्रभित्र बसोबास गरे पनि विश्वको आधाजति जनसंख्यालाई पर्वतले विभिन्न वातावरणीय सेवा–सुविधा दिएको छ । पर्वतले मानवीय आवश्यकताका पिउने पानी, खाद्यान्न, वन पैदावार, जैविक विविधता, खनिज पदार्थ, जलविद्युतीय ऊर्जा र सुन्दरता जस्ता अनेक सेवा–सुविधा प्रदान गर्छ । विश्वका अन्य पर्वत शृंखलाका तुलनामा हिमालय क्षेत्रमा यस्ता सेवा–सुविधा लिने जनसंख्या सबैभन्दा उच्च छ । हिमालय क्षेत्र एसियाका १० प्रमुख नदीको उद्गमथलो हो । विश्वभरमा सबैभन्दा धेरै जलविद्युत् बाँधको घनत्व यसै क्षेत्रमा छ । यहाँ विश्वका ३३० वटा महत्त्वपूर्ण चराका वासस्थल र चार जैविक विविधता केन्द्र छन् । साथै यो क्षेत्र भाषिक, सांस्कृतिक, धार्मिक विविधताको संगमस्थल पनि हो । तर यतिखेर हिमालय लगायतका विश्वभरका पर्वतीय क्षेत्रहरूमा वातावरणीय, सामाजिक र आर्थिक परिवर्तनको लहर देख्न सकिन्छ । पृथ्वीकै कान्छो पर्वत शृंखला भएकाले पनि हिमालको बनोट अन्य पर्वतीय क्षेत्रहरूको भन्दा नाजुक छ । भौगोलिक हिसाबले बाढी–पहिरो र भूकम्पीय जोखिम बढी छ । त्यस कारण हिमालय क्षेत्रमा जलवायु लगायतका परिवर्तनहरूको प्रभाव अन्यत्रभन्दा गहिरो छ ।


पर्वतमा जलवायु परिवर्तन

यतिखेर जलवायु परिवर्तनको असर सबैभन्दा बढी परेको कुनै क्षेत्र पृथ्वीमा छ भने त्यो पर्वतीय क्षेत्र नै हो । आल्प्स्देखि एन्डिजसम्म, हिमालयदेखि रक्की पर्वतसम्मका विश्वभरका पर्वतहरू, त्यहाँको पर्यावरण र त्यसवरपर बस्ने समुदायहरू जलवायु परिवर्तनको चपेटामा छन् । जलवायु परिवर्तनको अन्तरदेशीय निकाय आईपीसीसीले भर्खरै सार्वजनिक गरेको ‘सामुद्रिक र हिउँले पुरिएका क्षेत्रहरूको विशेष प्रतिवेदन’ अनुसार, विश्वका पर्वतीय क्षेत्रहरूमा तापमान बढ्ने क्रम पृथ्वीको तापमान वृद्घिदरभन्दा ३३ प्रतिशतले उच्च छ । विश्वका पर्वतीय क्षेत्रहरू प्रतिदशक ०.३ डिग्री सेल्सियसका दरले तात्दै छन् । पर्वतीय क्षेत्रहरूमा वर्षात र हिउँ पर्ने समय, अवधि र तीव्रतामा पनि फेरबदल भइरहेको छ । बढ्दो तापमानका कारण जमिनलाई हिउँले छोप्ने अवधि छोट्टिएको छ र हिउँको मात्रा घट्दो छ । पछिल्ला केही दशकयता हिमनदी र स्थायी–तुषार (पर्माफ्रोस्ट) क्षेत्रको पग्लने क्रममा तीव्रता आएको छ ।


जलवायु परिवर्तनसँग हिउँ पर्ने समय, जम्ने अवधि र हिउँले ओगटेको क्षेत्रमा आएका यस्ता परिवर्तनहरूले बाढी–पहिरो र हिमपहिरोको जोखिम बढाएका छन् । यस क्षेत्रमा बढिरहेको जनसंख्या, पर्यटन र पूर्वाधारको विकासले प्रकोपसँगको मानवीय सामीप्य झनै बढाएको छ । तापक्रम र वर्षात चक्रमा आएको फेरबदलका कारण नदीहरूको बहाव बदलिएको छ, जसले गर्दा पानीको आपूर्ति र कृषि उत्पादनमा प्रत्यक्ष प्रभाव पर्न थालेको छ । हिमालय क्षेत्रमा कृषि उत्पादनमा ह्रास आउन थालेको छ । जलवायु परिवर्तनका कारण जलविद्युत्, पर्यटन र सांस्कृतिक क्षेत्रहरूमा समेत नकारात्मक असर परिरहेको छ भने, पानीको संकटका कारण बसाइँ सर्ने क्रम पनि देखिन थालेको छ । यद्यपि हाल नेपालका पहाडी भूभागमा देखिएको पानीको मूल सुक्ने समस्यामा भने जलवायु परिवर्तनभन्दा पनि स्थानीय भू–उपयोगमा आएको फेरबदल र पानीको कमजोर व्यवस्थापन बढी जिम्मेवार छन् ।


वर्तमानमा मात्रै होइन, भविष्यमा पनि सबै पर्वतीय क्षेत्रहरू, विशेष गरी हिमालयमा जलवायु परिवर्तनको असर र जोखिम झनै बढ्ने अध्ययनहरूले देखाएका छन् । इसिमोडले यसै वर्ष प्रकाशित गरेको एउटा अध्ययन अनुसार, पृथ्वीको तापमान वृद्घि भविष्यमा १.५ डिग्री सेल्सियसमै सीमित भए पनि हिमालय क्षेत्रको तापमान १.८ डिग्रीले वृद्घि हुनेछ । पृथ्वीको तापमान वृद्घिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने सहमति पेरिस सम्झौता अन्तर्गत गरिएको हो । सबै कुरा पेरिस सम्झौता अनुरूप भए पनि सन् २१०० सम्ममा हिमालय क्षेत्रका ३६ प्रतिशत हिमनदी मासिने उल्लेख उक्त प्रतिवेदनमा छ । यद्यपि अमेरिकाले पेरिस सम्झौताबाट हात झिकेकाले र विश्वमा जलवायु परिवर्तनको कारक हरितगृह ग्यास उत्सर्जनमा खासै कमी नआएकाले पेरिस सम्झौताले निर्दिष्ट गरेको लक्ष्यभन्दा धेरै तापमान बढ्ने अनुमान गर्न सकिन्छ ।


कार्बन उत्सर्जनको सबैभन्दा खराब परिदृश्यमा हिमालय क्षेत्रको तापमान ४.२ देखि ६.५ डिग्री सेल्सियससम्म बढ्ने अनुमान गरिएको छ । त्यस्तो अवस्था आए हिमालय क्षेत्रका ६४ प्रतिशत हिमनदी सन् २१०० सम्म नासिने कुरा इसिमोडको प्रतिवेदनमा जनाइएको छ । भविष्यमा हिमाली क्षेत्रमा, विशेष गरी मनसुनको समयमा ठूला वर्षातको परिमाण बढ्नेछ, जसले गर्दा बाढी–पहिरो, हिमपहिरो र त्योसँगै आउने अन्य प्रकोप बढ्न सक्नेछन् । वर्तमान र भविष्यमा हुने मौसम परिवर्तनले यहाँका वनस्पति, जीवजन्तुका आनीबानी, फूल फुल्ने समयदेखि वासस्थानमा समेत व्यापक फेरबदल ल्याउनेछन् । हावापानी, जलप्रवाह, पर्यावरण, कृषि र प्रकोपमा एकपछि अर्को फेरबदलले हिमालय लगायतका संसारभरका पर्वतीय क्षेत्रहरूको सुन्दरता, जैविक विविधता, जलचक्र र सांस्कृतिक पक्षमा उतारचढाव आउनेछ, किनभने ती सबै एकअर्कामा निर्भर छन् र जालोझैं जोडिएका छन् ।


जेलिएको सम्बन्ध

२२० वर्षपहिले चिमबोराजो पर्वतको अध्ययनपछि अलेक्जेन्डर फोन हम्बल्टले पर्वत, हावापानी र वानस्पतिक संरचनाको सम्बन्धलाई जटिल जालोजस्तै जेलिएको बताएका थिए । उनका अनुसार, पर्वतमा पाइने सानो झ्याउदेखि किरासम्मको अस्तित्व अलग्गै सम्भव छैन । त्यस जीवन्त प्रणालीभित्रको एउटा अवयवलाई हटाइदिने हो भने त्यसले अर्कोलाई असर गर्छ । हम्बल्टले महसुस गरेजस्तो सम्बद्धता (कनेक्टेडनेस) हिमालय क्षेत्रमा पनि पाइन्छ । हिमालय नहुँदो हो त दक्षिण एसियाको धेरै भूभाग मरुभूमि हुन सक्थ्यो । हिमालले हावामा भएको आर्द्रतालाई चिस्याएर हिउँ र वर्षामा रूपान्तरण गरिदिनाले यहाँको जलचक्र र जीवन चलेको छ । हिमालले नै हिउँदमा पनि तल्ला तटीय क्षेत्रहरूमा पानी आपूर्ति गराएको छ । जलचक्रले विविध वानस्पतिक संरचना र जैविक विविधताको उत्पत्ति सम्भव तुल्याएको छ । तर ती सम्बन्धहरूमा यतिखेर जलवायु परिवर्तन र मानवीय अतिक्रमणका कारण बदलाव आइरहेको छ । जस्तै— तापक्रम बढ्दा हिमालमा पाइने वानस्पतिक क्षेत्रहरूको संकुचन हुन्छ । हिउँ पग्लिएपछि जंगल नासिन्छ र पानी आपूर्ति गर्ने प्राकृतिक क्षमता कमजोर बन्दै जान्छ ।


यस्तो जटिल रूपमा जेलिएको सम्बन्धको नासिने जोखिम पनि बढी नै हुन्छ । त्यसैले यतिखेर जलवायु परिवर्तन र मानवीय अतिक्रमणको चपेटामा परेका संसारभरका पर्वतहरूको चुनौती पर्वतजस्तै अग्लो छ । नेपालमा पनि आफै पहिरो र भूकम्पीयको जोखिम भएको पर्वतीय क्षेत्रमाथि जथाभावी डोजर चलाउनाले र जंगलको फँडानी गर्नाले पहिरो र माटोको क्षयीकरण बढेको छ । नदीमा जथाभावी बालुवा र ढुंगाखानीको सञ्चालनले बाढीको प्रभावलाई झनै विस्तार गरेको छ । तर पर्वतका यस्ता मौलिक संरचनागत जटिलता र यसका बहुआयामिक सम्बन्धहरू बुझ्ने क्रममा भने हामीमा यतिखेर अनौठो एकाकीपन देखा परिरहेको छ । वर्तमानमा हामी पूर्वाधारको कुरा गर्दा वातावरण बिर्सन्छौं । पानीको कुरा गर्दा जंगल भुल्छौं । जंगलको कुरा गर्दा कृषि छोड्छौं । कृषिको कुरा गर्दा माटो बेवास्ता गर्छौं र माटोको कुरा गर्दा कीटपतङ्गलाई अलग राख्छौं । तर वास्तविक संसारमा, अझ हाम्रोजस्तो पर्वतीय क्षेत्रमा हम्बल्टले भनेजस्तै ती सबै अवयव आपसमा कपडा बुनेजस्तै जेलिएर रहेका हुन्छन् । त्यस्तो सम्बन्धलाई नबुझ्नु भनेको थप जोखिम निम्त्याउनु हो ।


अन्त्यमा, सन् २००३ यता संयुक्त राष्ट्रसंघले डिसेम्बर ११ लाई विश्व पर्वतीय दिवसका रूपमा मनाउँदै आइरहेको छ । यसको मुख्य उद्देश्य दिगो पर्वतीय विकासका लागि जनचेतना जगाउनु हो । पर्वतीय क्षेत्रको दिगो विकासका लागि पर्वत र जीवनको अन्तर्निहित सम्बन्ध बुझ्न आवश्यक छ । हम्बल्टले भनेजस्तै पर्वतसँग हावापानी, जैविक विविधता र मानव जीवन जालोझैं जेलिएको हुन्छ । पर्वतीय क्षेत्रमा बसेका हाम्रो विकासको सोच र कर्ममा त्यो जालोजस्तै जेलिएको सम्बन्ध उजागर हुन जरुरी छ ।

प्रकाशित : मंसिर २५, २०७६ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?