१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

साइकल लेनको सकारात्मक सुरुवात

सम्पादकीय

काठमाडौँ — ललितपुर महानगरपालिकाले सहरमा साइकल लेन बनाउन लिएको अग्रसरता प्रशंसनीय छ । वाग्मती पुलदेखि कुपन्डोल, पुल्चोक, जावलाखेल हुँदै लगनखेलसम्म जोड्ने पहिलो चरणको साइकल लेन बनाउने कार्यको ललितपुरका मेयर चिरिबाबु महर्जनले शनिबार सुरुवात गरेका छन् ।

साइकल लेनको सकारात्मक सुरुवात

त्यसपछि लगनखेलबाट मंगलबजार र पुल्चोकबाट मंगलबजारसम्म पनि साइकल रुट निर्माण गर्ने योजना बनाइएको छ । शनिबारको सुरुवात भने वाग्मती पुलदेखि कुपन्डोलको छाता गणेशसम्म मोटर गुडिरहेको सडककै छेउमा सेतो इनामेल पोतेर गरिएको छ, जो आफैंमा साइकल–अभियानको आरम्भ मात्र हो । सहरलाई दिगो र व्यावहारिक ढंगले साइकलमैत्री बनाउँदै लैजाने हो भने गर्नुपर्ने काम धेरै छन् ।


कुनै बेला काठमाडौं महानगरपालिकाले पनि माइतीघरदेखि तीनकुनेसम्म साइकल लेन बनाउने घोषणा गरेको थियो । त्यसअनुसार लेन पनि बनाइयो, तर त्यो अपूरो र अव्यावहारिक भइदियो । साइकल लेनमा रहेका अवरोधहरू हटेनन्, खाल्डाखुल्डी मिलाउने काम पनि भएन । फुटपाथ मिचिएझैं साइकल लेनसमेत मिचिँदै गयो ।


अहिले त्यो साइकल लेनको धेरै खण्ड मोटरसाइकल पार्किङ गर्ने ठाउँसरह बनेको छ । त्यहाँको विफलताले हामीकहाँ कुनै पनि नयाँ अभियानको घोषणा गर्नु र बनाउनु ठूलो कुरा होइन, त्यसलाई लागू गर्नु, निरन्तरता दिनु र मर्मत–सम्भार गरिरहनु मुख्य कुरा हो भन्ने यथार्थलाई सम्झाउँछ । त्यसैले साइकल लेन बनाउने ललितपुरको सुरुवात आफैंमा सकारात्मक भए पनि यसको कार्यान्वयन र निरन्तरता चुनौतीरहित छैन । त्यो चुनौतीलाई चिर्न सके मात्र मेयर महर्जन र साइकलप्रेमी समुदायले शनिबारबाट थालेको अभियानले साथर्कता पाउनेछ ।


निश्चय पनि साइकलयात्रालाई सहज, सुरक्षित र व्यवस्थित बनाउने प्रयासको पहिलो खुड्किलो यसका निम्ति चाहिने लेनको निर्माण नै हो । यति ठूला महानगरहरूमा एउटा पनि साइकल लेन नहुँदा तीव्र गतिमा हुँइकिने मोटरहरूमाझ बच्दै–जोगिँदै व्यस्त सडकमा पाइडल खियाउनु आफैंमा जोखिमपूर्ण कार्य हो । त्यो कति असुरक्षित छ भन्ने कुरा सुपरिचित संरक्षणविद् प्रल्हाद योञ्जनले साइकल चलाउँदा ट्रकको ठक्करबाट ज्यान गुमाउनुपरेको लगायत यस्ता अन्य थुप्रै घटनाले हामीलाई सम्झाइरहन्छन् । काठमाडौं उपत्यकाका सडकहरू जोखिमपूर्ण भएकै कारण धेरैजना साइकल चलाउन हच्किने गरेका हुन् । त्यसैले सुरक्षित साइकल लेन बनाउने हो भने यसको प्रयोगतर्फ धेरैको आकर्षण बढ्छ ।


पछिल्लो समय साइकलप्रेमी समूह बढ्दै जानुका पछाडि मानिसहरू आफ्नो शरीर र सहर दुवैको स्वास्थ्यप्रति सचेत बन्दै गएका कारण पनि हो । साइकलको सवारी मानवीय स्वास्थ्यका निम्ति त फाइदाजनक हुन्छ नै, यसले मोटरगाडीहरूले जस्तो वायु प्रदूषण पनि नगर्ने भएकाले कम खर्चिलो वातावरणमैत्री साधनसमेत हो । साइकलको प्रयोग बढ्न थाल्यो र गाडीको चाप घट्न थाल्यो भने सहर पनि सुन्दर देखिन्छ ।


विकसित मुलुकहरूमा साइकलको प्रयोग किन बढिरहेको छ भन्ने कुरामा हामीले अलिकति मात्र ध्यान दियौं भने पनि यो कुरा सजिलै बुझ्न सक्छौं । काठमाडौंकै कुरा गर्दा पनि साइकललाई मोटरसाइकल र मोटरगाडीहरूले नपेल्दासम्म यो ठाउँ अहिलेजति प्रदूषित र असुरक्षित थिएन भन्ने कुरा धेरैको स्मरणमा ताजै छ ।


साइकल लेन बनाउँदा सकभर मोटर दगुर्ने बाटोभन्दा छुट्टै सडक–बारको भित्रपट्टि फुटपाथसँगै बनाउँदा सबभन्दा राम्रो हुन्छ । सडकको डिजाइन वा विस्तार गर्दा नै यो कुरालाई अनिवार्य गरिनुपर्छ । बाटो भनेको पैदलयात्रुका निम्ति फुटपाथ, साइकलका निम्ति लेन र गाडीका निम्ति सडक हो भन्ने अवधारणालाई सबैले आत्मसात् गर्नुपर्छ । अहिले ललितपुरमा सडककै किनारमा सेतो लाइन पोतेर साइकलका निम्ति लेन छुट्याउन थालिएको छ ।


साइकल लेन बनाइनु आफैंमा राम्रो सुरुवात हो, तर यस्तो लेन जोखिमरहित भने छैन । कालोपत्रे सडकमै सेतो धर्सा र साइकलको चिह्न राख्दा मात्र गाडीको अतिक्रमणबाट जोगिन गाह्रो पर्न सक्छ । यदि मोटरमार्गसँगै साइकल लेन बनाउने हो भने त्यहाँ धर्सा कोरेर मात्र पुग्दैन, साइकल चलाइने भुइँलाई पूरै पहेँलो वा रातो बनाउनुपर्छ, ताकि त्यहाँ गाडीहरू नचलुन् ।


ललितपुर महानगरपालिकाले सुरु गरेको साइकल अभियानलाई काठमाडौं, भक्तपुर, बूढानीलकण्ठ, गोदावरी, नागार्जुनलगायत राजधानीका अन्य नगरपालिकाहरूले पनि आत्मसात् गर्नुपर्छ । फेरि यो कुनै सरकारी निकायको जोडबलमा मात्र सम्भव हुने काम होइन । सहरलाई साइकलमैत्री बनाउने हो भने त्यसका निम्ति सहरवासी आफैं अग्रसर हुनुपर्छ ।


प्रकाशित : मंसिर १६, २०७६ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?