कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

के माननीय, के सर्वसाधारण

गौरी तमू

बेलायती लेबर पार्टीकी सांसद एवं ‘अ हिस्ट्री अफ वुमन इन पार्लियामेन्ट’ पुस्तक लेखक रेचल रिभ्सले बेलायतमा आगामी डिसेम्बर १२ मा हुन लागेको आमनिर्वाचनलाई लक्षित गर्दै भनेकी छन्, ‘हत्याको धम्की पाउनु बेलायती महिला सांसदका लागि नियमितताजस्तो भएको छ ।’

के माननीय, के सर्वसाधारण

निर्वाचनमा हुने दुर्व्यवहार, बलात्कार र हत्याको धम्कीकै कारण अहिलेसम्म १८ महिला सांसदले भाग नलिने घोषणा गरिसकेका छन् । यता नेपालमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको पहिल्यै दिन महिला पुन:स्थापना केन्द्र (ओरेक) ले सार्वजनिक गरेको पुस्तक ‘अन्वेषी’ मा गत आर्थिक वर्षमा मुलुकभर ६६.७२ प्रतिशत महिला घरेलु हिंसामा परेको उल्लेख छ ।


देश विकसित होओस् या अविकसित, घर शिक्षित होओस् या अशिक्षित, महिलामाथि हुने हत्या, हिंसा र बलात्कारका घटना अझै उस्तै छन् । समाजलाई सतही रूपमा नियाल्दा अशिक्षित, आर्थिक रूपले पुरुषमा निर्भर महिलामात्रै पीडामा छन् कि जस्तो लाग्छ । तर यथार्थमा शिक्षित, कामकाजी र आर्थिक रूपले सक्षम महिलाको पीडाको पहाड झन् सामान्य महिलाका तुलनामा अझै डरलाग्दो छ ।


केही दिनअघि म एउटा कार्यक्रममा सहभागी थिएँ । प्रमुख अतिथि हुनुहुन्थ्यो महिला माननीय, जसलाई म ‘दिदी’ भन्ने गर्थें । अचेल दिन छोट्टिँदै गएकाले, डेढ घण्टाको कार्यक्रम सकिँदा साँझ ६ बजिहाल्यो । कार्यक्रमपछि माननीय प्रमुख अतिथिलाई संस्थाका कार्यसमिति सदस्यसँगै बसेर खाना खान अध्यक्षले अनुरोध गर्न थाले, माननीय दिदीचाहिँ खाना खानभन्दा घर जान अतालिइरहनुभएको थियो । निकै करबल भएपछि उहाँ खाना खाएर जान मन्जुर त हुनुभयो, तर उहाँको फोन निरन्तर बजिरह्यो । निकै पटक फोन आएपछि ‘एकछिन है’ भनेर दिदी फोन रिसिभ गर्दै बाहिरिनुभयो । फर्किंदा उहाँको अनुहार अघिभन्दा झन् अँध्यारो थियो । मैले बेलाबेला अनुहारतिर हेर्दा उहाँ मुस्काउनुहुन्थ्यो मात्रै ।


कार्यक्रमको समीक्षासहितको डिनर गरिसक्दा सातै बज्यो । हतार–हतार छुट्ने बेला माननीय दिदीले मसँग साउती गर्नुभयो, ‘हामी महिलालाई घरपरिवार र बालबच्चा सम्हालेरभन्दा पनि लोग्नेको चित्त बुझाएर हिँड्न गाह्रो छ । घरबाट तारन्तार फोन आइरहेको छ, कति बेला आउने भनेर । म हिँडेँ है !’


माननीय दिदीको कुरा मनमा खेलाइरहेका बेला केही समयअगाडि चितवनमा भेटेकी साथीको दुखेसो याद आयो । ऊ विवाह हुनु अगाडिदेखि नै सौन्दर्य पेसामा आबद्ध थिई । पार्लरमा दुई–तीन जना स्टाफ पनि राखेकी थिई । पार्लर सम्बन्धी सेवा र ट्रेनिङबाट राम्रै आम्दानी हुन्थ्यो । आफ्नै खुट्टामा उभिएकी उसले करिब एक दशकअगाडि प्रेमविवाह गरेकी थिई । विवाहपछि दुई–चार वर्ष त राम्रै बित्यो, तर बिस्तारै उसका लेक्चरर श्रीमान्‌लाई सौन्दर्य पेसा मनपर्न छोड्यो । भन्न थालेछन्, ‘बरु स्टेसनरी पसल गर; म लगानी गरिदिन्छु । तिम्रो कारणले साथीभाइ र इष्टमित्रबीच मेरो बेइज्जत भयो ।’ यही कुराले घरमा दिनहुँजसो झगडा हुन थाल्यो । नौ वर्षकी छोरी लिएर ऊ नजिकै रहेको माइत बस्न थाली । मैले भेट्दा पनि माइतबाटै पार्लर आउ–जाउ गर्दिरहिछ ।


मसँग यति दुखेसो पोखिसक्दा उसका आँखा रसाइसकेका थिए । ऊ भन्दै थिई, ‘म सानो मेहनत र संघर्षले यो ठाउँमा आइपुगेको होइन नि साथी ! उसको काम र सपनालाई मैले सम्मान र सपोर्ट गर्छु भने उसले पनि त मेरो कामलाई सम्मान र सपोर्ट गर्नु पर्दैन ? छोरीका लागि भए पनि सँगै त बस्नुपर्ने हो, तर दिनहुँको झगडा र मानसिक तनाव भएपछि सकिएन । अब हामी चाँडै अलग्गिन्छौं होला !’


माथिका दुइटै प्रसङ्गले बताउँछन् भने महिला चाहे जुनसुकै ओहदामा होऊन् या आर्थिक रूपले सक्षम नै किन नहोऊन्, उनीहरूका पीडा उस्तै छन् । अहिलेका महिला चुलाचौकामा मात्रै सीमित छैनन्, जिम्मेवारी झनै बढ्दो छ । महिलालाई घरपरिवार, बालबच्चा र जागिर सँगसँगै सम्हाल्नुपर्ने बाध्यता छ । विडम्बना, महिलाले कुनै कार्यक्रम वा भेटघाटमा जानुअगाडि परिवार वा लोग्नेको अनुमति लिनुपर्ने र फर्किंदा ढिलो भए प्रस्टीकरण दिनुपर्ने मात्रै होइन, श्रीमान् र घरपरिवारको अनुमति र रुचि अनुसारकै जागिर वा पेसा गर्नुपर्छ भन्ने पितृसत्तात्मक सोच अझै हावी छ । श्रीमान् त्यसै गरी कुनै कार्यक्रमबाट घर आउन ढिला हुँदाचाहिँ न परिवारलाई प्रस्टीकरण दिनुपर्ने हुन्छ, न त समाजले नै प्रश्न गर्छ ! समय बदलियो, समाज बदलियो, तर महिलाप्रतिको सोच अझै बदलिन सकेन ।


जबसम्म समाजले महिलालाई मान्छेका रूपमा स्वीकार गर्न सक्दैन र दोस्रो दर्जाको नागरिकसरह व्यवहार गरिरहन्छ, तबसम्म देश पनि जहाँको तहीँ रहिरहन्छ । यति बेला हामी ‘समानताको पुस्ता बलात्कारविरुद्धको ऐक्यबद्धता’ भन्ने सन्देशसहित, महिलामाथि हुने हिंसाविरुद्धको १६ दिने अभियानमा छौं । यो अभियान केवल अभियानमा मात्रै सीमित नरहोस्; कमसेकम अबको पुस्ताले महिलालाई मान्छे झएर बाँच्न सक्ने वातावरणको सिर्जना गरोस् ।

2073gauri@ gmail.com


प्रकाशित : मंसिर १२, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?