कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माफियाविरुद्ध ‘पागल’ क्लोनहरू

सरिता तिवारी

सोह्रौं शताब्दी । धर्मका नाममा अन्धता र शोषणको शासन भोगिरहेको रोम । त्यही रोम सहरमा जन्मिएका थिए— दार्शनिक, गणितज्ञ, खगोलशास्त्री, कवि जिओर्दानो ब्रुनो । 

माफियाविरुद्ध ‘पागल’ क्लोनहरू

चर्च अत्यन्तै शक्तिशाली र पोपको निर्णय नै सर्वथा मान्यकारी हुने त्यो युग ! पूरै ब्रह्माण्डको केन्द्र पृथ्वी, पृथ्वीलाई विधि, विचार र शक्तिले शासन गर्ने केन्द्र रोम अनि रोमको पनि केन्द्र चर्च हो भन्ने मान्यताको जब्बर स्थापना भएको त्यो समय ! अन्धकार र जागरणको सन्धिकालमा निर्माण भएको एउटा सचेत, दुस्साहसी र सत्यप्रिय मानिस हुनुको विडम्बना भनौं, उनी तथ्य र सत्यका प्रेमी भएकै कारण दुर्दान्त मृत्युदण्डको सिकार भए ।


खगोलीय पिण्डहरूको अवस्थितिबारे ‘हेलियोसेन्ट्रिक मोडेल’ का प्रवर्तक निकोलस कोपर्निकसबाट प्रभावित ब्रुनोले ब्रह्माण्डको केन्द्र पृथ्वी होइन, सूर्य हो र पृथ्वीलाई सूर्यले होइन, पृथ्वीले सूर्यको परिक्रमा गर्छ भन्ने विचार फैलाएका थिए । तिनले यतिखेरसम्म जबर्जस्त प्रचलित जिओसेन्ट्रिक (पृथ्वीकेन्द्री) सिद्धान्तलाई खारेज गर्दै आकाश मान्छेका आँखाले देखिएजति मात्रै छैन, त्यो अथाह र अनन्त छ भने । हरेक ताराको आफ्नै परिवार छ (सौर्य परिवार जस्तै), ब्रह्माण्डमा अनगिन्ती ताराहरूले बनेका असंख्य विश्व छन् भने । त्यति मात्रै होइन, चर्चप्रति लक्ष्य गर्दै धर्मलाई असहिष्णु र सीमित बनाइनु हुन्न, फरक धारणाको पनि उत्तिकै सम्मान हुने गरी लचिलो बनाउनुपर्छ समेत भने ।


ब्रह्माण्डीय अस्तित्वबारे परम्परागत विचार र तत्कालीन ‘ज्ञानकेन्द्र’ चर्चमाथि समेत प्रश्न उभ्याइदिएपछि पोप र पादरीहरू उनीसँग आगो भए । उनलाई जेलमा राखेर कठोर यातना दिए । चाहेको भए उनले चर्चका सर्तहरू मानेर सम्झौता गर्न सक्थे । या चुप लागेर बाँकी जिन्दगी कटाउन सक्थे (जसरी उनका उत्तरवर्ती वैज्ञानिक ग्यालिलियो ग्यालिलीले गरे) । तर, निर्भीक र साँचो अर्थमा क्रान्तिकारी ब्रुनो आफ्नो मतबाट एक इन्च पनि डगेनन् । आठ वर्ष लामो यातनापूर्ण काराबासपछि उनी रोम सहरको मध्यचोकमा जिउँदै जलाइए । धर्मविरोधी र चर्चविरोधी भएको, नचाहिँदो हल्ला फिँजाएको आरोपमा मारिएका ब्रुनोको विचार त्यो समयका जनसाधारणले बुझ्न सकेनन् । उल्टै धेरैले उनको विरोध गरेका थिए । अधिकांशले उनलाई मूर्ख भने । पागल भने ।


उनको त्यो सहादत खेर गएको छैन । संसारले समय–समयमा यस्ता विलक्षण ‘पागल’ हरू पाएको छ र नै यो हेर्नलायक छ । सुन्नलायक र अनुभव गर्नलायक छ ।


सत्यनिष्ठाका लागि, नयाँ र प्रामाणिक विचार स्थापित गरेर समाजको सोचलाई भिन्नै आकार दिनका लागि, मानवीय गरिमा र मूल्यको रक्षाका लागि, नयाँ प्रगतिशील विचारका लागि, अधिकार र आत्मसम्मानका लागि बलिदान हुने अधिकांश मानिस सामान्य थिएनन् । ती घस्रिएर बाँचेनन् । डगेर बाँचेनन् । ती आफ्नो इमानको विश्वासमा बाँचे । इमान डगमगिन नदिनकै लागि मर्न तयार भए । यो दुनियाँलाई बाँच्नलायक बनाएर छोड्ने तिनै मानिसहरू हुन् । तिनै ‘पागलहरू’ ! ‘मूर्खहरू’ ! ‘क्रेजीहरू’ !


०००

समाजको खराब दिशातर्फको यात्रालाई, अन्याय र बेइमानीलाई सच्याउन हिँड्ने मान्छे धेरथोर मूर्ख र पागल हुनैपर्छ । यो पनि अब एउटा स्थायी सत्यजस्तो भैसकेको छ । तर यस्तो पागलपनसँग सत्यको आग्रह र त्यसप्रति

कर्ता आफैद्वारा आफूमाथि गर्नुपर्ने निष्ठाको परीक्षण पनि भइरहेको हुनुपर्छ ।


प्रश्न र प्रतिरोधमा ठूलो शक्ति छ । सत्यको बोधले निर्माण भएको प्रतिरोधी चेतनामा विश्वासको जादु हुन्छ । त्यही जादुले मानिसलाई ‘बौलाहा’ र तथाकथित ‘असामाजिक’ बनाउँछ । समाजको मूलधारसँग नमिल्ने ‘अड’ बनाउँछ । यही प्रसंगमा शहीद चिन्तक ब्रुनोको स्मरण गरिएको हो । हामीकहाँ पनि केही थान यस्तै ‘पागल’ छन् । भ्रष्ट चेतनाले बाँचेको समयका कुरूपताको ऐना देखाइदिने पागलहरू । डा. गोविन्द केसी यिनैमध्येका ‘अब्बल पागल’ हुन् । यिनको पागलपन, यिनको लड्ने इच्छाशक्ति र संकल्पको प्रभाव नै हो, शिक्षालाई अकुत र अनियन्त्रित कमाउ पेसा बनाउने वर्ग यतिखेर कलिला विद्यार्थीले गरेको शान्तिपूर्ण विरोधसँग पनि सन्त्रस्त छ । डा. केसीको सतत लडाइँले अस्पतालजस्तो आम मानिसको ध्यान नपुग्ने ठाउँका अनेक तथ्य बाहिर आउने वातावरण बनेको छ । यसले विद्यार्थी डाक्टरहरूमा भरेको आत्मविश्वास र तिनले हाँकेको आन्दोलन प्रशंसायोग्य छ ।


शिक्षा मन्त्रालयले दिएको पछिल्लो अल्टिमेटम अनुसार, गएको आइतबारसम्म अतिरिक्त रकम फिर्ता गरिसक्नुपर्ने वा उक्त रकम समायोजनको पहल थालिनुपर्ने थियो । तर दुवै गरिएन । उल्टै कलेज प्रशासनले विद्यार्थी धम्क्याउन, जोरजबर्जस्ती र धरपकडको उद्यम गर्न थालेको भन्ने आरोपसहित होस्टेलका सबै विद्यार्थी शनिबार साँझ नै होस्टेल छोडेर बाहिर लजमा बसेको भन्ने खबर आएको थियो । र, यो खबर कुनै पनि सचेत मान्छेको दिमागलाई अस्थिर बनाउन पर्याप्त थियो । यो चितवनको प्रसंग हो । वीरगन्जस्थित नेसनल मेडिकल कलेजका प्रदर्शनकारी विद्यार्थीमाथि कलेज प्रशासनको दमन अझ डरलाग्दो र अमानवीय भएका तथ्य बाहिरिएका छन् ।


कसले चलाइरहेको देश हो यो ? देशमा सरकार छ या माफिया आतंकको राज ? सरकारले दिएको अल्टिमेटमलाई नै पङ्गु बनाइदिने यस्तो आँट कहाँबाट आउँछ ? कुन शक्तिले यी चल्छन्, जसले सरकारको बोलीलाई झिंगाबराबर गन्दैन ?


प्रस्ट के हो भने, बजारमा हल्ला सुनिएजस्तै, सरकार र मातहतका मानिसहरू यिनैको पैसाले पालित–पोषित छन् । सत्ताभित्र र बाहिरका सबै मुख्य दल यिनैका बलमा चुनाव लड्छन् । भैपरी आउँदा टार्ने खर्च यिनैबाट पाउँछन् । सरकारी अल्टिमेटम भन्नु पनि त आखिर लोकलाई देखाउने दाह्रा न हो ! जगत्लाई थाहा छ, सरकार दुई थरी दाँतले ‘गेम’ खेल्ने कलामा कतिसम्म पारङ्गत छ !

०००

चितवन मेडिकल कलेज लगायतले विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ताको माग राख्दै केही महिनायता चलिरहेको आन्दोलनकै पछिल्लो कडीस्वरूप अस्ति मंसिर ८ गते चितवनमा ठूलो प्रदर्शन भयो । हामी पुग्दा हातमा माइक लिएर बोलिरहेकी विद्यार्थी नेता मान्यता थापाको जोसिलो स्वर टाढैबाट सुनिन्थ्यो । शनिबारैदेखि सडक प्रदर्शनको तयारी गरिरहेका विद्यार्थी ‘होस्टेल परिसरमा पेस्तोल र म्यागजिन भेटिएको दुष्प्रचार’ गरेर आफूहरूको मनोबल गिराउने प्रयत्न गरिएको भन्दै कलेज प्रशासनसँग झनै क्रुद्ध थिए । मेरो साथमा स्वास्थ्यकर्मी पवित्रा थापा थिइन् । सेतो एप्रोनको भीड छिचोलेर माइकको आवाजसम्म पुग्नु हामीलाई सानोतिनो बाढीमा पसेर किनारमा निस्कनुजस्तै भइरहेको थियो । ‘ऐक्यबद्धताका लागि’ भन्दै मिसिन आइपुगेका सामान्य चिकित्सा र नर्सिङका विद्यार्थी कलेज युनिफर्ममै थिए ।


घाँटीमा स्टेथेस्कोप भिरेर अस्पताल परिसरका चम्किला ग्यालरीहरूमा हिँडिरहेका देखिने विद्यार्थीहरू जायज माग लिएर धूलोमैलो सडकमा निस्किएको धेरै महिना भैसकेको छ । तर विद्यार्थीहरू लगभग एक्लै लडिरहेका छन् । मेडिकल कलेजका साहूवर्गलाई लाग्छ, उपेक्षा र मौनले नै आन्दोलनको तत्कालको गति टार्न सकिन्छ । त्यसपछि देखा जाएगा ! सहरको एउटा सुकिलो, शालीन वर्गलाई यस्ता प्रदर्शन र आन्दोलनले कत्ति पनि छुन्न । सबैभन्दा रोचक आश्चर्य त, ‘विद्यार्थी हकहितका लागि लड्ने’ लडाकुको पगरी भिरेका दलीय विद्यार्थी संगठनको यतिखेरको मौनताभित्र छ । विद्यार्थी संगठनको यो मौनताको अर्थ असाध्यै कुरूप र अश्लील छ । यसले मेडिकल कलेजका साहूहरूसँग दल र विद्यार्थी संगठनकै ‘शुभलाभ’ को सम्बन्धतर्फ सीधै सङ्केत गर्छ ।


डा. केसीले चिकित्सा शिक्षा सुधारको आग्रहमा अनशन बस्दा हरेक पटक पाउने ‘पागल’ को ट्याग अब विद्यार्थीलाई समेत लाग्न थालेको छ । हुन पनि यिनका अनुहारमा धपक्क बलेको कान्तिले सत्रौंपल्टसम्म अविचलित भोकै अनशन बस्ने डा. केसी सम्झाइहाल्छ । निष्ठाप्रेमी जोदाहा एउटा ‘पागल’ को मानसले जन्माएका सयौं क्लोनहरू यी ! आन्दोलन र प्रतिरोधको चेत बोकेका यी विद्यार्थीहरू मानवता, तर्क र विवेकको पक्षमा, सामान्य मान्छेको बाँच्न पाउने, उपचार पाउने हकका पक्षमा डा. केसीजत्तिकै समर्पित डाक्टर हुन सक्लान् ? आज आफ्ना अधिकार रक्षाका लागि लड्ने विद्यार्थी डाक्टरहरू भोलि समाजका लागि, देशका लागि लड्लान ? अहिल्यै त्यसको भविष्यकथन गर्न सकिन्न । कम्तीमा, सेतो एप्रोनभित्र लुकेर कालो धन्दा गर्ने उद्योगका हिमायतीचाहिँ नबन्लान् । यत्ति आशा गरौं ।


विद्यार्थी आन्दोलनको राप उठेको चितवनको सडकछेउ उभिएर गम्दै छु म । यी आवाजका दौड नथामियून्, यी अनुहार भविष्यमा समाजको गतिशील यात्रालाई कुदाउने सारथि बनून् । यो समयले केही थान असल नियतका निर्भीक र जोसिला ‘पागलहरू’ जन्माओस् ।


यति बेला सहमति भए अनुसार, शुल्क फिर्ता वा समायोजन नगर्ने हो भने त्यस्ता मेडिकल कलेजलाई सरकारले राष्ट्रियकरण गर्नुपर्छ भन्ने विषयको समेत उठान हुन थालेका बेला आफ्ना निकटका पात्रहरूलाई संकटमा पारेर तिनका मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न सक्ने सरकारी आँट सम्भव लाग्दैन । तथापि आफूलाई समाजवादोन्मुख दाबी गर्ने पार्टी र उसको सरकारले गर्नुपर्ने चाहिँ यही हो । होइन भने, ‘समाजवादोन्मुख’ शब्दलाई हटाएर ‘दलालवाद, माफियावाद–उन्मुख’ शब्द राखे आजको भद्रगोल पद्धतिसुहाउँदो हुनेछ ।


प्रकाशित : मंसिर ११, २०७६ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?