टुँडिखेलको गौरवगान

मल्ल के. सुन्दर

इपोलिट्टो डेसिडेरी ती पश्चिमी दूत हुन्, जो चर्चको प्रतिनिधिका रूपमा इतिहासमा पहिलो पटक तिब्बत पुगेका थिए । सन् १७१२ मा पोर्चुगलको लिसबनबाट सुरु भएको उनको यात्रा १७२७ मा टुंगिएको थियो । उनी कश्मीर र लद्दाख भएर ल्हासा पुगे, फर्कंदा काठमाडौं भएर हिन्दुस्तानतिर लागे । त्यतिखेर उनले काठमाडौं सहरको पूर्वी किनारमा अत्यन्त ठूलो हरियो चउर देखेको फिलिप्पो द फिलिपीले सम्पादन गरेको उक्त यात्रा वर्णनको पुस्तकमा उल्लेख छ ।

त्यो चउर उत्तरदेखि दक्षिणसम्म करिब तीन माइल लामो र तीन सय गजभन्दा चौडा भएको उल्लेख छ । पुस्तकमा वर्णन गरिएको त्यो खुला चउर टुंडिखेल थियो । बेलायत सरकारको आवासीय प्रतिनिधि भएर सन् १८५० तिर काठमाडौं बसेका हेनरी एम्ब्रोस वल्डफिल्डले आफ्नो पुस्तक ‘स्केचेज फ्रम निपाल’ मा पनि टुँडिखेलका सम्बन्धमा समान खाले विवरण दिएका छन् ।

हाम्रै मुलुकभित्रका वृत्तान्त, लिखत र आख्यानहरूमा टुँडिखेलको इतिहास कान्तिपुर नगरको सभ्यताजत्तिकै प्राचीन र विशिष्ट रहेको पाउँछौं । यद्यपि यसको प्राचीनताका सन्दर्भमा कति पुराना दस्तावेज र प्रमाण छन्, अझै शोधखोजको विषय छ, तथापि लोकजीवनमा प्रचलित आख्यान अनि वंशावलीहरूका विवरण अनुसार लिच्छविकालमै टुंँडिखेल अस्तित्वमा आइसकेको थियो । अद्यापि प्रचलनमा रहेको सांस्कृतिक पर्व घोडेजात्रा लिच्छविहरूकै समयबाट टुँडिखेलमा आयोजना गरिने गरिन्थ्यो भन्ने कथन छ । अचेल नेपाली सेनाले त्यही पर्वलाई परिवर्तित रूपमा निरन्तरता दिंँदै आएको मात्र हो ।

वंशावली अनुसार, राजा गुणकामदेवले खड्गाकारमा दक्षिण वाग्मती किनारदेखि उत्तर ठमेलसम्म तेर्सो गरी कान्तिपुर नगर विस्तार गरेका हुन् । पूर्वमा टुकुचा र पश्चिममा विष्णुमती सीमान्त क्षेत्र थिए । प्रवेशद्वारमा क्षेत्रपालका रूपमा दक्षिणमा पचलीभैरव अनि नगरका आठ कुनामा रक्षकका रूपमा आठ शक्तिपीठ स्थापना गरिए । तीमध्ये पासिक्व अजिमा (हाल नेपाल प्रज्ञा प्रतिष्ठानबाहिर उत्तरतिर सडकको किनारस्थित) शक्तिपीठ, लुँमरी अजिमा (भद्रकाली) र सैनिक हेडक्वाटरको परिसरभित्रको फिब्व अजिमासमेत गरी तीन महत्त्वपूर्ण पीठमाझ टुँडिखेल अवस्थित छ । टुकुचाको किनारमा रहेका ती पीठ कुनै समय रैथानेहरूका दाहसंस्कार गरिने केन्द्र मात्र थिएनन्, शाक्त तथा बज्रयानीहरूले तन्त्र साधना गर्ने आराध्यस्थल पनि हुन् । यसले टुँडिखेलको इतिहास कति परसम्म रहेछ भन्ने झल्को दिन्छ ।

टुँडिखेलको किनारमा अवस्थित एउटा प्रमुख शक्तिपीठ हो— लुँमरी (भद्रकाली), जसलाई लज्जापीठका रूपमा पनि मानिन्छ । आजपर्यन्त भद्रकाली पीठसँग सम्बन्धित पूजा र जात्रा प्रत्यक्षत: टुँडिखेलसँग गाँसिएका छन् । विशेषत: पाँहाचह्रे (घोडेजात्रा) का अवसरमा काठमाडौंमा मनाइने सांस्कृतिक पर्वको क्रममा चैते औंसीको मध्यरात टेवहाल तथा वटु टोलका दुई भद्रकालीका खट र कंकेश्वरीको अर्को खटको मिलन र चिराग साटासाट गर्ने रहस्यमय जात्रा यसै टुँडिखेलको मध्यभागमा सम्पन्न गरिन्छ । वंशावली अनुसार, लुँमरीको स्थापना कलिगत संवत् ३८२५ तिर भएको हो । काठमाडौंको सवलवहालका तान्त्रिक शाश्वतबज्रले आफ्नो ऋद्धिसिद्धिको बलबाट यो पीठ स्थापना गरेको विश्वास गरिन्छ । यी वृत्तान्तसँग टुँडिखेलको सम्बन्धलाई गाँसेर हेर्दा यसको इतिहास अझ शताब्दियौं परसम्म पुग्छ । ऐतिहासिक सामग्रीहरूमा उल्लेख गरिए अनुसार पनि राजा रत्नमल्लले स्वस्तिशान्तिको कामना गर्दै राँगोको शिर आहुति गरेर टुँडिखेलको भद्रकालीमा लक्षहोम गरेका थिए । त्यो ने.सं. ५९४ को घटना थियो । ने.सं. ६०५ देखि त भद्रकालीको बाह्रवर्षे नाच सुरु भइसकेको पाइन्छ ।

टुँडिखेलकै परिसरमा रहेको अर्को सांस्कृतिक धरोहर हो— बज्रवीर/महाङ्कालको मन्दिर । सुन्दरानन्द बाँडाले आफ्नो पुस्तक ‘त्रिरत्नसौन्दर्यगाथा’ मा यसलाई तुण्डिभैरव महाङ्काल भनी उल्लेख गरेका छन् । यसै तुण्डिभैरवको नाउँबाट टुँडिखेल नामकरण भएको हो भन्नेहरू पनि छन् । सांस्कृतिक र धार्मिक आस्थाका कुरा एकातिर छन्, अर्कातिर मूर्तिकलाका दृष्टिले टुँडिखेलको महाङ्कालको मूर्तिबारे बेग्लै कथन पनि छ । महाङ्कालको मूर्ति चम्किलो र कालो ढुङ्गाबाट बनाइएको छ, जुन स्थानीय खानीहरूमा भेटिन्न । भनिन्छ, कुनै समय टुँडिखेलको एक छेउमा आकाशबाट कुनै उल्कापात भएको थियो । त्यसै उल्कापातमा कुँदेर मूर्ति बनाइयो र हाल मन्दिर भए ठाउँ महाङ्कालका रूपमा प्रतिष्ठापित गरियो । मूर्ति बनाइसक्दा पनि उल्कापातको केही अंश बाँकी रह्यो, जुन ठूलो कालो ढुङ्गाका रूपमा अहिले पनि पुरानो बसपार्कबाट शंकरदेव क्याम्पस निस्कने बाटो महेन्द्र पुलिस क्लबको पर्खालमुनि छ, जसलाई स्थानीय बासिन्दाले भैरवका रूपमा पूजा गर्ने गर्छन् । सम्भवत: टुँडिखेलको प्रारम्भिक सीमा त्यहींसम्मै फैलिएको थियो ।

पछि इतिहासको मध्यकालमा स्थानीय बासिन्दाले टुँडिखेलको रेखदेखको जिम्मा गुरुमापा नामको नरभक्षकलाई दिए भन्ने किंवदन्ती पनि छ । काठमाडौंको इतुंवहालका व्यापारी केशचन्द्रले ल्हासातिरको व्यापारबाट फर्कंदै गर्दा बलवान् तथा भयंकर शारीरिक बनोटको गुरुमापालाई आफ्ना सामान बोकाउन मामा–भान्जाको साइनो लाएर काठमाडौं ल्याएका थिए । तर त्यही गुरुमापा हिंस्रक बनेपछि सहरबाहिर टुँडिखेलको रखवालाका रूपमा टुँडिखेलस्थित खरीको बोटमा बस्ने बन्दोबस्त गरियो भन्ने लोकआख्यान छ । त्यसै अनुसार आजपर्यन्त इतुंवहाल र किलागलका बासिन्दाले वर्षेनि होली पूर्णिमाको दिन सिंगो राँगाको मासु र एक मुरी चामल पकाएर गुरुमापाको सम्मानमा टुँडिखेलमा चढाउने प्रचलन छ । केशचन्द्रकै जीवनको कालगणना गर्दा पनि त्यो झन्डै तीन शताब्दीभन्दा पुरानो हुन्छ ।

नेपाल संवत्को पाँचौं शताब्दीतिर तिरहुतका डोय शासकहरूले उपत्यकामा पटक–पटक आक्रमण गरे । सामान्यतया उनीहरू लुटपाट गरेर फर्कन्थे । गोपाल राजवंशावलीमा यसबारे थुप्रै वर्णन पाइन्छ । भनिन्छ, तिनै डोयहरूले केही समय उपत्यकामा शासन पनि चलाएका थिए । तिनैले इष्टदेवी डोय माजुलाई टुँडिखेलको पश्चिमतिर (हाल वीर अस्पतालअगाडि) प्रतिष्ठापन गरे । टुँडिखेल परिसरको त्यो प्राचीन सम्पदा अहिले पनि विद्यमान छ । यस अतिरिक्त टुँडिखेलको चउरमा यत्रतत्र काठमाडौंका रैथानेहरूका देवाली पूजा गरिने देगुद्य: (कुलदेवता) का प्रस्तरमूर्तिहरू थिए । वैशाख–जेठभरि विभिन्न तिथिमा टुँडिखेलमा भेला भई कुलपूजा गरेर त्यहीँ सहभोज गर्ने प्रचलन आजसम्म छ । यद्यपि टुँडिखेल अतिक्रमणले गर्दा त्यस्ता कुलदेवताका मूर्तिहरू भने अहिले लोप भइसकेका छन् ।

अंशु वर्माका भान्जा विभु वर्माले टुँडिखेलको पश्चिम, भोटाहिटी पस्ने छेउमा आफ्ना बाबुको सम्झनामा कलात्मक ढुङ्गेधारा निर्माण गराएका थिए । पुरिएको त्यो धारा पछि त्यहाँ भूमिगत बाटो बनाउन खन्दा भेटियो । त्यसमा संवत् ४५ मात्र उल्लेख छ । सम्भवत: टुँडिखेलवरपर भेटिएका ऐतिहासिक सामग्रीमध्ये त्यो नै सबैभन्दा प्राचीन हो । तर बजार क्षेत्रभित्र हाल भोटाहिटी टोलमा साझा बजारको भवन रहेको स्थानमा वन्ताहिती (पछि भोटाहिटी भनियो) थियो । राष्ट्रिय नाचघरनिर कुनामा प्रताप मल्लका महाअमात्य झंगलनरसिं थाकुलले पनि आकर्षक झंगल थकुहिती निर्माण गरेका थिए । पञ्चायतकालमा पुरेर त्यसमाथि आरसीटी क्लब भवन ठडाइयो । संस्कृत पाठशालाको उत्तरतिर नरदेवीका लक्ष्मीनारायण भारोले बनाएको तीनधारा अद्यापि भेटिन्छ । धरहरा निर्माणकै क्रममा त्यसको फेदमा बनाइएको सुनधारा टुँडिखेलवरपर भेटिने ढुङ्गेधाराहरूमध्ये सबभन्दा पछिल्लो निर्माण हो । विभिन्न अभिलेख अनुसार, हाल विद्युत् प्राधिकरणको भवन रहेको स्थानमा एउटा धोबीधारा थियो । हाल भृकुटीमण्डप छिर्ने पश्चिमी ढोकामुनि पनि एउटा ढुङ्गेधारा रहेको मानिसहरू सम्झन्छन् । भद्रकाली र महाङ्काल मन्दिरको पूजा प्रयोजनका लागि पनि ती मन्दिर परिसरमा एकएक ढुङ्गेधारा रहेको मानिन्छ । यसरी टुँडिखेलवरपर थुप्रै ढुङ्गेधारामा पानी झर्थे । टुँडिखेलको खुला चउर अर्को अर्थमा ती ढुङ्गेधाराहरूका लागि प्राकृतिक रूपमा पानी संकलन हुने जलाधार क्षेत्र थियो ।

प्रताप मल्लले रानीपोखरी बनाउँदा पनि टुँडिखेलको भौगोलिक सामीप्य र त्यो विशाल भूभाग पोखरीका लागि वर्षातको पानी संकलनको राम्रो जलाधार हुन सक्ने प्राविधिक पक्षलाई मनग्गे ध्यान पुर्‍याएको अनुमान गर्न सकिन्छ । उत्तरमा मानवनिर्मित रानीपोखरी अनि दक्षिणतिर प्राकृतिक रूपमा बनेको सिमसार (दशरथ रंगशाला बने ठाउँमा २०१३ सालसम्म पोखरी थियो) ओसिलो पानीमाझ विशाल टुँडिखेल उपत्यकाको एउटा आकर्षक र रमणीय भूभाग थियो ।

तसर्थ टुँडिखेलको महत्त्व खुला चउर अनि वातावरणीय र सौन्दर्यको कोणबाट मात्र रहेको होइन । यो वास्तवमा संस्कृति, परम्परा, रीति तथा आस्थासँग प्रत्यक्ष सम्बन्ध रहेको महत्त्वपूर्ण सम्पदा हो । टुँडिखेल हाम्रो इतिहासको एउटा जीवित साक्षी हो ।

जङ्गबहादुर राणाले विश्वयुद्धका लागि गोरखाली सेनालाई कवाज खेलाएदेखि चन्द्रशमशेरले गरेको सतीप्रथा अन्त्य तथा दासप्रथा उन्मूलनको घोषणा, जुद्धशमशेरले नब्बे सालको भूकम्पका पीडितलाई राहत उपलब्ध गराउन गरेको घोषणा, राजा त्रिभुवनबाट सात सालमा गरेको प्रजातन्त्रको शाही घोषणा, चतुर्थ विश्व बौद्ध सम्मेलन, नेहरू तथा चाउ एनलाई जस्ता विदेशी राजनेतालाई गरिएको नागरिक अभिनन्दन आदि महत्त्वपूर्ण ऐतिहासिक घटनाको प्रत्यक्षदर्शी टुँडिखेलस्थित खरीको बोट थियो । तर शासकहरूको मूर्खताका कारण ती महत्त्वपूर्ण संस्कृति, सम्पदा र इतिहासका अंशहरू विलुप्त भए ।

सन् १८८५ सम्म आइपुग्दा वीरशमशेरले सेनालाई टुँडिखेलछेउ बसाएर सुरु गरेको अतिक्रमण महेन्द्रको निरंकुश शासनकालमा तीव्र भयो । टुँडिखेल अतिक्रमणमा सेनाको भूमिका सबभन्दा आलोच्य छ । यसमा स्थानीय सरकार फड्के किनाराको साक्षीका रूपमा उपस्थित छ ।

‘अकुपाई टुँडिखेल’ का अभियन्ताहरू अहिले यसलाई पुनर्जीवन दिन लागिपरेका छन् । तर यस अभियानलाई वातावरणीय संरक्षणको सरोकार, भू–बनोटको सौन्दर्यको रक्षाको कोणबाट मात्र नभई सम्पदा, संस्कृति र इतिहास संरक्षणको गम्भीर सवालका रूपमा प्रस्तुत गरिनु आवश्यक छ ।

प्रकाशित : मंसिर ३, २०७६ ०८:१९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

‘माक: फुइँ’ रणनीतिको सीमा

राजेन्द्र महर्जन

उखान–टुक्काका विज्ञ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रख्यात बनाएको पदावली हो— ‘माक: फुइँ’ ।

शिरदेखि काँधसम्म छोपिएर
उनले उद्घोष गरिरहे—
‘पिठ्यूँ देखाएर भाग्दिनँ’
र, हामी उनको तारिफ गर्दै बस्यौं ।
तर ढलमलिएर पछारिएपछि
जब उनको नकाव उल्टियो
तब उनको त अनुहार नै थिएन ।
– अज्ञेय, ‘नायक’

नेपाल भाषामा ‘माक: फुइँ’ (बाँदरे फुर्ती) को खास भावार्थ हो— सके तर्साउने, नसके तर्सिने । ‘माक: फुइँ’ ओलीलाई मात्रै होइन, भीमसेन थापादेखि नेपालका अधिकांश शासकसम्मलाई मन पर्ने रणनीति हो । देशभित्र र बाहिरका जनता र सरकारसँग कार्य–व्यापार गर्ने मामिलामा ‘माक: फुइँ’ रणनीति अँगालिएको इतिहासको कुनै कमी छैन । मधेस विद्रोहजस्ता आन्तरिक राष्ट्रियताको समस्यालाई सम्बोधन (न)गर्ने क्रममा प्रधानमन्त्री ओलीले अँगालेको ‘माक: फुइँ’ रणनीतिको विगत लामो छ । कालापानी र अन्य सीमा विवादमा नेपाली शासकहरूको व्यवहार हेरियो भने भू–राजनीतिसँग यो रणनीतिको सम्बन्ध नङ र मासुजस्तै जोडिएको देख्न पाइन्छ । सन् १८१६ देखि बाह्य राष्ट्रियतामा प्रयोग हुँदै आएको यो रणनीतिको परिणाम हेर्दा माक: फुइँ देखाउने धेरैजसो नेपाली शासकको नकाव त उत्रिएको देखिन्छ नै, धेरैको प्रचारित र निर्मित अनुहार नै गायब भएको पनि देखिन्छ ।

जसरी नेपालको राजनीतिक भूगोल मूलत: इस्ट इन्डिया कम्पनी (ब्रिटिस साम्राज्य) र चिनियाँ साम्राज्यको अन्तरसम्बन्धले तय गरेको थियो, त्यसरी नै नेपाली शासकहरूले अँगालेको भौगोलिक राजनीति पनि तिनै दुई साम्राज्यसँग घृणा र प्रेमले निर्माण गरेको छ । १८१६ को सुगौली सन्धिले दक्षिण एसियाली मानचित्रमा इँटाजस्तो आकारमा कोरेको नेपालको सीमासँग जोडिएका विदेशी शासकहरूको रवैया जसरी धेरै फेरिएको छैन, त्यसरी नै देशको भौगोलिक सीमा र निजी शासनलाई तौलेर तुलनात्मक लाभ हेर्ने स्वदेशी शासकहरूका नीति, नियत र निर्णय पनि खासै बदलिएका छैनन् ।

‘राष्ट्रवादी पाखण्ड’
भीमसेन थापादेखि जंगबहादुर राणासम्म, राजा महेन्द्रदेखि प्रधानमन्त्री ओलीसम्मका नीति, नियत र निर्णयमा एउटा समानता छ, जसलाई माक: फुइँका रूपमा देखिएको ‘राष्ट्रवादी पाखण्ड’ भन्नु सर्वथा उचित हुन्छ । इतिहासकार जोन ह्वेल्प्टनले इस्ट इन्डिया कम्पनीबाट नेपाल पराजित भएपछि चीनले नेपालको पक्षमा अघि सर्दै शक्ति सन्तुलन गर्ला कि भन्ने आशा मरेपछि नेपाली शासकहरूले देखाएको अन्तरविरोधी व्यवहारलाई उजागर गरेका छन् । ह्वेल्प्टनका अनुसार, ‘नेपालीहरूको राष्ट्रवादी भावनालाई चोट नपुर्‍याई कसरी ब्रिटिसको बढ्दो शक्तिसँग मेलमिलाप राख्ने भन्ने द्विविधापूर्ण संकट सबै नेपाली शासकहरूको रह्यो । यो समस्याको सबैभन्दा राम्रो समाधान थियो— एकातिर ब्रिटिसहरूलाई नेपालले सैन्यशक्ति बढाउनेछैन भनी आश्वासन दिने, र अर्कातिर, नेपालभित्र चाहिँ आफूलाई ब्रिटिस विस्तारवादको कट्टर विरोधीका रूपमा देखाउने ।’ ब्रिटिस भारत र भारतसँगको सीमा सम्बन्धमा दुवै शक्तिसँग नेपाली शासकहरूका विचार र व्यवहारमा यही पाखण्डपन देख्न पाइन्छ, जसलाई भूराजनीतिक बाध्यता भन्ने गरिन्छ ।

सुगौली सन्धिबाट निर्धारित नेपाल–भारत सीमा भूराजनीतिक चलखेल र सत्तास्वार्थबाट कहिल्यै मुक्त भएन । महाकालीको उद्गमथलोलाई दुई देशको सीमा मानिए पनि शक्तिराष्ट्रले मुहान नै सार्ने र सीमा मिच्ने काम जारी राख्यो । त्यससँगसँगै निरन्तरता रह्यो— विदेशी अतिक्रमणलाई स्वदेशी सत्तास्वार्थसँग साट्ने, चीनले पनि निहित स्वार्थको रक्षार्थ कालापानी भारतलाई कोसेली दिएको तथ्यलाई बेवास्ता गर्ने नेपाली शासकहरूको उपक्रम पनि । यस उपक्रमबाट न राणा शासकहरू अछुतो रहे, न त शाह शासकहरू नै मुक्त रहे, न त लोकतान्त्रिक र वामपन्थी भनाउँदा सरकारहरू नै । देश बनाएको–बचाएको, एक इन्च भूमि पनि नछाड्ने दाबी गर्नेहरूको राष्ट्रवादी पाखण्डको गुदीमा सत्तास्वार्थबाहेक केही छैन । स्थानीय प्रशासनले प्रत्येक वर्ष नेपाली भूभाग मिचिएको रिपोर्ट गृह मन्त्रालयमा पठाउँदा–पठाउँदै पनि मौनता साध्दै आएका नेपाली शासकहरूको बेवास्तामा पनि आफ्नो सत्ता बचाउने र भारतको समर्थन–सहयोग र आशीर्वाद जुटाइराख्ने नियत छ ।

चेकपोस्ट र कुर्सी–स्वार्थ साटासाट
अध्येता साम कोवनका अनुसार, पहिले ब्रिटिस भारत र पछि भारतपरस्त रहेका नेपाली शासकहरूले जेजस्तो दाबी गरे पनि १९५० को दशकमा भारतलाई नेपालको उत्तरी सीमामा १७ वटा चेकपोस्ट राख्न दिइएको तथ्य देखिन्छ । त्यत्तिकै सत्य देखिन्छ, १९६० को दशकमा १६ वटा चेकपोस्ट हटाइएको पनि । बाँकी एउटा चेकपोस्ट अझै ठडिएको र विस्तारित अवस्थामा रहेको छ, रणनीतिक महत्त्वको लिपुलेक उपत्यकामा । १९६२ मा भारत–चीन युद्ध हुँदा उपयोग भएका ती चेकपोस्टमध्ये एउटा अहिलेसम्म कसरी कायम रह्यो ? भारतीय चेकपोस्ट हटाएर नेपालको सार्वभौमसत्ता स्थापित गरेको डिङ हाँक्ने राजावादीहरूले जवाफ दिनुपर्ने हो ।

शाह राजाहरूको कुर्सी–स्वार्थ चेकपोस्टमा नराम्ररी प्रकट भएको तथ्य अध्येता सुधीर शर्माले २०५५ साउनको ‘मूल्यांकन’ मासिकमा उजागर गरेका थिए । ‘कालापानी : किन र कसरी भारतले सीमा मिचेको छ ?’ शीर्षक उनको रिपोर्टबाट थाहा हुन्छ— महान् राष्ट्रवादी मानिने राजा महेन्द्र कालापानीमा भारतीय अतिक्रमणबारे बकाइदा जानकार थिए । महेन्द्रले भारतको समेत सहयोगमा २०१७ सालमा गरेको कूपछिका सरकारका अर्थमन्त्री हृषीकेश शाहले भारतीय अतिक्रमण र राजाको मौनताबारे भनेका थिए, “कालापानीमा सेना बसेको बारे हामीले उहिल्यै थाहा पाएका थियौं । मैले मन्त्रीको हैसियतमा त्यो कुरा राजा महेन्द्रलाई जाहेर गरें । मौसुफले त ‘इन्डिया मसँग अहिले बहुतरिसाएको छ, अब धेरै नचिढाऔं; अहिले तिनीहरू कालापानीमा बस्दै गरून्’ पो भनिबक्स्यो ।”

लोकतान्त्रिक सरकारलाई सत्ताच्युत गर्ने राजा महेन्द्रले निरंकुश राजतन्त्र, त्यसमा शाहवंशको एकाधिकारलाई बचाइराख्न कालापानीमा भारतीय सेनाको तैनाथी र नेपाली भूभागको अतिक्रमणलाई बेवास्ता गरेको साम कोवनको विश्लेषण हेक्का राख्नलायक छ । उनको विचारमा राजा महेन्द्रले जसरी आफ्नो सत्तास्वार्थको निरन्तरतालाई चिन्ताको केन्द्रमा राखे, राजा वीरेन्द्रले पनि त्यसैलाई जारी राखे, मन्त्रीहरूलाई कालापानीबारे कुरै उठाउन नदिईकन । कालापानीको प्रिज्मबाट हेर्दा उनीहरूको राष्ट्रवाद साँघुरिँदै–साँघुरिँदै सत्तास्वार्थभन्दा पर पुग्दैपुग्दैन, जुन शासकहरूका नीति, नियत र निर्णयको मात्रै होइन, राष्ट्रवादको पनि सीमा हो ।

राष्ट्रिय मुद्दालाई बिर्साउने कार्ड
आफ्नो सत्ता–शक्तिको स्वार्थसँग देशको सिमाना साट्न सक्ने राजा वा प्रधानमन्त्री वा मन्त्रीहरूको मनमस्तिष्कमा ‘राष्ट्र’ भनेको कुर्सी हो, कुर्सीको सेरोफेरोमा रहेको हित र स्वार्थ नै त्यसको सिमाना हो । उनीहरूका लागि देश, देशको सिमाना, सिमानाभित्रका जनता चाहिएको शासन र शोषण गर्नका लागि मात्रै हो, तिनको अस्तित्वप्रति माया–प्रेम सब देखावटी हो । शासन र शोषण गर्नका निम्ति कुनै भूभाग त चाहियो नै, भूभागमा बस्ने जनता पनि आवश्यक भयो नै, त्यस अर्थमा उनीहरूका लागि ‘देश’ चाहिएको हो । उनीहरूले देखाउने देशप्रेम शासनका लागि आवश्यक भूभागप्रतिको मायाबाहेक अरू होइन । आफ्नो शासनको निश्चितता, निश्चिन्तता र निरन्तरताका लागि विदेशी सेनाको तैनाथीलाई बेवास्ता गरिन्छ, स्वदेशी भूभागको अतिक्रमणलाई नदेखेझैं गरिन्छ । र स्वदेशभित्र ‘मैले, केवल मैले मात्रै देशको रक्षा गरेको’ डिङ हाँकिन्छ । यस अर्थमा भीमसेन थापादेखि राजा महेन्द्र र प्रधानमन्त्री ओलीसम्मका भाषा र भावमा एकरूपता देखिनु कुनै अनौठो हैन ।

कालापानी वा सीमा विवाद, विदेशी सैन्य तैनाथी पनि हाम्रा नयाँ–पुराना शासकहरूका लागि सत्तास्वार्थको हतियार मात्रै हो । सडकमा हुँदा सत्ताको भर्‍याङ चढ्नका लागि आन्दोलन गर्ने मुद्दा हो भने, सत्ता–शक्तिको कुर्सीमा बसेपछि मुखमा लाइने हिन्दुस्तानी ताल्चा हो । कालापानीदेखि महाकालीसम्मको मुद्दामा सडक तताउने, सम्झौता गर्ने र मार्चपास गर्नेहरू पनि प्रधानमन्त्रीदेखि मन्त्रीसम्म छन्, जो कूटनीतिक संवादको सट्टा विद्यार्थी नेताको शैलीमा उत्तेजक भाषण गर्न रुचाउँछन् । त्यस्तै वर्षार्ैंवर्षसम्म सत्तामा हुँदा चुँ नबोल्ने विपक्षी दल, त्यसका भ्रातृ संगठनसमेत सत्तापक्षसँग प्रतिस्पर्धा गर्दै छन्, जुलुस र नाराबाजी गर्नमा । कूटनीतिक संवादका लागि सरकारलाई दबाब दिनुको सट्टा भाषणबाजी र नाराबाजीमा रुचिले अतिक्रमणको समाधानभन्दा राष्ट्रवादी नेपाली मानसमाथि विजय हासिल गर्ने लक्ष्य राखेको आभास हुन्छ ।

कालापानीबारे दुई दशकभन्दा अघिदेखि कलम चलाएका सुधीर शर्माको टिप्पणी घतलाग्दो छ— ‘राष्ट्रियताको मुद्दा उठ्नासाथ नेपाली जनमत जति चाँडो आवेशमा आउँछ, त्यति नै छिटो राष्ट्रिय मुद्दालाई समेत बिर्सिदिन्छ ।’ आजभन्दा दुई सय वर्षदेखिको इतिहास हेर्दा पनि देखिन्छ, अधिकांश किसान पृष्ठभूमिबाट आएकाले हुनाले नेपाली जनतामा भूमिसँग जोडिएको राष्ट्रवाद बलियो छ । यही राष्ट्रवाद नेपाली शासकहरूका लागि आमजनता हाँक्ने र शासन गर्ने अस्त्र भएको छ । उनीहरूलाई थाहा छ— सन्देह र प्रश्न नगर्ने राष्ट्रवादी जनमानसलाई भेडाबाख्रालाई जस्तै एकोहोर्‍याउन र डोर्‍याउन सकिन्छ । जल्दाबल्दा समस्याबाट जनताको ध्यान हटाउन राष्ट्रवादको कार्ड सबैभन्दा बेसी प्रभावशाली छ । हिन्दु पहाडी उच्च वर्गका पुरुषको प्रभुत्व कायम गर्ने गरी खेलिएको राष्ट्रवादी कार्डकै कारण सत्तासीन हुन सफल दुईतिहाइ सरकारका लागि आफ्ना असफलता, अकर्मण्यता र अपराध लुकाउने सुन्दर कार्पेट हुँदै छ— कालापानीमा खेलिएको राष्ट्रवादी कार्ड पनि । सबैजसो मानिस कालापानीको मुद्दामा ओइरिएर लागेका कारण जल्दाबल्दा मुद्दा ओझेलमा परेका बेला ओली सरकारले भारतसँग कूटनीतिक संवाद मात्रै थाले पनि ‘धन्य–धन्य’ भन्नुफर्ने हालत छ हाम्रो !
ट्वीटर : @raharjan72

प्रकाशित : मंसिर ३, २०७६ ०८:१८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×