कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेरो देशको स्वास्थ्य

साधना प्रतीक्षा

तपाईं र मेरो देशको स्वास्थ्य उस्तै छ, प्रधानमन्त्रीज्यू ! तपाईं बाह्र वर्षअघि मृगौला प्रत्यारोपण गरेर जीवनयात्रामा हिँडिरहनुभएको छÙ मेरो देश पनि अरूकै अनुदान, सहयोग र ‘रुचि’ अनुसार चलिरहेको छ । आम नेपाली राजनीतिक, आर्थिक, सामाजिक आदि शिरा–धमनीमा प्रवाहित अनेक विकृति–विसङ्गति, भ्रष्टाचार–दुराचार, कमिसनतन्त्र जस्ता विषाक्तताका कारण कष्टमा छौं र यसको शुद्धीकरणका लागि ‘डायलसिस’ खोजिरहेका छौं ।

बिरामीको कहिले हत्केला सुन्निन्छ, कहिले छाती दुख्छ त कहिले मुटु चस्कन्छ । इतिहासमा नालापानी र सतलजमा दुखेको मेरो देश अझै मेची–महाकालीमा दुख्छ ! कहिले कालापानीमा दुख्छ भने कहिले सुस्ता अनि लिपुलेकमा चस्किरहन्छ । नदी, बाँध अनि सिमानाका अनेक घाउ बल्झिएर उकुच नै बन्न लागेको मेरो देशको उपचार गर्ने दक्ष चिकित्सक खोइ ? मेरो देशको मस्तिष्करूपी विश्वविद्यालयलाई दलीय भागबन्डा र ‘डन’ प्रवृत्तिका भाइरसले जीर्ण बनाइरहेछन् । विश्वविद्यालयहरू प्राज्ञिक थलोभन्दा राजनीतिक दल तथा तिनका भ्रातृ सङ्गठनका बाहुबलीहरूको क्रीडास्थल बनिरहेका छन् । यस्तो दीर्घ रोगको निदान खोज्ने कसले ?


प्रधानमन्त्रीज्यू, तपाईंको गृहनगरमा बन्न लागेको भ्युटावरजस्तै उच्च छन् तपाईंले देखेका समृद्धिका सपनाहरू ! तर आम नेपालीले सहज रूपमा ‘सिटामोल’ पाउने वातावरण बन्नुपर्ने माग राख्दै पटक–पटक अनशन बसिरहने डा. गोविन्द केसीको यथार्थसामु ती सपना फिका लाग्दै छन् । उच्च ओहदामा पुग्नेहरू तथा सम्पन्न वर्गका लागि त संसारका एकसेएक अस्पताल छन्, तर विकट भौगोलिकता र विपन्न आर्थिक अवस्थामा च्यापिएका असंख्य नेपाली सामान्य स्वास्थ्य सुविधाबाट पनि वञ्चित छन् । वर्षेनि असंख्य ‘डाक्टर’ भए पनि ती सबै ‘कमाउमुखी’ छन् । सामान्य मातृशिशु स्वास्थ्य सेवा नपाएर कैयौं आमा तथा नवजात शिशुले ज्यान गुमाइरहनुपर्ने, कुपोषण तथा शीतलहरका कारण बाला–वृद्धाहरू मरिरहने, छाउपडीजस्तो अन्धविश्वास र कुप्रथाबाट कैयौं महिला तथा किशोरीले पीडा भोगिरहनुपर्ने, दण्डहीनताको संस्कृतिका कारण ‘निर्मला’ जस्ता बालिका, किशोरी अनि महिला यौनहिंसाको सिकार भैरहनुपर्ने, अनियन्त्रित महँगीका कारण सर्वसाधारणको खल्तीमा सधैं प्वाल परिरहने जस्ता अनेक रोगका कारण मेरो देश थला परिरहेको छ । देशको समस्याको पनि उपचार खोज्ने कि ?


प्रधानमन्त्रीज्यू, तपाईं निकै आशावादी हुनुहुन्छ । यस्तै जीवनदृष्टिका कारण तपाईंले आम नेपालीका आँखामा पनि रेल र पानीजहाजका सपना सजाइदिनुभएको छ । धारामा पानी नआएर हैरान परेका नगरबासीका घर–घरमा ग्यास पाइप बिछ्याइदिने आश्वासनसमेत बाँड्नुभयो । यो सुनेर हामी पनि कम आशावादी भयौं र ? ‘पानीजहाज कार्यालय’ को साइनबोर्ड मात्रै देख्दा पनि गद्गद् भयौं भने, भविष्यमा नेपाली ध्वजावाहक पानीजहाज हिन्द महासागर र प्रशान्त महासागरमा तैरिरहेको देख्दा झन् कस्तो होला ! विडम्बना, हामी नेपालीले देखेको यो सपना पनि कुनै बिरामीको स्वास्थ्यजस्तै जर्जर भैसकेको छ ।


मेरो देशमा प्रकृतिको अपार सम्पदा छ । विकासका असंख्य सम्भावना गर्भमा हुर्काएर त्यसलाई जन्माउने उपयुक्त अवसरको खोजीमा रहेकी नेपाल आमालाई योग्य चिकित्सकको आवश्यकता छ । मेरो देशको माटोले पौरखी हातहरू पाए सुन फलाउन सक्छ, तर हामी भने आलु–प्याजसम्म चर्को मूल्यमा आयात गर्छौं । उचित प्रविधि र इच्छाशक्ति पाए मेरो देशका खोलानालाले देशकै भविष्य झलमल बनाउने सामर्थ्य राख्छन् । तर दुर्भाग्य, मेरो देश वर्षौंदेखि राजनीतिक जोड–घटाउमै अल्झिरहेको छ । दण्डहीनताले सिर्जिएका अनेक घाउमा दुखिरहेको छ । सशस्त्र द्वन्द्वका घाउहरू सुक्न पाएका छैनन् । महाभूकम्पका घाउ पनि पुरिन सकेका छैनन् । बरु यिनैका नाममा कैयौंका ढुकुटी भरिए होलान् ! कस्तो अनौठो रोग लागेको छ, मेरो देशलाई ! सर्वहाराहरू भव्य महलमा विराजमान भएर ‘भुजा ज्युनार’ गरिरहेका छन्, आमजन भने झुप्राको झुप्रामै छन् । अझ उनीहरूलाई त दुई छाक ‘भात खान’ सम्म धौ–धौ परेकै छ ! एउटै मेलम्चीले झन्डै पच्चीस वर्ष खाने कस्तो रोगी भएछ, मेरो देशको विकास !


प्रकाशित : मंसिर ३, २०७६ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?