कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वृद्धवृद्धाको बेवास्ता

डेटलाइन तराई
चन्द्रकिशोर

काठमाडौँ — संस्कृत साहित्य वैराग्य शतकम्मा भर्तृहरिले आफ्नो समयलाई चित्रित गर्दै लेखेका छन्, ‘बुढ्यौलीमा यस्तो कष्ट हुन्छ कि सन्तानले पनि शत्रुको जस्तो व्यवहार गर्छन् ।’ अहिले देहातमा वृद्धजनको हालत दयनीय छ । गाउँघरको पञ्चायतीमा नयाँ खिचलो प्रवेश गरेको छ ।

वृद्धवृद्धाको बेवास्ता

वृद्धभत्ता वा पेन्सन रकममाथि सन्तानको छिनाझपटी, मृतकको नाममा भत्ता बुझ्ने, वृद्ध आमाबाबुको सेवा गर्न आलटाल गर्ने, पालैपालो सेवा गर्ने भागबन्डा लगाउने तर मौका आउँदा पन्छिने प्रवृत्ति बढेको छ ।


आफ्नो नाममा सम्पत्ति नामसारी गराइसकेपछि हेला गर्ने, उपचारमा ध्यान नदिने, गाउंँमा एक्लै छाडेर आफन्तहरू पलायन हुने आदि । भत्ता थाप्ने बेला कतिपय परिवारमा सन्तानले आदरभाव देखाउँछन्, तर रकम सकिन लाग्दा उपेक्षा गर्छन् ।


वृद्धजनमाथि बढ्दो उत्पीडनको घटनाले देखाउँछ कि परिवारमा संवेदनहीनता र अमानवीयता बढ्दै छ । कहावत नै छ, ‘बूढ भेली दूर भेली’ अर्थात् बुढ्यौलीमा परिवारबाट टाढा पारिन्छ । वृद्धजनहरू अवसाद (डिप्रेसन) को सिकार हुँदै छन् । उनीहरू आफूलाई परिवारले टाढा राख्न खोजेको वा बोझको रूपमा लिएको अनुभव सुनाउँछन् । जहाँ अस्ताउँदै गरेको सूर्यलाई छठपर्वको बेला अभिनन्दन गरिन्छ, त्यहाँ डाँडाका जूनघामसरि भएका मातापिता या वृद्धजनलाई अपमान होइन, अभिनन्दन गर्नुपर्छ ।


केही दशकयता यो समस्या बढ्दै छ । मधेस समाज आफ्नो थातथलोबाट कम विस्थापन हुने र संयुक्त परिवारको माहोलमा बस्ने समुदायको रूपमा चिनिन्थ्यो । तर बदलिंँदो आर्थिक जीवनशैलीले सबै थोकमा बदलाव देखिँदै छ । वृद्धजन कुनै समरूप श्रेणी होइन । सहरी र देहाती वृद्धलाई अलग–अलग तरिकाबाट हेरिनुपर्छ । किनभने यिनीहरूका पृष्ठभूमि फरक छन् । कथित उच्च जाति, पिछडा वर्ग, दलित, मुस्लिम यी सबैलाई समदृष्टिले हेर्न मिल्दैन । सामाजिक र आर्थिक पृष्ठभूमिले पनि असर पार्छ ।


वृद्धवृद्धाहरू जुन समस्या सामना गर्दै छन्, त्यो हाम्रो विकासको सहउत्पादन हो । समस्या एकापसमा गुजमुजिएको छ । अहिले विकासको जुन मोडल अपनाइएको छ, त्यसको अनिवार्य परिणति ‘जोइन्ट’बाट ‘न्युक्लियर’ परिवारतर्फ जानु हो । फेरिएको पारिवारिक संरचनामा पति, पत्नी र सन्तानका लागि ठाउँ त छ, तर हजुरबा–हजुरआमाका लागि छैन ।


विकासको अहिलेको तौरतरिकाले स्थानीय, पारम्परिक, घरेलु तथा साना उद्योगमा ह्रास ल्याएको छ । आजीविकाका लागि पलायनप्रति आकर्षण बढ्दो छ । अहिलेको विकसित पारिवारिक–सामाजिक संरचनामा वृद्धजन वञ्चितिमा पर्नु स्वाभाविक हो । परिवारको युवा पिढी रोजगारीका लागि पलायन भएपछि घरमा बाँकी रहन्छन् वृद्धजन ।


बाल्यकाल र बुढ्यौली यस्तो अवस्था हो, जसमा भावनात्मक र शारीरिक देखभालको सबभन्दा बढी खाँचो हुन्छ । ‘न्युक्लियर’ परिवारमा बच्चाहरू जसोतसो हुर्किहाल्छन्, तर वृद्धवृद्धाहरूको भरोसा हराउँदै जान्छ । अहिले मधेसका गाउँघरमा वृद्धवृद्धा एक्लै बाँच्न अभिशप्त छन् । अशक्तता, आर्थिक असुरक्षा, भावनात्मक–शारीरिक देखभाल गर्नेहरूको अनुपस्थिति र एक्लोपन जस्ता समस्याले एकैपटक तिनलाई घेरा हालेका छन् । जसका सन्तान सँंगै बसिरहेका छन्, तिनलाई पनि अपेक्षित समय र सेवा आफ्ना सन्तानबाट प्राप्त भइरहेको छैन ।


वृद्धजनको हेरचाहको सवालमा सन्तानहरूबीच कलह हुने, भागबन्डा हुने, पन्छिनका लागि गाउँ छाड्ने जस्ता प्रवृत्ति देखिँदै छन् । आवश्यक र आत्मीय शुश्रूषाभन्दा पनि अरूलाई देखाउनका लागि मात्र राम्रो व्यवहार हुने गरेको गुनासो सुनिन्छ ।


पारिवारिक संवाद कम हुँदै छ । परिवारसँग बिताउनुपर्ने समयमाथि प्रविधिले कब्जा जमाएको छ । पर्वका बेला भेला हुँदा पनि नयाँ पुस्ता आफ्नै लयमा हुन्छ । परिवारका ज्येष्ठ सदस्य भने आँगन भरिएको बेला आत्मीय गफको पर्खाइमा हुन्छन्, तर सामाजिक सञ्जालप्रतिको तीव्र रुझान तथा पुस्तान्तरले त्यो अवसर नै आउन दिँदैन ।


पहिले–पहिले पर्वका बेला हुने पारिवारिक जमघटले भावनात्मक सम्बन्ध बढाउँथ्यो, तर त्यसमा ह्रास आएको छ ।

वृद्ध पुरुषभन्दा वृद्ध महिलाहरूको अवस्था झन् कमजोर छ । यसका लागि पारिवारिक निर्णय प्रक्रिया र सम्पत्तिमाथि पुरुषहरूको वर्चस्वको परम्परा दोषी छ । कानुनी रूपमा महिलालाई सम्पत्तिमाथि हक प्राप्त भए पनि सामाजिक रूपमा अझै तगाराहरू छन् । के धनी, के गरिब सबैमा वृद्धवृद्धाहरू वञ्चितिमा पर्ने क्रम बढेको छ ।


शिक्षा, रोजगार र उन्नतिका लागि सन्तान आमाबाबुबाट टाढा जान्छन् । स्वयम् अभिभावकले नै पनि बाहिरिन प्रेरित गर्छन्, तर जब आमाबाबुलाई खाँचो हुन्छ, त्यति बेला छोराछोरी साथमा हुँदैनन् ।


मध्यम र निम्न वर्गको परिवारमा कतिपय अवस्थामा वृद्ध पुरुषभन्दा महिलाको उपयोगिता हुन्छ, बच्चाको रेखदेख र घरायसी काममा सहयोग आदिले गर्दा । तुलनात्मक रूपमा जग्गावालभन्दा भूमिहीन खेतीहर मजदुरहरू बुढ्यौलीमा चेपुवामा पर्छन् । खेतीपातीमा भित्रिएको प्रविधिले गरिब र अशिक्षित वृद्धजनलाई असहाय बनाइदिएको हुन्छ । केही एकल वृद्धवृद्धाले त छरछिमेकको अनुकम्पामा बाँच्नुपरेको छ ।


घरका सुविधासम्पन्न कोठा उदीयमान नयाँ निर्णयकर्ता सदस्यले ओगट्छन्, वृद्धवृद्धाहरूको वयजन्य आवश्यकताको पनि उपेक्षा गरिन्छ । मधेसी समाजमा जीवनसाथी गुमाएका महिलाको एकाकीपन ज्यादा बढी छ । एक्लो वृद्ध पुरुष तीर्थयात्रामा जान सक्छन्, आँपको बगैंचामा नयाँ पुस्तासँग तास खेल्न सक्छन्, प्रायः वृद्ध महिलालाई यो अवसर प्राप्त हुँदैन ।


नयाँ आर्थिक–सामाजिक फेरबदलले वृद्धजनलाई किनारामा धकेल्दै छ । मौजुदा आर्थिक जीवनले मान्छेहरूको भविष्य असुरक्षित बनाएको छ । कृषि आधारित जीवन प्रणालीको अभिन्न अंग नै संयुक्त परिवार थियो । जहाँ वृद्धजन आश्वस्त रहन्थे । अहिले अधिकारको भावना प्रबल भएको छ, तर कर्तव्यप्रति रुचि कम छ । समाज फगत छेउछाउमा बसोबास गरेर बनेको हुँदैन । जुन भावनात्मक र मानवीय उष्माले समाज निर्माण भएको छ, त्यसको कमीमा समाजमा सामाजिक मर्यादा लोप हुँदै छ । यसो हुनुमा अहिलेको आर्थिक संरचनाको अहम् भूमिका छ । वृद्धजनको सामाजिक असुरक्षा र आर्थिक अभाव अहिलेको विकास संरचनाको प्रतिफल हो ।


सरकार खुसी दिन सक्दैन । यो काम परिवार र समाजको हो । सरकारले आवश्यक सेवाका लागि प्रयत्न गर्न सक्छ । मधेसमा वृद्धाश्रमको नयाँ परिकल्पना गरिँदै छ । वृद्धहरू यसका लागि मानसिक रूपमा तयार छैनन् । यही कारण हो, मधेसी समाजमा त्यति साह्रो वृद्धाश्रम छैन । त्यसो भए समाधान के त ? विमर्श ढिलो हुँदै छ ।


वृद्धवृद्धा बोझ होइनन् भन्ने सामाजिक मानसको आवश्यकता छ । वृद्धाश्रमले मधेसी समाजको सांस्कृतिक विफलता र संस्कारगत संकटलाई उजागर गर्छ । सामाजिक रूपमा कतै हाम्रो करूणा र सम्मानको भाव हराउँदै गएको त छैन ? यसतर्फ ध्यान दिनुपर्छ । असली परिवर्तन तब सम्भव छ, जब हामी स्वयं आफ्ना आमाबाबुलाई पारिवारिक जीवनको अभिन्न हिस्सा मान्छौं र आदरभावपूर्वक देखभाल गर्छौं ।


वृद्धजनलाई हाम्रै पृष्ठभूमि सुहाउँदो परामर्श आवश्यक हुन्छ । यसमा स्थानीय सरकारले अग्र भूमिका खेल्न सक्छ ।


प्रकाशित : कार्तिक २१, २०७६ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?