कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

‘मलाई केको डर ?’

मधुकर उपाध्या

टोले सडकको सानो घुम्तीमा एकाबिहानै घुइँकिएर गाडी आएको सुनी अलि वरै साइकल रोकेर पर्खेँ । म छेउ आइपुगेपछि बाटो नपुगेर गाडी रोकियो । मैले हाँसेर ड्राइभरलाई सोधेँ, ‘यति साँघुरो बाटोमा बच्चा, बुढाबुढी बाटो काट्दै हुन सक्छन्, त्यस्तो तीव्र गतिमा आउँदा टर्निङमा डर लागेन ?’ अचानक कसैले यस्तो सोधेकाले पहिले त उसले कुरो बुझेन । उसले सिसा तल गरेर ‘के भन्नुभएको’ भनेपछि मैले उही प्रश्न दोहोर्‍याएँ ।

‘मलाई केको डर ?’

२०/२५ वर्षका देखिने उनले मुखको मास्क तल गर्दै खिस्स हाँसेर उल्टै प्रश्न गरेजस्तै गरी ढुक्कै भने, ‘केको डर ?’ गल्ली जत्रो १४ फुटे बाटोमा तर्साउनेगरी अनावश्यक तीव्र गतिमा गाडी कुदाएकाले रिसाउँदै सोध्न सक्थेंँ, तर त्यसो गरिनँ । कारण, अब त विरोधीलाई पनि ‘विरोधी साथीहरू’ भनेर सम्बोधन गर्ने समय आएको छ । त्यसैले यी चालक साथीलाई हाँसेरै सोधेंँ, जवाफ पनि हाँसेरै पाएँ । जब ‘डर नै छैन’ भनिसकेपछि कुनै जिज्ञाशा बाँकी रहेन । गाडी आफ्नो सुरमा अगाडि बढ्यो, म पनि साइकलमा अघि बढेँ ।


उनको जवाफले तत्काल त कस्तो निडर चालक रैछ जस्तो ठानेंँ । तर गुन्दै लाँदा त उनको यो ‘केको डर’ भन्ने जवाफ, निडरभन्दा पनि हाम्रा व्यवहारमा देखिने तर चित्त नबुझ्ने धेरै प्रश्नहरूको उत्तर थियो । हाम्रो सामाजिक सोचको एउटा झलक थियो । सायद ‘जे पर्ला सोही टर्ला’ वा ‘देखा जाएगा’ भन्ने सोचको अभिव्यक्ति थियो, जुन हेपाहा प्रवृत्तिको अभिव्यक्ति पनि हो ।


सामान्यतया डरलाई राम्रो मानिँदैन । अझ उस्तै परे ‘छोरा मान्छे भएर डराउन हुँदैन’ भनेको पनि सुनिन्छ । तर डरको मनोविज्ञानले भन्छ— डर मान्नु भनेको काँतर हुनु कदापि हैन । प्राणीको अस्तित्व वृत्ति (सरभाइभल इन्सटिङक्ट) को प्रमुख पक्ष हो, डर । डरले परिआउन सक्ने प्रतिकूल परिस्थितिको आंँकलन गरी सो बमोजिम व्यवहारमा परिवर्तन गर्दै आफूलाई सुरक्षित राख्न सघाउँछ । सचेतना र सतर्कतालाई बढाउँछ । प्रतिकूल परिस्थितिको सामना गर्दै निर्दिष्ट लक्ष्यका लागि अगाडि बढ्ने युद्ध विजेता, साहसी नाविक वा पर्वतारोहीजस्ता व्यक्तिहरूलाई हामी निडर भन्छौँ । अरुले हिम्मतसम्म गर्न नसक्ने परिस्थितिमा आफूलाई होमेर सफल हुनसक्नुको कारण उनीहरू निडर भएर होइन, प्रतिकूल परिस्थितिको आंँकलन गरी गणनात्मक (क्यालकुलेटिभ) जोखिम उठाउने आँट भएर हो ।


जिम्मेवारीको बोधले डर पैदा गराउँछ । एक हदसम्मको डरको भावनाले फाइदा नै पुर्‍याउँछ । विद्यार्थीलाई परीक्षाको डर, उद्योगीलाई सामान नबिक्ला भन्ने डर, व्यापारीलाई हुनसक्ने नोक्सानको डर नहुँदो हो त के हुन्थ्यो, सहजै अनुमान गर्न सकिन्छ । दैनिक जीवनमा त कुनै फरक काम गर्नुपरे जोरीपारीले के भन्ला भन्ने डरले हाम्रा कतिपय व्यवहार बाँधिएका हुन्छन् भने सार्वजनिक जिम्मेवारी लिएकाले त झनै डर मान्नुपर्छ । डरले मानिसलाई अनुशासित हुन प्रेरित गर्छ, ठीक बाटोमा हिँडाउन सघाउँछ । डरले सतर्क राख्न सिकाउँछ । मन्दिरमा पकेटमारको डरले सतर्क हुँदा होस् वा धारामा पानी सुक्ने डरले हत्तपत्त आवश्यक पानी थापिहाल्ने हतारोले होस्, डरले हुनसक्ने नोक्सानबाट जोगाउँछ । डरले आउने परिस्थितिको सामना गर्न मानसिक र भौतिक रूपमा तयार रहन सघाउँछ ।


मैले सामना गरेका ती जवान ड्राइभर भाइ कुनै स्कुलको सानो मारुती भ्यान चलाउँछन् र सम्भवत: नर्सरी र के.जी.मा पढ्ने साना साना नानीहरूलाई लिन बिहान घरघरै पुग्छन् । मोडैमोड भएका १४ फुटे बाटोभित्र भएका घरहरूमा बेलैमा पुगेर सबै नानीहरूलाई लिएर बेलैमा स्कुल पुग्नु उनको बाध्यता हो भन्ने बुझ्न सकिन्छ । त्यसमा पनि बिहान टोले सडकमा खासै मानिसको चहल–पहल नहुने भएर होला, उनमा दुर्घटनाको डर कम भएको । तर ‘केको डर’ भन्ने जवाफबाट उनले अनावश्यक जोखिम मोल्दै गाडी कुदाएकोमा भने सहमत हुने कुरो भएन । भोलापनले ढाकेको उनको अति आत्मविश्वासले निम्त्याउने भनेको दुर्घटना नै हो । यदि कुनै दिन टर्निङमा कुनै कारणले अचानक ब्रेक लगाउनुपर्‍यो भने भ्यानभित्रका ती साना–साना स्कुले नानीहरूको हालत के होला ? न स्कुल, न अभिवावकहरूबाट भ्यानको गतिबारे कुनै चासो भएको देखिन्छ । किनकि उक्त भ्यानसंँगको मेरो यो जम्काभेट पहिलो थिएन । हुन त टोले सडकमा तीव्र गतिमा गाडी कुदाउनेमा यो भ्यानमात्र हैन, पानीको जार बोक्ने गाडीदेखि मोटरसाइकलहरूको शैली पनि त्यस्तै हुन्छ । स्कुलको भ्यानले सोच्न बाध्य पारेको कारणचाहिँ त्यही ‘केको डर’ भन्ने सोचले नर्सरी र के.जी.मा पढ्न जाने साना–साना नानीहरू समेतलाई अनावश्यक जोखिममा पारेको जस्तो देखिएकोले हो ।


डर नहुनु भनेको आउने क्षणमा के हुनसक्छ भन्ने सम्भावनाको आंँकलन गर्ने क्षमता नहुनु पनि हो । फलत: भवितव्य केही भइहाल्यो भने नोक्सान अकल्पनीय भइदिन्छ । तर हामी सायद आफूलाई अपवाद ठान्छौं, त्यसैले दुर्भाग्यका घटना ‘अरुलाई हुने कुरो हो, मलाई हैन’ भन्नेजस्तो गरी व्यवहार गर्छौं । यही कारण सुरक्षाका सवालमा, सतर्कताको विषयमा वा सार्वजनिक स्थानमा निर्वाह गर्नुपर्ने आफ्ना कर्तव्यबारे हामी या त अनभिज्ञ देखिन्छौँ या त्यस्ता विषय ध्यान दिनुपर्छ भन्ने ठान्दैनौं । यसका उदाहरण सडकमा प्रत्येक क्षणजस्तै देख्न सकिन्छ । पैदल यात्रुलाई हेप्दै गुड्ने गाडीदेखि मोटरसाइकल, ठाउँ—कुठाउँ रोक्दै यात्रु चढाउने सार्वजनिक यातायात र एकहातले गाडीलाई पर्खने इसारा गर्दै ढुक्कैले जताततैबाट बाटो काट्ने बटुवासम्मले सुरक्षा र सतर्कताको विषयमा आफूलाई अपवाद नै ठानेको देखिन्छ । यस्ता व्यवहार सडकमा मात्र सीमित छैन । चाहे बाढीले बगाएर ल्याएको दाउरा टिप्न जाँदा ज्यान गुमाउँदा होस् वा रातको समयमा राजमार्गमा पार्किङ गरिराखेको गाडीमा ठोक्किएर ज्यान गुमाउँदा होस्, ‘सुरक्षा पहिले’ भन्ने सम्झने हो भने अनाहकमा ज्यान गुमाउनु पर्दैन ।


डरको कमी साना नानीहरूलाई घरबाट सुरक्षित स्कुल ल्याउने–पुर्‍याउने जिम्मा लिएका (यहाँ दृष्टान्तका रूपमा लिइएका) चालक साथीमा मात्र हैन, सायद जनताको समृद्धिका लागि महत्त्वपूर्ण निर्णयहरू गर्ने जिम्मा लिएका व्यक्तिहरूमा पनि देखिन्छ, जसका कारण सर्वसाधारणको दैनिक जीवनसँग जोडिएका र विभिन्न प्राकृतिक घटनामा पर्ने पीडितहरूको कष्ट कम गर्न सकिएको छैन । यस वर्ष मूल सुकेको धेरै गाउँमा वर्षामा समेत पानीको हाहाकार भयो । मनसुन १ महिना ढिला हुँदा बेलामा धान रोपाइँ हुन सकेन । साउनमा खडेरी परेको स्थानमा खेती सुके । थुप्रै स्थानमा फौजीकिराले मकै र धान स्वाहा पारे । बाढीले गौर निरन्तर डुबानमा पर्‍यो । केही जिल्लामा पहिरोले गाउँ पुर्‍यो । तीव्र हावाहुरीले बारामा धनजनको नोक्सान भयो । उल्लेखित घटनाहरू उदाहरणको रूपमा किन लिइएको हो भने ती सबै यस वर्ष घटेका घटना हुन्, जसका कारण थुप्रै सर्वसाधारणले ठूलो मात्रामा क्षति व्यहोरे । डर मान्नुपर्ने के हो भने त्यस्ता घटनाहरू आगामी वर्ष पनि दोहोरिन सक्छन् ।


त्यसैले आउने चैत—बैसाखमा गाउँ–गाउँमा पानीको हाहाकार भए के गर्ने ? फेरि पनि साउनमा खडेरी परे के गर्ने ? पहिरोले गाउँ पुर्‍यो भने के गर्ने ? टोरनेडो जस्तो तीव्र हावाहुरी फेरि आयो भने के गर्ने ? यस्ता विषयबारे समृद्धिका लागि महत्त्वपूर्ण निर्णयहरू गर्ने जिम्मा लिएका व्यक्तिहरूले अहिलेदेखि डर मान्ने हो भने त्यस्तो परिस्थितिका लागि मानसिक र भौतिक रूपले तयारी गर्न पक्कै सघाउँछ । अन्यथा त्यस्ता घटना फेरि के दोहोरिएला र ? वा दोहोरिहाले ‘देखा जाएगा’ भन्ने प्रवृत्तिले ती घटना फेरि भएमा त्यस्तो अवस्थामा निर्णयहरू तदर्थ रूपमा लिनुपर्ने हुन्छ । जसका कारण गर्नुपर्ने काम पनि तदर्थ रूपमै हुन्छ, क्षतिको विवरण पनि पूर्णरूपमा लिन सकिँदैन । यस अर्थमा ‘केको डर’ भन्ने सोच हाम्रो प्रगतिको ठूलो तगारो हो कि झैँ लाग्छ ।


प्रकाशित : कार्तिक १६, २०७६ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?