कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हामी सधैं यस्तै हो त प्रधानमन्त्रीज्यू !

यादव देवकोटा

काठमाडौँ — दण्डहीनता र मनलाग्दीको खेलो यति चम्किएर गएको छ, पक्राउ गरिसकेपछि नियन्त्रणमा लिएको नागरिकलाई प्रहरीले कुटेर हातखुट्टा भाँचेर मारेपछि अन्धाधुन्ध गोली दाग्छ । नागरिक हत्याको बहादुरीलाई सनसनीखेज बनाउन प्रहरी दोहोरो भिडन्तको कलाविहीन नाटक प्रदर्शन गर्छ ।

हामी सधैं यस्तै हो त प्रधानमन्त्रीज्यू !

प्रहरी प्रमुख संसदीय समितिमा गएर दोहोरो भिडन्तको भद्दा झुटले सांसदहरूलाई डामिदिन्छन् । गृहमन्त्री संसदको रोस्टममा उभिएर, पक्राउपछि गोली हानी मारिएको नागरिकको हत्या दोहोरो भिडन्तमै भएको भनेर संसदमार्फत सिंगो देश र जनतासँग झुट बोल्छन् ।


हालैका दिन राष्ट्रिय मानव अधिकार आयोगले केही महिनाअघि सर्लाहीमा भएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता कुमार पौडेलको मृत्यु दोहोरो भिडन्तमा नभई उनलाई प्रहरीले पक्राउपछि कुटेर मारेको प्रतिवेदन सार्वजनिक गरेको छ । आफ्नो विज्ञप्तिमा आयोगले भनेको छ, ‘प्रहरी प्रधान कार्यालय, नक्सालको प्रत्यक्ष निर्देशनमा खटिएका प्रहरीले निजलाई नियन्त्रणमा लिएपश्चात् अनावश्यक रूपमा बल प्रयोग गरी नौ गोली हानी मारिएको, प्रहरीले आत्मरक्षा र दोहोरो भिडन्त भनी दाबी गरेकोमा दोहोरो भिडन्त वा आत्मरक्षाको अवस्था कतैबाट पुष्टि नभएको र घटनाको प्रकृति, संकलित प्रमाण समेतबाट निजलाई नियन्त्रण्मा लिई मारिएको आयोगको अनुसन्धानबाट देखियो ।’


त्यसरी फरक राजनीतिक विचार राख्ने दलमा आबद्ध भएकै कारण कोही व्यक्तिलाई नियन्त्रणमा लिएर हत्या गर्न आदेश दिने तालुकदर निकायका उच्च अधिकारीहरूमाथि कारबाहीको सिफारिस गर्दै आयोगले लेखेको छ, ‘घटनामा प्रहरीलाई निर्देशन दिने तालुक निकायका पदाधिकारी तथा कर्मचारीहरू, आदेश दिने अधिकारी तथा दुरुत्साहन गर्ने व्यक्तिहरूमाथि समेत अनुसन्धान गरी कानुनको दायरामा ल्याई कानुन बमोजिम कारबाही गर्नू ।’


प्रहरी प्रमुख र गृहमन्त्रीले संसदमार्फत देशलाई ढाँटेको मानव अधिकार आयोगमार्फत पुष्टि भैसक्दा पनि कुमार पौडेल हत्यामा खुलेर प्रकट भएका यी आदेशकर्ताहरू अझै पदासीन छन् । सांसदहरूले गरेको उच्चस्तरीय संसदीय छानबिन आवश्यक नरहेको र हत्या दोहोरो भिडन्तमै भएको भन्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र गृहमन्त्री रामबहादुर थापाको संसदमार्फत देशलाई झुटले डाम्ने दुस्साहसको उत्तरदायित्व तमाम घटनाहरूको आखिरी जवाफदेहिताको जिम्मेवारीमा रहेका प्रधानमन्त्रीमै रहन्छ ।


कुमार पौडेल संलग्न भएको पार्टीले संसदीय राजनीतिप्रति खुलेरै इतर विचार राखेको छ । त्यो इतर विचार अघि बढाउन हिंसात्मक दिशातिर विप्लवहरूलाई अभिप्रेरित हुन नदिने खबरदारीका लागि पनि फरक विचार राख्नेमाथिको हत्यामा सामेलहरूलाई कानुनको कठघरामा उभ्याउनैपर्छ ।


शक्तिको आडमा निरीहहरूको हत्या र त्यसलाई दबाउन अनेकन् आततायी बीभत्सता मञ्चन गर्नु या त्यसको हिस्सेदार बन्नु शक्तिमा रहेकाहरूको परम्परा बनेको छ, तीन दशकयता । नियन्त्रणमा लिइएको नागरिकलाई बीभत्सतापूर्वक हत्या गर्न आदेश दिने तालुकदारहरू आफू मातहतको शक्तिको दुरुपयोग गरेर कानुन विपरीत गरिएको हत्या प्रकरणबाट नागरिकको ध्यान विभाजित गर्न, र्‍याप गाएर हिँड्ने हुर्केउलो तन्नेरीलाई गिरफ्तार गरी हंगामा मच्चाउन अभिशप्त देखिन्छन् ।


विकास निर्माण, महँगी नियन्त्रण, सदाचार, रोजगारी, स्वास्थ्य, खानेपानी, धूवाँ–धूलो नियन्त्रणजस्ता जनताका आधारभूत आवश्यकता पूर्तिमा सरकारी उपस्थिति नकारात्मक रहेपछि जनताको असन्तुष्टि र आक्रोशलाई विषयान्तर गर्ने असफल प्रयासमा ओली सरकार अनेकन् काण्डको मञ्चनमा केही समययता कस्सिएर लागेको छ । तरकारीदेखि खाद्यान्नसम्मको मूल्यवृद्धि र कालाबजारीले जनता आजित छन् ।


सडक यातायातको अव्यवस्थापनले नागरिकहरू खोरमा हुलिएका भेडाबाख्रा जस्तो कोचिएर सार्वजनिक यातायातमा यात्रा गर्न विवश छन् । सर्वसाधारण हिँड्ने फुटपाथ धनाढ्यहरूको गाडीको पार्किङ स्थल बनेको छ । बेरोजगारीको रनाहाले डामिएका तन्नेरीहरूको रोजगारीको आशामाथि दलालहरूले अचाक्ली ठगी गरेका छन् । नेताहरू बिचौलियाहरूसँग चन्दा लिएर चुनाव लडेका छन् ।


त्यो खर्च उठाउन बिचौलियाहरू सार्वजनिक जमिन, मन्दिर, गुठीका जमिनदेखि प्रधानमन्त्री कार्यालय रहेको बालुवाटारको जमिनसमेत किनबेचमा निर्धक्क लागेका छन् । दुःखको कुरा, त्यसरी सरकारी जमिन किनबेचमा लागेका मानिस सत्ताधारी पार्टीको महासचिव पदमा ढुक्कैले आसीन छन् । यस्तो लुटलाई व्यंग्य गरिएका सिर्जनाहरूलाई समाज भाँड्ने शीर्षक लगाएर बन्द गराउन राज्य संयन्त्र परिचालन गर्न सत्ता हिचकिचाएको छैन ।


असहमत विचार राख्नेमाथि अरिंगाल बनेर झम्टन आएको प्रधानमन्त्रीको आदेश फरक विचार राख्नेमाथि दोहोरो भिडन्तका नाममा गोली दागेर उत्कर्षतिर पुगेको थियो । मानव अधिकार आयोगले दोहोरो भिडन्तको झुटो च्यादर ओढेर नियन्त्रणमा लिई गोली ठोकेर मारिएको खुलासा गरिदिएपछि मानिसको ध्यान मोड्न त्यसरी गैरन्यायिक हत्या गर्ने प्रहरी नेतृत्व समाजलाई सदाचार, नैतिकता सिकाउन गायकलाई पक्राउ गरेर कलाहीन नाटकको नयाँ निरन्तरतामा लागेको छ । पशुपति शर्मामाथिको बन्देज दुर्गेश थापाको पक्राउ हुँदै भिटेन भनिने समीर घिसिङमा आइपुगेको छ ।


इँटाभट्टामा जिउँदै मानिस जलाउने पक्रन बाह्र वर्ष लगाउने, बालिका निर्मला पन्तको बलात्कारीको छेउछन्द पत्ता लगाउन नसक्ने प्रहरी गायकहरू पक्राउ गरेर काम देखाउन अभिशप्त छ, सायद । जनआकांक्षाको सम्बोधन गर्न असफल ओली सरकार र उनीद्वारा परिचालित वफादार मण्डली यस्तै बोक्रे बहादुरीमा जनतालाई ‘इन्गेज’ गराउन न्वारनदेखिको बल लगाएर होहल्ला गर्न व्यस्त छ ।


सिर्जना, व्यंग्य, नागरिक आक्रोशमाथि दमन गर्न सदाचारको झल्लरी ओढेर प्रकट हुनेहरूमा तिनै छन्, जो सरकारी जमिन किनबेचमा सामेललाई पार्टीको महासचिव थापेर मखलेल छन् । बलात्कार प्रकरणको अभियुक्तलाई बचाउन क्रान्ति, दुश्मन, साम्राज्यवाद, प्रतिक्रियावादीजस्ता शब्दको हुर्मत लिने र बर्को ओढ्न लाज नमान्ने तिनैहरू हप्तादिन नबित्दै अमूक गायकको गीत अश्लील भयो भन्दै सदाचारको पाठ घोकाउन उद्यत छन् । जिन्दगीभर सास नफेरी मजदुरी गर्ने निमुखा बल निख्रिएको बुढेसकालमा उपचार खर्च धान्न सडकमा हात फैलाएर बसेको आज परिवारसँग हैन, एक्लै पनि हेर्न सकिन्न ।


जिन्दगीभर आयआर्जनको कुनै काम नगरी फगत राजनीतिक धन्दामा लागेकै कारण उच्च व्यापारीको भन्दा पनि सुकिलो जिन्दगी बाँचेर रक्तचाप जचाउन सिंगापुर र बैंकक पुगिरहेका छन्, अमूक नेता । दुई तोला सुन र एक कट्ठा जमिन सम्पत्ति विवरण लेखाएको राजनीतिक पेसेवर ‘होलिडे’ मनाउन र ‘मुडफ्रेस’ गर्न दुबईदेखि अमेरिकासम्मको विचरणमा लागेको मखलेल भएर हेर्दै तिनलाई नेता थाप्नेहरू अरूलाई सदाचार सिकाउन तम्सिएका छन् । आफ्नी छोरी जिताउन चुनावी प्रक्रियाकै हुर्मत लिनेहरू, मौजुदा कानुनको बर्खिलाफ गरेर अरूमाथि सौता बनेकालाई मन्त्रीको माला पहिर्‍याउनेहरू अर्काको गीतमा परिवारसँग बसेर हेर्न मिल्ने र नमिल्ने शीर्षकमा सदाचारको कखरा सिकाउने हतारोमा छन् ।


निश्चय नै, भिटेन नामका कलिला तन्नेरीले जेजस्ता शब्दहरू मिसाएर आफूलाई अभिव्यक्त गरेका छन्, यसबाट हाम्रो समाजले उनमा कस्तो सांस्कृतिक चेतना आरोपित गरिदिएछ भनेर झस्कनुपर्ने देखिन्छ । हुर्केउलो पुस्ता कस्तो स्तरको सांस्कृतिक चेतका साथ अभिव्यक्त भइरहेको छ भनेर विमर्श गर्न जरुरी छ । पाच्य र अपाच्यका अनेकन् वितर्कको बीचबाटै समाजले आफ्नालागि उपयुक्त अभिव्यक्तिको दायरा तय गर्छ । भिटेनले र्‍यापका नाममा महिलाहरूलाई मनलाग्दी भोग्य वस्तुको स्तरमा तुच्छ तवरले जसरी अभिव्यक्ति दिएका छन् गायनमार्फत, त्यसलाई अभिव्यक्ति स्वतन्त्रताको हकको दुरुपयोगको पनि हद मान्नुपर्छ । यसलाई सिर्जनाकै दायरामा राखेर हेर्ने र र्‍यापमा सीमान्तीकृत मानिसहरूको आक्रोश र सामाजिक असन्तुष्टि प्रकट हुन्छ भनेर मान्ने हो भने पनि उनले समाजमा सबैभन्दा बढी दलन ब्यहोरेका महिलाहरूप्रति निकृष्ट मजाक गरेका छन् ।


अफ्रिकाका गाउँमा हातले बनाइएका घरेलु ड्रम बजाएर लयात्मक तवरले रैथाने बोलीचालीको भाषामा आफ्ना पुर्खा र तिनको समयको कथा आफ्ना सन्तानलाई भन्न रैथानेहरूले सुरु गरेको जुन गेयात्मक शैली छ, कालान्तरमा त्यो नै र्‍याप संगीतको जमिन बनिदियो । परिवारलाई गरिबी, अभाव, दुःख, पीडाका दिनमा एकीकृत राख्न र आत्मीयता बढाउन यसरी दैनिक व्यवहारका शब्दलाई लय दिने सांगीतिक परम्परालाई अफ्रिकन आदिवासीहरूको लोकलयका रूपमा समेत लिने गरिन्छ ।


हरेक व्यक्तिलाई उसका पीडा र दर्दहरू खुला तवरले बिनाबन्देज अभिव्यक्त गराउने आत्मीय भाव र्‍याप संगीतको खास मर्म मानिन्छ । यसले व्यक्तिलाई शब्द प्रयोगको कुनै बनिबनाउ सामाजिक बन्धन या मयार्दाको कथित सीमारेखाभित्र बन्दी बनाउँदैन । व्यक्ति आफै आफ्नो सामाजिक सिकाइको स्तर, समाज–परिवारबाट उसमा हस्तान्तरित चेतना, चरित्रको योगमा शब्दहरूको चयन गर्छ र त्यसलाई आवाज दिन्छ । क्यारेबियन लोक–गायकहरू पनि आफ्नो समय या पहिलेका कथाहरूलाई बोलीचालीका शब्दहरू घोलेर लयात्मक तवरले गाउने गर्थे ।


अमेरिकामा आप्रवासीका रूपमा स्थानान्तरित तिनै अफ्रिकनहरूले प्रारम्भिक अफ्रिकन, क्यारेबियन आदिवासीहरूको कथा भन्ने सांगीतिक संस्कृतिलाई न्युयोर्कमा गुन्जाए ।


सत्तरीको दशकमा डीजे कुल हेर्कले यसलाई औपचारिक तवरले मञ्चहरूमा उभिएर आकार दिए । खासमा काला जातिका मानिसमाथि गोराहरूको उत्पीडनको आक्रोशलाई व्यक्त गर्न र्‍यापलाई जमैकन–अमेरिकनहरूले गुन्जाएका थिए । हामीकहाँ पनि सिंगो राज्य सत्तासीन र पहुँचवालाहरूको एकाधिकारको मैदानमा परिणत भएको यथार्थले तन्नेरीहरूलाई आक्रोशित बनाइरहेको छ । माध्यमिक तहदेखि क्याम्पससम्म पढिरहेको कुनै पनि युवाले देशभित्र रोजगारीको सपना पाल्न सकिरहेको छैन ।


जिन्दगीभर मेहनत गरेको किसान झन् खिइँदै गएको छ । भुइँमानिसहरू पसिनादेखि पसिनाको पोखरीमा डुबेर पनि दुई छाक हातमुख जोड्न र अभर पर्दा अस्पतालको उपचार भार ब्यहोर्न असमर्थ छन् । तर सत्तानिकटहरू, नेता र तिनका परिवारहरू बिनापरिश्रम रातारात चम्किँदै गएका छन्, फगत राजनीतिक उद्योगको सम्बन्धी भएका कारण ।


कम्तीमा शान्ति प्रक्रियायता चम्किएका माओवादी नेताका छोराछोरी र नातेदारहरूको सम्पत्तिको छानबिनमात्रै गर्ने हो भने क्रान्ति, बलिदान, परिवर्तन, गणतन्त्र, योगदानका नाममा निरीह नेपालीले कति हरितन्नमहरूलाई राजकुमार, राजकुमारीको हैसियतमा उभ्याउने भार ब्यहोर्नुपरेको छ, प्रस्ट हुन्छ । त्यसकै परिणाममा बूढा बाआमालाई, सुत्केरी श्रीमतीलाई, बिरामी आफन्तलाई आँसुमा डुबाएर खाडी जान विवश छन् ।


बाकसमा सुतेर फर्कन विवश छन् । व्यवस्था, परिपाटीले हैरान बनाएपछि ‘हामी त यस्तै त हो नि हो’ भन्दै भिटेन बनेर आक्रोशित हुन विवश छन् । नागरिक आक्रोशको, सामाजिक उत्पादनको यो अनिवार्य परिणामसँग सचेत भएर समाजको, सिकाइको संरचना बदल्न लाग्ने कि दमनको डन्डा बर्साउने ? कतिलाई दमन गर्ने ? कि सबैलाई कुमार पौडेललाई झैं पक्रेर गोली दाग्ने र दोहोरो भिडन्त भन्ने प्रधानमन्त्रीज्यू ?

प्रकाशित : कार्तिक ११, २०७६ १४:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?