कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘डोजर आतंक’ को चरम नमुना

सम्पादकीय

बैतडीको दशरथ चन्द नगरपालिकास्थित ग्वालेकमा सडक खन्ने क्रममा मान्छेमाथि एक्स्काभेटर चलाइएको घटना हाम्रा स्थानीय तहमा झाँगिएको ‘डोजर आतंक’ को चरम नमुना हो । विरोधमा उत्रिएका जग्गाधनीलाई डोजरको ‘बकेट’ले हिर्काएर घाइते बनाइएको यस क्रूर र अमानुषिक काण्डले स्थानीय स्तरमा हुर्किरहेको ‘डोजरे विकास’ को विद्रुप तस्बिर पुन: सहतमा ल्याइदिएको छ ।

‘डोजर आतंक’ को चरम नमुना

यस घटनाले हाम्रो सन्दर्भमा विकास के हो, यो कसका लागि हो र यसको केन्द्रमा जनता छन् कि अरू कोही भन्ने प्रश्नमाथि घनीभूत बहसको खाँचो पनि औंल्याएको छ ।


केन्द्रीय स्तरका योजनामा बरु विकास लादिने सम्भावना हुन्छ, स्थानीय तहमा त यस्ता पूर्वाधार निर्माणका काम त्यहीँको आवश्यकता, प्राथमिकता, आपसी समझदारी र सहभागितामा हुनुपर्ने हो । यसैका लागि देश संघीयतामा गएर स्थानीय तहहरूलाई अधिकार सम्पन्न बनाइएको हो तर बैतडीको घटनाले यस्तो मान्यतामै प्रश्न उब्जाइदिएको छ । आफ्नो जग्गाबाट बाटो नलान अनुरोध गर्नेमाथि जोर–जबर्जस्ती गरिएको छ । त्यो पनि बाहिरबाट गएका कुनै प्रशासनिक अधिकारीबाट होइन, त्यहीँको उपभोक्ता समितिका हर्ताकर्ताबाट । महिलासमेत सम्मिलित जग्गाधनी समूहले अगाडि उभिएर हात जोड्दासमेत टेरिएको छैन, न्यूनतम मानवतासमेत भुलेर समितिकै निर्देशनमा उनीहरूमाथि एक्स्काभेटर चलाइएको छ । बकेटले फालेर घाइते बनाइएकी एक महिलालाई जिल्लामा उपचार हुन नसकेपछि बाँकेको कोहलपुर लगिएको छ । घटनामा दुवै पक्षबीच कुटपिट हुँदा सात जना घाइते भएका छन् । राष्ट्रिय प्राथमिकता प्राप्त पूर्वाधार संरचना निर्माण गर्दा त सम्बन्धित धनीहरूसित वार्ता गरेर मात्र जग्गा प्राप्ति गर्नुपर्ने नियम छ । यस काण्डमा भने स्थानीय जनभावनाको ठाडो उल्लंघन गरिएको छ ।


अहिले बैतडी घटनाका घाइतेहरूको उपचारको उचित प्रबन्ध मिलाउन जति खाँचो छ, त्यति नै जरुरी छ दोषीहरूमाथि कारबाहीको सुनिश्चितता । एक्स्काभेटर सञ्चालक मात्रै नभएर उनलाई आदेश दिने सबैलाई कारबाही प्रक्रियामा ल्याउनुपर्छ र यस घटनाबाट पाठ सिक्दै ‘डोजरे विकास’ को विकृति रोक्न राज्यका सबै पक्ष र नागरिक स्तरले आवश्यक अग्रसरता लिनुपर्छ । किनभने यो एउटा अपवादको घटना मात्र नभएर हाम्रो विकास–चिन्तनमा फैलिरहेको रोगको लक्षणसमेत हो । गाउँ–गाउँमा जति बजेट पुगे पनि त्यसको ठूलो हिस्सा बिनाअध्ययन सडक खन्न प्रयोग भइरहेको बेथितिको परिणाम हो । अहिले देशभर सम्भाव्यता अध्ययन नभई, भूगर्भ र वातावरणीय प्रभाव मूल्यांकन नगरी, इन्जिनियरिङ डिजाइनबिनै सडक खनिन थालेका छन् । डोजर चालक र सञ्चालकहरू आफैं इन्जिनियरझैं भएका छन् । कहीँ रोपाइँमाझै डोजर कुदाइएको छ भने कहीँ कुलो, नहर र पानीका मुहान भत्काइएका छन् । परिणामत: प्रकृतिको दोहन भएको छ, पानीका मूल सुकेका छन्, जताततै पहिरो जान थालेको छ । जनताले सुविधाको सट्टा सास्ती पाएका छन् ।


यसरी धमाधम अव्यवस्थित सडक खनिनुमा स्थानीय नेतृत्वको घर घर मोटर पुर्‍याउने र विकासको पूर्वाधार खडा गर्ने सकारात्मक तर कच्चा हुटहुटीले काम गरेको देखिन्छ । बाटो खन्न लाग्ने बजेट चलाउनेदेखि एक्स्काभेटर र टिपरजस्ता आफ्नो स्वामित्वका उपकरण उपयोग गरेर अतिरिक्त अर्थोपार्जन गर्ने स्थानीय अगुवाहरूको बदनियत पनि यसमा जोडिएको छ । देशभर ‘पालिका अध्यक्षको डोजर, वडाध्यक्षको टिपर’ भन्ने त उखानसरह बनिसकेको छ । यही नै पूर्ण सत्य नहोला तर एक्स्काभेटर सञ्चालक स्थानीय टाठाबाठाहरूको स्वार्थमा अवैज्ञानिक ढंगले बाटो खन्ने काम भइरहेको चाहिँ यथार्थ हो । त्यसमा राजनीतिक मिलेमतो पनि हुने गरेको छ । बैतडीकै घटनामा पनि प्रयोग भएको एक्स्काभेटर नेकपाका स्थानीय कार्यकर्ताका नाममा छ । यसमा सत्तारूढ पार्टीकै एक प्रदेश सांसदको समेत लगानी रहेको स्थानीयको दाबी छ, भलै उनले स्विकारेका छैनन् ।


पक्कै पनि, मुलुकमा सडक सञ्जालसित जोडिन बाँकी जनसंख्याको हिस्सा अझै ठूलो छ । यातायातका लागि मात्र होइन, स्वास्थ्योपचार र बजारसम्मको पहुँचका हिसाबले पनि सडकको महत्त्व धेरै छ । सडक अभावकै कारण सामान्य सुविधासम्पन्न जीवनस्तरबाट वञ्चित हुनेहरू धेरै छन् तर स्थानीय तहहरू गठन भएयता जे–जसरी अन्धाधुन्ध बाटो खन्ने काम भइरहेको छ, त्यो भने चिन्ताजनक छ । सम्बन्धित सबैको ध्यानाकर्षण भई यस्तो प्रवृत्तिलाई एउटा थितिमा ल्याउन जरुरी छ । सडक देश विकासको एउटा आधार हो तर यसलाई विनाश र अव्यवस्थाको कारक बनाउनबाट रोक्न आवश्यक छ । विकासको केन्द्रमा जनता रहन जरुरी छ । आज जथाभाबी खनिएका सडकले वातावरणीय क्षति मात्र पुर्‍याएका छैनन्, तिनै धुले बाटामा सबैभन्दा बढी सवारी दुर्घटना हुने गरेका छन् । त्यसैले, सकेसम्म प्रकृतिको कम दोहन गरी, वातावरणीय विनाश नगरी, भोलिको पुस्तालाई समेत मध्यनजर गरी बाटाहरू खनिनुपर्छ ।

प्रकाशित : कार्तिक ८, २०७६ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?