पैसाको मैला र संक्रमण 

रामचन्द्र अधिकारी

दसैंका बेला मानिसका हातमा अरू बेलाभन्दा बढी नै पैसा घुमफिर गर्छ । यस समयमा पैसा बैंकबाट मानव समुदायमा वितरित हुन्छ भनिन्छ तर कहिल्यै सोच्नु भएको छ– पैसामा कति फोहोर र हानिकारक जीवहरू होलान् । महाकवि देवकोटाले पैसा वा सम्पत्तिलाई हातका मैलाका रूपमा लिएका थिए ।

हातमा नरहने, चलिरहने, पखालिएर जाने आशयभावमा यसो भनिएको होला । वैज्ञानिक दृष्टिले हेर्ने हो भने हातका मैला पैसामा सरिजान्छ र पैसाको मैलाचाहिँ नपखालिने गरी गडेको हुन्छ ।

पैसा खासमा साह्रै फोहोरी वस्तु हो । सम्झौं न आफ्नो हातमा आएको पैसा कस्ता कस्ता व्यवसाय गर्ने मानिसका हातहातमा घुमेर आइपुगेको होला । मान्छेले सुरक्षित राख्न पैसा कस्ता कस्ता ठाउँमा राख्छन् होला । पैसा शरीर या बाहिर कस्ता ठाउँमा राखिँदोरहेछ भनेर गरिएको एक अध्ययनले देखाएको छ– कतिपयले स्तन छोप्ने कपडा (ब्रा) को भित्रपट्टि, कसैले मोजाभित्र, कसैले गुप्तांग छोप्न लगाइने भित्री लुगाभित्र, कसैले कम्मरमा कपडाले बेरेर राख्ने गरेका छन् । घरमा सुरक्षित राख्नेहरूले कहाँ लुकाउँदा रहेछन् भनेर जान्न गरिएको अध्ययनले भन्यो– भकारीका धानमा गाडेर, स्थान निश्चित गरी माटोमुनि, सिरानमुनि, किताबको चेप आदिमा पैसा राख्दा रहेछन् । यस्ता स्थानहरू सुरक्षित मानिए पनि स्वस्थकर भने होइनन् । ती ठाउँको मैला पैसाले टिपी ल्याउँछ । अनि, पैसालाई प्रिय वस्तु ठानेर चाट्ने, सुँघ्ने, चुम्मा गर्ने पनि गरिन्छ । त्यसो गर्दा उक्त फोहोर र हानिकारक जीवहरू मानिसको शरीरमा आइपुग्छ । साना नानीहरूलाई पैसा खेलाउन दिइन्छ, उनीहरू चुसिरहेका पनि भेटिन्छन् । उनीहरूका जीउमा पैसामा भएका हानिकारक जीवले आक्रमण गरिदिन्छन् ।

मानिसको शरीरको सबैभन्दा फोहोरी अंग हात हो । सोचौं न, हाम्रो हात कताकता जान्छ, केकस्ता चीजहरू छुन्छ, के के गर्छ । सबै मानिसका हात सफा हुन्नन् । सफा भनिएकामा पनि हजारौं किसिमका हानिकारक जीवहरू– ब्याक्टेरिया, प्रोटोजाअन्स, फन्जाई, जुकाका फुलहरू हुन्छन् । यस्तै हातैहात घुम्ने पैसा झन् कति फोहोरी होला ?

विश्व स्वास्थ्य संगठनका अनुसार सर्वसाधारण मानिसका हातका टुप्पामा ब्याक्टेरियाका करिब ४६ लाख वटा टुकडी प्रतिवर्ग सेन्टिमिटरमा पाइने गरेको छ । चर्पीमा दिसा गरेर मलद्वार सफा गरी फर्केको मानिसका हातमा त २० करोड ब्याक्टेरिया प्रतिइन्च टाँसिएर आउँछन् ।

दसैंको समयमा बालबच्चा मात्र होइन, वयस्कहरू पनि यदि बिरामी पर्छन् भने धेरैमध्ये एउटा कारण पैसा वा नोट पनि हो । कसैलाई नयाँ नोटको गन्ध पनि एलर्जीलाग्दो हुन्छ । नयाँ नोटमै पनि फन्जाईहरू जमेका हुन सक्छन् । नोटमा हुने विभिन्न भाइरसमध्ये इन्फ्लुएन्जा लगाउने ह्युमन इन्फ्लुएन्जा भाइरस, रुघाखोकी लगाउने राइनो भाइरस, जन्डिस लगाउने हेपाटाइटिस ए भाइरस, ग्यास्ट्रोइन्टेरोटाइटिस तथा फुड पोइजन गराउने नोरो भाइरस, ग्यासट्राइटिस र अल्सर गराउने अनि पखालाका साथमा वाकवाकी लगाउने रोटा भाइरस पैसामा पाइने भनेर किङ अब्दुलाजिज विश्वविद्यालयका वैज्ञानिकहरूले ठम्याएका छन् । साइटोमेगालो भनिने हानिकारक भाइरस र क्यान्सर लगाउने इपिस्टेन बार भाइरसको बासस्थान पनि हात र नोट नै हो ।

मुख र स्त्री यौन अंगमा चिलाउने र संक्रमण हुने रोग (क्यान्डिडिआसिस) गराउने यिस्ट पैसामा प्रशस्त पाइन्छ । ढुसी, अंकुशे जुका, कोर्रा जुका, फित्ते जुका, गोलो जुकाका फुलहरू कागजका नोटहरूमा पाइएको भनेर विभिन्न वैज्ञानिक पत्रिकाहरूमा लेख छापिएका छन् । दम, फोक्सो र श्वास नलीको संक्रमण गराउने एस्परगिलस पनि पैसामा बसोबास गर्छ । यस रोगबाट संसारमा १ करोड ४० लाख मानिस संक्रमित भएका छन् । रोग गराउने अभियन्ताको प्रमुख संवाहक पैसा नै हो ।

खानामा बिगार पार्ने (फुड पोइजनिङ गराउने), बाहिरी इपिथेलियल तन्तु सखाप पार्ने सेलुलाइटिस रोग लगाउने साथै अन्य मृत्युप्रदायक रोग लगाउने स्टाफाइलोकोकस ब्याक्टेरिया पैसामा बस्छ । पैसाकै माध्यमबाट यी रोगहरू एकबाट अर्कोमा सरेका प्रमाणहरू थुप्रै छन् । पिसाबमा संक्रमण गराउने (यूटीआई), श्वासप्रश्वासमा संक्रमण गराउने (आरटीआई), छालामा संक्रमण गराउने (डर्माटाइटिस) लगायत अन्य धेरै रोग विस्तार गर्ने सिउडोमोनास ब्याक्टेरियाको बासघर हो– पैसा । अस्पतालमा प्रयोग भएका पैसामा क्लेब्सिएला हुन सक्छन् जसबाट निमोनियाँ हुन्छ । यो पनि कागजका नोट, सिक्का र पोलिमरका नोटमा पाइयो । टाइफाइडको कारक जीव सालमोनेला, हैजाको भिब्रिओ कोलेरा अनि ई.कोलीलाई पनि पुराना नोटहरूले बास दिएका छन् । पैसाका माध्यमबाट समेत यी रोगहरू फैलिएका छन् ।

पैसा कति फोहोरी वस्तु हो, यसमा कस्ता जीवाणुहरू बस्दारहेछन् भनेर विश्वमा थुप्रै अनुसन्धानहरू भएका छन् । उनीहरूको ठम्याइले पैसालाई सकेसम्म हातले नछुने उपायहरू खोज्न आवश्यक भएको देखाएको छ । नयाँ सफा नोटमा पुरानामा जति जीवाणुहरू हुन्नन् तथापि जीवाणुरहित भने होइनन् । राष्ट्र बैंकको सन् २०१८ को एक प्रतिवेदनअनुसार ४ खर्ब ५८ अर्ब रुपैयाँ नेपालको बजारमा सञ्चालित छ । जसको ३० प्रतिशत पुराना र फोहोर नोटहरू छन् । जनार्दन लामिछानेलगायतका काठमाडौं विश्वविद्यालयका अनुसन्धाताहरूले गरेको अनुसन्धानअनुसार सार्वजनिक यातायातका भाडा संकलक (कन्डक्टर) हरूबाट संकलित नोटका नमुनामा सबैभन्दा धेरै फोहोर र रोगका कारक जीवाणुहरू पाइएका थिए । त्यसपछि खाद्य सामग्री बेच्नेहरूबाट लिइएको नोटमा खराबी पाइएको थियो । नास्टका वैज्ञानिकहरू यमी, जोशी र प्रसाईंद्वारा सन् २००७ मा यसै सम्बन्धमा अनुसन्धान गर्न विभिन्न व्यावसायिक क्षेत्रबाट ६३ वटा नोट र सिक्का नमुना संकलन गरिएको थियो । जसमध्ये ९८.४ प्रतिशत ब्याक्टेरिया संक्रमित थिए । सबैभन्दा बढी सिक्कामा, त्यसपछि पोलिमर र अन्त्यमा कागजका नोटहरूमा ब्याक्टेरियालगायतका जीवाणु पाइएको थियो ।

अरू देशमा पनि संक्रमित नोटहरू चलेका छन् । जस्तै: साउदी अरेबियामा ८८ प्रतिशत, प्यालेस्टाइनमा ९६ प्रतिशत, मेक्सिकोमा ६९, कोलम्बियामा ९१, दक्षिण अफ्रिकामा ९० प्रतिशत संक्रमित नोटहरू बजारमा रहेको एक अनुसन्धानले पत्ता लगाएको छ । साथै अमेरिकामा ९४ प्रतिशत, बंगलादेशमा ८०, नाइजेरियामा ८९ र घानामा शतप्रतिशत नोटहरू संक्रमित पाइए । यसको अर्थ यी नोटहरूले मानिसलाई सजिलै संक्रमण गराउँछन् । विभिन्न देशहरूमा सर्भे गरेर म्यारिया जावेदलगायतले प्रकाशन गरेअनुसार सार्वजनिक यातायातका कन्डक्टरहरूका हातमा संकलित शतप्रतिशत पैसा औधी फोहोर र रोग लगाउने जीवहरू भएको भेटियो । दोस्रोमा माग्नेहरूमा (८२ प्रतिशत) र तेस्रोमा दूध बिक्रेतामा (८० प्रतिशत) मा संक्रमित नोटहरू भेटिएको थियो ।

भारतमा विज्ञान तथा औद्योगिक अनुसन्धान केन्द्र (सीएसआईआर) ले यस विषयमा खोजी गरेर प्रतिवेदन सार्वजनिक गर्‍यो । जसअनुसार संकलन गरिएका नोटहरूमध्ये ७० प्रतिशतमा फन्जाई, नौ प्रतिशतमा ब्याक्टेरिया, १० प्रतिशतभन्दा कममा भाइरस पाइएको थियो । त्यहाँ जम्मा ७८ प्रजातिका रोगका कारक जीवहरू नोटमा पाइएका थिए । पाकिस्तानमा सन् २०१८ मा पैसामा कस्ता फोहोर र संक्रमण गराउने जीव रहेछन् भनेर वैज्ञानिक खोज गर्दा ९७ प्रतिशत नोटमा फोहोर र हानिकारक जीव पाइएछ । हसन इजाजलगायतका अनुसन्धाताले ११ प्रकारका ब्याक्टेरियाहरू पाएका थिए । मूलत: अस्पताल, बिरामी, बिरामीका कुरुवा र बजारबीचमा पैसा घुमफिर गर्दा जटिल रोग लगाउनेसमेत कारक जीव बजार छिर्छन् र विस्तार हुन्छन् । त्यहाँ बहुऔषधि प्रतिरोधक ब्याक्टेरिया पाइएका थिए ।

बर्माको रंगुनमा फ्यु विन नामक अनुसन्धाताले संकलन गरेका नमुनामा दिसाजन्य जीवाणुको संख्या प्रतिनोट २ करोड ९० लाख प्रतिवर्ग सेन्टिमिटरमा भेटिएको थियो ।

सिक्कामा मानिसका हातबाट र भण्डारको फोहोरबाट फोहोर थुप्रिँदै जाने हो । आयु लामो भएकाले सिक्काहरूमा बढ्ता फोहोर जम्नु स्वाभाविक कुरा हो । कागजका नोटहरूको रासायनिक बनावट जीवाणुको उपयुक्त बासस्थान हुने किसिमको छ । किनभने यो ७४ प्रतिशत सेलुलोज (वनस्पति कटन फाइबर) र २४ प्रतिशत लाइनिनले बनेको हुन्छ । साथमा क्ले, टिटानियम अक्साइड्स, तेलीय बनावटमा आधारित संयोजक पनि नोटको अवयव हुन् । देशको होलोग्राम तथा टल्किने रेखाका लागि एलुमुनियम धातु पनि मिसाइएको हुन्छ । प्लास्टिकका नोटहरू नेपालमा खास चलनमा आउन सकेनन्, तीचाहिँ पोलिमरले बनेका हुन्छन् ।

नोटबाट जीवाणु मात्र होइन, लागूपदार्थसमेत स्थानान्तरण भई स्वास्थ्यमा असर पारिरहेको हुन्छ । एउटा अनुसन्धान युरोमा गरिएको थियो । जहाँ शतप्रतिशत नोटहरूमा कोकिनको अंश पाइयो । त्यस्तै तीन प्रतिशतमा हिरोइन । यस्ता वस्तु पैसामा भएपछि यिनले पैसा प्रयोगकर्तालाई कति असर पार्दो हो ।

पैसाबाट हुने संक्रमण चाडपर्वमा वा हातमा धेरै पैसा खेलाउनेहरूलाई त सधैं नै हुने सम्भावना रह्यो । हामीले ख्याल गरेका हुन्नौं तर उल्लिखित रोगहरूबाट बच्ने हो भने पैसालाई आफू सुरक्षित रहेर चलाउनुपर्‍यो । क्यासियरहरूले वा पैसा संकलकहरूले एकदम सावधानी अपनाउनुपर्छ । त्यसका लागि पातलो पञ्जा, एप्रोन र मास्क लगाउन सकिन्छ । पैसा चलाएपछि तुरुन्त राम्रोसँग हात धुने बानी बसालौं । बढी संक्रमण हुने स्थानहरू जस्तै– अस्पताल, शौचालय आदिमा प्रयोग भएका नोटहरू बाहिर आउन नदिन सटहीको व्यवस्था गर्न सकिन्छ । बालबच्चाहरूलाई पर्वका बेला वा अरू बेला पनि पैसा बोक्न वा खेलाउन नदिऔं । पैसालाई जतनसाथ पर्समा नै वा झोलामा बोक्ने गरौं नकि जीउका गोप्य भागहरूमा । कन्तुरमा राख्दा वा बैंकका भण्डारमा कीटनाशक औषधि हालेर नोट वा सिक्का राख्ने गरौं । नयाँ नोट छाप्न वर्षको झन्डै एक अर्ब रुपैयाँ खर्च हुन्छ, एउटा नोटले पाँच वर्ष जति टिक्ने हो । आर्थिक हिसाबले पनि नोटको जतन गर्नुपर्ने देखियो । सकिन्छ भने पैसाबाट हुने संक्रमण घटाउने धुन मिल्ने नोट बनाउन आवश्यक छ । अब नोटविहीन, डिजिटल पैसाको जमाना भित्र्याउन जरुरी छ । यसो भयो भने पैसाबाट हुने संक्रमणबाट हुने क्षति कम हुने थियो ।

लेखक त्रिभुवन विश्वविद्यालय, स्नातकोत्तर क्याम्पस विराटनगरमा प्राणीशास्त्रका उपप्राध्यापक हुन् ।

प्रकाशित : आश्विन १९, २०७६ ०८:०१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

‘सी सत्ता’ रेल चढेर आउँदैन

डा. बुद्धिप्रसाद शर्मा

काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न नेपाल भ्रमणपूर्व नेपाली सत्तासीन दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँँ कम्युनिस्ट पार्टी (सीपीसी) बीच विभिन्न स्तरमा भ्रमण आदानप्रदान, प्रशिक्षण एवं नयाँ समझदारीहरू कायम हुन पुगेका छन् । यो सिलसिला अझै जारी छ ।

संसारका कम्युनिस्ट घटकहरूबीच भ्रातृत्व सम्बन्ध कायम हुनु नौलो मानिँदैन बरु त्यसो हुन सकेन भने प्रश्न गर्नुपर्ने हो । तर नेपालमा प्रश्नहरू तेर्सिएका छन् । प्रमुख प्रतिपक्षी दल केही नेता र निकट बुद्धिजीवीहरूको एक वृत्तबाट नेपालमा ‘सी विचारधारा’ कै वर्चस्व हुन लाग्यो कि भनेर अतिरिक्त चर्चा गरेको देखियो । आखिर के हो त ‘सी विधारधारा’ र के कारणले यो विचार अन्य मुलुकमा निर्यात हुन सक्दैन भन्ने सन्दर्भमा यस आलेखमा चर्चा गर्न खोजिएको छ ।

सन् २०१७ अक्टोबरमा सम्पन्न सीपीसीको उन्नाइसौं पार्टी कंग्रेसले ‘नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादबारे सी चिनफिङ विचारधारा’ लाई पार्टीको विधानमा औपचारिक रूपमा स्विकार्‍यो । जसलाई छोटकरीमा ‘सी चिनफिङ’ विचारधारा भनियो । खासमा यो विधारधारा माक्र्सवाद, माओ जेदुड विचारधारा र देङ सियाओ फिङको सिद्धान्तलाई नयाँ सन्दर्भमा संश्लेषण गरी समयानुकूल बनाइएको हो । यसले मुख्य गरी चार धारलाई समेटेको छ । पहिलो हो, पार्टी स्थापनाको एक शताब्दीको उपलक्ष्यमा चिनियाँ समाजलाई आधारभूत रूपमा समृद्ध अवस्थामा पुगेको घोषणा गर्ने । दोस्रो हो, सन् १९७८ बाट सुरु भएको सुधार एवं खुलापनका कार्यक्रमहरूलाई समाजको आवश्यकताअनुसार अझै गहन बनाउँदै लैजाने । तेस्रो हो, कानुन, नीति नियम एवं पद्धतिलाई राष्ट्र सञ्चालनमा अझ व्यावहारिक रूपमा प्रयोग गर्ने । र, चौथो हो, अन्तरपार्टी अनुशासन, जिम्मेवारी एवं दायित्वबोध । सत्तामा आएसँगै सीले पार्टी शुद्धीकरणको मुद्दालाई निकै गम्भीरतापूर्वक प्रयोग गरिरहेका छन् । पार्टीले जनताका हितका निमित्त दत्तचित्त भएर काम गर्न नसके त्यसको ऐतिहासिक उपादेयता समाप्त हुने महासचिव सीले पार्टी बैठकहरूमा पटकपटक बताउँदै आएका छन् ।

पार्टी कंग्रेसको आफ्नो प्रतिवेदनमा सीले पार्टी निर्माण, नयाँ विरोधाभासहरू एवं पार्टी नियन्त्रको प्रसंगलाई निकै महत्त्वका साथ प्रस्तुत गरेका छन् । यसमा पनि पार्टी निर्माणको सन्दर्भलाई सीले सीपीसीकै अस्तित्वसँग पनि हेर्न रुचाएका छन् । नयाँ युग सुहाउँदो पार्टीको कामकारबाही, संरचना र कार्यकर्ताहरूमा दायित्वबोध हुनुपर्ने उनको जोड छ । जुन दिनदेखि पार्टी जनताको सेवाबाट टाढिएको जनताले महसुस गर्न थाल्नेछन्, त्यतिखेरबाट निकै जटिल मोडको सिर्जना हुने सीले ‘गहन सुधारहरू कसरी अगाडि बढाउने’ भन्ने आफ्नो पुस्तकमा पनि विस्तृत रूपमा चर्चा गरेका छन् । सी पार्टीको महासचिव र मुलुकको राष्ट्रपति निर्वाचित भएपछि भ्रष्टाचारविरुद्ध व्यापक कारबाही अगाडि बढाउनुको उद्देश्य पनि पार्टी र पार्टी नेतृत्वको सत्तालाई जनतासँग अझै नजिक र भरपर्दो राजनीतिक संगठनका रूपमा विश्वसनीयता कायम गर्नु नै थियो । भनिन्छ, सन् २०१२ मा पार्टी महासचिव भएपछि बसेको पार्टीका शीर्षस्थ नेताहरूको पहिलो बैठकमा सीले हिजो सोभियत युनियन के कारणले विघटन हुन पुग्यो, सोभियत युनियन कम्युनिस्ट पार्टीले (सीपीएसयू) कहाँनिर गम्भीर त्रुटि गर्‍यो र के गरेको भए त्यो दुर्घटना टर्न सक्थ्यो भन्नेबारेमा विश्लेषण राख्दै सीपीसीको अबको ऐतिहासिक दायित्व र नवीनतम कार्यभारबारे गम्भीर धारणा राखेका थिए ।

‘सी विचारधारा’ विल्कुलै चिनियाँ विशेषता, सामाजिक–आर्थिक यथार्थता र बदलिँदो विश्व परिवेशको सन्दर्भमा चिनियाँ उपस्थिति एवं भूमिकासम्बन्धी एक दस्तावेज हो । चिनियाँ मामिलाका विज्ञ बेलायती प्राध्यापक केरी ब्राउन जो ‘सीईओ चाइना, दि राइज अफ सी चिनफिङ’ का लेखक पनि हुन्, उनको विश्लेषणमा सी विचारधारा दुई शताब्दीको चिनियाँ लक्ष्यलाई उच्च रूपमा पूरा गर्ने र पार्टीलाई थप बलियो एवं जनताको नजिक लैजाने सैद्धान्तिक, कार्यनीतिक एवं राजनीतिक दस्तावेज हो । यसैगरी, चीन मामिलाका अमेरिकी विज्ञ एवं ‘हाउ चाइनाज लिडर थिंक’ पुस्तकका लेखक रोबर्ट लरेन्स एल कुन नेता सी पार्टी महासचिवमा निर्वाचित भएयताका उनका राजनीतिक, सांगठनिक एवं कार्यक्रमिक धारणाहरू सबैलाई सी विचारधाराकै रूपमा हेरिनुपर्ने तर्क गर्छन् । सीले जोड दिँदै आएको आधारभूत रूपमा समृद्ध समाज दार्शनिक कन्फुसियसको ‘सियनकाङ’ भन्ने विचारबाट बढी ओतप्रोत भएको बताइन्छ । सीपीसीको राजनीतिक इतिहासमा सन् १९४५, १९८२, १९९७ र २००२ का पार्टी कंग्रेसहरूलाई निकै महत्त्व दिइने गरिन्छ, मुख्यगरी नयाँ राजनीतिक विचार निर्माण, समय सान्दर्भिक दृष्टिकोण चयन र सांगठनिक नयाँ प्रतिबद्धताका सन्दर्भमा । त्यसयता २०१७ को पार्टी कंग्रेसलाई ऐतिहासिक भनिएको छ ।

सीले आफ्नो प्रतिवेदनमा पार्टी पहिलो र आर्मी दोस्रो भनेका छन् । यसले पनि पार्टीको भूमिकालाई निकै गम्भीरतापूर्वक लिएको पुष्टि हुन्छ । चिनियाँँ सपना, राष्ट्रिय पुनर्उत्थान, चिनियाँ विशेषतासहितको समाजवाद, समाजवादी आधुनिक मुलुक, सांस्कृतिक रूपमा सम्पन्न र सुन्दर चीन, दुई शताब्दी लक्ष्य पूरा गर्ने र विश्व शान्ति एवं विकासका निमित्त चिनियाँ भूमिकाबारे प्रतिवेदनमा स्पष्ट रूपमा व्याख्या गरिएको छ । यसरी हेर्दा ‘सी विचारधारा’ चिनियाँ सन्दर्भको नयाँ युग सुहाउँदो दस्तावेज हो । यो चीनकै लागि हो, यसैको माटो सुहाउँदो माक्र्सवादी प्रयोग भनिएको छ र यसले नयाँ युगको चिनियाँ सपना पूरा गर्ने लक्ष्य लिएको छ पार्टी संयन्त्रको सुविचारित एवं सांगठनिक आधार प्रयोग गरेर । यसकारण नेपालमा चिन्ता गर्नेहरू ढुक्क भए हुन्छ चीनले यो विचारधारालाई अरू देशमा निर्यात गर्दैन, भोलि रेल चढेर चिनियाँहरू यो विचार बोकेर हामीकहाँ आउने छैन । इतिहासले पनि पुष्टि गरेको छ कि पश्चिमा जसरी चीनले आफ्ना राजनीतिक आस्था र व्यवस्था जबर्जस्ती लाद्ने काम गरेको छैन ।

वास्तवमा चिनियाँ नेतृत्व यतिखेर कसरी दुई शताब्दी लक्ष्यलाई तोकिएको समयमै हासिल गर्ने भन्ने प्रयत्नमा छ । हालसालै राष्ट्रपति सीले आन्तरिक तयारी गतिलो हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय अवस्था अस्थिर हुन जाँदा चुनौतीहरू बढ्ने र अझै कडा मेहनतको खाँचो पर्ने बताएका छन् । मुख्यगरी डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनका केही पश्चगामी कदमहरू, युरोपियन मुलुकहरूमा बढ्दो दक्षिणपन्थी धारहरू, द्वन्द्वग्रस्त मुलुकहरूका अवस्था एवं आतंकवादलगायतका मुद्दाहरूले घरेलु नीति कार्यान्वयनमा समेत अप्ठ्यारो पार्न सक्ने चिनियाँ नेतृत्वको निष्कर्ष छ । यसले पनि बताउँछ कि आजको चीन विश्वमञ्चसँग कति जोडिएको छ र विश्वका साझा समस्याहरू चीनका लागि कति गम्भीर र चुनौतीपूर्ण विषयहरू हुन् ।

धनी बन्ने र शक्तिशाली हुने विषयलाई चिनियाँहरू ऐतिहासिक राष्ट्रिय सन्दर्भसँग जोडेर हेर्छन् । कन्फुसियसदेखि सन यात्सेन, माओ, देङ हुँदै सीसम्मले पटकपटक उच्चारण गर्ने गरेको आधारभूत रूपमा समृद्ध मुलुक निर्माणको पछाडि धनी र शक्तिशाली चीनको परिकल्पना हो । केही दिनअघि चिनियाँ पत्रिका ‘ग्लोबल टाइम्स’ को सम्पादकीयले वर्तमान चीन विश्व सन्दर्भमा धेरै अगाडि बढिसकेको र शक्तिशाली भइसकेको भए पनि चीनले विश्वमा शान्ति, समृद्धि, स्थिरता, सहकार्य र सुशासनका लागि सदा सहयोगी रहँदै वर्चस्व एवं हैकम कहिले पनि नखोज्ने उल्लेख गरेको थियो । यही कुरा चिनियाँ नेतृत्वले विश्वमञ्चमा आश्वस्त पार्दै आएका छन् ।

अमेरिकी प्राध्यापक ग्राहम अलिसनले भनेका थिए कि अमेरिकीहरूले चीनलाई आफूजस्तै बनाउँछु भन्दै लेक्चरमै मस्त भए तर उता चीनचाहिँ आफूले जे चाहेको थियो बढी नै त्यस्तै बन्न पुग्यो । अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुडका शब्दमा नितान्त मौलिक विकास हासिल गरेको चीनको प्राप्ति र शक्तिबारे पश्चिमा जगत सम्बोधनका लागि क्षमता गुमाउँदै गएको छ । नेपाली नेतृत्व एवं राजनीतिक शक्तिले चीनलाई अझै सही रूपमा बुझ्न सकेको छैन । केवल पुरातन राजनीतिक नजरले मात्र हेरिरहेको स्थिति छ ।

विल्कुलै घरेलु सन्दर्भ र त्यसको बाह्य सरोकार सम्बोधनका लागि निर्माण भएका कारण सी विचारधाराको प्रयोग अन्यत्र हुन सक्दैन तथापि चिनियाँ प्रयोग, अनुभव र कार्यान्वयन तरिकाबारे नेकपामात्र होइन, नेपालका सबैजसो दलले सिक्दा फाइदा नै हुन्छ । हिजो देङले पनि विश्वका समृद्ध मुलुकहरूको भ्रमणमा जाँदा हामी सिक्न आएका हौं, तपाईंहरूको सहयोग अपरिहार्य छ भन्ने गर्दथे । सिक्ने, अनुभव आदानप्रदान गर्ने र त्यसअनुसार आफूलाई नयाँ सन्दर्भमा अनुकूल बनाई राख्नेमा दलहरू अझै गतिशील हुनुपर्छ । अन्यथा समाज परिवर्तन गर्न लागिपरिरहेका दलहरूको उपादेयता इतिहासमै विलिन हुन पुग्छ ।

लेखक चीनको सिचुवान प्रान्तस्थित लसान नर्मल विश्वविद्यालयका सहप्राध्यापक एवं सेन्टर फर ट्रान्स हिमालयन स्टडिजका सिनियर रिसर्च फेलो हुन् ।

प्रकाशित : आश्विन १९, २०७६ ०७:५७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT