कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सांस्कृतिक पर्वको अर्थ 

साधना प्रतीक्षा

बहुसांस्कृतिक मुलुकका रूपमा विश्वसामु परिचित हामी हाम्रा सांस्कृतिक पर्वहरूमा रमाउँदै पर्यटकहरू नाचिरहेको तस्बिर देखेर मख्ख पर्छौं । हाम्रो सनातन परम्पराप्रति मोहित हुँदै अरूले प्रशंसा गरेको सुनेर थाक्दैनौँ तर आफू भने त्यसैलाई पुरातन मान्यता र विभेदकारी परम्परा भन्दै खिल्ली उडाउन पछि पर्दैनौँ ! 

सांस्कृतिक पर्वको अर्थ 

आफ्ना सामाजिक/सांस्कृतिक मूल्यहरूमा आफ्नो पनि पहिचान खोज्नुभन्दा आयातीत संस्कृतिमा रमाउनुमा गर्व गरिरहेका हामीले भावी पुस्तालाई कस्तो संस्कृति र संस्कार दिइरहेका छौँ भन्ने पनि सोच्न भ्याउँदैनौँ । मलाई सम्झना छ, काकाको बिहेको निम्तो दिन आएकी किशोरीलाई ठट्टामा सोधेकी थिएँ– ‘कसार बाट्ने अनि रत्यौली खेल्ने निम्ता छ कि छैन नि ?’ उनको जवाफ थियो ‘आन्टी पनि के कुरा गरिस्या ? अब पनि के कसार बाट्ने ? केक काट्ने नि । रत्यौली खेल्ने रे ?’ उनी खितखिताउँदै हाँसिन् र भनिन् ‘संगीतको कत्रो तयारी भइरहेको छ आन्टीलाई भने रत्यौली... π’ मेरो कुरा सुनेर ती किशोरीले हाँसो थाम्न सकेकी थिइनन् तर म भने आफ्नो परम्परा र संस्कृति हराउँदै जान लागेकोमा दुखेकी थिएँ । यतिबेला पनि म त्यसरी नै दुखिरहेकी छु किनकि अहिले दसैं आइसकेको छ तर कही पनि मालश्रीको धुन सुनिएको छैन ।


सांस्कृतिक महत्त्वका पर्वहरूमा दिइने बिदा कटौतीका कारण सम्बन्धित पक्षले सास्ती बेहोर्नुपरेको दुखेसो आफ्नै ठाउँमा छ यसले जनआस्थामाथि पनि प्रहार गरेको देखिन्छ । विगतको राजसंस्थाको पदचिह्न पहिल्याउँदै सर्वसाधारणलाई ‘टीका र जमरा बक्सने’ अग्रगामी विचारधाराका राष्ट्रप्रमुख र सरकार प्रमुख भएको हाम्रो देशमा सर्वसाधारणको असीम आस्थाको पर्व दसैंको घटस्थापनाका दिन जमरा राख्नका लागि भने बिदा आवश्यक ठानिएन मानौं कि जमरा राख्नु भनेको जौ छर्ने मात्र हो जतिबेला र जसरी छरे पनि हुन्छ !


पर्वहरू धार्मिक/सांस्कृतिक पक्षसँग मात्र सम्बद्ध नभएर सामाजिक तथा मानवीय पक्षसँग पनि जोडिएका हुन्छन् । चाडपर्वहरू सामाजिक सद्भाव र पारिवारिक आत्मीयताका माध्यम पनि हुन् । पछिल्लो समयमा मानिसको जीवन यान्त्रिक बन्दै गएकामा यस्ता पर्वहरूका माध्यमबाट यस्तो यान्त्रिकताबाट केही समय भए पनि टाढा रहेर मानवीय मूल्यबोध गर्न सकिन्छ । अहिलेका बालबालिका एकल परिवारमा हुर्कने, अधिकांश समय पढाइमा लगाउनुपर्ने, परिवारका सबै सदस्य काममा व्यस्त हुने हुँदा फुर्सदको समय पनि मोबाइल, टीभी आदिमा व्यस्त रहन बाध्य हुन्छन् । यसबाट उनीहरूको सामूहिक जीवनयापन तथा सामाजिकीकरण प्रक्रियामा अवरोध पुगेको हुन्छ ।


दसैंजस्तो पर्वमा उनीहरूले लामो बिदा पाएर गाउँघर जाने, त्यहाँ सबै परिवार जम्मा भएर संयुक्त परिवारको अनुभूत गर्ने, छरछिमेक–साथीभाइसँगको रमाइलो तथा त्यसैका माध्यमबाट उनीहरूमा सामाजिक व्यवहारको ज्ञान हुने गरेकामा हाल निजी विद्यालयहरूले बिदा छोट्याउँदै गरेको हुनाले बालबालिका तथा किशोर पुस्ता यस्तो अवसरबाट वञ्चित हुँदै गरेको देखिन्छ । सरकारले हाल दसैंजस्तो पर्वमा बिदा छोट्याउनाले टाढा–टाढा घर हुनेहरूको बिदा केवल जाँदा र आउँदामा नै सकिने देखिन्छ । यसले गाउँघर समेत वर्षको एकचोटि हुने जमघट तथा रमाइलोबाट वञ्चित हुँदै गरेको देखिन्छ ।


चाडपर्वहरूलाई धार्मिक–सांस्कृतिक कोणबाट मात्र व्याख्या गरिएको हुनाले यसको सामाजिक पाटो ओझेलमा परेको देखिन्छ । त्यसैले अब यसलाई सामाजिक कोणबाट पनि व्याख्या गरिनुपर्दछ । उदाहरणका लागि दसैं–तिहारलाई नै लिने हो भने, वर्षायाममा हाम्रोजस्तो कृषिप्रधान देशमा किसानहरू खेतीपातीमा व्यस्त हुन्छन् । त्यसपछि दसैंको पूर्वसन्ध्यामा वर्षाले बिग्रेको घर–आँगन सरसफाइ तथा मर्मत गर्ने गरिन्छ । दसैं–तिहारको सरसफाइकै कारण मुसा, कीरा–फट्याङ्ग्रा, सर्प आदिबाट घर सुरक्षित हुनाका साथै सयपत्री तथा गोदावरीजस्ता फूल फुलेर वातावरण नै सुरम्य हुन जान्छ । यसैगरी नवरात्रिको आरम्भमा घटस्थापना गर्दा प्रयोग गरिने आँप–पीपल आदिजस्ता वनस्पति, जमरा उमार्न प्रयोग हुने जौ आदि अन्न, फूलपाती भित्र्याउँदा प्रयोग हुने धान, उखु, केरा, अदुवा आदिजस्ता वनस्पति–जडीबुटीका माध्यमबाट कृषि तथा वनस्पतिको महत्त्वबोध गरिएको हुन्छ । तिहारमा गरिने गाई, गोरु, कुकुर, काग आदिजस्ता पशुपन्छीको पूजाले पशुजगत र मानव जीवनको सम्बन्धको महत्त्व दर्शाउछ । सरसफाई र स्वच्छ वातावरण स्वस्थ जीवनको महत्त्वपूर्ण पक्ष हो । पहिलेका मानिसहरूले यसलाई धार्मिक आस्थासँग जोडेर हेर्थे । अद्यावधि पनि त्यसले निरन्तरता पाइरहेकै देखिन्छ । उदाहरणका रूपमा तिहारलाई लिन सकिन्छ । समृद्धिकी देवी लक्ष्मीलाई खुसी पार्नुपर्छ भनेर सबैले आफ्नो घर तथा वरपरको वातावरण सफा गरेर बत्तीले झकिझकाउ बनाउने गर्दछन् । यथार्थमा जब मानिसको तन, मन स्वस्थ र विचार सकारात्मक हुन्छ तब ऊ समृद्धितर्फ अग्रसर हुन्छ । ईश्वरलाई पवित्रताको प्रतीक मानिने हुँदा यससँग सम्बन्धित कार्यहरू पनि हितकारी नै हुन्छन् ।


पछिल्लो समयमा चाडपर्वप्रतिको दृष्टिकोण तथा तिनलाई मनाउने तौरतरिकामा परिवर्तन आएको देखिन्छ । एकथरीले सामन्तवादी सोच तथा कर्मकाण्डीय परम्पराअुसार धार्मिक मिथक तथा सांस्कृतिक मान्यताको अपव्याख्या गर्दै आउनाले यसले विभेदलाई प्रश्रय दिँदै संस्कृतिविरोधी विचारलाई मलजल गरेको छ । यस्ता पर्वहरूका विरुद्ध अपव्याख्या र अल्पज्ञानका आधारमा हुने आलोचना तथा अतिवादी–क्रान्तिकारी विचारधारको प्रचार–प्रसारका कारण हामीमध्ये कतिपयले ‘होली वाइन’ जस्ता आयातीत संस्कृति पनि अपनाउन पुगेका छौँ । यसबाट हाम्रा परम्परागत मौलिक पर्वहरूको निरन्तरतामा संकटमा परेको देखिन्छ ।


अर्काथरीले चाडपर्वलाई आवश्यकताभन्दा बढी भड्किलो बनाएर आर्थिक हैसियत र सामाजिक प्रतिष्ठा प्रदर्शनको माध्यम बनाउँदै आएका हुनाले सामान्य आय हुनेहरूलाई पर्वको बोझ थाम्नै कठिन भइरहेको देखिन्छ । ऋण–धन गरेर भए पनि समाजमा प्रतिष्ठित बन्न र आफन्तको मन जित्न चाडबाडमा खर्च गर्नुपर्ने बाध्यताले पनि संस्कृति र पर्वप्रति वितृष्णा जगाइरहेको देखिन्छ । समाजमा विद्यमान आर्थिक वर्गका कारण उच्च वर्गका गतिविधिहरू निम्न आर्थिक वर्गका व्यक्तिहरूका लागि चुनौती बन्दै गइरहेका छन् र यसले हाम्रा मौलिक संस्कृतिहरूमा नकारात्मक प्रभाव पारिरहेको छ । उदाहरणका लागि विवाह संस्कृतिलाई नै लिने हो भने, अचेल विवाहमा कसार बाट्ने, रत्यौली खेल्ने, पाथी–चुल्ठो आदि रीति हराइसके किनकि अब त हिन्दी धारावाहिकको प्रभावका कारण हल्दी, मेहेन्दी तथा संगीतजस्ता ‘रशम’ हुने गर्दछन् । विशेषगरी महिलाहरू हल्दीमा पहेंला, मेहेन्दीमा हरिया अनि संगीतमा रंगीन पहिरनमा प्रस्तुत हुने गर्दछन् । विवाहमा सम्मिलित हुन एकजनाले तीनथरी कपडा किन्नुपर्ने हुन्छ । यस्तो आयातीत संस्कृतिका कारण मांगल, फाग आदिजस्ता पर्व गीतहरू हराउँदै गएका छन् । यसका विपरीत पुँजीवादी अर्थतन्त्रलाई भने यसले फस्टाउने मौका दिइरहेको छ ।


हाम्रा मौलिक पर्वहरू न केवल मनोरञ्जनका साधन हुन् न त आर्थिक हैसियतको प्रतिस्पर्धाका माध्यम नै हुन् । यिनमा त सामाजिक सद्भाव तथा मानव कल्याणको भाव निहित हुन्छ । ‘सर्वै भवन्तु सुखिन:’ भन्ने पूर्वीय दर्शन संस्कृतिभित्रको कल्याणकारी भावको प्रसार अहिलेको आवश्यकता बनेको देखिन्छ । पूर्वीय सनातन परम्परामा नारीमाथि विभेद हुने तथा नारीलाई दासीको स्थान दिइएको भन्ने सतही व्याख्याताहरूले दसैंको सन्दर्भमा आदिशक्ति (नारीशक्ति) को स्थानको गहिराइमा पुग्नाका साथै शक्ति, वैभव तथा विद्याजस्ता जीवनका महत्तम पक्षमा स्थापित महाकाली, महालक्ष्मी तथा महासरस्वतीजस्ता नारीशक्तिको स्थानलाई बेवास्ता गर्नु हुँदैन । पूर्वीय दर्शन, संस्कृति, त्यसभित्रका मिथक र बिम्बहरूको अपव्याख्या गर्दै पुँजीवादी अर्थतन्त्र र विश्वव्यापीकरणले स्थापित गर्न खोजेको एकल संस्कृतिको प्रभावबाट हाम्रो संस्कृतिलाई जोगाइराख्नु पनि आजको चुनौती बनेको छ । यसका लागि हरेक पिँढीले आफ्नो मौलिक परम्परालाई मूल मर्ममा प्रहार नहुने गरी आवश्यकता अनुसार परिमार्जन गर्दै निरन्तरता दिएर नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानुपर्दछ ।


प्रकाशित : आश्विन १९, २०७६ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?