कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घर–घरले जानौँ ट्राफिक नियम

विन्दु अधिकारी ढकाल

विकासको पहिलो पूर्वाधार सडक निर्माणलाई मानिन्छ । अन्य अल्पविकसित तथा विकासशील मुलुकमा झैँ नेपालमा पनि सोही तीव्रताले सडक र पुल बने, बन्दैछन् । तर यिनै सडकमा हिँड्दा–हिँड्दै कसैको प्राण जान्छ । कतिपय दुर्घटना पैदलयात्रीकै कारण हुन्छ भने कतिपय घटना चालकको लापरबाहीले गर्दा ।

घर–घरले जानौँ ट्राफिक नियम

मुलुकभर सवारी दुर्घटनाबाट १ दिनमा सरदर ७ जनाको मृत्यु हुन्छ । सडक दुर्घटनाबाट मर्नेको यो संख्या सानो होइन । यस्तो विषम परिस्थितिबारे अब घर–घरले ट्राफिक नियम जान्नु जरुरी छ ।


समय परिवर्तनसँगै जब सडक बन्यो, यात्रा सहज भए पनि जोखिम कायमै रह्यो । सडक दुर्घटनाको तथ्याङ्क हेर्दा अधिकांश घटनामा चालकको लापरबाही देखिन्छ । गत वर्षमात्रै मुलुकभर १३ हजार ४ सय २१ दुर्घटनामा २ हजार ७ सय ६२ जनाको ज्यान गयो । ट्राफिक प्रहरी निर्देशनालय रामशाहपथका अनुसार तीमध्ये ९ हजार ९ सय ४० दुर्घटनाको कारण चालकको लापरबाहीले भएको निष्कर्ष छ ।


सवारी चलाउँदा हडबड गर्ने, गति तीव्र पार्ने गर्नाले दुर्घटना निम्त्याउँछ । ‘छिटो गए भन्न सकिन्न, ढिलो गए अवश्य पुगिन्छ’, ट्राफिक सचेतना सम्बन्धी यस भनाइको मतलब—हतार गरेर यात्रा नगरौँ भन्ने हो । बाहिरफेर हिँड्नुपर्ने हामी जब घरबाट निस्कन्छौँ, स्कुल–कलेज अथवा कार्यालय लगत्तै पुगिहाल्छु नि भनेर ढुक्क पनि नपरौँ । एकैछिन विचार गरौँ— कहाँबाट र कसरी हिँड्दा यात्रा सहज होला ? कुन समयमा निस्कँदा उचित होला ? हामीमध्ये धेरैको बानी हुन्छ, ठिक समय अड्कलेर मात्र घरबाट निस्कने र मुटु फुट्नेगरी दौडेर सडक छिचोल्ने तर त्यसो गर्नु राम्रो होइन । पहिल्यै योजना बुन्नोस्, सडकलाई समेत ख्याल गरेर । सडक कतै ‘डिस्टर्ब’ भए पनि ठाउँमा पुग्न तपाईंलाई हस्याङ–फस्याङ गर्नु नपरोस् । त्यसपछि ध्यान दिनोस्, ट्राफिक लाइट, जेब्राक्रस र दायाँ–बायाँ सडकमा भेटिने पैदलयात्री लगायत दोपाया/चौपाया समेतको पनि । सामान्य सडकदेखि ठूलो भिडभाड छिचोलेर, आफू पनि सुरक्षित भई अरुलाई पनि सुरक्षितसाथ बचाएर हिँड्ने क्षमता तपाईंसँग हुनुपर्छ ।


कसैको सानो लापरबाहीले ठूलो दुर्घटना हुनसक्छ । जसको कारण मान्छे त बच्दैन । तर भयावह परिस्थितिको सामना गर्ने तागत ? भोग्नेलाई जति त अरु कसलाई थाहा होला ? कुनै एक बालकले आफ्नो अभिभावक गुमाउँदा वृद्ध आमाबाबुले (भरोसाको केन्द्र) आफ्नो सन्तान गुमाउँछन् भने कोही नवजोडीले जिन्दगीको सुरुमै साथीको साथ पाउनुको सट्टा वज्रपात ! दुर्घटनामा जोगिएकाहरू पनि कोही–कोही त जीवनभर अपांगता भएको व्यक्ति भएको बाँच्नुपर्छ । मान्छे ‘घर न घाट’ भएर बाँच्नुको अवस्थाले समाजमा पर्ने प्रत्यक्ष असर ठूलो छ ।


पैदल हिँड्दा होस् वा सवारी साधनको प्रयोग गर्दा हामीले जान्नु, बुझ्नुपर्ने धेरै छन् । पैदलयात्री, सवारी चालक लगायत जोजसले सडक प्रयोग गर्छन्, तिनले ध्यान दिनुपर्ने नियम, कानुन र अनुशासन नै हो । जान्ने/बुझ्नेले पालना गरौँ । नजानेकाले सिकौँ । जो जानेर/बुझेर पनि पालना गर्दैनन्, समस्या त्यहीँ छ । त्यसलाई व्यवस्थित कसरी बनाउने ? अथवा नियम पालना कसरी गराउने ? त्यसका लागि पहिले चेतना आवश्यक हुन्छ । भेटघाट, सभा–समारोहदेखि स्कुल/कलेज/क्लब अथवा अन्य औपचारिक/अनौपचारिक कार्यक्रमस्थल जहाँ आफूले जानेको ट्राफिक नियमका कुरा गरौँ । अरुलाई पनि भनौँ । यसो गर्दा ट्राफिकबारे हाम्रो पनि चासो बढ्छ । अकालबाट जोगिएर दीर्घजीवन बाँच्न सकिन्छ । समाजमा खुसी ल्याउन सकिन्छ । सडकका अप्ठ्यारो, घुम्ती, ओरालो/भिरालो, पहरा, उकालोबाट डराउन पर्दैन, यदि ट्राफिक नियम पालन गरे । क्षमताभन्दा बढी यात्रु नचढाउनु पनि यात्रामा अर्को सुबिस्ता हो ।

यातायात व्यवस्था विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/७५ सम्मदर्ता भएका सवारी साधन– ३२,२१,०४२ छन् । तीमध्ये वागमतीमा मात्र ११,७२,४१३ छन् । काठमाडौं उपत्यकामा सडकको लम्बाइ २०१४.७८ किलोमिटर छ । १०८५ ट्राफिक प्रहरीको दरबन्दी हिसाब गर्दा एक ट्राफिकले व्यवस्थापन गर्नुपर्ने सडक १.५ किलोमिटर हुन्छ । एक ट्राफिकले औसत ८ सय १४ वटा सवारी साधनलाई व्यवस्था गर्नुपर्ने देखिन्छ । प्रत्येक

दिन उपत्यकामा करिब ९० प्रतिशत सवारी साधन सडकमा गुड्छन् । व्यवस्थापनको अवस्था हेर्दा सवारी दुर्घटनाको कारणमध्ये करिब ८४ प्रतिशत दुर्घटना मानवीय कारणले हुन्छ ।


अर्को, सडक बनाउँदा होस् या मर्मत गर्दा सडक विभाग, खानेपानी र विद्युत कार्यालयबीच कुनै समन्वय हुँदैन । अनुशासनको कसैलाई पर्वाह छैन । गाडीका कर्मचारी सानो कुरामा पनि अश्लील बोलेर यात्रुसँग वादविवाद गर्न र अभद्र व्यवहार देखाउन उद्यत हुन्छन् । सधैं आवेशमा हुन्छन् । यात्रु कोच्न जहाँतहीँ गाडी रोक्नु तर ‘स्टेसन’का बूढाबूढी, केटाकेटी र अपांगता भएकालाई नचढाउने प्रवृत्ति पनि त्यत्तिकै छ । तोकिएको ठाउँमा गाडी नरोक्ने, चप्पल लाएर सवारी चलाउने, लामो दूरिको यात्रामा पनि एउटैमात्र चालकले धान्ने प्रयास गर्दा दुर्घटनाका जोखिम बढेका छन् । बढी आम्दानीको चक्करमा ‘ओभर टेक’ गर्दै यात्रु तानातान गर्नु, तनाव लिएर, मदिरा पिएर सवारी साधन चलाउनाले सार्वजनिक यातायात सेवा अस्तव्यस्त हुनपुगेको छ ।


जो बोल्नुपर्ने निकायहरू ती मौन छन् । निगरानी राख्नुपर्नेहरू पनि हवाई यात्रामा सवार भएपछि लेनको कुरा, आकासे पुलको अवस्था, जेब्राक्रसिङको प्रयोग, पार्किङ स्थलबारे जानकारी, हर्न, ओभरलोड, खाल्डाखुल्डी भएको असजिलो/अप्ठ्यारो सडक पहिचान गरेर सुधार गर्ने कसले हो ? सरकार कहाँ छ ? बरु अब घर–घरले पनि ट्राफिक चेतना सिक्ने र सडक दुर्घटना कम गर्ने हो कि ?

प्रकाशित : आश्विन १४, २०७६ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?