कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

बाघ व्यवस्थापनका समस्या

सम्पादकीय

काठमाडौँ — सरकारले एकोहोरो रूपमा बाघको संख्या बढिरहेको बताइरहेका बेला त्यससँगै समस्या पनि बढ्दै गएको देखिन्छ । यी समस्या समाधानका उपाय अवलम्बन गर्न र बढेका बाघलाई स्वस्थ राख्न गर्नुपर्ने काममा ढिलाइ भइसकेको छ । बाघको आनीबानी र बाघका आहार प्रजातिबारे अध्ययन गरेका विशेषज्ञहरूका भनाइमा बाघको संख्या बढ्नुमात्र उपलब्धि होइन ।

बाघ व्यवस्थापनका समस्या

संख्याअनुसार बाघलाई पर्याप्त बासस्थान, आहार र स्वतन्त्रता चाहिन्छ । पर्सा निकुञ्जदेखि शुक्लाफाँटा निकुञ्जसम्म हेर्ने हो भने बाघका लागि पर्याप्त बासस्थान मुख्य समस्याका रूपमा देखा परेको छ । बाघ पाइने अन्य मुलुकहरूले गुणस्तरीय बासस्थान र आहारमा जोड दिइरहँदा हामीकहाँ भने त्यसबारे बहससमेत हुन सकेको छैन ।


नेपाल भित्रिने झन्डै ६० प्रतिशत पर्यटक वन्यजन्तु र मनोरम हिमशृंखला अवलोकनका लागि संरक्षण क्षेत्र जाने गरेको देखिन्छ । गत वर्ष करिब आठ लाख पर्यटक निकुञ्जसहितका संरक्षण क्षेत्रमा भित्रिएका थिए । त्यसैले पर्यटन प्रवर्द्धनमा मुख्य सहयोगी बनेका बाघ, गैंडा, हात्ती, हिउँचितुवा, रेडपान्डाजस्ता आकर्षक वन्यजन्तुको स्वस्थ संरक्षणमा सरकार र सरोकारवाला निकायले जोड दिनु अपरिहार्य छ । सरकारले भ्रमण वर्ष-२०२० घोषणा गरेको छ । तराईका निकुञ्जमा वन्यजन्तु पर्यटन फस्टाइरहेको छ । कालान्तरमा वन्यजन्तुलाई मुख्य आकर्षण बनाइराख्न तिनको दिगो संरक्षण र आइपरेका समस्या समाधानमा पनि ध्यान दिनुपर्ने देखिन्छ ।


एउटा बाघलाई चलखेल गर्न ५४ वर्ग किलोमिटर प्राकृतिक बासस्थान आवश्यक पर्छ । अहिले यो परिमाणमा बासस्थान उपलब्ध छैन । अझ गुणस्तरीय बासस्थानको परिमाण त नाजुक छ । भएकै बासस्थानको पनि क्षयीकरण भइरहेको छ, नयाँखाले मिचाहा झार/बिरुवाका कारण घाँसे मैदान ढाकिँदै गएको छ । घाँसे मैदान त्यसरी ढाकिँदा मृग प्रजाति संकटमा परिरहेका छन् । बाघको बासस्थान बढाउनेतिर खासै ध्यान दिइएको छैन । भएकै बासस्थानमा पनि विज्ञानमा आधारित व्यवस्थापन गर्न सकिएको छैन, जसका कारण घाँसे मैदानका अभावमा बाघका आहार मानिने मृग प्रजातिको प्रजनन दर घटिरहेको छ । मृग प्रजाति घट्दा समस्या तिनै बाघलाई पर्छ । स्वस्थ र पर्याप्त आहारको अभावमा बाघको वृद्धिदरमा असर परिरहेको छ ।


हुन त सुरक्षित बासस्थानको अभाव बाघ पाइने १२ वटै देशको साझा चुनौती हो । सबभन्दा बढी बाघ भएको भारतले यस्ता बासस्थान बढाउन मानवबस्ती उठाउनेदेखि परम्परागत सडक र रेलमार्ग विस्थापित गर्ने कामसमेत गरेको छ । अरू देशले पनि बाघको बासस्थान जोगाउन ठूला विकास निर्माणलाई थाती राख्नेदेखि वन्यजन्तुमैत्री विकासमा जोड दिइरहेका छन् । हामीकहाँ भने बाघको बासस्थान बढाउनेतिर ध्यान दिइएको छैन । नौ वर्षअघि बाँके निकुञ्जको स्थापना र पर्सा निकुञ्ज थोरै विस्तार गर्नेबाहेक नयाँ क्षेत्र बढाइएको छैन । त्यही सीमित क्षेत्रमा बढेका बाघको संख्या प्रचार गर्न मात्र सरकारले बढ्ता ध्यान दिएको छ । सन् २०१८ को गणनाअनुसार पाँचवटा निकुञ्जमा वयस्क बाघको संख्या २३५ छ ।

संख्या बढे पनि बासस्थान र आहारको अभावले दिनहुँजसो बाघ मानवबस्ती आसपास आउने क्रम बढ्दो छ । यसले मानव-बाघ द्वन्द्व बढेको छ । संरक्षणकर्मीहरू द्वन्द्व बढ्नु राम्रो संकेत नभएको तर्क गरिरहेका छन् । बाघले समस्या निम्त्याउने गरेपछि मान्छेले रिस पोख्ने क्रममा बाघ मारिएका छन् । यसको व्यवस्थापन गर्नेतिर सरकारले बेलैमा ध्यान नदिने हो भने मध्यवर्ती क्षेत्रका लाखौं जनता वन्यजन्तुको विरुद्धमा उत्रिनेवाला छन् । त्यसैले भएको बासस्थानलाई भरपुर उपयोग गर्ने, पानीका घोल र सिमसार व्यवस्थापन र मानव-वन्यजन्तु द्वन्द्व घटाउने कार्यक्रममा लगानी गर्न ध्यान दिनुपर्ने देखिन्छ । वन्यजन्तु संरक्षणमा काम गर्ने दातृ निकायले पनि आफूलाई अनुकूल हुने क्षेत्रमा मात्र लगानी गरिरहेको देखिन्छ । सरकारले त्यस्ता निकायहरूलाई जल्दोबल्दो समस्या समाधान गर्ने क्षेत्रमा लगानी गर्नेतिर डोर्‍याउनु अत्यावश्यक छ ।

प्रकाशित : आश्विन १३, २०७६ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?