कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चाडपर्वमा स्वास्थ्यरक्षाको चुनौती

दसैंलाई मासुको र तिहारलाई सेलरोटीको चाड मानिन्छ । तर दसैं-तिहारजस्ता चाडपर्वमा यतिमात्र खानेकुरा होइन, धेरै परिकार बनाउने गरिन्छ । यस अवसरमा धेरै चिल्लो र मसलादार परिकार बनाउने गरिन्छ । अघिपछिभन्दा बढी खाने, आफ्नो शरीरमा विद्यमान बिरामी वा अन्य समस्यालाई हेक्का राखेर मन थाम्न नसक्ने र खानेकुराको गुणस्तरप्रति वास्ता नगर्ने प्रवृत्तिले कतिपयलाई चाडपर्व अभिशाप पनि हुनपुग्छ । 

चाडपर्वमा स्वास्थ्यरक्षाको चुनौती

चाडपर्वमा रमाइलो मनाउनु र मजा लिएर खानु सबैको इच्छा हुनसक्छ । तर रमाइलो र मजा लिने भन्दैमा आत्मानुशासन र मर्यादाको सीमा नाघ्दा भोलिपल्टदेखि त्यही समाज वा समुदायमा मुख देखाउन लज्जा उत्पन्न हुने अवस्था आउन पनि सक्छ । चाडपर्वका बेला लापरबाही वा चेतना अभावका कारण जथाभावी खानाले धेरैले बिरामी भएर अस्पताल धाउनुपर्छ ।

त्यस्ता बिरामीहरूमा ‘फुड प्वाइजनिङ’ भएर झाडा-बान्ता भएका, अत्यधिक रक्सी सेवन गरेर सवारी चलाउँदा दुर्घटना गरेर वा रक्सी सेवनपछि झगडा गरेर (गम्भीर) घाइते भएका, बर्जित खानेकुरा खाएर बिमार बढाएका आदि हुने गर्छन् । खासगरी मुटु वा कलेजोका रोगी, मधुमेह, उच्च रक्तचाप, युरिक एसिड, उच्च कोलेस्टोरलको समस्या भएका र कमजोर पाचनशक्ति भएकाहरू चाडपर्वका खानपिनबाट सतर्क हुनु जरुरी छ । अजीर्ण, ग्यास्ट्रिक, वान्ता हुनु, पखाला लाग्नु, आउँ पर्नु, टाउको दुख्नु, ज्वरो आउनु, पेट फुल्नु, डकार आउनु आदि समस्या उत्पन्न हुन सक्छन् ।

चाडपर्वमा के, कति र कसरी खाए रमाइलो लिन सकिन्छ भन्ने प्रश्न उठ्छ । हामी नेपाली दसैंका बेला मासु त्यो पनि खसी, राँगा, बंगुर आदि अत्यधिक खान्छौं । यी जनावरबाट रातो मासु (रेड मिट) पाइन्छ, जसको अत्यधिक सेवनले मुटु तथा उच्च रक्तचाप, युरिक एसिड, पेट आदिका बिरामीलाई प्रत्यक्ष असर गर्न सक्छ । यही बेलामा मिठाइ र गालेको अचार आदि पनि धेरै सेवन हुन्छ । स्वस्थ मानिसका लागिसमेत यस्ता परिकार धेरै खाने खालका होइनन् भने बिमार वा समस्या बोकेका मानिसका लागि त सर्वथा बर्जित नै हुन्छ । तरिका मिलाएर यस्ता खाद्यवस्तुको उपभोग गरियो भने त्यति समस्या आउँदैन । यस सन्दर्भमा एउटा चिकित्सकको नाताले केही सल्लाह-सुझाव दिनु पेसागत जिम्मेवारी ठान्छु ।

शारीरिक तयारी : चाडपर्व आउनुभन्दा अघि नै कतिपय परिवारले सस्तो, गुणस्तरयुक्त खानेकुराको जोहो गर्न थालेका हुन्छन् । प्राय: हाम्रा गाउँघरमा यस्तो चलन हुन्छ । उनीहरूले प्राय: स्वस्थकर खानेकुरा बटुलेका हुन्छन् । तर सहरमा चाडपर्व लागेपछि जे पनि बिक्री भइरहेको हुन्छ, क्रेताको भीड हुन्छ । ती चिजको गुणस्तर र मूल्यबारे कसैलाई परवाह हुँदैन । विकसित र समृद्ध मुलुकका समाजमा चाडपर्व आउन थालेपछि शरीरमा कुनै बिमार भएकाहरू स्वास्थ्य जाँच गर्छन् र चिकित्सक तथा आहारविज्ञ (डाइटिसियन) को समेत सल्लाह लिन्छन् ।

के खाने : चाडपर्वका लागि खानेकुरा बनाउँदा परिवारका सदस्यको स्वास्थ्य अवस्था र भेटघाटमा आउने अतिथि र आफन्तको सत्कारका लागि के बनाउने भन्ने कुरामा विवेक पुर्‍याउनुपर्छ । सकेसम्म बजारका रेडिमेड खाद्यवस्तु (जङ्कफुड) किन्नतिर नलागी आफैले बनाउनु राम्रो हुन्छ । किन्नुपरेका वस्तुहरू सस्तो र महँगोका आधारमा होइन, त्यसको गुणस्तरको ग्यारेन्टी र शुद्धताबारे ध्यान दिनु जरुरी हुन्छ । गुणस्तरपछि मूल्यको सवाल जरुरै आउँछ । आजकाल खासगरी सहरी क्षेत्रमा मधुमेह, उच्च रक्तचाप, ग्यास्ट्रिक लगायत पेटका शिकायतहरू व्यापक भइरहेका छन् ।

शारीरिक श्रम गर्ने मानिसहरू त केही हदसम्म चिल्लो पदार्थ, रातो मासु, गरिष्ठ भोजन पचाउन सक्छन् । तर घरभित्र बसेर दिमागी श्रम गर्नेका लागि यस्ता वस्तु पचाउन समस्या पर्छ । क्यानाडाली स्वास्थ्य विभागको अध्ययनले के देखायो भने भोज खानेहरूले नाच्दा ३ हजार क्यालोरीसम्म पचाउँछन् ।

हाम्रा गाउँघरमा पनि भोज खाएर मादल बजाउँदै नाच्ने चलन छ । स्वास्थ्यको दृष्टिकोणले यो राम्रो हो । पिङ खेल्नु पनि राम्रो हो ।

खानाका परिकार बनाउँदा सकेसम्म हल्का बनाउन बढी ध्यान दिनुपर्छ । खानेकुरामा मुख्य ६ किसिमका स्वाद— गुलियो, अमिलो, तितो, नुनिलो, पिरो र टर्रो हुन्छन् । पाचन प्रणाली र स्वास्थ्यका लागि ६ वटै स्वादको आ-आफ्नै काम छ । त्यसैले ६ वटै स्वादका परिकार खाइयो भने पाचन क्रियाका लागि अनुकूल र हितकर हुनसक्छ ।

कागती, अदुवा, लसुन, धनियाजस्ता औषधीय महत्त्वका खाद्यहरू खाने तरिका अपनायो भने चाडबाडमा खाना पचाउन सजिलो हुन्छ । ताजा कागतीको रस अत्यन्त उपयोगी हुन्छ । कागतीमा सबैजसो भिटामिन, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, पोटासियम तथा लौहतत्त्व हुन्छन् । रुघाखोकी, कफ, अपच, बढी मदिरा सेवन, उच्च रक्तचाप, वाकवाकी, कब्जियत हटाउन यसले राम्रो काम गर्छ । वैज्ञानिक अनुभव पनि छ, कागतीमा मानसिक र भावनात्मक स्वास्थ्य सन्तुलित राख्ने, चिन्ता शान्त गर्ने, दिग्दारी, स्मरणशक्ति र मुड ठीक गर्ने क्षमता छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दसैंको नवरात्र (नौरथा) भरि कागतीको रस, मह मिलाएको तातोपानी र कालो चियाका भरमा निराहार उपवास बस्ने गरेका तर यस वर्ष उपवाससँगै अमेरिकाको भ्रमण गर्ने जानकारीबाट के बुझौं भने यस्ता खाद्यवस्तुमा शरीरलाई चाहिने ताकत भरपूर हुन्छ । बिहान उठेर हामीले पनि यो विधि अपनाउँदा अत्यन्त लाभ हुन्छ ।

हाम्रा खानपिनमा अदुवाको निकै महत्त्व हुन्छ । हामी प्राय: यसलाई मसलाको रूपमा मात्र लिन्छौं । तर यसको औषधीय महत्त्व धेरै छ । पाचन प्रणालीमा रासायनिक प्रक्रिया, मुटु तथा रक्तसञ्चार, रुघाखोकी वा सर्दी, पाचक-तरल पैदा गर्न, वायु-विकार, वाकवाकी आदिमा अदुवा निकै फाइदाजनक भएकाले भोजमा अदुवाको सेवन वेश हुन्छ । पूर्वी पहाडतिर काँचै अदुवालाई कुटेर कागतीको ताजा रसका साथ चटनी बनाएर खाने चलन छ । यो निकै राम्रो तरिका हो ।

लसुन अर्को महत्त्वपूर्ण औषधीय मसला हो । खानाबाट उत्पन्न हुनसक्ने बिकारलाई यसले रोक्छ । रगत बाक्लो हुने, रगत बग्ने धमनीहरूलाई कडा हुन नदिने, उच्च रक्तचाप नियन्त्रण गर्ने, क्यान्सरको सम्भावना घटाउने, कलेजोको संरक्षण गर्ने, शरीरमा प्रतिरक्षा प्रणाली विकसित गर्ने, ब्लड-सुगरको तह घटाउने, ग्यास्ट्रिक नियन्त्रण, भोक जगाउने आदि धेरै काममा लसुन महत्त्वपूर्ण छ । धनिया पनि भोजहरूमा उपयोगी औषधीय मसला हो । हरियो धनियाको चटनी बनाएर सेवन गरे पाचनशक्ति बढाउने र पेटका बिमार, पेट फुल्ने, नसाको दर्दमा उपयोगी हुन्छ । यस्ता चिजहरू काँचै तर कुनै न कुनै परिकारको रूपमा खानु चाडबाडमा शरीरका लागि फाइदाजनक हुन्छ ।

भोजनपछि के गर्ने : रातभरि जुवा-तास खेल्नु, बिहानभरि सुत्नु, व्यायाम वा प्रात: भ्रमण नगर्नु चाडपर्वमा मात्र होइन, अघिपछि पनि एकदमै हानिकारक र जोखिमपूर्ण जीवनशैली हो । चाडपर्वमा धेरै गरिष्ट परिकार खाने हुँदा शारीरिक व्यायाम तथा बिहान एक-आधा घन्टा डुल्नु स्वास्थ्यका लागि जरुरी हुन्छ ।

लेखक स्वास्थ्यसेवा विभागका पूर्व महानिर्देशक हुन् ।

प्रकाशित : आश्विन १३, २०७६ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?