नायक निर्माणको सामाजिक तिर्खा

यादव देवकोटा

नेपाली समाजले ‘फलानो आऊ, देश बचाऊ’ वा ‘हाम्रो ‘फलानो’ प्राणभन्दा प्यारो छ’ बोलका नारा भट्याउन थालेको कति भयो, त्यो बेग्लै पक्ष हो । मुख्य कुरा, यस्तो प्रलापमा नेपाली समाजले आफ्नो गला फुलाउन र सुकाउन थालेको कैयन दशक बितिसक्दा पनि आजसम्म यो देश कोही फलाना आएर बनाइदिने होइन, हामी आफैंले बनाउने हो भन्ने स्वत्वको जगमाथि आफैंलाई उभ्याउने विश्वास खडा गर्नसकेको छैन ।

यसरी प्राणभन्दा प्यारो मान्दै एकपछि अर्को गर्दै नायकका रूपमा थापना गरिएका त्यस्ता ‘फलाना’हरूले नेपाली समाजको कति पुस्ताको विश्वास निचोरेर आफूलाई मात्रै उजिल्याए, त्यसको सामाजिक हिसाब नेपाली समाजको रुचिको शीर्षकमा कहिल्यै परेको देखिंदैन ।

समस्यासँग जुधेर त्यसलाई पार लगाउनभन्दा समस्याबाट भागेर र समाधानको जिम्मेवारी कोही अमूक पात्रको योग्यता र क्षमताको विषय हो भन्ने चेतनाको तारेभीरमा उभिएर समाजले समयक्रममा उभ्याएका नायक (त्यस्तो कामका लागि नायिका पनि उभिन सक्छन् भन्ने नेपाली चेतनाले सपनामा पनि नचिताएको जस्तो देखिन्छ) हरूको एकपछि अर्को संख्या गनेर साध्य छैन । यस प्रकारले खडा गरिएका चमत्कारी कथित नायकहरूमा समस्या समाधान गर्ने खास ल्याकत नभएपछि भएको पलायन, स्खलनको सिलसिला पनि कम्ती टिठलाग्दो छैन । एउटाले काम नचलेपछि तत्कालै हामी त्यस्ता नायकीय पात्रहरू फेरिरहेका हुन्छौं । आफ्ना लागि उपयुक्त सामाजिक परिवेश निर्माण कुनै अलौकिक पात्र या ऐनमौकामा अनेकन कथ्यको झल्लरी सिउरेर पलाएको व्यक्तिले होइन, सामुहिक सामाजिक लगाव, मिहेनत र संघर्षले हो भन्ने विश्वासको जग हाल्न भने सधैं पन्छिरहेका हुन्छौं ।
०००
जब मानिसमा आफ्नो दु:ख/समस्याको सामना र समाधान गर्न आफैंले सकिन्छ भन्ने भरोसा रहँदैन, त्यसपछि ऊ कुनै अलौकिक पात्र या चमत्कारले या सारा वैयक्तिक, सामाजिक, कानुनी, न्यायिक जञ्जाल तोड्न सक्ने जादुयी नायकले समाधान गरिदिने मनचिन्ते भरोसामा अडेस लगाउन पुग्छ । त्यसै पनि उसलाई हुर्के/बढेको सामाजिक चिन्तन प्रणालीले आवश्यकता अनुसार दैवी चमत्कार या अलौकिक नायकहरूको कथ्य चेतना आरोपित गरिदिएको हुन्छ । त्यही चेतनाले प्रेरित गर्छ— समाजमा, टोलमा, इलाकामा, देशमा हरेक समस्याका लागि अलग–अलग नायक थपना गर्ने । पार्टीभित्र पनि पुज्नका लागि आफ्ना अलग्गै देउता/नायक थाप्ने ।
घर–खलियानदेखि कक्षाकोठासम्म, पुस्तकदेखि सिनेमाका पर्दासम्म, बाआमादेखि शिक्षकसम्म सबैले सजिलो र अप्ठेरो, ठिक र बेठिकका बीचबाट फ्याट्ट अघि सारेर यसरी नायक चेतनाको बिजारोपण, स्याहार र प्रदर्शन गरिदिएका हुन्छन् कि जनसाधारण जीवनका, समाजका, समयका जटिलतम समस्याहरूको सामना आफ्नो बुँताभन्दा परको खेलो ठान्छन् । जीवनमा आइलागेका दु:ख, बेहोर्नुपरेको हैरानी, गुज्रनुपरेको अभाव/दरिद्रता नियतिको खेल लाग्छ ।

सिंगै जिन्दगी जनसाधारणहरू आफू गुज्रिएको समस्याबाट चमत्कारपूर्ण उन्मुक्तिको कोरा कामनामा लुट्पुट्टिन्छन् । तिनै जनसाधारणहरूको कामनामाथि खेल्न केही चतुर मानिस विभिन्न बर्को ओढेर आउँछन् । जस्तो कि धर्म राजनीति, समाजसेवा, उद्धारक, आदि/इत्यादि । जनसाधारण तिनैको पछि लाग्छन् । एउटा ईश्वरको चमत्कारको अपेक्षाले नपुगेपछि अर्को ईश्वरको खोजी । एउटा दैवी खेलोले जीवनका दु:खहरूको खोलो नफर्किएपछि अर्को दैवी खेलोको तिर्खाले लपेटिएर देउता परिवर्तन, धर्म परिवर्तन । एउटा राजनीतिले एउटा समय पनि नथेगेपछि असन्तुष्टि, आक्रोश र अपेक्षाहरूको भारी बोकाउन अर्को राजनीति । एउटा पार्टीपछि अर्को पार्टी । एउटा नेतापछि अर्को नेता । नेपाली समाजको कमसेकम बितेको सात दशक लामो राजनीतिक/सामाजिक इतिहास हेर्ने हो भने पनि जनसाधारणहरूको ‘देवता’ बन्ने, तिनको दु:ख मेट्ने नायक बन्ने वाचासहित कति राजनीतिक पार्टी, तिनका पेसेवर अनुहारहरू नागरिकको विश्वासको दाम्लो चुँडाल्न एकपछि अर्को गर्दै आउँदै–जाँदै गरे, त्यसको हिसाब आफैंमा अत्यासलाग्दो बन्न गएको छ ।
०००
त्यही नायक निर्माणको चेतनाको उत्कर्षको परिणाम बनिदिएको छ– एकपटक विश्वास गरेपछि रसातलमा नभास्सिँदासम्म विश्वास गरिरहने । आफ्ना विश्वासका नायकमाथि उठेका प्रश्नहरूमाथि जाइलाग्ने । मेरो नायकले जे गर्छ, ठिक गर्छ भन्ने । मैले किन सोच्नुपर्‍यो, सोच्ने त मेरो नायकले, नेताले हो भन्ने । म पनि सोच्न सक्छु, मैले पनि सोच्नुपर्छ भन्ने नै नमान्ने । नायकले क्रान्ति भन्छ, मारकाटको सौन्दर्यकरण गर्छ, गुरुरु हो–हो भन्दै मर्न–मार्नै हिँड्ने । उही नायक शान्ति भन्छ, फेरि हो–हो भन्दै गुरुरु कुद्ने । रात ढलेर दिन खुल्न पाएको हुन्न, उही कथित नायक क्रान्ति, हिंसा, मारकाट, ज्यानमारा खेलले कहाँ राजनीति हुन्छ भन्छ, फेरि हो–हो भन्ने । आफ्ना नायकहरूको जयजयकार गर्ने । जस्तो कि हामीकहाँ उही कथित नायकले साम्यवाद ल्याउन जनयुद्ध भने पनि जयजयकार । साम्यवाद हैन, संसदीय चुनाववाद भने पनि जयजयकार । कांग्रेस क्रान्तिको दुश्मन भने पनि, उसैसँग मिलेर क्रान्ति नायकका सन्तान जिताउन मतपत्र च्याते पनि जयजयकार । एमाले लिंगै नखुलेको पार्टी हो भने पनि जयजयकार । कम्युनिष्ट क्रान्ति गर्न एमालेसँग एकता भने पनि जयजयकार । हामी भैदिएका छौं, कस्तो भने– मैले त खुरुखुरु मेरो नायकले सोचेको, भनेको मान्ने हो, पछ्याउने हो भन्ने ठान्छौं । मेरो नायकले, नेताले कहिल्यै गलत सोच्दैन, सोच्नै सक्दैन भन्ने ठान्छौं । कसैले नायकका गतिविधि, काम गराई, कार्यव्यवहारबारे प्रश्न उठाए दायाँ–बायाँ सोच्दै नसोची झम्टन्छौं ।
०००
आफूले हिजो कुनै वाद, विचार, पार्टी, नेता, नायकमाथि विश्वास खन्याउँदा उसले वितरण गरेको वाचा, प्रतिज्ञा के थियो र आज ऊ कहाँ उभिएको छ भनेर मूल्यांकन/पुनर्मूल्यांकन गर्दैनौं । हुँदाहुँदा हामी कस्तो भइगएका छौं भने– समय र परिस्थिति बदलियो भनेर मानिसहरूलाई हिजो वितरण गरेको विश्वासका प्रतिबद्धताहरूबाट ती नायक, नेता, पार्टी हिजोका अरुहरू जसरी नै दायाँ–बायाँ लाग्नु कति युक्तिपूर्ण छ भनेर समेत नसोच्ने । समय र परिस्थिति त बदलिइरहन्छ । तर त्यसका नाममा निमुखा, जनसाधारणहरूलाई वितरण गरेको वाचाबन्धन तोड्न मिल्ने कि नमिल्ने ? समय र परिस्थिति पनि यसरी ती मानिसहरूका लागिमात्रै बदलिने कि त्यसले जनसाधारणहरू झन्–झन् दु:खको, समस्याको, अभावको, अन्यायको, अत्याचारको गर्तमा भास्सिने । तर हिजो केही तोला सुन र एककट्ठा घडेरी सम्पत्ति रहेको सार्वजनिक गरेर सर्वहाराकरण भएको घोषणा गरेको मानिस भने बितेको चार दशकमा एक कौडी पैसा आउने कुनै उद्यमै नगरिकन देशकै सबैभन्दा धनाढ्य मानिसको जीवनशैली बिताउने अवस्थामा बदलिने । जनसाधारणको भने न जीवन भोगाइको अवस्था बदलिने न दु:ख र संघर्षका परिस्थिति ।

के कुरा छ, बीचमा कामै नगरी आफैंले झुत्रे अवस्था देखेर, विश्वास गरेर, आफैं बीचबाट थपना गरेको नायकको आर्थिक, सामाजिक, वर्गीय अवस्था बदलिइरहने तर आफ्नो सिंगै जिन्दगी निकृष्ट तहको श्रम गर्दा पनि झन्–झन् नाजुक हुने ? यस रहस्यको यथार्थ कहिल्यै नखोज्ने । नियति र भाग्यको दाम्लोमा बाँधिएर चतुर मानिसहरूले गरेको छल, कपट, धुर्त्याइँलाई बदल्न आफैं अघि नबढ्ने । बरु भर्सेलोमा परेको विश्वासको भारी थाम्न फेरि अर्को नायक थाप्ने । त्यस नायकबाट पनि ठगिने र फेरि अर्को नायक खोज्ने । नायकहरू बदलिरहने । मुक्तिदूतहरू बदलिरहने । क्रान्तिका नाममा । शान्तिका नाममा । चुनावका नाममा । भोट र सांसदका नाममा । मन्त्री र प्रधानमन्त्रीका नाममा । उद्धारक र सामाजिक परोपकारीका नाममा । तर जनसाधारणहरूको दर्दको अवस्था नबदलिँदा पनि नचेत्ने । कोही अलौकिक पात्र आएर, नायक आएर, देवदूत आएर जीवनका यथार्थहरू, कठिनाइहरू बदलिदिँदैनन्, सामाजिक यर्थाथ बदल्न सामुहिक र आफ्नै बुँतामा उभिएर समस्याको सामना गर्ने बाहेक अरु कुनै तागत कामयावी छैन भनेर नचेत्ने ।
०००
हामीकहाँ नायक निर्माणको चेतना व्यक्ति हुँदै सामाजिक र राष्ट्रिय स्तरमा संकेन्द्रित हुनगएको छ, सानैदेखि ठूला र जटिल काम कसले गर्न सक्ने र कसले नसक्ने भन्ने सीमारेखा तय भएको देखेर एउट मानिस हुर्कन्छ । छोरीले यो काम नसक्ने, आमाले यो काम नसक्ने, बाले मात्रै यो काम सक्ने, दाइ–भाइले यो सक्ने । ‘आइमाई’को बुँतामा यो काम छैन । यो काम त ‘छोरामान्छे’ले पनि सक्दैन । कति काम त दाइ, बाले पनि सक्दैनन् । ‘भगवान’ले मात्रै गर्न सक्छन् । ‘राजा’ले मात्रै गर्न सक्छन् । यसरी डामिएको चेतनाले पीडित मानिसको, समाजको जीवनमा अलिकति जटिल समस्या उब्जियो कि ‘फलानो आऊ– मलाई/हामीलाई बचाऊ’ खालका चित्कारको सिरानी नहाली दु:खको निद्रा नमर्ने आदतले संक्रमित गराएको हुन्छ । त्यस्तो चेतनामा जटिलता पार लगाउने पात्र आफू हैन, अरु नै कोही विशिष्ट मानिस हुन्छ । त्यो कि ‘राजा’ हुन्छ कि ‘देउता’ हुन्छ कि ‘मुक्ति नायक’ हुन्छ । र खास समयमा त्यस्ता नायक/देवताहरू समाधान बोकेर उपस्थित हुन्छन्, तर तिनका लागिमात्रै जसले भगवान, राजा, नायकप्रति शुद्ध चित्तले भक्तिभाव दर्शाएको हुन्छ । यसरी भक्ति चेतना हाम्रो सामाजिक शिक्षाको आधारभूत सर्तका रूपमा यहाँ हुर्किएको अधिकतर मानिसमा आरोपित छ ।

नायक निर्माणको यही कहालीलाग्दो शृङखलाले डामिएर कहिले हामी वर्तमानसँग आजित भएर इतिहासका पात्रहरूमा नायकत्वको खोजी गर्छौं । कहिले नायक खोजीको दु:ख टार्न भविष्यमुखी नायकको खोजीमा नयाँ–नयाँ पटकथाहरूको भेल बगाउँछौं । तर वर्तमानको दु:ख न इतिहासतिर फर्किएर खडा गरिएका नायकहरूले मेटिदिन्छन् न वर्तमानका जादुयी पात्रहरूले । वर्तमानको समस्या या दु:खसँग तपार्इं, हामीले दृढतापूर्वक आफैं
नजुधी, त्यसको कठोर हदसम्म आफैंले सामना नगरी र उपयुक्त समाधान नखोजी पार लाग्दैन ।
०००
सिमान्त मानिसहरूले थपना गरेका गाउँदेखि केन्द्रसम्मका राजनीति नामको व्यवसायमा संलग्न नायकहरू मनिसका दु:खलाई या त वास्तै गर्दैनन्, गर्नेहरू पनि त्यसलाई मोलाहिजाको विषय बनाएर आफ्नो गोजी भर्ने मेलो बनाउँछन् । तिनलाई राजनीति भनेको राज्य, समाज, नागरिक चुसेर–निचोरेर आफू बलियो–दरिलो बन्ने खेलो हो भन्ने बाहेक अरुमा विश्वास छैन । वैदेशिक रोजगारीमा ठगी गर्नेदेखि गुन्डागर्दी, ठेकेदारी, जग्गा दलाली गर्नेसम्मको गलत काम गर्नेलाई समात्यो भने तिनको संरक्षणमा पेसेवर राजनीतिकर्मी उभिनु आजको दिनमा अनौठो मानिँदैन ।
यहाँ नियमित प्रक्रियाबाट मानिसहरूले आफ्नो अप्ठेरो फुकाउन सक्ने कानुनी, प्रशासनिक संयन्त्रहरू वास्तविक अर्थमा उपस्थित त छन् । तर न्याय खोज्न अदालत पुगेको निमुखाको सिंगै जिन्दगी तारिखमा लतारेर न्यायको अनुभूति नै गर्न नपाई निख्रन्छ । ठगिएको, दु:ख पाएको, अन्यायमा परेको उजुरी लिएर गएको नागरिकले न्याय पाउने त परको कुरा उसको उजुरी दर्ता हुने र त्यसउपर कारबाही हुने कुरा उसको हैसियत (गोजीको समेत) मा भर पर्छ । यसरी निरुपाय र निरीह बनाइएका मानिसहरू जब कसैले आफ्नो पीरमर्का उठाइदिएको पाउँछन्, तिनैमा आफ्नो विश्वासको पटुको बाँधिदिन्छन् । तिनैमा दु:ख पखालिदिने चमत्कारी नायकत्वको अंश आरोपित गर्छन् । ठिक–ठिक तवरले जिम्मेवारी राज्य संयन्त्रले आफ्नो दायित्व निर्वाह गरेको भए, नागरिकहरूको समस्याको पैरवीकर्ता मानिने राजनीतिकर्मीले मानिसका समस्यालाई आफ्नो आम्दानीको स्रोतका रूपमा व्यवहार नगरेको भए, जिम्मेवार मिडियाले आफूलाई अप्ठेरोमा परेका सिमान्त मानिसहरूको पहुँचमा राख्नसकेको भए अमूक पात्रहरूलाई नायक बनाउने र अमूक पात्रहरूलाई खलनायक बनाउने हाम्रो उच्चाटलाग्दो सामाजिक प्रयत्न यति अतृप्त तिर्खा पालेर बस्थेन ।
०००
यथार्थत: कुनै पनि समाजमा विद्यमान समस्या समाधान कुनै जादुयी नायकहरूले हैन, सामुहिक सामाजिक चेतना, संघर्ष र सामनाले मात्रै सम्भव हुन्छ भन्ने तथ्य जति चाँडो मानिसहरूले आत्मसात गर्छन्, उति छिटै यस्ता भाग्यवादी, परनिर्भर, आशामुखी चिन्तनले खडा गरेका नक्कली नायकत्वको जमिन भास्सिन कुनै साइत कुर्नु पर्दैन । मानव जातिको लामो इतिहासको क्रममा जति पनि प्रलय, विपत्हरू हाम्रा पुर्खाहरूमाथि खनिए, त्यसबाट उनीहरूलाई कुनै मुक्तिदूत या चमत्कारी नायकहरूले होइन, हाम्रा तिनै पूर्वजहरूको हजारौं वर्ष लामो सामुहिक विवेक, मन्थन, सामना, संघर्ष र उपाय/विकल्पहरू खोजीको यत्नले बचाएको छ । समस्याबाट बाहिर निकालेको छ र अग्रगतिको बाटोमा हिँडाएको छ ।

सामाजिक व्यवस्था कायम गर्न फरक–फरक क्षमता तर समान हैसियत भएका मानिसहरू मध्येबाट अगुवा छानिन सक्ने कुरामा अन्यथा नरहला । हरेक मानिससँग कुनै न कुनै खालका विशिष्ठता, योग्यता र क्षमता हुन्छ । ती सबै योग्यता जोडेर सामुहिक खाँचो, आवश्यकता समाधान गर्ने, सामुहिक चेत, विवेक, योग्यताका बलमा समस्या सामना गर्ने र समाधानको बाटो तय गर्ने हो । कोही एकै व्यक्तिसँग आजको नेपाली समाजको सारा समस्याको समाधानको बुटी छैन । सबैको सामुहिक वुद्धि, विवेक, विचार, चिन्तन, चेतना मिलाएर साझा समस्याको साझा तवरले नै समाधानको बाटो तय गर्ने बाहेक हामीसँग अर्को उपाय छैन । त्यसका लागि हामीजस्तै मानिसबाट कोही अगुवा बन्न सक्ला । तर समाधानको जादुयी छडी लिएको कोही अग्रदूत, मुक्तिदूत आएर हाम्रो समस्या मेटिदिने छैन । यो तथ्य बुझ्न जति ढिला हुन्छ, नायक निर्माणको सामाजिक चेतनाले डामिएका हामीहरू यो अन्त्यहीन चक्रबाट बाहिर निस्कन सक्ने घडी उति ढिला भइरहनेछ ।

प्रकाशित : आश्विन ४, २०७६ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्

अम्बेडकरबाट सिक्नुपर्ने पाठ

हिरा विश्वकर्मा

पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका सहसंयोजक डा. बाबुराम भट्टराईले एक दलित संस्थाले आयोजना गरेको कार्यक्रममा दिएको अभिव्यक्ति चर्चामा छ । धेरै त्यो अभिव्यक्तिलाई डा. भट्टराईको राजनीतिक ‘स्टन्ट’ भनेका छन् । म एक दलित अभियन्ताको दृष्टिकोणले हेर्दा हामीले गम्भीर रूपमा सोच्नुपर्ने विषय हो यो । 

कुनै पनि विचारधारा कत्तिको उपयोगी छ भन्ने कुरा देश, काल र परिस्थिति अनुरुप छ कि छैन भनी हेर्नुपर्ने हुन्छ । अम्बेडकर आफू अंग्रेजको उपनिवेशकालमा जन्मे, हुर्के, उच्चशिक्षा हासिल गरे र भारतीय स्वतन्त्रता आन्दोलनमा सरिक हुँदै संविधान मस्यौदा समितिको अध्यक्ष भए । नेहरू मन्त्रिपरिषदमा कानुनमन्त्री भए । तर उनले सोचेजस्तो काम नहुने देखेपछि राजीनामा गरे । हिन्दु भएर जन्मनु उनको वशमा थिएन । तर उनले बुझेपछि त्यसलाई त्यागे र आफ्ना लाखौं अनुयायीसहित बौद्ध धर्म ग्रहण गरेर जीवनको अन्तिम यात्रामा निस्के । उनको यत्ति जीवनगाथाबाट हामीले के ग्रहण गर्ने र के लागू गर्ने अहिलेको चुनौती हो ।

भारत स्वतन्त्र हुनुभन्दा धेरैअघि अर्थात सन् १९१७ मै मार्क्सवादलाई आधार बनाएर लेनिनले शोभियत संघमा बोल्सेभिक क्रान्ति गरिसकेका थिए । चीन पनि मार्क्सवादी विचारधारामै टेकेर जनवादी क्रान्ति गर्ने अन्तिम चरणमा थियो । भारतमै पनि कम्युनिस्ट पार्टीको भूमिका विस्तार हुँदै थियो । हामीमध्ये दुई तिहाइले कम्युनिस्टको समानता र सर्वहाराको अधिनायकवाद सिद्धान्तमा आकर्षित भएर संसारबाट लगभग लोप भैसकेको कम्युनिस्ट सिद्धान्त पछ्याउने नेकपालाई सत्तामा पुर्‍याएका छौं । माओवादी ‘जनयुद्ध’कालमा ११ सयभन्दा बढी दलितले प्राणको आहुति दिए भने एमालेमा पनि लाखौं दलित समाहित छन् । हाम्रो नजिकको छिमेकी देश भारत जसको आर्थिक, राजनीतिक तथा सांस्कृतिक पद्धतिबाट हामी धेरै प्रभावित छौं । तर भारतमै फलेफुलेको अम्बेडकरवादबाट चाहिँ किन प्रभावित हुन सकेनौं ? किन नेपालको दलित आन्दोलनको मार्गदर्शक सिद्धान्त अम्बेडकरवाद हुन सकेन ?

अम्बेडकरले भारतमा उत्पीडनमा रहेकाहरूको नेतृत्व गर्दै अश्पृयता विरोधी आन्दोलन आफ्नै जन्मथलो महाराष्ट्रबाट सुरु गरे । भारतभर फैलाए । अलग्गै राजनीतिक हैसियत दिलाए । उनीसँग जनबल र बौद्धिक बल दुइटै थियो । यी सबै आन्दोलनमा उनले मार्क्सवादलाई पनि उपयोग गर्न सक्थे, त्यसकै आधारमा संगठन निर्माण गर्न सक्थे । तर उनले त्यसो कहीं कतै गरेनन्, बरु उनी गान्धीको अहिंसात्मक आन्दोलनका अनुयायी तथा पक्षपाती भए । यसकै आधारमा उनले राष्ट्रिय कंग्रेस, अंग्रेज सरकारसमेत सम्मिलित १९३१ को पुना प्याक्टमा सक्रिय भाग लिए । उनको आन्दोलन र नेतृत्व यति सशक्त थियो कि उनले राखेको प्रस्तावलाई गान्धी र अंग्रेज सरकार दुवैले मान्न बाध्य भए ।

जसरी मुस्लिमहरूका लागि छुट्टै देशको माग भयो, त्यस्तै माग दलितहरूका लागि पनि उनले राखे । किनभने स्वतन्त्र भारतमा पनि सवर्णहरूले नै शासन गर्ने हुन्, त्यो शासन पनि उत्पीडनकारी नै हुन्छ भन्ने उनको ठहर थियो । गान्धी आफू हिन्दु भएकाले मुस्लिमका लागि देश टुक्रिनुलाई सहजै स्वीकारे । तर अम्बेडकरका लागि भने देश टुक्र्याउने कुरा असहज भयो र उनी अनशन बसे । ज्यान जोगाउन अम्बेडकरले आफ्नो अडान परित्याग गर्नुपर्‍यो र त्यसका बदलामा उनलाई संविधान बनाउने जिम्मा दिइयो र भनियो– देश टुक्र्याउने बाहेक अन्य जे चाहन्छन्, दलितका लागि त्यही व्यवस्था गरिदिनू ।

भारतको यो घटनाले के सिकाउँछ भने कुनै पनि ठूलो माग पूरा गर्न एउटा बलियो राजनीतिक संगठन आवश्यक हुन्छ । सम्भवत: पुना प्याक्टमा अम्बेडकरको त्यो बौद्धिक र राजनीतिक हैसियत प्राप्त नभएको भए संविधान लेख्ने जिम्मेवारी उनले प्राप्त गर्दैनथे र अहिलेसम्म भारतमा दुईजना दलित राष्ट्रपति बन्ने अवसर पाउँदैनथे । उनले संविधान बनाउन पाउँंदा भारतमा दलित तथा आदिवासीका लागि आरक्षणको बलियो जग बस्यो । त्यहांँ अहिले दलित मध्यम वर्गको ठूलो तप्का खडा भएको छ । राजनीतिक रूपमा पनि दलितको प्रतिनिधित्व सुनिश्चित भयो । अहिले ५ सय ४३ सदस्यीय लोकसभामा ८३ जना दलित सांसद छन् ।

अम्बेडकरले भारतमा प्रचलित धेरैजसो धर्मको गहन अध्ययन गरे । भारतीय समाजलाई धर्मले यति गिजोलेको छ कि त्यसबाट मुक्त भएर एउटा नास्तिकको जीवन जिउन धेरै गाह्रो छ भन्ने अम्बेडकरलाई राम्ररी नै थाहा थियो । अत: कुनै न कुनै धर्म अपनाउनैपर्छ भन्ने निचोडमा पुगे र अन्त्यमा बौद्ध धर्म अपनाउने निधो गरे । उनी लगायत उनका अनुयायीहरूलाई समाहित गर्न भारतमा प्रचलित सबै धर्म लालायित थिए । त्यसमा हिन्दु धर्मको कट्टर अनुयायी राष्ट्रिय स्वयम्सेवक संघ पनि अग्रपंक्तिमा थियो । उनले बौद्ध धर्मलाई मार्क्सवादसँग तुलना गरेका छन् । उनको ठम्याई मार्क्सवादले हिंसा छाड्ने हो भने ती दुईमा तात्त्विक भिन्नता रहँदैन । अहिले भारतमा हिन्दु धर्म मान्ने दलित र बौद्ध धर्म ग्रहण गरेका दलितबीच जीवनशैली र प्रगतिमा असमानको फरक छ ।

दलित उद्यमीहरूको छुट्टै दलित च्याम्बर्स अफ कमर्स एन्ड इन्डिस्ट्रिज छ । यसमा सक्रिय लाखौं उद्यमीमध्ये अधिकांशले बौद्ध धर्म अँगालेका छन् । यसले माडवारीहरूले जस्तै बौद्ध धर्म मान्ने दलितहरूलाई एकताबद्ध र समृद्ध बनाउन सहयाग पुर्‍याएको छ । हिन्दु धर्म मान्ने दलितहरूको स्थितिमा भने खासै परिवर्तन छैन । अम्बेडकर विचारधारालाई थप उचाइमा पुर्‍याउने काम काशीराम र मायावतीले गरेका छन् । उनीहरूको पनि एउटै मन्त्र छ– ‘दलितहरू एउटा छुट्टै राजनीतिक शक्ति बन्नुपर्छ । यसमा अन्य जात र धर्मकालाई पनि सम्मिलित गराउन सकियो भने सत्ता प्राप्त गर्न सकिन्छ ।’

अम्बेडकर विचारधारा ग्रहण गर्ने हो भने हामीले दलितहरूको छुट्टै राजनीतिक शक्ति बनाउन जरुरी छ । भारतका १६ प्रतिशत दलितले छुट्टै राजनीतिक हैसियत प्राप्त गर्न सक्छन् भने नेपालका १४ प्रतिशत दलितले किन सक्दैनन् ?

प्रकाशित : आश्विन ४, २०७६ ०८:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्