कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अम्बेडकरमा अल्झिएको नियत

सुजित मैनाली

काठमाडौँ — पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको केही दिनअघिको एउटा अभिव्यक्ति आम चर्चाको विषय बन्यो । दलित जागरण सम्बन्धी काम गर्ने एउटा संस्थाले आयोजना गरेको कार्यक्रममा उनले छुवाछूत सम्बन्धी हिन्दु धर्मशास्त्रका व्यवस्था सच्चिनुपर्ने, अन्यथा दलितहरूले हिन्दु धर्म परित्याग गर्नुपर्ने बताए । 

अम्बेडकरमा अल्झिएको नियत

‘जुन धर्मले तपाईंहरूलाई पैतालाबाट जन्मिएको भनेर जन्मदेखि नै अपमान र विभेद गर्छ, त्यही धर्म किन स्वीकार गर्नुहुन्छ ?’ उनले दलित अभियन्ताहरूसलाई प्रश्न गरे । भाषणको पूरकका रूपमा सामाजिक सञ्जालमा उनले छुवाछूतयुक्त वर्णव्यवस्था अन्त्य गर्ने हो भने भारतको दलित समुदायका नेता बीआर अम्बेडकरले देखाएको बाटोमा चल्नुपर्ने धारणा राखेपछि धर्मको आडमा राजनीति गर्न प्रयत्नरत व्यक्तिदेखि आम नागरिकसम्मको ध्यान यसपट्टि गएको छ ।


निपुण निदान

छुवाछूतयुक्त वर्णव्यवस्थालाई तारो बनाउने क्रममा भट्टराईले अघि सारेका तर्क वस्तुतः गलत छैनन् । छुवाछूत प्रथा हिन्दु धर्मको आङमा ऐँजेरु बनेर हजारौं वर्षदेखि झुन्डिरहेको छ । हिन्दु समुदायको समाजशास्त्रले मूलतः छुवाछूत प्रथालाई केन्द्रमा राख्दै आएको छ । विभिन्न हिन्दु धर्मग्रन्थबाट निःसृत दलित र महिलाद्वेषी अवधारणाका कारण ‘सर्वधर्म समभाव’ अथवा ‘वसुधैव कुटुम्बकम्’ को नारामार्फत विश्वसमुदायमाझ आफूलाई विशिष्ट पहिचान दिलाउन हिन्दु धर्मलाई गाह्रो परिरहेको छ । छुवाछूतको दलनबाट दलितहरू हजारौं वर्षदेखि आक्रान्त छन् । आर्य र भारतीय उपमहाद्वीपका रैथानेबीच निर्णायक युद्ध भएसँगै वर्णव्यवस्थाको भ्रूण अंकुरित भयो ।

युद्धमा आर्य विजयी भए । वेदका ऋचाहरूको हवाला दिँंदै पाण्डुरंग वामन काँणेले जनाए अनुसार, आर्यले पराजित रैथानेलाई दस्यु (असभ्य) भनी परिभाषित गरे । दस्युहरू दास बनाइए । उनीहरूलाई शूद्र हुँदै प्रकारान्तरमा अछूत बनाइयो ।

छूत हुँदै अछूतसम्मको दलितयात्राबारे वेद लगायत प्राचीन संस्कृत ग्रन्थले यथेष्ट संकेत गरेका छन् । ऋग्वेद (१०।९०।१२) र यजुर्वेद (३१।११) का ऋचालाई वर्णव्यवस्थाबारे उल्लेख भएका प्राचीनतम सन्दर्भ–सामग्री मानिन्छ, जहाँ ब्राह्मण ब्रह्माको मुखबाट, राजन्य (क्षत्रीय) पाखुराबाट, वैश्य जाँघबाट र शूद्र पाउबाट उत्पन्न भए भनिएको छ । वेदका यी ऋचाले सामाजिक तह अनुरूपको श्रमविभाजनतर्फ संकेत गर्छन् । यी ऋचामा छुवाछूतको गन्ध पाइँदैन ।

समयक्रममा वर्णव्यवस्थामा श्रमविभाजनसँगै छोइछिटोले पनि प्रश्रय पायो र अछूत वर्गको उदय भयो । यसको संकेत वेदपछि रचना भएका गौतमधर्मसूत्र, मनुस्मृति लगायत शास्त्रमा यत्रतत्र पाइन्छ । अछूतहरूलाई छोइछिटो बार्न मात्र होइन, स्वतन्त्र रहन अथवा उद्यमशील हुन पनि रोक लगाइयो । छोइछिटोको प्रमाणका लागि गौतमधर्मसूत्र (२।३।२) मा ‘द्विजाति स्त्रीसँग सम्भोग गर्ने शूद्रको लिंग काटेर सर्वस्वहरण गर्नु’ भनिएको अथवा मनुस्मृति (५।१०४) मा ‘आत्मीयजन हुँदाहुँदै मृत्यु भएका ब्राह्मणलाई शूद्रद्वारा नउठाइयोस्, किनभने शूद्रको स्पर्श दूषित हुने भएकाले मृतकको शव स्वर्ग जानलायक हुँदैन’ भनिएको सन्दर्भलाई लिन सकिन्छ । उनीहरूलाई स्वतन्त्र रहन दिइएन भन्ने प्रमाणका लागि मनुस्मृति (८।४१३) मै ‘ईश्वरले ब्राह्मणको दास बन्नका निम्ति शूद्रहरूलाई उत्पन्न गरेका हुन्’ भनी उल्लेख गरिएको प्रसंगलाई लिन सकिन्छ ।

त्यस्तै, उनीहरूलाई उद्यमशील बन्न नदिइएको कुराको प्रमाणका लागि पनि मनुस्मृति (१०।१२१) मै ‘ब्राह्मणको सेवामा रहेर यदि शूद्रको जीवन निर्वाह हुँदैन भने उसले क्षत्रीयको सेवा गरोस्, यदि उसबाट पनि जीवन निर्वाह नभए धनी वैश्यको सेवा गरेर जीवन निर्वाह गरोस्’ भनी गरिएको व्यवस्थालाई लिन सकिन्छ ।

वर्णव्यवस्थाको जस्तो श्रमविन्यास पर्सिया, रोम, जापान लगायत एसिया र युरोपका विभिन्न मुलुकमा अभ्यास हुन्थ्यो । प्राचीन ग्रीसका चिन्तक प्लेटोले पनि आफ्नो ग्रन्थ ‘द रिपब्लिक’ मा समुदायका मानिसलाई शासक (गार्डियन्स), योद्धा (अक्जिलियरिज) र किसान–शिल्पी (प्रोड्युसर) गरी तीन वर्गमा विभाजन गरेका थिए । मानिसको आत्मा प्रज्ञा, साहस र वासनामा विभाजित हुन्छ भन्दै उनले यसैसँग मिल्ने गरी सामाजिक तह निर्धारण गरेका थिए ।

यसअतिरिक्त दासहरूको अर्को वर्गलाई पनि उनले मान्यता दिएका थिए । हिन्दु समुदायको श्रमविभाजन अन्तको भन्दा आततायी थियो, किनभने यसमा छुवाछूत मिसिएको थियो । यसतर्फ औंल्याएर हिन्दु धर्मको मूल समस्या पहिचान गर्न बाबुराम भट्टराई सफल भएका छन् ।


अम्बेडकरको फेरो

बाबुराम भट्टराईले अम्बेडकरको किताब ‘एन्निहिलेसन अफ कास्ट’ लाई जातव्यवस्था निर्मूल गर्ने अचूक अस्त्र ठहर गरेका छन् । यो किताबबारे चर्चा गर्नुअघि यसको पृष्ठभूमि खोतल्नु वाञ्छनीय हुन्छ । आर्यसमाजका प्रवर्तक दयानन्द सरस्वतीले वर्णव्यवस्थाको श्रमविभाजनलाई स्विकारे पनि यससँग गाँसिएर आएको छुवाछूत प्रथालाई ‘अवैदिक’ करार गरी अस्वीकार गरे ।

सन् १९२२ मा आर्यसमाजले जातपात सम्बन्धी चलन अन्त्य गर्न भनेर ‘जातपात तोडक मण्डल’ गठन गर्‍यो । त्यसको चौध वर्षपछि मण्डलले आफ्नो एउटा सभामा वक्ताका रूपमा अम्बेडकरलाई निम्तो गर्‍यो । अम्बेडकरले आयोजकलाई आफ्नो भाषणको मस्यौदा बुझाए । त्यो हेरेपछि मण्डल पछि सर्‍यो ।

भाषणको मस्यौदामा छुवाछूतयुक्त वर्णव्यवस्था निर्मूल गर्न यसलाई टेको उपलब्ध गराउने हिन्दु धर्मग्रन्थहरू खारेज हुनुपर्ने पूवसर्त तेर्स्याइएको थियो । हिन्दु धर्मले छुवाछूत र जातपातको उपचार गर्न नसक्ने ठहर गर्दै त्यही भाषणमार्फत अम्बेडकरले हिन्दु धर्म त्यागेको घोषणा गर्ने बुँदा मस्यौदामा थियो । मण्डलको सभामा भाषण नबाचिए पनि ‘एन्निहिलेसन अफ कास्ट’ शीर्षकमा यो प्रकाशित भयो, जसले ठूलो चर्चा कमायो ।

दलितहरूको सवालमा अम्बेडकरलाई आदर्श मान्नु बाबुराम भट्टराईको व्यक्तिगत स्वतन्त्रता हो । कसैलाई आदर्श मान्दै गर्दा उसको चिन्तनको मर्मप्रति सहमत हुनैपर्छ । नत्र आदर्श मान्ने घोषणा खोक्रो साबित हुन्छ र व्यक्तिगत स्वार्थपूर्ति गर्ने फगत साधनका रूपमा खुम्चिन पुग्छ ।

अम्बेडकरलाई कतिपयले ‘अराष्ट्रवादी अभियन्ता’ भन्ने गरेका छन् । भारत स्वतन्त्र हुँदै गर्दा उनले वर्णव्यवस्थाको शिरमा रहेकाहरूबाट शासित हुनुभन्दा बेलायतीबाटै शासित हुनु ठीक हो भनेका थिए । यति हुँदाहुँदै पनि उनको समग्र जीवन नियाल्दा स्थानीय संस्कृतिमा आधारित राष्ट्रिय पहिचानप्रति उनको झुकाव देखिन्छ । राष्ट्रिय पहिचानलाई स्थानीय संस्कृतिको टेको दिने सवालबाट अम्बेडकर टसमस थिएनन् । हिन्दु धर्मको आलोचना गर्दैगर्दा उनले इस्लामको पनि दोहोलो काढे ।

एउटा सन्दर्भमा उनले हिन्दु धर्मका यावत् दुर्गुण इस्लाममा भएको र यसका अतिरिक्त थप केही दुर्गुणले इस्लाम युक्त भएको बताएका थिए । उनले हिन्दु धर्मको आलोचना गर्दा हिन्दुवादीहरूले निकै तल ओर्लिएर उनीमाथि लाञ्छना लगाएका थिए । तर अहिले आएर हिन्दुवादीहरूले उनीप्रति शिर निहुर्‍याइरहेका छन् । यसो गर्नुमा हिन्दुवादीहरूको स्वार्थ पनि छ । अम्बेडकरलाई आदर्श मान्दा आफूहरू छुवाछूतको प्रखर विरोध गर्ने प्रगतिशील खेमामा दरिन्छौं भन्ने उनीहरूको आश छ । यही कुरा महसुस गरेर संघ परिवारले आफ्ना मञ्चलाई अम्बेडकरको तस्बिरले सजाउन थालेको छ ।

अम्बेडकरप्रति हिन्दुवादीहरू भावुक हुनुका अन्य कारण पनि छन् । हिन्दु धर्मको आलोचना गर्दैगर्दा उनले त्यसबाट इस्लाम अथवा इसाई धर्मलाई लाभान्वित हुन दिएनन् । जीवनको अन्तिम दिनताका आफ्ना दसौं लाख दलित समर्थकसहित उनले बौद्ध धर्म ग्रहण गरे । बौद्ध धर्मलाई हिन्दुवादीहरूले स्थानीय धर्म मान्छन् । हिन्दुहरू बौद्ध धर्ममा लागे भने पनि राष्ट्रिय मनोविज्ञानको लगाम अन्त पुग्दैन भन्ने उनीहरूको मान्यता छ ।

संकटको घडीमा अम्बेडकर भारतको राष्ट्रिय स्वार्थको पक्षमा उभिएका थिए । सन् १९४७ मा भारत र पाकिस्तान स्वतन्त्र भएपछि उनले हैदराबादका निजामको पक्ष लिएर पाकिस्तानमा समाहित हुने निर्णयमा सहमति नजनाउन त्यहाँका दलितहरूलाई आह्वान गरेका थिए । पाकिस्तान र त्यहाँका राज्य तथा नागरिक समाजले अवलम्बन गरेको धर्म सम्बन्धी नीतिको पनि उनी चर्को आलोचक थिए ।

भारतमै उद्भव भएको धर्म मान्ने व्यक्तिलाई भारतबाहिर विकास भएको धर्म स्वीकार गर्न प्रोत्साहन गर्नु हुँदैन भन्ने अम्बेडकरको मान्यता थियो । यो कुरा उनले तयार पारेको भारतको संविधान हेर्दा पनि थाहा हुन्छ । संविधानमा दलितलाई आरक्षणको व्यवस्था गर्दैगर्दा उनले इसाई धर्म ग्रहण गरेका दलित मूलका मानिसलाई आरक्षणबाट वञ्चित गरेका थिए । इसाई धर्ममा दलित हुँदैनन् भन्ने उनको मतलाई दलितले इसाई आस्था ग्रहण नगरून् भन्ने उनको चाहनाको उपज पनि मान्न सकिन्छ ।

यी विवरणको पृष्ठभूमिमा धर्मलाई अफिम मान्ने ‘स्कुलिङ’ मा हुर्किएका ‘नास्तिक’ बाबुराम भट्टराईले धर्मको उपादेयतालाई स्वीकार गर्ने ‘आस्तिक’ अम्बेडकरलाई आदर्श मान्न मिल्छ ? संस्कृतिको सामाजिक मूल्यलाई सम्मान गर्ने अम्बेडकर संस्कृतिलाई राजनीतिक साधन मान्ने भट्टराईको आदर्श बन्न कसरी सक्छन् ? भट्टराई स्वयंले दाबी गरेझैं यदि उनी अल्पसंख्यक समुदायको संस्कृतिका हिमायती हुन् भने सशस्त्र द्वन्द्वताका उनले यो कुरालाई प्रमुखतासाथ किन उठाएनन् ? अन्य नाराले रोटी नसेकिने देखेपछि मात्रै पहिचानको आन्दोलनपट्टि उनी किन लहसिए ? अल्पसंख्यकहरूको संस्कृतिप्रति उनी साँच्चिकै रुझान राख्थे भने, आफै प्रधानमन्त्री भएका बेला अल्पसंख्यक समुदायले उठाएका सवालको दबदबा रहेको पहिलो संविधानसभा उनले किन भंग गरे ?


नियतको कसी

मौका मिल्नासाथ रङ फेरिहाल्ने अस्थिर प्रकृतिका बाबुराम भट्टराईको चरित्रको एउटै स्थिर पक्ष छ । त्यो हो— सधैं व्यक्तिगत स्वार्थलाई केन्द्रमा राख्नु । यही कारणले गर्दा उनको अभिव्यक्तिको रूपलाई होइन, सारलाई हेरेर कुरा बुझ्नुपर्छ । यसका लागि उनको नियतमा चियाउनुपर्छ । नियत चियाउन उनका पछिल्ला गतिविधि नियाले पुग्छ ।

केही महिनाअघि वीर अस्पतालमा रेशम चौधरीलाई फलामको साङ्लाले बाँधेर उपचार गरिएको फोटो बाबुराम भट्टराईले सामाजिक सञ्जालमा राखे । जबकि प्रधानमन्त्री रहिसकेका उनले गृहमन्त्री अथवा प्रधानमन्त्रीलाई फोन गरेर मध्ययुगीन प्रतीत हुने त्यस्तो व्यवहार नगर्न सुझाव दिन सक्थे । तर उनले सुनियोजित रूपमा फोटो सार्वजनिक गरे । त्यसबाट थारू समुदायमा उब्जिएको आक्रोशको फसल काट्न टीकापुरमा गएर सभा गरे । गुठी विधेयकविरुद्ध काठमाडौंका नेवार समुदाय माइतीघरमा जम्मा भएपछि उनले त्यसलाई नेवाः राज्यप्राप्तिको दिशामा मोड्ने हेतुले सामाजिक सञ्जालबाट आह्वान गरे । दलितहरूको सवालबारे उनको अभिव्यक्तिलाई यसकै पछिल्लो शृङ्खलाका रूपमा लिन सकिन्छ ।

समयको वेगले राजनीतिको किनारमा धकेलिएर आहत भएका बाबुराम भट्टराईको विश्लेषण छ— नेपालको साम्प्रदायिक जीवन बिथोलिएमा यसबाट सिर्जना हुने अस्थिरताले उनलाई पुनः राजनीतिको केन्द्रमा स्थापित गराउन सक्नेछ । त्यस बेला ‘देशकै अग्रणी’ समुदाय खस–आर्यको सदस्य भएको नाताले उथलपुथलको नेतृत्व आफ्ना लागि ‘आरक्षित’ हुनुपर्ने आग्रह उनले एउटा लेखमार्फत पछिल्लो समय सार्वजनिक गरिसकेका छन् । अम्बेडकरको फेरोमा अल्झिएको बाबुराम भट्टराईको नियत बुझ्न यत्ति नै पर्याप्त छ ।

प्रकाशित : भाद्र २५, २०७६ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?