धर्म परिवर्तनको मुद्दा

पञ्चायती
आहुति

अफ्रिकामा गोराहरू आउँदा उनीहरूसँग बाइबल थियो, हामीसँग थियो जमिन । उनीहरूले भने, ‘लौ, प्रार्थना गरौं !’ हामीले आँखा बन्द गर्‍यौं । जब आँखा खोल्यौं, हामीसँग बाइबल थियो अनि उनीहरूसँग जमिन ।’ नोबेल शान्ति पुरस्कारप्राप्त इसाई चिन्तक, दक्षिण अफ्रिकाका डेसमन्ड टुटुको मानिने बहुचर्चित यो भनाइले उपनिवेशवादले धर्मलाई कसरी उत्पीडित लुट्ने औजार बनायो भन्ने ऐतिहासिक तथ्य छर्लंग पार्छ ।


त्यसो त जबदेखि धर्मलाई राज्यले राज्यकरण गर्‍यो, तबदेखि नै धर्म राज्यको एउटा शक्तिशाली हतियारका रूपमा प्रयोग हुँदै आएको इतिहाससिद्ध नै छ । युरोपमा सामन्तवादविरोधी पुँजीवादी क्रान्तिको एउटा बौद्धिक आलम्ब थियो– धर्मनिरपेक्षताको सिद्धान्त । त्यसले धर्मबाट राज्य अलग रहनुपर्छ र धर्म ग्रहण गर्ने, त्याग्ने वा नास्तिक बन्ने विषय व्यक्तिको अधिकार क्षेत्रभित्र राख्नुपर्छ भन्यो ।

आज बहुसंख्यक देशले धर्मनिरपेक्षताको सिद्धान्तलाई नीतिमा स्वीकार गरे पनि राज्य सञ्चालन र प्रभुत्व विस्तारका निम्ति धर्मलाई प्रयोग गर्ने युगकै अन्त्य भयो भन्न सकिने अवस्था भने पटक्कै छैन । आजको भारतमा हिन्दुत्वको गाडा चढेर सयर गरिरहेको‍ पुँजीवादी शासनको चरित्रले पनि यस यथार्थलाई झस्किनुपर्ने स्तरमा पुष्टि गर्छ ।

आजको मानव समाजमा बाँकी रहेका प्रकृतिपूजक प्रवृत्तिबाहेक लिखित शास्त्रसहितका धर्महरूको आयु बढीमा चार हजार वर्षभन्दा लामो कुनैको पनि छैन । चार हजार वर्षभन्दा अघि हिन्दु अरू नै थिए । पच्चीस सय वर्षअघि कोही पनि बौद्ध र जैन थिएनन् । दुई हजार वर्षअघि कोही इसाई थिएन र पन्ध्र सय वर्षअघि कोही इस्लामधर्मी थिएन ।

यसरी कुनै पनि धर्म सनातन वा परापूर्वकालदेखि थिएन, बरु निश्चित कालदेखि आकार ग्रहण गरेर बन्न पुगेको हो । त्यसैले सबै धार्मिक सम्प्रदाय पहिलेको धार्मिक मान्यतालाई परिवर्तन गरेर बनेका हुन् । धर्मलाई व्यक्तिको विश्वास र आचरण मानिए पनि त्यो सामूहिक क्रियाकलाप हो, धार्मिक मतहरूको निर्माणमा व्यक्तिहरूले भूमिका खेलेको भए पनि संगठित शक्ति वा राज्यले प्रत्यक्ष रूपमा हस्तक्षेप नगरी कुनै धार्मिक सम्प्रदाय अर्को फरक धार्मिक मतमा प्रवेश गरेको इतिहासमा अपवाद पाउन पनि मुस्किल छ ।

जसरी ब्रिटिस उपनिवेशवादको एउटा वैचारिक हतियारका रूपमा पृथ्वीनारायण शाहको राज्य विस्तारभन्दा अगाडि वाग्मती उपत्यकामा इसाई अभियान आइपुगेको थियो, त्यसैगरी उनको गोर्खा राज्य विस्तार अभियानको विजयसँगै नेपालका गैरहिन्दुको हिन्दुकरण अभियान पनि सुरु भएको थियो ।

यसप्रकार धर्म परिवर्तन व्यक्तिहरूको रुचि वा आस्थाको विषय भए पनि इतिहासमा यो पक्ष गौण रहँदै आयो, बरु मुख्य पक्ष भने राज्य वा संगठित शक्ति निहित राजनीतिक स्वार्थकै रहँदै आयो । तसर्थ, नेपालमा धर्म परिवर्तनका पक्ष–विपक्षमा चलिरहेको गतिविधि र तर्कलाई तिनका आआफ्नै राजनीतिक स्वार्थसँग गाँसेर नहेरी धरै छैन ।

नेपालको राज्यले गैरहिन्दुलाई हिन्दुकरण गर्न थालेका कदमलाई अलग राखेर विश्लेषण गर्ने हो भने धर्म परिवर्तनका सवालमा इसाईकरणको मुद्दा सबैभन्दा तिखो बनेर आउने गरेको छ । हुन त ओशो पन्थ र हिन्दुभित्रका विभिन्न पन्थले पनि आफ्नो पन्थमा अरूलाई ल्याउन आआफ्नै प्रयत्न गरिरहेकै हुन्छन् तर ओशो पन्थको अभिजातीय कार्यशैली अनि हिन्दुभित्रका विभिन्न पन्थको त्यस्ता गतिविधिलाई सायद हिन्दु महासभ्यताभित्रकै ठानिएर त्यति वास्ता गरिन्न ।

जैन र शिख धर्म आफ्नै परम्परागत समुदायभित्र नै व्यस्त पाइन्छन् । बौद्ध धर्मका अनुयायी नेवार हुन् या महायानी तामाङलगायतका जातिमा धार्मिक चलखेलमा कुनै रुचि देखिएको छैन । महायानीअन्तर्गत डाँडाडाँडामा बनेका अर्बौंका गुम्बाको नेपालका उत्पीडित तामाङलगायतका जातिहरूको जनजीवनसँग आधारभूत साइनो पनि पाइँदैन ।

ती टल्कने गुम्बाले पनि धर्म विस्तारमा ध्यान लगाएको देखिँदैन । नेपालका उत्पीडित र गरिब तामाङलगायत जातिको परम्परासँग मिल्ने ती टल्कने धनी गुम्बाको ध्यान के चिजमा केन्द्रित छ, त्यो भने धेरैका निम्ति लख, आशंका र जिज्ञासाको विषय हो । नेपालको इस्लाम समुदाय बल्ल राज्यले ठोकेको ‘अछुत’ डामबाट मुक्त भएर हज कमिटीको बजेट बढाउने मागसम्म आइपुगेको छ ।

किरात, बहाई र अन्य चाहिँ आफ्नो वंशीय परम्पराको सांस्कृतिक निरन्तरताका निम्ति धार्मिक अनुष्ठानमै सीमित देखिन्छन् । उनीहरू कसैमा पनि धर्म परिवर्तन गराउने तहसम्मको एजेन्डा बीजाङ्कुर हुने सम्भावनै छैन । इसाईबाहेक नेपालमा निचेरेन दाउसोनिनद्वारा प्रतिपादित बौद्ध पन्थलाई फैलाउन जापानबाट सुरु भएको सोक्का गाक्काई इन्टरनेसनल पनि संस्थागत रूपमा क्रियाशील नै छ । बुद्धका नाममा आउने कुनै पन्थलाई आफन्त देख्ने नेपाली मनोविज्ञान र उनीहरूको शालीन कार्यशैलीका कारण हुन सक्छ, तीबारे खासै प्रश्न उठ्दैन ।

त्यही धर्म खास समाजमा आक्रामक हुँदोरहेछ, जसलाई सम्पत्तिवान् वर्ग वा राज्यले लगानी गर्छ । नेपाल र भारतमा हिन्दु, साउदी अरबमा इस्लाम, युरोपमा इसाई अनि म्यानमारमा बौद्ध यही कारणले त आक्रामक छन् तर अन्यमा भन्दा इसाई धर्ममा धर्म मान्नुपर्छ भन्ने मान्यता मात्र पाइन्न, फैलाउनुपर्छ भन्ने रुचिसमेत बढी पाइन्छ ।

जेरुसलममा कुण्ठित रहेको इसाई अध्यात्मलाई रोमन साम्राज्यले आफ्नो साम्राज्यको धार्मिक वैधता सिर्जनाका निम्ति प्रयोग गरेको ऐतिहासिकता वा युरोपेली साम्राज्य विस्तारका क्रममा धर्मलाई समेत बौद्धिक हतियारका रूपमा प्रयोग गरेको सन्दर्भले हुन सक्छ, इसाईहरूमा धर्म परिवर्तन गराउने रुचि बढी पाइन्छ ।

नेपालमा २००७ सालको वरपरबाट इसाई मिसन जेभियर शिक्षा लिएर प्रवेश गरेको हो । रोमन क्याथोलिक चर्चलाई मान्ने यो शैक्षिक अभियानको फाइदा लिन सधैँभरि नेपालको शासकवर्ग बत्तीमा पुतलीजस्तै झुम्मिँदै आयो र झुम्मिरहेकै छ । जेभिरियन शिक्षा अभियन्ताहरू धर्म परिवर्तन गराउने उत्ताउलो अभियानमा कहिल्यै लागेको पाइएको छैन तर दीनदुःखीको सेवा गर्दा अनि आफूले जानेको ज्ञान वितरण गर्दा कुनै न कुनै स्तरमा इसाईकरण नहुन सम्भव थियो र ?

पञ्चायतकालसँगै इसाईभित्रका प्रोटेस्टेन्टहरू विभिन्न ढंगले नेपालमा हर्ताकर्ताका रूपमा आउन थाले । कहिले अमेरिकन पिस कोरका नाममा, कहिले विश्वविद्यालय स्थापना गर्न र यहाँसम्म कि २०२१ सालको भूमिसुधारको डिजाइन सुझाव गर्न समेत अमेरिकी इसाईलाई निम्त्याइयो । यो क्रम बढ्दै पञ्यायतकालको अन्त्यसम्ममा सिधै नागरिकलाई लगानी गर्न पाउने गरी प्लान इन्टरनेसनलको कार्यक्रम अनि एक्सन एडलगायतलाई भित्र्याइयो ।

२०४६ सालपछि त पूरै देशमा इसाई धर्म मान्नेको दानमा चल्ने गैरसरकारी संस्थाहरूको चारकोसे झाडी नै खडा गरियो । पैसा लिएर आउने सबैलाई निम्तो दिएपछि जस्ता पनि आए रआफ्नो सरोकारको काम फत्ते गर्न लागे नै । विदेशी संस्थाबाट आएको पैसाबाट आफ्नो जीवन र राजनीतिलाई भव्य बनाउन पैसा आउन सक्ने फर्जी शीर्षक र तरिकाको चोर द्वार शासकहरूले नखोलेका भए धर्म परिवर्तन गर्ने नियतले लगानी गरिने पैसा पनि त्यही चोर द्वारबाट आउन कसरी सम्भव हुन्थ्यो र ?

हिजोका मात्र हैन, आजका शासकहरू पनि चलखेलमय धार्मिक अभियानको गतिलो आड कसरी बनेका छन् भन्ने यथार्थ सखारै रामदेवका अगाडि आशीर्वाद लिन टुँडिखेल पुग्ने वा पूर्व र वर्तमान प्रधानमन्त्री होलीवाइनवाला इसाई मिसन देशभित्र ल्याउन कम्मर कसेर लाग्ने गरेबाटै पुष्टि हुन्छ । केका लागि ? उत्तर प्रस्टै छ– सत्ता र पैसाका लागि । २००७ सालदेखि पञ्चायत हुँदै आजसम्मका शासकहरूको नेपालमै उत्पादन गरेर आत्मनिर्भर हुन नखोज्ने बरु विदेशीको दलाली गरेर सुखसयल गर्ने दलाल प्रवृत्तिकै कारण धर्म परिवर्तनको मुद्दा आजको स्तरमा प्रकट भएको हो ।

अहिले २००७ साल वरपरबाट क्याथोलिक इसाई भएका परिवारको पनाति पुस्ता चलिरहेको छ अनि पञ्चायतकालमै प्रोटेस्टेन्ट इसाई भएका परिवारको कम्तीमा नातिनी पुस्ता चलिरहेछ । ती पनाति र नातिनी पुस्ता धर्म परिवर्तन गरेर इसाई भएका होइनन्, बरु हजुरबा वा आमाबाट संस्कारमा इसाई अध्यात्म पाएका हुन् । उनीहरूप्रति अन्य धार्मिकको गलत नजर पर्नु स्वतः अन्यायपूर्ण हुन जान्छ । इसाई धर्मसँग सम्बन्धित यी दुई पन्थका अलावा अरू विभिन्न पन्थ नेपालमा थपिएका छन् ।

कुनै जापानी, कुनै कोरियन इत्यादि । कुनैले भन्छन्– पुरानो चाड मान्नै हुन्न । कुनैले भन्छन्– माने’नि हुन्छ तर प्रभुलाई माने पुग्छ । आस्थाको कारण मात्र जो इसाई छ, त्यो लास गाड्ने स्थान नपाएर दिक्दार छ । जो अन्य कारणसहित छ, ऊ अन्य कारणमै रोमाञ्चित प्रतीत हुन्छ । नेपालमा हिन्दु, बौद्ध र किरातधर्मीहरू नै सबैभन्दा बढी धर्म परिवर्तन गरेर इसाई भएको भेटिन्छ । हिन्दुभित्रका दलित, बौद्ध र किरातभित्रका गरिबहरूको एउटा हिस्सा त्यता आकर्षित छ । त्यस्तो किन हुन पुग्यो ?

छुवाछुत र भेदभावबाट आक्रान्त दलित सम्मानको खोजीमा त्यहाँ पुग्यो । मन्दिरमा पस्न नपाउने तर चर्चमा सबैसँग बसेर प्रार्थना गर्न पाउने स्वतन्त्रताले दलितलाई आकर्षित नगर्ला ? संस्कृत विश्वविद्यालय खोलेर जजमानी व्यवसायी जन्माउन अर्बौं खर्चिनेहरू सबै सार्वजनिक धार्मिक अनुष्ठानमा सम्मान र समता दिन तम्सेका भए दलितको सानो हिस्सा धर्म परिवर्तनतिरभड्किन्थ्यो ?

किरातहरूको धार्मिक–सांस्कृतिक पहिचानलाई राज्यले मलजल गरेको भए के किरातको त्यो हिस्सा त्यतातिर नयाँ ख‍ोज्न बिच्किन्थ्यो ? अनि राज्य गरिबी र धार्मिक रूढिविरुद्ध लगातार समृद्धि र विज्ञानका पक्षमा दृढ अभियानरत भएको भए कोही गरिब धर्म परिवर्तनको फजुल यात्रामा निस्कन्थ्य‍ो ? धर्मलाई आवश्यकतानुसार कम्तीमा उदार मात्र बनाउँदा पनि नागरिकहरू धर्म परिवर्तनका अतिरिक्त जटिलतातिर लाग्दैनन् भन्ने एउटा प्रमाण इजरायल हो । इजरायल, जहाँ इसा मसिहको जन्म भएको थियो र पहिलो चर्च पनि त्यहीँको लाई मानिन्छ तर त्यहाँ इसाईको संख्या मात्र दुई प्रतिशत छ । समस्याक‍ा जरा आफैंभित्र नखोजी दोष बाहिर थ‍ोपरेर मात्र समाधान कसरी निस्कन्छ र ?

धर्म परिवर्तनका निम्ति वैचारिक रूपमा पाँच तर्क प्रयोगमा ल्याएको भेटिन्छ । एक, असल मानिस बनाउने । दुई, रोगव्याधिबाट मुक्त गराउने । तीन, जातपातबाट मुक्त गराउने । चार, सरल ढंगबाट पाप कट्टे गर्ने र पाँच, दीनदुःखीको सेवा गर्ने । इसाई धार्मिक समाजबाट विकसित नेताहरूले जापानमा परमाणु बम खसालेका हैनन् ? धर्मले कहाँ बनायो असल मान्छे ? यहाँसम्म कि, पोपले नै स्वीकार गरे– चर्चका सिस्टरहरूमाथि यौन अपराध भएको छ ।

जात व्यवस्थाबाट मुक्त गर्ने भए इसाई बनेका दलितहरू किन छुवाछुतविरोधी आन्दोलनमा सहभागी हुन्थे ? पाप कट्टे गर्ने कुरा त फजुल हो भन्ने स्पष्टै छ । रोगव्याधिबाट धर्मले मुक्त गर्ने भए सबैभन्दा बढी चिकित्सा विज्ञान विकास गर्न किन लाग्थे युरोप–अमेरिका ? दीनदुःखीको सेवा गर्न त खास धर्म चाहिने कुरै भएन ।

आखिर यस्ता बठ्याइँका पछाडिको खेल के हो ? उत्तर सिधा छ– खेल पैसाकै हो र सांस्कृतिक प्रभुत्व विस्तारकै हो । आम नागरिक, जो आस्थाका कारण इसाई बन्छन्, तिनको आस्था सम्मानय‍ोग्य छँदै छ तर धर्म परिवर्तनको अभियान सञ्चालक नेताहरूको केही वर्षमै ह्वात्तै बढ्ने गरेको आर्थिक हैसियतचाहिँ सम्मान वा नजरअन्दाजलायक पटक्कै होइन । रोचक विषय त के देखिन्छ भने धर्म परिवर्तन गर्नेमध्ये धेरै दलित र जनजाति पाइए पनि इसाईकरणका अभियानमा माथिल्लो गौंडामा बसेर आर्थिक हैसियत ह्वात्तै उकास्नेमध्ये पर्याप्त मात्रामा हिन्दु ‘उच्च जात’ का बाहुन–क्षत्री प‍ो पाइन्छन् !

नेपालका भौतिकवादीहरू यस विषयमा करिबकरिब मौन छन् । एकातिर धार्मिक अन्धता समाजमा पहिलेदेखि व्याप्त थियो नै, त्यसमाथि मार्क्सवादी भौतिकवाद छाडेका बाबुराम भट्टराईहरू खास धर्म छाडेर अर्को धर्ममा जान सिफारिस गर्दै छन् भने नेकपावाला नेताहरू कहिले होलीवाइनतिर त कहिले अस्वस्थ बालकलाई ऋषि बनाउन कुदेका छन् । जताबाट पनि नागरिकलाई धर्मान्धतातिरै धकेलिँदै छ ।

जब समाजक‍ो जिम्मा लिएको डिङ हाँक्ने ठेकेदारकै रवैया यस्तो हुन्छ, मजदुरका रूपमा रहेका नागरिकको एउटा हिस्सा धर्म परिवर्तनको बतासमा बत्तिनुलाई अस्वाभाविक मान्ने पनि कसरी ? वास्तविक भौतिकवादीका निम्ति धर्म र धर्म परिवर्तन व्यक्तिको रुचिमा आधारित अधिकार हो तर समाधान होइन ।

अझ धर्म परिवर्तन गरेको पुस्ता पुरानै धर्म अभ्यासरत पुस्ताभन्दा धेरै लामो धार्मिक यात्रापछि मात्र भौतिकवादी विज्ञानमा आधारित सोचमा आइपुग्ने हुनाले धर्म परिवर्तनको प्रवृत्तिले प्रगतिशील समाज रूपान्तरण प्रक्रियामा अन्ततः बाधा नै उत्पन्न गर्छ । ‘नयाँ ज‍ोगीले खरानी धेरै घस्छ’ वाला भनाइ यहाँ पनि लागू हुन्छ ।

धर्म परिवर्तन गरेका मानिसमा राज्य र समाजक‍‍ो गलत संरचना परिवर्तन गर्ने राजनीतिमा अरुचि तर आफ्नो नयाँ धार्मिक पन्थको रक्षा र विस्तारमा लाग्ने रुचि हजारौं गुणा बढी हुन्छ । आवश्यकता त धर्म त्याग गरी वैज्ञानिक भौतिकवादी बन्नु हो, बनाउन लागिपर्नु हो, कदापि धर्म परिवर्तन होइन ।

जेजस्तो कारणले भए पनि धर्म परिवर्तनबाट नेपालमा हिजो गैरहिन्दुहरू हिन्दु हुन पुगे जस्तै आज नेपालमा इसाई आस्थाको सम्प्रदाय हुर्किसकेको छ, त्यसैले त्यस सम्प्रदायलाई बिनापूर्वाग्रह धर्मनिरपेक्षताक‍ो सिद्धान्तका आधारमा राज्यले न्याय दिन सक्नुपर्छ नै तर नेपालमा धर्म परिवर्तनको राजनीति यत्तिमै सीमित रहने छाँट छैन ।

जबसम्म नेपालको राज्यले एउटा धर्मलाई विशेषाधिकार दिएर अरूलाई दमन गर्न खोज्नेछ, हिन्दु धर्मलाई दलित र महिलामैत्री बनाउन व्यवहारमै लाग्नुक‍ो साटो हिन्दु गुरुहरू ‘दलित र महिलाविरोधी कुरा शास्त्रमा छैन’ जस्ता मितिस्खलित तर्कना गरिरहनेछन्, राज्य आम नागरिकलाई वैज्ञानिक चेतनातिर उत्प्रेरित गर्न लाग्नेछैन, शासकहरू विदेशीको दलाली गरेर आफ्नो भौतिक जीवनलाई भव्य बनाउन लागिरहनेछन् र भौतिकवादीहरूले आफ्नो दार्शनिक पहललाई ल‍ोकप्रिय तुल्याउन मेहनत गर्नेछैनन्, तबसम्म इसाई धार्मिकीकरण रोकिने देखिन्न किनभने पुँजीवादी समाजमा पुँजी शक्तिशाली छ र त्यो पुँजी आजको विश्वमा इसाई शासकहरूसँग सबैभन्दा बढी छ ।

प्रकाशित : भाद्र २२, २०७६ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्

पुँजीवादी क्रान्तिको विभ्रम

पञ्चायती
आहुति

पुँजीवादी व्यवस्थालाई नै आफ्नो लक्ष्य र आदर्श मान्ने पार्टीहरूमा नेपालमा पुँजीवादी क्रान्ति सम्पन्न भयो कि भएन भन्नेबारे कुनै गम्भीर बहस पाइँदैन । पुँजीवादी व्यवस्था किन अरूभन्दा सही छ भन्ने दार्शनिक र राजनीतिक गुरुतर्क अगाडि सार्ने ल्याकत भएका विश्वेश्वरप्रसाद कोइरालाहरूको अभावले नै सम्भवतः ती पार्टीमा यस विषयको बहस थान्को लागेको होला ।

पुँजीवादविरोधी कम्युनिस्ट आन्दोलनमा भने यसबारे बहस ज्वलन्त छ । एक थरीले भनेका छन्– पुँजीवादी क्रान्ति सम्पन्न भइसक्यो र अर्को थरीले चाहिँ भएको छैन । यी दुई जिकिरमध्ये कुनै एक यथार्थमा आधारित छ कि तेस्रो दृष्टिकोण पनि जरुरी छ नेपाली समाजको आजको चरित्र बुझ्न ? नेपाली समाजको सकारात्मक वा नकारात्मक भविष्ययात्राका सन्दर्भमा यस विषयको निरूपण सर्वाधिक महत्त्वको हुने भएकाले यसबारे गम्भीर बहस जरुरी छ ।

अपवादबाहेक संसारमा पुँजीवादी क्रान्ति दुइटा अवस्थामा भएका देखिन्छन् । एक, सामान्तवादी समाजभित्र पुँजीवादी व्यवस्था हुर्कंदै जाने क्रममा पुँजीवादलाई व्यापक मात्रामा विकास हुन सामन्तवादले रोकेपछि सामन्तवादी व्यवस्थालाई पल्टाएर पुँजीवादी क्रान्ति ।

युरोपका सुरु चरणका पुँजीवादी क्रान्ति यस कोटिका थिए । दुई, वैज्ञानिक समाजवादी व्यवस्थामा जान चाहने उद्देश्य हुँदाहुँदै पनि व्यापक मात्रामा पुँजी, कलकारखानालगायत उत्पादक शक्ति विकसित नभइसकेकाले तिनको व्यापक विकास गर्दै समाजवादमा पुग्न पुँजीवादी क्रान्ति । चीनलगायत सामान्तवादले हालीमुहाली गरिरहेको देशमा भएका कम्युनिस्ट जनवादी क्रान्ति दोस्रो कोटिका थिए ।

पुँजीवादी क्रान्ति सम्पन्न भइसकेको भन्ने पक्षलाई कसरी भयो भन्ने प्रश्न गर्दा उत्तर आउने गरेको छ– आफ्नै मौलिकतामा भयो । त्यो मौलिकताको व्याख्या भनेको राजतन्त्रको अन्त्य, पुँजीवादी मूल्यमान्यतामा आधारित संविधान र व्यवस्थाको निर्माण इत्यादि । राजतन्त्र सामन्तवादको मुख्य नायक संस्था त हो तर त्यो पुँजीवादमा पुँजीवादकै अंग बनेर पनि रहन सक्दोरहेछ ।

जापान र युरोपलगायत पुँजीवादी व्यवस्थाका राजतन्त्रहरू आज मुख्यतः पुँजीवादकै अंग हुन् । त्यसैले राजतन्त्र हुनु र नहुनुले मात्र पुँजीवादी क्रान्ति सम्पन्न भएको मान्न विश्वइतिहासले अनुमति दिँदैन । चीनमा सन् १९११ तिरै राजतन्त्र अन्त्य भए पनि पुँजीवादी क्रान्ति १९४९ मा मात्र भएको स्पष्टै छ ।

नेपालकै राजतन्त्र पनि दलाल पुँजीवादको समेत प्रतिनिधि थिएन ? थियो भन्ने त मानिएकै तथ्य हो । अर्को कुरा, पुँजीवादी मूल्यमान्यतामा आधारित संविधान र व्यवस्था पुँजीवादी क्रान्ति गरेपछि मात्र बन्छ भन्ने तर्क पनि इतिहासले पुष्टि गर्दैन । भारत, बंगलादेशलगायतमा पुँजीवादी क्रान्ति नभईकनै पुँजीवादी मूल्यमान्यतामा आधारित संविधान र व्यवस्था बनेका दृष्टान्त हाम्रासामु नभएका होइनन् ।

पुँजीवादी क्रान्तिको मूल मर्म तीन विषयसँग सम्बन्धित छ । एक, सामन्तवर्ग हारेर सत्ता पुँजीपति वर्ग वा मजदुर वर्गको हातमा गयो कि गएन ? किनकि सामान्तवादले पुँजीपति र मजदुर दुवै वर्गको प्रगति रोक्छ । दुई, विकसित हुँदै गएका पुँजीवादी उत्पादन, पुँजीको निर्माण, थप लगानी व्यापक हुँदै तीव्र रूपमा रोजगारी वृद्धि हुने औद्योगिक प्रक्रिया चल्यो कि चलेन ? र तीन, बहुसंख्यक किसानलाई भूमिसुधारका माध्यमबाट मुक्त गरी दस्तकारितालाई विस्थापित गर्दै कृषिलाई मेसिनीकरण, व्यावसायीकरण तथा औद्योगीकरण प्रक्रियासँग जोडियो कि जोडिएन ?

यस कोणबाट हेर्दा नेपालमा पुँजीवादी क्रान्ति सम्पन्न भएको मान्न सकिने कुनै भरपर्दो आधार फेला पर्दैन । सामन्त वर्ग हारेर सत्ताच्युत हुनुको सट्टा सामन्तवर्गले नै पुँजीपति वर्गमा रूपान्तरण हुने अवसर पायो र राजनीतिक हर्ताकर्ता त्यही वर्गबाट रूपान्तरित पुँजीपतिहरू पनि बनिरहेका छन् ।

पुँजीवादी उत्पादन, राष्ट्रिय पुँजीको निर्माण अनि औद्योगीकरणसँगै व्यापक रोजगारी सिजनाको विषयले त ठीक विपरीत बाटो रोज्यो । आजको सत्ताले पनि उत्पादनमा केन्द्रित योजना अघि सार्ने रुचि नदेखाउनुले पुरानै अनुत्पादक प्रवृत्तिको निरन्तरता नै देखाउँछ ।

भूमिसुधारको मुद्दा भर्खरै संसद्बाट पारित भूमि ऐनसम्म आउँदा सुकुम्बासीलाई घडेरी वितरणमा गएर टुंगिएको छ । नेपालको पुँजीवादी क्रान्ति मौलिक भए पनि यी आधारभूत परिणाम त समाजमा प्रकट भएकै हुनुपर्छ, नत्र पुँजीवादी क्रान्ति सम्पन्न भयो भन्ने तर्कले टेको नै प्राप्त गर्न सक्दैन ।

पुँजीवादी क्रान्ति भएको छैन भन्ने पक्षले मोटो तर्क ठीक गर्दागर्दै फेरि नेपाली समाज अर्धसामन्ती अवस्थामै छ भन्ने जिकिर गर्ने गरेको छ । के आजको नेपाली समाजलाई सामन्तवादी वा अर्धसामन्ती भन्न सकिन्छ ? के अमेरिकामा सामन्तवादी युग नै आएन भन्ने कारणले तत्कालीन पुँजीवादी अमेरिकी समाजलाई कबिलाइ समाज भन्न मिल्थ्यो ? कदापि मिल्दैनथ्यो ।

के पुँजीवादी क्रान्ति नभइैकन कुनै समाज पुँजीवादी बन्नै नसक्ने हो ? त्यसो हुन्थ्यो भने त पुँजीवादी क्रान्ति नै नभई पुँजीवादी बनेका दर्जनौं देशका समाजलाई के भन्ने ? पुँजीवादी क्रान्ति हुनका निम्ति जुनजुन विशेषता त्यसले बोकेको हुनुपर्छ, समाज पुँजीवादी बन्न पनि तिनै विशेषता पूरा भएको हुनुपर्छ भनी खोज्नु नै गलत विधि हो । आजको नेपाली समाज आधारभूत रूपमा पुँजीवादी हो कि होइन भनी किटान गर्न यसको अर्थतन्त्र, राजनीति र संस्कृतिलाई आधार बनाउनु जरुरी हुन्छ ।

बहुसंख्यक मानिस देश वा विदेशमा श्रमशक्तिलाई माल (कमोडिटी) का रूपमा बेचिरहेका छन् र अपवादबाहेक समाजका सबै वस्तु मालमा परिणत भएका छन् । विनिमय नगदमा हुन्छ । दस्तकारिता अब नेपाली समाजको जीविकाको मूल आधार होइन, बरु अवशेष बनिसकेको छ र मोही किसानको संख्या करिब ५ प्रतिशत मात्र छ । राजनीतिमा नेपाल पूर्णतः पुँजीवाद अवलम्बनमा छ । निर्वाचनबाट प्रतिनिधि छनोट र कानुनअनुसार प्रशासक छनोटको व्यवस्था विशुद्ध पुँजीवाद हो, सामन्तवाद त हुनै सक्दैन ।

संस्कृतिका क्षेत्रमा व्यक्तिगत छनोटको स्वतन्त्रता नै पुँजीवादी संस्कृतिको प्राण हो । पक्कै, सामन्तवादी संस्कृति अझै बलशाली छ तर निर्णायकचाहिँ पुँजीवादी संस्कृति नै भइसकेको देख्न खासै गाह्रो छैन । आजको पुँजीवादले सामन्तवादी सोच र संस्कृतिहरूलाई पनि आफ्नो हितमा प्रयोग गर्ने, त्यसविरुद्ध नलड्ने भएकाले केही बाँकी रहेका सामन्तवादी संस्कृति पुँजीवादकै अंगमा रूपान्तरण भइसकेको पक्षलाई पनि ध्यान दिनैपर्ने हुन्छ ।

यसप्रकार नेपाली समाज अर्धसामन्ती हो, पुँजीवादी होइन भन्ने जिकिरलाई तथ्यहरूले समर्थन गर्दैनन् । त्यसैले पुँजीवादी क्रान्ति नभई नेपाली समाज कसरी पुँजीवादी बन्न पुग्यो र नेपालको सत्ताधारी पुँजीपति वर्ग कस्तो चरित्रको पुँजीपति वर्ग हो भन्ने तथ्यतिर घोत्लिनु पो मुख्य आवश्यकता हो ।

वि.सं. २००७ को परिवर्तनको मुख पुँजीवादी क्रान्तितिर फर्केको देखिन्छ, २०१६ को बिर्ता उन्मूलनले त्यसैको संकेत गर्छ तर २०१७ पछि त्यो प्रक्रिया अवरुद्ध भयो । पञ्चायतले भूमिसुधार गरेर व्यापक किसानलाई पुँजी निर्माण प्रक्रियामा आउनै दिएन । अर्कातिर, सामन्तहरूलाई पुँजीवादी कारोबारमा ल्याएर राज्यनियन्त्रित पुँजीवाद बनाउन थालियो । साथमा त्यसले भारतीय पुँजीपति घरानाहरूलाई ल्याएर विदेशी पुँजीको दलाली पनि सुरु गर्‍यो ।

शीतयुद्धको अवसर उपयोग गरेर रूस र चीनसँग केही उद्योग मागेर त ल्यायो तर ती जगबिनाका थिए । कपास खेती, फलाम खानी र पशुपालनको योजनाबिनाका कपडा कारखाना, कृषि सामग्री संस्थान र बाँसबारी छालाजुत्ता कारखाना त्यसका उदाहरण हुन् । अपवादबाहेक नेपालमा पुँजीपति बन्ने प्रक्रिया उत्पादनमा गएर भएको थिएन ।

उत्पादन गरेर अनि सामन्तवर्गसँग लडेर पुँजीपति वर्ग बन्नुको सट्टा सामन्तवादकालीन जमिन र अन्य सम्पत्ति उपयोग गरेर सामन्तहरू नै पुँजीपति बन्न पुगेकाले त्यस पुँजीपतिको मुख्य ध्यान उत्पादनको जोखिम उठाउनतिर हैन, बरु विदेशी पुँजीपतिको दलाली गर्नतिर गयो किनकि उत्पादनमा भन्दा दलालीमा गुणात्मक रूपमा जोखिम कम हुने भयो । यो प्रक्रिया साम्राज्यवादी विश्वपुँजीवाद र भारतीय पुँजीवादको लगातारको हस्तक्षेपका कारण झनै तीव्र हुन पुग्यो ।

यसरी नेपालको सत्ताधारी बन्न पुगेको पुँजीपति वर्ग दलाल पुँजीपति वर्गका रूपमा निर्माण हुन पुगेको हो । जतिजति दलाल पुँजीपति वर्ग शक्तिशाली बन्दै गयो, त्यतित्यति नेपालका राष्ट्रिय पुँजीपति वर्गका ससाना उद्यम पनि धराशायी हुँदै गए । वि.सं. २०४६ को परिवर्तन राजनीतिक उपरी तहमा लोकतान्त्रिक भए पनि वर्गीय कोणबाट हेर्दा त्यो दलाल पुँजीपति वर्ग थप शक्तिशाली बन्ने परिघटना साबित भयो ।

पञ्चातकालमै सुरु भएको नवउदारवादको नीति २०४६ को परिवर्तनपछि तीव्र पारी सरकारी उद्योगधन्दा कौडीको मूल्यमा बेचिनुले यस तथ्यलाई पुष्टि गर्छ । जनयुद्ध र जनआन्दोलनपछि पनि दलाल पुँजीपति वर्ग पराजित भएन, बरु २०४६ पछि दलाल पुँजीवादको विरोध गर्ने राजनीतिले त्यसकै सामु आत्मसमर्पण गरे जस्तै २०६२–६३ पछि पनि राजनीतिले पुरानै आत्मसमर्पणको दुर्भाग्य दोहोर्‍यायो ।

नेपालमा औद्योगिक पुँजीवाद वा राष्ट्रिय पुँजीवाद कहिल्यै युवा हुन पाएन, राष्ट्रिय पुँजीपति वर्ग शक्तिका रूपमा अगाडि आउनै पाएन । त्यस विपरीत दलाल पुँजीपति वर्ग र त्यसले निर्माण गरेको दलाल पुँजीवादी व्यवस्था झन् पछि झन् झाँगिँदै आयो, जसले अहिले वेग मारिरहेको छ । दलाल पुँजीवादी व्यवस्थालाई एक वाक्यमा बुझ्दा– उत्पादन नगर्ने केवल उपभोग मात्रै गर्ने समाजनिर्माता हो । आज नेपाल यही व्यवस्थाको तीतोमा डुब्न विवश छ ।

यसरी नेपालको सत्ताधारी वर्ग उत्पादन, पुँजी निर्माण, पुनर्लगानी र व्यापक रोजगारी निर्माण प्रक्रियाको प्रगतिशील पुँजीपति वर्ग हैन, दलाल पुँजीपति वर्ग हो । दलाल पुँजीपति वर्गले निर्माण गरेको नेपालको समाज पुँजीवादी नै हो । दलाल पुँजीपति वर्गले समाजलाई अर्धसामन्ती नै छाडेर उसलाई कुनै फाइदा हुँदैन भन्ने स्पष्टै छ । त्यसकारण नेपालमा पुँजीवादी क्रान्ति कहिल्यै भएन, अब त झन् दुई कारणले हुनेवाला छैन । समाज पुँजीवादी बनिसकेकाले फेरि पुँजीवादी समाज बनाउन क्रान्ति गर्ने कुरै हुँदैन ।

अर्को कुरा, आजको भूमण्डलीकृत विश्वपुँजीवादले पुरानो खालको औद्योगिक क्रान्ति गर्नै दिँदैन, उसले न उपभोक्ता समाज मात्र निर्माणको अनुमति दिन्छ ।

नेपालमा दलाल पुँजीपति वर्ग र दलाल पुँजीवादी व्यवस्था निर्माणको समग्र प्रक्रियालाई खोतल्दा यही दलाल पुँजीपतिवर्ग र दलाल पुँजीवादीव्यवस्थालाई विकास गरेर समाजवादमा नपुगिने कुरा घामझैं छर्लंगै छ किनभने दलाल पुँजीपति वर्ग साम्राज्यवादकोदलाल हो, तब त्यसको नेतृत्वमा साम्राज्यवादविरोधी समाजवादमा पुगिन्छ कसरी ? तसर्थ, समाजवाद निर्माणको वैज्ञानिक र वैकल्पिक बाटाको निरूपणतिर घोत्लिनुको विकल्प नेपाली समाजसँग छैन ।

प्रकाशित : भाद्र ८, २०७६ ०८:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्