अफवाहको अँध्यारो 

हुलाकी
उज्ज्वल प्रसाईं

फेसबुकमा नक्कली खाता खोलेर गरिएको अनर्गल प्रचारका कारण ओखलढुंगाकी गोमा कार्कीले आत्महत्या गरिन् । प्रेम प्रस्ताव अस्वीकार गरेको निहुँमा एक चिनारु युवकले १६ वर्षे गोमाको फोटो राखेर बनाएको नक्कली खातामा अनर्गल पोस्ट गरेका थिए । सुसाइड नोटलाई आधार मानेर अभिभावकले उजुरी गरेपछि नक्कली खाता चलाउने युवक पक्राउ परे ।

भर्खरै दस कक्षा उत्तीर्ण गरेकी छोरीको आत्महत्या बाबुआमालाई बिर्सन कठिन हुन्छ । अनेक समस्या दोहोरिए जस्तै दर्जनौं गोमाहरूले यसरी मृत्यु रोज्न थाले, सिंगो समाजले यी चोट सहजै विस्मृतिमा धकेल्छ । आवश्यक चिन्ता नगरी आफ्नो क्रूर रीतमा फर्किन्छ, समाज ।

सामाजिक सञ्जालको दुरुपयोगबाट भइरहेका घटना असंख्य छन् । नेपाल प्रहरीको साइबर क्राइम ब्युरो स्थापना भएको केही समय बित्न नपाउँदै तीन सयभन्दा बढी उजुरी परेको खबर सार्वजनिक भएको छ । उजुरी गर्ने हिम्मत नजुटाउने तर अनेक तनाव सहेर बस्नेको संख्या उल्लेख्य हुनसक्छ ।

भोगिरहेका समस्या उजागर गर्दा आफै फन्दामा परिएला वा बेइज्जती सहनुपर्ला भनेर चुप लागेकाहरू धेरै होलान् । कुत्सित मनसायका कतिलाई नाजायज लाभ उठाउने माध्यम यही सञ्जाल बनेको होला । एउटा भिडियो, एउटा फोटो वा कुनै मेसेजको एउटा स्क्रिनसट नै महिनौंसम्म दागा धरिरहने हतियार बनेको छ ।

साइबरमार्फत भइरहेका अपराधले सकस निम्त्याएको छ, अफवाहको साम्राज्यले तेर्स्याएको चुनौती कम निसासलाग्दो छैन । छोटो समयको अन्तरालमा लाखौं मान्छेलाई एकैसाथ प्रभाव पार्न कुनै ‘भाइरल’ खबरले विध्वंस मच्चाएका उदाहरण धेरै छन् । भारतमा मुस्लिमविरुद्ध फैलाइएको ‘लभ जिहाद’ को अफवाह होओस् वा युरोपमा आप्रवासीविरुद्ध रचिएका अनर्गल समाचार होऊन्, ती विद्युतीय सञ्जालमार्फत फैलिएका हुन् ।

सञ्जालका प्रयोगकर्ता दिन–प्रतिदिन बढेसँगै सत्य आफै संकटग्रस्त बनेको छ । अर्थात् सत्य र झुट छुट्याउन लगभग असम्भव भएको छ । असल मनसायसाथ सत्यको पैरवी गर्न जोखिम मोल्नेहरू चरम अलमलमा छन् । सत्य उजागर गर्ने जिम्मेवारी लिएको पत्रकारिता आफै अफवाह र सनसनीको भुमरीमा गौण बन्न थालेको छ ।
इन्टरनेटमा सहज र सुलभ पहुँच विस्तारसँगै सञ्चारकर्मको रूपराग फेरिएको छ । सतहमा हेर्दा, ‘सत्य’ को ठेक्का कुनै खास विज्ञ, व्यावसायिक पत्रकार वा सम्पादकहरूमा मात्र सीमित नरहेकामा खुसी हुन सकिन्छ । इन्टरनेट र सामाजिक सञ्जालले सिंगो सूचना उद्यमलाई लोकतान्त्रीकरण गरेका प्रशस्त उदाहरण पेस गर्न सकिन्छ ।

सार्वजनिक चासोका कुनै पनि घटनाबारे खबर सार्वजनिक गर्न अनेक ‘गेटकिपर’ का ढोका ढकढक्याउनु आवश्यक नभएकाले आममानिस बढी स्वतन्त्र भएको तर्क गर्न सकिन्छ । गहिरिएर हेरौं, कुनै ‘गेटकिपिङ’ नभएकाले नै खबरका नाममा अर्धसत्य, अफवाह र अनर्गल प्रचारको बाढीले संवेदनशील मान्छेलाई स्तब्ध बनाउँछ । अपुष्ट फोटो, अपुष्ट भिडियो फुटेज वा कथित सरोकारवालाको अन्तर्वार्ताको नाममा कुनै पनि घटनाको सम्पूर्ण छिनोफानो गरिदिने युट्युबकर्मीको प्रभावले व्यावसायिक पत्रकारितालाई गौण बनाउन थालेको छ । पछिल्ला केही ठूला प्रकरणमा, युट्युबमार्फत भाइरल बनाइएका कथित समाचार र विश्लेषणले स्वयं ‘सत्य’ लाई नै संकटग्रस्त बनाइदिए । ठूला विभ्रमहरू रचिए र त्यसैमा सर्वसाधारणलाई भुलाउने सफल प्रयास भए ।

यसैबीच सामाजिक सञ्जाल नियन्त्रण गर्न आवश्यक रहेकोबारे बहस सुरु भयो । निर्मला पन्त होओस् वा रवि लामिछाने प्रकरण, यस्ता घटनालाई औंल्याएर सरकारी नियन्त्रणको उपादेयता पुष्टि गर्ने प्रयास गरियो । नेपालमा मात्र होइन, अन्यत्र पनि यसबारे अनेक बहस सतहमा आएका छन् । भारतमा भइरहेको पछिल्लो बहस हाम्रालागि पनि शिक्षाप्रद हुनसक्छ ।

भारतका केही प्रान्तमा सामाजिक सञ्जालमार्फत हुने अपराध नियन्त्रण गर्न आधार कार्डको उपयोग गर्नेबारे बहस सुरु भएको छ । मुलुकभित्र बसोबास गर्नेको नाम, ठेगाना, औंलाका निसान र आँखाका पुतलीका निसानजस्ता रेकर्ड लिने उद्देश्यले बनाइएको आधार कार्डलाई सामाजिक सञ्जालमा लिंक गराउने प्रस्ताव गरिएको छ । आधार कार्डको अंक राखेपछि मात्रै सामाजिक सञ्जालमा खाता खोल्न पाइने व्यवस्था ल्याउने माग भएको छ ।

चेन्नई, मुम्बई र मध्यप्रदेशका उच्च अदालतमा यसबारे बहस सुरु भएको थियो । फेसबुकले आधार कार्डलाई लिंक गर्दा प्रयोगकर्ताको गोपनीयता भंग हुने र उसमाथि सर्भिलेन्स गर्न सहज हुने भन्दै यसको विरोध गरेको छ । सामाजिक सञ्जालका तर्फबाट बहस गर्ने वकिलहरूले यो मुद्दालाई उच्च अदालतबाट सर्वोच्च अदालतमा स्थानान्तरण गराएका छन् । सिंगो देशभरि एउटै नियम लागू हुनुपर्ने भएकाले यसबारे सर्वोच्चले नै निर्णय गर्नुपर्ने ती वकिलहरूको तर्क छ ।

आधार कार्डको अंक प्रयोग गर्ने उपायले नागरिकहरू सरकारको चौबीसघन्टे निगरानीमा कैद हुने सम्भावना बढ्छ । व्यक्तिको निजी जीवनका सबै सूचनामा सरकारको मात्र नभई सञ्जाल सञ्चालक कम्पनीको समेत सहज पहुँच हुन्छ । समग्रमा, यसले नागरिकको स्वतन्त्रतापूर्वक जिउन पाउने लोकतान्त्रिक हक नै छिन्न सक्छ ।

सिंगो व्यवस्थालाई नै चुनौती खडा हुने जोखिम मोलेर अवलम्बन गर्न लागिएको यो उपायले साइबर अपराध नियन्त्रण हुन्छ ? के आधार नम्बर अनिवार्य गरे अफवाह फैलाएर वितण्डा मच्चाउने सम्भावना कम हुन्छ ? विज्ञहरू यो सम्भव नभएको जिकिर गर्छन् । इन्टरनेटमार्फत सञ्चालित सामाजिक सञ्जाल कुनै एउटा मुलुकको सीमामा कैद नभएकाले यसो गर्नु सम्भव नभएको उनीहरूको तर्क छ । चीन वा उत्तर कोरियाले जस्तो नागरिकका जीवनमाथि राज्यको पूर्ण नियन्त्रण राख्ने मनसुवा भए अर्कै कुरा, नत्र आधार कार्डलाई लिंक गर्दा यस्ता समस्या समाधान नहुने उनीहरूको धारणा छ ।

भारतीय आधार कार्डसँग मिल्दोजुल्दो राष्ट्रिय परिचयपत्र नेपालमा वितरण गर्ने काम सुरु भइसकेको छ । नागरिकतामा भएका विवरण एवं बायोमेट्रिक्स डाटाको रेकर्ड राखेर वितरण गरिने परिचयपत्रलाई सामाजिक सञ्जालसँग लिंक गराउने उपाय अवलम्बन नगरिएला भन्न सकिन्न ।

भारतको गाइँगुइँले चाँडै प्रभावित हुने नेपाली शासकले त्यसैलाई साइबर अपराध नियन्त्रणको एक मात्र उपाय भनेर बुझ्न सक्छन् । त्यसो त सामाजिक सञ्जाल, अनलाइन समाचार पोर्टल र अन्य सञ्चार माध्यमलाई ‘नियन्त्रण’ गर्ने सरकारको मनसुबा सञ्चार विधेयकमार्फत प्रकट भइसकेको छ । त्यसमाथि निगरानीका भारतीय सूत्रले समस्या अझै विकराल बनाउन मद्दत गर्छ ।

नागरिकको हरेक गतिविधि, प्रत्येक संवाद, उनीहरूका भान्सा र सुत्ने कोठा समेतमा राज्यको वा कुनै निजी कम्पनीको निगरानी सधैं कायम रहनु भन्दा बढी खतरा लोकतन्त्रलाई अरू के हुनसक्छ ?

यति भनिसक्दा एउटा स्वाभाविक प्रश्न उब्जिन्छ, त्यसो भए के गर्ने त ? अहिलेलाई यो खुला बहसको विषय बन्नुपर्छ । माथि उल्लिखित खतराको अन्दाज गर्दै र अहिले भइरहेका प्रतिनिधि घटनालाई गम्भीर अध्ययनको विषय बनाउँदै व्यापक विमर्श गर्न आवश्यक छ । सामाजिक सञ्जाल वा इन्टरनेट केवल माध्यम हो, त्यसैले योसँग डराउनु पर्दैन भनेर ढुक्क हुन सकिँदैन ।

‘सर्वहारा’ को लुकाउनुपर्ने केही हुँदैन, त्यसैले सञ्जालको निगरानीसँग भयग्रस्त हुनुपर्दैन भन्ने ‘कमरेडी’ तर्कको पनि अर्थ छैन । टेलिभिजन, छापा वा रेडियोजस्ता माध्यमका रूपमा मात्रै यसलाई बुझियो भने त्यो बुझाइ अपुरो मात्र होइन, घातक पनि हुनसक्छ । निजी कम्पनीले सञ्चालन गर्ने कर्पोरेट मिडिया समेतलाई एकैसाथ काबुमा राख्न सक्ने जीएएफएटी (गुगल, एप्पल, फेसबुक, अमेजन, ट्वीटर) को गठजोडले जसरी संसार कज्याउन थालेको छ, त्यो अनौठो र भयकारी छ ।

सन् १९९५ देखि २०१५ सम्म बीस वर्ष लगातार गार्जियन पत्रिकाको सम्पादक भएका एलेन रसब्रिजरले एक वर्षअघि ‘ब्रेकिङ न्युज : द रिमेकिङ अफ जर्नलिजम एन्ड ह्वाई इट म्याटर्स नाउ’ किताब लेखेर सत्यले बेहोरेको संकटबारे चिन्ता व्यक्त गरेका छन् । उनी भन्छन्, ‘अफवाह र झुट जताततै छन्, सही सूचना सानो समूहमा सीमित छ । सही सूचनालाई अफवाहसँग भिड्न असाध्यै कठिन हुँदै छ ।’

पछिल्ला केही घटना हेर्दा र रसब्रिजरको किताब पढिसक्दा लाग्छ, जिम्मेवार पत्रकारिताको खाँचो झन् टड्कारो भएको छ । तमाम चुनौती चिरेर असल पत्रकारिताको सम्बर्धन गर्न सकिएन भने लोकतन्त्र धुमिल इतिहास बन्नेछ । वासिङ्टन पोस्टले केही समयअघि उद्घोष गर्‍यो– ‘लोकतन्त्रले अन्धकारमा मृत्युवरण गर्छ ।’ त्यो अन्धकार अफवाह, झुट र खराब सूचनाले सिर्जना गर्ने अन्धकार हो।

प्रकाशित : भाद्र १३, २०७६ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्

असर्फी फूलको आतंक

हुलाकी
उज्ज्वल प्रसाईं

यो नौगाम गाउँको कथा हो । गाउँ सन्त्रस्त छ, आकाशमा आतंकको छाया टाँगिएको छ । रात भनौँ वा दिन, भयग्रस्त गाउँलेका जीवनमा अँध्यारो मात्रै छ । गोली र बमको आवाज बाहेक अरु जीवन्त स्पन्दन कसैले महसुस गर्दैन यहाँ । विस्तारै एकपछि अर्को गर्दै गाउँलेहरू पुर्ख्यौली थातथलो छोडेर अन्यत्र हिँड्न थाल्छन् ।

अरुले छोडेर गए पनि गाउँका मुखियाले नौगाम छोड्दैनन् । उनका १९ वर्षीय छोरा बाबुसँगै बसिरहन्छन् । छोराका चार साथी हुन्छन् । चारमध्ये तीनजना राज्यको थिति बदल्ने कसम खाँदै विद्रोही बन्न कतै अलप हुन्छन् । बाँकी रहेका एक तन्नेरीलाई सेनाले आफ्नो कामदार बनाउँछ ।

‘आतंकवादी’ सिध्याउने योजनामा क्याम्प खडा गरेर बसेको सेनाले खासमा स्वयं गाउँलाई आतंकवादको किल्ला देखेको हुन्छ । तल खोँचमा यत्रतत्र छरिएका ‘आतंकवादी’का लासबाट परिचयपत्र एवं उनीहरूसँग भएका हतियार बटुलेर ल्याउने जिम्मा ती तन्नेरीको हुन्छ । प्रत्येक पटक लास छरिएको ठाउँमा पुग्दाआफ्ना तीन साथी भेटिएलान् भन्ने भयले ऊ लुगलुग काम्छ । लासहरू सड्न थालेका ठाउँमा फुलेका पहेँला असर्फी फूल हेर्दै ऊ परिचयपत्र र हतियार बोकेर क्याम्प फर्किन्छ ।

नौगाम जस्तै अर्को गाउँ हो— बाचुरा । एकातिर बस्ती छ, अर्कातिर सेनाको क्याम्प । त्यसबीच तरेली परेका डाँडा छन् । डाँडामा बदामका रुख छन् । प्रत्येक बिहान सेनाको एउटा टुकडीले बदामका रुख भएका डाँडामा छलिएर बन्दुक पड्काउने अभ्यास गर्छ । कृत्रिम निसाना बनाएर सयौँपटक गोली चलाउँछ । तामाका ती गोलीका खोका फायरिङ रेन्ज भएको डाँडाभन्दा तल उछिटिन्छन् ।

कहिलेकाहीँ सेनाले ग्रिनेड लन्चरजस्ता हतियारको अभ्यास पनि गर्छ । त्यस्तो बेला थोत्रा बस र जिपलाई सैनिकहरूले कृत्रिम निसानाका रूपमा प्रयोग गर्छन् । ग्रिनेड लन्चरको निसानामा परेका यी पत्रुका पुर्जा फुत्केर गोलीका खोकाजसरी नै तल खोँचतिर पुग्छन् ।

प्रत्येक दिन बन्दुक पड्केको आवाज बन्द भएपछि वा अभ्यास सकिएको संकेत पाएपछि गाउँका एक हुल केटाकेटी गोलीका खोका र पत्रुका पुर्जा बटुल्न फायरिङ रेञ्जको पुछारतिर दौडिन्छन् । फेला परेका पित्तलका खोका थुपार्दै जान्छन् । कबाडी फेला परेका दिनलाई उनीहरू ‘बडा दिन’ मान्छन् । महिनाभरि थुपारेका पित्तलका खोका नजिकैको भाँडा बनाउने कारखानामा बेच्छन् ।

कश्मीरी लेखक मिर्जा वाहिदले सन् २०११ मा प्रकाशित आफ्नो पहिलो उपन्यास ‘द कोल्याबोरेटर’मा नौगामको कथा लेखेका छन् । खासमा उनले गाउँको होइन, ती १९ वर्षे तन्नेरीको कथा लेखेका हुन् । यी तन्नेरीले उपन्यासभरि आफूले ९० को दशकमा भोगेको नौगामको कथा सम्झेका छन् । एक्लो र परित्यक्त मानिसले आफ्ना विगत ओल्टाई–पल्टाई गरेर समय कटनी गरेको भाकामा यो कथा भनिएको छ ।

एउटा कार्यक्रमका बेला कश्मीरी पाठकको उपस्थितिमा मिर्जा वाहिदले आफ्नो उपन्यास अंश पढ्दा एक पाठकले गला अवरुद्ध पारेर थप कथा नपढ्न उनलाई आग्रह गरेका थिए । सम्भवतः वाहिदको कथामा ती पाठकले आफैले भोगेको वा प्रत्यक्ष देखेको त्रासदीपूर्ण समय सम्झिए ।

हुनसक्छ, बिर्सिन खोजेका ती कहर थप सुन्ने हिम्मत उनमा रहेन । अर्थात् वाहिदले कल्पनाका स–साना पुतली जडेर लेखेको उपन्यास असलमा सधैँ शोकमग्न रहने कश्मीरको दुरुस्त चित्र हो ।

अप्रिल २०१८ को ‘क्याराभान’ म्यागेजिनमा कश्मीरी पत्रकार जुबैर सोफीले बाचुराका ती केटाकेटीका खबर लेखेका थिए, जो गोलीका खोका बटुल्ने उद्यममा लागेका छन् । तिनले खोका बटुल्ने र भाग लगाउने उद्यमलाई संगठित ढंगले सञ्चालन गरेका छन् ।

फेला परेका गोलीमा लुछाचुँडी नहोस् भन्न त्यहाँ जाने सबैले मान्नैपर्ने केही नियम बनाएका छन् । माथि डाँडाबाट सेनाको दृष्टि नपरोस् र कुनै शंका नहोस् भनेर उनीहरूले सतर्कता अपनाउने उपाय पनि तय गरेका छन् । धेरै थुपार्न सक्नेले एकै पटकमा चौध हजार रुपैयाँसम्म हात पार्छन् ।

कुनै पनि बेला आफैमाथि तेर्सिन सक्ने ती अभ्यासरतबन्दुकले फालेका खोकालाई उनीहरू आम्दानीको स्रोत बनाउँछन् । खतरा मोलेर गरेको त्यो आम्दानी हेर्दै मुस्कुराउँछन् । तिनलेबटुलेका गोलीका ती टुक्रा गालेर चिया उमाल्ने कित्ली र पानी खाने अम्खोरा बनाइन्छन् ।

नौगाम यथार्थसँग दुरुस्त मिल्ने पाकिस्तानको सीमामा रहेको कश्मीरी गाउँको नाम हो । काल्पनीक जस्तो प्रतीत हुने बाचुरा कहिलेकाहीँ समाचार सामग्री बन्ने जब्बर कश्मीरी यथार्थको अर्को नाम हो । नौगाम र बाचुराजस्ता गाउँले प्रतिनिधित्व गर्ने दुःखको समष्टि नै कश्मीर हो । जति एक्लो र परित्यक्त छ, त्यो नौगामको तन्नेरी, त्यति नै एक्लो र परित्यक्त छ, कश्मीर ।

आफ्नै लासमाथि फुलेको पहेँलो फूल हेरेर जीवनको अनुभूति गरिरहेको त्यो तन्नेरीको कथाभन्दा भिन्न छैन, जन्नत भनिने कश्मीरको कथा । मानौँ यति दुखिया र परित्यक्त बनाएर पुगेन, कश्मीरले भ्रम बराबर पाएको स्वायत्तता र विशेषाधिकार पनि धारा ३७० सँगै उखेलेर मिल्काइएको छ ।

त्यसका लागि भारतीय सत्ताले अहिले सिंगो कश्मीरलाई कारागारमा परिणत गरेको छ । अनाहकमा बन्दी बनाइएका कश्मीरीलाई बुढीऔँलो देखाएर गिज्याइरहेछन्, राष्ट्रवादीहरू । बन्धक कश्मीरी गिज्याउनेमा भारतका मात्र होइन, अन्यत्रका राष्ट्रवादीहरूसमेत लाम लागेका छन् ।

‘द कोल्याबोरेटर’ पछि वाहिदले अरु दुई उपन्यास लेखिसकेका छन् । पछिल्लो उपन्यासमा केही फरक विषयवस्तु उठाएका उनले दोस्रो उपन्यासमा कश्मीरी युवाका कथा दोहोर्‍याएका छन् । स्वतन्त्रताको आकांक्षाले ती युवालाई आफ्नो एकबारको जुनीमा कति भयानक खतरा मोल्ने मोडमा पुर्‍याउँछ भन्ने बुझ्न उनको ‘द बुक अफ गोल्ड लिभ्स’ले सहयोग गर्छ ।

उर्दु भाषाका सम्मानित कवि फैज अहमद फैजको झल्को दिने यस उपन्यासको पात्र फैज कागजका सुन्दर सामग्री बनाउने कलाकार हुन्छ । कला र सौन्दर्यको उपासक यो प्रेमी युवाका खिरिला औँला अन्ततः बन्दुक समाउन र बम बनाउन उद्यत हुन खोज्छन् ।

भूराजनीतिक पाण्डित्याइँमा संवेदनाको कति महत्त्व हुन्छ, थाहा छैन । उपन्यासमा वर्णित यथार्थको कति हिसाब गरिन्छ, भन्न सक्दिन । तर त्यस्तो पाण्डित्याइँमा प्रस्ट देख्न सकिने भनेको राष्ट्रवादको नाममा व्यक्त गरिने ‘अन्य घृणा’ हो । किञ्चित् छद्म भाषामा भूराजनीति छाँटिएको रहेछ भने भौगोलिक अखण्डताको गीतमा उही ‘अन्य घृणा’को अन्तरा लुकेको हुन्छ । स्वतन्त्रता र स्वायत्तताको आकांक्षा राख्ने फैजहरूप्रतिको घृणा हो त्यो ।

गोलीका खोका बटुल्ने ती साना केटाकेटीप्रतिको वैरभाव हो त्यो । नेपाली सत्तावृत्तका भूराजनीतिक पण्डितहरूले कश्मीरबारे लेख्ने र बोल्ने बेलामा अखण्डताकै गीत गाए, बाचुरा र नौगाम सम्झने लेठो गरेनन् । बरु एकातिर मधेसी प्रतिरोधको छायाले तर्संदै, अर्कातिर हिन्दु–राष्ट्रवादको फेरो समाउँदै उनीहरूले फैजजस्ता पात्रप्रति घृणा नै प्रस्तुत गरे ।
सत्ताको सुमेरु घुमिरहेका अन्तर्राष्ट्रिय सम्बन्धका नेपाली बुझक्कडले सके मिर्जा वाहिदलाई लेखक नै मान्दैनन् ।

सके जुबैर सोफीको खबरलाई कुनै महत्त्वको खबरै ठान्दैनन् । उनीहरूका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको साहस र गृहमन्त्री अमित शाहको चतुर्‍याइँ सबैभन्दा ठूलो महत्त्वको विषय हो । तिनका पाण्डित्याइँ सुन्दा लाग्छ, हाम्रा प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापाबादलले समेत उस्तै साहस प्रदर्शन गरून् भन्ने ती चाहन्छन् ।

राष्ट्रवादको उस्तै गीत गाऊन् र समृद्धि वा अखण्डताको नाममा ‘अन्य घृणा’को त्यही खेती यहाँ पनि दोहोर्‍याऊन् भन्ने आकांक्षा राख्छन् । कारण, लासमा फुलेका पहेँला फूललाई असली असर्फी सम्झेर यी मनमनै रमाउँछन् ।

प्रकाशित : श्रावण ३१, २०७६ ०८:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्