कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालबालिकाको पढ्ने भोक

मधु राई

चार कक्षा पढ्दै गरेकी आकांक्षा राय स्कुल छुट्टीपछि सधैं घर नजिकैको विराट सामुदायिक पुस्तकालय जान्छिन् । विराटनगर–११ कै अन्य स्कुलमा पढ्दै गरेका पुकार, वैष्णवी, नाइमा, तान्छोना, सोसिन र नितेशजस्ता पन्ध्र विद्यार्थी पनि दिनहुँ पुस्तकालय जाने गर्छन् ।

बालबालिकाको पढ्ने भोक

प्रावि तहका विद्यार्थीलाई लक्षित गरी तीन महिनाअघि टोलबासीले खोलेको उक्त पुस्तकालयमा विद्यार्थीहरू बालपुस्तक पढ्नुका साथै साप्ताहिक रूपमा अतिरिक्त क्रियाकलापसमेत गर्छन् ।

पुस्तकालयमा उनीहरूले बालपुस्तक वाचन, हस्तकला, प्रतिभा प्रदर्शन, चित्रकला, उद्घोषण, फोहोरमैला व्यवस्थापनका आधारभूत सीप पनि सिक्ने गरेका छन् । हरेक शुक्रबार उनीहरू कागजजन्य फोहोरबाट ससाना भाँडा, फलफूल र तरकारी बनाउँछन् भने कागजको लेदोबाट बनेको ब्लकमा सेतो कागज टाँसेर चित्र बनाउँछन् । वडा बाल सञ्जालका निमावि र मावि तहका विद्यार्थीहरूले बिदाको दिन पारेर उक्त पुस्तकालयका विद्यार्थीहरूलाई सहभागी गराई चित्रकला प्रतियोगिता गराउँछन् ।

पुस्तकालयले विद्यार्थीलाई दैनिक आधा घण्टा पुस्तक वाचनको नियम लगाएको छ । ‘पठन सीप र पुस्तकालय आउने बानीको विकास गराउन अतिरिक्त क्रियाकलाप गराउँछौं’, लाइब्रेरियन दया राई भन्छिन् । उनी एक कक्षा पढ्ने छोरी मितुम दिनहुँ पुस्तकालय आएकै कारण बालपुस्तक राम्ररी पढ्न सक्ने भएको बताउँछिन् ।

कतिपय अभिभावकलाई भने अझै पनि पुस्तकालयको महत्त्व बोध हुन सकेको छैन । कतिपय अभिभावक ‘आऽ के नै हुन्छ र पुस्तकालय गएर !’ भन्ने गर्छन् । यस्ता अभिभावकका लागि टोलछिमेकमा खुलेका पुस्तकालय ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’ सरह भएका छन् । यसो हुनुमा वर्तमान शिक्षाकै पनि दोष छैन । किनभने कतिपय चलेका निजी विद्यालयमा निम्न माविदेखि मात्र विद्यार्थीले पुस्तकालयको पहुँच पाउने गरेका छन् ।

अक्षर र मात्रा छिचोलेपछि प्रावि तहका बालबालिकालाई उमेर सुहाउँदा पुस्तक पढ्न दिने हो भने उनीहरूमा पढ्ने भोक जाग्दै जान्छ भन्ने विकसित मुलुकहरूको सफल अभ्यासले देखाउँछ । सभ्य समाज निर्माण गर्न र देशलाई समृद्धिको शिखरमा पुर्‍याउन शिक्षित बालबालिका र शिक्षित युवाशक्ति चाहिन्छ भन्ने बुझेरै होला, विकसित मुलुकले उमेर अनुसारको पुस्तक प्रकाशनमा जोड दिने गरेका छन् ।

बेलायत तथा अमेरिकामा दुई वर्षदेखिका बालबालिकालाई लक्षित गरी पुस्तक प्रकाशन गरिन्छ । साना छोराछोरीलाई शिक्षित अभिभावकले पढेर सुनाऊन् भनेर यस्तो गरिएको हुनुपर्छ । अस्ट्रेलियामा बाटोछेउ ससाना घरजस्तो संरचना ‘स्ट्रिट लाइब्रेरी’ राखिएका हुन्छन् । यस्ता घुम्ती पुस्तकालयमा मानिसहरूले आफूले पढिसकेका पुस्तकसमेत राखिदिने गर्छन् ।

हामीकहाँ अभिभावकले घरमा र शिक्षकले विद्यालयमा बाल पुस्तकको महत्त्व नबुझ्दा बालबालिका वञ्चितीकरणमा परेका छन् । अतिरिक्त पुस्तक पढ्दा हुने चौतर्फी फाइदाबारे अभिभावक र शिक्षक अनभिज्ञ हुँदा बजारमा उपलब्ध बाल पुस्तकहरूले यथोचित पाठक पाउन सकेका छैनन् ।

पछिल्लो समय सूचना प्रविधिको सहज पहुँच भएपछि हुनेखाने घरका अभिभावकहरू अधिकांश समय सामाजिक सञ्जालमा बिताउने गरेकाले यसको नकारात्मक असर बालबालिकामा पर्दै छ । यस्ता अभिभावकले आफ्ना कलिला छोराछोरीलाई फकाउन, फुल्याउन स्मार्ट फोन र ट्याब दिने गरेका छन् ।

हुनेखाने परिवारका बालबालिकाले उमेर नपुगी यस्ता सामग्री उपयोग गर्नु भनेको फेरि पनि पुस्तक र पत्रपत्रिकाबाट टाढिनु हो । यी उपकरण उपयोग गर्ने बानीले बालबालिकाको व्यक्तित्व लगायत स्वास्थ्यमा समेत नकारात्मक असर पार्ने अध्ययन–अनुसन्धानले देखाएका छन् ।

यिनमा अभ्यस्त बालबालिकाले जेनतेन कक्षाकार्य र गृहकार्य गरे पनि उनीहरूमा बिस्तारै पढ्ने भोक हराउँदै जान्छ र कालान्तरमा यस्ता विद्यार्थीका लागि पढाइ बोझ बन्न जान्छ । यी र यस्ता कतिपय कारणले अचेल बालबालिकामा पढ्ने भोक हराउँदै गएको छ ।

सहरी क्षेत्रका बालबालिकामा पढाइप्रति भोक जगाउन र शिक्षाको महत्त्व बुझाउन बालपुस्तक र पुस्तकालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । पछिल्लो समय स्कुले जीवनमा अतिरिक्त पुस्तक पढ्ने अवसर पाएका अधिकांशले विश्वविद्यालय शिक्षा पूरा गर्ने गरेको अध्ययन–अनुसन्धानले देखाएका छन् ।

पछिल्लो समय सरकारले एक विद्यालय र पुस्तकालयको अवधारण अघि सारेको छ । तैपनि उक्त अवधारणा अनुरूप सामुदायिक विद्यालयहरूले आफ्ना विद्यार्थीलाई पुस्तकालयको सुविधा अपेक्षित रूपमा दिने गरेका छैनन् । विद्यालय व्यवस्थापनको बालपुस्तकप्रतिको असंवेदनशीलता र शिक्षक स्वयंको अतिरिक्त पुस्तक पढ्ने बानी नहुँदा प्रावि तहका विद्यार्थी पुस्तकालयको सुविधाबाट वञ्चित भइरहेकै छन् ।

प्रावि तहका विद्यार्थीलाई उमेर सुहाउँदा बालपुस्तक उपलब्ध गराउन घरमा अभिभावक र विद्यालयमा शिक्षकले सहजीकरण गर्ने हो भने हामीकहाँ पनि अतिरिक्त पुस्तक पढ्ने बालबालिका र युवा जन्मने वातावरण तयार हुन्छ । बालबालिका र युवा यो हिसाबले शिक्षित हुनु भनेको सभ्य समाज निर्माणका लागि दक्ष जनशक्ति तयार हुनु हो ।

यस्तो जनशक्ति जन्मने पहिलो थलो घरपरिवार हो भने दोस्रो विद्यालय हो, त्यसपछि सामुदायिक पुस्तकालय । यसरी घरपरिवार, विद्यालय र सामुदायिक पुस्तकालयहरूले जन्माएका शिक्षित बालबालिका र युवाशक्ति नै भोलिका

कर्णधार हुन्, जसले समाजलाई सभ्य बनाउँछन् ।

प्रकाशित : भाद्र ५, २०७६ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?