सामाजिक सञ्जाल र स्त्रीद्वेष

सरिता तिवारी

काठमाडौँ — ‘ऊ बेला आफूविरुद्ध सामाजिक बहिष्कारको अभियान चलाउने आलोचकको पहुँचमा म थिइनँ । तर आज म फेसबुक र ट्वीटरमा त्यस्ता सबै आलोचकको पहुँचमा छु । सामाजिक सञ्जालमा मलाई घेर्न, निम्नस्तरको गाली गर्न तिनलाई आज धेरै सजिलो भएको छ । म र आलोचकबीच मात्र एक क्लिकको दूरी छ !’

केही समयपहिले बंगलादेशकी चर्चित लेखक तसलिमा नसरिनले एउटा लेखमार्फत यसो भनेकी थिइन् । नसरिन उदारवादी र मुक्त विचारमाथिको सामूहिक अस्वीकृति र घृणाका सबै रूप झेलेकी लेखक हुन् । ‘कन्फर्मिस्ट’ सांस्कृतिक सत्ता र समाजको मूलधारविरुद्ध लेखेकै कारण उनले दशकौंदेखि आफ्नै देश टेक्न पाएकी छैनन् ।

समाजको एउटा पंक्ति अपमान र घृणाको हतियार उध्याएर निरन्तर उनीविरुद्ध खनिएको छ । र त्यो पंक्तिलाई अहिलेफेसबुक, ट्वीटर लगायतका प्रविधि सञ्जालको उपयोग गरेर हिंसक प्रतिक्रिया गर्न झनै सहज भएको छ । कतिसम्म भने उनलाई यस्तैमध्येका मानिसहरू घिनलाग्दा गाली मात्रै गर्दैनन्, बलात्कारको धम्कीसमेत दिन्छन् ।

बीसौं शताब्दीको अन्त्यताकाको र आजको समाजको प्रतिक्रियात्मक चरित्रको तुलना गर्दै नसरिनले भनेको कुरा वर्तमान विश्वमा जहीँ पनि लागू हुन्छ । त्यसमा पनि धार्मिक–साम्प्रदायिक, राष्ट्रवादी भय र तनाव मौलाइरहेका समाजमा त अझ बढी ! विशेष गरी महिला र उत्पीडितमाथिको संरचनात्मक हिंसाको रूप सामाजिक सञ्जालमा ऐनाजस्तै गरी छर्लंग देखिन्छ । सामाजिक सञ्जाल पनि आखिरमा समाजकै प्रतिरूप हो भन्ने कुरा यसभित्रका व्यक्तिगत (यद्यपि ती व्यक्तिगत मात्रै हुँदैनन्) धारणा, टिप्पणी आदिमा व्यक्त भैरहने चरम असहिष्णुता र शाब्दिक हिंसाले देखाउँछन् ।

हाम्रो जीवनमा अभिन्न बनिसकेको सामाजिक सञ्जालको आवश्यकता र भूमिकाबारे हामी भलिभाँती परिचित छौं । सूचना र सन्देशको सम्प्रेषणमा मात्रै होइन, विचार र अनुभूतिको तत्काल प्रकाशन र शिष्ट टिप्पणीका लागि फेसबुक, ट्वीटर लगायतका माध्यमले खेलेको सकारात्मक भूमिकालाई कम आँक्न सकिन्न नै, तर सामाजिक सञ्जाल जीवन र समाजका कतिपय संवेदनशील विषयमा कुन मात्रामा सामाजिक बन्न सकेको छ ? यसमाथि बहस जरुरी भैसकेको छ ।

सामाजिक सञ्जालभित्र कुत्सित शैली र अश्लील भाषामा विरोधी स्वरलाई जतिखेरै झम्टिन सक्ने सुविधाले पनि मानिसहरूका अनियन्त्रित रोष र विकृत कुण्ठा छताछुल्ल छन् । पुरातनपन्थी सोचको अति आग्रह, चर्को असहिष्णुता र अराजकता चुलिँदो छ । प्रायः उदार र लोकतान्त्रिक मूल्यमा विश्वास गर्ने जुनसुकै समाजको बौद्धिक तप्कामाथि यति बेला निरन्तर यस्तै पंक्तिको आक्रमण बढिरहेको छ । त्यसमाथि पनि सामाजिक संवाद र बौद्धिक गतिविधिमा अगाडि देखिने महिलामाथिको आक्रमण भीषण स्तरमा वृद्धि हुँदै छ । आज यहाँ आफ्ना केही यस्तै अनुभूति साझा गर्न चाहन्छु ।

सन् २००८ ताका नेपालमा फेसबुक भर्खरै लोकप्रिय हुँदै थियो । प्राध्यापन पेसा थाल्दै थिएँ, त्यही वर्ष । कलेजका एक कर्मचारी मित्रको सहयोगमा बडो उत्सुकताका साथ फेसबुकभित्र छिरेकी थिएँ, त्यही वर्ष । त्यसपछिका केही वर्षसम्म फोटो र सूचना राख्ने कामबाहेक अरू कुराका लागि फेसबुक उति चलाइनँ । ट्वीटर र अन्य माध्यम त धेरै पछि मात्रै चलाउन थालेकी हुँ ।

पछिल्ला वर्षहरूमा हातेफोनमै फेसबुक चलाउने सुविधा उपलब्ध भयो । यसपछि फेसबुकलाई वैचारिक बहसको एउटा सहज उपलब्ध मञ्च बनाउने विचारले आफ्ना धारणाहरू सार्वजनिक गर्ने क्रम तीव्र पारेंँ । यसको तीव्रतामा शिष्ट असम्मतिहरूलाई स्वागत गर्नुपर्थ्यो नै, गरेंँ पनि । तर राजनीतिक र लैंगिक प्रतिशोधबाट जन्मेका यस्ता–यस्ता प्रतिक्रिया पनि पाउन थालेँ, तिनले मलाई हाम्रो सामाजिक सोचको भुइँ के हो भन्ने कुरा अति नजिकबाट चिन्ने अवसर दिए ।

विषयको गम्भीरतामा भन्दा उत्तिखेरै गरिने तीखो र फटाफट प्रतिक्रिया देखेर मलाई वास्तवमै दिक्क लाग्थ्यो । तथापि सामाजिक–सांस्कृतिक मुद्दामा बोल्न कति जरुरी छ भन्ने कुराले मलाई लगातार प्रेरित गरिरहन्थ्यो । यसबीच अधिकांश प्रतिक्रिया मेरो लैंगिक हैसियतका आधारमा पेलेरै र हेपेरै आए ।

कुनै विषयमा गरिएको शिष्ट बहसको आग्रहमा भन्दा मानिसहरूलाई ‘महिला भएर पनि बढ्ता जान्ने भएको’ मा मप्रति आपत्ति थियो । फेसबुकमा लामा–छोटा स्टाटसका रूपमा सार्वजनिक सरोकारका विचारहरू राखेकै कारण पुरुष वर्गबाट भोगेको हिंसा कुन स्तरसम्म थियो भने, एक जनाले त मेरा विरुद्ध मेरी छोरीको दृष्टिविन्दु बनाएर लेखेको निम्नकोटिको हिंसक कविता नै फेसबुकमा पोस्टिए । त्यसलाई वाह र आहा भनेर प्रतिक्रिया गर्ने पनि मैले चिनेका पुरुष नै थिए ।

विडम्बना नै भन्नुपर्छ, ती सबै ‘तथाकथित’ लेखक नै थिए ! तर उनको आफ्नै विवेकले भन्यो या अरू कसैले, कविताको नाममा गरिएको त्यो चरम स्त्रीद्वेषी पोस्ट अलिबेरमै डिलिट गरे । यो विषयलाई मैले यत्तिकै छोड्न भने सकिनँ, रूखो भाषामा खै–खबर लिएँ । त्यसपछि उनको खेदसहितको मौखिक माफिनामासँगै म पछि हटेंँ । एउटा पाको उमेरको (लेखक) व्यक्तिसँग, उनको त्यस्तो हर्कतविरुद्ध, त्यसरी प्रस्तुत हुनुपर्दा म धेरै दिनसम्म आफैभित्र बिथोलिइरहेंँ । तर चेतन मनले भन्यो, हिंसाको प्रतिरोधमा नउत्रनु आफैप्रतिको अन्याय थियो । यसमा केको क्षोभ ?

विचार आदान–प्रदानमा फेसबुकको भूमिकाबारे अनौपचारिक छलफलका क्रममा एक लेखकले मसँग मुख फोरेरै भनेका थिए, ‘हेरिराख्नू, तेस्रो विश्वयुद्ध पुरुष र महिलाका बीचमा हुन्छ ।’ उनले मेरा ‘ब्याक टु ब्याक’ स्टाटसमाथि व्यंग्य गर्दै वाक्युद्धतर्फ संकेत गरेका हुन् भन्ने मैले नबुझ्ने कुरो थिएन । प्रतिक्रियामा मैले भनेकी थिएँ, ‘त्यसो भए तेस्रो विश्वयुद्ध हाम्रै पालामा हुनुपर्छ !’

सामाजिक सञ्जाल कदाचित् महिलामैत्री छैन भन्ने कुरा मैले आज होइन, धेरै अघि नै बुझेकी हुँ । यसमा महिलाका कामुक तस्बिरहरूले जति ‘वाह’ पाउँछन्, तिनका निर्भीक र ‘बोल्ड’ विचारहरूले त्यति नै दुत्कार, खप्की र सार्वजनिक बेइज्जती पाउँछन् । सामान्य र भुइँतहको चेतनाका प्रयोगकर्तालाई हेरेर मैले यसो भनेकी होइन । बौद्धिक र विचार उठेको भनिएकै तप्काबाट महिलाका मतमाथि झन् ठूलो प्रहार भैरहेको मैले देखे–भोगेकी छु । जब त्यस्तो दृश्यले मेरो भद्रता र विवेकको बाँध फुटाउन थाल्छ, कहिलेकाहीँ रणचण्डीजस्तो बनेर एक–एकलाई जवाफ दिन मन लाग्छ ।

कतिपय मेरा मित्र सामाजिक सञ्जालमा मलाईबहस आमन्त्रक र प्रतिक्रियात्मक होइन, शालीन र ‘सबैको साझा’ कविका रूपमा देखिन सुझाउँछन् । उनीहरू ठान्छन्— एक लेखकका रूपमा, सामाजिक कर्ताका रूपमा वा सचेत महिलाका रूपमा मेरो छवि विवादित र कुनै ‘पक्षधर’ हुनु हुँदैन । कतिपय आफन्त भन्छन्— विचार र पक्षधरताको ठेक्का लिनुपर्ने तँ को होस् ?

तीन वर्षअघि तीज पर्वबारे मैले लेखेको स्टाटसमा टिप्पणी दिँदै एक ‘वरिष्ठ’ लेखकले नै मलाई सामाजिक व्यक्ति र असल आमा बन्नुपर्ने सुझावसहित ‘डन्ट बी सोसल पुलिस !’ भनेर चेतावनी दिए । स्त्री–गरिमाविरोधी र भड्किलो तीजलाई कसरी सिर्जनात्मक बनाउन सकिएला ? मेरो धारणा यसैको वरिपरि थियो । आफूलेसम्मान गर्दै आएका एक लेखकले त्यस्तो घोर विवेकविरोधी धम्की दिएको देख्दा मलाई पक्का भएकै हो, वर्गीय समाजमा लेखक पनि वर्गीय हुन्छ भनेको साँच्चै रहेछ ।

जसरी घर र समाजमा महिला निरन्तर अपमानित र लाञ्छित छन्, सामाजिक संवादका मञ्चहरूमा त्यसको हुबहु रूप देखिन्छ । फेसबुक, ट्वीटर आदिमा महिलाको उँचो स्वर किन मन पराइँदैन भन्ने कुराको उत्तर समाजको संरचनात्मक हिंसाको भाष्यसँगै जोडिन्छ । दृढ र निश्चिन्त भएर अमुक महिलालेआफ्ना विचार राखिरहँदा अमुक पुरुषलाई आफ्नै घरका महिलाजनको ‘पोथी डाँको’बाट औडाहा छुटेजस्तो मनोवैज्ञानिक तनाव हुँदो हो ।

कतिपयले मेरा पोस्टमा टिप्पणी गर्दै लेखेका छन्– यसलेआफ्नो लोग्नेलाई के गर्दी हो ? यद्यपि यो मेरो अति निजी मामिला हो, स्पष्टीकरण जरुरी छैन । तथापि, प्रेम र सद्भावले ढकमक्क फक्रेको फूलबारीजस्तो गृहस्थी धानेरै म उनीहरू जस्ताको लबस्तरो चेतनासँग लडिरहेकी हुन्छु भन्ने तिनलाई के थाहा ? अन्त्यमा, सबैभन्दा पछिल्लो अनुभव सुनाउँछु ।

गएको भानु जयन्तीमा मेरो पोस्ट थियो, ‘भानुभक्त आचार्य पुरुष, ब्राह्मण–क्षत्री र शासकका मात्रै कवि हुन् । राज्यको पछिल्लो सत्तरी वर्षयताको भाष्यले उनलाई यिनै तीन थरीको कविमात्रै बनाइरहेको छ । बाँकी जनले भानु जयन्ती मनाउनु निरर्थक छ !’ यसपछि पंक्तिकारमाथि असिनाझैं खनिएको ‘पौरुष’ भानुभक्तको होइन, आफ्नै उच्चजातीय अहंकारको बिर्केटोपी जोगाउने दस्ता हो भन्ने म राम्रै बुझ्छु । तब त स्क्रिनसट तानेरै सेयर गर्ने भानु–कुलका अर्का एक कनिष्ठ आचार्यले भने, ‘गजाधर सोतीकी घर बूढीजस्तै नानी फेला परिन्, हाम्रा बाजेले ठीकै भन्या र’चन् ।’

उनको प्रतिक्रियामा त्यही कोटिका टिप्पणीकर्तामध्ये एक बुज्रुकले लेखेका छन्, ‘यसलाई स्याङ्जाली गालीले ठोकौं ?’ मलाई लाग्छ, उत्पीडित वर्गले निहुँ खोजिरहनुपर्छ, तब न सत्ताधारी चिन्तनको वमन र दुराग्रह कुन स्तरमा छ भन्ने थाहापाइन्छ ! नभए, सामाजिक सञ्जाल स्त्रीद्वेषको कतिठूलो प्रतिविम्ब हो भन्ने कुराको प्रत्यक्ष ज्ञानबाट म कसरी लाभान्वित हुन पाउँथेंँ ?

प्रकाशित : भाद्र ३, २०७६ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्

साइकल संस्कृतिको सपना

सरिता तिवारी

केही दिनअघि चितवनमा साइकल राइडर्स क्लब गठन भएको समाचार बाहिर आयो । बाइपास रोड, भरतपुरमा नमुनाका रूपमा निर्माण गर्ने भनिएको ‘हरित–मार्ग’ को विषय पनि अहिले चर्चामा छ । पछिल्ला दिनहरूमा साइकल एउटा उपेक्षित र सीमान्तीकृत सवारी साधन बनेको छ ।

यसको कारणमा वैश्विक उदारवादी अर्थराजनीतिको ठूलो बहस उपस्थित हुन आइपुग्छ । साइकललाई विस्थापित नै गर्ने गरी मोटरसाइकल र कारको प्रचलन तीव्र बन्दै गएपछि सडकहरू ‘डेन्जर जोन’ बनेका छन् । सहर र सडक व्यवस्थापनमा सरकार पटक्कै गम्भीर छैन । यसका कारण, सहरमा सवारीका साधनको उकुसमुकुस मात्रै बढेको छैन, दिन–प्रतिदिन सवारीजन्य प्रदूषण र दुर्घटनाको मात्रा पनि बढ्दै छ । यो चितवनको मात्रै वा नेपालका सहरहरूको मात्रै होइन, विश्वव्यापी चिन्ताको विषय हो ।

यस्तो बेला साइकलमैत्री सडक निर्माण अभियानबारे सोच्नु सुखद आरम्भ हो । भरतपुर महानगरपालिकाको आव २०७६/७७ को नीति तथा कार्यक्रममा पनि यो विषय समावेश गरिएको छ । तथापि मुख्य कुरा हो, साइकल लेनको चर्चा क्षणिक लोकप्रियताका लागि मात्रै भइरहेको हो वा हामी साइकल संस्कृतिकै निर्माणको बृहत्तर परियोजनाका लागिसमेत प्रतिबद्ध भएका हौं ?

त्यसो त चितवनको आर्थिक–सामाजिक विकासको इतिहास साइकलको क्यारियरमै अडिएको हो । साइकलको नायकत्वलाई बिर्सिने हो भने यहाँको अर्थतन्त्र निर्माणको कथा पूरै अधुरो हुन्छ । संवत् २०१३ मा मलेरिया उन्मूलन योजना लागू भएसँगै मानव बस्तीको विस्तार हुने क्रममा साइकल चितवनको आर्थिक उत्पादनको मुख्य सहकारी बन्दै आयो । चितवनका खास निर्माता श्रमजीवी किसान नै हुन् र साइकल तिनको आर्थिक–सामाजिक गतिविधिको ठूलो सारथि ।

साइकललाई नेपथ्यमा राखेर चितवनको परिचय र व्याख्या दुवै असम्भव छन् । साइकलसँग यति विशेष नाता रहेको चितवन साइकल सिटी बन्न सक्छ कि सक्दैन भन्ने कुनै प्रश्नै होइन । प्रश्न हो, हामी जनतालाई विषयान्तर गर्दै भुलाउने गफ मात्रै गर्दै छौं कि इमानदारीपूर्वक काम पनि गर्छौं ?

साइकलको लोकप्रियता
मानव इतिहासको कायाकल्पमा पाङ्ग्राको आविष्कारलाई अर्थपूर्ण संघटना मानिन्छ । साइकल त्यही इतिहासको महत्त्वपूर्ण कडी हो ।

युरोप, अमेरिका लगायत पश्चिमी विश्वमा साइकलको प्रयोग संस्कृतिकै रूपमा विकास भइरहेको छ । त्यहाँ मोटरसाइकल, कार, सार्वजनिक बस र तीव्र गतिका ट्रेनहरूको प्रयोगसँगै दैनिक जीवन र अन्तरबाह्य पर्यटनमा साइकलको उपभोग लोभलाग्दो स्तरमा छ ।

युरोपको साइकल संस्कृतिको प्रभाव भारत हुँदै नेपाल छिरेको हो । नेपाली जनसामान्यले साइकलको उपभोग गर्न थालेको सात दशक पार भैसकेको छ, तर यो संस्कृतिको अङ्ग बन्न सकेको छैन । विगतमा चितवनजस्तै तराईका गाउँ–सहरको आर्थिक–सांस्कृतिक जीवनको मेरुदण्ड बनेको साइकल अहिले उपेक्षितजस्तै छ ।

यसका उपभोक्ता कि त न्यून आय भएका श्रमजीवी छन् कि सौखिन साइक्लिस्ट । मध्यम र उच्च वर्ग अहिले साइकल चलाउँदैन । यो वर्गले साइकलको पुनर्प्रचलन थालेर संस्कृतिकै रूपमा विकास गर्ने हो भने ध्वनि, वायु लगायतका प्रदूषणको ठूलो मात्रा स्वतः घट्छ । तर यसका लागि प्रदर्शनीको प्रतिस्पर्धामा दौडिरहेको समाज ठूलो मनोवैज्ञानिक क्रान्तिका लागि तयार हुनुपर्छ ।

साइकल चढ्नुका फाइदा मात्रै छन्, हानि एउटै छैन । यो सस्तो त छँदै छ, स्वास्थ्यवर्धक पनि छ । नियमित साइकल चालकको शरीर स्वतः तन्दुरुस्त हुन्छ । जिम र एरोबिक्समा अतिरिक्त पैसा खर्चिनुपर्दैन । पेट्रोल र डिजेलको खर्च जोगिने भैहाल्यो । त्यसबाट हुने प्रदूषणका कारक र भागीदार दुवै हुनुपरेन । पार्किङ गर्न पनि सजिलो छ । मेन्टिनेन्स खर्च कारको तुलनामा बीसौं गुणा कम लाग्छ । साइकल यसै पनि सामाजिक सवारी हो । साइकल चढ्न थालेपछि मोटरसाइकल र कारसँगै हुत्तिएर कुदिरहँदा छुटेको सामाजिक सम्बन्धको तन्तु फेरि जोडिन थाल्छ । साइकल सवारीलाई अभिन्न जीवनशैलीका रूपमा लोकप्रिय बनाउन यति कारण पर्याप्त छन् ।

साइकलमा गुडिरहेका सभ्यता
गोडाले धकेल्नेदेखि प्याडल, गियर हुँदै इलेक्ट्रिक बाइकसम्मका अनेक जेनेरेसन आइसकेका छन्, साइकलका । यति बेला साइकलको चक्कासँगै संसारका कतिपय देशका समुन्नत सभ्यताहरू गतिमान छन् । अहिले विश्वभर प्रतिवर्ष १० करोड साइकल बन्छन् र त्यति नै बिक्री हुन्छन् ।

चीन, नेदरल्यान्ड, डेनमार्क लगायतमा साइकल अत्यन्तै लोकप्रिय सवारी हो । डेनमार्कको राजधानी कोपनहेगनको साइकल ट्र्याकलाई संसारमै विकसित मानिन्छ । डचहरूको साइकल प्रेम यति अद्भुत छ, तथ्यहरू भन्छन्, त्यहाँ परिवार र साइकलको अनुपात बराबर छ । त्यहाँ कार भनेको ‘अनिच्छित पाहुना’ मात्रै हो । नेदरल्यान्डका आम्स्टर्डम लगायतका सहरमा सडकहरू साइकलले भरिभराउ हुन्छन् । जनसंख्याको आधाभन्दा बढी हिस्साले साइकल चलाउँछ । खरिदारी गर्न, नजिकका ठाउँ घुम्न, स्कुल–कलेज–कार्यालय जान वा अन्य कामकाजले घरबाहिर निस्कन साइकलको उपयोग अत्यधिक हुन्छ ।

साइकल त्यहाँ केवल सवारीको एउटा साधन मात्रै होइन, शताब्दीअघिदेखि स्थापित संस्कृति नै हो । त्यहाँको सरकारले सहर र सडकलाई पर्याप्त मात्रामा साइकलमैत्री बनाउने दूरदर्शी योजनाको निरन्तर कार्यान्वयन गरिरहेका कारण यस्तो हुन सकेको हो । युरोप ‘साइक्लिङ होलिडे’ मनाउन आकर्षक गन्तव्य पनि हो । ‘साइकल प्याकेज’ त्यहाँको लोकप्रिय कार्यक्रम हो । त्यहाँ आन्तरिक र अन्तरदेशीय पर्यटनका लागि व्यवस्थित साइकल रुट नै बनाइएका छन् ।

यो रुट ४,५०० किलोमिटरसम्म लामो छ । हाम्रा छिमेकी भारत र चीन हामीले प्रयोग गर्ने साइकलका उत्पादक मात्रै होइनन्, यहाँ ठूलो मात्रामा साइकल प्रयोगकर्ता पनि छन् । भारतका दिल्ली, मुम्बई, पुणे, अहमदाबाद र चण्डीगढमा सुरक्षित साइकल लेन छन् । सन् २०१४ मा गरेको नेदरल्यान्ड भ्रमणपछि उत्तर प्रदेशका तत्कालीन मुख्यमन्त्री अखिलेश यादवले लखनउमा २७० किलोमिटर लामो साइकल करिडोरको निर्माण थाले । यो हालसालै सम्पन्न भएको छ ।

चीनले साइकल सवारीमा एक प्रकारको क्रान्ति गरिरहेको छ । सडकमा कारैकार मात्रै हुने स्थिति आएपछि सरकारले जनतालाई साइकल चढ्न प्रेरित गर्ने उद्देश्यले अलग्गै लेन बनायो । परिणामतः १९९५ मा ६७ करोड चिनियाँ साइकलमा गुडेको तथ्यांक छ । यो संख्या २०१३ मा आइपुग्दा ३७ करोडमा ओर्ल्यो । त्यसयता साइकल प्रयोगकर्ता उत्साहित हुने लोकप्रिय योजना ‘बाइक सेयरिङ’ अन्तर्गत क्युआर कोड र जीपीएस पद्धति लागू गरिएको छ । यसमा सार्वजनिक ठाउँमा पार्किङ गरिएका साइकललाई स्मार्ट फोनमार्फत क्युआर कोडको ‘लक’ खोलेर कसैले पनि प्रयोग गर्न सक्छ । यो कार्यक्रमपछि ‘बाइक सेयरिङ’ का लगानीकर्ता र साइकल प्रयोगकर्ताको संख्या उल्लेख्य रूपले बढ्दै छ ।

अन्त्यमा,
‘साइकल सिटी’ परियोजना चितवनको मात्रै होइन, काठमाडौं, पोखरा, विराटनगर लगायत ठूला–साना हरेक सहरको लक्ष्य हुनुपर्छ । भिरालो भू–बनोट भएका हिमाली र पहाडी क्षेत्रबाहेक उपत्यका र तराईका कुनै पनि ठाउँमा साइकल मज्जाले चल्छ । जनस्तरमा साइकलको प्रयोगलाई उल्लेख्य दरमा बढाउन सबैभन्दा गम्भीर हुनुपर्ने राज्य नै हो ।

प्रदूषणमुक्त स्वच्छ वातावरण र स्वस्थ, मितव्ययी नागरिकको कल्पनामा शासकहरूले एक छिन अडिएर घोरिनु जरुरी छ । साइकल करिडोरको निर्माणसँगै स्वदेशमै साइकल उत्पादन गर्ने योजना पनि ल्याइनुपर्छ भन्नेमा समेत राज्यको गम्भीर ध्यानाकर्षण हुनुपर्छ । साइकल राइडर्स क्लबजस्ता नागरिक प्रयत्नहरूलाई प्रोत्साहन गरेर ‘साइकल ट्र्याक’ र ‘ग्रिन बेल्ट’ को अवधारणालाई मूर्त रूप दिन राज्यसँग साइकल संस्कृतिको प्रवर्धन गर्ने इमानदार प्रतिबद्धता जरुरी छ ।

साइकलको क्यारियरमै अडिएको अर्थतन्त्रको गौरवपूर्ण विगत बोकेको चितवनजस्तो ठाउँ आम्स्टर्डम वा हटनजस्ता ‘साइकल सिटी’ बन्न सक्नेमा शंका छैन । तर यो संघीयसँगै स्थानीय सरकार र नागरिक संकल्प दुवैमा भर पर्छ ।

ट्वीटर : @saritatiwari36

प्रकाशित : श्रावण २१, २०७६ ०८:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्