जातीय श्रेष्ठताको दम्भ

पञ्चायती
आहुति

पूर्वकम्युनिस्ट तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ पत्रिकामा हालै ‘को आदिवासी ? को खस–आर्य ?’ शीर्षक लेख छपाए, जसको मुख्य कसरत भने खस–आर्य जातिको श्रेष्ठता प्रमाणित गर्नमा केन्द्रित छ । त्यो बाबुराम भट्टराई व्यक्तिबाट लेखिए पनि हिजोदेखि आजसम्मका हिन्दु उच्च जातबाट विकसित नकारात्मक सत्ताधारीहरूको मुख्य वैचारिक सत्त्व व्यक्त भएकाले त्यसबारे गम्भीर मन्थन जरुरी छ ।

भट्टराईको विचारको सार छ— खस–आर्य चलायमान र संघर्षशील थिए, फौजी कौशलमा श्रेष्ठ थिए, सांस्कृतिक–भाषिक हिसाबले श्रेष्ठ थिए, ज्ञान उत्पादनमा पनि श्रेष्ठ थिए । त्यसैले प्रभुत्व विस्तार गर्नसके । अरू जातिभन्दा श्रेष्ठ भएकाले उनीहरू शासक हुनु र अरूमाथि विगतमा उत्पीडन गर्नु स्वाभाविक थियो । सबैभन्दा अगुवा जाति भएकाले भविष्यको नेतृत्व पनि खस–आर्यले नै गर्नुपर्छ ।

उक्त लेख पढेका भए उनको पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठहरूलाई कस्तो लाग्यो होला ? किनकि लेखले त उनीहरूलाई हाकाहाकी भन्छ— तिमीहरूको जाति नालायक थियो, तब नै पछि पर्‍यो । अब पनि तिमीहरू त सहयोगी मात्र बन्न सक्छौ, किनकि तिमीहरू अगुवा जातिबाट आएका होइनौ । भट्टराईद्वारा व्यक्त जातीय श्रेष्ठता सम्बन्धी विचार आजसम्मको मानव इतिहास, समाजशास्त्र र राजनीतिक विज्ञानको कसीमा खरो उत्रिन्छ ?

नेपालको संविधानमा भनिएको खस–आर्य जाति निश्चित राजनीतिक तथा प्राविधिक आवश्यकताका कारण तोकिएको समूह मात्र हो, त्यो पहाडिया हिन्दु उच्च जातहरू अर्थात् बाहुन, क्षत्री र संन्यासी जातको समूह हो । पहाडको दलित र दलितको अवस्थालाई अलग गरेर खस–आर्यको न समाजशास्त्रीय परिभाषा पूर्ण हुन्छ, न त खस–आर्य राष्ट्रियताको ज्ञानको प्रकृति प्रमाणित हुन्छ ।

किनभने पहाडको दलित खस–आर्य राष्ट्रियताभित्रको चालक समूह हो । अर्कातिर, मधेसी र नेवारभित्रका आर्य उत्पत्तिका जातहरू र तीमाथिको उत्पीडनलाई कटाएर पनि आर्यहरूको ज्ञान उत्पादनको सीमा प्रमाणित हुन सक्दैन । भट्टराईले लेखमा पहाडको खस–आर्य दलित र अन्य जातिभित्रको आर्य उत्पत्तिको समूहलाई कटाएर खस–आर्य जातिको चर्चा गरेका छन्, जुन समाजशास्त्रीय दृष्टिले गलत छ । यस सन्दर्भमा अन्यत्र छलफल आवश्यक छ ।

अर्को कुरा, खस–आर्य जातिलाई अरूभन्दा अब्बल र अगुवा प्रमाणित गर्ने लालसामा खस–आर्य जातिबाट विकसित शासक वर्गले गरेका अपराधको भारी सिंगै खस–आर्य जातिले बोक्नुपर्ने बाध्यता सिर्जना गर्न भट्टराई उद्यत भएका छन् । खस–आर्य जातिका शासक वर्गले गरेका अपराधको भारी खस–आर्यभित्रको दलितले किन बोक्ने ?

न्यायप्रेमी तथा वर्गीय रूपमा उत्पीडित खस–आर्य आम जनताले किन बोक्ने ? खस–आर्य जाति उत्पीडकका रूपमा रह्यो भन्नुको मुख्य अर्थ त त्यस जातिबाट आएका शोषक र शासक वर्गले उत्पीडन गरे भनेको हो । त्यस जातिका शोषित जनताले पनि उत्पीडनको केही लाभांश पाए नै, तर त्यो सहायक पक्ष मात्र हो । यति गम्भीर विषयलाई भट्टराईले छोपछाप पारिदिएका छन् । जातिको भूमिकाबारे मूल्यांकन गर्दा जातिभित्रको शोषक एवं शासक वर्ग र त्यसभित्रको शोषित वर्ग र न्यायप्रेमी जमातको भूमिकालाई अलग नगरी न्याय हुनै सक्दैन ।

संसारमा कुनै पनि मानव समूह चलायमान नभइन्जेल त्यो राष्ट्र (नेसन) वा राष्ट्रियता (नेसनालिटी) का रूपमा अगाडि नै आइपुगेको पाइन्न । किनकि त्योभन्दा अगाडिको अवस्था कबिलाई (ट्राइबल) हुन्छ । कबिलाई मानवको मुख्य ध्यान जीविकामा हुन्छ । तर राष्ट्रोन्मुख मानव समूहको ध्यान सांस्कृतिक प्रगतिमा हुन्छ ।

जाति र राष्ट्रियताका रूपमा स्थापित मानव समूहसँग आफ्नो जातिलाई अगाडि बढाउने आधारभूत ज्ञान हुन्छ, नत्र त्यस अवस्थासम्म पुग्न सम्भवै हुन्न । कुनै विषयमा कसैसँग बढी र कसैसँग कम ज्ञान हुनु भने स्वाभाविक हो । युरोपबाट सिन्धुघाटी आइपुगेका आर्यसँग पशुपालनको ज्ञान थियो । कृषिको ज्ञान भने हडप्पा र मोहेन्जोदारो सभ्यताका निर्माता द्रविड र आष्ट्रिक जातिसँग थियो । कुन ज्ञान श्रेष्ठ हो, दाँज्न मिल्छ ?

फ्रान्सको जाति त्यही हो, जो नेपोलियनको नेतृत्वमा युरोपमा हावी भयो, तर हिटलरको उदयपछि घुँडा टेक्यो । चङ्गेज खाँले भीषण आक्रामकता देखाए, तर त्यही मंगोलियन चीन र हिन्दचीनको सभ्यता युरोपियन अफिममा लट्ठिए पनि । आज फेरि चीन विश्व महाशक्ति बन्न पुगेको छ । दासका रूपमा बोल्ने पशु ठानिएका अफ्रिकन निग्रोहरू क्रमशः आज प्रतिभावान् बनेर अगाडि आउँदै छन् ।

कुनै जाति वा मानव समूह अगाडि आउनुमा त्यस जातिको जातीय श्रेष्ठता होइन, बरु त्यति बेलाको समग्र परिस्थिति र त्यस समाजको नेतृत्व गर्ने व्यक्तिहरूको प्रतिभा, क्षमता र समर्पणले नै निर्णायक भूमिका खेल्ने यथार्थ इतिहाससिद्ध छ, जुन जातीय श्रेष्ठताको विषय नै होइन । बाबुराम भट्टराई जातीय श्रेष्ठताका कारण आजको स्थितिमा पुगेका हुन् ? त्यसो भए गोरखाकै गरिब भट्टराई बाहुनचाहिँ के कारणले उनीभन्दा पछाडि छन् ?

युरोपमा निर्मित आर्य जाति खेतीपातीको ज्ञानमा कमजोर थियो । गंगा मैदान पुगेपछि उसले आयुर्वेद, ज्योतिषशास्त्र र योगशास्त्रको विकास गर्‍यो । औषधिशास्त्र, ज्योतिष विज्ञान र शारीरिक तन्दुरुस्तीबारे त कम–बेसी संसारका सबै जातिको संस्कृति थियो नै । आर्य जातिले आफैभित्र हजार उचनीच हुने र सबैभन्दा श्रमजीवी वर्गलाई अछूत बनाउने ज्ञान उत्पादन गर्‍यो । महिलालाई दान गर्ने ज्ञान अघि बढायो ।

गंगा मैदानमा आर्यले उत्पादन गरेको ज्ञानको सीमा त आजको विश्वमा दक्षिण एसिया प्रगतिको भर्‍याङमा कहाँनेर उभिएको छ भन्ने यथार्थबाटै छर्लङ्ग हुन्न र ? इरानी आक्रमणकारीहरूको सामना गर्न नसकेर नेपालको पश्चिम पहाडमा आएका वैदिक आर्यहरूले आफ्नै ज्ञान र प्रतिभाले अघि बढेका खसहरूलाई जात व्यवस्थामा ढालेपछि चाहिँ अन्य जातिभन्दा अब्बल ठहरिने गरी कुन विशिष्ट ज्ञान उत्पादन गरेका हुन् ? श्रमिक र महिलामाथि लुट, जातका आधारमा अत्याचार र सकेजति मोज, यत्ति न हो मूल रूपमा गरेको !

खस–आर्य जातिसँग अरूमा जस्तै आफ्नो सभ्यतालाई जसोतसो अघि बढाउने ज्ञान त थियो नै, तर अरूभन्दा अब्बल केही देखिँदैन । भाषा थियो, तर लिखित साहित्य थिएन, मौलिक लिपि पनि थिएन । विज्ञान–प्रविधिमा अरू जातिलाई उछिन्ने गुणात्मक प्रगति थिएन । ललितकलामा त झन् अरू जातिभन्दा कमजोर थियो ।

आजको नेपालभित्र खस–आर्यले निर्माण गरेको कुनै नगर पनि थिएन । सारमा बुझ्नुपर्दा, खस–आर्यले अरूभन्दा अब्बल भएकाले नेपालको नेतृत्व गर्न सके भन्ने निष्कर्ष तथ्यसंगत होइन । जसरी नेपोलियनको विजययात्राको मुख्य कारण फ्रेन्च जातिको विशेषतामा आधारित थिएन, त्यसै गरी नेपोलियनको हारको कारण पनि फ्रेन्च जातिको जातीय गुणमा खोज्न मिल्दैन । नेपोलियनको जितहारको कारण त त्यति बेलाको विश्वपरिस्थिति, नेपोलियनले बोकेको विचार राजनीति, युद्ध रणनीति र नियमित आकस्मिकताहरूमा खोज्नुपर्ने हुन्छ ।

नेपालमा खस–आर्यको विजय र अरू जातिको पराजय पनि पृथ्वीनारायण शाह हुर्केको जातिको गुणमा खोज्नु सर्वथा जातिवादी दृष्टिकोण हो, जसले नेपालका अन्य जाति र राष्ट्रियतालाई कमसल देख्ने धृष्टता गर्छ, जुन सर्वथा गलत हो । यथार्थ त के हो भने, तत्कालीन परिस्थितिमा खस–आर्यभित्रको पृथ्वीनारायण शाहवाला जमातको रणनीति सफल भएको हो । खस–आर्यको त्यो सानो तप्का सफल भएको हो । गण्डकीपारिको विशाल खस–आर्य तप्का नै असफल हुन पुगेबाट पनि, त्यो जातीय विशेषताका कारण सफलता थिएन भनेर सजिलै बुझ्न सकिन्छ ।

खस–आर्य जातिले आजको सिंगो नेपालमा शासन गर्न थालेपछि मधेस, जनजाति, दलित, आदि–इत्यादिमाथि दुई सय पचास वर्षदेखि आर्थिक, राजनीतिक र सांस्कृतिक उत्पीडन भयो । खस–आर्यभित्रकै केन्द्रीय शासनसँग असहमति राख्ने क्षेत्र र तल्लो वर्गमाथि उत्पीडन भयो । नेपाल देशप्रति जति राष्ट्रघात भएको छ, त्यसको मुख्य नेतृत्व खस–आर्यभित्रबाट विकसित शासकले गरेका छन् ।

आजसम्म खस–आर्यबाट विकसित राजनीतिक–प्रशासनिक नेताले नै देश चलाउँदै आए । तब देश कहाँ पुग्यो ? नेपाल यथार्थमा भिखारी शासकहरूले सञ्चालन गरेको देश बन्न पुग्यो । यो देशको सम्पूर्ण असफलताको जिम्मा खस–आर्यबाट विकसित राजनीतिक–प्रशासनिक नेता डफ्फाले लिनुपर्ने हुन्छ । तब भट्टराईले भनेजस्तो, खस–आर्य अगुवा जाति कसरी हुन्छ ? खस–आर्य जाति शासक त भयो, तर अगुवा हुन सकेन । अगुवा त्यो हो, जसले आफू मरेर पनि समाजलाई अघि बढाउँछ । शासक त्यो हो, जसले आफ्नो स्वार्थका निम्ति समाजकै बलि दिन्छ ।

इतिहासमा कुनै जाति र राष्ट्रियतामाथि एकाध सय वर्ष राजनीतिक, आर्थिक र सांस्कृतिक उत्पीडन लादेपछि त्यो उत्पीडनमा परेको जातिले धेरै कुरा गुमाउन पुग्छ । त्यसपछि उत्पीडकहरूले त्यो जाति नै कमसल भनी चित्रण गर्छन् । उपनिवेशवाद वा जातीय अहंकारवादको तर्क निर्माणको प्रक्रिया यही हो । भट्टराईले यही बासी विधि उक्त लेखमा प्रयोग गरेका छन् । यस्तो गलत विधिको लासमाथि उभिएर अझै उनले खस–आर्य जातिले नै नेतृत्व लिनुपर्ने जुन तर्कना अघि सारेका छन्, त्यो वास्तवमा क्षोभ गर्नलायक छ ।

हो, खस–आर्यभित्रबाट पनि ठीक काम गर्न बढीभन्दा बढी मानिस अगाडि आउनुपर्छ । तर उनीहरू कम हुँदाचाहिँ अरू सत्तरी प्रतिशत नेपालीबीचबाट अगाडि आउनेहरूले नेपाली समाजको नेतृत्व लिनै नसक्ने र लिनै नहुने हो ? वास्तवमा आजको हिन्दु उच्च जातवादी दलाल पुँजीपति वर्गीय शासक वर्गले व्यक्त नगरीकन कार्यान्वयन गरिरहेको कथित जातीय श्रेष्ठताको अघोषित रणनीति बाबुराम भट्टराईमार्फत चुहिन पुगेको छ । त्यसका निम्ति भट्टराई धन्यवादका पात्र हुन् । तर यो निकै गम्भीर र खतरनाक भविष्ययात्राको उद्घाटन हो ।

प्रकाशित : श्रावण १३, २०७६ ०८:१४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

भलिबल संघलाई खुलापत्र

सुषमा थापा

आदरणीय भलिबल संघका पदाधिकारीज्यूहरू, १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला भलिबल छनोट समितिको पदाधिकारीज्यूहरू, यस छनोट प्रक्रियालाई प्रत्यक्ष र अप्रत्यक्ष रूपबाट आफ्नो प्रभावमा पार्नुहुने महानुभावहरू, तपाई कतिले मलाई चिन्नुहुन्छ, कति मभन्दा सिनियर हुनुहुन्छ, कति मसँगै भलिबल खेलेको हुनुहुन्छ होला, कति मभन्दा जुनियर पनि हुनुहोला ।

म पनि यही घरको धेरै सदस्यमध्ये एक हुँ, जहाँ मैले जीवनको झन्डै दुई दशक उर्वरशील उमेर खर्च गरेँ । स्कुल, कलेज, जिल्ला, क्षेत्र हुँदै राष्ट्रिय टिममा पुगेँ । सन् १९९९ मा नेपालमा सम्पन्न आठौं साफ खेलकुद अन्तर्गत महिला भलिबलमा पहिलोपटक कास्यपदक जित्यौं, भलिबलको इतिहासमा यो पहिलो अन्तर्राष्ट्रिय पदक थियो, म त्यही टिमको क्याप्टेन हुँ ।

म सिधै विषय–वस्तुतर्फ लग्छु— मेरो चासो र गुनासो यस पटकको महिला भलिबल छनोट प्रक्रियामा हो । टिममा खेल्दै आएका कप्तान विनिता बुढाथोकी, उपकप्तान मञ्जु गुरुङ लगायत नेविका चौधरी, कोपिला उप्रेती आदि सिनियर खेलाडीहरू २५ सदस्यको प्रारम्भिक छनोटमा नै परेनन् । भट्ट हेर्दा र सुन्दा लाग्यो, यस्ता खेलाडीहरूलाई चुनौती दिनसक्ने अझै राम्रा खेलाडीहरू आएका रहेछन् । तर अफशोच, वास्तविकता अर्कै रहेछ, राम्रालाई भन्दा हाम्रालाई छानिएछ ।

अझ यी खेलाडीहरूको पीडा सामाजिक सञ्जालहरूमा र व्यक्तिगत रूपमा सुन्दा र हेर्दा म पनि बिचलित भएकी छु । के प्रक्रिया मापदण्ड र आधार थियो, जहाँ यी खेलाडीहरू अट्न सकेनन् ? आम नेपाली खेलप्रेमीको हैसियतले यसको जिम्मेवारीपूर्वक जवाफ हामी सबैले पाउनुपर्छ । यो विवादास्पद छनोट प्रक्रियाले भविष्यमा सचेत हुने संकेत देओस् या नदेओस्, तर पनि उनीहरूप्रतिको यो अपमानजनक व्यवहारबारे बोल्नु मैलेआफ्नो धर्म ठानेकी छु ।

तपार्ईंहरूलाई लाग्ला— विदेशिएको मान्छेलाई किन टाउको दुख्यो ? तर म झन्डै २ दशक खेलकुदमा बिताएकी खेलाडी हुँ । उनीहरूलाई आवश्यक पर्दा सहयोग पनि गरेकी मान्छे हुँ । यी खेलाडीहरूको पीडाले मलाई पनि दुखायो । अपमानले मलाई पनि लज्जित बनायो । म मौन रहन सकिनँ । विदेशमै रहे पनि खेलप्रेमीका प्रश्नको झटारोले मलाई पनि हानिरहेकोछ । किनकि म पनि त्यही बारीकी हुँ ।

तपाईंहरूले भन्नु भएछ— उमेर बढी भयो, नयाँ खेलाडीलाई पनि अवसर दिनुपर्‍यो, कोहीलाई ढाडको समस्या आदि–इत्यादि । यस्तो कुरा त बुँदागत रूपमा छनोट समितिको मापदण्डमा हुनुपर्‍यो नि । सुरुमै उमेरको हदबन्दी २० या २५ वर्ष ननाघेको, शारीरिक समस्या नभएको, उचाइमा यही हुनुपर्ने भनेको भए स्पष्ट हुन्थ्यो ।

आज यी खेलाडीहरू भन्छन्, यो मौखित मापदण्ड त यिनीहरूमा मात्र लागू भएछ । इतिहास पल्टाएर हेर्नुस्, भरत शाहले पुरुष भलिबल टिमको कप्तानी कति वर्षको उमेरसम्म सम्हालेका थिए ? भलै महिला र पुरुषको उमेर शारीरिक क्षमता बराबर नहोला । आठौं साफको बन्द प्रशिक्षणमा रहँदा ढाडको अपरेसन गरेकी टिना चौधरी टिमबाट निकालिएकी थिइन् र ?

म पनि भन्छु, नयाँ खेलाडीलाई अवसर दिनुपर्छ । पुराना खेलाडीलाई चुनौती दिएर मैदानमा हराएर, शारीरिक क्षमतामा जितेर भलिबलका हरेक कला, सीप र दक्षतामा सिनियर खेलाडीभन्दा अब्बल बन्ने/बनाउने वातावरण बन्नुपर्छ । तर खोइ २० वर्षसम्म अर्को विनिता बुढाथोकी जन्माउनसकेको ? १५ वर्षसम्म मञ्जु गुरुङको विकल्प खोजिएको ? भोलि महिला भलिबलले कास्यपदक जित्यो भनेर त्यति धेरै गर्व नगर्नु होला । यो त हामीहरूले आजभन्दा २० वर्ष अगाडि नै जितेका थियौं ।

आज देशमा गणतन्त्रको अभ्यास हुँदैछ । नयाँ युगको सुरुवात भएको छ । परीक्षार्थीले चाहेको खण्डमा कुन विषयमा कति नम्बर आयो भनेर हेर्न पाउने अधिकार छ, आज । यही प्रश्नको जवाफ विनिता, मञ्जु, नेविका, कोपिला लगायत खेलाडीहरूले खोजिरहेका छन् । तपाईहरू कुर्सीमा बसेको मान्छे । तपाईहरूभन्दा माथि पनि ठूला टाउकाहरू छन् । यदाकदा कुनै परिस्थिति या प्रभावले ठूलो टाउकाहरूको तालमा लय मिलाउनुपरेकाले यस्तो अवस्था आएको हो भने तपाईहरूप्रति मेरो सहानुभूति छ । तपाईको धर्म— कम्तीमा पनि सुमधुरसुरमा ताल र लय मिलाउनुहोस्, बेसुरको तालमा होइन ।

तपाईहरूले बुझ्नैपर्ने हुन्छ, आजसम्मको भलिबलको सफल यात्रा तय गर्न यी खेलाडीहरूलाई ५/१०/१५ अनि २० औं वर्षसम्म लाग्यो । हिजोसम्म यिनीहरूलाई नेपाल टिमको खेलाडी कप्तान, उपकप्तान भनी सम्बोधन गरिन्थ्यो । आज भलिबल संघले नयाँ परिचय दिएको छ, असक्षम, अयोग्य फालिएका खेलाडीहरू ।

सिनियर खेलाडीहरूले खेलकुदमा दशक बिताएका छन्, पदक दिलाएका छन् । उनीहरूका हकका संघले सम्मानपूर्वक संन्यास घोषणाको व्यवस्थापन गर्नुपर्ने होइन र ? सबैका हकमा यो व्यावहारिक नहोला । तर कम्तीमा पनि निकै सिनियर खेलाडीहरूलाई बोलाएर यसपटक छनोट प्रक्रियाको प्राथमिकतामा धेरै नयाँ खेलाडी छन्, तिमीहरूको सम्भावना नहुन सक्छ, हामी तिमीहरूबाट सम्मानजनक संन्यास घोषणा अपेक्षा गरेका छौं, त्यसपछि मात्र छनोटमा परेका खेलाडी सार्वजनिक गर्छौं भनेको भए कसको के बिग्रन्थ्यो र ? दुबैतर्फ जित्ने अवस्था हुन्थ्यो ? सम्मानजनक अवतरण भएको भए यसले समाजमा सकारात्मक सन्देश जान्थ्यो ।

जिन्दगीभर हार नखाएका यी खेलाडीले आज पनि जितेर नै संन्यास घोषणा गर्ने थिए । र जिन्दगीभर समाजमा आफ्नो शिर उँचो बनाउने थिए आठौं साफ, महिला भलिबलकी टिम क्याप्टेन थापा हाल बेलायतमा छिन् ।

प्रकाशित : श्रावण १३, २०७६ ०८:१३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×