गलत स्क्रिप्ट

श्रीकृष्ण अनिरुद्ध गौतम

करिब चार वर्षअघिको कुरा हो, त्यति बेला पनि केपी शर्मा ओली नै प्रधानमन्त्री थिए । उनले हिन्द र प्रशान्त महासागरमा नेपाली ध्वजावाहक पानीजहाज चलाउने र उत्तरको उत्तुंग हिमशृंखला छिचोल्दै आउने रेलको सपना देखेका थिए । पानीजहाज अचेल कोशीमा चल्ने स्टिमर र नारायणीमा चलाउन लागिएको पर्यटकीय क्रुजमा साँघुरिएको छ ।

उनले त्यसो भनिरहँदा अस्ट्रेलिया, चीन, जापान, अमेरिका र यस्तै–यस्तै अनेक मुलुक र नेपालबीच (चीन र भारतका बन्दरगाह प्रयोग गर्दै) मालसामान ओसारपसार गर्ने, अरबबाट खनिज तेल लिएर आउने सागरमा तैरिने अजंगका चन्द्रसूर्य ध्वजावाहक पानीजहाजको कल्पना पो गरेको थिएँ मैले त ! अरू पनि धेरैले यस्तै सोचेका थिए । त्यसैले मैले त्यसताका ओलीलाई स्वप्नदर्शी भनेको थिएँ ।

ओलीले हावाबाट बिजुली निकाल्ने, इन्धनका लागि खनिज तेल उत्खनन गर्ने र घर–घरमा ग्यासका पाइप जोडिदिने
आफ्नो योजना रहेको बताएका थिए । उनले त्यस्तो सपना देख्दै र स्वप्निल योजना बनाउँदै गर्दा नेपालको दक्षिण, पूर्व र पश्चिममा अवस्थित छिमेकी भारतले नाकाबन्दी लगाएको थियो । त्यो भारत जोसँग नेपालीहरूको अटुट सांस्कृतिक र धार्मिक सम्बन्ध छ, त्यही भारतले नेपालमाथि नाकाबन्दी लगाएर जनजीवन नै अस्तव्यस्त पारिदिएको थियो ।

बालबालिका भोकभोकै विद्यालय जानुपरेको र सहरवासीले उहिल्यै परित्याग गरेको दाउरे चुलाको पुनः आविष्कार गर्नुपरेको थियो । यातायात सकसपूर्ण भएको थियो । जीवनरक्षक औषधिको अभावका कारण कतिपय बिरामीले अकालमै मृत्युवरण गर्नुपरेको थियो । त्यस्तो अवस्थामा पनि ओलीका आँखामा सपना नाच्नु आफैमा चमत्कार थियो र त्यो चमत्कार मलाईजस्तै धेरैलाई मन परेको हो ।

त्यो नाकाबन्दी भारतीय कांग्रेसले होइन, भारतमै हिन्दु प्राधान्यको पक्षधर, नेपालप्रेमी भनेर प्रचारित भारतीय जनता पार्टीको सरकार र त्यसमाथि साउनको सोमबार जुराएर, त्रिपुण्ड्र चन्दन लगाएर आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने, नेपालको संसद्मा सम्बोधन गरेर देशैलाई मोहित पार्ने भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नै लगाएका थिए ।

भौतिक कष्ट आफ्नो ठाउँमा थियो, तर अपवादहरूलाई छोडेर सबै नेपालीको मन भारत सरकारको त्यो रवैयाका कारण ‘भारतीय’ सँग नराम्ररी भाँचिएको थियो । आज जतिसुकै परिपाठ पारे पनि त्यति बेला भाँचिएको मन जोडिन पुस्तौंपुस्ता लाग्नेछ । किनभने त्यो नाकाबन्दी प्राविधिक, राजनीतिक, कूटनीतिक कदम जेसुकै भए होस्, यथार्थमा क्रूरताको पराकाष्ठा, मानवताविरुद्धको अपराध थियो ।

त्यसै वर्ष वैशाखमा गएको भूकम्पले थिलथिलिएको देश, त्यही थिलथिलोको मौका छोप्दै फास्टट्र्याकमा ल्याइएको संविधान र संविधानमा निहुँ खोज्दै भारतद्वारा लगाइएको नाकाबन्दीका बेला ओलीका ती सपनाले धेरैलाई सान्त्वना मिलेको थियो । मिलेकै हो । हतमनोबल अर्थात् मनोबल गिरेका बेला असम्भव–सम्भव जे होस्, सपनाले राहत मिल्छ ।

तथापि कतिपयलाई ओलीका त्यस्ता भनाइ त्यति बेला पनि सिल्ली लागेका थिए । सपाट हेर्दा सिल्ली नै थिए ती कुरा, तर कथनहरूको अर्थ अवस्थाले निर्धारण गर्छ । मान्छे आखिर हो त मन नै ! भारतले यातना दिँदा अडान लिइदिएका र चीनसँग यातायात पारवहन सम्झौताको पहल गरेका कारण उनी नेपाली मनका हिरो बनेका थिए ।

राष्ट्रिय स्वाभिमान हतमनोबल भएका त्यस बखत ओली एक मात्र भरोसाका रूपमा देखिएका थिए । उडन्ते प्रतीत हुने उनका कतिपय कथनसमेत सुस्वप्नजस्ता लागेका थिए र त्यसै कारण उनको लोकप्रियता चुलिएको थियो । उनलाई मनैदेखि मन नपराउनेहरूसमेत सार्वजनिक रूपमा आलोचना गर्न हच्किन्थे । ओली आड लिन योग्य, आशा र भरोसाका केन्द्र बने धेरैका लागि । त्यसैले तत्कालीन एमालेले केन्द्रदेखि स्थानीय तहका निर्वाचनमा अग्रभाग ओगट्न पुगेको थियो र तत्कालीन माओवादी केन्द्रसँग गठबन्धन नगरेकै भए पनि एमालेको वर्चस्वलाई कसैले तोड्न सक्ने अवस्था थिएन ।

तर निर्वाचनपश्चात् सरकार सञ्चालनको करिब डेढ वर्षमा ओलीले आफ्नो पहिलो प्रधानमन्त्रित्वको यश–भञ्जन गर्न कुनै कसर छाडेका छैनन् । साथै, माओवादी केन्द्रसँग एकता गरेर बनेको नेपाल कम्युनिस्ट पार्टी आफैले आफैलाई दिनहुँ खाइरहेको छ । प्रतिदिन राज्यशक्ति दुरुपयोगका घटना सार्वजनिक भइरहेका छन् ।

आचार, विचार, व्यवहार सबै स्खलित भइरहेका छन् । यो कार्यकालका प्रधानमन्त्री ओली काण्डैकाण्डलेपछ्याइएका छन् । विवादैविवादमा मुछिएका छन् । यस्तो लाग्छ, उनी दुश्मनैदुश्मनले घेरिएका छन् । मन्त्रीहरू उनको अदबमा छैनन् । मन्त्रीहरू आफ्नो मनअनुकूल काम फत्ते गरिसक्छन्, तर प्रधानमन्त्री अनभिज्ञ रहन्छन् । सल्लाहकारहरूले भन्दैनन् । कसैले उनलाई सुनाउँदैन, देशदुनियाँको खबर ।

ओलीलाई नियमित भेट्नेहरू भनिदिँदा हुन्, ‘प्रधानमन्त्रीको सर्वत्र गुणगान भइरहेको छ । यस्तो हुनुपर्छ प्रधानमन्त्री भनेर भजन–कीर्तन भइरहेको छ ।’ अनि प्रधानमन्त्री ? आफैलाई हेर्दै आफै दंग । प्रधानमन्त्री ओली कतिसम्म अपसूचित छन् भने, उनलाई कसैले सुनायो— काठमाडौं धूवाँधूलोमुक्त भइसक्यो, मास्क लगाउने त मान्छे नै छैनन् । प्रधानमन्त्रीले त्यही भने । मान्छे हाँसे । मान्छे हाँसेको देखेर उनले ठाने, ‘अहो, मैले क्या गज्जब बोलेछु !’ जबकि मान्छे उनको अनभिज्ञताप्रति हाँसेका थिए ।

उनको नादानीप्रति चकित भएर हाँसेका थिए । चकित हुँदा पनि हाँस उठ्छ कहिलेकाहीं, किनभने प्रधानमन्त्रीले अचेल आफैमाथि व्यंग्य गरिरहेका छन् ।

यस्तो किन हुँदै छ भने, वर्तमान सरकार सञ्चालनको स्क्रिप्ट नै गलत लेखिएको छ । कम्युनिस्ट पार्टीले दुईतिहाइनजिकै बहुमत पाएको सत्य हो, तर कम्युनिस्ट शैलीले शासन गर्न बहुमत पाएको होइन । कम्युनिस्ट पार्टीको घोषणापत्र अनुसार होइन कि, शासन लोकतन्त्रसम्मत संविधानले निर्दिष्ट गरे अनुसार गर्नुपर्छ भनेर बहुमत पाएको हो । संविधानले नागरिक सर्वोच्चता प्रत्याभूत गरेको छ, पार्टी र सरकारको होइन ।

कम्युनिस्ट आदर्श अधिनायकवाद हो (सर्वहाराहरूको अधिनायकत्व, हो नि है) जनवादी केन्द्रीयता हो, तर यहाँ त्यसो गर्न पाइँदैन । अर्थात्, देशको व्यवस्था, संविधान र शासक दलको मान्यता नै परस्परमा बाझेका छन् । शासक दलको सिद्धान्तसँग व्यवस्थाको मर्म ठ्याम्मै मिल्दैन । व्यवस्थाको मर्म र शासक दलको मान्यता नै परस्परमा बाझिएपछि शासन सञ्चालनको स्क्रिप्ट सही लेखिने कुरै भएन ।

शासन कम्युनिस्ट पार्टीकै हो, तर लोकतान्त्रिक संविधान अन्तर्गत निर्वाचित । सकस यहीं छ । कम्युनिस्ट सिद्धान्त भन्छ— विरोधीहरूको मुख थुन । लोकतन्त्र भन्छ— त्यस्तो हुँदैन, नागरिक स्वतन्त्रता सर्वोपरि हो । मुख थुन्न पाइँदैन । स्वतन्त्रतामाथि कुनै किसिमको बन्देज मान्य हुनेछैन । कम्युनिस्ट मान्यता भन्छ— शासन सञ्चालनमा पार्टीको सर्वोच्चता हुन्छ । लोकतन्त्र भन्छ— होइन, शासन संसद्को निगरानीमा हुनुपर्छ र संसद्माथि नागरिकले अनुगमन गर्छ । प्रत्येक नागरिक सार्वभौम हो । कोही सानो–ठूलो छैन, विधिका आँखामा सबै समान छन् ।

कम्युनिस्ट भन्छ— समाजमा दुई वर्ग छन् । अझ नेपालका माओवादी संस्करणका कम्युनिस्ट भन्छन्— वर्ग, क्षेत्र, लिंग छन् । लोकतन्त्र भन्छ— छन्, तर यी विविधता हुन् र विविधता हुँदाहुँदै पनि जन्मले सबै मानिस समान छन् । विविधता त आफैमा उत्सव हो । राज्यले सबैसँग समान व्यवहार गर्नुपर्छ । यसर्थ लोकतन्त्र र कम्युनिस्टको पग–पगमा मतभेद छ । फेरि भनिरहनु नपर्ला, लोकतन्त्रमा शासन सञ्चालनको स्क्रिप्ट कसरी तयार गर्ने भन्ने अध्याय नै कम्युनिस्ट पाठ्यक्रममा हुँदैन । एक त स्क्रिप्ट गलत छ, त्यसमाथि दुईतिहाइको दम्भ ! अनि थामिसक्नुभयो त !

शासन सञ्चालनको स्क्रिप्ट नै गलत छ, त्यसैले वनमन्त्रीले अनधिकार दस वटा गाडी प्रयोग गरिरहेको प्रधानमन्त्रीले थाहा पाउँदैनन् । मन्त्रीहरूले इन्धनको दोहोरो सुविधा लिएको पनि प्रधानमन्त्रीले थाहा पाएका थिएनन् । परराष्ट्र मन्त्रालयमा भारतबाट आउने फलफूल र तरकारीमा रहेको विषादी परीक्षणका विषयमा भारतीय दूतावासको पत्र आएको थाहा नभएर प्रधानमन्त्रीले सार्वजनिक रूपमै लज्जित हुनुपर्‍यो ।

बालुवाटार जग्गा अपचलन प्रकरण, एनसेल कर ठगी, हुकुमप्रमांगी शैलीमा बुढीगण्डकी ठेक्का, बेवारिसे मेलम्ची, निर्मला पन्त बलात्कार र हत्या छानबिनमा शून्य प्रगतिजस्ता अकर्मण्यता र अनगिन्ती बेथितिहरू झ्यांगिँदै गएका छन् । प्रधानमन्त्री भने पार्टी एकतामा प्रगति भइरहेको सुनाएर आफ्ना क्षमता प्रदर्शन गर्न बाध्य छन् । जबकि पार्टी एकता नेकपाको आन्तरिक मामिला हो, त्यो राज्यकार्यको कार्यादेशभित्र पर्दैन ।

त्यस्तै, पूर्ववर्ती सरकारहरूकै पालामा सम्झौता गरिएका परियोजना आज पूरा हुँदा सरकार गर्व गर्छ र अजंगका समुद्री पानीजहाजका सपनाहरू स्टिमरमा पूरा भएको देख्न बाध्य भएको छ । हिमशृंखला छिचोल्दै उत्तरबाट आउने रेल कहिले आउने हो, आउला, तर पुरानै योजना अन्तर्गतको जनकपुर–जयनगर रेल पुनः सञ्चालन हुने भयो भन्ने खबर सुनाउन पाउँदा अपार हर्षको अनुभूति भइरहेको देखाउनुपर्ने अवस्था उत्पन्न भएको छ ।

ठूला सपना ससाना कोठामा किन साँघुरिए, थाहा छ ? उस बेला नाकाबन्दीका कारण राष्ट्रवाद हावी थियो, अरू मुद्दा गौण थिए । तर यस पालि प्रधानमन्त्री ओली र उनको (नयाँ) पार्टीले बनाएको शासन सञ्चालनको स्क्रिप्ट नै गलत छ ।

प्रकाशित : श्रावण १०, २०७६ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्

गुमराहमा सरकार

श्रीकृष्ण अनिरुद्ध गौतम

राज्य शासनका प्रमुख प्राधिकारी प्रधानमन्त्री केपी शर्मा ओली भन्छन्, ‘मलाई अनभिज्ञ राखियो । म भ्रममा परेंँ । गुमराहमा पारिएँ ।’ प्रसंग हो, भारतबाट आयातित तरकारी र फलफूलको विषादी परीक्षण नगर्न भारतीय दूतावासले पत्रमार्फत दिएको दबाबमूलक सूचनाको ।

उनलाई त थाहै रहेनछ, देशमा के भइरहेको छ । तर उनी बोलिरहे, ठानिरहे कि निर्णय आफू गर्दै छु । एउटा मन्त्रीलाई सचिवले ढाँटेर भारतबाट तरकारी र फलफूल ल्याउँदै गरेका ट्रक प्रवेशनाकामा रोकाइदिएछन् । तर नाकामा विषादी भए–नभएको यकिन गर्ने उपकरण नै रहेनछ, त्यसैले दयावश रोक्का खुला गरिदिएछन् । जबकि रोक्का खुलाचाहिँ नेपालस्थित भारतीय दूतावासको पत्रको प्रभावले गरेको रहेछ । दूतावासको चहलपहल प्रधानमन्त्रीले असार २३ मा बल्ल थाहा पाएछन् ।

त्यसबीच उनले जति बोले, हावाका भरमा बोलेका रहेछन् । सचिव मन्त्रीलाई ढाँट्ने र मन्त्री ढाँटिने ! गल्ती कसको ? कुनै पनि निर्णय गर्नुपूर्व आफै यकिन गर्नुपर्छ भन्ने नै मन्त्रीलाई थाहा नहुनु भनेको लथालिंगे पारा हो । मन्त्रालयहरू कति लथालिंगे पाराका छन्, यस वास्तविकतासँग प्रधानमन्त्री ओली ठ्याम्मै अनभिज्ञ रहेछन् ।

यत्तिका भइसक्दा बल्ल प्रधानमन्त्रीले, त्यो पनि सञ्चार माध्यमहरूमा पत्रको प्रतिलिपि सार्वजनिक भइसक्दा उनको नजरले त्यो पत्र पढ्ने, हेर्ने कष्ट गरेछ । यसरी प्रस्ट भयो, निर्णय उनले गरिरहेका थिएनन् । के अर्थ लाग्छ त यसको ? निर्णय अन्यत्रै हुँदो रहेछ । ओलीका भनाइबाट बुझिन्छ— उनी यन्त्रवत् परिचालित छन् । अर्थात्, उनी देखिनलाई प्रधानमन्त्री हुन्, साँच्चैचाहिँं होइनन् । अचम्म, जसलाई दुनियाँले प्रधानमन्त्री भनेर चिनिरहेको छ, ऊ कामले प्रधानमन्त्री नै होइन ! फेरि होइनन् कसरी भन्नु ? हुन् । तर हुन् पनि कसरी भन्नु, राज्यकार्यसँगै अनभिज्ञ छन् ! तब के नेपालमा प्रधानमन्त्री पद दायित्व, उत्तरदायित्व, कर्तव्य केही नभएर मानार्थ विद्यावारिधि जस्तै उपाधिमा सीमित हुन पुगेको हो ?

त्यस्तो नहुनुपर्ने । यो त गणतन्त्र हो । उहिल्यै राजा हुँदाका बेला भनिन्थ्यो, राजाले गर्न दिएनन् । हो, दिँदैन पनि थिए । दरबारले अप्ठ्यारो पारिरहन्थ्यो । दरबारिया मुख बंग्याउँदै सबै सोहोर्न खोज्थे । प्रधानमन्त्रीमाथि बाधा–अवरोध आइरहन्थे । आज राष्ट्रपति छिन् । निर्वाचित, आलंकारिक । भलै सवारी नक्कल राजाकै गर्न खोज्छिन्, तर आलंकारिक । हुन् फगत आलंकारिक । यद्यपि मुखमुद्रा बनाएर राजाकै जस्तो प्रदर्शन गर्न खोज्छिन् । जनतालाई आशिष दिने मुद्रामा हात उठाउँछिन् । तर राजा किमार्थ होइनन् । शून्य–कार्यकारी अधिकारले सज्जित छिन् ।

राज्यको सम्पूर्ण कार्यकारी अधिकार मन्त्रिपरिषद्मा निहित छ, र सम्झाइरहनु नपर्ला, संसदीय प्रथामा मन्त्रिपरिषद्का अध्यक्ष प्रधानमन्त्री नै हुन्छन् । प्रधानमन्त्री मन्त्रीहरूका पनि मन्त्री हुन् । सबै मन्त्री प्रधानमन्त्री मातहत हुन्छन् । सबै मन्त्रालय प्रधानमन्त्रीकै मन्त्रालय हुन् । यस्ता प्रधानमन्त्री एउटा दूतावास मन्त्रालय–मन्त्रालय चहार्दै हिँंडेको थाहा पाउँदैनन्, र झन् उदेकैलाग्ने त के भने, कुनै मन्त्रीले प्रधानमन्त्रीलाई सुइँकोसम्म दिँदैनन् । प्रधानमन्त्री आफूसँग सूचना लिने कुनै स्रोत नै नभए जस्तो । अनुसन्धान विभाग छ । प्रहरी र सेनाका पनि सूचना संकलन गर्ने प्रभाग छन् । तर प्रधानमन्त्री सम्पूर्ण घटनाबाट अनभिज्ञ !

ओलीले भन्छन, ‘मलाई अनभिज्ञ राखियो । लज्जित छु । किन राखियो, म अब खोजी गर्छु ।’ उनी अनभिज्ञ रहे । ‘खोइ, कहाँ आयो पत्र, कसले पढ्यो’ भन्दै हिँंडे । अब प्रश्न उठ्छ— उनलाई अनभिज्ञ राख्नेचाहिँं को ? अब उनले खोजी गर्छन् । कहाँ खोज्नु ? उनको आफ्नै अध्यक्षताको, कार्यकारित्वको राज्य संयन्त्र । राज्य संयन्त्र सञ्चालनको जिम्मेवारी कसको ? उनको आफ्नै ।

राज्यकार्यमा भइरहेका यावत् क्रियाकलाप र गतिविधिको संज्ञान कसले राख्नुपर्ने ? उनी आफैले । तर आफै अनभिज्ञ । अब खोज्ने ! यति भइसकेपछि अगाडि भन्न केही बाँकी रहँदैन । दुर्भाग्यवश यसको अर्थ हुन्छ— सरकार सिंहदरबारबाट चलिरहेको छैन । प्रधानमन्त्री कार्यकारी नभएर आलंकारिक हुन गएका छन् । उहिले पञ्चायतकालीन प्रधानमन्त्रीजस्तै थपना हुन पुगेका छन् । मरिचमान बन्न पुगेका छन् । निर्णयको काम अर्कै कोही गरिरहेको छ, उनी दुईतिहाइयुक्त मानार्थ प्रधानमन्त्री हुन् । के यही भन्नु ?

यत्तिका जिल खाएपछि अब त बुझ्नुपर्ने, देशमा काम होइन, नकाम धेरै भएको छ । घाम लाग्दा धूलो–धूवाँ, पानी पर्दा हिलाम्मे हुने काठमाडौं सधैंझैं रोइरहेकै छ । देश डोजर क्रान्तिले बेहाल छ । दुनियाँले दुईतिहाइ आयो, अब सरकारले काम गर्छ भनेर धेरै आश गरेका थिए । तर जिम्मेवार हुनु त परै जाओस्, दुईतिहाइको संख्या सुनाउँदै सत्ताधारीहरू अरिंगाल मुद्रामा प्रस्तुत भइरहेका छन् । फेरि दोष कसलाई लगाउनु ? अरिंगाल हुनू भन्ने प्रेरणा अन्त कतैबाट होइन, स्वयं ओलीबाटै पाएका हुन् । उनले त भन्नुपर्थ्यो, ‘जनताले विश्वास गरेर मत दिएका हुन्, त्यो विश्वास म तोड्दिनँ ।

अरूले पनि नतोड्नू ।’ भन्नुपर्थ्यो, ‘साथीहरू, यो लोकतन्त्र हो । सत्तामा बसेपछि आलोचना हुन्छ । जनता आलोचना गर्न स्वतन्त्र छन्, किनभने नागरिक स्वतन्त्रता लोकतन्त्रको प्राण हो । आलोचना भनेको त सरकारलाई सच्चिनु भनेर दिएको सूचना हो । आलोचकहरू मित्र हुन् र चाकडीबाज शत्रु । चाकडीबाजबाट म पनि सतर्क रहन्छु, तपाईंहरू पनि रहनू ।’

तर आएदेखि नै सिकाए उल्टो । फलस्वरूप, जनतामा सरकारबारे नकारात्मक प्रभाव पर्दै गयो । आलोचकप्रति आक्रामक, प्रतिपक्षप्रति द्वेषभाव राखेपछि आफ्ना कमी–कमजोरी आफूले देखिँदैन । शुद्ध छु, म आफै प्रबुद्ध छु भन्ने लाग्न थाल्छ ।

त्यस्तो नहोओस् भनेरै लोकतन्त्रमा स्वतन्त्र प्रेस अनिवार्य हुन्छ । प्रतिपक्ष राज्यको आवश्यक अंग हुन्छ । तर दुईतिहाइको मदमा आलोचक वैरी र प्रतिपक्ष नाथे भए । फलस्वरूप दलालहरू प्रिय भए । चाकडीबाजहरूले आफ्नो दुनो सोझ्याउन ओलीका मुखबाट जे निस्क्यो, त्यसैमा ताली बजाउँदै गए । तालीको आवाज धेरै सुनेपछि कान बहिरा हुन्छन् । सुखसयल धेरै गर्दा शरीर बेकामे हुन्छ ।

कालो सिसा चढाएर यात्रा गर्न थालेपछि आँखामा पट्टी बाँधिएसरह हुन्छ । तालीले कान थुनिएपछि, आँखामा पट्टी बाँधिएपछि र शरीर निष्क्रिय भएपछि धृतराष्ट्र भाव विकसित हुँदै जान्छ । बरु धृतराष्ट्र कान सुन्थे ! यहाँ त सत्ताधारीहरू कान पनि नसुन्ने भइसकेका छन् ।

मन्त्रीहरूले प्रधानमन्त्रीलाई गुमराह पारे । सचिवले मन्त्रीलाई ढाँटे । मन्त्रीले संसद्लाई ढाँटे । प्रधानमन्त्रीलाई थाहै नदिई दूतावासको पत्रले पूरा नेपाल परिक्रमा गर्‍यो, तब बल्ल प्रधानमन्त्रीले थाहा पाए ।

थाहा पाए प्रधानमन्त्रीले, त्यो पनि सञ्चार माध्यममा छ्यापछ्याप्ती भएपछि । अब आफै विचार गर्नु प्रधानमन्त्रीले, प्रेस यदि स्वतन्त्र हुँदैन थियो भने के हुन्थ्यो ? उनी थाङ्नामा सुतेका सुत्यै हुन्थे । मन्त्रीहरूले गुमराहमा राखिरहन्थे । प्रधानमन्त्री यथार्थ विपरीत, तथ्य विपरीत बोलिरहन्थे । हास्यपात्र बनिरहन्थे ।

प्रधानमन्त्रीसामु पत्र सम्बन्धी सत्य आज छर्लंग भएको छ र यो नागरिक स्वतन्त्रताकै प्रभाव हो । मेलम्ची प्रगतिबारे प्रधानमन्त्री गुमराहमा रहे । काठमाडौंको धूलो–धूवाँबारे गुमराहमा रहे । गुठी विधेयकबारे प्रधानमन्त्रीसँग तथ्यगत जानकारी थिएन । यस्तै यावत् अरू धेरै प्रकरणमा प्रधानमन्त्री अन्धकारमा रहे । देखाए कसले ? मन्त्रीले, चम्चा चाकडीबाजहरूले कि स्वतन्त्रचेता अभिव्यक्तिका स्रोतहरूले ?

देखाए स्वतन्त्रचेता अभिव्यक्तिका स्रोतहरूले । गल्ती देखियो । सच्चिन मौका पाइयो । प्रधानमन्त्रीले अब मनन गर्नु । गल्ती कसको ? स्वयं प्रधानमन्त्रीको । किनभने यो व्यवस्थाका कार्यकारी प्रमुख प्रधानमन्त्री नै हुन् । राज्य प्रशासन चुस्त–दुरुस्त छैन, जिम्मा कसको ? सरकारको । सरकार प्रमुख को ? प्रधानमन्त्री ।

गल्ती, भ्रम, गुमराह, अनभिज्ञता वास्तवमा दम्भको सिरानी हालेर सुतेको नतिजा हो । सार्वजनिक समारोहमा फरक सोफामा बस्ने मोहको परिणाम हो । सरकार गैरजिम्मेवार किन भयो ? यो दोष कसको ? स्वयं प्रधानमन्त्रीको ।

प्रकाशित : असार २७, २०७६ ०८:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्