कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विनाश नबनोस् विकास

सम्पादकीय

वर्षायाममा घरीघरी बाढी–पहिरो बेहोर्नु हाम्रा लागि नियमित नियति जस्तै हो । मुलुकमा प्राकृतिक विपत्‌ले निम्त्याउने दुई तिहाइभन्दा बढी क्षति यसैले गर्छ । बर्सेनि १० हजारभन्दा बढी साना–ठूला पहिरो मात्रै खस्छन् । यो वर्ष पनि बाढी–पहिरोले आफ्नो रौद्र रूप देखाउन सुरु गरिसकेको छ ।

विनाश नबनोस् विकास

एक महिनायता बाढीमा ५५ र पहिरोमा ३१ जनाले ज्यान गुमाए । पछिल्लो साता मात्रै मुलुकभर बाढीका ४२ र पहिरोका ३८ घटना भए । तिनमा बाढीमा ३३ र पहिरोमा २ जनाको निधन भयो । धनसम्पत्तिको क्षति उत्तिकै छ । अझ, ठाउँठाउँमा पहिरोले सडक बगाउँदा लाखौं प्रभावित बनेका छन् ।

सिद्धिचरण राजमार्गको उदयपुरको कटारी–११ स्थित ठाँटीभन्ज्याङमा पूरै सडक पहिरोले बगाएको छ । नयाँ ट्र्याक खोल्ने तयारी भइरहेको छ । उचाइ काटेर आधार बनाउन लागिएको छ । राजमार्ग रोकिँदा सोलु, ओखलढुंगा र खोटाङमा औषधि र खाद्यान्न अभाव हुन थालेको छ । सडक सुचारु हुन कम्तीमा साता लाग्छ ।

मेची राजमार्ग पनि पाङ्ग्रेभीरमा खसेको पहिरोका कारण सातादेखि अवरुद्ध छ । पन्छाउन समय लाग्ने भएपछि वैकल्पिक मार्ग बनाउन थालिएको छ । यात्रुहरू पहिरो भएको स्थानबाट आधा घण्टा हिँडेर अर्को गाडी चढ्न बाध्य छन् । करिब ५ सय मिटरमा फैलिएको पहिरो पन्छाउँदा माथिबाट फेरि खस्ने सम्भावना छ । वर्षा सुरु भएयता यो सडक १७ औं पटक अवरुद्ध भएको हो । यस्तै, कोसी राजमार्गको धरान–धनकुटा खण्डमा गएको पहिरो हटाउन ३ महिना लाग्ने भएको छ । ५२ किलोमिटर सडकका दर्जनौं ठाउँ क्षतिग्रस्त छ । राजमार्ग एकतर्फी सञ्चालित छ । ठाउँठाउँमा खसेका/खस्ने यस्ता पहिरोका कारण सबै पहाडी भूभागमा ढुक्कले सडक यात्रा गर्न सकिने स्थिति छैन ।

भूगर्भको कमजोर संरचना, भौगोलिक बनावट र जलवायु परिवर्तनका कारण यसै पनि नेपाल पहिरोको जोखिममा छ । दुर्बल बनावटले गर्दा हिमाली क्षेत्र, महाभारत र चुरे पर्वतमा पहिरो बगिरहन्छ । प्राकृतिक कारण त छँदै छ, हामीले पनि त्यही कमजोर जमिनमाथि जथाभावी गरेका छौं । जहाँ पायो त्यहीँ, जसरी पायो त्यसरी डोजर खनेका छौं । दिगो विकासका सूत्र अपनाएका छैनौं । अध्ययनबिनै पूर्वाधार बनाएर प्रकृतिलाई दखल पुर्‍याइरहेका छौं ।

प्रकृतिसित तालमेल नगरी विकास गर्दा उल्टो विनाश निम्त्याएका छौं । कस्तो संरचनाको जमिनमा कुन प्रविधि अपनाएर सडक निर्माण गर्दा दिगो हुन्छ, हेक्का राखेका छैनौं । पर्याप्त भौगर्भिक र वातारणीय अध्ययन नगरी बाटो बनाउँदा महँगो मूल्य चुकाउन बाध्य हुन्छौं/भएका छौं । पहाडमा सडकले पहिरो निम्त्याउने विभिन्न कारण छन् । भिरालो जमिनको आधार काटिँदा पहिरो खस्ने सम्भावना हुन्छ । सडक खन्ने क्रममा विस्फोटक पदार्थ पड्काउँदा र डोजर चलाउँदा जमिन थर्कनाले पनि पहिरोको जोखिम बढ्छ । अर्कोतिर, सडकले बस्ती डाक्छ, बस्तीले वन विनाश— नाङ्गो डाँडा पनि पहिरोलाई घर ।

स्थानीय सरकारहरू बनेपछि मुलुकको एकसूत्रीय विकास एजेन्डा जस्तै भएको छ— डाँडाडाँडामा डोजर डुलाउनु, पानीको मूल सुक्ने र पहिरो जाने गरी बाटो खोस्रनु । निश्चित छ, भोलिका दिनमा दुःखका कारण यिनै बाटो हुनेछन् । त्यसैले आजको हाम्रो ठूलो चुनौती भौगर्भिक र वातावरणीय अध्ययनबिनाका यस्ता बाटो बन्न रोक्नु हो ।

लाखौं जनताको जीवन–रेखा मानिएका सडकहरूमा यातायात सहज बनाउन उपलब्ध विकल्पहरू अपनाइनुपर्छ । पहिरो खस्न नदिन टालटुले प्रयास पर्याप्त हुँदैन । सामान्य स्थानमा पर्खालको टेवा दिएर त्यसमाथि ‘बायोइन्जिनियरिङ’ गरेर नियन्त्रणको पहल गरिनुपर्छ । पानी बग्ने निकास राम्ररी खोलिनुपर्छ । जटिल स्थानमा भने फलामे छड र कंक्रिट प्रयोग गरिनुपर्छ । पूर्वाधार संरचनाको स्तर र भूगोलको अवस्थाअनुसार आवश्यकता पहिल्याउनुपर्छ । जीवनका अप्ठ्यारा पन्छाउन विकासका बाटा खोलिनुपर्छ, भोलिका विपत्ति नडाक्न वातावरणका पाटा हेरिनुपर्छ ।

प्रकाशित : श्रावण ६, २०७६ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?