विषादीमुक्त कृषि

कृष्णप्रसाद पौडेल

रसायनमा आधारित कृषि प्रणालीले अनगिन्ती समस्या थोपरेको छ । यसले मानिस, माटो र पर्यावरणमा विष फैलाउँदैछ । मानिसमा निको नहुने स्वास्थ्य समस्या दिनदिनै बढिरहेका छन् । माटो भित्रको सूक्ष्म जीवनचक्र तहस–नहस भएको छ । विविधताको विनाश भइरहेको छ भने पर्यावरण विषाक्त बनेको छ । 

औद्योगिक विकासको जगमा टिकेको आधुनिक कृषि अहिले देखिएका माटो, पर्यावरण र मानव स्वास्थ्यका विकराल समस्याको मुख्य जग हो । अहिले खाद्य तथा कृषि क्षेत्रमा देखिएका समस्या यसैका वरिपरि छन् । यी समस्या
समाधान अहिले संसारभर सबैको चासो बनेको छ । सबैतिर विकल्पको खोजी जारी छ ।

अहिले जलवायु परिवर्तनको प्रभाव, असर र नाटकीय रूपमा देखिन थालेका यसका दुष्परिणाम केही देखिने उदाहरण मात्र हुन् । आधुनिक कृषि प्रणाली यस्तो दुष्परिणामको एक महत्त्वपूर्ण कारक हो । । यसबाट उम्कने उपाय भनेको पर्यावरणीय कृषि अर्थात सदावहार कृषि हो । यो कृषि प्रणाली मानव सभ्यताकै उत्कृष्ट अभ्यास हो र भविष्यका लागि पनि एकमात्र विकल्प हो ।

सदावहार कृषिलाई बोलीचालीमा प्रांगारिक अर्थात पर्यावरणीय कृषि भनिन्छ । यस्तो कृषि प्रणाली आधुनिक भनेर प्रचारित हरित क्रान्ति कृषिजस्तो अन्नपात र वस्तुभाउ उब्जाउने प्राविधिक विषयमात्र होइन । मानिसको प्रकृतिसँगको अन्तरसम्बन्ध र अन्तरनिर्भरताको प्रणाली हो । यस अर्थमा मानिसले खानेकुरा जोहो गर्न गरेको प्रयासले खारिएको दिगो खेतीपातीको अहिलेसम्मकै उत्कृष्ट अवधारणा हो ।

सदावहार कृषिको कृत्रिम रसायनमा आधारित व्यापारिक कृषिसँग तुलना हुनसक्दैन । हरित क्रान्ति कृषिमा आधारित व्यापारिक कृषिले कृषि उद्यमीलाई कृषि व्यापारका दलाल बनाउने चेस्टा गर्छ । स्वाभिमानी किसानलाई अपहेलना र किसानी पेसाको अपमान गर्छ ।

यो कृषिमा द्रव्य दलाल र बिचौलिया उत्पादन गर्ने निकृष्ट प्रणाली हो । व्यापारिक कृषिले किसान र गाउँलेहरूको आत्मनिर्भरता, स्वाभिमान, सहअस्तित्व र पारस्परिकसहयोगको भावनालाई भत्काउँदै जान्छ । पारस्परिक सहयोग नहुँदा किसान असुरक्षा र ऋणको भारी बोक्न विवश हुन्छ । किसानलाई यसले एक्लो, निरीह र दुःखी बनाउनुका साथै सधैं आतंकित बनाउँछ ।

किसानमुखी सदावहार कृषिले किसानलाई आत्मसम्मानसँग बाँच्न सिकाउँछ । कम बाह्य तथा आर्थिक लगानीले खेतीपाती फाइदाजनक हुन्छ । ऋण र चिन्ताबाट मुक्त किसान खेतीजस्तै सदावहार खुसी रहने वातावरण हुन्छ ।
व्यापार र नाफाका लागिमात्र गरिने हरित क्रान्ति खेती भोगवादको जग हो । यसले लोभ र लालच बढाउँछ ।

खानेकुरामा मिसावट, रसायन, विषादी यसैका परिणाम हुन् । यसले शारीरिक, मनोवैज्ञानिक र सामाजिक जीवनको रंग खुइल्याइरहेको छ । सधैं दुःखमा रम्नमात्र सिकाउँछ । सदावहार खेती प्रकृतिको पुनर्जीवन चक्रको जीवन्त अंग हो । यसले मानिस, समाज र प्रकृतिको अन्तरसम्बन्धलाई बलियो बनाउँदै मानव संस्कृतिमा सहअस्तित्वको भावना गाढा बनाउँछ ।

अहिले पैसा फलाएर पैसै खाने सपना बाँड्नेहरू विषादीयुक्त खानेकुराका कारण आफैले मलजल गरेर हुर्काएका नसर्ने दीर्घरोगबाट आक्रान्त छन् । यिनैका संगतमा परेर आफ्नै चेस्टाले केही नबिगारेका साधारण मानिससमेत यसको चपेटामा परेका छन् । अहिले सबैतिर यिनै दीर्घरोगका कारण त्रास बढेको छ ।

अस्पतालमा लाइन छ, घरपरिवार आर्थिक भार र अन्य स्वास्थ्य जटिलताबाट भयभित छ । तराई र सहरी क्षेत्रमा चिनीरोग, मुटुरोग, क्यान्सर बढने क्रम तीव्र छ । एउटै गाउँमा पचासौं बिरामी छन् । उपचारको नाममा व्यापार फस्टाएको छ । संसारभरि हतियार र खानेकुरापछि स्वास्थ्यका नाममा व्यापार मौलाएको छ ।

आधुनिक भनिएको हरित क्रान्ति कृषि खनिज तेल र रसायनमा आधारित छ । यसले माटोलाई निर्जीव वस्तुको रूपमा व्यवहार गर्छ । प्रकृतिको जीवन्त चक्रलाई खण्डित बनाउँछ । रासायनिक खेती गर्ने मानिसले माटोलाई निर्जीव उत्पादनको साधनको रूपमा मात्र लिन्छ ।

सदावहार कृषि प्रणाली प्राकृतिक पोषण चक्रमा आधारित हुन्छ । यसले माटोलाई जीवित बनाउँछ । यही जिउँदो माटोको सहायताले समस्त प्रकृतिलाई जगाउँछ । सदावहार खेती गर्ने किसानले यसको जीवन्त प्रक्रियालाई आत्मसात गर्छ ।

रसायनमा आधारित कृषिले हावा, पानी र माटोलाई प्रदूषित गर्छ । यस्तो खेती प्रणालीमा रसायनको घुलनशीलता बढाउन धेरै पानी चाहिन्छ, जसले गर्दा पानीका स्रोत खासगरी जमिनमुनिको पानी घट्दैछ । सदावहार खेतीले हावा, पानी र माटोलाई स्वच्छ बनाउँछ । यस्तो खेती प्रणालीमा पानी कमै खपत हुन्छ । यसमा पानी जमिनमुनि जम्मा भएर बस्छ र चाहिने मात्रामा नदी, तालतलैया हुँदै किसानका खेतबारीमा पुग्छ ।

यो प्राकृतिक पानी चक्र हजारौं वर्षदेखि मानिसले खेतीपाती गर्न उपयोग गर्दै आएका हुन् । यसलाई बिगारेर हामी आफ्नै भविष्यमा खेलवाड गरिरहेका छौं ।

आधुनिक कृषि एकल बाली तथा वस्तुभाउमा आधारित छ । यसमा खुद उत्पादन कम हुन्छ भने किसानको लागत र जोखिम दुबै बढी हुन्छ । रसायन र विषादीको अत्यधिक प्रयोगले यसबाट आउने खानेकुरा विषाक्त हुन्छन् । सदावहार खेती बहुबाली र मिश्रित हुनुका साथै बाली र वस्तुभाउको एकीकृत प्रणालीमा आधारित हुन्छ ।

यसबाट आउने खानेकुरा पोषिलो र गुणकारी हुन्छ । आयातित आधुनिक भनिने कृषि प्रणाली ४ दशकमै विषाक्त भएको छ । यसले खाद्य प्रणालीलाई नै जोखिममा पारेको छ । हजारौं वर्षदेखि निरन्तर उत्पादनशील रहेको सदावहार खेती दीर्घजीवी र भविष्यमुखी छ । यस्तो हुनुमा सदावहार खेती परम्परागत ज्ञानमा आधारित छ ।

हरित क्रान्ति कृषि प्रसार केन्द्रीकृत ढाँचामा आधारित छ । यो व्यापारी र औद्योगिक समूहलाई केन्द्रमा राखेर नाफाका लागिमात्र कृषि प्रबर्द्धन गर्न उद्यत हुन्छ । तर सदावहार खेतीमा किसानले प्रकृतिको व्यवहार, आफ्नै परीक्षण र साथी किसानका अनुभवबाट सिक्ने हुँदा विविधता र स्थानीय विशेषताको आधारमा सञ्चालित हुन्छ ।

पर्यावरणीय कृषिका सिद्धान्तको अभ्यासले मात्र हाम्रो माटो, पर्यावरण र स्वास्थ्य बचाउन सकिन्छ । यो हाम्रो भविष्य सुरक्षित गर्ने सबैभन्दा सरल तरिका हो । यसका लागि विविधता, बहुलता, एकीकृत र मिश्रित खेती प्रणालीमा जोड दिँदै कृषि उत्पादनका लागि स्थानीय विशेषताका आधारमा स्थानीय स्रोत परिचालनको सोच बनाउनुपर्छ ।

हिजोआज हाम्रा कलिला नानीबाबु किन रुखमा केरा फलाएको भनेर हामीलाई नै सोध्दैछन् । भाटभटेनीबाट प्लाष्टिकमा दूध आउँछ भन्ने कुरा तिनका भाइबहिनीहरूलाई सिकाउँदैछन् । हामीसँग यसको जवाफ के छ ? शिक्षामा प्रकृति, खेतीपाती र खानाको कुरा गर्न सकिएन भने भविष्यका सन्ततिले हाम्रो संस्कृति र सभ्यताको जहाज कसरी चलाउलान् ? समय छँदै सोच्नु जरुरी छ ।

अब किसानका अनुभवबाट सिकेर सदावहार कृषि प्रणाली अपनाउने ठोस कार्ययोजना सहित कार्यान्वयनको खाँचो छ । तर यो कुराको दायित्वबोध गर्नुपर्ने सरकार र कृषिका सरोकारवाला कृत्रिम कुरा गरेर बुझपचाउनमै व्यस्त छन् ।

सर अल्बर्ट हवार्डले ८० वर्ष (सन् १९४०) अघि नै भनेझै कृत्रिम मल (रसायन) को प्रयोगले स्वतः कृत्रिम पोषण, कृत्रिम खाना, कृत्रिम वस्तुभाउ र अन्ततः कृत्रिम मानव (महिला र पुरुष) बन्ने प्रक्रिया भइरहेको छ । यिनै कृत्रिम मानिस कृषिलाई आधुनिक बनाउने भन्दै कृत्रिम रसायन, विषादी हर्मोन र नसड्ने प्लाष्टिकको प्रयोग गरी खानासमेत अयोग्य बनाउन तल्लिन छन् ।

१० हजार वर्षको दिगो कृषिको यात्रामा केही समयदेखि बिराएको बाटो फेर्ने आँट गर्नसके धेरै कुरा सल्टिन्छ । ढिलो गरे अझ धेरै कुरा सल्टाउनै नसक्नेगरी बिग्रन्छ भन्ने सोच्नु जरुरी छ ।

प्रकाशित : श्रावण २, २०७६ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्

भान्सामा विषको सरकारी अनुमोदन

कृष्णप्रसाद पौडेल

काठमाडौँ — विश्वभर मुटुरोग, मिर्गौला समस्या, रक्तचाप र क्यान्सरले महामारीकै रूप लिनुको मुख्य कारण हुन्— खानेकुरामा कृत्रिम रसायन र विष । खाना स्वस्थ नभएकैले मानव स्वास्थ्य जटिल बन्दै गएको हो । स्वच्छ खेतीपातीबाट स्वस्थ खाना अहिलको आम सवाल हो । खानेकुरामा बढेको विषादी र यसले मानव स्वास्थ्यमा पारेको असरबारे सर्वत्र प्रश्न उठ्न थालेको छ । तैपनि सर्वसाधारणहरू विषाक्त खाना खान विवश छन् । 

रसायन र विषादीमा आधारित खेतीपाती खानेकुरा व्यापार गर्ने र नाफा कमाउने दलाल खेतीतर्फ उन्मुख छ । मानव स्वास्थ्यमा यसको चासो छैन । यस्तो खेती–सोचले कृषि क्षेत्र संकटग्रस्त बन्न पुगेको छ । विषादीको प्रभावले नसर्ने दीर्घरोग बढाएको छ, माटोको उत्पादक क्षमता घटाएको छ र जलवायुमा परिवर्तन प्रभाव पारेको छ ।

यस्ता संकटले आम मानिसको शारीरिक, मानसिक र सामाजिक स्वास्थ्य तहस–नहस पारेको छ । विषादीको प्रत्यक्ष प्रभावका कारण किसानहरू जोखिममा परेका छन् । जलवायुको असर तीव्र गतिमा देखिँदैछ । समयमै जलवायु अनुकूलनको खेती, खाद्य प्रणाली र जीवन पद्धति अपनाउन नसके स्थिति भयावह हुँदैछ । सरकार र सरोकारवाला भने सुतुरमुर्गले झैं टाउको लुकाएर यी कुरा थाहै नभए जस्तो स्वाङ पारिरहेका छन् ।

यस्तो संकट सामना गर्न संसारभर अनिज ऊर्जा, रसायन र विषादी निरुत्साहित गरिँंदैछ । निषेध गर्ने बहस र प्रयत्न भैरहका छन् । नेपालमा भने सरकारले नै खानामा विषादीलाई अनुमोदन गरेको छ । केही दिनदेखि रोकिएको भारतीय फलफूल र तरकारी विषादी परीक्षणविनै ल्याउन पाउने सरकारी निर्णय यसको पछिल्लो प्रमाण हो । यसरी बहादुरीका साथ पछि हट्ने निर्णय ‘चानेचुने’ छैन, मन्त्रिपरिषद् बैठकले नै गरेको हो । धन्न, निर्णय सार्वजनिक गर्न कुनै समारोह गरिएन !

आयातित तरकारी र फलफूल विषादी परीक्षणविनै उपभोक्ताको भान्सामा पुगिरहेकै थियो । यस घटनाले थप दुई पक्षको परीक्षण भयो । पहिलो, भारतीय सरकारका अगाडि यो सरकारको राष्ट्रवादी हैसियत थाहा भयो । दोस्रो, थप केही मानिसले पनि सरकारले नै विष खान बाध्य बनाउँदो रहेछ भन्ने जाने । नेपालको कूटनीतिक हैसियत र भारतीय दूतावास र भारतीय निर्यातकर्ता व्यापारीको हैकम उजागर भयो । भारतीय विभिन्न टोली कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय, अर्थ मन्त्रालय तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमै पुगेर यो व्यवस्था स्थगित गर्न दबाब दिएबाट पनि यसको पुष्टि हुन्छ ।

विषादी परीक्षणविनै तरकारी र फलफूल खानाले लाखौं नेपालीको स्वास्थ्यमा गम्भीर असर परिरहेको छ । यो जान्दाजान्दै सरकारले आफ्ना नागरिकको स्वास्थ्यभन्दा भारतको दबाबलाई महत्त्व दिएर विषादी परीक्षण रोक्नु लज्जास्पद छ । आफ्नो स्वास्थ्यप्रति सजक हाम्रा नेताहरूले विषादी परीक्षणबिनै फलफूल र तरकारी निर्वाध ल्याउन छुट दिनु नैतिक स्खलन हो । नागरिकको स्वास्थ्यप्रति यस्तो खेलवाड जघन्य सामाजिक अपराध हो । यसको लज्जाबोध नहुनु भनेको सामन्ती अहंकार हो ।

सरकारले मानव स्वास्थ्यलाई हानि पुर्‍याउने क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ ‘इनर्जी ड्रिंक्स’ र ‘फ्लेवर सिन्थेटिक ड्रिंक्स र जुस’ आयातमा लगाइएको प्रतिबन्ध पनि फुकुवा गर्ने निर्णय पनि गरेको छ । सरकारले भनेजस्तै विषादी जाँच्ने प्रविधि र प्रयोगशाला नभएर केही समयका लागि आयात खुला गरिएको हो भने ती पेय पदार्थलाई केका आधारमा छुट दिइएको हो ?

भारतीय पक्षको कुतर्क छ— नेपालबाट जाने तरकारी र फलफूलमा भारतले नियमित जाँच गर्दैन भने नेपालले किन गर्ने ? नेपालबाट लैजाने कृषि उपजको विषादी जाँच्ने/नजाँच्ने उनीहरूको निर्णय हो । तिमीले मात्रै किन जाँच्ने भन्ने प्रश्न गर्ने अधिकार भारतीय दूतावास र व्यापारीलाई छैन । केही महिनाअघि खाडी र युरोपेली देशले पनि भारतका ९६ जिल्लाका ३२ फलफूल र तरकारीमा अत्यधिक विषादीका कारण प्रतिबन्ध लगाएका थिए । त्यतिबेला यस्तै पत्र लेखेर वा दबाब दिएर ती सामान आयात गर्न भारतले बाध्य पारेको थियो त ? अहिले सयौं ट्रकमा आएका फलफूल र तरकारी त्यस्तै विषाक्त छैनन् भन्ने आधार के छ ? कि नेपालीले भारतीय दबाबमा विष सेवन गर्नैपर्ने हो ?

यस प्रकरणले थप केही प्रश्न उब्जाएको छ । हाम्रै खेतबारीमा प्रयोग भएको विषादी घटाउन प्रयत्न गर्नुपर्नेमा भारतीय विषाक्त तरकारी र फलफूल भित्र्याउने छुट दिइएको छ । सिधा अर्थ हो— हामीले खाइपाइ आएको विषमा कुनै कमी हुने छैन । हामीले बिना रोकटोक विषादी सेवन गरिरहनुपर्छ । मुलुकमा कृषि कर्म प्रबर्द्धन गर्ने सोचबिना अहिलेकै अवस्थामा आम्दानी, रोजगारी र स्थानीय समुदायको भोक र रोगको समाधान सम्भव छैन ।

उर्वर माटो, विविधतायुक्त पहाडी भूगोल र हावापानी, पर्याप्त किसानी जनशक्ति र खेतीपातीको अतुलनीय अनुभव भएको यो मुलुकले छिमेकीसँग किनेर खानुपर्ने बाध्यता नै लाजमर्दो छ । यस्तो परिस्थिति बन्नुको कमजोरी स्वीकारेर यसलाई सच्याउने पहल गर्नुको साटो उल्टै तयारी नपुग्नाले विष जाँच्न सकिएन भनेर टार्नु गैरजिम्मेवारीको हद हो । सत्ताको अहंकारले विवेक र बौद्धिकता दुबै गुमाउन पुगेको योभन्दा निकृष्ट उदाहरण के होला ।

नत्र अहिले भन्सारमा रोकिएका ट्रकमा रहेका फलफूल र तरकारीको क्षतिपूर्ति दिएरै भए पनि जाँच नभएसम्म थप ल्याउन नदिने व्यवस्था गर्न सकिन्थ्यो । बजारमा फलफूल र तरकारी हाहाकार भएर उपभोक्ता सडकमा आउँछन् र सरकार ढल्छ भनेर हो कि ? तर आफ्ना भान्सामा विष आएन भनेर कोही सडकमा निस्कँदैनन् । धमिलो पानीमा माछा मार्न कोही निस्के भने भ्यागुतोमात्र हात पार्थे । बरु यसले नेपाली किसानलाई उत्पादन बढाउन उत्साहित नै बनाउने थियो । सरकारको जयजयकार हुने थियो । यस्तो सत्कर्म गर्ने खोइ आँट ?

नेपालमै फलाएको होस् या बाहिरबाट भित्रिएको, विष सेवनलाई यसरी नै अनुमोदन गर्दै जाने हो भने नसर्ने दीर्घरोगका बिरामी बोक्न र तिनको उपचार गर्ने खर्चको जोहो गर्न रेल र पानीजहाज चलाउनैपर्ने हुन्छ । यस्तो भयो भने भारतको अमृतसर र राजस्थानबीच चल्ने क्यान्सर रेलजस्तै काठमाडौं–दिल्ली वा बेइजिङ ‘अन्तरदेशीय क्यान्सर रेल’ गुड्नेछ । पानीजहाजले खाडी र अन्य मुलुकमा श्रमिक लैजाने अनि खानेकुरा र बन्दोबस्ती सामान ल्याउने काम गर्नेछन् ।

विदेशमा हुने आफन्तका काम विषका कारण बिरामी भएका आफन्तको खर्च बेहोर्न रातोदिन रगत–पसिना बगाउनु हुनेछ । यस्तो नहोस् भनेर भाषण या प्रार्थनामात्र गरेर पुग्दैन । उत्तम उपाय खानामा विष नमिसाउनु हो । स्वच्छ खेतीपातीबाट आउने स्वस्थ खानेकुरा मात्र प्रयोग गर्ने हो । रसायन र विषादीरहित कृषि प्रणाली अपनाउने हो । यसका लागि खानेकुरामा आत्मनिर्भर र तुलनात्मक कृषि उपज प्रबर्द्धनको कुनै विकल्प छैन । खानामा विष अनुमोदन गर्ने सरकारलाई कति थाहा छ कुन्नी ?
लेखक खाद्य तथा दिगो कृषिका अभियानकर्ता हुन् ।

प्रकाशित : असार २३, २०७६ ०९:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्