नीर नृत्यको लीला

शब्द साक्षी
सीके लाल

काठमाडौँ — सामान्यतया उत्ताउलोपना पानीको नैसर्गिक चरित्र होइन । छहराहरू पहराबाट झर्छन् र आफ्नो बाटो खोज्छन् । खोलानाला कलकल गर्दै, ढुंगा पन्छाउँदै एवं माटो बगाउँदै आफ्नै सुरतालमा बग्छ । मैदानी माटोलाई काट्दै समथरका नदीहरूले नागबेली धार समात्छन् ।

समुद्रको विशालताले त्यसका सबै उद्विग्नतालाई छोपेको हुन्छ । तर जब मौसम भनिने प्रकृतिको चक्र मनसुन भएर भित्रिन्छ, वायुको तालमा बादल नाच्न थाल्छन् । सिर्जना एवं ताण्डव नीरको मनसुनी नृत्यका सम्मिलित असरहरू हुन् । जब पानी छमछमाउन थाल्छ, माटो त्यसको असरबाट मुक्त रहन सक्दैन ।

नेपालको माटो नै कुनको अविचल हो र ! लगभग पाँच करोड वर्षमात्र अघि भारतीय प्लेट र युरेसियन प्लेटको टक्करबाट सुरु भएको हिमालको अग्लिने क्रम अद्यापि जारी छ । तिनको हिउँ गर्मीमा पग्लिएर हिमनदीको बहावलाई बढाउँछ । महाभारत शृंखला माटोको पातलो उपरी परत भएको नरम एवं निर्माणाधीन चट्टानको थुप्रो हो ।

त्यसले न झरी थेग्न सक्छ, नत पानी सोसेर भुइँमुनि पुर्‍याउने सामथ्र्य राख्छ । फलत: आफ्नै लयमा पग्लिएर बग्नु र अड्न सक्ने कोण मिलेपछि रोकिनु तल्लो हिमाल भनिने महाभारत शृंखलाको अन्तरनिहित चरित्र हो । थेग्रानबाट निर्मित उपहिमाल भनिने चुरे एवं त्यस तलको भावरको भूमि झनै अस्थिर छ । जंगलले थामेर नराख्ने हो भने चुरेले मनसुनको खेललाई रोक्न सक्दैन । हजारौं वर्षको बाढीले बनाएको गंगा एवं त्यसका सहायक नदीहरूको मैदान त पानीकै सिर्जना हुन् । जल नै मैदानको जीवन र मृत्यु दुवै हो ।

हिमालका बासिन्दाले जमेको पानीसँग जिउने कला विकसित गरेका छन् । महाभारत शृंखलामा बस्नेहरूले पहिरोसँंग बाँच्ने विधि सिक्न छाडेका छैनन् । चुरे र भावर क्षेत्र स्थायी बस्तीका लागि उपयुक्त नहुने भएकाले त्यो आधा शताब्दी अघिसम्म पनि घुमन्ते जनजातिको आश्रय स्थलमा सीमित थियो । बाढीले विस्थापित गरिरहे पनि उत्पादकत्वका दृष्टिकोणले आकर्षक एवं चरन क्षेत्रको सहज उपलब्धताले गर्दा मैदानी इलाका मानव सभ्यताको महत्त्वपूर्ण स्थल रहँदै आएको हो । पहाडतिर भुइँचालोले बनाएका तालहरूको किनारका उपत्यका एवं पहराबाट झरेका पहिरोले सिर्जना गरेका नदी छेउछाउका घाँटी मूलत: खेतीपातीका लागि उपयोग हुने गथ्र्यो । औलतिर बस्ती सर्न थालेको खासै धेरै भएको छैन ।

नियमित आकस्मिकता
यस पटक मनसुन ढिलो भएकाले अपेक्षाकृत लामो सुक्खा मौसमपछि नेपालमा पानी पर्न सुरु भएको हो । जलवायु विज्ञानका जानकारहरूको प्रक्षेपण अनुसार मनसुनी वर्षा औसतभन्दा कम रहने सम्भावना छ । निर्वाहका लागि आकाशे पानीमा निर्भर कृषकका लागि अनावृष्टि संकट हुने गथ्र्यो । अतिवृष्टिको क्षति कृषि अर्थतन्त्रमा अपेक्षाकृत कम हुने गथ्र्यो । त्यसैले वर्षेनिजस्तो आउने बाढी जीवनशैलीको अंग थियो ।

बाढीले बगाएर ल्याउने मलिलो माटोले प्राकृतिक उर्वरकको काम गथ्र्यो । माथितिर उक्लने ठूला नदीका माछाहरूले गर्दा पोखरी एवं तालतलैया समृद्ध हुन्थे । त्यही वैभवको चरित्र दर्शाउने गाथा ‘पग–पग पोखरी, माछ, मखानस सरस बोल मुस्की मुख पान । विद्या, वैभव, शान्ति प्रतीकस सरस क्षेत्र ई मिथिला थिक ।’ आफ्नो जनकपुर भ्रमणकोक्रममा दोहोर्‍याउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलेवाहवाही पाएका थिए । सालभरलाई पुग्नेगरी पोखरीमा रहेको माछाको भण्डारको नवीकरण बाढीले गथ्र्यो ।

मखान सिमसारमा फस्टाउँछ एवं डुबान भएन भने डोंरा (वर्षातको पानी जम्ने प्राकृतिक खाडल) एवं डबरा (बगेको पानी जम्मा हुने बस्ती नजिकको जलमयभूमि) भर्न पाउँदैनन् । पान खेतीलाई चाहिने आद्रता पानी मिसिएको सिमसार छेउछाउ नै उपलबध हुन्छ । त्यो स्थिति अब रहेन ।

खेतीपातीभन्दा वैदेशिक रोजगारलेधानेको नेपालको विप्रेषण अर्थव्यवस्था उपभोगमा आधारित बन्न पुगेको छ । आयातित वस्तुको वितरणमा व्यवधान उत्पन्नगराउने बाढीले अब कसैलाई पनि फाइदा छैन । सडक रोकिन्छन् । पुल भत्किन्छ । बस्तीहरू डुब्छन् । त्यसको सम्मिलित असरले व्यापार घटाउँछ ।

अतिवृष्टिले निम्त्याएको जलजमाव (वाटर लोगिङ), आप्लावन (इनन्डेसन) एवं बाढी (फ्लड्स) द्वारा डुबानमा पर्ने नियति नेपाल भूखण्डका लागि नयाँ होइन । लाखौंलाख जनसंख्या भएको सहर, सैकडौं व्यक्ति बस्ने अट्टालिका एवं थोपै पानी सोस्न नसक्ने सडक भने नेपालीका लागि नयाँ हो । स्थानिक प्रकृति एवं त्यहाँका व्यक्तिहरूबीच तालमेल स्थापित हुन पुस्तौं लाग्छ ।

उपत्यकाका रैथानेलाई उचित भूउपयोगको महत्त्व थाहा थियो । ती डिलमा घर बनाउँथे र डोलतिर खेती गर्थे । मधेसका बस्तीहरू डिह (दुईथरी बहावबीच प्राकृतिक रूपमा जमेको ढिस्को) तिर हुन्थे भने पानीको वेगलाई मत्थर पार्न चारैतिर पोखरी खनिन्थे । पहाडका घर र बारी अडिलो चट्टानको ओतमा विकसित हुन्थ्यो ।

त्यस्ता सबै पुराना मान्यताहरू भत्किँदै छन् । नयाँ कस्तो स्थापित हुने हो, अझै अन्योल छ । कमजोर निकास व्यवस्थापनले गर्दा हरेक सालजस्तो जनकपुर र वीरगन्ज बाढीले गर्दा नभई परेको पानीको जलजमावमा डुब्ने गर्छ ।

पहाडमा पनि ट्रक पुर्‍याइएन भने उपभोग आधारित अर्थतन्त्रका लागि अत्यावश्यक बजारको विस्तार हुँदैन । त्यो काम हतारमा गर्न डोजरले खनेर सडक नबनाई हुँदैन । डोजर मात्र होइन, भारी वजन बोकेर स्याँस्याँ र फ्याँफ्याँ गर्दै डाँडा उक्लिने ट्रकहरूको चापले समेत नरम प्रकृतिका पत्रे चट्टान एवं माथिल्लो परतको मलिलो माटो हल्लाउँछ ।

तिनलाई वर्षाले बगाएर खोलामा पुर्‍याउँछ । क्षमताभन्दा बढी थेग्रानको बोझ थुप्रिँदै गएपछि पहाडी खोला आत्तिन्छन् । तिनले ताताथैया गर्न छाडेर ताण्डव गर्न थाल्छन् । पूर्व–पश्चिम राजमार्ग निर्माणले बस्ती विकासका लागि सबभन्दा अनुपयुक्त मानिने चुरे र भावर क्षेत्रमा सबभन्दा बढी सहरीकरण गराएको छ । भर्खर पहाडतिरबाट आत्तिँदै निस्केका नदीहरूले चारकोशे झाडीमा तलभार (बेड लोड) थन्काउने गर्थे । त्यस्तो विकल्प सीमित हुँदै गएका छन् । अनि नदीको पिँंध अग्लिन्छ । सानै झरीले पनि पानी फैलिन्छ । तलको मैदानमा फेरि कटान सुरु हुन्छ ।

बाढी व्यवस्थापनका कतिपय उपायले समस्या बल्झाउने काममात्र गर्छन् । हिमाली क्षेत्रबाट निस्कने नदीलाई नियन्त्रण गर्ने काम ढिलोछिटो आत्मघाती ठहरिन्छ । तिनको वेगलाई छेक्न अर्को कृत्रिम हिमाल ठड्याउनुपर्ने हुन्छ । त्यो व्यावहारिक उपाय होइन । बहाव निर्देशित गर्न बनाइने तटबन्धले पानीमात्र छेक्दैन, तलभारलाई पनि रोक्छ ।

तटबन्धले छेउछाउका बासिन्दालाई तात्कालिक सन्तुष्टि प्रदान गर्छ भने ठेक्कापट्टामा आधारित चाकर पुँजीवादलाई जीवन्त बनाइराख्छ । नभए तल्लो तटीय ब्यारेजजस्ता संरचनाले सिर्जना गर्ने जलजमावले खोलाको पिँंध अग्लिँदै गएर केही समयभित्र तटबन्धलाई निष्प्रभावी तुल्याइदिन्छ भन्ने स्वत: स्पष्ट छ ।

पारम्परिक दुखेसो
विप्रेषण अर्थतन्त्रले निम्त्याएको व्यक्ति एवं प्रकृति बीचको सम्बन्धलाई जलवायु परिवर्तनको भाष्यवाट मात्र अथ्र्याएर पुग्दैन । औसत तापक्रम वृद्धिले जल बहावलाई प्रभावित गरेको पक्का हो । मनसुनी वर्षा अनियमित पनि भएको छ ।

पानी पर्ने अवधि छोट्टिने तर वृष्टिको तीव्रता भने बढ्ने प्रवृत्ति पनि ध्यान दिन योग्य मुद्दा बन्न गएको छ । तर धरातलीय उष्णता घटाउने एवं जलवायु परिवर्तन सुस्त गर्ने दिशामा नेपालले केही करोड थप रूख रोप्ने वा अलिअलि वैकल्पिक ऊर्जाको स्रोत खोज्ने बाहेक खासै धेरै गर्न सक्ने ठाउँ छैन । सदाझैं सिक्ने भनेको स्वनियन्त्रण बाहिरको परिस्थितिसंँग बाँच्न सक्नु मात्रै हो ।

आकाश–पाताल जोडेर ठूलठूला कुरा गर्न अभ्यस्त सार्वजनिक वृत्त भने एकअर्कालाई दोषारोपण गर्नमै रमाउने रहेछ । अरूको वेदनामा आनन्द लिने मानवीय प्रवृत्तिका लागि जर्मन भाषामा एउटा शब्द छ– ‘शाडनफ्रोयडा’ । त्यसलाई उल्था गर्दा ‘परपीडा प्रमोद’ भन्न मिल्छ होला । परपीडामा रमाउन परपीडक नै नभएर तमासे भए पनि पुग्छ । त्यस्तो प्रवृत्ति कुण्ठाग्रस्त समाजमा अलि बढी नै देखिने रहेछ ।

शनिबार बिहान औचक बाढीबाट काठमाडौं उपत्यकाको सहरी क्षेत्रभित्र सबभन्दा बढी प्रभावित कुलेश्वरको ओरिएन्टल कलोनीको मूलढोका बाहिर रमितेहरूको ठूलो भिड देखिन्थ्यो । बल्खु खोलाले किनारा नाघेर कलोनीको पर्खाल भत्काउँदै भित्र पसेकाले पानी तर्किसकेको भए पनि प्रांगणभित्र झन्डै एक फिट गहिरो लेदो बाँकी थियो ।

विद्युत प्रवाह बन्द रहेकाले पाँच तल्लामाथि पानी पुर्‍याउने कुनै बाटो थिएन । आधुनिक जीवनशैलीमा खानेपानी जार वा बोतलमा किनेर काम चलाए पनि चर्पी ‘फ्लस’ गर्न धाराबाट पानी झर्नैपर्ने हुन्छ । स्वाभाविक हो, कलोनीका बासिन्दा चिन्तित मुद्रामा किंकर्तव्यविमुढ देखिन्थे । तमासेहरूलाई भने ज्ञान बाँड्न हतार भइरहेको थियो ।

खोला अतिक्रमण भएपछि यो त हुनु नै थियो भन्ने पुरानियाँहरू भन्दै थिए । सकेका बेला सार्वजनिक जग्गा बकस थापेर महल ठड्याएकाहरूले ‘खोला बस्ती पसेको नभई बस्ती खोला पसेको’ आकर्षक विश्लेषण सुनाइरहेका थिए । आलो घाउमा नुनचुक दल्ने त्यस्तो विद्वताले आगामी दिनका चुनौती सामना गर्न सकिने छैन ।

विप्रेषण अर्थतन्त्रका उपभोक्ताहरूले सहरी क्षेत्रमा सस्तो घरजग्गा जोड्छन् । तिनलाई खोला छेउको जोखिम थाहा नभएको होइन । विकल्प नभएर त्यस्तो बास रोजेका हुन् । सर्वोच्च अदालतले आदेश दिँदैमा पुरानो बहाव क्षेत्र पुन:स्थापित हुनेवाला छैन । टापटिपे एवं टपरटुइयाँहरू (टाट) नारा उचालेर गौरको नियमित डुबान समस्या समाधान गर्न सकिँदैन । टाट राष्ट्रवादले उत्तेजना मात्र बढाउँछ, चाहिएको संयमित एवं सिर्जनशील सोच हो ।

नयाँ किसिमका संरचनाबारे इन्जिनियरहरूले विमर्श गर्नुपर्ने आवश्यकता छ । कतिपय बस्ती नै बढी उपयुक्त ठाउँमा स्थानान्तरण गर्नुपर्ने विकल्प सोच्नुपर्ने हुनसक्छ । पाठ्य–पुस्तक कण्ठ पारेर विज्ञ भएकाहरूले स्वीट्जरल्यान्ड वा जापानको प्रारूप अनुसार नेपाली भूपरिस्थितिको व्यवस्थापन गर्न सक्दैनन् ।

जलविद्युत्मा गरिने लगानीको केही अंश नदीको चरित्र बुझ्ने अनुसन्धानतिर पनि मोड्न सकिएन भने केही दशकभित्र नेपालको अर्थतन्त्र चरन क्षेत्र गुमाएका सेता हात्तीहरूको बोझले थिचिन सक्छ । उपयोगी निर्माण त नक्कल गरेर पनि गर्न सकिन्छ, उपयुक्त अनुसन्धान भने आफै गर्न सिक्नुपर्छ।

प्रकाशित : श्रावण १, २०७६ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्

स्वैरकल्पनाको शोकगीत

सीके लाल

काठमाडौँ — जनकपुर । प्रस्थान स्थल नफर्किनेगरी गरिएको यात्रा विस्थापन हुनसक्छ । पलायन कहलिन सक्छ । त्यो दुइटै नभए स्वनिर्वासनको लक्ष्य पनि फर्किनु नै रहेको हुन्छ । सायद त्यसैले दार्शनिकहरूले फर्किनुलाई यात्राको मूल उद्देश्य ठहर्‍याएका छन् ।

गतसाता जनमत पार्टीका प्रणेता जनकपुर विमानस्थल हुँदै घर फर्कंदै थिए । उनको स्वागतनिम्ति विमानस्थलको अति विशिष्ट कक्षबाहिर भेला भएका दर्जनौं युवा समर्थकको उत्साह यथावतजस्तो देखिए पनि तिनका अनुहारमा पराजयको भाव स्पष्ट पढ्न सकिन्थ्यो । झन्डै एक दशकसम्म ‘मधेस स्वराज’ नाराका पछाडि बेतोडले कुदेका राउत आजभोलि ‘विकास वार्ता’ अगाडि बढाउँदै देश/विदेश भ्रमण गरिरहेका छन् ।

बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयमा राउतले ‘तराईको आकांक्षा’ विषयमा भाषण दिए । लन्डन विश्वविद्यालयमा उनको प्रस्तुतिको प्रसंग ‘नेपालको दौडमा पछाडि परेका वञ्चितहरू’ विषयक थियो । भियना विश्वविद्यालयमा उनले ‘कसको विकास’ प्रश्नमा नेपालको असमानताबारे चर्चा गरे । युरोपबाट फर्कने क्रममा नयाँदिल्लीमा खुला छलफलमा सहभागी भए । काठमाडौंमा सरकारी अस्पतालमा उपचार गराइरहेका प्रतिनिधिसभा सदस्य रेशम चौधरीसँग तस्बिर खिचाए । केही दिन आफन्तहरूसँग बिताएर उनी संयुक्त राज्य अमेरिका भ्रमणनिम्ति प्रस्थान गर्नेछन् । उनका सबै प्रस्तुति एवं अन्तरक्रियाको उल्लेख्य पक्ष के हो भने उपप्रधानमन्त्री उपेन्द्र यादवजस्तै उनी पनि ‘मधेस’ शब्द उच्चारण गर्नबाट हच्किन थालेका छन् । जुन घोषित उद्देश्यका लागि उनी संयुक्त राज्य अमेरिकाको आकर्षक नोकरी त्यागेर घर फिरेका थिए, त्यस राजनीतिक कार्यसूचीलाई चिसो बाकसमा थन्काएको जस्तो देखिँदैछ ।

मृत्युपछिको अवस्थाबारे मतैक्यता नभएकाले सनातन धर्ममा ‘फताहा’ वा ‘रेक्विएम’ जस्तो ‘शोक श्लोक’ वा मृत्यु प्रार्थनाको चलन छैन । मृतात्माले जन्म र मृत्युको चक्रबाट मुक्त भएर परमात्मामा समाहित भएको हो भने मरणलाई उत्सव मान्नुपर्छ । स्वर्ग जाने भए खुसियाली, नर्क पाउने भए दु:खमनाउ, पुनर्जन्म हुने भए शुभकामना जस्ता अवधारणा व्यक्ति एवं समय–सापेक्ष हुन्छन् । परिकल्पनाले निर्वाण पाउने होइन । स्वप्नले स्वर्ग वा नर्कमा ठाउँ पाउने कुरा असंगत ठहर्छ । मृगतृष्णाको मृत्युले जीवनका जटिलता उजागर गर्छ । त्यसैले स्वैरकल्पनाको अवसान आत्मपरीक्षणको अवसर हो । आफ्नो युवा वयको झन्डै एक दशक समर्पण गरेको प्रस्तावनाबाट अचानक राउत किन पलायन भए ? उनको अमूर्त प्रस्तावनाका पछाडि लागेका युवाहरूले अव प्रतिरोध, सत्ताभक्ति वा पलायनमध्ये कुन बाटो रोज्नेछन् ? मूलधारको राजनीतिमा रमाइरहेका समाजवादी पार्टी वा राष्ट्रिय जनता पार्टीका कर्ताधर्ताहरूलाई अहिले राउतको खिसी गर्न सजिलो होला । तर नेतृत्वले आत्मसमर्पण गर्दैमा विचार मर्दैन ।

निर्विकल्प मार्ग
प्रतिरोधको राजनीतिका लागि जनकपुर उर्वर भूमि रहँदै आएको छ । समर्थन गर्नेले प्रश्न पनि गर्छन् । राउतको अप्रत्यासित आत्मसमर्पणबाट केही युवा उत्साहित पनि नभएका होइनन् । सत्ताको सान्निध्यबाट लाभान्वित हुन चाहनु नितान्त मानवीय प्रवृत्ति हो । प्रश्न भने तिनले पनि गर्छन् । सबैलाई थाहा छ, ‘जनअभिमत’ जस्ता शब्दावलीलाई शक्तिशाली पक्षले आफ्नो सुविधा अनुसार अर्थ्याउँछ । सर्वेसर्वा खड्गप्रसाद शर्मा ओलीसँग सौदेबाजी गर्ने कुनै हतकण्डा अब राउतसँग बाँकी छैन । उनले गर्ने भनेको सत्तालाई सहयोग पुर्‍याउने राजनीतिमात्रै हो । त्यस्तो राजनीतिका सीमितता छन् । वेदानन्द झा मन्त्री र राजदूत भए । लबेदा, सुरुवालमा सज्जिएर मन्त्री त गजेन्द्रनारायण सिंह पनि भए । विजय गच्छेदारले पनि आफ्नो गच्छे अनुसार उपप्रधानमन्त्रीको पद पड्काएका थिए । तात्कालिक राजनीतिमा चामत्कारिक परिवर्तन भएन भने राउतले बढीमा राष्ट्रियसभा वा प्रदेश प्रमुखको आकांक्षा राख्न सक्छन् । त्योभन्दा बढी मान, सम्मान एवं योगदान उनले ग्रामपालिकाको अध्यक्ष भएर गर्न सक्थे । उनको निर्णय सही वा गलत जे भए पनि ढिलो भएको भने पक्का हो ।

वैज्ञानिक दाजुको दबाब एवं परिवारको चाहनालाई सम्मान गर्दै भावनामा बगेर राउतले मूलधारको बहावमा आफ्नो राजनीतिक डुङ्गा हालेका होइनन् । उनका विकल्पहरू सुस्तरी सीमित हुँदै गइरहेका थिए । महात्मा गान्धी एवं नेल्सन मण्डेलाको नाम जप्न सजिलो छ । तिनको जस्तो त्याग एवं तपस्याका लागि भने समय र परिस्थिति उपयुक्त छैन । मधेसी आन्दोलनकर्मीलाई गोली हान्न नेपालको सत्ता कति पनि हच्किँदैन भन्ने उनले तेस्रो मधेस आन्दोलनको नृशंस दमनताका नै देख्न पाएका थिए । उनका आफ्नै कार्यकर्ता राममनोहर यादवको हिरासतमा प्रहरीको चरम लापरबाहीका कारण भएको मृत्युबाट उनले ‘संकटको नैतिकता’ अंगिकार गर्ने निर्णयमा पुगेको हुनुपर्छ ।
नाम मात्रको भए पनि संघीयता कार्यान्वयनले राउतको स्वाधिनतारूपी बेलुनको हावा फुस्काइदिएको पनि हुनसक्छ । संघीय सरकारसँग अधिकारको बाँडफाँडमा जतिसुकै किचलो भए पनि मुख्यमन्त्री लालबाबु राउत भारतीय प्रधानमन्त्रीसँग शिर ठाडो गरेर उभिन सक्छन् । राउतले बढीमा अमर्त्य सेनसँग खिचाएको तस्बिर देखाउने मात्रै हो । दास मनस्थिति व्याप्त रहेको समाजमा सत्ताको तामझामको ठूलो महत्त्व हुन्छ । साथै स्थानीय सरकारलाई दिइएको अधिकार एवं आर्थिक स्रोतले पनि राउतका कतिपय समर्थकलाई लोभ्याएको हुनुपर्छ । ठेक्कापट्टाको अवसरले महात्त्वाकांक्षी जमातलाई आकर्षित गर्नु नयाँ होइन । सन् १९९० पछि एमाले एवं २००६ पश्चात माओवादीका कार्यकर्ताहरूलाई स्थायी सत्ताले त्यस्तै बाक्लो चास्नीमा डुबाएर मूलधारको राजनीतिमा लिप्त गराएको थियो । सांसदहरूमार्फत खर्च गरिने करोडौं रकमको विरोध गर्नेहरू के बिर्सिदिन्छन् भने सत्ताका लागि समर्थन खरिद गर्नु त्यस्तो बजेट वितरणको जोखिम नभएर मूल उद्देश्य नै हो । राउतले राजनीतिक वैज्ञानिक स्यामुएल हन्टिङ्टन पढेको हुनुपर्छ । हन्टिङ्टनको कथन अनुसार नवप्रजातन्त्रमा जनप्रतिनिधिको तजबिजी खर्चले व्यवस्थाको विरोधलाई मत्थर गर्न सहयोग पुर्‍याउँछ । सर्वेसर्वा शर्मा ओलीले दशैंसम्म सरकारको आलोचना समाप्त हुने दाबी हावामा गरेका होइनन् । त्यतिबेलासम्म तलदेखि माथिसम्म रकम वितरणको छेलोखेलो प्रभावकारी भइसक्नेछ । आलोचना गर्नेको जमात सानो हुन्छ । तिनलाई थर्काउनु पनि पर्दैन, बेवास्ता गरे पुग्छ ।

समसामयिक काल चेतना (जाइटगाइस्ट) पनि ससाना देशहरू सिर्जना गर्ने पक्षमा छैन । नेपालका दुई भूस्थल एवं एक आकाशे छिमेकीमध्ये कसैको पनि भूराजनीतिक स्वार्थ ‘मधेस स्वराज’ सँग मेल खाँदैन । प्रत्यक्ष वा परोक्ष बाहिरी सहयोगबेगर स्वायत्तताका आन्दोलनहरू सफल हुँदैनन् । मधेस भूराजनीतिक रूपमा अनाथ रहेको कुरा ठम्याउन राउतले आवश्यकताभन्दा बढी समय लगाए । आन्तरिक रूपमा स्वदेशी पुँजीपतिहरूको भरथेगबेगर स्वराजको इन्जिनले इन्धन पाउँदैन । मधेसका साहुकारहरूले राउतलाई पटक्कै पत्याएनन् । मिडियाको भूमिका जुनसुकै राजनीतिक आन्दोलनको सफलताका लागि आवश्यक हुन्छ । नेपालको मधेसद्वेशी मिडियाका द्वारेहरू मधेसबारे गरिएको समाचार प्रकाशन एवं प्रसारणलाई ‘बोक्सी, दाइजो, नक्कली नागरिकता एवं जनप्रतिनिधिको भ्रष्टाचार’ चतुष्कोण बाहिर निस्कन दिँदैनन् भन्ने तिनका आफ्नै संवाददाताहरूले भन्ने गर्छन् । राउतको दानवीकरणमा नेपाली मिडियाको भूमिका महत्त्वपूर्ण रहेको थियो ।

सैद्धान्तिक शून्यता
राउतको राजनीतिक कायापलटका पछाडि केही व्यावहारिक कारण पनि रहेको हुनसक्छ । युवा त छन्, तर बेलायत वा अमेरिका फर्केर पुन: वैज्ञानिक हुनसक्ने क्षमता सायद उनमा बाँकी छैन । जयकृष्ण गोइतजस्तो स्वनिर्वासन रोजेर आस्था जोगाउन उनी सक्दैनन् । गएको एक दशकमा उनले संघीयता एवं समावेशिताका पक्षधरलाई यति धेरै होच्याएका छन् कि मधेस आधारक्षेत्र भएका समाजवादी पार्टी, राजपा वा नेपाली कांग्रेसभित्र उनी अटाउन सक्दैनन् । मधेसका मतदाताले ‘माले–मण्डले–मसाले’ राजनीतिकर्मीहरूको नृजातीय राष्ट्रवादलाई स्वीकार गर्ने सम्भावना अझै छैन । उनलाई नेकपा दोहोरोले स्वीकार नै गरे पनि न उनलाई नत पार्टीलाई नै त्यस कदमबाट कुनै फाइदा हुन्छ । पहाडमा रविन्द्र मिश्रको राजनीतिक मञ्च नेपालको स्थायी सत्ताको च्याँखेदाउ भएजस्तै मधेसमा राउतको ताजा प्रयोग आपत्कालमा प्रयोग हुनसक्ने उपयोगी औजार ठहरिन सक्छ । राउत विद्वानमात्र नभएर आँटिला पनि छन् । त्यसैले उनको भविष्यबारे चिन्ता लिन जरुरी छैन । प्रश्न के मात्र हो भने उनले खाली गरेको ठाउँ आउँदा दिनमा कसरी भरिनेछ ?

लामो कालसम्म मधेस नेपाली कांग्रेसको खेलमैदान थियो । त्यो अवस्था अब छैन । कोइरालाहरूको पारिवारिक बफादार एवं शेरबहादुर देउवाका कृपापात्रका भरमा राजनीति चल्दैन । लगभग सिद्धान्तविहीन भइसकेको नेपाली कांग्रेस नेतृत्वसँग सपना देखाउने क्षमता बाँकी नरहेकाले नयाँ पुस्ता त्यस दलसँग जोडिन चाहँदैन । हृदयेश त्रिपाठीले हालसालै भनेझैं मधेसतिर नेकपा दोहोरोको आकर्षण खासै छैन । चुनाव त हेमबहादुर मल्लले पनि जित्थे
भने रघुवीर महासेठ त धनीमानी हुनाका साथै इन्जिनियर पनि हुन् । समाजवादी एवं राजपा एकअर्कासँग लडेर ऊर्जा खर्चिरहेका छन् । मधेसको सम्मानको मुद्दा सम्बोधन गर्नसक्ने कल्पनाशीलता एवं क्षमता महन्थ ठाकुर बाहेक अरू कसैसँग छैन । तर मधेसमा व्याप्त जातिवादले गर्दा उनका कुरा आजभोलि कमैले सुन्छन् ।

दक्षिणपन्थी राजनीतिमा सम्मानको मुद्दा अटाउँदैन । नेपालका स्वघोषित वामपन्थीहरू भारतमा जस्तै सारमा बाहुनवादी हुने रहेछन् । त्यसैले दक्षिणपन्थ वा वामपन्थको साटो विकास र समृद्धिको पाण्डित्य छाँट्ने ‘पोङ्गापन्थ’ समसामयिक राजनीतिको एकमात्र विचारधारा बन्न पुगेको छ । नेपाल फर्कंर्दा राउतले आफ्ना गतिविधिको सुरुवात मधेसको विकासबारे सम्मेलनको आयोजन गरेर गरेका थिए । एक चक्र पुरा गरेर उनी आफ्नो प्रस्थानबिन्दुमै फर्केका छन् । मधेस अहिले अर्को रहवर (बाटो देखाउने) व्यक्तिको प्रतीक्षामा छ । मुद्दा यथावत रहेसम्म साहसिक राजनीतिकर्मीको उदयको सम्भावनालाई खारेज गर्न सकिँदैन ।

प्रकाशित : असार १८, २०७६ ०८:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्