विप्लवी नेकपासँग बहिरंग संवाद

पञ्चायती
आहुति

काठमाडौँ — आधिकारिक र औपचारिक वार्ता प्रक्रिया थालनीमा उपेक्षा, असंवैधानिक रूपमा पार्टीमाथि प्रतिबन्ध, व्यापक रूपमा गिरफ्तारी र सर्लाही एवं भोजपुरमा सुनियोजित रूपमा मच्चाइएको हत्याकाण्डलाई मात्र पनि एक ठाउँमा राखेर विश्लेषण गर्दा वर्तमान सरकार विप्लवी नेकपालाई युद्धका निम्ति आमन्त्रण गरिरहेको अन्तर्य बुझ्न सजिलै सकिन्छ ।

सरकारको यसप्रकारको रवैयाको प्रमुख प्रतिपक्षले विरोध गरिरहेको छैन । सरकारमै टाँसिएका र पछि भए पनि टाँसिने अवसर कुरिबसेका अरू साना पार्टीले पनि खासै सरोकार गरेका छैनन् । खप्र ओली र पुक दाहाल नेतृत्वको नेकपा (नेकपा) भित्रका आलोचनात्मक चेतधारी मानिएका नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाल प्रभृत्तिको पनि वाक्य कतै अन्तर्ध्यान भएकै छ । यो समग्र परिदृश्यबीच यही निष्कर्ष निस्कन्छ कि राज्य विप्लवी नेकपालाई दमनद्वारै सिध्याउने चाँजोमा दृढ छ ।

नेकपा (नेकपा) को सरकार अन्य विकल्पलाई नअपनाई सिधै दमन वा युद्धबाट विप्लवी नेकपालाई ठेगान लगाउने रवैयामा किन हतारिएको छ ? किनभने एक, आफ्ना काम क्रमशः असफल हुँदै गएपछि र बदनामीको मात्रा तीव्र रूपमा थपिन थालेपछि त्यसबाट जनतामा उत्पन्न हुने आक्रोश विरोधीमध्ये पनि सबैभन्दा विद्रोही देखिने शक्तितिर सहानुभूति एवं समर्थनमा बदलिन सक्ने खतराबाट ऊ त्रसित छ ।

दुई, नेपालमा कम्युनिस्टप्रति रहेको व्यापक जनताको भावनात्मक आकर्षणलाई भँजाएर सत्तामा पुगेको हुनाले आफ्नो वास्तविक गैरकम्युनिस्ट चरित्र भन्डाफोर हुने खतराबाट जोगिन वास्तविक कम्युनिस्ट चरित्रतिर जान खोज्ने शक्तिलाई सरकार या त आफूजस्तै सिद्धान्तच्युत बनाउने, नभए दमन गरेर भए पनि सिध्याउन चाहन्छ ।

आजसम्मको इतिहासबाट प्रमाणित भएकै छ कि नेपालको दलाल राज्यले गम्भीर राजनीतिक मुद्दामा विदेशी साम्राज्यवादी शक्तिहरूको राय, सल्लाह र अनुमतिबिना आफैं हौसिएर गल्ती गर्ने गरेको छैन । कम्युनिस्टको ‘क’ समेत देख्न नरुचाउने साम्राज्यवादी शक्तिहरू अन्यत्रजस्तै नेपालमा पनि एक तीरले दुई निसाना लगाउन सकिने परिस्थितिलाई सदुपयोग गर्न खोजिरहेछन् । उनीहरूले चलाएको तीर भनेको पुँजीवादविरुद्ध इतिहासमा लडेका पुक दाहाल र खप्र ओली नेतृत्वको विशाल जमातलाई पुँजीवादकै अभियन्ता बनाउन सफल हुनु हो ।

यो तीरको निसाना अब दुईतिर फर्केको छ । एक, पुँजीवादको सडिसकेका योजना, कार्यक्रम र संस्कृति कम्युनिस्टको भन्दै नेकपा (नेकपा) ले जति लागू गर्दै जानेछ, त्यसबाट आम नागरिकमा कम्युनिस्ट भनेका त यस्ता खराब पो हुँदा रहेछन् भन्ने नकारात्मक भाव जाग्दै जानेछ । नेपाली समाजको पीँधका श्रमजीवीमा रहिआएको कम्युनिस्ट आदर्शप्रतिको भावनात्मक अनुराग नष्ट हुनेछ । दुई, कम्युनिस्ट झन्डा बोकेकै सरकारबाट वास्तविक कम्युनिस्ट आदर्शतिर बढ्न चाहनेलाई दमन गराउन पाउँदा त्यस अत्याचारको अपजस पनि पुँजीवादी खेमाले लिनुपर्नेछैन, बरु आम नागरिकको नजरमा कम्युनिस्ट खेमै बदनाम हुनेछ ।

नेपालमा विश्व साम्राज्यवादले खेल्न सुरु गरेको एक तीर दुई निसानावाला खेल संसारका धेरै देशमा खेलेको इतिहास छरपस्टै छ । छिमेकी भारतको पश्चिम बंगालमा पच्चीस वर्षे ज्योति बसु मार्का कम्युनिस्टलाई सत्तासीन बनाइएको किन थियो भन्ने कुरा नक्सलवादी कम्युनिस्ट आन्दोलनलाई जरैदेखि नष्ट गर्न ज्योति बसुहरूले खेलेको भूमिकाबाट छर्लंग हुन्छ । एकातिर ज्योति बसुहरू वास्तविक कम्युनिस्ट सिध्याउन लागे भने अर्कातिर उनीहरू स्वयं यति बदनाम पनि भए कि आज सिला खोज्नुपर्ने हालतमा पुगे । सारमा त पुँजीवादी साम्राज्यवादीहरूले चाहेकै भयो अर्थात न त संसद्वादभित्र कम्युनिस्ट नामका बुख्याँचा बाँकी रहे, न त संसद्वादविरोधी कम्युनिस्ट ।

यही खेल तीव्रतापूर्वक नेपालमा खेलिँदै छ । सत्तामा पदमस्त भएकाहरू त सचेत रूपमा त्यस यात्रामा छन् तर यस घातक षड्यन्त्रलाई कम्युनिस्ट यात्रा ठान्ने नेकपा (नेकपा) भित्रको विशाल युवा जमात अझै भ्रममा यात्रारत रहनु निकै विडम्बनायुक्त एवं देश र भविष्यका निम्ति डरलाग्दो सन्दर्भ बनेको छ ।

आज संसद्वाद, दलाल पुँजीवादी व्यवस्था र सरकारको आलोचना गर्ने कुनै पनि तहको जनता कुनै न कुनै खतराको सूचीमा सूचीबद्ध हुन थालेको छ । त्यसैगरी यस व्यवस्थाको विकल्प खोज्न तम्सिएका राजनीतिक पार्टी र समूहमाथि दमनको तरबार टाउकामाथि हल्लिरहेछ । त्यसमध्ये सबैभन्दा भौतिक रूपमा समेत झोक व्यक्त गर्न सुरु गरेको विप्लवी नेकपामाथि त प्रारम्भिक स्तरमा राज्य आतंक नै सुरु भइसक्यो । यसरी आज राज्यको गलतविरुद्ध उभिने र विकल्पको यात्रा गर्ने प्रत्येक व्यक्ति र समूहले गम्भीर आत्मसमीक्षासहित आवश्यक रणनीतिमा आफूलाई माथि उठाउनैपर्ने भएको छ । यो यथार्थ विप्लवी नेकपाको हकमा पनि स्वतः लागू हुन्छ ।

जसरी आजका प्रधानमन्त्री खप्र ओली चौध वर्ष जेल कतैबाट सञ्चालित भएर बसेका थिएनन्, जसरी पुक दाहाल मारिने सर्तसमेत स्विकारेर कतैबाट सञ्चालित भएर जनयुद्धमा गएका थिएनन् । त्यसैगरी विप्लवी नेकपा वा व्यवस्थाविरोधी अरू पार्टी पनि कतैबाट सञ्चालित भएर मृत्युसमेत बेहोर्ने यात्रामा संकल्पबद्ध होइनन् र हुन सम्भव पनि छैन । विचारमा स्खलित भएपछि मात्र आजको खप्र ओली र पुक दाहाल प्रवृत्ति प्रकट भएको हो । विचार र निष्ठामै समस्या भयो भने विप्लवी नेकपा वा अरू समूह भोलि के होलान् ? जे पनि होलान्, त्यो बेग्लै विषय हो ।

अर्को यथार्थलाई पनि ध्यान दिनैपर्छ, त्यो के भने संसद्वादी पुँजीवादी व्यवस्थाभित्रकै नयाँ खेलाडी जन्माउने शक्ति केन्द्रहरू संसारमा छ्यापछ्याप्ती छन् तर संसद्वादी पुँजीवादी व्यवस्थाकै विकल्पमा अघि बढ्ने कम्युनिस्ट शक्तिलाई लगानी गर्ने दुनियाँमा आज कुनै केन्द्र नै छैन ।

जताबाट हेरे पनि विप्लवी नेकपा एउटा क्रान्तिकारी शक्ति नै हो । मदन भण्डारीको बहुदलीय जनवाद र माधव नेपाल, झलनाथ खनाल, खप्र ओलीको एमालेबाट विद्रोह गर्ने थुप्रै क्रान्तिकारी भएजस्तै पुक दाहाल, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठहरूको गैरकम्युनिस्ट प्रवृत्तिसँग सम्बन्धविच्छेद गर्ने थुप्रै जमातमध्येको एउटा जमात हो विप्लवी नेकपा । पुक दाहालसँग सम्बन्धविच्छेद गर्दा नेता बनेका रामबहादुर थापाहरू सत्ताको ढोकामा लम्पसार पर्दा पनि ठिंग उभिन प्रयत्न गर्ने मोहन वैद्यजस्तै अर्को प्रवृत्ति हो विप्लवी नेकपा तर आजको विश्वपरिवेशमा पुँजीवादविरुद्ध विद्रोही क्रान्तिकारीका रूपमा अगाडि आउन जति कठिन छ, त्योभन्दा हजारौं गुणा बढी पुँजीवादविरुद्ध जनआधारित सही लडाइँ अगाडि बढाउन कठिन छ ।

पुँजीवादविरोधी कम्युनिस्ट क्रान्तिकारीहरूका अगाडि न त टुपाक अमारुजस्तै बलिदानी रोमान्समा सिद्धिने छुट छ, न त अमेरिकी बब अभाएकेनजस्तै बुढेसकालसम्म केवल सिद्धान्तको रक्षाको रट लगाएर बाँच्ने नै छुट छ । सयौं बहानामा कम्युनिस्ट आदर्श र लक्ष्य त्यागेर पुँजीवादकै टाङमुनि भात कमाउन थाल्नु त विवर्गीय काम नै भइहाल्यो ।

विप्लवी नेकपा इतिहास र परम्पराको ब्याजमा टाँस्सिन चाहेको देखिन्न, माओवादलाई माने पनि पार्टी नामबाट माओवादी शब्द हटाएबाट त्यो आसय झल्किन्छ । जब कि कम्युनिस्ट नै रहन चाहने जनयुद्धबाट आएका अन्य समूहले ‘माओवादी’ शब्दलाई जात व्यवस्थाको उच्च जातजनक शब्दजस्तै ठान्छन् ।

बिल्कुल नयाँ गर्न चाहने इच्छा त्यस समूहको सराहनायोग्य भावना हो तर नयाँ त केवल भावना होइन, त्यो त ठोस वैचारिक दिशामा व्यक्त हुन्छ । एकीकृत जनक्रान्ति क्रान्तिको कार्यदिशा हो भने आजदेखि क्रान्ति पूरा हुँदासम्मको कार्यनीति र रणनीतिको क्रमबद्ध शृंखला के हो त ? महाधिवेशनकै दस्ताबेज मौन छ वा कम्तीमा राजनीतिकर्मीहरूले समेत बुझ्ने गरी बताइएको छैन । आजको विश्वमा मध्यमस्तरका हतियार जोड्न सकिने सम्भावना र संगठनले मात्र पनि कम्युनिस्ट क्रान्तिको मूल समस्या हल गर्न सक्दैन ।

सड्ने क्रम तीव्र भइसकेको तत्कालीन माओवादी पार्टीसम्बद्धहरू नै विप्लवी नेकपामा सुरुमा सहभागी भएकाले तत्कालीन माओवादी आन्दोलनमा विकसित नकारात्मक र्‍यालसिँगानजन्य गलत प्रवृत्तिहरू पनि त्यस समूहमा हुन्छन् नै । आफूसँगै गिरफ्तार नेतालाई नख्खु जेलमै छोडेर ब्युरो सचिवले आत्मसमर्पण गर्नुले त्यतैतिर संकेत गर्छ । त्यसैगरी प्रतिबन्धपछि पोलिटब्युरो सदस्यसमेत सरकारी पार्टीमा प्रवेश गर्नुले त्यस पार्टीको सैद्धान्तिक र सांस्कृतिक स्तर तथा स्पष्टता कुन हालतमा छ भन्ने तथ्यतिर झिनो भए पनि संकेत गर्छ ।

क्रान्तिमा धेरै प्रकारका प्रवृत्ति जम्मा हुन पुग्छन् तर वर्गसंघर्षको विकाससँगै गलत फालिँदै जान्छन् भन्ने कुरालाई मान्दा पनि प्रकट भएका लक्षणले ठीक संकेत त गरेनन् भन्ने तथ्यलाई पनि मान्नैपर्ने हुन्छ । त्यसकारण गम्भीर समस्या क्रान्तिको स्पष्ट कार्यदिशामै छ भनेर भन्न नहुने स्थिति कदापि छैन ।

विगत एक शताब्दीलाई मूल्यांकन गर्दा सन् १९१७ को अक्टोबर क्रान्तिदेखि १९५९ को क्युबाली क्रान्तिसम्म संसार कम्युनिस्ट क्रान्तिमय छ तर त्यसपछिको साठी वर्ष प्रतिक्रान्तिमय रह्यो, किन ? मरणासन्न भनिएको पुँजीवाद कुन अमृतले पुनः बलवान् भयो ? न लेनिनले देखेको करोडौं मजदुर थुप्रिने औद्योगिक केन्द्र छन्, न त पुँजीवादी विश्वयुद्ध छ, न नै माओले भोगेको दूरदराजको आधार क्षेत्र बनाउने देहात । तब अब कसरी त ? आजको नयाँ युगको क्रान्तिमा नयाँ प्रश्नहरूको उत्तर नदिई सुख छैन ।

नेताहरू बिग्रेकाले, संशोधनवादीले पार्टी कब्जा गरेकाले आदि सहायक तर्कबाट मूल प्रश्नको समाधान हुनेवाला पटक्कै छैन । आज विप्लवी नेकपा न युद्ध न जनसंघर्ष, बीचमा अलमलिन थालेको भान हुन्छ । यस्तो हुनु भनेको मूल कार्यदिशामै अस्पष्टताको संकेत हो । त्यसैले आर्जित शक्तिलाई जोगाउँदै सही कार्यदिशामा पुग्न विप्लवी नेकपाले चारैतिर व्यापक अन्तरक्रियामा जाने तत्परता देखाउला ? यो नै मुख्य जरुरी कुरा हो । न युद्ध न जनसंघर्षबीच अलमलिएको मूल कार्यनीतिमा बदलावसहित नयाँ कार्यदिशा विकास मुख्य आवश्यकता हो ।

प्रकाशित : असार २९, २०७६ ०८:१४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मनसुनको मार र महामारीको जोखिम 

डा. बालकृष्ण सुवेदी, रुपनारायण खतिवडा

काठमाडौँ — केही दिन यताको अविरल मनसुनी वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । वर्षाजन्य प्रकोपका कारण काठमाडौंलगायत देशका विभिन्न भूभागमा ३० जनाजति मानिसले ज्यान गुमाएको समाचार सार्वजनिक भएको छ ।

यो चपेटाबाट आमजनजीवन सहज र सामान्य बन्न अझै केही दिन लाग्न सक्छ । प्रकोप प्रभावित स्थानमा महामारी फैलन सक्ने त्रास पनि उत्तिकै छ ।

बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिसँगै पानी, खाद्यजन्य एवं किटजन्य महामारी फैलन सक्ने सम्भावना हुन्छन् । प्रकोपको समयमा उद्धार र राहतमा मुलुकको सम्पूर्ण शक्ति केन्द्रित रहने हुँदा बाढी र डुबानले ज्यान लिएका मानिस तथा जीवजन्तुका शवहरूको खोजी र सुरक्षित व्यवस्थापनमा पर्याप्त ध्यान नपुग्ने गरेको विगत वर्षहरूकै अनुभव छ ।

यस्तो समयमा पिउने पानीको स्रोतलाई बाढी र डुबानले दूषित बनाएका स्थानहरूमा शुद्ध पानी र पौष्टिक खानाको अभाव खड्किने गर्छ । यस्तै, बाढीको जोखिममा रहेका र प्रभावितलाई विभिन्न स्थानमा अस्थायी शिविर बनाई समूहमा बसोबास गराउने गरिएका कारण सरसफाइमा समस्या हुन्छ । बाढी र डुबानबाट बढी मात्रामा तराई क्षेत्र प्रभावित बन्ने गरेको र यसै पनि यो क्षेत्र महामारीका हिसाबले बढी संवेदनशील भएकाले प्रकोपलगत्तै संक्रमण फैलिन सक्ने जोखिम बढी छ ।

विगतमा पनि बाढी प्रभावित क्षेत्रमा झाडापखालाजस्ता ब्याक्टेरियल संक्रमण फैलिने गरेको थियो । करिब ४ वर्षअघि बाँके, बर्दिया र सुर्खेतमा बाढीपीडितमा झाडापखालाको समस्या देखापरेको थियो । एक दशकअघि बाँकेमा बाढीपछि पीडितहरूमा फैलिएको औलोको प्रकोपले केहीको मृत्युसमेत भएको थियो । विश्व स्वास्थ्य संगठनद्वारा गरिएको एक अध्ययनले बाढीको प्रकोपपछि पानी र खानामार्फत सर्ने संक्रामक रोगहरूको उच्च जोखिम हुने औंल्याएको छ ।

बाढी प्रभावित जिल्ला र क्षेत्रहरूमा हैजा, झाडापखाला, टाइफाइड, जन्डिसजस्ता खाना र पानीजन्य रोगका साथै प्रभावित तराईका जिल्लामा औलो, डेंगी, चिकनगुनिया लगायत किटजन्य रोगको उच्च जोखिम रहेको छ । प्रभावित क्षेत्रमा सरुवा रोगको महामारी फैलिएमा संक्रमित बिरामीलाई चिकित्सकीय हेरचाह र समय दिन कठिन पर्न सक्ने परिस्थिति रहेकाले सबैले आफ्नो र घरपरिवारको स्वास्थ्य सुरक्षाका लागि सचेतना अपनाउनु जाती हुन्छ ।

सरुवा रोगजन्य महामारी हाम्रो दैनिक दिनचर्या तथा व्यक्ति र परिवारको खानपान एवं रहनसहनसँग जोडिएर फैलने गर्छ । व्यक्तिगत र सामुदायिक रूपमा केही प्रयाससहितका सजगता अपनाउन सकियो भने सम्भाव्य महामारीको जोखिमबाट आफू, परिवार र समुदायलाई सुरक्षित राख्न सकिन्छ । यसका लागि अस्थायी बसोबासका शिविरमा सुरक्षित मोबाइल शौचालय व्यवस्था गर्ने र यसो गर्न नसकिएमा जमिनमा २ मिटरजति गहिरो खाल्डो खनी वरिपरिबाट प्लास्टिकले कभर गरेर अस्थायी तर सुरक्षित शौचालय निर्माण गर्नुपर्छ ।

त्यहीं मात्र दिसापिसाब गर्न/गराउन आवश्यक छ । खाना पकाउने, भाँडा धुने र अस्थायी शौचालय रहने स्थानमा केही दूरी रहने गरी अलगअलग ठाउँको व्यवस्था गर्न र शिविर वरपर नियमित रूपमा किटाणुनाशक विषादी छर्कनुपर्छ । पानी र खानाको सुरक्षामा उचित ध्यान पुग्न आवश्यक छ । पानी उमालेर सेलाएपछि मात्र खाने र उमाल्न सम्भव नभए क्लोरिन ट्याब्लेट, पीयूष वा अन्य क्लोरिन झोल तोकिएको मात्राअनुसार हालेर शुद्धीकरणपश्चात पिउने गरियो भने पानीबाट सर्ने रोगबाट बाँच्न सकिन्छ । पिउने पानी र खानाको सुरक्षित भण्डारणमा पनि ध्यान दिन आवश्यक छ ।

पीडितहरूलाई राहत वितरण गर्दा सुरक्षित पानी र खानेकुरा वितरण गर्नेतर्फ ध्यान दिन जरुरी छ । खाना खानुअघि, बालबालिकालाई खुवाउनुअघि र चर्पीको प्रयोग गरिसकेपछि साबुनपानीले हात धुने बानीले पनि संक्रामक रोगबाट धेरै मात्रामा बच्न सकिन्छ । गर्मी मौसममा बाढी प्रभावित तराईका भूभागमा सर्पदंशको समस्या देखिनसक्ने भएकाले यसतर्फ पनि सजगता अपनाउनुपर्ने हुन्छ ।

यसका लागि आफ्नो घर र बसोबास गर्ने ठाउँ वरिपरिको सरसफाइमा ध्यान दिनुपर्छ । घर वा बसोबास वरपर झाडी भए हटाउनुपर्छ, प्वाल देखिए बन्द गर्नुपर्छ । पाल वा त्रिपाललाई जमिनको सतहमा टम्म मिल्नेगरी कसिलो रूपमा राख्नुपर्छ । घरपालुवा जनावरलाई घरबाट अलग्ग राख्ने, राति घरबाहिर निस्कँदा उज्यालो प्रयोग गरेर मात्र निस्कने गर्नुपर्छ । सुत्दा खाट वा यस्तै अग्लो स्थानमा झुल लगाएर मात्र सुत्ने, सकेसम्म खाली खुट्टा हिंडडुल नगर्ने र शरीर ढाक्ने कपडा लगाएर मात्र बाहिर निस्कने गर्नुपर्छ ।

बाढी प्रभावित तराई क्षेत्रमा किटजन्य रोगहरूको जोखिम पनि उत्तिकै रहेको छ । लामखुट्टे, भुसुना, उडुसजस्ता किटजन्य जीव आकारमा साना भए पनि यिनीहरू औलो, कालाजार, हात्तीपाइलेजस्ता खतरनाक रोगका बाहक हुन् । अहिले गर्मीमा यस्ता रोगको जोखिम बढी हुने भएकाले यसतर्फ उच्च सतर्कता अपनाउन जरुरी छ । यस किसिमको प्राकृतिक विपत्तिको समयमा दीर्घरोगीलगायत नियमित औषधि खानुपर्ने र उपचार गराउनुपर्ने बिरामीको औषधि उपचारको निरन्तरताका लागि सचेत रहनुपर्छ । बालबच्चा एवं प्रौढको शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुने हुँदा परिवारका यस्ता सदस्यको विशेष हेरचाह गर्न पनि जरुरी हुन्छ ।

मृत्यु भएका मानिसका शव र मरेका जीवजन्तुलाई सम्भव भएसम्म चाँडै जलाउन उपयुक्त हुन्छ । मृत जीवहरूको मासु सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ । विपत्तिको अवस्थामा मानसिक चिन्ता बढ्ने, शरीरमा पानीको मात्रा कम भई सुक्खा महसुस हुने, निद्रा नलाग्नेजस्ता समस्या देखा पर्छन् । यस्तो समयमा सुदृढ पारिवारिक सहकार्य र मद्दतले केही राहत महसुस हुने भएकाले सम्भव भएसम्म पारिवारिक माहोलमा समय बिताउनु बेस हुन्छ ।

उपचारको बलियो विकल्प नै रोकथाम भएकाले अहिलेको यो प्रतिकूल अवस्थामा सम्भावित महामारीको जोखिम रोक्न उपचार केन्द्रित विधिभन्दा रोकथाम केन्द्रित स्वव्यवस्थापन प्रणालीमा जोड दिनु बुद्धिमानी हुन्छ । अतः एउटा प्राकृतिक विपत्तिको त्रास र प्रभावबाट मुक्त हुन नपाउँदै अर्को सम्भावित महामारीको त्रासबाट अत्तालिनुभन्दा आवश्यक सजगता र सावधानी अपनाउन जरुरी हुन्छ ।

लेखक सुवेदी स्वास्थ्य सेवा विभागका पूर्वउपमहानिर्देशक र खतिवडा स्वास्थ्य मन्त्रालयका शाखा अधिकृत हुन् ।

प्रकाशित : असार २९, २०७६ ०८:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×