कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एसियाको उदय

रमेश के.सी.

काठमाडौँ — सीएनएनका फरिद जकारियाको कार्यक्रम जीपीएसमा बोल्दै बेलायतका भूतपूर्व प्रधानमन्त्री टोनी ब्लेयरले एक्काइसौं शताब्दीको मध्यमा विश्वमा अमेरिका, युरोप, चीन र भारत चार शक्तिहरू सक्रिय रहने बताएका थिए ।

एसियाको उदय

साँच्चै, अन्तर्राष्ट्रिय मामिलाका रणनीतिकारहरू भन्छन्— वर्तमानमा अमेरिका आफ्नो नेतृत्वको एकध्रुवीय विश्व र बहुध्र्रुवीय एसिया चाहन्छ । चीनलाई विश्व बहुध्रुवीय र एसियामा आफ्नो नेतृत्व चाहिएको छ । भारत भने बहुध्रुवीय विश्व र बहुध्रुवीय एसियाको पक्षमा छ ।


वर्तमान विश्वराजनीतिमा अमेरिकाको क्षय र चीनको उदय महत्त्वपूर्ण विषय भएको छ । विगत बीस वर्षमा जति पनि किताब लेखिए, प्रायः चीनको उदयलाई लिएर लेखिए । तर, विदेश मामिलामा कम उमेरमा धेरै विज्ञता हासिल गरेकाले ‘न्युयोर्क टाइम्स’ ले ‘ह्वीज किड’ भनेका पराग खन्नाको नयाँ किताब ‘द फ्युचर इज एसियन : ग्लोबल अर्डर इन द ट्वेन्टी फर्स्ट सेन्चुरी’ ले भने एसियाकै उदय भइरहेको प्रमाणित गरेको छ । उनका अनुसार ६ सय वर्षपछि एसियाले आफूलाई पुनः आविष्कार गरिरहेको छ ।


यो पुनराविष्कारमा चीनको उदय प्रमुख घटना भए पनि चीन मात्रै होइन सम्पूर्ण एसियाको उदय भएको उनको ठम्याइ छ । सोह्रौं शताब्दीमा, जतिखेर युरोप मध्ययुगमा थियो त्यति बेला चीन विश्वकै सम्पन्न र विकसित राष्ट्र थियो । चीन आफूलाई ब्रह्माण्डकै मध्य अधिराज्य ठान्थ्यो । तर पछि औद्योगिक क्रान्तिको जन्मसँगै युरोपको, विशेष गरी बेलायतको उदय भयो । उनीहरूले विश्वलाई उपनिवेश बनाए । उन्नाइसौं शताब्दी युरोपको थियो भने बीसौं शताब्दी अमेरिकाको ।


अब एक्काइसौं शताब्दी सम्पूर्ण एसियाको हुनेछ । खन्नाले अहिले एसिया अर्डर अर्थात् व्यवस्था बन्न थालेको बताएका छन् । एसियामा उनले पश्चिम एसियाको इजरायल र अरब राष्ट्रदेखि मध्य एसिया हुँदै दक्षिणपूर्व र उत्तर एसिया हुँदै न्युजिल्यान्ड र अस्ट्रेलियासम्मलाई सामेल गरेका छन् ।


उनका अनुसार, एसियाको आर्थिक वृद्धिको इतिहास जापानबाट सुरु भएर त्यसलाई पछि सिंगापुर, ताइवान, हङकङ र दक्षिण कोरियाले अनुसरण गरेका हुन् । यही सम्भावित चमत्कार देखेर देङ स्याओ पिङले चीनमा सन् १९७८ मा आर्थिक उदारीकरणको सुरुआत गरे । त्यही चीन अहिले विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेको छ ।


बृहत्तर एसियामा करिब ५ अर्बको जनसंख्या छ भने त्यसमा चीनको मात्रै १.५ अर्ब छ । भारतमा १ अर्बभन्दा बढी जनसंख्या छ । पूर्वी र पश्चिम एसियामा मुसलमानहरूको बाहुल्य छ । यसर्थ चीनको मात्र होइन कि, सम्पूर्ण एसियाको उदयले विश्वलाई बहुध्रुवीय बनाउनेछ । एसियामा चीन, जापान र भारत ठूला शक्तिराष्ट्र बन्नेछन् ।


पश्चिम एसियामा साउदी अरेबिया र टर्की शक्तिसम्पन्न राष्ट्र हुनेछन् । युरोपेली राष्ट्रहरूको उपनिवेश, शीतयुद्धकालीन दुईध्रुवीय विश्वको तनावबाट गुज्रिसकेको एसिया अहिले आत्मनिर्भर बनिरहेको छ । यसले राष्ट्रहरूबीच एसियाकरण गरिरहेको छ । अहिले एसियाली राष्ट्रहरू बाह्य राष्ट्रभन्दा आफूबीच व्यापार गरिरहेका छन् अनि यो क्षेत्र जनसंख्या, प्राकृतिक साधनस्रोत, सैनिक र आर्थिक हिसाबले पश्चिमभन्दा ठूलो छ । यसलाई पराग खन्नाले एसियाको फिर्ती पनि भनेका छन् ।


चीनले सन् २०१२ मा प्राचीन सिल्क रोडलाई आधुनिक सन्दर्भमा सार्थक बनाउन सुरु गरेको बीआरआई एक्काइसौं शताब्दीको सबैभन्दा ठूलो कथा बनेको छ । यहीँबाट विश्वमा बहुध्रुवीयताको बीजारोपण भएको हो । चीनसँगै दक्षिणपूर्वी एसिया आर्थिक वृद्धिका क्रममा छ भने भारतले वृद्धिमा उछिनेको छ । केही छोटो समयपश्चात् भारतको जनसंख्या चीनको

भन्दा बढी हुनेछ ।


करिब ७ सय वर्षपहिले मंगोल सम्राज्यका बेला एसियाको भूगोल एउटै थियो । उन्नाइसौं शताब्दीमा युरोपेलीहरूले शासन गरेको एसियालाई बीसौं शताब्दीमा अमेरिकीहरूले अमेरिकीकरण गरे । ३० वर्षयता एसियाकरण सुरु भैसकेको पराग खन्नाको दाबी छ । एसियाको उदयले विश्वमा कोही पनि एक नम्बर नरहने उनको निचोड छ । उनको आकलन अनुसार, चीन र अमेरिका दुईध्रुवीय हुन्छन् । जापान तेस्रो शक्ति बन्छ भने रुस चौथो र भारत पाँचौं ।


अमेरिका अहिले प्रशान्त क्षेत्रको मात्रै शक्ति हो । जापान, दक्षिण कोरिया, भारत र आसियानसँग चीनको व्यापार अमेरिकाको भन्दा ठूलो छ । एसियाली राष्ट्रहरूबीच व्यापार, कूटनीति र सांस्कृतिक आदानप्रदान तीव्र रूपमा भइरहेको छ ।


एसिया द्वन्द्वमुक्त भने छैन । इजराइल–प्यालेस्टाइन द्वन्द्व, उत्तर कोरियाको आणविक समस्या, भारत–पाकिस्तान द्वन्द्व, पूर्वी चीन समुद्रमा चीन–जापान तनाव आदिले एसिया तत्काल संकटमुक्त हुने सम्भावना पनि छैन । भविष्यमा भने यस्तै अवस्था नरहन सक्छ । एसियामै अस्ट्रेलिया, न्युजिल्यान्ड, भारत, दक्षिण कोरिया र जापान जस्ता प्रमुख प्रजातन्त्रहरू क्रियाशील रहनेछन् ।


कजाकस्तानले युरोप र एसियाबीच पुलको काम गर्नेछ । भारत हिन्द महासागरमा सामुद्रिक शक्ति रहनेछ । यसैले एक्लो चीनको उदयले मात्रै एसियाको प्रतिनिधित्व गर्न सक्दैन । एसियाको परिभाषा युरोपेलीहरूले तयार पारिदिए । अमेरिकीहरूले शीत युद्धका बेला भू–राजनीति गरे तर अब एसियालीहरू आफ्नो कथा आफै लेखिरहेका छन् ।


एक थरी रणनीतिकारहरू भन्छन्— चीनको उदयले उसको अमेरिकासँग युद्ध पनि हुन सक्छ । अहिले चीन र अमेरिकाबीच व्यापार र प्रविधि युद्ध चलिरहेको छ । एउटा स्थापित महाशक्तिबाट अर्को उदाउँदो शक्तिले सत्ता हत्याउन खोज्दा यस्ता सोह्र संक्रमणका क्रममा ५ सय वर्षयता बाह्र वटा शक्ति संक्रमण युद्धमा परिणत भएका छन् ।


एसियाको उदय भनेको विगत ४ सय वर्षमा यहुदी र इसाई परम्पराको विश्वमा भएको हालीमुहालीको पनि कटौती हो । एसिया विश्वका सबै प्रमुख धर्मको उत्पत्तिस्थल हो । भाषा, संस्कृति, राजनीतिक प्रणाली र इतिहासले विविधतायुक्त एसियाको हालैको स्मृतिमा व्यवस्थाको अवधारणा थिएन । तर, अब अर्डरको अवधारणा विकसित हुन थालेको छ , जसको सुरुआत बीआरआईसँग सुरु भएको हो ।


एसिया विश्वमा छाएको छ । अमेरिकामा एसियाली मूलका मानिसहरूको सफलताले पनि एसियालीहरूको क्षमता र कल्पनालाई देखाउँछ । एसियाबाट विश्वका अरू क्षेत्रका मानिसले पनि सिक्न सक्छन् । विश्वका वायुसेवाहरू अहिले एसियामा केन्द्रित छन् । ‘क्रेजी रिच एसियन’ जस्ता फिल्मले हलिउडमा स्थान पाएका छन् । योगले संयुक्त राष्ट्रसंघबाट आफ्नो दिन घोषणा गराएको छ । यसर्थ एसियाको व्यापक सांस्कृतिक विरासत विश्वव्यापी बन्दै गएको छ ।


सांस्कृतिक रूपमा मात्रै होइन, सैन्य रूपमा हेर्दा एसियामा चीन, भारत, पाकिस्तान, इजरायल, उत्तर कोरिया जस्ता आणविक शक्ति हुन् । विश्वको सबैभन्दा ठूलो सैन्य संख्या पनि एसियामै छ । पश्चिमी इतिहासकारहरूले एसियालाई रहस्यमय र रङ्गीन भूगोलका रूपमा चित्रित गर्दै आएका थिए । उपनिवेशको यो पूर्वीयवादले पश्चिमीहरूको पूर्वाग्रहलाई देखाउँछ । तर आज एसिया समृद्धि, वैज्ञानिक र यथार्थपरक धरातलमा उभिन खोजेको छ ।


एसिया अब ब्रान्ड बनेको छ ।


प्रकाशित : असार २६, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?