नयाँ मोर्चाबन्दी

प्रकाशचन्द्र लोहनी

प्रधानमन्त्री केपी ओलीले हालै पत्रकार सम्मेलनमा लोकतन्त्रबारे निकै राम्रा कुरा बोल्नुभएको छ । लोकतन्त्रमा प्रेस स्वतन्त्रता, मानव अधिकार, सामाजिक न्याय, सुशासन र विकास अनिवार्य तत्त्व रहेको उहाँको भनाइ स्वीकार्य छ । तर, यो १६ महिने शासनकालमा उहाँले पत्रकार सम्मेलनमा बोल्नुभएका मूल्य–मान्यता तथा विधिलाई कुन हदसम्म संस्थाकरण गर्ने प्रयास गर्नुभएको छ ?

जब यो प्रश्न अगाडि आउँछ, ओली सरकारको भनाइ र गराइमा रहेको विरोधाभासले जनतालाई निराश बनाउँछ । यसले भविष्यप्रति आशंका र अनिश्चितता सिर्जना गरेको छ ।

बीसौं शताब्दी परिवर्तन र क्रान्तिको शताब्दी थियो । यो अवधिमा उपनिवेशवाद, साम्राज्यवाद र पश्चिमी हैकमवादविरुद्ध ठूलठूला संघर्ष भए, धेरै राष्ट्र स्वतन्त्र भए । यो संघर्षका क्रममा धेरै नयाँ नेताको उदय भयो, जसले उपनिवेशवादमा निहित असमान राजनीतिक–आर्थिक मुद्दाका विरोधमा आफ्नो ज्यान बाजी राखेर लडे र सफल पनि भए, सत्तामा पनि पुगे ।

एउटा यथार्थ के देखियो भने,आफ्नो देशका जनताको स्वतन्त्रता र उन्नतिका लागि लडेका नेताहरू सफल भएर सत्तामा पुगेपछि क्रान्तिकारीबाट शोषकमा रूपान्तरित भए । इन्डोनेसियाका प्रथम राष्ट्रपति सुकार्नो र घानाका क्वामे नप्रुमा यसका उदाहरण हुन् । यी संघर्षशील नेताहरू सत्तामा पुगेपछि नयाँ शोषक बन्न पुगे, जनताको उत्थानको सट्टा आफू र आफ्नो समूहको स्वार्थ र हितका नयाँ राजनीतिक–आर्थिक शोषकका रूपमा देखापरे ।

शोषक र शोषितको सम्बन्धबारे एउटा प्रभावशाली धारणा के छ भने, हरेक शोषितको मनको अन्तरकुन्तरमा मौका पाएका बेला आफू पनि आफूलाई शोषण गर्नेजस्तै शोषक हुनपाए हुन्थ्यो भन्ने आकांक्षा रहन्छ । सायद यही कारणले गर्दा, बीसौं शताब्दीमा विभिन्न नयाँ र स्वतन्त्र देशमा उदाएका नेताहरू शासनमा पुग्नेबित्तिकै हिजो आफूले संघर्ष गरेका मूल्य–मान्यता बिर्सेर पुराना शोषकको नयाँ अनुहारका रूपमा देखापरे । जहाँ यस्तो स्थिति सिर्जना भयो, त्यहाँ ठूलो संघर्षपश्चात् आएका उपलब्धिहरू हराएका छन्, अनि देश फेरि अराजकता र अनिश्चितताको भुमरीमा डुबेको छ ।

लामो संघर्ष र राजनीतिक उथलपुथलबाट १६ महिना अगाडि जनताको मतबाट आएका प्रधानमन्त्री ओलीको शासनशैली हेर्दा शोषितको स्थितिबाट आएको व्यक्ति नयाँ शोषकका रूपमा अगाडि बढ्ने प्रयासमा रहेको भनेर शंका गर्ने ठाउँहरू देखापरेका छन् । भाषणमा लोकतन्त्र र जनअधिकारको दुहाई दिने र व्यवहारमा लोकतन्त्र र जनहितप्रति आँखा चिम्लिने ओली सरकारको शासनशैली गम्भीर चिन्ताको विषय बनेको छ ।

माइतीघर माथिको आक्रोश
माइतीघरसँग यो सरकारलाई त्रास छ । दुई तिहाइको सरकारमा भएका भ्रष्टाचार, ऐन–नियमको उल्लंघन, सरकारी कुशासनको यथार्थता र विकासका नाममा जनताको साधनस्रोत माथिको खेलबाड विरुद्ध आवाज उठाउने ठाउँका रूपमा माइतीघर आज नेपालीको मनमस्तिष्कमा बसेको छ ।

‘क्रान्तिकारी’ कमरेडले भरिएको सरकारलाई यस्तो आवाज मन नपर्नु स्वाभाविक थियो । त्यसैले माइतीघर मण्डलामा आवाज उठाउन नदिने प्रयास भयो, कानुनी रूपमा रोक्ने प्रयास भयो । यद्यपि त्यो सफल हुनसकेको छैन, सफल हुनेवाला पनि छैन । जनताको आवाज माइतीघरमा उठ्न नपाओस् भन्ने सरकारी चाहनालाई गुठी विधेयकका विरोधमा माइतीघर क्षेत्रमा निस्केका उपत्यकावासीले राम्रो जवाफ दिएका छन् ।

हो, प्रधानमन्त्रीले भनेजस्तो लोकतन्त्रमा कतिपय विवाद संवादबाटै टुंगिन्छन्, तर सत्ताको अहंमा जब सरकार जनतालाई निरीह र कमजोर वस्तुका रूपमा देख्न थाल्छ र आफूभन्दा जान्ने यो संसारमै कोही छैन भनी आलोचनाको आवाजलाई सामन्तवादको अवशेषका रूपमा व्याख्या गर्ने बौद्धिक दिवालियापन देखाउँछ, त्यसबखत उसलाई यथार्थको अनुभूति गराउन माइतीघरकै आवश्यकता पर्छ । त्यसैले माइतीघर साँच्चिकै जनताको माइतीघर हो ।

कस्तो समृद्धिको यात्रा
प्रधानमन्त्रीले उक्त पत्रकार सम्मेलनमा देश समृद्धिको मन्त्र लिएर अगाडि जाने उल्लेख गर्नुभएको छ । तर, कस्तो समृद्धि ? कसका लागि समृद्धि ? यो प्रश्नको जवाफमा अर्को प्रश्न गर्नुपर्ने हुन्छ ः वाइडबडी विमान खरिद प्रकरणमा ५ अर्बभन्दा बढीको लुट भएको यथार्थ सबैसामु स्पष्ट छ र यसबारे सरकार आफैले घोषणा गरेको अनुसन्धान समितिसम्म पनि गठन नगरेर नाङ्गो भएको छ, यस्ता अर्बौंको घोटाला कसरी भए र यसबाट कसको समृद्धि भयो ? यसको जवाफ अब कहाँ खोज्ने ?

जनताका लागि यस्ता लुट र शोषणको जवाफ खोज्न ढिलो–चाँडो माइतीघर देखापरेको छ र यो आवाज रोकिने छैन । सरकारको १६ महिने शासन केलाउँदा भ्रष्टाचारको वृद्धिलाई नै समृद्धिको बाटो भनेजस्तो देखिन लागेको छ । यस्तो चरित्रको शासनले आफूलाई जतिसुकै लोकतान्त्रिक भने पनि यसको मूल्य–मान्यताले अधिनायकवादतर्फ धकेल्नु स्वाभाविक देखिन्छ । जहानियाँ शासनलाई पनि बिर्साउने सरकारी साधनस्रोत माथिको लुट, आर्थिक अनुशासनहीनता र कर्मचारीतन्त्रलाई भ्रष्टाचारका लागि प्रयोग हुने हतियारका रूपमा हेर्ने मान्यताका क्रममा उजागर हुने कुरूपतालाई बाहिर आउन नदिन प्रेस बाधकका रूपमा आउँछ ।

त्यसैले प्रेसलाई तह लगाउन र मुख थुन्न प्रेस स्वतन्त्रतालाई बन्देज गर्ने प्रयास भैरहेछ । विडम्बना के छ भने, विगतमा प्रेस स्वतन्त्रतालाई प्रजातन्त्रको मुटु सम्झेर माइतीघरमा आवाज उठाउनेहरूले आज प्रेस स्वतन्त्रतामाथि आफैं झाँक्री र आफैं बोक्सी हुने खालको विधेयक ल्याएका छन् । यथार्थमा जब आफूलाई वामपन्थी भन्ने सरकार व्यवहारमा द्रव्यपन्थी र सुविधापन्थीमा रूपान्तरित हुनथाल्छ, त्यसबखत स्वतन्त्र प्रेस काँडाका रूपमा देखिन थाल्छ र प्रेसलाई दमन गर्ने हरकिसिमको प्रयास गर्नु निश्चितप्रायः हुनआउँछ । अब कुनै दिन मानव अधिकार आयोगले पनि माइतीघरमै अनशन बस्ने स्थिति आए आश्चर्य नमाने हुन्छ ।

मोर्चाबन्दी
वर्तमान शासनशैलीले नेपालमा लोकतन्त्र मास्ने काम मात्रै गरेको छैन, भ्रष्टाचार र पक्षपातलाई अघोषित आदर्श पनि सम्झेको छ । जनताका लागि मल छैन, तर प्रधानमन्त्रीका लागि नयाँ निवास, राष्ट्रपतिका लागि अर्बौंको नयाँ सुविधा र अब त काठमाडौंमा प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई समेत अर्बौं खर्च गरेर नयाँ भवनहरू बन्ने ‘विकास’ योजना सार्वजनिक भएको छ ।

देशको अर्थतन्त्रलाई समेत धराशायी गरेर नेपाल बूढा र बालबच्चाको देशमा रूपान्तरित हुँदैछ । वर्तमान शासकहरूलाई यसबारे चिन्ता नहोला, किनभने अधिकांश युवाले देश छाडेपछि विरोधको डर कम हुने भयो । तर ओली सरकारको १६ महिने यात्रामा देश खोक्रो हुँदै गएको छ, जनता निराश हुँदै गएका छन् र आक्रोश बढेर गएको छ ।

गुठी विधेयक विरुद्ध निस्केको जुलुस राजनीतिक अधिनायकवाद र आर्थिक अराजकताप्रतिको आक्रोश पनि हो । यस दृष्टिकोणले हेर्दा, आज देशमा कहीँ कतै नयाँ मोर्चाबन्दी हुँदैछ भने त्यो वर्तमान सरकारभित्रका हजुरिया पुँजीवादी, दलीय भागबन्डावादी र सिद्धान्तविहीन, अधिनायकवाद–उन्मुख द्रव्यपन्थीहरूबीच हुँदैछ । यसलाई बेवास्ता गरेर आफूबाहेक अरू सबैलाई लोकतन्त्र विरोधी देख्नुले आउँदा दिनहरूमादेशलाई संकटतिर धकेल्ने सम्भावना स्पष्ट हुँदैगएको छ ।

लेखक राष्ट्रिय प्रजातन्त्र फार्टी (संयुत) का अध्यक्ष हुन् ।

प्रकाशित : असार १२, २०७६ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

हामी साह्रै खुसी छौं सरकार !

साधना प्रतीक्षा

भूकम्पले भत्काएका घर बनाउन नसकी अझसम्म टहरामै बस्नुपरे पनि तिमीले नामी सहरमा बनाउन लागेका सपिङ मल र भ्यु टावरको सुखको कल्पना मात्र गर्दा पनि हामी खुसी छौं, सरकार ! ज्यान हत्केलामा राखेर तुइन र जीर्ण झोलुङ्गे पुलमा झुन्डिएर दैनिकी चलाउन बाध्य हामी दुर्गमबासी तिमीले प्रशान्त महसागरमा कुदाउन लागेको नेपाली ध्वजावाहक पानीजहाज र राजधानीमा गुडाउन लागेको मोनोरेलका सपनामा रमाएर साह्रै खुसी छौं सरकार !

झन् तिमीले आगामी आर्थिक वर्षमा तथ्याङ्क विभागमार्फत् ‘सुखी नेपाली समृद्ध नेपाल’ को नारालाई आधार बनाएर हाम्रो खुसी मापनका लागि सर्वेक्षण गर्ने योजना ल्याएको खबर सुनेर त हामीले खुसी थाम्नै सकिरहेका छैनौं । तर त्यस्तो कष्ट नगर, बरु त्यसका नाममा आफ्ना इच्छ्याएका व्यक्तिहरूलाई टीका लगाएर दक्षिणा बाँडिदेऊ ।

व्यर्थै गाउँघर चहारेर विवरण किन संकलन गर्नु ? शिक्षा, स्वास्थ्य, वातावरण, सुशासन, संस्कृति लगायत तिमीले तय गरेका सर्वेक्षणका आधारहरू दुर्गम गाउँवस्तीमा नभेटिन सक्छन् । सिंहदरबार या कुनै तारे होटलमा ककटेल पार्टी गरी जुनेली रातको सुन्दर नजारा हेर्दै तिमीले आम नेपालीको खुसीको अनुमान लगाउन सकिहाल्छौ नि !

खोलेसाग र सिस्नो अनि गिठा, भ्याकुरले जीवन निर्वाह गर्नुपर्ने हामी त्यही सिस्नोका पातहरू पनि झुसिल्कीराले सखाप पार्दा अनि गिठा, भ्याकुरमा खोइरो लाग्दा भोकै बस्नुपरे पनि गुनासो गर्दैनौं । हामी तिमीले बाँड्दै आएका समृद्धिका सपनाले अघाएका छौं ।

हाम्रा कलिला सन्तानको सुनौलो भविष्य इँटाभट्टा र गलैंचा कारखानामा कैद भए पनि, चेतनाको झिल्को नपुगेको घरआँगनबाट गरिबीले खेदिएर सुख खोज्दै सहर पसेका हाम्रा अबोध छोराछोरी सहरका सडक र गल्लीहरूमा ‘डेन्ड्राइट’ को गन्ध सुँघी अघाएर लट्ठिँदै भुस्याहा कुकुरसँगै गुडुल्किए पनि, होटल–रेस्टुरेन्टका अँध्यारा छिँडीमा लुकेर हात कुहाउँदै भाँडा माझिरहेका भए पनि, दूधमुखे बालिका र किशोरीहरू दिनदिनै यौनहिंसाको सिकार भैरहँदा र अपराधी उन्मुक्त भैरहँदा पनि यदाकदा तिमीले घन्काउने बालअधिकारका नारा सुनेर हामी खुसी नै छौं, सरकार !

हाम्रा बारी–फोहोटा जोत्ने, हाम्रोबुढ्यौलीको सहारा लक्काजवान छोराहरू खाडीतिर ओइरिनाले दैलामुनिसम्म तीतेपाती उम्रँदा पनि दुःखी छैनौं, सहरका घरका कौशीमा फलेका तरकारी र फलफूलका दृश्य हेर्दै मक्ख परेका छौं । किसानको गला रेटेर, उपभोक्ताको खल्ती रित्त्याएर बिचौलियाहरू मोटाउँदा पनि, स्वदेशी उद्योगधन्दा ठप्प पारेर मुलुकलाई परनिर्भर बनाए पनि, दस प्रतिशतले तलब बढाउँदा बीस प्रतिशतले महँगी बढाइए पनि तिम्रो सुशासनको नारा जपेर हामी खुसी नै छौं, सरकार !

हाम्रो भाषा, कला, साहित्य र धर्म–संस्कृतिमाथि जति नै प्रहार गरिएका भए पनि, निरन्तर सांस्कृतिक सम्पदा र धरोहरमाथि अतिक्रमण हुँदा अनि तिनको संरक्षण र संवर्द्धनका नाममा गुठी विधेयकको नाटक मञ्चन हुँदा पनि हामी दुःखी हुन पाएनौं, किनकि तिमीले निर्धक्क भित्र्याएको ‘होली वाइन’ को नशामा लट्ठिएर हामी खुसी मनाइरहेकै छौं, सरकार !

नेपाली बोल्दा हीनताबोध गर्नुपर्ने अवस्था आए पनि, हाम्रा चाडपर्वहरू हराउँदै विदेशी संस्कृति फस्टाइरहे पनि, क्यानभासमा नेपालभन्दा विदेशीकै संस्कृतिको वर्चस्व स्थापित भए पनि हामी खुसी हुन विवश छौं, सरकार ! किनकि, पुँजीवाद र विस्तारवादको विरुद्ध लड्ने तिम्रो हुँकार रत्तीभर घटेको छैन, सांस्कृतिक क्रान्ति गर्ने वाचा पटकपटक दोहोरिएकै छन् । त्यसैले नेपालको विशिष्ट सांस्कृतिक विविधतालाई समूल नाश नपार्दासम्म हामी खुसी नै छौं, सरकार !

सिटामोल र जीवनजल नपाएर छटपटिनुपरे पनि, दुर्गमका स्वास्थ्यसंस्थामा दक्ष जनशक्ति र उपकरणको अभावका कारण अकालमा ज्यान गुमाउनुपरे पनि तिम्रो ‘सबैका लागि स्वास्थ्य’ नारा सम्झँदै अनि राजधानी र सहरकेन्द्री सुविधासम्पन्न अस्पतालका सपना देख्दै, स्वास्थ्य क्षेत्रको सुधारका लागि अनशन बसिरहने गोविन्द केसीले झोलाभरि बोकेर ल्याउने ओखतीका भरमा पनि हामी खुसी छौं, सरकार !

नातावाद र कृपावादले जेलिएको प्रशासनयन्त्रभित्र सोझा–निमुखा सेवाग्राही हामी रनभुल्ल परिरहँदा, योग्यता र क्षमता होइन व्यक्तिगत सम्बन्ध र आर्थिक लेनदेनका आधारमा सरकारी, अर्धसरकारी तथा गैरसरकारी रोजगारदाता निकायहरूमा पदपूर्ति गरिँदा पनि, दैनिक रूपमा सयौं युवा–युवती विदेसिँदा, शिक्षित युवाहरूको झन्डै दुईतिहाइ बेरोजगार हुँदापनि, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमले हामी हौसिएकै छौं, सरकार !

विश्वविद्यालय र प्रज्ञा प्रतिष्ठानलाई विशुद्ध प्राज्ञिक नेतृत्व प्रदान गरी अधिकारसम्पन्न गराउनुको साटो झन्डा, बन्डा र डन्डाको संस्कृति स्थापित गरिए पनि, खुला प्रतिस्पर्धाका आधारमा योग्य र सक्षम व्यक्तिहरूलाई नियुक्ति नदिई पहुँचवालालाई ल्याइए पनि, विश्वविद्यालयका अनुसन्धान केन्द्रहरूमा माकुराको जालो र गाईको भकारो थुप्रिए पनि, शिक्षाको गुणस्तर सुधारका नाममा खर्चिने बजेटको सुगन्धले नै हामी खुसी छौं, सरकार !

निजी विद्यालयको शुल्कले अभिभावकको ढाड सेकिए पनि, घरखेत नबेची छोराछोरी पढाउन नसक्ने अवस्था आइपरे पनि, दुर्गम गाउँबस्तीमा विद्यालय शिक्षा नाम मात्रको भए पनि सबैका लागि सर्वसुलभ शिक्षा भन्ने तिम्रो भाषण सुनेर हामी मक्ख नै छौं ।

अशिक्षित, चेतनाविहीन गाउँबस्तीमा विद्यमान रूढि र अन्धविश्वासका कारण महिला तथा बालिका लैङ्गिक विभेदको सिकार भैरहेका भए पनि, सीमान्तकृत समुदायमाथि सामन्तवर्गको शोषण जस्ताको तस्तै रहे पनि, दाइजो नल्याउने बुहारी जलाउन नछोडिए पनि, बोक्सीको आरोपमा महिलाले यातना पाएकै भए पनि, छाउ बार्ने क्रममा महिलाहरूको ज्यान जोखिममा परिरहे पनि हामी खुसी नै छौं, किनकि हामीले महिला राष्ट्रपति पाएका छौं ।

हाम्रा बालबच्चाले छातीमा भोटो र गोडामा चप्पल लगाउन नपाए पनि, कुपोषणले उनीहरू हाडछाला मात्र भए पनि राष्ट्रपति चढ्ने करोडौंका गाडी र हेलिकप्टरको कल्पनाले मात्र पनि हामी खुसी छौं, सरकार !

संविधानमा संघीय राज्यको व्यवस्था भए पनि व्यवहार र नियतमा भने केन्द्रीकृत राज्यकै शैली अपनाए पनि, केन्द्रले नदिईकन प्रदेश र स्थानीय सरकारले केही गर्न नसक्ने अवस्था भए पनि संघीय व्यवस्था पाएकामा मक्ख नै छौं । विकासको काममा चतुर्मुख हुने तर आफ्नो सुविधाका लागि एकमुख हुने जनप्रतिनिधि भए पनि उनीहरूलेआफ्नो क्षेत्रको विकासका लागि भन्दै मागेको रकम सुनेरै हामी गदगद छौं ।

सदाचार, नैतिकता अनि सिद्धान्तको राजनीति दलहरूको घोषणापत्रबाट हराउँदै गए पनि आआफ्नो स्वार्थअनुसार टुक्रिने र जुट्ने खेलबाट हामीले मनोरञ्जन गरिरहेकै छौं, सरकार ! प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रसम्मको यात्रामा जुनसुकै दलमा पनि सुकिलामुकिला र परिवारवाद हावी भैरहे पनि, चुनाव जितेपछि गाउँ र मतदातालाई चटक्कै बिर्से पनि चुनावताका गरेका वाचा सम्झेर हामी अझै खुसी छौं ।

टुकी बाल्न मट्टीतेल किन्ने क्षमता नभए पनि घरघरमा ग्यास पाइप बिछ्याइदिने तिम्रो उद्घोषका कारण हामी साह्रै खुसी छौं,सरकार ! हामी सर्वसाधारणलाई दैनिक गुजारा गर्न धौधौ परिरहे पनि, आफ्ना निम्नतम आवश्यकता पूरा गर्न सकस परिरहे पनि तिम्रा उखान–टुक्का सुन्न पाएर हामी झनै खुसी छौं । त्यसैले सरकार, हाम्रो खुसी मापनको औपचारिक अनुष्ठान नगरी राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा निर्धक्क घोषणा गरिदेऊ— नेपाली जनता सर्वाधिक खुसी छन् !

प्रकाशित : असार १२, २०७६ ०७:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×