पढाइले बनाओस् ठूलो होइन, असल

साधना प्रतीक्षा

एउटा साहित्यिक कार्यक्रममा एक जना प्राध्यापक भन्दै हुनुहुन्थ्यो, ‘नर्सरीका बिरुवाहरूलाई अब नैतिक तथा मानवीय संस्कृतिले सिञ्चन गर्नु आवश्यक भएको छ ।’ हाम्रो समाजमा दिनानुदिन नैतिक खडेरी फराकिलो हुँदै गरेको सन्दर्भमा उहाँको आशय रूखका बिरुवाप्रति नभई नर्सरी कक्षा पढ्ने बालबालिकाप्रति लक्षित देखिन्थ्यो ।

हुन पनि सृष्टिको सर्वश्रेष्ठ प्राणीको ताज पहिरिएका हामीले आज मानवताका निम्नतम मूल्यहरूको हेक्का राख्नसम्म सकेका छैनौं । के गर्न हुने र के नहुनेको सीमारेखासम्म भेटिँदैन । जसले जे सक्छ, त्यही गरिरहेको छ । निरङ्कुश तन्त्रबाट उन्मुक्ति पाएर प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा हामी ‘लुटतन्त्र’ नै सर्वाधिक शक्तिशाली भएको अनुभव गर्न विवश छौं । त्यसैले त ‘लुट्न सके लुट् कान्छा...’ जस्ता गीत लोकप्रिय हुने गरेका छन् । क्षणभरका लागि रमाइलो लागे पनि कला–साहित्यमा प्रस्तुत गरिने यस्ता व्यङ्ग्यात्मक यथार्थको अर्को पाटोले हाम्रो समाज नैतिक रूपमा कति स्खलित भइरहेको छ भन्ने देखाउँछ ।

कक्षाकोठामा बाङ्देलको ‘लङ्गडाको साथी’ उपन्यास पढाइरहँदा, सडक–गल्लीमा घस्रेर माग्दै पेट पालिरहेको निरीह अनि विकलाङ्ग पात्रलाई स्कुले विद्यार्थीले ‘भुइँभालु’ भन्दै जिस्क्याउने, जाडोले कठ्याङ्ग्रिएको उसलाई हिउँका डल्लाले हिर्काएर मनोरञ्जन लिने प्रसङ्गले मेरो मनमा प्रश्न उब्जाउने गर्छ— मानवता नै पढ्न नसकेपछि के पढेछन् त हाम्रा बालबालिकाले ? मानवीय व्यवहार नै नजानेका उनीहरूको मस्तिष्कमा शिक्षा र ज्ञानको भण्डारै खन्याइदिए पनि त्यसले समाजलाई सकारात्मक गतिप्रदान गर्ला र ?

सामाजिक, राजनीतिक, आर्थिक, शैक्षिक, प्रशासनिक आदि सबै क्षेत्रमा नैतिकता र मानवीय संवेदनाभन्दा भ्रष्टाचार र कमिसनतन्त्रको जालो देखिन्छ । शिक्षित एवं उच्चपदस्थ व्यक्तिहरूमा जनअपेक्षाअनुरूपको नैतिक आचरणको अभाव हुनुले हाम्रो शिक्षा प्रणालीलाई नै उपहास गरिरहेको छ ।

जनताको सेवा तथा देशको विकास गर्न भनी जनमत लिएर राज्यसत्तामा पुग्नेहरू सुविधाभोगी बन्दै जानु, सत्ता र शक्तिलाई देश र जनताका लागिभन्दा आफू र आफ्ना आसेपासेको हितमा प्रयोग गर्नु अनि आफूलाई मालिक र आम नागरिकलाई रैतीका रूपमा हेर्नु हाम्रो राजनीतिक संस्कार बनेको छ । राजनीतिजस्तो सेवामुखी कर्म नाफामुखी व्यवसायमा परिणत भैरहेको छ ।

आर्थिक र प्रशासनिक क्षेत्रमा पनि नैतिकता र इमानदारीको खडेरी छ । सरकारले तोकेको समान तलब सुविधा भएका समान स्तरका कर्मचारीमध्ये कसैको आर्थिक हैसियत सगरमाथामा पुगेको देखिन्छ भने कसैको जहाँको तहीँ । सेवानिवृत्त हुँदा कसैसँग निवृत्तिभरणबाहेक जीविकाको विकल्प हुँदैन भने कसैसँग पुस्तौं पुग्ने अकुत सम्पत्ति हुन्छ । नैतिक आचरण र इमानदारी नै यी दुइटै परिस्थितिका भेदक हुन् ।

व्यक्तिगत स्वार्थमा अन्धो भएको आजको मान्छेले मानवता र नैतिकता मात्र होइन, जीवनको अन्तिम सत्यलाई पनि बिर्सिरहेको छ । त्यसैले ऊ जनताको पसिनाले भरेको ढुकुटी दुरुफयोग गरेर, राष्ट्रलाई खोत्र्याएर, भावी विपत्तिको पर्बाह नगरी प्रकृतिको दोहन गरेर आफ्नै पोल्टा भरिरहेको छ । कुनै कानुनबाट ऊ डराउँदैन । अनेक प्रपञ्च रचेर आफूलाई निर्दोष साबित गर्न खोजिरहन्छ ।

उसको अन्तर्मनले आफूलाई अपराधी मानेकै हुँदैन ! त्यसैले आजको मान्छेलाई आत्मबोध र आत्मज्ञानको आवश्यकता छ । हाम्रो शिक्षाले मानिसलाई ठूलो बनाउने उद्देश्य राखेको छ, असल बनाउन खोजेको देखिँदैन । त्यसैले होला विश्वेश्वरप्रसाद कोइरालाको ‘मोदिआइन’ उपन्यासकी मोदिआइनले बालपात्रलाई भनेकी ‘नानी, ठूलो नहुनू । वीर नहुनू । असल हुनू, असल... ।’ सही शिक्षा त्यही हो जसले मानिसलाई असल बनाउने क्षमता राख्छ ।

विकसित मुलुकका नागरिकहरूमा चाहिँ नैतिक आचरण र मानवीय मूल्यप्रति सचेतता नै देखिन्छ । उनीहरू हरेक पेसा तथा समाज अनि राज्यका नियमको सम्मान गर्छन् । त्यहाँका उच्चपदस्थहरू हाम्राले झैं कारिन्दालाई छाता र जुत्ता बोकाउँदैनन् । उनीहरू भूतपूर्व भैसकेपछि पनि राज्यको सुविधा लिँदैनन् बरु निस्फिक्री आफ्नो पेसामा संलग्न हुन्छन् । हाम्रो शिक्षाले चाहिँ केवल अर्थोपार्जनको उद्देश्य राखेको छ । जीवन निर्वाहका लागि सक्षम नागरिक बनाउने उद्देश्य आफैमा अनुचित होइन, तर नैतिक आचरण नभएको नागरिक के काम ?

नैतिकता र मानवीय मूल्य शिक्षाको अभिन्न अङ्ग हो भन्ने यथार्थ मनन गरी अब प्रारम्भिक तहमा पढ्ने बालबालिकालाई सर्वप्रथम सुसंस्कृत बनाउनेतिर लाग्नुपर्छ । उनीहरूले बुझ्ने शैलीमा, खेलकुद या कथा–प्रसङ्गका माध्यमबाट उनीहरूमा उदात्त चरित्रनिर्माणको आरम्भ गरिदिनुपर्छ ।

विद्यालयमा सिकेका कुरा र आफ्ना शिक्षकको वाणीलाई मात्र सत्य ठान्ने कलिला मस्तिष्कहरूमा नैतिक आचरण, अनुशासन अनि मानवीय मूल्यका सूत्रहरू भरिदिन नसक्ने हो भने विश्वविद्यालयका कक्षामा कवि वर्डस्वर्थको ‘कवि मानवताको गुरु होइन भने केही पनि होइन’ भन्ने भनाइ रटाउँदै नीतिपरक समालोचना पढाउनु वा ‘स्वतन्त्रता, समानता, भ्रातृत्व’ को सूत्र घोकाउँदै रुसोको मानवतावदादी चिन्तन पढाउनु अथवा देवकोटाको ‘भिखारी’ वा लेखनाथको ‘तरुण–तपसी’ पढाउनुको के औचित्य ?

त्यसैले समाजमा विद्यमान विकृति–विसङ्गतिको न्यूनीकरणका लागि प्रौढ पुस्तामा होइन, बाल पुस्तामै नैतिक र मानवीय मूल्य आरोपित गरिनुपर्छ । यसका लागि राज्यको शैक्षिक निकाय तथा सम्बद्ध पक्ष गम्भीर बन्नुपर्ने आवश्यकता देखिन्छ ।

प्रकाशित : जेष्ठ २४, २०७६ ०८:०६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

उत्तिकै सम्भावना मानविकीमा पनि

साधना प्रतीक्षा

काठमाडौँ — हालै एसईई दिएकी एक छात्रालाई प्रसंगवश मैले ‘अब के पढ्ने विचार छ त ?’ भनी सोध्दा अनकनाउँदै जवाफ आयो, ‘मैले भनेर कहाँ हुन्छ र ? मलाई त...।’ सँगै रहेकी उनकी आमा बीचैमा बोलिन्, ‘हो त, यसले भनेर कहाँ हुन्छ ! हामीले नै विचार गर्नुपर्छ । पहिला रिजल्ट त आओस् !’

उनीहरू गएपछि पनि ती नानीको निर्दोष अनुहार र त्यसभिक्र गुम्सिएको अव्यत्त चाहनाले मलाई चिमोटिरह्यो । आफ्नो रुचिको विषय पढ्न नपाएर मिल्ने साथीसँग मनको बह बिसाउँदै हिँंडिरहेका छात्रछात्रा पनि मेरो सम्झनामा आए ।

पढ्नेलाई मन लागोस्–नलागोस्, रुचि होओस् कि नहोओस् पढिदिनुपर्ने बाध्यताका कारण पढाइमा कमजोर भएका, मौका छोपेर कक्षाबाट भाग्ने गरेका, अझ कालान्तरमा नराम्रो संगतमा परेर भविष्य बिगारिरहेका कतिपय किशोर–किशोरी पनि घुमे मेरा आँखाअघि ।

छोराछोरीलाई उनीहरूको रुचि र क्षमता अनुसारको विषय पढ्न दिनुपर्छ भनेर तिनलाई सम्झाउनु जति कठिन थियो, त्यति नै कठिन मानविकी संकायभित्र पनि असंख्य विषय हुन्छन् र ती विषय पढेकाहरूले पनि सहज रूपमा जीविकोपार्जन गर्नुका साथै समाज र राष्ट्रका लागि प्राविधिक विषय पढ्नेले जत्तिकै योगदान गर्न सक्छन् भनेर बुझाउनु पनि थियो ।

एउटा प्रतिष्ठित निजी कलेजमा स्नातक तहका छात्र पढाइमा अत्यन्त कमजोर थिए । उनी प्रायः कलेज आउँदैनथे र आइहाले पनि पढाइमा ध्यानै दिँदैनथे । हरेक वर्ष उनको नतिजा बिग्रेकै हुन्थ्यो । सम्पन्न र शिक्षित बाबुआमाका छोराको यस्तो तालबाट कलेज प्रशासन हैरान थियो । त्यसमाथि अभिभावक आएर बारम्बार गुनासो गर्थे । ती छात्रलाई मनोपरामर्शका माध्यमले सम्झाउने प्रयास गरियो ।

उनीसँग बढी घुलमिल भएका एक शिक्षकलाई केही समय अझै मित्रवत् बन्न भनियो । ती शिक्षकसँग ती छात्रले एक दिन भनेछन्, ‘मलाई पढाइबारे कसैले सम्झाउनु नै व्यर्थ छ । जति प्रयास गरे पनि मैले योभन्दा राम्रो गर्नै सक्दिनँ । म यहाँ आफ्नो रहरले होइन, बाबा–ममीको इच्छाले आ’को हुँ । त्यसैले आफ्नालागि होइन, उहाँहरूकै लागिमात्र पढिरा छु ।’ अन्तर्मुखी ती छात्र दर्शनशास्त्रपढ्नलाई मानविकी संकायमा भर्ना हुन खोजेका रहेछन्, तर परिवार व्यापार–व्यवसायमा संलग्न हुनाले व्यवस्थापन विषय पढ्न बल गरेछन् ।

आमा–बाबुको दबाब अनि परिवारको प्रतिष्ठा जोगाउन भन्दै प्राविधिक विषय पढ्न बाध्य पारिएका कतिपय छात्रछात्रा राम्रो नतिजा ल्याउन नसकेर डिप्रेसनसम्म पुगेका र कुलतमा फँसेका उदाहरण प्रशस्त छन् । विशेषतः मानविकी संकायमा पढ्न चाहनेहरूलाई अभिभावकले रोक लगाउने गरेका छन् । शिक्षा सम्बन्धी पुरातन मान्यता यसको प्रमुख कारण बनेको देखिन्छ ।

कुनै पनि विषय आफैमा कम वा बढी महत्त्वका हुँदैनन्, हासिल गर्ने निपुणताले तिनको महत्त्व निर्धारण गरेको हुन्छ । प्राविधिक विषयमा विद्यार्थीहरूलाई प्रयोगात्मक रूपमा निपुण र सक्षम बनाइने हुनाले रोजगारीका दृष्टिले तिनको महत्त्व बढी देखिएको हो ।

हामीकहाँ अहिले विज्ञान–प्रविधि पहिलो तथा व्यवस्थापन दोस्रो रोजाइमा देखिनुको कारण यही हो । यसो भन्दैमा बाँकी विषय–क्षेत्रहरू कामै नलाग्ने वा बेरोजगार उत्पादन गर्ने हुन् भन्ने पटक्कै सोच्नु हुन्न । विज्ञान–प्रविधिको दायरा सीमित हुन्छ, यसले मानिसलाई यान्त्रिक बनाउँदै लैजान्छ ।

व्यवस्थापन विषयले आर्थिक तथा व्यवस्थापकीय पक्षलाई मात्र समेटेको हुन्छ । मानविकी तथा सामाजिक शास्त्र संकायको दायरा भने असीमित हुन्छ । ज्ञान, चेतना, नवीन विचार तथा चिन्तनको प्रतिपादनदेखि समाज तथा मानव–जीवन सम्बन्धी अध्ययन, कला, भाषा–साहित्य, दर्शन, संस्कृति, पर्यटन, पत्रकारिता, प्रशासन, अर्थशास्त्र, राजनीतिशास्त्र आदिजस्ता असंख्य विषयहरू मानविकी अन्तर्गत पर्छन् । देशको राजनीतिक–कूटनीतिक, आर्थिक, प्रशासनिकआदि क्षेक्रमा यिनै विषयका जनशत्तिको आवश्यकता हुने गर्छ ।

हामीकहाँ उत्कृष्ट अंक ल्याउने विद्यार्थी तथा तिनका अभिभावकको पहिलो रोजाइ विज्ञान–प्रविधि हुनुपर्ने तथा मुस्किलले उत्तीर्ण भएकाले मात्र मानविकी पढ्ने भन्ने गलत मानसिकताले जरो गाडेको छ । फलस्वरूप राष्ट्रको नीति निर्माण तथा राजनीतिक नेतृत्वमा योग्य जनशक्तिको अभाव छ ।

त्यसैले हाम्रो सामाजिक, राजनीतिक, आर्थिक, प्रशासनिक आदि सबै क्षेत्रमा असंख्य विकृति–विसंगति देखिएका हुन् । अब उत्कृष्ट विद्यार्थीहरूले पनि मानविकी तथा सामाजिक शास्त्र संकायका विषयहरूपढ्ने वातावरण बनाइनुपर्छ ।

यो संकायलेआफ्नो पाठ्यक्रम तथा शैक्षिक पद्धतिमा परिमार्जन गर्दै, यसभित्रका नयाँ–नयाँ सम्भावनाको खोजी एवं प्रचार–प्रसार गर्दै अब्बल दर्जाका विद्यार्थी र तिनका अभिभावकहरूलाई आकर्षित गर्न सक्ने हो भने यसप्रतिको वितृष्णा स्वतः हटेर जानेछ ।

राष्ट्रका कुन–कुन निकाय तथा क्षेक्रका लागि कस्तो जनशत्ति आवश्यक छ, कुन विषय पढेकालाई कुन क्षेत्रमा प्राथमिकता दिनु उपयुक्त हुन्छ, शैक्षिक क्षेत्रलाई कसरी व्यावहारिक बनाउने भन्ने सोच तथा इच्छाशक्तिभन्दा पनि पदलोलुपता र निजी स्वार्थमा अल्झेको नीतिनिर्माण तहका कारण शैक्षिक सुधार केवल नारामा सीमित बनेको हो । देशको शैक्षिक नेतृत्वले हरेक विषयको उपादेयता तथा त्यसभित्रका विविध सम्भाव्यताको खोजी गर्नुपर्छ ।

अभिभावक वर्गले पनि छोराछोरीको पढाइ तथा भविष्यलाई प्रतिष्ठाको विषय बनाउनेभन्दा उनीहरूलाई विषय चयनको स्वतन्त्रता दिएर आवश्यक मार्गदर्शन गरेमा विद्यार्थीहरू अनिच्छाले पनि पढिदिनुपर्ने बाध्यताबाट मुक्त भएर स्वःस्फूर्त रूपमा आफ्नो लक्ष्यतर्फ अग्रसर हुन सक्नेछन् ।

प्रकाशित : वैशाख १३, २०७६ ०८:१६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT