मुस्लिममाथि किन शंका ?

डेटलाइन तराई
चन्द्रकिशोर

अन्तरजातीय र अन्तरसामुदायिक अन्तरक्रिया विस्तृत र सघन हुँदै छ । त्यसैले मुस्लिम समुदायको मुख्य पर्व इदका अवसर पारेर ‘इद मुबारक’ दिने चलन बढ्यो । राजनीतिक र सामाजिक रूपमा रोजाको अवधिमा एकअर्का समुदायमाझ ‘इफ्तार’ भोज दिन थालियो र त्यसमा सहभागिताको क्रम बढ्यो ।

तर पनिबढ्दो अन्तरसामुदायिक सम्बन्ध र अन्तरनिर्भरताका बाबजुद फरक सांस्कृतिक पृष्ठभूमि बोकेका समुदायको सरोकार फरक ढङ्गले नै प्रस्तुत भइरहन्छ । सामञ्जस्य खोजीको क्रममा अर्को समुदायप्रति उदारताको प्रदर्शन केवल तिनका पर्वहरूका अवसरमा मात्र नभई दैनिक जीवनमा सामुदायिक रूपमा भोग्नु परिराखेको तगाराहरूले पनि निर्धारण गर्छ ।

कुनै समुदाय विशेष पछाडि परिराखेको छ भने त्यस समुदायभित्र लोकतन्त्रलाई मजबुत बनाउन आम नागरिकको जीवन पद्धतिसँग एकाकार गराउनु लोकतान्त्रिक आन्दोलनको कार्यभार हो । प्रत्येक समुदाय गतिशील छ, हुन्छ । मुलुकसामु लोकतान्त्रिक जग निर्माण गर्ने ऐतिहासिक अवसर पुनः एक पटक उपलब्ध छ । त्यसैले नेपाली मुस्लिमहरूसँग स्वयं राज्य र अन्य समुदायले संवाद गर्नु जति जरुरी छ त्यत्तिकै मुस्लिम समुदायमा पनि आन्तरिक संवाद खाँचो छ ।

नेपाल बहुजातीय र बहुराष्ट्रिय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक र भौगोलिक विविधतायुक्त मुलुक हो । यहाँ
उद्गमको हिसाबले विभिन्न नश्ल समूहका जातीय समूहहरू, भाषागत हिसाबले विभिन्न भाषा परिवार, धार्मिक हिसाबले अनेकौं धर्म, भूबनोटका हिसाबले पनि विभिन्न हिस्सामा विभक्त, नदी प्रणालीका हिसाबले अनेकन स्वतन्त्र जलाधार क्षेत्रमा विभाजित छ ।

यी सबैको प्रभाव यहाँको सरहदभित्र बसोवास गर्नेहरूको जीवनशैली, रहनसहन, भेषभूषा, उत्पादन पद्धति, सांस्कृतिक सम्पदा लगायत विभिन्न पक्षमा परेको छ । त्यसैगरी परस्पर सम्बन्ध र अन्तरघुलनको लामो कथा छ । यी सबका बाबजुद सबै समुदायको समान हैसियत छैन ।

मुस्लिमहरूको बसोवास र आगमनको पृष्ठभूमि तिनीहरूमाझ फरक फरक छ । तर यतिखेर उनीहरू राज्यसँगको सम्बन्ध निर्धारणमा आफूलाई सगोलमै ‘मुस्लिम’ पहिचान मुखरित गर्न प्रतिबद्ध छन् । अन्य वञ्चित समूहहरू जस्तै मुस्लिमका पनि साझा समस्या छन् र केही समस्या यी समुदायका मौलिक पनि छन् ।

राज्यसँगको वैधानिक सम्बन्ध स्थापित गर्न नागरिकता नै लिनुपर्दा रैथाने मुस्लिमहरू अनेकौं भूमरीबाट गुज्रिनुपर्छ । हजुरबुवा र बुवाको थरसँग मिलेन भने त्यसमा पनि अप्ठ्यारो । पहिला जेजस्तो थर भए पनि नागरिकता प्रमाणपत्रमा नाम लेख्दा सरकारी पक्षले पुछारमा ‘मियाँ’ लेखिदिन्थे ।

सांस्कृतिक वा आधुनिक मूल्यप्रति सचेत रही नाम राख्न खोज्दा त्यसको हिज्जे बिगारिदिने । एक मुस्लिम अधिकारकर्मीले भने, ‘उनको नाममै श्री जोडिदियो । उनले जिल्ला प्रशासनमा जतिसुकै सम्झाउन खोज्दा पनि उनीहरूले सच्याउन नमानेपछि स्थानीय तहबाटै सुधार्नुपर्‍यो ।’ यसले देखाउँछ यो समुदायप्रतिको जानकारीको अभावले पनि अनेकौं अप्ठ्यारा परेका छन् । त्यसैगरी सरकारी सेवाका निम्ति क्लस्टरछुट्याउँदा ‘मुस्लिम’का लागि पनि राखियो । तर त्यसको प्रतिशत छुट्याएको छैन । तीनै तहका सरकारले उपलब्ध गराउने अवसरमा उनीहरूले जनसंख्याका आधारमा पाउनुपर्ने कोटाबाट वञ्चितिको अवस्था छ ।

वामपन्थी राजनीतिले नेपाली सन्दर्भमा मुस्लिमहरूलाई लोभ्याउने काम गरिरहेको छ । तुष्टीकरणको राजनीतिले मुस्लिम समुदायको सुरक्षा, स्वायत्तता र समृद्धिको चाहना पूरा हुन सक्दैन । मूलतः मुस्लिम समुदायभित्रको उकुसमुकुसलाई सुन्नुपर्छ । यतिखेर भूराजनीतिक सरोकार राखेर कतिपय कोणबाट मुस्लिमहरूलाई विकास चाहिएको हो कि विभाजनकारी सोच भन्ने आक्षेप लगाउने गरिएको छ ।

मुस्लिम समुदायभित्र पनि तिनका संस्कृति र समाजसँग जोडिएका प्रत्येक कुराको बचाउ गर्ने स्वस्फूर्त तत्परता देखिन्छ । कतिपय कठिनाइ समाधानका लागि उनीहरूमा काल्पनिक खलनायकतिरको संकेत पाइन्छ । मूलतः मुस्लिमलाई ‘शक’ र ‘खौफ’को अवस्थाबाट बाहिर ल्याउनु जरुरी छ । यो सबैको साझा कार्यभार हो । यसै वैचारिक आधारमा टेकेर नै नेपालका मुस्लिमहरूको सबलीकरण प्रक्रिया बढाउनुपर्छ । यस्तो भएपछि नै ‘हामी’ र ‘उनी’को पर्खाल भत्कन्छ र सबैका लागि उन्नतिको सपनाले मूर्तरूप लिन सक्छ । तब नै आधुनिक र जीवन्त नेपालको पहिचान साँचो अर्थमा स्थापित हुन्छ ।

मुस्लिम समुदायसँग जोडेर अनेकौं मिथक खडा गरिएको छ । त्यसको वास्तविकताबारे चर्चा हुनुपर्छ । अनि मात्र मुस्लिम सरोकारको सार्वजनिक लेखाजोखाले गुरुत्त्व पाउँछ । उनीहरू बढी सन्तान राख्छन्, सरसफाइप्रति बेवास्ता गर्छन्, अतीतप्रतिको चरममोह र कट्टरपन्थी रुझान राख्छन् जस्ता कुरा गरिन्छ । मधेसमै जहाँ सघन मुस्लिम बसोवास छ त्यस्ता ठाउँलाई लोकबोलीमा ‘मिनी पाकिस्तान’ भन्ने गरिन्छ । तथ्यांकहरूले नै भन्छन्, मुस्लिम समुदायमा सानो परिवारप्रति रुझान बढेको छ ।

हो गरिब र अशिक्षित जमातमा प्रजनन दर बढी हुन्छ त्यसकोणबाट हेर्ने हो भने मुस्लिम महिलाको प्र्रजनन दर तुलनात्मक रूपमा बढी छ । आर्थिक सम्पन्नता र शिक्षाको स्तर बढ्दै जाँदा आवादी विस्फोटको मिथक आफै भत्कन्छ । मुस्लिम समुदायको गरिबी समाप्त पार्न के गर्ने ? शिक्षाको दर वृद्धि गर्न कहाँ चुक भयो ? मुस्लिम महिला अझै उच्चस्तरको शिक्षाबाट वञ्चितिमा छन् । राष्ट्रिय साक्षरता दरभन्दा मुस्लिम समुदाय निकै पछाडि छ । शिक्षा र चेतनाको फैलावटबिना आर्थिक अवसरमा पहुँच पुग्दैन ।

इस्लाममा पवित्रता र स्वच्छतालाई जोड दिइएको छ । ‘तहारत’ यस्तो अनुष्ठान र प्रक्रियालाई भनिन्छ, जो कुनै एक व्यक्ति वा समाजको स्वच्छता र स्वास्थ्य एवं ऊर्जा वृद्धिका लागि सम्पादन गरिन्छ । प्र्रत्येक समाजको धार्मिक विश्वासले त्यस समाजको स्वास्थ्य र स्वच्छतामा महत्त्वपूर्ण भूमिका खेल्छ । भनिन्छ, इस्लाम धर्ममा आचरणको शुद्धता, मानसिकर शारीरिक स्वच्छताको निकै महत्त्व छ ।

त्यसो भए मुस्लिम टोलहरूमा देखिएको सरसफाइको कमी उनीहरूको सांस्कृतिक विरासत होइन । यो त उनीहरूले सीप र खुबी खियाउन नसक्दा प्रकट भएका विपन्नताले गर्दा भएको हो ।

नेपालभित्र मुस्लिम समुदायको ऐतिहासिक योगदान छ । तर अब अतीतको गौरवगाथामा अल्झिनुभन्दा वर्तमानको प्रतिस्पर्धात्मक युगमा सबल र सक्षम हुन राज्य संयन्त्रमा आफूलाई मजबुतसँग उभ्याउन सक्नुपर्छ । राज्यको कुन कुन संरचना, निकाय र क्षेत्रमा समानुपातिक प्रतिनिधित्व, कुन कुन संरचना, निकाय र क्षेत्रमा क्षतिपूर्तिसहितको प्रतिनिधित्व र कुन कुन संरचना, तह र क्षेत्रमा अनिवार्य प्रतिनिधित्व आवश्यक हो, जायज हो र सम्भव हो भन्नेबारे मुस्लिम अधिकारकर्मीहरू अन्योल र अस्पष्ट रहनु अर्को चुनौती हो ।

कमजोर सैद्धान्तिक प्रस्तावनामा उठेका माग र आपूर्ति गरिएका अधिकारले दीर्घकालीन रूपमा मुस्लिम अधिकार संरक्षण गर्न सक्दैन । त्यसैले धार्मिक आस्था निश्चित रूपमा कुनै व्यक्ति वा समुदायको निजत्वसँग जोडिएको पक्ष हो । तर युगान्तकारी फड्को मार्न लोकतान्त्रिक मान्यताकोखुड्किलो उक्लिएर नै आत्मनिर्भर बन्न सकिन्छ । दोस्र्रो बिर्सिन नहुने पक्ष के हो भने आर्थिक एवं सामाजिक दुवै दृष्टिले यो समुदायलाई पारस्परिक आत्मनिर्भरताबीच उभ्याएको छ । बहुसंख्यकको मनोवैज्ञानिक आवश्यकताप्र्रति पनि संवेदनशील हुन मुनासिब छ ।

मुस्लिम समुदायका अगुवा विशेषलाई किन विवादित बनाइन्छ ? किन तिनका नागरिकता र भूमिकामाथि प्रश्न उठ्छ ? किन यो समुदायको धरातलीय यथार्थबारे राजनीतिक र सामाजिक विमर्श हुँदैन ? उन्नत सीपसँग जोडिएको यो समुदायले किन सिर्जनशील अवसर पाउन सकेनन् ? राज्यसँगको संघर्षमा किन मुस्लिमहरूलाई कित्ताकाट गरिन्छ ?

मुस्लिम सघन आवादी भएको क्षेत्रमा गुणस्तरयुक्त विद्यालय/कलेज, अस्पताल, उद्योग किन खुल्न सकिरहेको छैन ? मुस्लिम समाजभित्र रहेका ती परम्परा जो आधुनिक उन्नतिकोसाङ्लोका रूपमा रहेका छन् तिनलाई हटाउन किन आन्तरिक विमर्श हुँदैन ? नेपालका मुस्लिमहरूले नेपालीय माटो सुहाउँदो सरोकार उठाउनुपर्ने होइन ? यी प्रश्नहरूबारे स्वयं मुस्लिम समुदायभित्र छलफल हुनुपर्छ । अन्य समुदायले पनि मुस्लिम सरोकारप्रति ध्यान नदिने, चिन्तन नगर्ने मनोवृत्ति राख्ने हो भने त्यो बन्द समुदायका रूपमा देखापर्छ र अनेकौं अनुमान र आशंकाको खेती गर्न थालिन्छ ।

datelineterai@gmail.com

प्रकाशित : जेष्ठ २३, २०७६ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्

महानगर बनाउने प्रविधि छनोट

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाले ‘एनिटाइम टोइलेट’ एपको डेभलपरलाई पुरस्कृत गरेको छ । महानगरले गत मंसिरबाट सुरु गरेको स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धामा उक्त एपलाई उत्कृष्ट मानी ५ लाख रुपैयाँसहित पुरस्कृत गरेको हो ।

‘हाम्रो काठमाडौं, हामी बनाउँछौं’ नारा दिएर सुरु गरिएको प्रतिस्पर्धाका विजेता उक्त एपबाट सहरभित्रका शौचालयहरू स्मार्टफोनबाटै पत्ता लगाई प्रयोग गर्न सकिने छ ।

बुधबार सभागृहमा आयोजित एक कार्यक्रमबीच एपका विकासकर्ताहरूलाई पुरस्कार प्रदान गरियो । महानगरपालिकाले विभिन्न ४ विषयमा हुने समस्या समाधानका लागि प्रविधिको उपयोग कसरी गर्ने भन्ने सन्दर्भमा युवाहरूबीच प्रतिस्पर्धा गराएको थियो । प्रत्येक समूहबाट विजेता भएकालाई २/२ लाख र उपविजेतालाई १/१लाख नगद प्रदान गरिएको हो ।

महानगरीय सामुदायिक सेवातर्फ डिजिटल नेपाल विजेता भएको छ भने उपविजेता नेपाल मेड नामक प्रविधि टोली छ । डिजिटल नेपालको टोलीले विद्यालय तथा अन्य संस्थामा कर्मचारीको नियमितता, कार्य सम्पादनको अवस्था, गुनासा आदिबारे प्रमुखले सजिलै जानकारी पाउन सक्ने एपको विकास गरेकाले समूह विजेता भएको हो ।

यसैगरी सहरी पूर्वाधार विकासतर्फ ट्राफिक म्यापका निर्माता टोली पुरस्कृत भएका छन् । उनीहरूले सवारी संख्या र प्रकृति छुट्याएर गन्न सक्ने क्षमता भएको प्रविधि विकास गरेबापत् विजेता भएका हुन् । उपविजेता सफासहर नामक टोली भएको छ ।

सार्वजनिक प्रशासन तथा व्यवस्थापन समूहतर्फ भूमि एपलाई उत्कृष्ट भनी पुरस्कृत गरिएको छ । उक्त एपले जग्गा जमिनबारे डिजिटल जानकारी गराउने र तथ्यांक राख्ने गर्दछ ।

उक्त समूहको उपविजेता अटोमाटालाई घोषणा गरिएको छ । यसैगरी समुदाय र वातावरण समूहमा एनिटाइम टोइलेट एप निर्मातालाई पुरस्कृत गरिएको छ । आफैंलाई जन्डिस हुँदा शौचालयको समस्या भोग्नुपरेपछि एप निर्माताले यसबारे सोच्न पुगेका थिए । यस एपमा प्रयोगकर्ताले विभिन्न रेस्टुरेन्ट, होटल, सार्वजनिक शौचालयजस्ता स्थानमा रहेका शौचालयबारे जानकारी लिन सक्छन् । यस्तै प्रविधिको प्रयोग श्रीलंकामापनि भइहरेको टोलीले जनाएको छ ।

गत मंसिरमा युवाहरूलाई महानगरभित्रका समस्या समाधानका लागि प्रविधिको उपयोग कसरी गर्न सकिन्छ भन्नेबारे आआफ्ना योजना पेस गर्न आहृवान गरिएको थियो । ६ महिनाभित्रमा ती योजनामध्येबाट अन्तिम चरणमा जम्मा २४ वटा पुगेका थिए । यो समयमा उनीहरूका योजनालाई कार्यान्वयनको चरणमा कसरी लाने, ती योजनालाई अझ परिष्कृत बनाउने, व्यावसायिकता तथा कानुनी पाटोलगायतबारे सहभागीलाई जानकारी गराइएको थियो ।

आफूले सोचेको विषयलाई प्रविधिसँग जोड्नुका साथै त्यसलाई कसरी व्यावसायीकरण गर्न सकिन्छ भनेर योजना बनाउने जिम्मा प्रतिस्पर्धीलाई दिइएको थियो । प्रतिस्पर्धामा प्रविधिका उपयोग गर्ने, निर्माणसँग सम्बन्धित तथा सरोकारवालालाई निर्णायकका रूपमा राखिएको थियो ।

कार्यक्रममा बोल्दै मेयर विद्यासुन्दर शाक्यले स्थानीय सरकारका तर्फबाट युवा र प्रविधिको प्रयोग गरी समस्या समाधानका लागि आयोजना गरिएको यो नेपालकै पहिलो प्रतिस्पर्धा भएको दाबी गरे । उनले भने, ‘महानगरभित्रका समस्या समाधान गर्न यसले निकै महत्त्वपूर्ण भूमिका खेल्ने छ । यो अन्य स्थानीय तहका लागि पनि अनुशरणयोग्य हुने विश्वास लिएको छु ।’ शाक्यले महानगर सुधारका यी उपायले महानगरका कार्य तथा प्रशासनमा परिवर्तन आउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले युवाहरू यति उत्साहपूर्वक सहभागी हुनु सकारात्मक रहेको भन्दै अब प्रविधिलाई देश विकासमा उपयोग गर्नुपर्ने धारणा राखे । उनले युवाले समस्या छ भने पनि त्यसलाई कसरी समाधान गर्न सकिन्छ भनेर उपाय सुझाउनुले उनीहरूभित्रको सीप देशभित्रै प्रयोग भएको भन्दै खुसी व्यक्त गरे । ‘जबसम्म म आफ्नो देश बनाउँछु भन्ने अठोट हुन्न, देश अगाडि बढ्न सक्दैन,’ ओलीले थपे, ‘हामी प्रविधिको उपयोगकृषिमा पनि गर्ने तयारीमा छौं ।’

प्रकाशित : जेष्ठ २३, २०७६ ०७:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्