रंगशालाको लहरोमा विश्वविद्यालयको पहरो

सरिता तिवारी, उषा तितिक्षु

चितवनमा क्रिकेट रंगशाला निर्माणको प्रसंग सुरुदेखि नै चासो र विवादको विषय बन्दै आएको हो । तर ‘विकास’का आलंकारिक परिभाषाहरूको प्रशस्तिले उक्त रंगशाला निर्माणका महत्त्वपूर्ण सन्दर्भलाई ओझेल पारिदिएको छ । अहिले आएर यो स्थानीय बासिन्दा र रंगशाला निर्माता संस्था धुर्मुस–सुन्तली फाउन्डेसन बीचको सडक–विवादमा खुम्चिएको छ ।

जबकि बहस र छलफल गर्नुपर्ने विषय दुइटा विश्वविद्यालय बीचको स्वामित्व नै अनिर्णीत भएको अवस्थामा बिनाप्राधिकार दान गरिएको हस्तान्तरित जमिन हुनुपर्ने हो ।

यही जेठ १५ गते बिहानै रामपुरस्थित निर्माणाधीन रंगशालाको पश्चिमी बार स्थानीय बासिन्दाद्वारा डोजर लगाएर भत्काइएपछि फेरि एकपटक चर्चा सतहमा आयो । यस प्रकरणमा प्रकाश कँडेल लगायत सत्तापक्षीय पार्टी नेकपाका कार्यकर्ता दोषीका रूपमा कारबाही प्रक्रियामा तानिए । घटनापछि रंगशाला निर्माता पक्षका जिम्मेवार व्यक्तिका टिप्पणी सुन्दा यस्तो लाग्छ, मानौं रंगशाला मात्रै होइन, सिंगो मुलुक र कानुनको हर्ताकर्ता ‘सरकार’ नै तिनै हुन् ।

स्थानीय नागरिक बाँडिएका छन् । रंगशाला निर्माणस्थलको उत्तरपट्टि सडक छेउका जनता मापदण्ड अनुसारको बाटो छोड्न तयार छन् । उत्तरतर्फ जोडिएको बाटोछेउ घर भएकी अम्बिका अधिकारी सुनारले हामीसँगको भेटमा भनिन्, ‘हाम्रो त एउटा कोठै भत्किन्छ, तर हामी खुसी छौं । अलिकति जमिन छोड्न तयार छौं । केही पाउन केही गुमाउन तयार हुनुपर्‍यो नि ! अब यहाँ विकास हुन्छ, व्यवसाय हुन्छ ।’

निर्माणस्थलभन्दा पश्चिमपट्टि रहेको शान्तिचोक हुँदै रामपुर लाग्ने बाटोतर्फका बासिन्दाको भने रंगशाला निर्माणको प्रस्तावित क्षेत्रफललाई पूर्वतर्फ रहेको विश्वविद्यालयको जमिनतर्फ बढाउनुपर्ने माग छ । यसका लागि उनीहरूले धुर्मुस–सुन्तली फाउन्डेसनलाई आग्रह गरे । वडादेखि महानगरपालिकासम्मलाई गुहारे । सुनुवाइ हुने छाँट नदेखेपछि उनीहरूको आक्रोश टिनको बारमा खनियो ।

यद्यपि दुवैतर्फका बासिन्दा यो ठाउँमा रंगशाला बन्नुपर्छ भन्नेमा एकमत छन् ।

रंगशालाको संकथन
केही महिनाअघि रंगशालालाई जग्गा हस्तान्तरण गर्ने विशेष कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले यसलाई बडो गर्वसाथ ‘राष्ट्रिय गौरवको परियोजना’ का रूपमा लिनुपर्ने बताएकी थिइन् ।

यो राष्ट्रिय गौरव भनेको के हो ? सगरमाथा वा गौतम बुद्धजस्तै आलंकारिक प्रतीक मात्रै हो या अरू केही ? देशका लागि ‘राष्ट्रिय गौरव’को यो परियोजना महत्त्वपूर्ण हो या देशभित्रै जीविका चल्ने र जीवनका न्यूनतम खुसी भेटिने उद्यमशीलता र रोजगारीको ग्यारेन्टी हुने वातावरण ? मुलुकमा केन्द्र, प्रदेश र स्थानीय सरकारहरूको पहलमा कृषि, खाद्यपदार्थ, मेसिनरी, विद्युतीय साधन, खेलकुद, संगीत, सिनेमा आदिजस्ता उद्यमको समुचित प्रोत्साहन र उत्थान जरुरी छ या व्यक्तिगत पहलमा एउटा रंगशाला निर्माणको विषयको यो स्तरको सौन्दर्यीकरण ? अहिले नेपालीलाई अपरिभाषित राष्ट्रिय गौरवको आत्मरति चाहिएको हो या देशभित्रै सम्मानजनक रोजगार ?

प्रत्येक दिन विदेशी भूमिमा रगत–पसिना बगाउन जाने युवाहरूको संख्या कहालीलाग्दो छ । तुलनात्मक रूपले सजिलो काम गरिरहेका युरोप, अमेरिका पुगेकालाई पनि रूखमा पैसा फल्ने होइन । वैदेशिक रोजगारमा गएकामध्ये ७० देखि ८० प्रतिशत खाडी मुलुकमा जोखिमपूर्ण शारीरिक श्रम गर्न पुगेका छन् । र हरेक दिन औसत तीन जना शव बनेर फर्कन्छन् । यस्तो देशमा क्रिकेट रंगशालाको सपना देखिन्छ, राज्यको लगानीबिना तिनै श्रमजीवीहरूको पसिनाको पेट काटेको पैसाले !

राज्यमा अर्बौं रुपैयाँको भ्रष्टाचार भैरहेको तथ्य सबैसामु छर्लङ्ग छ । ठूलठूला निजी कम्पनीलाई करछली गर्ने सुविधा किन छ, यो अब दोहोर्‍याइरहनु पर्दैन । सानो–ठूलो हरेक योजनामा मन्त्रीदेखि कर्मचारी र पार्टी कार्यकर्तासम्म कमिसनतन्त्रको नेटवर्क कसरी चल्छ भन्ने विषय अब सामान्य भैसकेको छ । समाचारहरू बताउँछन्— कर्मचारीतन्त्र भ्रष्टाचारले कसरी घाँटी–घाँटी डुबेको छ, तर तिनलाई खण्डित गर्ने भरपर्दा स्पष्टीकरण सरकारसँग छैनन् । हरेक क्षेत्रमा बिचौलिया छन्, दलालतन्त्रको रजगज छ ।

यस्तो बेला यो राज्य कम्युनिस्ट पार्टीले चलाइरहेको एउटा आत्ममुग्ध भाव मात्रै छ, सत्ताधारीसँग । त्यसमाथि नारा छँदै छ, ‘समृद्ध नेपाल सुखी नेपाली’ । समृद्ध देश निर्माणको इमानदार इच्छाशक्ति भने शून्य बराबर छ । जसले राज्यका साधनस्रोतको दोहनविरुद्ध जनयुद्ध नै चलाए, परिवर्तनको वेदीमा हजारौं मान्छेको बलि चढाए, जनमुखी र सुशासनसहितको उत्तरदायी सरकारका पक्षमा सम्मोहनकारी भाषण गरे, तिनैले अहिले विश्वविद्यालयको हाताभित्रको जग्गा आफ्नै खल्तीको सुपारीझैं दान गरेर देखाइदिए । देशमा सत्तासीनहरू प्रसन्न भएपछि जेसुकै पनि हुनसक्छ ।

२०७२ वैशाखको भूकम्पलगत्तै उद्धार र सहयोगमा जुट्नु र त्यसपछि मानवीय भावले भूकम्पपीडितको वासस्थान निर्माणमा लाग्नुलाई अन्यथा मान्ने कुरा थिएन । त्यस्तो बेला जो–जो जहाँ–जहाँ छन्, त्यहीँबाट उद्धार र पुनःस्थापनामा जुट्नु जरुरी थियो । यस्तो आवश्यकता फेरि–फेरि पनि आइपर्न सक्छ । तर, अमुक नामका ‘फाउन्डेसन’ नै स्थापना गरी चन्दा उठाएर विकासका एजेन्डा लिएर हिँड्नु भ्रष्टाचार र कुशासनले थिलथिलो पारेको राज्यलाई झनै बेकम्मा र लाचार बन्न सहयोग गर्नु हो ।

रंगशाला निर्माणको प्रस्ताव यसैको त्रासद कडी हो । यस्तो स्थितिलाई स्थानीय सरकारले मात्रै होइन, त्रिभुवन विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय र केन्द्रीय सरकार आफैले सदर गरिदिए । सतहबाट हेर्दा ‘जनस्तरबाट निर्मित रंगशाला’को संकथन जति उत्साहजनक देखिन्छ, वास्तवमा यसले स्थापित गर्ने मानक त्यति नै डरलाग्दो छ ।

जग्गा प्रकरण
रंगशाला निर्माणका विषयमा चर्का–चर्का छलफल त धेरै भएका छन्, तर त्यहाँ विश्वविद्यालयको जमिनसँग जोडिएको बहस लगभग अनुपस्थित छ । जबकि हुनुपर्ने छलफलको मुख्य विन्दु नै यही हो । त्रिभुवन विश्वद्यिालय अन्तर्गत चितवनको रामपुरमा २०२९ मा कृषि तथा पशुविज्ञान अध्ययन संस्थान स्थापित भयो ।

लामो समय त्रिविको आङ्गिक क्याम्पसका रूपमा सञ्चालित यो ठाउँमा २०६७ मा कृषि तथा वनविज्ञान विश्वविद्यालय ऐन ल्याइएपछि त्रिविबाट अलग्गै स्वायत्त विश्वविद्यालय स्थापना गर्ने प्रक्रिया थालियो । ३६५ बिघामा फैलिएको यसको क्षेत्रफलको स्वामित्व सम्बन्धी त्रिवि र कृषि तथा वन विश्वविद्यालय बीचको संस्थागत लडाइँ कानुनी रूपले अझै टुंगिएको छैन । जग्गाको स्वामित्व सम्बन्धी मुद्दा अदालतमा अझैसम्म अनिर्णीत अवस्थामा छ ।

हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थान र रामपुर क्याम्पसलाई एउटै विश्वविद्यालयको छातामुनि राख्ने प्रयत्नमा स्वायत्त संरचनाको अवधारणा ल्याइए पनि ऐनमा मानवीय स्रोत, भौतिक संसाधन लगायत सम्पूर्ण सम्पत्तिमाथिको स्वामित्व कसको रहने भन्ने अस्पष्टताका कारण त्रिवि र कृषि तथा वन विश्वविद्यालयबीच तनावको वातावरण सुरु भयो ।

यसलाई लिएर उठेका विवाद समाधान गर्न गीताभक्त जोशीको संयोजकत्वमा गठित उच्चस्तरीय समितिले तयार गरेको प्रतिवेदन अनुसार त्रिवि अन्तर्गत जम्माजम्मी ४० बिघा जमिन रहने र त्यहाँ इन्जिनियरिङ क्याम्पस स्थापना गर्नुपर्ने भनियो । बाँकी सबै जग्गा कृषि तथा वन विश्वविद्यालय मातहत राख्नुपर्ने पनि भनियो । तर अहिलेसम्म यसको लालपुर्जा त्रिविकै स्वामित्वमा छ । जबकि कृषि तथा वन विश्वविद्यालय स्थापना भएकै नौ वर्ष बितिसकेको छ ।

२०७०–७१ देखि शैक्षिक कार्यक्रम थालिएर यतिखेर झन्डै ३,५०० विद्यार्थी र शोधार्थी अध्ययनरत रहेको यो विश्वविद्यालय कति स्वायत्त हो र कति नियन्त्रित हो ? यसको जवाफबिना भएको जग्गा हस्तान्तरण कति वैध छ ?

कतिपय राजनीतिक स्वार्थका मुद्दामा उत्तिखेरै फैसला गर्ने अदालत यो प्रकरणमा भने पटक्कै संवेदनशील देखिएन । सरकार र दलहरू पनि जिम्मेवार देखिन्नन् । यस विषयमा कृषि तथा वन विश्वविद्यालयका रजिस्ट्रार डा. मनराज कोलाक्षपतिले पंक्तिकारद्वयसँग भने, ‘समस्याको गाम्भीर्य अनुसार कानुनी निर्णय आउनुपर्थ्यो, जुन अहिलेसम्म आएको छैन । यसरी अनिर्णयको बन्दी बनाएर स्वायत्त भनिएको संस्थाको आत्मसम्मानमा खेलिनु हुन्न । यो विश्वविद्यालय अवैध हो भने कोल्याप्स गर्दिए भैगो !’

यही अनिर्णयबीच रंगशालाका लागि जग्गा उपलब्ध गराउने निर्णय गरियो । मन्त्रिपरिषदको निर्णयपश्चात् त्रिविका उपकुलपति डा. तीर्थ खनिया, कृषि तथा वनविज्ञान विश्वविद्यालयका उपकुलपति डा. ईश्वरीप्रसाद ढकाल र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालबीच त्रिपक्षीय सम्झौता गरेर भव्य कार्यक्रमै गरी प्रधानमन्त्रीकै रोहबरमा धुर्मुस–सुन्तली फाउन्डेसनलाई जग्गा हस्तान्तरण गरिएको छ ।

स्वाभाविक प्रश्न उठ्छ— अदालतमा किनारा नलागिसकेको स्वामित्व विवादको जग्गा रंगशालालाई दिने अधिकार नेपाल सरकार, स्थानीय सरकार वा दुवै विश्वविद्यालयलाई छ कि छैन ? योसँगै जोडिने अर्को महत्त्वपूर्ण सवाल हो— विश्वविद्यालयको अनुसन्धान र उत्पादनमा प्रयोग हुनुपर्ने जग्गा बाँड्दै दानी हुनुपर्ने महानगरपालिकाले त्यस बराबरको ‘सट्टाभर्ना दिने’ भनिएको जग्गा कहाँ छ ? त्यसको कुनै लिखत छ कि छैन ? पंक्तिकारद्वयले यो विषयमा जिज्ञासा राख्न मेयरलाई भेट्न गरेको पटक–पटकको कोसिस असफल भएपछि यहींबाट प्रश्न सोध्नुपर्ने अवस्था आइलागेको छ।

प्रकाशित : जेष्ठ २१, २०७६ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पाकिस्तानको रोमाञ्चक जित

एएफपी

नटिङघम — जो रुट र जोस बटलरको शतक पन्छाउँदै पाकिस्तानले विश्वकप क्रिकेटमा सोमबार आयोजक इंग्ल्यान्डमाथि १४ रनको जित हात पारेको छ । रुटले १ सय ७ र बटलरले १ सय ३ रन बनाए पनि ३ सय ४९ रनको लक्ष्य पाएको इंग्ल्यान्डले ९ विकेट गुमाई ३ सय ३४ रनमात्र बनाउन सक्यो । 

गत महिना ट्रेन्ट ब्रिजमा पाकिस्तान एकदिवसीय क्रिकेटको शीर्षस्थानको इंग्ल्यान्डविरुद्ध ३ सय ४० रन बनाए पनि त्यो रक्षा गर्न असफल रहेको थियो । जारी विश्वकपको पाँचौं दिनमा आएर ब्याट्सम्यानको शतक सम्भव भयो । रुट र बटलरको त्यस प्रयासले पनि इंग्ल्यान्डलाई जित दिलाउन सकेन । पाकिस्तानले लगातार १२ खेलको हार टुंग्याएको छ ।

रुटले १ सय ४ बलको इनिङ्समा १० चौका र १ छक्का प्रहार गरे । बटलरले ७५ बलमै शतक पूरा गरी विश्वकपमा सबैभन्दा छिटो शतक बनाउने नवौं खेलाडीमा आफूलाई उभ्याए । त्यसको अर्को बलमा आउट भएका उनले ९ चौका र २ छक्का प्रहार गरे । जोनी बेरिस्टो ३२, क्रिस वोक्स २१ र मोइन अली १९ रनमा आउट भए । पाकिस्तानका वाहब रियाजले ३ तथा सादब खान र मोहम्मद अमिरले २–२ विकेट लिए ।

यसअघि मोहम्मद हफिजको ८४ रनमा पाकिस्तानले ३४८–८ को स्कोर बनाएको थियो । अदिल रसिदको बलमा मिड अफमा जेसन रोयले १४ रनमा क्याच छाड्नु हफिजका लागि फलदायी भयो । बाबर आजमले ६३ र कप्तान सरफराज अहमदले पनि ५५ रन बनाउँदै पाकिस्तानलाई राम्रो स्थितिमा उभ्याए ।

शुक्रबार विश्वकपको आफ्नो पहिलो खेल खेल्नेक्रममा पाकिस्तान यही मैदानमा १ सय ५ रनमै अलआउट भएपछि वेस्ट इन्डिजसँग लज्जाजनक ७विकेटको हार भोगेको थियो । ‘मलाई लाग्छ आफैप्रतिको विश्वास महत्त्वपूर्ण छ,’ हफिजले भने, ‘जुनसुकै स्थितिको सामना गर्न पनि हामी तयार छौं । तर वेस्ट इन्डिजसँग हामीले केही खराब शट खेलेका थियौं ।’

वेस्ट इन्डिजसँग पाकिस्तान बाउन्सर बल खेल्न असमर्थ रहेको थियो । इंग्ल्यान्डका कप्तान इयान मोर्गनले टस जितेपछि पाकिस्तानलाई ब्याटिङमा बोलाउँदा पनि यही रणनीति अपनाउँदा कुनै आश्चर्य भएको थिएन । तीव्र बलर मार्क उडलाई टिममा फिर्ता बोलाउनुको कारण पनि यही नै थियो । तर इंग्ल्यान्डले दुई पटक विश्व कीर्तिमान बनाएको यही मैदानमा पाकिस्तानले बाउन्सर बललाई राम्रोसँग झेल्यो । इंग्ल्यान्डले २०१६ मा पाकिस्तानसँग ४४४–३ र गत वर्ष अस्ट्रेलियाविरुद्ध ४८१–६ को स्कोर बनाएको थियो ।

इंग्ल्यान्डका तीव्र बलरको चर्चाबीच स्पिनर मोइन अलीले ३ विकेट लिए । सोक्रममा उनले ५० रन खर्चे । तीव्र बलरद्वय क्रिस वोक्सले ८ ओभरमा ७१ रन खर्चेर ३ र उडले १० ओभरमा ५३ रन खर्चेर २ विकेट लिए । त्यस विपरीत जोफ्रा आर्चरले १० ओभरमा ७९ रन खर्चन पुगे । वोक्सले ४ क्याच लिए । विश्वकपमा फिल्डरले चार क्याच लिएको कीर्तिमान उनले बराबरी गरे ।

फखर जमान र इमाम उल हकले १४ ओभरमा ८२ रन जोड्दै पाकिस्तानलाई राम्रो सुरुआत दिलाए । अलीले फखरलाई स्टम्पआउट गराई यो साझेदारी तोडे । इमाम ४४ रन बनाई अलीकै सिकार भए । आजमले ६६ बलमा ४ चौका र १ छक्का प्रहार गरी ६३ रन बनाए । उनले ३९ बलमा अर्धशतक पुरा गरेका थिए । कप्तान सरफराजले त्यसलाई निरन्तरता दिँदै ४० बलमा अर्धशतक पूरा गरे । म्यान अफ द म्याच हफिजले ६२ बलको इनिङ्समा ८ चौका र २ छक्का प्रहार गरे ।

स्कोर कार्ड
पाकिस्तान
१४ रनले विजयी

पाकिस्तान
५० ओभर ३४८/८
मोहमद हफिज–८४
बाबर आजम–६३
सरफराज अहमद–५५

मोइन अली ३/५०
क्रिस वोक्स ३/७१

इंग्ल्यान्ड
५० ओभर ३३४/९
जो रुट–१०७
जोस बटलर–१०३

वहाब रियाज–३/८२
मोहमद अमिर–२/६७
सादब खान–२/६३

प्रकाशित : जेष्ठ २१, २०७६ ०७:५५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT