पहिले रुचिको टुंगो अनि विषय 

मेदिनबहादुर लामिछाने

झन्डै चार लाख छयासी हजार विद्यार्थी एसईई नतिजाको पर्खाइमा छन् । केही सातामा नतिजा सार्वजनिक भएसँगै उनीहरू विभिन्न विद्यालयको खोजीमा निस्कनेछन् । अझै पनि हाम्रो समाजमा एसईईपछि के पढ्ने भन्ने निर्क्योल विद्यार्थीको रुचि र क्षमतामा भन्दा बढी विद्यार्थीको ग्रेडले निर्देशित गरेको हुन्छ ।

एसईईमा ए वा ए प्लस ग्रेड आए विज्ञान पढ्नैपर्ने, बी वा बी प्लस ग्रेड आए व्यवस्थापन, सी वा सी प्लस आए मानविकी पढ्न पठाइदिने र डी प्लस आए शिक्षा विषय पढ्न लगाउने । हाम्रो समाज र यसका अगुवाहरूले दिने सुझाव यस्तै हुन्छन् ।

अभिभावकहरूले पनि यस्तै अपेक्षा गरेका हुन्छन् । कक्षा एघारको भर्नाको आधार हेर्दा पनि सरकारको नीति यस्तै देखिन्छ ।
एसईईपछि पढ्ने विषय र संकायको छनोट गर्दा ग्रेडलाई आधार त मान्नुपर्छ, त्यसैको मात्रै भर परियो र विद्यार्थीको रुचि र क्षमतालाई उपेक्षा गरियो भने चाहिँ भविष्य मुस्किलमा पर्न सक्छ ।

आफूलाई रुचि नभएको विषय पढ्दा, पढेको विषयमा कमजोर हुँदा र इच्छा नभएकोविषय पढ्नुपर्दा विद्यार्थीमा विचलन आउन सक्छ । त्यसैले अभिभावक र शिक्षकहरूले भविष्यमा कुन विषय र संकाय पढ्ने भनी परामर्श दिनुअघि विद्यार्थीको रुचि, क्षमता र बौद्धिक स्तरबारे बुझ्नुपर्छ ।

यदि विद्यार्थीको बोल्ने र लेख्ने शैली उच्च स्तरको छ, शब्द चयनमा राम्रो छ, नयाँनयाँ शब्द प्रयोग गर्न मन पराउँछ, पढ्न र लेखरचना सम्पादन गर्न अग्रसर हुन्छ, कसैले बोलेका बोलीहरूमा प्रतिक्रिया देखाउँछ, पढेका विषयवस्तुबारे छलफल गर्न अघि सर्छ भने ऊ भविष्यमा सफल प्रतिलिपि लेखक, न्यायाधीश, अनुवादक, लेखक, इतिहासकार, वकिल, कवि, वक्ता, अनुवादक, प्रशिक्षक बन्न सक्छ । शब्दसँग खेल्न सक्नेका लागि मानविकी, कला र शिक्षाशास्त्र संकाय उपयुक्त हुन्छ ।

समस्याको विश्लेषण गर्न सक्ने, ढाँचा पत्ता लगाउन सक्ने, कुनै घटनाको कारण र सम्बन्ध बुझ्न सक्ने विद्यार्थी तार्किक हुन्छ, गणितीय बुद्धिको हुन्छ । कामकुरो तर्कसङ्गत गर्ने, उद्देश्यकेन्द्रित काम गर्ने, रणनीतिक खेलमा दक्षता भएको, अंकलाई राम्रोसँग खेलाउन सक्ने, जटिल डाटासहजै बुझ्ने विद्यार्थी भविष्यमा गणित शिक्षक, वैज्ञानिक, व्यापारी, बैंकर, शोधकर्ता, सैन्य अधिकारी, चिकित्सक, इन्जिनियर, कम्प्युटर प्रोग्रामर, चार्टर्ड एकाउन्टेन्ट बन्न सक्छ । यस्तो विद्यार्थीलाई गणित, विज्ञान वा कम्प्युटर विज्ञान विषय पढ्न अभिप्रेरित गर्नुपर्छ ।

कुनै विद्यार्थीमा ठाउँ, दूरी र मापनबारे उच्च तहको दक्षता हुन्छ । उसको ध्यान शब्द र अंकमा भन्दा बढी रंग र आकारमा जान्छ । ऊ अत्यधिक कल्पनाशील हुन्छ, चित्र कोर्न र रङ भर्न खुबै मन गर्छ । चित्र नभएका किताब उसको रोजाइमा पर्दैनन् । यस्तो विद्यार्थी भविष्यमा नक्सा बनाउने, कला निर्देशक, चित्रकार, फेसन डिजाइनर, ग्राफिक डिजाइनर, फोटोग्राफर, सर्वेयर, मूर्तिकार, चित्रकार बन्न सक्छ । त्यसैले यस्तो विद्यार्थीलाई ठाउँ, दूरी र मापन प्रशस्त प्रयोग गरिने विषय पढाउनु उपयुक्त हुन्छ ।

कुनै विद्यार्थीमा शब्द, अंक र स्थानको भन्दा चालको दक्षता बढी हुन्छ । उसलाई कुनै शब्द, अंक र रङले भन्दा आफ्नो शरीरको चालले उत्तेजित बनाउँछ । यस्तो विद्यार्थीका आँखा र शरीरबीचको समन्वय गज्जबको हुन्छ । हातले गर्ने काममा उसले उच्च कोटिको दक्षता हासिल गरेको हुन्छ ।

ऊ कुनै पनि सीप अभ्यास नगरी सुनेको वा हेरेको भरमा सिक्न सक्दैन । खेलकुद खुब मन पराउँछ । कक्षाकोठाबाहिर बसेर सिक्न रुचि राख्छ । असाध्यै ऊर्जाशील हुन्छ । यस्तो विद्यार्थी मानवशास्त्री, जीव वैज्ञानिक, नर्तक, भूवैज्ञानिक, फिजियोथेरापिस्ट, खेल प्रशिक्षक बन्न सक्छ । यस्तो विद्यार्थीलाई अवलोकन र अध्ययन भ्रमण आवश्यक पर्ने विषय पढाउनु अत्युत्तम हुन्छ ।

ताल, आवाज र लयप्रति लगाव हुने, सचेत हुने, हिँड्दा वा काम गर्दा जहिल्यै गुनगुनाइरहने विद्यार्थी गायक, संगीतकार, ध्वनि इन्जिनियर, डीजे बन्न सक्छ । लय र आवाजप्रति अत्यधिक चासो हुने विद्यार्थीलाई ताल, आवाज र लय आवश्यक पर्ने विषय पढाउनुपर्छ ।

कुनै विद्यार्थीमा मानिस चिन्ने कौशल गज्जबको हुन्छ । उसले जस्तै जटिल परिस्थितिमा पनि अरूसँग सम्बन्ध स्थापित गर्न सक्छ । उसले अपरिचित व्यक्तिको सञ्चार र व्यवहार सहजै बुझ्न सक्छ, सामाजिकीकरण उच्च कोटिको हुन्छ, अरूको भावना सजिलै बुझ्छ । छलफल, वार्तालाप र अन्तरक्रिया भएन भने उसलाई खल्लो महसुस हुन्छ, एक्लै कुनै काम गर्न सक्दैन, नयाँ मान्छे भेट्न र नयाँ साथी बनाउन जहिल्यै उत्सुक हुन्छ । यस्तो विद्यार्थी भविष्यमा राम्रो सल्लाहकार, राजनीतिज्ञ, सामाजिक कार्यकर्ता, प्रबन्धक, पर्यवेक्षक, प्राध्यापक, निर्देशक, शिक्षक, मध्यस्थकर्ता, प्रशिक्षक र मनोवैज्ञानिक वन्न सक्छ । उसलाई पनि रुचि अनुसारकै विषय पढाउनु उपयोगी हुन सक्छ ।कुनै विद्यार्थी अन्तर्मुखी स्वभावको हुन्छ ।

आफ्नो भावना, प्रेरणा र लक्ष्यप्रति चिन्तित हुन्छ । विषय र परिस्थितिको विश्लेषण आफै गर्छ र निष्कर्ष निकाल्छ । यस्तो विद्यार्थीको रुचिको विषय धर्मशास्त्र, दर्शनशास्त्र र मनोविज्ञान हुन्छ । यस्तो विद्यार्थीले स्वरोजगारमा रुचि राख्छ । एक्लै काम गर्दा आनन्दानुभूति गर्छ । यस्तो विद्यार्थी भविष्यमा वैज्ञानिक, दर्शनशास्त्री, आविष्कारक, उद्यमी र कृषि वैज्ञानिक बन्न सक्छ । यस्तो प्रकृति भएको विद्यार्थीलाई माथि उल्लिखित पेसा–व्यवसायलाई आवश्यक पर्ने सीप र अवधारणा दिने विषय पढ्न लगाउनु पर्छ ।

कुनै विद्यार्थी प्रकृतिप्रति अति नै संवेदनशील हुन्छ । हरेक कुरामा प्रकृतिसँगको सम्बन्ध खोज्छ । जुन काम र विषय प्रकृतिसँग मेल खाँदैन, त्यसमा चाख राख्दैन । बिरुवा रोप्न र हुर्काउन अति चाख राख्छ । हिँडडुल गर्न, क्याम्पिङ गर्न, हाइकिङ गर्न रमाइलो मान्छ । पानी/वायु प्रदूषणबारे असाध्यै चिन्तित हुन्छ । घरबाहिरको क्रियाकलापमा असाध्यै रुचि हुन्छ । यस्तो स्वभावको विद्यार्थी भविष्यमा राम्रो पशु चिकित्सक, वागवानी विशेषज्ञ, रेन्जर, भूवैज्ञानिक बन्न सक्छ । यस्ता विशेषता भएको विद्यार्थीलाई मिल्ने माथिको कुनै पनि संकायमा पढाइयो भने ऊ सफल हुँदै जान्छ ।

विज्ञान संकाय पढेका विद्यार्थीहरूले व्यवस्थापनमा राम्रो काम गरेका र साहित्यमा पनि उल्लेखनीय योगदान दिएका उदाहरणसमेत प्रशस्तै पाइन्छन् । वाणिज्यशास्त्र अध्ययन गरेकाहरूले साहित्य र प्रविधिका क्षेत्रमा उल्लेखनीय काम गरेका छन् । शिक्षाशास्त्र पढेकाहरूले साहित्य र प्रविधिका क्षेत्रमा उल्लेखनीय काम गरेका उदाहरण हाम्रा समाजमा प्रशस्तै छन् ।

जसले जे पढ्यो त्यही विषयमा उल्लेखनीय काम गरेको भने विरलै देख्न पाइन्छ । नत्र हाम्रा विज्ञान प्रयोगशालाबाट प्रशस्त वैज्ञानिक उत्पादन हुनुपर्ने हो, हाम्रो कला र भाषाको कक्षाबाट प्रशस्त साहित्यकार निस्किनुपर्ने हो । त्यस्तै, शिक्षाशास्त्र संकाय पढेका विद्यार्थी योग्य शिक्षक बन्नुपर्ने हो । तर, त्यवहारमा त्यसो भइरहेको छैन । कारण विविध हुन सक्छन् । मूल कारण चाहिँ हो— स्कुलपछि पढाइ विद्यार्थीविशेषको रुचि, क्षमता र बौद्धिक स्तरसँग मेल खाने नहुनु ।

प्रकाशित : जेष्ठ ९, २०७६ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्

भर्नापहिले विद्यालय जाँचबुझ

मेदिनबहादुर लामिछाने

काठमाडौँ — चैतमा गर्मीसँगै सहरका अभिभावकहरूको तनावको पारो बढिरहेको छ । बुझेर वा नबुझेर, अरूको लहैलहैमा लागेर वा देखासिखीका कारण अभिभावकहरू केही सीमित विद्यालयका लागि मरिहत्ते गर्छन् । अभिभावकको रोजाइमा पर्ने विद्यालयको सङ्ख्या सीमित छ, तापनि कक्षा एकमा भर्ना गर्नुपर्ने विद्यार्थीको सङ्ख्या भने धेरै छ, करिब आठ लाख । 

अभिभावकले आफ्नो बच्चालाई सार्वजनिक विद्यालयमा भर्ना गर्ने वा घरमै पढाउने हो, निर्णय लिन सहजै हुन्छ । हाम्रो सन्दर्भमा बच्चालाई घरमै पढाउनु त्यति सजिलो छैन, स्वीकार्य छैन र अभ्यासमा पनि छैन । सार्वजनिक विद्यालयहरूले अझै अभिभावकहरूको ध्यान तान्नसकेका छैनन् । आयले धानेसम्म अभिभावकहरूको छनोटमा संस्थागत विद्यालय नै हुन्छन् । सार्वजनिक विद्यालयहरू छनोटमा नपरुन्जेल अभिभावकको तनाव कम हुने छाँट छैन ।

हामीकहाँ बाह्र–सत्ताइस थरीका संस्थागत विद्यालय छन् । तिनको स्रोतसाधनको उपलब्धतामा, पठन–पाठनको तौरतरिकामा भिन्नता छ । यही भिन्नताले अभिभावकलाई दिग्भ्रमित पार्ने गरेको छ । विद्यालयहरूको शब्दजालले अझ अलमलमा पारेको छ—एक्काइसौं शताब्दी सुहाउँदो व्यावहारिक शिक्षा, अन्तर्राष्ट्रिय स्तरको शिक्षण पद्धति, मौलिक पाठ्यक्रम, रचनात्मक सिकाइ, प्रयोगात्मकशिक्षण सिकाइ, विद्यार्थीको प्रतिभा अनुसारको शिक्षा ... । यी शब्दावली सुन्दा राम्रै छन्, विद्यालयको व्यवहारमा तादात्म्य नहुन सक्छ ।

अभिभावकहरूले आफ्ना बच्चाको क्षमता के हो, रुचि केमा छ, कमजोरी के–के हुन्, स्वभाव कस्तो छ, सिकाइमा उसका आवश्यकता के–के हुन् भन्ने थाहा पाउनुपर्छ । विद्यालयको दर्शन र मूल्य–मान्यता अभिभावकको मूल्य–मान्यतासँग मेल खान्छ कि खाँदैन, तपाईंले सिकाउन खोजेको संस्कार दिन विद्यालयले सकारात्मक भूमिका खेल्न सक्छ कि सक्दैन भन्ने पनि ख्याल गर्नुपर्छ । शिक्षकको योग्यता कति छ, तालिमप्राप्त र पेसागत दक्षता हासिल गरेका हुन् कि हैनन् ? तिनलाई जीवनयापन गर्न पुग्नेगरी तलब छ कि छैन जस्ता पक्षमा पनि चासो दिनुपर्छ । थोरै तलब पाउने, कम योग्यता भएका शिक्षकहरूबाट गुणस्तरीय सिकाइको अपेक्षा गर्न सकिँदैन ।

अर्को कुरा, विद्यालय तपाईंको निवासबाट टाढा छ, आउ–जाउ गर्दा साह्रै ट्राफिक जाममा पर्छ भने त्यतातिर ध्यान नदिएकै राम्रो । नानीबाबुहरूलाई प्रशस्त आराम गर्ने, सामाजिकीकरण गर्ने, खेल्ने र मनोरञ्जन गर्ने समय चाहिन्छ । उनीहरूले जति धेरै समय अभिभावकसँग बिताउन पाए, त्यति राम्रो । विद्यालय टाढा भए आउ–जाउ गर्दै उनीहरू थाकिसकेका हुन्छन् र घरमा अध्ययन गर्ने, अभिभावकसँग बोल्ने समय नै पाउँदैनन् ।

धेरै अभिभावकको गुनासो शुल्कमा हुन्छ । विद्यालयले शुल्क घुमाउरो पाराले तोकेभन्दा बढी लिने र हरेक नयाँ शैक्षिक सत्रमा बढाउने गरेका छन् । विद्यालय छनोटमा यो पक्षबारे पनि चनाखो हुनुपर्छ । विद्यालयको आकार र शिक्षक–विद्यार्थी अनुपात पनि विचार गर्नुपर्छ । व्यक्तिगत देखभाल चाहिने बच्चाका लागि जतिसक्दो थोरै विद्यार्थी भएको र शिक्षक–विद्यार्थी अनुपात कम भएको विद्यालय उपयुक्त हुन्छ ।

एकभन्दा धेरै सन्तान भएका अभिभावकले सबैलाई सकेसम्म एउटै विद्यालयमा पढाउनुपर्छ । विद्यालय एउटै भैदियो भने जाडो र गर्मी बिदा, परीक्षा र शिक्षकसँगको अन्तरक्रियामा समय मिलाउन सजिलो हुन्छ । बच्चाका लागि विद्यालय छान्दा तिनका साथीभाइ कहाँ पढ्छन् भन्ने कुराले पनि अर्थ राख्ने गर्छ । साथीभाइकै विद्यालयमा भर्ना गरियो भने बच्चाले मनोवैज्ञानिक रूपमासुरक्षित महसुस गर्न सक्छन् । विद्यालयमा आफूलाई सुरक्षित ठान्न नसके बच्चाको ज्ञान निर्माण, सीप तथा कौशल सिकाइ र अवधारणा बुझाइमा प्रभाव पर्न सक्छ ।

अभिभावकले हेर्नुपर्ने अर्को पक्ष हो— सिकाइका लागि सहयोगी भूमिका खेल्ने खेल मैदान, पुस्तकालय, दृश्यकला, प्रदर्शन कला, क्लब क्रियाकलाप, खेलकुद । यी सेवासुविधा भएका विद्यालयले मात्र तपाईंका बच्चाको सर्वाङ्गीण विकासमा टेवा पुर्‍याउन सक्छन् ।

विद्यालयले जीवनोपयोगी कौशल सिकाउन के गरेको छ ? विचार गर्नुपर्छ । कोरा किताबी ज्ञान त घरैमा राखेर पनि दिन सकिन्छ ! विद्यार्थीका लागि चाहिने व्यावहारिक सीप तथा सोचाइ सीपहरूलाई कत्तिको महत्त्व दिइएको छ ? बुझ्नुपर्छ । यी सीपहरू अबको कक्षाकोठामा उपलब्ध गराइएन भने विद्यार्थी काम न काजका हुन सक्छन् ।

विद्यालयले अभिभावकहरूलाईआफ्ना क्रियाकलापमा सहभागी गराउनुपर्छ । अभिभावकको भूमिका विद्यार्थीको सिकाइमा कसरी विचार गरिएको छ ? घर–विद्यालय सञ्चार कसरी सुनिश्चित गरिएको छ ? विद्यालय र समुदायलाई कसरी जोडिएको छ ? यसबारे बुझ्नुपर्छ । अभिभावकको सक्रिय सहभागिता भएको विद्यालयमा पढ्ने विद्यार्थीको ज्ञान निर्माण र सीप तथा कौशल सिकाइ सुदृढ र सबल हुन्छ ।

अभिभाकहरूले आफ्नो परिवारका भावना र मूल्यहरू विद्यालयका भावना र मूल्यहरूसँग मेल खान्छन् कि खाँदैनन्, हेर्नुपर्छ । आफ्ना संस्कार, धर्म, रीतिरिवाजलाई नानीबाबु अध्ययन गर्ने विद्यालयले कत्तिको सम्मान गर्छ ? नानीबाबु पढ्ने विद्यालयले कतै एउटामात्र धर्म, भाषा र संस्कृति, रीतिरिवाजलाई प्रोत्साहन गर्नेगरी क्रियाकलापहरू सञ्चालन त गरिरहेको छैन ? बुझ्न जरुरी छ । विद्यालयले कतिपय क्रियाकलाप जबर्जस्ती गरिएका उदाहरण छन् ।

इच्छाविपरीत कसैको भावनामा चोट पुर्‍याउने हिसाबले कलिला विद्यार्थीलाई जबर्जस्ती विद्यालयको क्रियाकलापमा सहभागी गराउनु राम्रो होइन । तपाईंले यस्तो विद्यालय खोज्नुस्, जसका कक्षाकोठाले समाजको प्रतिनिधित्व गरेका होऊन् । सानै उमेरदेखि समाजको प्रतिनिधित्व गर्ने कक्षाकोठामा राखेर ज्ञान र सीप सिकाइयो भने मात्र भोलिका दिनमा सहजै बच्चा समाजमा केही योगदान दिन सक्ने र सफलतापूर्वक केही गर्नसक्ने नागरिक बन्न सक्छन् ।

तपाईंले जुन विद्यालयमा आफ्ना नानीबाबुलाई भर्ना गराउन खोज्दै हुनुहुन्छ, त्यो विद्यालयका सञ्चालक, प्रिन्सिपल, शिक्षक, विद्यालय नेतृत्व समूहका सदस्यहरूले आफ्ना छोराछोरीलाई त्यसैमा पढाएको हुनैपर्छ । उनीहरूले आफ्ना नानीबाबुलाई त्यहीँ पढाएका भए तपाईं ढुक्क हुन सक्नुहुन्छ । उनीहरूले आफ्ना नानीबाबुलाई चाहिँ अन्यत्रै भर्ना गरेका भए तपाईंले त्यो विद्यालयको बाटै नहिँडेको बेस । जसलाई आफूले सञ्चालन गरेको वा काम गरेको विद्यालयप्रति विश्वास छैन, तिनलाई तपाईंले पनि किन विश्वास गर्ने ?

वातावरण अभिभावक र बालमैत्री छ, सेवासुविधामा विद्यार्थीको उमेर र कक्षा अनि रुचिलाई ध्यानमा राखिएको छ, सिकाइ कक्षाकोठा बाहिर पनि सम्भव बनाइएको छ, सिकाइलाई पाठ्य–पुस्तकभन्दा बाहिर निकालिएको छ,
ज्ञान निर्माण, सीप सिकाइ तथा अवधारणाविकासलाई जीवन र जगतसँग जोडिएको छभने तपाईंले आफ्ना सन्तानका लागि त्यही विद्यालय छनोट गर्नुपर्छ ।

लेखक युलेन्स स्कुलका प्रिन्सिपल हुन् ।

प्रकाशित : चैत्र २०, २०७५ ०८:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्