तगारा छल्दै उद्यममा महिला

मधु राई

मोरङको टंकीसिनुवारीकी चम्पा नेपालले छ वर्षदेखि आफ्नै घरमा शु सेन्टर सञ्चालन गर्दै आएकी छन् । सात वर्षअघि उनलाई घरेलु तथा साना उद्योग, मोरङले दुईमहिने जुत्ता बनाउने तालिम दिएपछि उनको दिनचर्या फेरिँदै गयो । उनी वर्षमा पाँच–छ पटक प्रशिक्षक भएर जिल्लाबाहिर पनि जाने गरेकी छन् ।

उनले आफ्ना नौ जना छिमेकीलाई प्रत्यक्ष रोजगारीसमेत दिएकी छन् । उनका उत्पादन जिल्लाबाहिर पनि बिक्ने गरेका छन् । तीन वर्षअघि उनको कामको मूल्यांकन गर्दै केयर नेपालले कदरपत्रसहित चालिस हजार रुपैयाँ प्रदान गर्‍यो । उद्यमबाट सन्तुष्ट भए पनि आर्थिक कारणले गर्दा बजारक्षेत्रमा पसल भने सञ्चालन गर्न नसकेको चम्पा बताउँछिन् ।

मोरङकै विराटचोककी सीता राई पनि सफल उद्यमी हुन् । स्नातक राईले छ वर्षदेखि विराटचोकमा तेह्रथुमे ढाका र अल्लोका कपडा उत्पादन गर्नुका साथै विभिन्न डिजाइनका पोसाक, ढाका र अल्लोबाट जुत्ता–चप्पल तयार गर्दै आएकी छन् ।

उनले पाँच महिला र एक पुरुषलाई रोजगारीसमेत दिएकी छन् । पोसाक तयार गर्न उनलाई श्रीमान्ले पनि सघाउने गरेका छन् । यही जेठको दोस्रो सातादेखि सीताले सुन्दरहरैंचा नगरपालिकाको आंशिक सहयोगमा पन्ध्र महिलालाई निःशुल्क तालिम दिँदै छिन् । व्यवसाय बढाउन जनशक्ति चाहिने भएकाले निःशुल्क तालिम दिन लागेको उनी बताउँछिन् ।

चम्पा नेपाल र सीता राई यस्ता प्रतिनिधि पात्र हुन्, जो घरव्यवहार धान्नुसँगै आफू रोजगार बन्न र अरू महिलालाई उद्यमी बनाउन अहोरात्र खट्दै छन् । पछिल्लो समयसहरबजारमा सिलाइबुनाइको पसल सञ्चालन गर्दै आएका कतिपय शिक्षित र हुनेखाने महिलाहरूलाई बुटिक व्यवसायले पनि आकर्षित गर्दै छ ।

अफसोस, यस्ता बुटिकमा उनीहरूले पुरुषलाई बढी रोजगारी दिने गरेका छन् । विराटनगरको ट्राफिक चोकमा बुटिक सञ्चालन गर्दै आएकी जीना श्रेष्ठकहाँ पाँच कामदारमध्ये एक महिला छिन् । कतिपय बुटिक सञ्चालक महिलाहरू नै ‘कहाँ सक्छन् र महिलाहरूले पुरुषसरह काम गर्न ?’ भनी तर्किने गर्छन् । महिलाको क्षमता र योग्यतामा महिलाले नै विश्वास नगर्नु सानो विडम्बना होइन ।

रोजगारीको खोजीमा विदेसिन बाध्य महिला जनशक्तिलाई पछिल्लो समय स्वदेशमै रोजगार बन्न प्रेरित गर्दै छन् यी उद्यमी महिलाहरूले । यस्ता उद्यममा घरपरिवारले सहयोग गरे पनि स्थानीय तहले पुरुष उद्यमीलाई जस्तो सहजै पत्याउने वातावरण बनिनसकेको सीता राईको कटु अनुभव छ । यी र यस्ता कतिपय कारणले गर्दा पनि महिलाहरू उद्यम–व्यवसायमा अघि सर्न सकेको देखिंदैन ।

उद्यम–व्यवसाय गर्न चाहने कतिपय महिला उपयुक्त सल्लाह, तालिम र पुँजीको अभावमा हच्किने गरेका पनि छन् । स्थानीय तहले पछिल्लो समय महिलाहरूका लागि लामो समयको तालिमभन्दा दुईदिने नेतृत्व विकास तथा कानुनी साक्षरता सम्बन्धी अभिमुखीकरण जस्ता प्रशिक्षण दिने गरेको छ । स्रोतसाधनको उपलब्धता हुँदाहुँदै पनि जनप्रतिनिधिहरूको प्राथमिकतामा महिलालाई स्वरोजगार बनाउनु पर्छ भन्ने विषय नपर्नु पनि अर्को विडम्बना हो ।

गृहिणी पृष्ठभूमिबाटै जनप्रतिनिधि बन्ने अवसर पाएका कतिपय महिला न आफै स्वरोजगार बन्न चाहेको देखिन्छ न त अरू महिलाका लागि वातावरण बनाउनमा चिन्तित देखिन्छन् । अनेक कठिनाइ झेल्दै उद्यम–व्यवसायमा संलग्न महिलाहरूको व्यवसायलाई चाहिने थप सल्लाह–सुझाव दिनमाघरेलु तथा साना उद्योग कार्यालयसमेत उदासीन देखिन्छ । तालिम प्रमुख अशोक राई भन्छन्, ‘जनशक्ति अनि थप साधनस्रोतको कमीले सल्लाह दिन र अनुगमन गर्न सकेका छैनौं ।’

हामीकहाँ सिलाइबुनाइ, बुटिक र हस्तकलाको व्यवसायमा मात्र महिलाहरूको उल्लेख्य सहभागिता छ । विकसित मुलुकमा जस्तो दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने उद्यममा महिलाहरूको उपस्थिति नगण्य देखिन्छ । तीनै तहका सरकारले महिलाहरूको क्षमता पहिचान गरी आवश्यक तालिम दिने गरे यो अपवाद हट्दै जानेछ ।

प्रकाशित : जेष्ठ ७, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्

बुटवलका ललित बुद्धिजीवी

रामचन्द्र श्रेष्ठ

केही दिनयता बुटवलका एक थरी बुद्धिजीवीहरू ‘विष्णु पौडेल बचाउ अभियान’मा लागेका छन् । ललिता निवास प्रकरणमा नाम मुछिएका सत्तासीन दल नेकपाका महासचिवका पक्षमा वकालत गर्न बुद्धिजीवीहरूको भेला नै भयो ।

लगत्तै केही स्वनामधन्य बुद्धिजीवीले लेख पनि लेखे । तिनको समग्र गतिविधि र लेखनको एउटै बोली छ—

बढ्दो तेजका कारण विष्णु पौडेलको चरित्रहत्या गर्न खोजियो, त्यसको प्रतिकार गरिनुपर्छ ।
यो लेख विष्णु पौडेल वा ललिता निवास प्रकरणमाथि केन्द्रित छैन । यसबारे प्रशस्त समाचार प्रकाशित भइसकेका छन् र हुँदै छन् । प्रश्न हाम्रा बुद्धिजीवीबारे हो । उनीहरू कुनै पनि घटनालाई कसरी आत्मसात् गर्छन्, धारणाको निर्माण गर्छन् र अभिव्यक्त गर्छन् भन्नेबारे हो । साथै बुद्धिजीवीको भूमिकाबारे बहसको खोजी हो ।

उमेर, अनुभव र आफ्नो क्षेत्रमा उनीहरूले गरेको योगदानका आधारमा यीमध्ये केही बुद्धिजीवी सम्मानयोग्य छन् । बेला–बेला कतिपय विषयमाथि फरक विचार हुँदाहुँदै पनि नयाँ पुस्ताले उनीहरूसँग संवाद जारी राखेको छ । केही वर्षको संगत, अन्तरक्रिया, भेटघाटका क्रममा केही बुद्धिजीवीलाई फरक–फरक मनोदशामा भेटेको अनुभव छ ।

एकजना बुद्धिजीवी छन्, जसको जीवनको ऊर्जाशील समय राजनीतिक परिवर्तनका लागि खर्चिइएको छ । दौडधुपको जिन्दगीमा पनि निरन्तर अध्ययन र लेखन गर्ने उनको जाँगर प्रशंसनीय छ । कुनै बेला स्थानीय निकायको कुशल नेतृत्व गरेका उनलाई देशको नीति निर्माण तहमा देख्ने रहर हाम्रो पनि थियो ।

तर सक्ता–शत्तिको खोजीमा उद्यत पार्टीका लागि अर्थले सुसम्पन्न अर्का पात्र उनीभन्दा राम्रा उम्मेदवार दरिए । ती बुद्धिजीवीका पक्षमा उनको पार्टी बाहिरबाट पनि प्रशस्त लबिङ भयो । त्यति बेला ती बुद्धिजीवीले पार्टीको भ्रष्टीकरण भएको, नेताहरू स्वार्थ समूहको घेरामा फसेको र पार्टी पङ्क्ति वैचारिक शून्यतातर्फ अग्रसर भएकामा निकै चिन्ता व्यक्त गर्थे ।

अर्का एक बुद्धिजीवी छन्, जसले जीवनको अत्यधिक समय पार्टीका लागि खर्चेका थिए । उनका रचना पढेर कैयौं युवा पार्टीको लागि ऊर्जाशील समय खर्चिन तम्तयार भएका थिए । तर उनै बुद्धिजीवीलाई पार्टीको महाधिवेशनमा धरि सहभागी गराइएन । त्यति बेला उनले भनेका थिए, ‘पार्टी सोचेभन्दा गलत दिशामा गयो । पार्टीको लागि जिन्दगी सुम्पिएँ, अब मरेपश्चात् रातो झन्डा ओढ्नेबाहेक अरू केही आशा छैन ।’

समयको आरोह–अवरोहमा पार्टीप्रति निराशा व्यक्त गरिरहँदा उनीहरूको स्वरमा आग्रहको लेपन मात्र थिएन, अनुभवसिर्जित मूल्यांकन पनि थियो, जो धेरै हदसम्म सत्य थियो । तर आज यिनै बुद्धिजीवीहरूले पार्टी सत्तासीन भएपछि भाषा परिवर्तन गरिरहेका छन् ।

के हिजोपार्टीमा देखिएका कमजोरी र खराबी आज एकाएक निमिट्यान्न भए ? ती कमजोरीबारे पार्टीभित्र र बाहिर यी बुद्धिजीवीले कत्तिको बहस गरे वा गरिरहेछन् ?

घटनालाई कसरी आत्मसात् गर्ने ?
सामान्य मानिसहरू प्राप्त सूचना र पूर्वस्थापित मान्यताका आधारमा घटनाप्रति धारणाको निर्माण गर्छन् । यसो गर्नु सुविधाजनक हुन्छ, किनभने यसो गर्दा आफैमाथि वा आफ्नै मान्यतामाथि प्रश्न गर्नुपर्दैन । गाह्रो हुन्छ, आफैलाई प्रश्न गर्नु, आफ्नै धारणालाई सन्देह गर्नु, किनभने यसले पीडा दिन्छ ।

तर बुद्धिजीवी सामान्य मानिसभन्दा सांस्कृतिक र चेतनाको हिसाबले एक कदम माथि उठ्नुपर्छ । उसले आफैलाई सन्देह गर्नु जरुरी छ । सत्यको खोजी निरन्तरको सन्देहमार्फत हुन्छ । प्राप्त सूचनालाई विश्लेषण गरेर साथैआफ्ना पूर्वमान्यतामाथि प्रश्न गरेर मात्र सत्यको बाटो हिंँड्न सकिन्छ । यसका लागि भगत सिंहले बन्दीजीवनमा लेखेको ‘म किन नास्तिक भएँ ?’ लेखको यो भनाइ शिरोधार्य गर्नु जरुरी हुन्छ— ‘आलोचना र स्वतन्क्र विचार त्रान्तिकारीका अपरिहार्य गुण हुन् ।’ सत्यको खोज गर्ने बुद्धिजीवी आफैमा क्रान्तिकारी हो । उसले यी दुई गुणको खोजी गर्नु जरुरी नहोला ?

विष्णु पौडेलको बचाउमा ज्यान फालेर लागिपरेका बुटवलका बुद्धिजीवीले घटनालाई आत्मसात् गर्न ज्ञान निर्माण पद्धतिको प्रयोग गरिरहेको देखिँदैन । प्रश्न विष्णु पौडेलको होइन, साँचो प्रश्न त विष्णु पौडेलहरूको निर्माणको हो ।

विष्णु पौडेलजस्तो नेताको जन्म कसरी हुन्छ ? यसको पछाडिको सामाजिक–आर्थिक पृष्ठभूमिले कसरी भूमिका खेल्छ ? नेपालमा राजनीतिक पार्टीको निर्माण कसरी भइरहेको छ ? पार्टीहरूले राज्यसत्तामा हिस्सेदारी स्थापित गर्न कुन वर्गसँग साँठगाँठ गरिरहेका छन् ? यी सबै प्रपञ्चका लागि पार्टी संयन्त्रको कसरी उपयोग गरिरहेका छन् ?

बुद्धिजीवीहरूले विमर्श गर्नुपर्ने आजका प्रश्नहरू यिनै हुन् । यी प्रश्नबारे विमर्श गर्दै जाँदा विष्णु पौडेल वा सम्बन्धित सबै घटना खुल्दै जान्छन् । व्यक्ति वा घटनाको मूल्यांकन न क्षणिक समाचारको भरमा हुन्छ, न त पूर्वस्थापित मान्यताका जगमा । यसलाई विकसित घटनाक्रमहरूको लामो ऐतिहासिक शृंखलाको आलोकमा विश्लेषण गर्नु जरुरी हुन्छ ।

तर हाम्रा बुद्धिजीवीहरूले उपर्युक्त घटनालाई कुनै अमुक नेतालाई खुइल्याउन अर्को अमुक नेताको षड्यन्त्रका रूपमा अर्थ्याइरहेका छन् । उनीहरू अमूक नेताको पक्षमा अर्का अमुक नेताको विरोधमा आफ्ना सिर्जनशील खुबी र बुद्धिजीवीको पगरी प्रयोग गरिरहेका छन् । यसको परिणाम नकारात्मक मात्र हुनेछ ।

त्यसैले बुटवलका बुद्धिजीवीलाई भन्न मन लाग्छ— घटनाको राजनीतिक कलेवर मात्र हुँदैन, मान्यवर ! अर्थराजनीतिक पृष्ठभूमि पनि हुन्छ । जबसम्म घटनाको अर्थराजनीतिक पृष्ठभूमि खोतलिँदैन, सत्यको खोजी सधैं अमूर्त र अधुरो रहन्छ ।

तपाइँहरू विकास, समृद्धिको नारामा यति लिप्त भइरहनुभएको छ, नेतृत्व वा राज्यसत्ता अर्थराजनीतिक जगमा हुन्छ भन्ने बिर्सनुभएको छ वा बिर्सेको अभिनय गरिरहनुभएको छ । सामान्य प्रश्न गरौं, मार्क्सवादी भाष्य अनुसार राज्य एउटा वर्गले अर्को वर्गलाई दबाउने संयन्त्र हो । अब भन्नुहोस्, वर्तमान राज्यसत्ताको वर्गीय चरित्र के हो ? के समृद्धिको एकोहोरो रटान लगाउँदैमा तपाईं यी प्रश्नबाट भाग्न सक्नुहुन्छ ?

एंगेल्सले ‘परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति’ मा राज्यको उदयको चर्चा गर्दै लेखेका छन्— ‘राज्यको उदय समाजबाट भयो । तर यो समाजबाट अलग्गिँदै गयो र समाजलाई शासन गर्न थाल्यो ।’ मार्क्सवादको अन्तिम ध्येय भनेको स्वतन्त्र मानिसको निर्माण हो ।

मान्छेको सार्वभौमिकता स्थापित गर्नु हो । यसका लागि राज्यको विलुप्तीकरण गर्नु हो । राज्यको विलुप्तीकरण गर्नु भनेको समाजसँग एकाकार भएको समृद्ध प्रणालीको स्थापना गर्नु हो । यो तबमात्र सम्भव हुन्छ, जब हामीले शक्तिको भोको राज्यलाई आलोचनाको डोरीले कसिरहन्छौं । के हामीले यो ऐतिहासिक अभिभारा बोध गर्न सक्छौं ?

राज्यसक्ता जहिल्यै शत्तिको दुरुपयोग गर्न उद्यत हुन्छ । त्यसलाई प्रतिपक्षी विचारको घर्षणले सन्तुलनमा राख्नुपर्छ । होइन भने गोयबल्सहरूको जन्म हुन्छ । हिटलर यत्तिकै जन्मँदैन, त्यसका लागि गोयबल्सको पनि उत्तिकै जरुरी हुन्छ । हामीलाई गोयबल्सको आवश्यकता छैन ।

बुद्धिजीवीको भूमिका के हो ?
तपाईंहरूलाई लाग्ला— हामी सरकारको तीव्रतम आलोचनाका भोको छौं । तर खोजी सरकारको आलोचनाको होइन । अहिलेलाई कम्तीमा पनि संविधानका मूलभूत मान्यताको संस्थाकरण हो । हाम्रो संविधान अपूर्ण नै भए पनि लामो वैचारिक, राजनीतिक संघर्षबाट जन्मिएको हो ।

यसले विकेन्द्रीकरण, राज्यसत्ताको समावेशीकरण र न्यायपूर्ण वितरणको जगमा समाजवादको बाटो हिंँड्ने अठोट गरेको छ । हामी राज्यसत्तालाई संविधानले कोरेको गोरेटोमा हिँंडाउन चाहन्छौं भने संविधानको मर्म आत्मसात् गराउन लाग्नैपर्छ ।

फेरि एकपटक इटालीका चिन्तक अन्टोनियो ग्राम्सीको स्मरण गरौं । उनले अर्गानिक बुद्धिजीवीको खोजी गरेका थिए । त्यसको अर्थ हो— जनतासँग जोडिएका बुद्धिजीवी । उनीहरूको दुःखपीडा र सपनासँग जोडिएका बुद्धिजीवी । यदि बुद्धिजीवीले पनि सत्ताको भाष्यलाई जस्ताको तस्तै बोकेर हिँंड्छ भने त्यो कसरी अर्गानिक बुद्धिजीवी बन्ला ?

विष्णु पौडेलको प्रसंगलाई लिएर बुटवलका बुद्धिजीवीहरू जसरी उत्तेजित भएका छन्, त्यो डरलाग्दो छ । उनीहरू ‘घटनाको यथार्थ छानबिन गर र दोषीलाई कारबाही गर’ भन्ने कूटनीतिक अभिव्यक्ति दिन पनि कन्जुस्याइँ गर्छन् ।

बरु आग्रहले लछ्रप्प भिजेर ‘विष्णु पौडेलको चरित्रहत्या गर्न थालियो, रक्षा गरौं’ भन्छन् । एक बुद्धिजीवीले त ‘विष्णु पौडेल होइन, उनका छोराले पो जमिन किनेको हो’ भन्नेजस्तो बचपना तर्क गर्न भ्याए । एकजना ‘बुटवलको सबै जमिन पहिला सुकुम्बासी त हो’ भनेर घटनाको सामान्यीकरण गर्न उद्यत भए । पौडेलको पक्ष लिने वा नलिने बेग्लै पक्ष हो । प्रश्न हो, बुद्धिजीवीहरू आग्रहको यो हदसम्म जानु उपयुक्त छ ? यसले हामीलाई घटनाको यथार्थ मूल्यांकन गर्न सहयोग गर्छ ?

केही बुद्धिजीवीले आह्वान गरे— सरकार सम्पूर्ण सार्वजनिक जमिन संरक्षण गर्न तत्पर छ, सहयोग गरौं । प्रश्न उठ्छ— खोकनाको प्रसंग के हो नि ? काठमाडौंका पुराना मठमन्दिरको प्रसंग के हो नि ? बुटवलकै सोह्र–छत्तीस कुलोको जमिन र छेउबाट जाने सडकको हालत के छ ? बुटवलमै व्यापार संघ लगायतका संस्थाले ओगटेको सार्वजनिक जमिनको मुद्दा के भयो ?

घटनाका निम्ति यो सरकार दोषी छैन भन्ने तर्क पनि बलियो नै होला । तर राजनीति शास्त्रमा सरकार र राज्यसत्ताको परिभाषा एउटै छैन । २०४७ पछिको राज्यसत्ताको उपयोग ककसले कसरी गरे भन्ने सोच्नुपर्दैन ?

सारमा, सबैभन्दा सजिलो हुन्छ, बगेको धारमा बगिदिनु । यसो गर्दा लाभका पद वा सम्मान अवसरहरू पनि प्राप्त होलान् । तर राज्यलाई जनमुखी बनाउनु छ भने समाजमा सधैं प्रतिपक्षी विचारको आवश्यकता हुन्छ ।

राज्य सत्ताधारी विचार थोपर्न उद्यत हुन्छ, त्यसलाई सन्तुलनमा राख्न प्रतिपक्षी विचार आवश्यक पर्छ । तपाईंलाई सत्ताको भाषाको सुगारटाइ प्रिय छ वा समयले सुम्पेको दायित्व ? रोजाइ आ–आफ्नो ।

प्रकाशित : जेष्ठ ७, २०७६ ०९:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्