ह्रासोन्मुख संस्कार

लोकराज बराल

आजसम्म लोकतन्त्रको विकल्प भेटिएको छैन तर लोकतन्त्र दिनप्रतिदिन कमजोर हुँदै गइरहेको छ । यसको प्रमुख कारण लोकतन्त्रान्त्रिक संस्कारमा ह्रास आउनु हो । यो प्रवृत्ति विश्वव्यापी रूपमै देखिन्छ । यसपालिको भारतीय चुनावी दौडानमा नेताहरूको भाषणको स्तर, निर्वाचन आयोगप्रतिको नकारात्मक जनधारणा र अविश्वासले लोकतन्त्रको सार होइन, आवरण मात्र बाँकी रहेको देखाउँछ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले चुनावी प्रचारका क्रममा एउटा प्रान्तिय प्रतिपक्षी दलका ४१ विधायक उनीसित सम्पर्कमा रहेका र चुनावपछि तिनीहरू दल त्यागी उनको दलमा आउने र स्थानीय सरकार अल्पमतमा पर्ने खुलासा गर्छन् । प्रधानमन्त्रीको टेलिफोनसम्म नलिने पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले मोदीलाई प्रधानमन्त्री नमान्ने भन्दा भारतीय लोकतन्त्रमा कस्तो अभ्यास हुँदै छ भन्ने देखिन्छ ।

प्रधानमन्त्रीलाई भ्रष्टाचारको आरोप लगाउँदै चुनावी प्रचारका क्रममा प्रतिपक्षका नेता 'चौकीदार चोर हो' भन्छन् । प्रधानमन्त्री ३० वर्ष पहिले आतंकवादी हमलामा मारिएका पूर्वप्रधानमन्त्री राजीव गान्धीलाई भ्रष्टाचारी नम्बर १ भन्दै गान्धी परिवारप्रति विष बमन गर्छन् । भ्रष्टाचार मुद्दामा राजीव गान्धीलाई दिल्ली उच्च अदालत र संसदीय समितिले सफाइ दिएको बिर्सिन्छन् ।

मरिसकेको राजीवलाई प्रधानमन्त्री मोदीले भारतीय जलसेनाको जहाज परिवारका सदस्य ओसार्न प्रयोग गरेको भन्नसम्म बाँकी राखेनन् । राजीवले व्यक्तिगत कामका लागि नौसैनिक जहाज प्रयोग गरेका थिएनन् भन्ने त्यसबखत नौसेना प्रमुखले सार्वजनिक गरेका थिए ।

जनताका पीरमर्का र विकासका सवालभन्दा पनि एकअर्काबीच भनाभनको राजनीतिले भारत आक्रान्त छ । यसपल्टको चुनावले संवैधानिक संरचना र संघीयतामाथि पनि प्रश्न उठाएको छ । प्रधानमन्त्री र कतिपय राज्य सरकारबीच देखिएको कटुताको पराकाष्ठा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले प्रधानमन्त्री मोदीलाई मान्दिन भन्नुले प्रस्ट हुन्छ ।

यस्तो अवस्थामा संघीय व्यवस्था कसरी चल्छ ? केन्द्र र प्रान्तबीचको सम्बन्ध कसरी कायम भई विकास हुन्छ ? प्रधानमन्त्री मोदीले मुख्यमन्त्री बनर्जीको आलोचना गर्दै संविधान नमानेको आरोप लगाए । यदि राहुल गान्धीको 'चौकीदार चोर' भन्ने भनाइ तल्लो स्तरको मान्ने हो भने मोदीले राहुलका बितिसकेका नातेदारलाई तल्लो स्तरको आलोचना मात्र गरेनन्, ७० वर्षको भारतको विकास र अन्वेषणलाई पनि नकारेका राजनीतिक संस्कारको धज्जी उडाएका छन् ।

संयुक्त राज्य अमेरिकाको राष्ट्रपति चुनाव प्रचारको स्तर पनि निकै खस्केको थियो । लोकतन्त्र अनुकूलको मर्यादा भुलिएको थियो । राष्ट्रपति ट्रम्प डेमोक्य्राटिक पार्टीका भावी उम्मेदवार जोसेफ आर विदेन जेआरलाई उङ्ने (स्लिपी) र अर्का सम्भावित उम्मेदवार बन्री स्यान्डरलाई लग्गु (क्रेजी) भन्ने आरोप लगाउँछन् । हिलारी क्लिन्टनलाई उनले झुट (लायर) भन्दै जेल पठाउने कुरा प्रचारको अंश नै बनाएका थिए ।

लोकतान्त्रिक संस्कारका निम्ति नेताहरूबीच न्यूनतम मर्यादाको अपेक्षा गरिन्छ तर मर्यादित संस्कार स्खलन हुँदै गइरहेको छ । गल्ती सच्याउन सचेतकको भूमिका खेल्नुपर्ने निवार्चन आयोग भारतमा सरकारको लाचार छायाजस्तो देखिएको छ । यसको टिप्पणी स्वयं पूर्वप्रमुख निर्वाचन आयुक्त एस वाई क्विरेसीले गरेका छन् । आयोगप्रति जनविश्वास डगमगाएको भनाइ सार्वजनिक गरेका छन् । प्रधानमन्त्री मोदीलाई निर्वाचन आचारसंहिता उल्लंंघन गरेका सबै आरोपबाट मुक्त गरेकामा पनि आयोग विवादमा परेको छ ।

भारतको चुनावमा धार्मिक मुद्दा उठ्ने गरे पनि सन् २०१४ सम्मको चुनावमा धर्मका आधारमा निणर्ायक मतदान भएको थिएन तर यसपल्टको चुनावमा धार्मिक बन्ने होडमा मुख्य दलका नेताहरू लागेकाले धर्मनिरपेक्ष राज्यको मर्ममा प्रहार भएको छ । मोदीको भारतीय जनता पार्टी एकातिर कट्टर हिन्दुत्वको हिमायती देखिने र अर्कोतिर राम जन्मभूमि अयोध्यामा राममन्दिर बनाउन हच्किएको छ । यसलाई चुनावी मुद्दा बनाउन गाह्रो भएको छ ।

उच्च अदालतमा यो मुद्दा अनिर्णित अवस्थामा रहेकाले न्यायालयको बहानामा भाजपा पन्छिएको छ । योगी आदित्यनाथलाई मुख्यमन्त्री बनाउने उद्देश्य कट्टर हिन्दुवादी समूहलाई आफूतिर आकषिर्त गरिराख्ने र भ्रष्टाचारमुक्त छवि भएको देखाई चुनावका लागि उपयुक्त वातावरण बनाउने नै मान्न सकिन्छ । यो २०१९ को संसदीय चुनावको रणनीति तयारी थियो । कति कामयावी हुन्छ, मे २३ को नतिजाले देखाउनेछ ।

अब परम्परावादी शैलीको लोकतान्त्रिक अभ्यास असफल हुँदै गएको तथ्य स्थापित लोकतान्त्रिक देशका नयाँ प्रवृत्ति
(ट्रेन्ड) ले देखाउन थालेका छन् । एकातिर लोकतन्त्र देखावटी अर्थात कर्मकाण्डी हुँदै गएको र अर्कातिर आर्थिक र सामाजिक रूपान्तरणमा यस्ता नकारात्मक अभ्यासले प्रभाव पारी देश यथास्थितिमा रहने हुँदा यसको विकल्पको खोजी गर्ने बेला आएको छ । त्यसैले भारतका सन्दर्भमा माइरन विनरले भनेजस्तो 'अति बढी राजनीति र धेरै थोरै नागरिक पाठ' जस्तो असन्तुलन भए राजनीति झन् बढी अराजक भई खलबलिनेछ । यो रोग आज विश्वव्यापी भए पनि दक्षिण एसियाका देश बढी ग्रस्त छन् ।

नेपालको राजनीति झन् बढी तरल छ, स्थिर भएको छैन । चुनावमा पाएको मतले मात्र स्थिरता आउने होइन । दिनप्रतिदिन स्थापित सरकार र प्रतिपक्षको क्षमतामा अविश्वास बढ्दै जानु अस्थिरतातिर धकेलिएको लक्षण हो । लोकपि्रय नारा व्यवहारमा रूपान्तरण हुन सकेन भने तथाकथित लोकपि्रयतावाद (पपुलिजम्) ले मात्र राजनीतिक स्थायित्व कायम हुँदैन । भारतमा मोदीको नेतृत्व र नेपालमा खड्ग ओलीको नेतृत्व यसै दिशामा बढेको देखिन्छ ।

ओलीको लोकप्रियतावादी राष्ट्रवादले सत्तामा पुर्‍याउन क्षणिक लाभ भए पनि यसले राजनीतिक र विकासको स्थायी बाटो पहिल्याउन सक्दैन । उनको दूरदृष्टि राख्ने क्षमता छैन । यसपल्ट संसद्मा प्रतिपक्षलाई बुँदागत जवाफ दिनुको साटो प्रधानमन्त्री ओलीले ओठे जवाफ र अपहेलनाको भाषा प्रयोग गर्दा लोकतान्त्रिक संस्कार खस्किएको छ ।
राजनीतिक संस्कार निर्माणमा नेतृत्वको सैद्धान्तिक प्रस्टता र प्रतिबद्धताले भूमिका खेल्छ । जनतालाई विश्वाससाथ आकर्षण गर्ने सांगठनिक र व्यक्तिगत क्षमता अर्को कडी हो । संविधानले स्थापित गरेको भ्रष्टाचारमुक्त प्रभावकारी शासनले मुख्य भूमिका खेल्छ ।

प्रतिपक्षी नेपाली कांग्रेसले २०४६ सालदेखि संस्थागत रूपमा संस्कार निर्माण गर्न लाग्नुपथ्र्यो । कांग्रेसको परिचय लोकतान्त्रिक अभ्याससितै जोडिएको हो तर बिस्तारै यसको अस्तित्व र आकर्षणमै चुनौती आएको छ । कांग्रेसले आफ्नो प्रभावकारिता बढाउन परम्परावादी सोच र कार्यशैली बदल्नुपर्छ । लोकतन्त्रको दुहाइ दिएर मात्र हुँदैन । कांग्रेस नेतृत्वको बुताले नेपाल कम्युनिस्ट पार्टीको एकाधिकारलाई विस्थापित गर्न मुस्किल छ ।

कांग्रेसले आफ्नो संस्कार र संगठन उचो पार्न आफंै सुधि्रनुपर्छ । दोस्रो या तेस्राे पींढीका युवा नेतालाई अघि लगाएर गुमेको साख पुनः हासिल गर्ने रणनीतिमा नलाग्ने हो भने कांग्रेसको अहिलेका शीर्ष नेताहरूले नयाँ चुनौतीको सामना गर्न सक्नेछैनन् । ८-१० जना युवा नेतालाई संगठनात्मक भूमिका दिई विश्वासमा लिँदै देशका कुनाकुनामा पुग्ने वातावरण बनाउनु जरुरी छ । त्यस्ता युवा नेतामा बोल्ने शैली, खट्न सक्ने क्षमता, सहनशीलता, जनतासित भिज्ने र आफ्ना धारणा राख्न सक्ने गुण हुनुपर्छ ।

राजनीतिक संस्कार निर्माण नै लोकतन्त्रको संस्थागत विकासका लागि नभई नहुने तत्त्व हो भन्ने कुरामा सबै दलका नेता र नागरिक समाजका अगुवाहरू प्रतिबद्ध हुनुपर्छ । सामाजिक असमानता कसरी घटाउने ? शिक्षा र नयाँ राजनीतिक चेतना कसरी बढाउने भन्ने विषयमा नेतृत्व चिन्तित हुनुपर्छ । संविधानमा जे लेखिए पनि राजनीतिक दल समाज रूपान्तरणमा अग्रसर नभई सामाजिक विभेद अन्त्य हुन सक्दैन ।

पश्चिम नेपालको छाउपडीको अन्त्य गोठ भत्काएर मात्र सम्भव छैन । चेतनाले त्यस्ता विकृतिको गोठ भत्काउन नेतृत्वले भूमिका खेल्नुपर्छ । तल्लो भनिएको र उच्च भनिएको जातबीच अन्तरजातीय बिहे हुन सक्ने अवस्था छैन । राज्यको स्वभाव र गराइमा यसको अन्त्य गर्ने अठोट देखिँदैन । कानुन बन्ने तर लागू गर्न नसक्ने नरम राज्य (सफ्ट स्टेट) का लक्षण हुन् । नेपाल पनि अहिले यस्तै अवस्थमा छ । क्रान्तिकारी र लोकतन्त्रवादीहरू पनि सामन्तवादको अवशेषबाट मुक्त हुन सकेका छैनन् ।

प्रकाशित : जेष्ठ ५, २०७६ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्

नास्तिकहरूको दुःख

पञ्चायती
आहुति

सम्भवतः मानव समाजमा सबैभन्दा लामो वैचारिक संघर्ष अध्यात्मवाद र भौतिकवादको वैचारिकीका बीचमै हुनेछ । त्यस विशद संघर्षमा प्रवेश गर्नु यस लेखको मनसुबा होइन, तैपनि धर्म र आस्तिकताको विपक्षमा उभिने नास्तिकता किन विद्रोही चरित्रभन्दा माथि उठ्न सकेन र पटकपटक पराजित हुँदै आयो भन्ने विषयमा बहस उठाउने उद्देश्य भने पक्का राखेकै छ ।

दक्षिण एसियाको इतिहासमा भारतका सहिद भगत सिंह नास्तिक विचार र व्यवहारका एउटा शिखर उदाहरण हुन् । उनले 'म नास्तिक किन हुँ?' शीर्षक कालजयी रचना मात्र लेखेनन्, बरु फाँसी दिन उनलाई सिपाहीहरूले लिन जाँदा लेनिनको पुस्तक पढिरहन बाधा उत्पन्न भएपछि उनले भनेका थिए, 'व्यवधान नगर । एउटा क्रान्तिकारी अर्काे क्रान्तिकारीसँग कुराकानी गरिरहेको छ !'

फाँसीको निकट क्षणमा समेत मृत्यु र बलिदानलाई भौतिक प्रक्रियाकै रूपमा सहजतापूर्वक ग्रहण गर्नुले उनको नास्तिकता केवल युवा विद्रोही भावुकता नभई सुस्पष्ट विश्वदृष्टिकोणसहितको समझ थियो भनी मान्नैपर्ने हुन्छ । नेपालको इतिहासमा वाग्मती उपत्यकामा श्रुति र वंशावलीमा फेला पर्ने घण्टाकर्ण पनि विद्रोही नास्तिक मानिन्छन् । कसैले गाएको भजन र भगवान्को पुकार सुन्न नपरोस् भनेरै उनी आफ्नो कानमा घण्टा झुन्डयाउँथे भनिएको पाइन्छ ।

यहाँ घण्टाकर्णको चर्चा नास्तिकहरू नेपालको इतिहासमा कसरी उपस्थित थिए भन्ने विषय रोप्नका निम्ति हो भने भारतीय सहिद भगत सिंहको प्रसंगचाहिँ आधुनिक इतिहासमा नास्तिकहरू पूरै आफ्नो वैचारिकीसहित व्यवहारमै उत्रिएका थिए भन्ने दृष्टान्तका लागि । यी दुई सन्दर्भलाई अगाडि राखेर मात्र हेर्दा पनि नास्तिकता विगतको दूर इतिहासदेखि आस्तिकता र धर्ममाथि गम्भीर चुनौतीपूर्ण व्यवहार रहँदै आएको स्पष्ट हुन्छ ।

भौतिकवादी दर्शनलाई आफ्नो मार्गनिर्देशक सिद्धान्त बनाउने कम्युनिस्ट आन्दोलन अस्तित्वमा आएपछि त दुनियाँका तमाम नास्तिकले आफ्नो संगठन नै प्राप्त भएको महसुस गर्नुपर्ने थियो तर त्यसो हुन सकेन । त्यसो हुन नसक्नुमा दुई कारण देखिन्छन् । एक, कम्युनिस्टहरू भौतिकवादी विश्वदृष्टिकोणसहितका नास्तिक त थिए तर उनीहरूको राजनीतिसँग सबै नास्तिकहरू सहमत हुन सकेनन् । दुई, गैरकम्युनिस्ट नास्तिकसँग सांस्कृतिक संयुक्त मोर्चा बनाउने नीति कम्युनिस्टहरूले अगाडि सार्न सकेनन् ।

पुँजीवादी राजनीतिले नाफा लुट्न भौतिकवादी तरिका अपनाउने र आफ्नो नाफाको षड्यन्त्रलाई नैतिक वैधता दिन आस्तिकतालाई प्रचार गर्ने कुटिल रणनीति अख्तियार गर्‍यो । राजा ईश्वरकै अंश हो भन्ने सामन्तवादी अवधारणालाई परिमार्जन गर्दै पुँजीवादले जसले सम्पत्ति आर्जन गर्छ, ईश्वरले त्यसैलाई माया गर्छन् भन्ने अवधारणासम्म फैलायो ।

पुँजीवादविरोधी नास्तिक चिन्तनको कार्ल माक्र्सकालीन कम्युनिस्ट युग आफ्नो विचारधाराको वैज्ञानिकता पुष्टिमै बित्यो । जब लेनिनहरू क्रान्तिका निम्ति तयारीमा उत्रिए, तब एउटा विशाल प्रश्न खडा भयो- आस्तिक र धार्मिकहरूलाई पार्टी सदस्य बनाउने कि नबनाउने, आन्दोलनमा गोलबन्द गर्ने कि नगर्ने ? जनताको विशाल फौज जो परिवर्तन चाहन्थे तर नास्तिक वैचारिकीमा थिएनन् ।

अन्ततः रूसी कम्युनिस्ट पार्टी (बोल्सेभिक) राजनीतिक कार्यभारलाई मुख्य बनाएर पार्टी र क्रान्ति हाँक्ने दिशामा अगाडि बढ्यो । बोल्सेभिक क्रान्तिका कार्यकर्ताहरू कस्ता थिए भन्ने एउटा चित्र म्याक्सिम गोर्कीको 'आमा' उपन्यासमा रोचक ढंगले देखिन्छ । उपन्यासको नायक पावेल भ्लासभ नास्तिक छ । उसकी आमा पनि क्रान्तिकारी त बन्छे तर आस्तिक छे । दुवै कम्युनिस्ट राजनीतिक क्रान्तिमा निष्ठावान् रहन्छन् । नास्तिक र आस्तिकको कम्युनिस्ट आन्दोलनमा सहभागिताको चरित्र आजसम्म यस्तै रहँदै आयो ।

नेपालमा सामन्तवादी राणाशासनविरुद्धको लोकतान्त्रिक आन्दोलनबाट निर्मित विश्वेश्वरप्रसाद कोइरालाले आफूलाई नास्तिक घोषणा नगरे पनि रूढिवादी संस्कारगत पतनशीलताबाट माथि उठ्ने उनको कोसिस भने प्रस्ट देखिन्छ । भौतिकवाद-उन्मुख कोइरालाको रुझानलाई कांग्रेस विरासतले अघि बढाउने कुनै वैचारिकी र नीतिगत प्रयास आजसम्म गरेको छैन, बरु उनको रूढिवादविरोधी चेतनाभन्दा धेरै पश्चगामी यात्रामा कांग्रेसको राजनीति यात्रारत छ ।
अन्यत्र जस्तै भौतिकवादको वैचारिकी वा नास्तिकताको ठेक्का नै लिएझैं गर्ने कम्युनिस्ट आन्दोलनको अवस्था नेपालमा पनि बेहाल बन्न पुगेको छ ।

आफूलाई भौतिकवादीका रूपमा कहलाएर पछि आस्तिकमा रूपान्तरण भएका भूपू कम्युनिस्टहरू नेपालमा थुप्रै छन् । आजको नेकपा (नेकपा) का दुई अध्यक्ष नै आस्तिकताको प्रचारमा लाग्नुले हिजोका मोहनचन्द्र अधिकारीहरू धेरै पछाडि छोडिएको सजिलै देख्न सकिन्छ । बालक आदित्य दाहाललाई अलौकिक शक्तिधारी रहेको प्रचारमा जुट्नु भनेको भौतिकवादका विरुद्ध खुला आस्तिकताको प्रचारबाहेक अरू केही होइन ।

आदित्य दाहालमा असामान्य गुणहरू भेटिएका हुन् भने नेकपा (नेकपा) का दुनियाँभर पहुँच भएका अध्यक्षहरूले त दुनियाँका अब्बल बैज्ञानिकहरूसमक्ष आदित्यको क्षमताबारे अनुसन्धान पो गराउनुपथ्र्यो । त्यसको सट्टा नेपालमा क्रियाशील ठूला दलाल पुँजीपतिहरूको एउटा डफ्फासँगै लाजै नमानी सारा विज्ञानलाई टाङमुनि हालेर बालकलाई अलौकिक घोषणा गर्न पो पुगे !

कतिपयले भन्छन्- नेकपा -नेकपा) का नेताहरूले यस्तो गर्नु स्वाभाविक नै हो किनभने हिजो क्रान्तिकारी भएकाले पो भौतिकवादी वा नास्तिक थिए त ! यस्तो भनाइको सार भनेको कम्युनिस्ट वा क्रान्तिकारी मात्र भौतिकवादी वा नास्तिक हुन्छन् वा हुनुपर्छ भन्ने हुन्छ, जुन गलत हो । न घण्टाकर्ण र भगत सिंह कम्युनिस्ट थिए, न आइन्सटाइन र स्टेफेन हकिन्स नै । उनीहरू त मात्र भौतिकवादी नास्तिक थिए ।

सबै नास्तिक भौतिकवादी हुन्छन् तर सबै नास्तिक कम्युनिस्ट हुँदैनन् भन्ने त ऐतिहासिक तथ्य हो । एउटा आस्तिकले पार्टी फेर्न सक्छ, राजनीतिक लाइन फेर्न सक्छ तर आफ्नो आस्तिकता फेर्दैन । तब एउटा भौतिकवादी नास्तिकले राजनीतिक लाइन फेर्नेबित्तिकै नास्तिकता छाड्नुपर्ने बाध्यता आउनुपर्ने कुरै होइन । वास्तवमा आस्तिकता वा नास्तिकतालाई राजनीतिक लाइनको पर्यायका रूपमा बुझ्ने दृष्टिकोण नै गलत देखिन आउँछ ।

नास्तिकहरू आस्तिकमा बदलिने सामान्यतया तीन वटा अवस्था देखिन्छन् । एक, धर्म र आस्तिकतासँग जोडिएका रूढिवाद र संस्कृतिसँग असन्तुष्ट भएर केवल भावना वा भावुकतावश त्यसविरुद्ध उभिएका युवा उमेर समूहका मानिसहरू । यस कोटिका युवालाई आस्तिकता आफू बाँचेको समाजको संगठनको महत्त्वपूर्ण कडी हो र त्यो संगठनको संरचना धेरै शक्तिशाली हुन्छ भन्ने सुरुमा हेक्का हुँदैन ।

जब आस्तिक सामाजिक संगठनको संरचनाले उसको नास्तिकतालाई बेर्दै अधबैंसे उमेरमा पुर्‍याउँछ, तब हिजोको भावुक विद्रोही नास्तिक युवा 'नसकिने रहेछ' वाला मानसिकतामा पुगी आस्तिक संस्कृतिको कलपुर्जामा ढालिन्छ । दुई, वैचारिक रूपमै भौतिकवादी नास्तिकतालाई अँगालिसकेका तर तत्कालीन राजनीतिकलगायत स्वार्थलाई त्याग्न नसक्ने व्यक्तिहरू । विगतमा निष्ठापूर्वक नास्तिकताका पक्षमा व्यवहारमा उत्रेका कम्युनिस्टहरू जो पछि आस्तिक बन्छन्, तिनीहरूमध्ये धेरैजसो यस समूहका देखिन्छन् ।

विशाल जनताको आस्तिक हिस्सालाई आफूतिर आकषिर्त गर्न वा आफ्नो जनविरोधी राजनीतिविरुद्ध जनतालाई भाग्यवादी बनाएर सहने बानी पार्न उनीहरू आस्तिकताका पक्षमा नाटकबाजी गर्दै अगाडि आउँछन् । यस खालका व्यक्ति जीवनमा भने दोगला चरित्रका देखिन्छन् । नेकपा (नेकपा) जस्ता पार्टीका नेताहरू दैनन्दिन जीवनमा धार्मिक कार्यमा निष्ठापूर्वक लाग्दा पनि लाग्दैनन् तर जनसमर्थन जुटेको धार्मिक सार्वजनिक अनुष्ठानहरूमा भौतिकवाद र अध्यात्मवादको संगम हुनुपर्ने भाषण गर्न सबैभन्दा अगाडि पुग्न पनि छाड्दैनन् !

वास्तवमा जनताको आस्थामाथि समेत स्वार्थपूर्ण खेलबाडमा उत्रिने यो निकै घृणास्पद प्रवृत्ति हो । तीन, भौतिकवादी नास्तिकता ठीक लाग्ने, त्यसको नेतृत्व गर्ने मान्छेको अनुसरण गर्न मन पराउने तर आफू बाँचेको समाज त्यसअनुकूल नभएकाले सही लागे पनि नास्तिकतालाई दृढतापूर्वक समग्र व्यवहारमा लागू गर्न नसक्ने मानिस । यस समूहका मानिस परम्परागत अनुष्ठानमा उदार देखिन्छन् र सांस्कृतिक रूढिवादविरुद्धका विद्रोहीहरूलाई सघाउन तुरुन्तै तयार हुन्छन् तर आफ्नो निष्ठाको रुझान नास्तिकता हुँदाहुँदै पनि नास्तिकता संस्कृतिका रूपमा अगाडि नआउनका कारण यस समूहका मान्छे आस्तिकका रूपमा व्यवहारमा जीवन व्यतीत गरिरहन्छन् ।

वास्तवमा नास्तिकबाट आस्तिक जीवन व्यवहारमा जाने तीन वटा प्रवृत्तिमध्ये यो पछिल्लो प्रवृत्ति नै ध्यान दिन योग्य प्रवृत्ति हो किनकि यो प्रवृत्ति स्वार्थ वा भावुकताका कारण नास्तिकताबाट आस्तिक जीवन व्यवहारमा फर्केको होइन । बरु आस्तिक सामाजिक संगठनलाई बदल्ने वा त्यससँग जुध्ने बाटो फेला नपरेर खुम्चिन पुगेको हो । नेपालमा विभिन्न राजनीतिक विचारलाई समर्थन गर्ने नास्तिकहरू र कम्युनिस्ट पार्टीका समर्थकहरूको विशाल संख्या यही प्रवृत्तिभित्र रहेको बुझ्न खास कठिनाइ पर्दैन ।

आजको नेपालमा कम्युनिस्ट समर्थकले मत दिएको सरकार बन्ने, सरकारविरुद्ध सडकमा पनि कम्युनिस्ट नै हुने तर धार्मिक वा आस्तिकहरूको विभिन्न नियतकेन्द्रबाट सञ्चालित जनआधारित चहलपहल पनि व्यापक मात्रामा बढ्दै जाने विरोधाभासपूर्ण परिस्थिति के फगत संयोग मात्र हो ? कदापि हुन सक्दैन ।

यथार्थमा नास्तिकहरूले नास्तिकतातिर आकषिर्त विशाल जनसमुदायलाई सही दिशामा परिचालन गर्न नसक्नु नै यसको मुख्य कारण हो भनी मान्न करै लाग्छ । नास्तिकता सांस्कृतिक विषय हो, त्यसैले संस्कृतिले सामूहिकता वा समाजको एकरूप व्यवहारको माग गर्छ ।

सामूहिक वा सामाजिक एकरूप क्रियाकलाप कुनकुन बेला प्रकट हुन्छ ? पहिलो, त्यो उत्पादन कार्यमा प्रकट हुन्छ । मानव समाजले तीन कुरा उत्पादन गर्ने हो-प्रजनन गरेर मानव उत्पादन गर्ने, बौद्धिक तथा भौतिक आवश्यकताका वस्तु उत्पादन गर्ने र यी दुवै उत्पादनका निम्ति आवश्यक प्रविधि एवं औजार उत्पादन गर्ने ।

दोस्रो, सामाजिक संगठनमा प्रकट हुन्छ । मानिस सामाजिक भएकाले समाजलाई निरन्तरता दिन, अनुशासित बनाउन र अनिष्टबाट रक्षा गर्न सामूहिक एकरूप व्यवहार जरुरी हुन्छ । तेस्रो, समाजलाई बदल्दै लैजानुपर्ने कार्यभारमा प्रकट हुन्छ । हरेक वस्तुजस्तै समाज पनि थोत्रिँदै जान्छ, त्यसलाई नयाँ संरचनामा बदल्नुपर्ने हुन्छ तर व्यक्ति एक्लाएक्लैले सम्भव हुन्न, तब सामूहिक धक्काको आवश्यकता हुन्छ ।

यसरी मानव जीवनमा गरिने आधारभूत सांस्कृतिक क्रियाकलाप सामूहिक हुनैपर्छ । त्यसका निम्ति कुनै न कुनै रूपको संगठन हुन जरुरी हुन्छ तर विश्वदृष्टिकोण नै नयाँ अपनाउने नास्तिकहरूको संगठन चाहिँ खै त ? मानव समाजमा चालु विचारमा आधारित संगठन स्वयम् समाज हुन्छ तर नयाँ विचार संस्कृतिले अगाडि बढ्न चाहँदा फरक सम्प्रदायका रूपमा संगठन प्रकट हुनुपर्छ ।

भौतिकवादी नास्तिकहरूको संगठन र सम्प्रदाय ठोस रूपमा बन्ने यात्रा कहिल्यै इतिहासमा भेटिन्न । चार्वाक, ताओ मत, लोकायतजस्ता पन्थहरू नास्तिक दार्शनिक झुन्ड मात्रै हुन्, सामाजिक सम्प्रदाय होइनन् । सम्प्रदायका रूपमा संगठित हुन अलग संस्कारहरूलाई समेत व्यवस्थित गरेको हुनुपर्छ तर ती पन्थहरू सामाजिक संस्कारसम्म विस्तारित पाइन्नन् । आधुनिक कालभन्दा अगाडिका नास्तिकको अवस्था त्यस्तो देखिन्छ भने आधुनिक विश्वको भौतिकवादी कम्युनिस्ट आन्दोलन मूलतः राजनीतिमै केन्द्रित छ । त्यसले आज पनि भौतिकवादी नास्तिकतालाई सामाजिक संगठनको रूप दिने दिशामा पहल गरेको पाइँदैन ।

निष्कर्षमा, हजारौँ वर्षदेखिको फगत विश्वास र अन्धतामा आधारित आस्तिकतालाई चुनौती दिने नास्तिकताको दुःख यहीँनेर छ । आजको नयाँ युगमा भौतिकवादी नास्तिक मानव प्रवृत्तिले पुरानै तरिकाबाट आफूलाई वैचारिक र व्यक्ति विद्रोहीका रूपमा मात्र सीमित राख्ला वा नास्तिकतालाई सामाजिक संस्कृतिको रूप दिने रणनीति अगाडि सार्ला ? नास्तिकहरूको भविष्य यसैद्वारा निर्धारित हुनेछ ।

जबसम्म भौतिकवादी कम्युनिस्टहरूले गैरकम्युनिस्ट नास्तिकहरूसँग सांस्कृतिक संयुक्त मोर्चाको नीति लागू गर्नेछैनन् र जबसम्म नास्तिकहरू राजनीतिक लाइनमा जतातिर विभक्त भए पनि सामाजिक जीवनमा नास्तिक संस्कारहरूसमेत एकरूप भएको सम्प्रदायका रूपमा संगठित क्रियाकलापमा अघि बढ्नेछैनन्, तबसम्म नास्तिकहरूको दुःख जारी रहनेछ ।

प्रकाशित : जेष्ठ ५, २०७६ ०८:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्