कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इतिहास भन्ने फिल्म खोइ ?

निष्णु थिङ

त्रिभुवन विश्वविद्यालयमा इतिहास पढ्ने विद्यार्थी नभएर विभागै बन्द हुने अवस्थामा पुगेको छ  । प्राध्यापकहरू विद्यार्थी आउलान् र पढाउँला भनेर बसेका छन्  ।

इतिहास भन्ने फिल्म खोइ ?

इतिहास गम्भीर विषय पनि समाजमा फाल्तु चिजजस्तो भएको छ । यसै त नेपालको इतिहास लेखन–अभिलेखनमा विदेशीहरूको दबदबा थियो/छ । इतिहास विभाग सुक्दै जाँदा कालान्तरमा आफ्नै इतिहासबारे हामीलाई खट्किदा विदेशी नै गुहार्नुपर्ने दिन नआउला भन्न सकिँदैन । यो राम्रो संकेत होइन । यस्तो अवस्थामा नेपालमा इतिहासको महत्त्व पुनःस्थापित गर्न यस लेखमा इतिहासको फिल्मीकरणबारे चर्चा गरिएको छ ।

इतिहासमाथि फिल्म
केही अघि हेरेका दुई हिन्दी फिल्म खास थिए– ‘मनिकर्निका’ र ‘केशरी’ । दुवै फिल्म अंग्रेजी उपनिवेशकालमा आधारित थिए, फरक–फरक विषय र सन्देश बोकेका । दुवैमा तथ्यगत इतिहासलाई फिल्मको पर्दामा उतारिएको छ । दुवै फिल्मले भारतको गुलामीका ती दिनहरू झलझली सम्झाएका छन् । इतिहासको विहङ्गम चित्रण गरेका छन् ।

‘मनिकर्निका’ भारतमा ब्रिटिस साम्राज्यवाद विरुद्ध झांँसीकी रानी लक्ष्मीबाईको जीवनीमा आधारित छ । झांँसीकी रानी जन्मे–हुर्केको परिवेश गहिरोसित प्रस्तुत गरिएको छ । भारतमा त्यतिबेला रहेका विभिन्न रजौटा र तिनको पृथक राज्यहरूको अस्तित्व गज्जबले देखाइएको छ ।

अंग्रेजको गुलामीबाट मुक्तिका लागि तरवार र हतियार उठाउनु त्यस समयको साहसिक कार्य थियो । अरु राज्यहरूले बेलायती उपनिवेशको चाकडी गरिरहँदा लक्ष्मीबाईले त्यस विरुद्ध मोर्चा कसेकी थिइन् । उनले अरु राज्यसहित अंग्रेज विरुद्ध सामूहिक लडाइँ लड्ने प्रस्ताव पनि अगाडि सारेकी थिइन् । कसैले साथ नदिएपछि आफै लडिन् । सर्वसाधारणमा राष्ट्रिय स्वाभिमानको जागरण ल्याइन् ।


बेलायती दबदबा विरुद्ध लक्ष्मीबाईकै नेतृत्वमा लखनऊ विद्रोह भइरहँदा अंग्रेजले गरेको अत्याचारलाई फिल्ममा देखाइएको छ । सन् १८५७ को लखनऊ विद्रोहको दौरान ज्यान जोगाउन त्यहाँकी राजमाताले नेपालमा शरण लिएको पनि फिल्ममा देखाइएको छ । तर नेपालबाट जङ्गबहादुर राणाको नेतृत्वमा अंग्रेजलाई सघाउन गएको देखाइएको छ्रैन । फिल्म निर्माता र निर्देशक त्यसप्रति अनविज्ञ थिए भन्न सकिन्न ।

जबकि जवाहरलाल नेहरूले नै आफ्नो पुस्तक ‘डिक्कभरी अफ इन्डिया’ को पृष्ठ ३५४ मा भनेका छन्, ‘बेलायतले गोर्खाको सहयोग पायो ।’ झाँसीकी रानीको प्रतिरोध र स्वाधीनता प्राप्तिको आन्दोलन चानचुने थिएन । अंग्रेज विरोधी लडाइँ लड्दा–लड्दै सहिद भइन् उनी ।


‘केशरी’ हालै काठमाडौंका सिनेघरहरूमा पनि प्रदर्शन भयो । यस फिल्मले मुख्यतः शिख समुदायको बहादुरी र वीरताको चर्चा गरेको छ । सन् १७९७ मा सारागढीमा २१ जना शिखहरूले दसौं हजार पठान सेनासित लडेको वीरताको युद्धमा आधारित छ यो । ईश्वर सिंह नामक हवल्दारको नेतृत्वमा लडेको त्यो लडाइँले इतिहासका कैयन पर्दाहरू च्यातिदिन्छ । नेपालसित त्यस्ता कहानी कति छन् कति ।

यो फिल्म हेरिरहँदा मलाई आफ्नै देशका पूर्खाका इतिहासका पानाहरू पल्टिरहेको आभास भयो । भारतमा अफगानीलाई छिर्न नदिएर जुन वीरता शिखहरूले देखाएका थिए, त्यसैबाट प्रभावित भएर बेलायतले शिखहरूलाई पल्टनमा भर्ती गरेको रहेछ । गोर्खालीलाई जस्तै भारतका शिखलाई पनि भाडाका सिपाहीका रूपमा बेलायतले आफ्नो साम्राज्य विस्तार र प्रभुत्वका लागि प्रयोग गरेको महसुस भयो ।

यसबाट अंग्रेजी साम्राज्यवादले हाम्रो बहादुरी र वीरतालाई उपयोग गरेको तथ्य उजागर हुन्छ । यो फिल्मले धर्मभीरुहरूले गर्दा इतिहासमा भीषण युद्धहरू उत्पादन हुन्छन् भन्ने अर्को महत्त्वपूर्ण सत्य उजागर गर्छ । बलात्कृत भएर गर्भधारण गर्न पुगेकी एक महिलालाई अपवित्र र धर्मको उल्लंघन भएको ठहर गरी धर्मगुरुले अनकण्टार ठाउँमा लगेर हत्या गर्न खोज्दा एक शिख हवल्दार ईश्वर सिंहले उनलाई बचाएको परिवेशमा फिल्मको सारा पटकथा नाचेको छ ।

हाम्रो इतिहास
हामीले ‘मनिकर्निका’ चलचित्रमा जस्तो राष्ट्रिय स्वाधीनताको आन्दोलन लड्नु परेन । तत्कालीन इष्ट इन्डिया कम्पनीसित प्रतिरक्षा लडाइँ नभएका होइनन् । सिन्धुली गढी, मकवानपुर गढी, नालापानी, देउथल, देहरादून लगायत विभिन्न स्थानमा हामी अंग्रेजसित आमने–सामने भएका थियौं । पछि सन् १८१४–१६ दुई वर्षसम्म पाँच ठाउँमा भएको नेपाल–अंग्रेज युद्धमा तीनमा अंग्रेज र दुईमा हामी विजयी भयौं ।

फलस्वरुप उनीहरूसित चित्त नबुझी–नबुझी सुगौली सन्धि गर्नुपर्‍यो । त्यही दिनदेखि अंग्रेजी अर्धऔपनिवेशिकता नेपालमा पनि कायम भएको कतिपय इतिहासकारहरूको कथन छ । वि.सं.२००६ सालमा गठित नेपाल कम्युनिष्ट पार्टीको घोषणापत्रले पनि यसै भन्छ । उक्त भीषण युद्धको अन्त्यपछि बलभद्र कुँवर पन्जाबी सेनामा भर्ती भए । सुगौली सन्धि लगत्तै नेपालमा अंग्रेजी दूतहरू आए ।

उनीहरूले काठमाडौंमा अड्डा जमाउन थाले । विस्तारै नेपालका बहादुर युवालाई बेलायती सेनामा भर्ना गर्न थालियो । यसरी नेपाल लगायत भारतका विभिन्न विशेष जातिका युवाहरूलाई आफ्नो सेनामा भर्ती गराएर बेलायतले आफ्नो साम्राज्यवाद धानेको देखिन्छ ।

प्रथम र दोस्रो विश्वयुद्ध केका लागि र कसका लागि भयो, हामीलाई थाहै छ । त्यस युद्धमा हाम्रा दुई–दुई लाख युवाले भागमात्रै लिएनन्, कतिले ज्यान पनि गुमाए । त्यतिबेला ज्यान गुमाएका परिवारले कस्तो मनोवैज्ञानिक, सामाजिक, सांस्कृतिक लगायतका समस्या भोग्नुपर्‍यो, यतिका वर्षसम्म त्यसको लेखाजोखा छैन । कार्गिल र फोकल्यान्ड लडाइँमा भिडेका हाम्रा गोर्खाली फौजबारे पनि फिल्म/साहित्य बन्न सक्छ । यस्ता विषय देशभित्र र बाहिरका प्रशस्त छन्, ती हाम्रा इतिहास र साहित्यका स्रोत हुन् । तिनको फिल्मीकरण गर्न आवश्यक छ ।

बलिउडले इतिहासमा आधारित थुप्रै चलचित्र निर्माण गरेको छ । हामीकहाँ ऐतिहासिक फिल्म खासै बनेका छैनन् । नेपालका फिल्म निर्माता र निर्देशकहरूले यता ध्यान कहिले जाला ? त्रिभुवन विश्वविद्यालयको इतिहास विभागले पनि इतिहासका नाममा राजामहाराजाहरूको कहानीमात्रै भट्टयाउने काम बन्द गरेर जनतालाई इतिहासको स्रोत मान्दै उनीहरूको विगतमाथि अध्ययन, अनुसन्धान गर्न आवश्यक छ ।

अहिलेसम्मको इतिहासलाई प्रश्न, शंका र आलोचना गर्दै अबका इतिहास सर्वसाधारण, शासित र जनताको आँखा र दृष्टिकोणबाट लेखिनुपर्छ । फिल्मीकरण पनि इतिहास पढ्ने, बुझ्ने र बुझाउने आधुनिक विधि हुन् । अत्यन्तै प्रभावकारी यो विधि र प्रविधि अपनाएर हामी इतिहासका धेरै कुरा भन्न सक्छौं ।


अंग्रेजहरूका राम्रो पक्ष दुश्मनको पनि मुक्तकण्ठले प्रशंसा गर्ने संस्कार हो । उनीहरूले झाँसीकी रानीलाई ‘बेस्ट र ब्रेभेस्ट’ भनेर तारिफ गरे । हाम्रा बलभद्र कुँवरलाई पनि उनीहरूले प्रशंसा गरेर लेखे । अर्को आफ्नो साम्राज्य विस्तार गर्न संसारका जुनसुकै कुनामा उनीहरू जो–जो पुगे, तिनले आत्मकथा लेखेर ब्रिटिस पुस्तकालय लन्डनलाई बुझाए । लक्ष्मीबाईलाई पराजित गर्ने सैनिक कमाण्डरदेखि नेपाल र दार्जिलिङमा जीवन बिताएका बी.एच. हडसनसम्म धेरैले त्यही गरे । अहिले नेपालबाट रोजीरोटीका लागि विदेशिएका युवा, विदेशमा राजदूत र कूटनीतिज्ञ भएर गएकादेखि गोर्खाली फौजमा भर्ती भएका सबैले यसो गरे हुन्थ्यो । हाम्रो वाङमय, ज्ञान र सूचनाको भण्डार पनि फराकिलो हुन्थ्यो । तिनमाथि फिल्म पनि बनाउन सकिन्थ्यो ।

-निष्णु थिङ

प्रकाशित : वैशाख १४, २०७६ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?