क्रान्तिपछिको गेरुवा तमासा

उज्ज्वल प्रसाईं

काठमाडौँ — नेपालमा राजनीतिक क्रान्ति सकिएको औपचारिक घोषणा भएसँगै धार्मिक ‘बाबागिरी’ सुरु भएको छ । काठमाडौंमा ठूलो तामझामसहित ‘ॐ आदिमणि मन्त्र महायज्ञ महाअनुष्ठान’ को आयोजना गरियो । शारीरिक समस्या लिएर जन्मेका आठवर्षे बालक आदित्य दाहाल सो महायज्ञमा जगद्गुरुका रूपमा विराजमान गराइए ।

पहिल्यै गुगल ब्वाईका नामले प्रचारित बालकले गरेका तिलस्मी कामका फेहरिस्तको चर्चा गरेर महायज्ञको उपादेयता पुष्टि गरियो ।

अद्भुत शक्ति भएका, आफ्नो मन्दिरको इन्जिनियरिङ आफै गर्ने, ध्यान–योगका नयाँ विधि पत्तो लगाउने, दसौँ दिनसम्म निराहार ध्यान बस्ने जस्ता आदित्य–महिमा प्रकाशित भए । त्यतिले नपुगेर नाम चलेका मेडिकल डाक्टर र योगीमार्फत उनका कीर्ति र तिलस्मको वृत्तान्त रचियो । रोचक के भने, हरेक फूलबुट्टे वृत्तान्तमा ‘गुरु आदित्य प्रचार रुचाउँदैनन्’ भनियो !

औपचारिक दस्तावेज र वक्तव्यमा मार्क्सवादी दर्शनलाई मार्गदर्शक सिद्धान्त मानेका ‘कमरेड’हरू सो महायज्ञ सफल बनाउन दत्तचित्त थिए । उनै द्वन्द्वात्मक भौतिकवादीहरू बालक दाहालका नाममा प्रतिपादित धार्मिक सिद्धान्तका अब्बल प्रचारक देखिए ।

प्रधानमन्त्री केपी ओलीले सगर्व प्रकट गरेको आदित्यभक्ति राजनीतिक सत्ता र वामपन्थी सरकारको सोझो संलग्नता देखाउन काफी छ । आदित्यलाई गुगल ब्वाई हुँदै जगद्गुरु बनाएर महायज्ञको आयोजनसम्म पुर्‍याउनमा‘डेमोक्र्याट’ र ‘कम्युनिस्ट’ दुवै संलग्न रहे । स्वास्थ्य उपचार गराउन कसैले पनि विदेश जानु नपर्ने ठूलो दाबीसहित खोलिएको एउटा कर्पोरेट अस्पताल सो महायज्ञको मुख्य प्रायोजक रहेको त सडकमा ठडिएको प्रत्येक गेरुवा गेटमा प्रस्ट देखिन्थ्यो !

राजनीतिक, व्यापारिक र नागरिक एलिटहरूको सामूहिक प्रयत्नबिना आदिमणि मन्त्र महायज्ञ सफल हुने थिएन । आधारभूत तहका सामान्य जनताले आफूले आस्था राख्ने कुनै निराकार दैवीशक्ति वा प्रकृतिको पूजा गर्ने अनुष्ठान होइन, आदिमणि महायज्ञ ।

उपलब्ध औषधीले निको नभएपछि दिक्दार अभिभावकले बिरामी बच्चा बोकेर भाकल गरे जस्तो पनि होइन, यो यज्ञ । प्रचार संयन्त्रमा प्रभावकारी पहुँच, राजनीतिक सत्ता र सरकारको बलियो आड एवं धनको प्रत्यक्ष लगानीमार्फत रचिएको गेरुवा तमासा हो यो । सम्भवतः आधारभूत जनताको धार्मिक आस्थाको दोहन गर्ने मनसुवासहित यो तामझाम रचिएको हो ।

सक्ता, शत्ति र बजारको सम्मिश्रणमा प्रदर्शित तमासा सम्बन्धी सूचना अपेक्षित रूपमा बाहिर आएन । बरु सूचनाको खेती गर्ने पत्रिका, सम्पादक र पत्रकारहरू नै आदित्य–महिमा रचिदिने लेखनदास भए । तिनले प्रश्न सोधेनन्, सन्देह गरेनन्, महायज्ञको उद्देश्य खोतलेनन्, व्यापारी र राजनीतिक एलिट किन यस महायज्ञका आयोजक बने भन्ने अति सामान्य चासोसम्म राखेनन् । अर्थात् तिनले गर्नैपर्ने सामान्य भूमिका पनि निर्वाह गरेनन् । सत्ता, बजार र धर्मको घातक सम्बन्ध उजागर गर्नु तिनको चाहना थिएन, त्यसैले तिनको सामर्थ्यको प्रश्न असान्दर्भिक बन्यो ।
आधुनिक राज्यका आवश्यक अंगका रूपमा अस्तित्वमा रहेको दलीय राजनीतिको धरातल अध्यात्म होइन । जनचासोको हरेक विषयमा सूचना प्रसार गर्ने उद्यमको जिम्मा लिएको पत्रकारिताको जग तिलस्म हुन सक्दैन । नाफादेखि नाफासम्मको म्याराथनमा व्यस्त रहने व्यापारीले आध्यात्मिक आनन्दका लागि गेरुवा तमासा रच्दैन ।

त्यसैले यी तीन थरी बिलकुल भौतिकवादी धरातलमा उभिएका संस्था र व्यक्तिले देखाएको तिलस्म र अध्यात्मप्रतिको लगाव शंकास्पद छ । अन्तर्य उधिनेर हेर्नसके, यो गठजोड सिंगो समाजका लागि खतरनाक सावित हुनसक्ने सम्भावना प्रबल छ ।

भारतीय समाजमा अनेक बाबाको प्रताप र प्रभाव उल्लेखनीय भएपछि समाजशास्त्रीले यसबारे अध्ययन गरे । अध्येताहरूले ‘बाबाडम’लाई महत्त्वपूर्ण सामाजिक घटनाका रूपमा बुझेर तिनको अन्तर्य केलाउन थाले । हजारौँ मानिस ‘गड–मेन’का अनुयायी बनेको घटना अध्ययनयोग्य विषय हो ।

यस्ता अध्ययनलाई उकेरा लगाउने चाहिँ सञ्चार माध्यममा भएका रिपोर्टिङ र पत्रकारले लेखेका पुस्तक नै हुन् । भारतमा आशाराम बापुका कर्तुत बाहिर आए । रामदेवको नाफाखोरी धन्दा उधिनेर पुस्तक लेखियो । साई बाबाका टुनामुना चिरेर तथ्य प्रकाशमा ल्याउने काम रिपोर्टिङमार्फतै भयो ।

धार्मिक अनुष्ठान र सम्प्रदायका आवरणमा बाबाहरूले राख्ने राजनीतिक एवं आर्थिक स्वार्थका पर्दा च्यात्न सहज हुन्न । उपर्युक्तमध्ये कुनै गड–मेन कम प्रभावशाली थिएनन् । तिनका अनुयायीको संख्या गनेर साध्य थिएन । तथापि केही सञ्चार माध्यम र पत्रकारहरूले वास्तविकता उजागर गरेरै छाडे । अर्थात् पत्रकारिताबाट अपेक्षा गरिने सामान्य भूमिका निर्वाह गरे । असल पत्रकारिताले उधिनेका तथ्यका हाँगा समातेर गहिरो प्राज्ञिक अध्ययन सम्भव हुनसक्छ । नेपालमा तथ्य खोज्ने पहिलो उद्यम निम्छरो देखिएको छ ।

रामबहादुर बमजनलाई नेपाली सञ्चार माध्यमले तपस्वी ठहर्‍याएका थिए । नेपाल र भारतजस्ता मुलुकमा अलौकिकता खोजेर बेच्न पल्केका पश्चिमा माध्यमले तपस्वी कथ्यको प्रचार गरे । केही वर्षपछि उनै बमजन हत्यारा आरोपित भए । प्रहरीमा उजुरी पर्न थालेपछि बमजन–रहस्यका भिन्न पत्र उक्काउन थालियो ।

उनलाई बुद्धको नयाँ अवतार सावित गर्न उल्लेख्य शक्ति र स्रोत परिचालन भएको अन्दाज गरियो । पछिल्लो समय लागेको हत्या र अपहरणजस्ता आरोफबाट मुक्त राख्ने कोसिसमा शत्तिकेन्द्र लागेको हुनसक्छ । तथापि बमजनबारे नेपाली सञ्चार माध्यम चनाखो देखिन्छ ।

आफूलाई अनन्तश्री विभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य नाम दिएका अर्का ‘बाबा’को प्रभाव पनि कम थिएन । राजा भइरहेसम्म ज्ञानेन्द्र शाहले उनलाई आफ्नै काँधमा बोके, राष्ट्रिय निकुञ्जमा मनलाग्दी गर्न छुट दिए । दरबारको न्यानोमा निष्कण्टक ‘ध्यान–साधना’ गरेका स्वामीलाई लोकतन्त्र कालमा नेपाली कांग्रेसले मलमलको गद्दीमा विराजमान गरायो ।

२०६९ चैतमा नारायणी किनारमा आयोजित महासमिति बैठकमा उपस्थित भएर उनले कांग्रेस नेतृत्वलाई आशिर्वाद दिए । महासमितिमा ‘बाबा–तमासा’ रचिएको धेरै समय बित्न नपाउँदै पुष्पकमल दाहाल ‘प्रचण्ड’को माओवाद बाबाको शरण पर्‍यो । लोकमानसिंह कार्कीले स्वामीकै प्रतापमा केही समय ‘शासन’ गर्न खोजेका थिए । सोझै राजतन्त्रको वकालत गर्दै धर्मयुद्धको घोषणा गर्न थालेपछि भने नेपाली सञ्चार माध्यमले उनका कर्तुत बाहिर ल्याए ।

आदित्य प्रकरणको सत्य बाहिर आउन धेरै समय लाग्न सक्छ । कारण, ‘वैश्य युग’को महिमा गाएर कहिल्यै नथाक्ने राजनीतिज्ञ, व्यापारी र पत्रकारहरू नै आदित्य–मन्त्रमा सम्मोहित छन् । यीमध्ये एकाध आदित्य–तिलस्मबाट साँच्चै प्रभावित भएका हुनसक्छन् ।

तिनले देखाउने भनिएको जादु–टुनामा विश्वास जाग्न थालेको सत्य हुनसक्छ । कोही आदित्य मार्गका इमानदार पथिक बनेर जीवन बिताउने निश्चय गरेका मानिस पनि हुनसक्छन् । कुनै राजनीतिज्ञ, पत्रकार वा व्यापारी आदित्यका भक्त हुन स्वतन्त्र छन्, तर त्यो उनीहरूको बिलकुलै निजी मामिला हुनुपर्छ ।

आम जनताले तिरेको करलाई अनुदानका रूपमा चलाउने प्रतिष्ठानले आयोजना गरेको सार्वजनिक महायज्ञमा जनताको स्वास्थ्यको ख्याल राख्छु भन्ने संस्था कुन हदसम्म संलग्न हुनसक्छ ? जनताले आधुनिक निर्वाचन पद्धतिमार्फत मतदान गरेर चुनेको प्रतिनिधिले ‘वैज्ञानिकतालाई चुनौती दिँदै’ तिलस्मी महायज्ञको सान्दर्भिकता पुष्टि गर्न कति मिल्छ ? सार्वजनिक चासोका सवालमा सूचना ल्याउन हिँडेको पत्रकारले सूचना र विश्लेषण लुकाएर तिलस्मको प्रोपगान्डा रच्न कति छुट पाउँछ ?

वैज्ञानिक एवं समाज वैज्ञानिक अनुसन्धानमा चरम उदासीनता देखाउने सत्ता र जिम्मेवार संस्थाले तिलस्म र अध्यात्मका आडमा गर्न खोजेको गेरुवा राजनीतिको वास्तविकता उजागर हुन्जेल ठूलो क्षति हुनसक्छ । वैज्ञानिक मानिएको मार्क्सवादको विश्वसनीयता अझै कमजोर हुनसक्छ, लोकतान्त्रिक विधि र संस्थामा भर गरिरहेको आलोचनात्मक नागरिक पंक्ति असान्दर्भिक ठहरिन सक्छ, समाजवादले संविधानको पानामै मृत्युवरण गर्न सक्छ, राजनीतिमा बजार र धर्मको घोलमात्रै बाँकी रहन सक्छ, सिंगो समाज निरंकुशता वरण गर्न तम्तयार देखिन सक्छ ।

यो बेहालको सबैभन्दा बढी जिम्मेवार तिनै हुनेछन्, जो केही दशकपहिले जमिनदारको टाउको काटेर जनवाद ल्याउन हिँडेका थिए र जसले भर्खरै आदित्यमणि महायज्ञमा नेपाली मार्क्सवादको विसर्जन गरेका छन् ।

प्रकाशित : वैशाख १३, २०७६ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्

जमिन–मोहका खुनी नंग्रा

उज्ज्वल प्रसाईं

काठमाडौँ — काठमान्डु साँघुरो छ । यो सहरमा हैकम जमाउनेको सोच पनि फराकिलो छैन । के भूगोल साँघुरिँदै गएपछि, त्यहाँ बस्ने मानिसका मस्तिष्क पनि साँघुरो बन्दै जान्छ ? भनिन्छ, जस्तो नदीको किनारमा बस्ती बसेको छ, बासिन्दाको आनीबानी त्यस्तै हुन्छ । धीर, गम्भीर आफ्नै सुरमा बगिरहने नदी छेउमा बस्ने मान्छे शालिन हुन्छन् ।

बेलाबेला बहुलाएर गडगडाउने नदी भए, नजिक बस्नेहरू कुनै न कुनै ताण्डव नाच्ने निहुँ खोजिरहन्छन् । यस्तो लाग्छ, काठमान्डु बसेर देशभरि शासन गरिरहेका मान्छेको सोच सहर जसरी नै साँघुरिँदैछ । खाली जमिन हडप्ने स्पर्धा हिजोभन्दा आज द्रुत बन्नु सायद त्यसैको प्रमाण हो । प्रधानमन्त्री र प्रधानन्यायाधीश निवास परिसरका खाली जमिनमा दलालले गाडेको खाँबोको संख्या दिन–प्रतिदिन बढिरहेको समाचारले त्यही सत्य बताउँछ ।

राज्यको अख्तियारी पाएका कर्मचारी, जनप्रतिनिधिको बिल्ला सगौरव भिर्ने राजनीतिक नेता, आफ्नै पुर्खाका पौरखले मुलुक जोगाएको बताउने कुलिन, मुलुकको अर्थतन्त्रका मेरुदण्ड हौं भनेर घ्वाँक्क पर्ने व्यापारी र समग्र जनताको मुक्तिका लागि लडेका निष्काम साधक दाबी गर्नेहरू नै यो दौडका बलशाली धावक हुन् ।

संसार फेर्ने सपना लिएर ‘गोधूलीमा हिँड्ने’ ती सबैले सहरको घाम खोसे, आपसमा बाँडेर निजी घर उज्यालो बनाए । सहरको खाली ठाउँ खोसे, निजी सम्पत्तिको सिमाना फैलाए । सहर भने सधैं गोधूलीको छायामा झोक्रिरहने निरस पथिक भयो । नत्र प्रधानसेनापतिको असंख्य घडेरीबारे आएको समाचारको खण्डन नहुँदै कम्युनिष्ट नेताले प्रधानमन्त्री कार्यालयको जमिन खरिद गरेको खबर आउने थिएन ।

काठमान्डुमा घर नठडिएका खाली जमिन देख्न हम्मे पर्छ । विपद् पर्दा खाली जमिनको खोजी तीव्र हुन्छ । विपद् सकिन्छ, तत्क्षण लोभले दिमाग कब्जा गरिदिन्छ । खाली जमिनको महत्त्व महाभूकम्पले सम्झाउन नखोजेको होइन । सहरको सामुहिक स्मृतिमा सायद साँघुरो बँचाइ अभ्यस्त भयो, भूकम्पको पाठ खासै सम्झन खोजिएन । बजारको चक्रव्यूहमा बाँच्न अभिशप्त सहरको मध्यम र उच्च वर्गका मानिसको लोभले भने विपद्लाई विस्मृतिमा धकेलिसक्यो । उनीहरूको नजरमा जमिनको प्रत्येक खाली चोक्टा सहजै बेच्न मिल्ने र धेरैपटक बेचिरहन मिल्ने बजारु कमोडिटीमात्र हो ।

‘यहाँ तपाईको घरै छ कि डेरा ? जग्गा कहाँ लिनुभएको छ ? घर बनाउने योजना के छ ?’ सामान्य चिनारीपछि अनौपचारिक गफ सुरु हुँदा संवाद घर–जग्गातिर मोडिन्छ । निम्न मध्यमवर्गका सहरीयाले यो संवाद नदोहोर्‍याएको सम्भवतः कुनै दिन हुँदैन । कतिसम्म भने केही मिनेटको छोटो यात्राका लागि चढेका ट्याक्सी चालक बोलैया परेछन् भने तिनले सोध्ने तेस्रो वा चौथो प्रश्नमा घरजग्गा नै पर्छ ।

कलाकारिता गर्छु भनिरहेको ऊर्जावान युवा होस् वा विवाहको लागि तयार हुँदै गरेको तन्नेरी, उसले सामना गर्ने प्राथमिक प्रश्न घरजग्गाकै हुन्छ । कोलकाता, न्युयोर्क, पेरिस वा इस्तानाबुलमा यस्ता संवाद कति हुन्छन्, थाहा छैन । काठमान्डुका सडक र चियापसलमा अक्सर बजिरहने स्थायी अन्तरा भने यिनै तीन प्रश्न हुन् । घरजग्गाको संवादमा साँघुरिँदै गएको सहरको भविष्यबारे भने खासै ठूलो चिन्ता हुँदैन ।

धेरै निम्न मध्यमवर्गीयलाई लाग्छ, एउटा लालपुर्जामा आफ्नो नाम छाप्न नसक्नु अपुरो जीवन बाँच्नु हो । सहर आएर चार आनामा आफ्नो हक जताउन नसके, बँचाइको के अर्थ ? रुचिको क्षेत्रमा आफूलाई जतिसुकै क्षमतावान वा सिर्जनात्मक सावित गरे पनि डेरामा गुजारेको जिन्दगीले अरु सबै उपलब्धि धुमिल तुल्याउँछ । अर्थात जमिनको लालपुर्जा नै उसको पहिचान हो, सामर्थ्यको दसी हो, मान्छे हुनुको सग्लो प्रमाण हो । औसत कमाइ गर्नेलाई त्यही एउटा लालपुर्जा हात पार्न महाभारत लड्नुपर्छ । इमानदार श्रमले कमाएको सम्पत्तिमा चार आना जग्गा साट्न महामुस्किल हुन्छ । सहजै हात पार्ने उपाय दलाली, ठगी वा चाकरीमात्र देखापर्छ ।

अवैध धन्दा वा सस्तो पैसा उब्जाउने दलालीबाट एउटा लालपुर्जा हात परेपछि अर्को चार आनाको लोभ जाग्नु अनौठो हुँदैन । अचल सम्पत्तिमाथि गरिने चलायमान दलालीको स्वाद चाखेपछि खरिद–बिक्रीको लत बस्नु उति नै सामान्य हो । एक पटक यो प्रक्रियामा सामेल भएपछि हिजो कतै छुटेका आफ्नो रुचिको सिर्जनात्मक काममा फर्किने सम्भावना कम हुन्छ । इमानदार श्रमप्रति कुनै आकर्षण रहँदैन । गतिलो पक्की घर, दुई–चार लालपुर्जा, खातामा राम्रो जुगाड र यी सबैका कारण बढेको सार्वजनिक तुजुकले मात्रै जीवन अर्थपूर्ण भएको महसुस हुन थाल्छ । व्यक्तिगत समृद्धिको यो यात्रा यतिमै अडिँदैन । बरु लालचको थप उत्पादनतर्फ अग्रसर हुन्छ ।

सुरक्षित ओत आधारभूत आवश्यकता हो । शिक्षा, स्वास्थ्य र अन्य सामान्य आवश्यकता पूर्तिका लागि दौडधुप आवश्यक छ । एकपछि अर्को लालपुर्जामा आफ्नो नाम अंकित गर्ने आशक्ति भने सम्भवतः वर्तमान अर्थव्यवस्थाले सिर्जना गरेको दूरगामी बेताबी हो । जति बढी जग्गा आफ्नो भयो, त्यति सुरक्षित महसुस गर्ने ।

अनिश्चित र अस्थिर दुनियाँमा जीवन जिउन बाध्य आफ्ना सन्तानको समेत भविष्य सुधार्ने लालसाले जग्गा–मोह बढेको हुँदो हो । त्यसैले साँघुरो भइसकेको सहरका थोरै खाली जग्गामा आफ्नो नामको खाँबो गाड्ने लालसा बढ्दो छ । औसतभन्दा राम्रो जीवन सञ्चालन गर्न कुनै गाह्रो नपर्ने मान्छेको लोभमा सार्वजनिक जग्गा धेरै पर्नुको अर्को कारण के हो ?

सामन्तवादी अर्थतन्त्रको मियो जमिन थियो । जमिनदारहरू सामन्ती मालिक हुन्थे, तिनले कज्याएका श्रमिक दास वा अर्धदास हुन्थे । पुँजीवादी अर्थव्यवस्थामा जमिनको महत्त्व कम हुने आँकलन ठिकै थियो । उत्पादनका अन्य साधनको विस्तार भएपछि जमिनमाथिको निर्भरता कम हुनु स्वाभाविक मानिएको हो । त्यस्तो भएको पनि छ । वित्तीय पुँजी अर्थव्यवस्थाको केन्द्र बनिसक्दा पनि जमिनप्रतिको मोह कम भएको छैन । तर जमिनलाई कस्तो पुँजी मान्ने वा ‘कमोडिटी’ भए यसलाई कस्तो बिक्रीयोग्य वस्तु भन्ने ? अर्थराजनीतिमा यी विषय अझै पेचिला मानिन्छन् ।

कार्ल मार्क्सले जमिनलाई आफ्नो विशिष्ट गुण भएको पुँजी मानेका छन् । कार्ल पोल्यानीले मानिसले उत्पादन गरेर बजारमा पुर्‍याएर सहजै बेच्न सक्ने कमोडिटीभन्दा जमिन फरक हो भनेका छन् । डेभिड हार्भेजस्ता विद्वानले मार्क्सको व्याख्याकै आडमा जमिनमा पुँजी वा कमोडिटीको ‘फिक्टिस्स’ अर्थात काल्पनिक गुण हुन्छ भनेका छन् । अर्थात अन्य पुँजीमा हुने सबै गुण जमिनमा नहुने उनको बुझाइ हो । एकै ठाउँमा स्थिर रहने विशिष्टताका कारण जमिनलाई फरक पुँजी र कमोडिटी मानिएको हो ।

भूगोलको अर्थराजनीतिबारे अध्ययन गर्ने ब्रेट क्रिस्टोफर्सले भने हार्भे र पोल्यानीले जस्तो जमिनलाई काल्पनिक नभनेर ‘रियल’ पुँजी र कमोडिटीकै रूपमा बुझ्नुपर्नेमा जोड दिएका छन् । काठमान्डुको थिति हेर्दा क्रिस्टोफर्सको विश्लेषण सत्यको नजिक लाग्छ ।
बुझाइ र व्याख्यामा विविधता भए पनि अर्थराजनीतिका गम्भीर अध्येताले पुँजीवादी अर्थतन्त्रमा जमिनको महत्त्व हुँदै नभएको ठान्दैनन् ।

भूमण्डलीकृत वित्तीय पुँजीवादमा समेत ‘ल्यान्ड, स्पेस, पब्लिक स्पेस, हाउजिङ’ जस्ता विषयको व्यावहारिक एवं सैद्धान्तिक अध्ययन अद्यावधिक गर्न जरुरी रहेको उनीहरू मान्छन् । हार्भेले उनको एक कृतिमा विकसित पुँजीवादी मुलुकका आर्थिक गतिविधिमध्ये जमिनसँग सम्बन्धित कारोबारको अंश चालिस प्रतिशतभन्दा बढी भएको उल्लेख गरेका छन् ।

त्यस अघि नै ‘स्पेस’को राजनीतिबारे चिन्तन गर्ने फ्रान्सेली समाजशास्त्री हेन्री लेफ्फेभरले पुँजीवादले जमिनको महत्ता स्थापित गरेका कारण यो केन्द्रीय अवधारणा हुने मत राखेका थिए । काठमान्डुमा भइरहेको जमिन राजनीतिलाई परख्न जमिन बारेको बुझाइ गहिर्‍याउन आवश्यक छ । जमिनको बदलिँदो अर्थ–राजनीतिक एवं समाजशास्त्रीय अर्थ खुट्याउन थाल्नु पर्नेछ ।

नेपालका सहरमा देखिएको जमिन–मोह नयाँ होइन । बरु सीमित जमिनमा गरिने लोभको साँघुरो राजनीतिका भिन्न रूपहरू सतहमा देखापरेका हुन् । तिनलेमानवीय सम्बन्ध र मानव–प्रकृति सम्बन्धलाई भिन्नअसर पारिरहेका छन् । पतित हुँदै गएको सहरमा जमिन–
लोभका नंग्रा अझै घस्रिए केही वर्षमै काठमान्डु बस्नयोग्य रहने छैन । त्यसपछि लोभका उनै दाह्रानंग्रा अरु सहरतिर सोझिन थाल्नेछन् ।

प्रकाशित : चैत्र २९, २०७५ ०८:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्