कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तनावमा अभिभावक

मञ्जु भट्ट

काठमाडौँ — यो स्कुलमा राम्रोसँग ‘केयर’ भएन, अर्कै स्कुल पढाउँछु । फेरि एक/दुई वर्षपछि त्यो स्कुल पनि ठिकै रहेछ । म त यहीं ल्याए है भनेर फेरि पहिलेकै स्कुलमा विद्यार्थी ल्याएर आउने अभिभावक पनि धेरै देखिन्छन् । यस्ता गतिविधि हेर्दा कतिपय अभिभावकले आफ्ना केटाकेटीको पढाइबारे धेरै चिन्ता गरेको देखिन्छ ।

अभिभावकहरू आफ्ना केटाकेटीको परीक्षा सकिएपछि चैतदेखि वैशाखसम्म तनावमा हुन्छन् । अभिभावकलाई कुन स्कुल राम्रो

छुट्याउनै धामा पर्छ । छरछिमेक आफन्तबाट सुनेको भरमा स्कुल परिवर्तन गर्दा नयाँ वातावरणमा भिज्न विद्यार्थीलाई केही समय लाग्छ । यसले पहिलो वर्षमा विद्यार्थीले पढाइमा राम्रो गर्न सक्दैन । त्यो देखेर अभिभावक फेरि स्कुल परिवर्तन गर्न तम्सिन्छन् ।

कोही अभिभाकचाहिँ स्कुल सस्तो भएर छोराछोरीको पढाइ बिग्रेको सोच्छन् । साना र सस्ता सबै स्कुलको पढाइ राम्रो हुँदैन भन्न सकिँदैन । महँंगा र ठूला स्कुलमा भर्ना गर्दैमा सबै स्कुलको पढाइले विद्यार्थीमा राम्रै परिवर्तन ल्याउँछ भन्ने हुँदैन । स्कुलले मात्र विद्यार्थीको सम्पूर्ण पढाइको जिम्मा लिन सक्दैन । एक दिनमा ७ घन्टा विद्यार्थी स्कुलमा हुन्छ । बाँकी १७ घन्टा उसले घरमा बिताउँछ । प्रत्येक दिन एउटा सीमित समयभित्र शिक्षकले कसरी हिंँड्ने भनेर विद्यार्थीलाई सिकाउने हो । घरमा गएर बारम्बार हिँंड्न प्रयास गर्ने काम विद्यार्थीको हो । यसमा अभिभावकले आफ्ना बच्चालाई हिँंड्न भरपूर सहयोग गर्नुपर्छ ।


जो अभिभावक महंँगो फी तिरिदिएपछि विद्यार्थीको सम्पूर्ण जिम्मेवारी स्कुलकै ठान्छन्, त्यस्ता अभिभावकका बच्चा पढाइमा जहिले पनि पछि पर्छन् । राम्रा स्कुलको खोजीमा विद्यार्थीलाई घरभन्दा धेरै टाढाको स्कुलमा भर्ना गर्दा पनि उनीहरूले धेरै समय गाडीमै बिताउनुपर्छ । यसले उनीहरूमा थकान महसुस हुन्छ । बिहान छिटै घरबाट हिँंड्नुपर्दा र बेलुकी ढिलो घर फर्किंदा उनीहरूले भनेजति समय पढाइमा दिन सक्दैनन् ।


कतिपय अभिभावक वैशाखमा आफ्ना नानीबाबुलाई स्कुल भर्ना गरेपछि एकैचोटी अन्तिम परीक्षाफल लिन आउँछन् । यो बीचमा आफ्नो बच्चाको पढाइबारे बुझ्ने चासो पटक्कै राख्दैनन् । स्कुलमा भइरहने त्रैमासिक परीक्षाको परीक्षाफलसम्म लिन नआएपछि विद्यार्थीकै हातमा पठाउनुपर्ने हुन्छ । कतिपय अभिभावक स्कुलमा हुने शिक्षक–अभिभावक छलफल, गोष्ठी तथा सभामा कहिल्यै उपस्थित भएको देखिँदैन ।


विद्यार्थीको पढाइ, आनीबानी, इच्छा, चाहनाबारे छलफल गर्न धेरैचोटी स्कुलमा बोलाए पनि कामको व्यस्तता देखाउँदै वा आउँछु भनेर नआउने अभिभावकहरू पनि धेरै हुन्छन् । यस्ता परिवारका विद्यार्थीले बुझिसकेका हुन्छन् कि उसले राम्रोसँग पढ्नु र नपढ्नुमा उसको परिवारमा केही फरक पर्दैन । यसकारण उसले समयमा कक्षाकार्य, गृहकार्य नगर्ने, पढाइमा ध्यान नदिने हुन्छन् । अनि उसको पढाइ कमजोर हुँदै जान्छ र अन्त्यमा त्यो स्कुल राम्रो छैन भन्दै अभिभावकले स्कुल परिवर्तन गर्ने गर्छन् ।


विद्यार्थीको उमेर बढेसँगै उनीहरूमा मानसिक तथा शारीरिक परिवर्तन आइरहेका हुन्छन् । यदि हामीले यो समयमा ध्यान दिन सकेनौं भने उनीहरू बरालिन सक्छन् । पढाइमा भन्दा खेल्ने, सामाजिक सञ्जालमा व्यस्त हुने, कुलतमा फँस्ने, केटा साथी, केटी साथी उनीहरूको भाषामा ‘जी एफ, बी एफ’ बनाउँदै रुमलिन सक्छन् । यसले पनि उनीहरूको पढाइ झन् खस्कन्छ । पढाइको आधार कमजोर बन्दै गएपछि माथिल्लो कक्षामा उनीहरूलाई अझै गाह्रो हुन्छ ।


आफ्नो विद्यार्थीको पढाइमा बाधा नपुगोस्, ऊ असल बनोस् भनेर विद्यालय व्यवस्थापन समितिले विद्यार्थीको सर्वाङ्गिण विकासमा सहयोग पुर्‍याउन कुनै कसर राख्नु हुँदैन । शिक्षकले आफ्नो जिम्मेवारी नबिर्सिकन हरदम विद्यार्थीको उन्नति, प्रगतिमा ध्यान दिनुपर्छ । यो सँगै असल अभिभावकको कर्तव्य उनीहरूले पनि निर्वाह गर्नु जरुरी हुन्छ ।


स्कुलले गृहकार्य भर्न दिएको डायरीमा उसले भरेर ल्याएको छ/छैन, हेरिकन आफ्नो दस्तखत गरेर पठाउन पनि कतिपय अभिभावकले भ्याएको देखिन्न । उनीहरूले गृहकार्य गर्छन् या गर्दैनन् भनी कापी हेर्न झन् कसरी भ्याउनु ? घरमा मतलबै नगर्ने विद्यार्थीले कक्षामा पनि एक घन्टी कसरी बितोस्, त्यतिमात्र सोचिरहन्छ । शिक्षकको बलले केही गरिहाले पनि उसमा भित्रैदेखि पढ्न मन हुँदैन ।


महान वैज्ञानिक थोमस अल्बा एडिसनले बिजुलीबाट बल्ने बल्ब बनाउने बेला १००० चोटी असफल भएर एक हजार एक पुग्दा सफल भएका थिए रे । लगनशील, उच्च मनोबल र दृढ भएर कुनै काम गर्ने हो भने असम्भव केही छैन । एउटै हातका औंला पनि फरक–फरक भएजस्तै कक्षामा विद्यार्थीको पढ्ने क्षमता पनि एउटै हुँदैन ।


विद्यार्थीले लगनशील भएर पढ्दा पनि राम्रो गर्न सकेन भने पनि उसले केही गर्न सक्दैन भन्ने हुँदैन । उसले खेल, गायन, वादन, नाच, वाचन विभिनन विधामा राम्रो गरिरहेको हुन्छ । कोसिस गर्दा पनि राम्रो विद्यार्थी बन्न नसके पनि एउटा सफल व्यापारी बन्न सक्छ । यो कुरा सम्बन्धित पक्षले बुझ्नु जरुरी छ । एकले अर्कालाई दोष थोपर्नुभन्दा सुरुदेखि नै व्यस्थापन पक्ष, शिक्षक–अभिभावक मिलेर विद्यार्थीको उज्ज्वल भविष्यको लागि हातेमालो गर्दै बढ्नुपर्छ ।


स्कुलले पढाइको लागि चाहिने उपयुक्त पूर्वाधार उपलब्ध गराइदिने, शिक्षक लगनशील भएर अध्यापनमा संलग्न हुने, समय अनुसार आफूलाई नयाँ प्रविधि र तालिमसँग परिचित गर्दै लग्ने र अभिभावकले पनि समय–समयमा आफ्ना बच्चाको पढाइबारे स्कुलमा बुझ्न जाने गर्नुपर्छ । स्कुलले गरेका नराम्रा कुरामा औँला ठड्याउँदै सल्लाह, सुझाव दिँंदै जाने हो भने अभिभावकले आफ्ना बच्चाहरूका लागि राम्रो स्कुलको खोजीमा भौंतारिनु पर्दैन । प्रकाशित : चैत्र २८, २०७५ ०७:५९

प्रतिक्रिया
पठाउनुहोस्

छोइनसक्नुका अस्पताल

मञ्जु भट्ट

काठमाडौँ — सानिमा ४५ वर्षकी हुनुहुन्थ्यो । तातो वा चिसो पानी मुखमा हाल्दा दाँत सिरिङ्ग गर्थ्याे । सहन नसकेर उहाँले सबै दाँत निकाल्नुभयो । नजिकको अस्पतालले दाँतमात्र निकाल्थ्यो । भर्ने वा अन्य उपचार गर्ने सुविधा थिएन । केही वर्षपछि उहाँको छोराले काठमाडौं ल्याएर दाँतको पुरै सेट लगाइदिए । धेरै पहिला दाँत निकालेकाले गिँजा सुकिसकेको थियो ।

दाँत गिँजामा नबसेर फुत्त निस्किहाल्छ । दाँत लगाएर चपाउन मिल्दैन । काठमाडौं धाइवरी पैसा खर्च गरेर लगाएको दाँत काम लागेन । सानिमा धेरै पकाएर गिलो बनाइएको खानामात्र खान सक्नुहुन्छ ।

भनिन्छ, हाम्रो स्वास्थ्य दाँतबाट सुुरु हुन्छ । दाँत स्वस्थ छन् भने हामी धेरै बिमारीबाट जोगिन्छौं । यति महत्त्वपूर्ण दाँतको उपचार भने छोइनसक्नु छ । एउटा दाँत भरेको कम्तीमा पाँच सय रुपैयाँ । जरादेखि भर्ने हो भने तीन हजारभन्दा माथि पर्छ । दुइटा दाँत भरेर एउटा दाँतमा क्याप लगाउँदा सात हजार रुपैयाँ नाघ्छ ।

काठमाडौंको समता अस्पतालमा जतिवटा दाँत भरे पनि सय रुपैयाँमात्र पर्दोरहेछ । यसबारे धेरैलाई जानकारी छैन, न अस्पताल सबैको पहुँचमा छ । सर्वसाधारणलाई लक्षित गरेर दाँतका लागिमात्र सरकारी अस्पताल खुले धेरैलाई फाइदा पुग्छ ।

डाक्टरले मेरा श्रीमानलाई फिजियोथेरापी गर्न सुझाए । घर नजिक पर्ने भएकाले उहाँलाई चावहिलको हेल्पिङ ह्यान्डस अस्पताल लग्यौं । ‘यहाँ राम्रा मेसिनहरू छैनन्, मैले काम गर्ने अर्को ठाउँमा आउनुस् है,’ त्यहाँका एक डाक्टरले भने । श्रीमानलाई ओम अस्पताल लग्यौं । डाक्टरले पुरै शरीरको एमआरआई गरेर आउन सल्लाह दिए । उनले एउटा चिटमा लेखिदिएर एमआरआई गर्न लाजिम्पाटको निजी क्लिनिकमा पठाए । उनले भनेकै ठाउँमा एमआरआई गरायौं । पछि थाहा पायौं, एकदमै थोरै पैसामा त्रिवि शिक्षण अस्पतालमा पनि एमआरआई हुँदोरहेछ ।

अधिकांश निजी अस्पतालहरूले आफ्नो स्वार्थका लागि सामान्य बिरामीलाई हप्तौंसम्म अस्पतालमै भर्ना गरेर उपचार गराउन खोज्छन् । हामी महंँगो शुल्क तिरेर निजी अस्पताल पुगेका हुन्छौं । डाक्टरलाई भने राम्रोसँग बोल्ने समय हुँदैन । हतार–हतार जाँच गरेर ‘यो औषधि खानु’ भनेर बाहिर पठाइहाल्छन् ।

बिमारको कारण के हो, यो रोग लाग्दा के खाने, के नखाने राम्ररी सोध्नै पाइँदैन । यसरी समय नदिनेहरू नाम चलेका र वरिष्ठ भनिएका डाक्टरहरू बढी देखिन्छन् । सामान्य आय भएका र पहुँच नभएका मानिसका लागि सुलभ र छरितो उपचार काबुभन्दा बाहिरको विषय हुने गरेको छ ।

केही वर्ष पहिला मेरो बुबाको पिसाब नली बन्द भयो । मान्छेले दुई दिन बोकेपछि एम्बुलेन्समा हालेर धनगढी पुर्‍याइयो । त्यसपछि जहाजबाट काठमाडौं ल्यायौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा देखायौं । पाइप लगाएर त्यो दिन अस्पतालमै राख्यौं । प्रोस्टेट ग्रन्थिको आकार बढेकाले तुरुन्तै अपरेसन गर्न डाक्टरले सुझाए ।

चिरेर अपरेसन त्यहीं पनि गर्न सकिन्थ्यो । वृद्धलाई मेसिनले खुर्किनु सजिलो हुने डाक्टरको भनाइ थियो । त्यस्तो मेसिन पाटन र शिक्षण अस्पतालमा मात्र रहेछ । तर दुवै ठाउँमा पालो आउन तीन महिना लाग्ने रहेछ । बुबाको अवस्था गम्भीर थियो । निजी अस्पताल जानुको विकल्प थिएन । निजीमा उपचार गराउँदा साधारण जागिरेको पनि महिनौंको तलब खर्च हुन्छ ।

केही वर्षअघि सुर्खेतको दुर्गम गाउँ गुटुकी एकजना बहिनीले पेट दुखेर नजिकैको स्वास्थ्य केन्द्रमा जाँच गराइन् । भिडियो एक्सरे गर्दा मृगौलामा पत्थरी देखियो । उनी गहना बेचेर काठमाडौं आइन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा जचाउँदा मृगौला बिग्रेको पत्ता लाग्यो । बिग्रेको मृगौला राख्ने कि फाल्ने भनेर अर्को जाँच वीर अस्पतालमा गर्नुपर्‍यो । परीक्षणले मृगौला फाल्नुपर्ने देखायो । त्यसका लागि आठ महिना कुनुपर्ने भयो ।

सरकारले नीति तथा कार्यक्रम, बजेटमा स्वास्थ्यमा प्राथमिकता दिएको भन्ने समाचार सुनिन्छ । स्वास्थ्य उपचारसेवा भने झन् सहर र राजधानी केन्द्रित हुँदैछ । प्रत्येक प्रदेश राजधानीमा कम्तीमा एउटा सुविधा सम्पन्न अस्पताल र दक्ष जनशक्ति उपलब्ध गराउनसके संघीय राजधानीका अस्पतालमा चाप घट्ने थियो, सर्वसाधारणले सामान्य उपचार गर्न काठमाडौं धाउनुपर्ने थिएन । यथोचित शुल्क तिरेर सरकारी अस्पतालमा सजिलै उपचार पाउने दिन कहिले आउला ?

प्रकाशित : माघ २२, २०७५ ०८:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×