शक्ति कति थुपारेपछि समृद्धि ?

विश्वप्रकाश शर्मा

काठमाडौँ — उत्तर कोरियामा अघिल्लो साता ‘अभूतपूर्व’ निर्वाचन सम्पन्न भयो । मतदाताले मतपत्रमा छाप लगाउने कष्ट गर्नुपरेन । एउटै नाम ‘किम जोङ उन’ उल्लिखित मतपत्र तिनले दिनभरि लाममा बसेर मतपेटिकामा खसाए ।

कम्युनिस्ट शासनको त्यो उत्तर कोरियाली निर्वाचनको समाचार पढिरहँदा हाम्रा हजारौं कम्युनिस्ट र गैरकम्युनिस्ट युवा ‘कम्युनिस्ट सोचरहित’ दक्षिण कोरिया जान भाषा परीक्षाको तयारी गरिरहेका थिए । हाम्रा लागि आजको मितिमा महत्त्वपूर्ण पाठ बन्न सक्छन् यी दुई कोरिया । उत्तरमा कम्युनिस्ट दर्शनको सत्ता छ र दक्षिणमा लोकतान्त्रिक शासन । उत्तरमा बन्द समाज छ, दक्षिणमा खुला । उक्तरमा शत्ति केन्द्रित छ, दक्षिणमा विकेन्द्रित । शक्ति केन्द्रीकृत उक्तरमा गरिबीको साम्राज्य छ, शत्ति विकेन्द्रित दक्षिणमा समृद्धिको वैभव । यी दुई कोरियाका दृष्टान्तले बताउँछन्- शक्ति अति थुपारेरमात्रै समृद्धि हासिल हुन्न । प्रधानमन्त्रीका कोही सल्लाहकार पढ्दैछन् यी पंक्ति भने वाचन गरेर मेरो प्रश्न विनम्रसँग सोधिदिऊन् सम्माननीय प्रधानमन्त्रीलाई- नेपाल देशमा समृद्धि कति शक्ति थुपारेपछि हासिल हुन्छ, कमरेड ?


श्री ३ र ५ पछि ६ नखोजौं

मित्रराष्ट्र चीनको ‘राजनीति’ निश्चय नै राज्यको नियन्त्रणमा छ । अर्थतन्त्रको तीव्र विकासमा ओवादको नियन्त्रणबाट होइन, देङ सियाओ पिङले सहज तुल्याएको खुलापन र उदार अर्थव्यवस्थाको परिणाम हो । शक्तिको केन्द्रीकरणबाट मुलुकको भौतिक विकास दुनियाँमा कहीँ नभएको पक्कै होइन । हाम्रो आफ्नै अनुभवले भन्छ- त्यसरी हुने भए नेपाल श्री ३ कै पालामा समृद्ध भइसक्थ्यो । ती ३ र ५ का पालामा शक्तिको केन्द्रीकरणले नबनेको नेपाल बनाउन कसैले आजका प्रधानमन्त्रीलाई ‘श्री ६’ बन्न प्रेरित गर्छ या यस्तो भड्काव स्वयं प्रधानमन्त्रीमा बढ्दै जान्छ भने कम्तीमा पाँच विश्लेषण हेक्का राख्न जरुरी छ ।


एक, शक्तिको केन्द्रीकरणबाट प्रगति सम्भव नभएको तथ्य हाम्रालागि लामो अभ्यासबाट असफलता प्राप्त अनुभव हो । आफ्नै देशको इतिहास र अनुभवबाट नसिक्नुलाई परिपक्वता र दूरदर्शिता मान्न सकिन्न । दुई, ‘रेड बुक’ घोकेरै चौध वर्ष जेल बस्नु र बोकेरै बाहिर आउनु विगतको सत्य हो, लोकतान्त्रिक संविधान आजको सत्ताको मार्गदर्शक रहेको धरातलीय यथार्थ वर्तमानको तथ्य हो । धरातलीय यथार्थबाहिरको खोजीले सोचेको परिणाम होइन, नसोचेको दुष्परिणाम हात लगाउने विश्लेषण भलिभाँती हुनुफर्ने हो ।


तीन, शक्तिको त्रमिक केन्द्रीकरण गरेरै अघि बढ्ने हो भने त्यसले संघीयतालाई सैद्धान्तिक रूपमा मात्रै होइन, व्यवहारमै असफल बनाउनेछ । नवीन अभ्यासको असफलताले आम नागरिकमा नवीन वितृष्णा र आक्रोश बढाउनेछ । चार, बुद्ध र जंगबहादुरको फ्युजन परिकल्पना मानिसहरूलाई छोटो समयसम्म रोमाञ्चक नै लाग्नेछ, ‘ड्याम–ड्याम’ गरेर अघि बढ्ने प्रस्तावलाई तत्कालमा थोरबहुत समर्थन पनि मिल्नेछ, तर त्यसले केही वर्षभित्रै प्रतिकूल जनआँधी सृजना गर्नेछ, जसलाई नेपाली नागरिकले अधैर्यसँग सडकबाट या धैर्यसँग आगामी निर्वाचनबाट प्रकट गर्नेछन् ।


केलाऔं सत्य चार सन्दर्भमा

पंक्तिकारको निश्चित राजनीतिक आबद्धताका कारण कतिपयलाई लाग्न सक्छ- प्रस्तुत विश्लेषण आग्रहप्रेरित छ । अत: म केही सन्दर्भमा जान चाहन्छु, जसले सत्य उजागर गर्न इमानपूर्वक सघाउनेछन् ।


१) प्रधानमन्त्री कार्यालय कि 'राजप्रासाद’ ? : पञ्चायतकालमा पनि चुनाव हुन्थ्यो । हामीले त्यसलाई प्रजातान्त्रिक व्यवस्था नस्विकार्नुका भने मुख्य तीन कारण थिए । पहिलो, दलीय प्रतिस्पर्धा थिएन । दोस्रो, मताधिकार बाहेकका मौलिक हक थिएनन् । तेस्रो, शक्ति सम्पूर्ण रूपले राजामा केन्द्रित थियो र राजप्रासादमार्फत राज्यको रिमोट चल्थ्यो । केपी ओली प्रधानमन्त्री बन्नुभएपछि प्रधानमन्त्री कार्यालयमा ‘राजप्रासाद’ को मानसिकताले पुनर्जन्म लियो र सुरु गरियो शक्ति थुपार्न । राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण जस्ता राज्यका महत्त्वपूर्ण अंगहरूलाई एउटा ठूलो झोलामा हालेर राजप्रासादको भिक्ताको खुटीमा टाँगियो । संघीयतामा गएको मुलुकमा यसरी शत्ति एकैठाउँ थुपार्ने कर्मको सुरुआत संघीयताको मर्मविपरीत थिएन र ?जवाफ थिएन । प्रदेश सरकारहरूलाई सीडीओ कार्यालयको छाया बनाउने नियतको लेखौट तयार पार्‍यो राजप्रासादले । किन यस्तो ? जवाफ छैन । प्रदेश सरकारहरूलाई कमजोर र केन्द्रलाई पुरानै जमानाको शक्तिशाली बनाउने नियतमा देखिएको राजप्रासाद कस्तो नेपालको परिकल्पना गर्दैछ ? जवाफ पक्कै छ, गोलमटोल ।


२) प्रधामन्त्री कि प्रधानसेनापति ?: राष्ट्रिय सुरक्षा परिषद्को बैठक तत्काल बस्न नसकेको स्थितिमा अध्यक्ष अर्थात् प्रधानमन्त्रीले सेना परिचालन गर्न सक्ने गरी संसद्मा विवादास्पद विधेयक ल्याइएको छ । प्रथमत: मानिलिऔं, राष्ट्रिय संकटका बेला साँच्चै बैठक बस्न नसक्ने हुन सक्छ र यस्तो विधेयक ल्याइयो । २५ जनाको मन्त्रिपरिषद्को बैठक बस्न सक्ने, ७ जनाको सुरक्षा परिषद् बैठक बस्न किन नसक्ने ? जवाफ छैन । दोस्रो, सुरक्षा परिषद्को बैठक नबसी सेना परिचालन प्रस्ताव हुनु भनेको प्रधानसेनापति सरिक नभई सेना परिचालनको निर्णय प्रस्ताव हुनु हो । के यो प्रधानसेनापतिप्रतिको अविश्वास होइन ? जवाफ छैन । तेस्रो, आजका प्रधानमन्त्रीले दुरुपयोग नगर्नुहोला रे, विश्वास गरौं, तर भोलि अरू कोही प्रधानमन्त्रीले यो अधिकारको दुरुपयोग गर्ने छैनन् भन्ने ग्यारेन्टी को गर्न सक्छ ? जवाफ छैन । चौथो, संविधानको धारा २६७ को उपधारा ६ ले सेना परिचालन सिफारिसको अधिकार राष्ट्रिय सुरक्षा परिषद्लाई दिएकामा त्यसलाई हनन गर्ने गरी बनाइएको विधेयक लोकतान्त्रिक शासनको सौन्दर्यबमोजिम छ कि दुनियाँको कम्युनिस्ट सत्ताहरूको परम्पराबमोजिम ? जरुरी औचित्यबेगर यस्तो गम्भीर विषयमा प्रवेश गर्दा यस्तो प्रश्न स्वाभाविक रूपमा उठ्छ नै ।


३) सीके प्रकरण : बुझिने अक्षरमा नबुझिएको

औषधी ? : सरकार–सीके सम्झौतालाई स्वागत गरिरहँदा ‘असन्तुष्टि समाधान गर्ने’ जे ‘विधि’ एघारबुँदेमा निर्धारण गरियो, त्यसप्रति गम्भीर प्रश्न उठ्नु स्वाभाविक थियो । ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ को साझा व्याख्या पस्कनु जिम्मेवार सरकार र जिम्मेवार प्रधानमन्त्रीको कर्तव्य थियो, यसमा प्रधानमन्त्रीको तदारुकता भने देखिएन । यसका चार कारण हुन सक्छन् । पहिलो, यो सम्झौताको ‘दूरगामी डिजाइन’ मा उहाँ केवल फड्के किनाराको साक्षी मात्रै हो र यसको साझा व्याख्या तय गर्न तत्काल उहाँलाई ‘अधिकार प्रत्यायोजित’ छैन । दोस्रो, यो कोही, कसैको, कुनै डिजाइन होइन तथापि जनमत संग्रहको अर्थ लाग्ने बुँदा सरकारी पक्षको असावधानीका कारण त्यसमा परेको हो रत्यसलाई सच्याउँदा सरकार र प्रधानमन्त्रीको ‘इज्जत’ मा चोट पुग्छ । तेस्रो, सोचविचारपूर्वक नै त्यो बुँदा राखिएको हो तर ‘जनमत संग्रह होइन’ भन्ने साझा व्याख्या गर्न सीके राउत तयार छैनन् । चौथो, प्रदेश २ मा स्थापित राजपा र फोरमहरूको विकल्पमा अर्को मधेसकेन्द्रित दलका रूपमा प्रधानमन्त्री सीके राउतको दललाई स्थापित गर्न चाहनुहुन्छ । अत: ‘यसो गरिदिएर’ सीकेलाई संगठन गर्न सजिलो बनाइएको हो । प्रभाव बढाए सीकेले नयाँ दल चलाउनेछन्, बढाउन नसके कम्युनिस्ट पार्टीको गंगामा चंगा हुन आउनेछन् ।


यी चारमध्ये कारण जुन भए पनि समस्या समाधानका लागि संविधान संशोधनको वैधानिक सूत्र कुनै बुँदामा पनि उल्लेख छैन । प्रश्न उब्जन्छ- के प्रधानमन्त्री ‘असन्तुष्टिको समाधान’ वैधानिक प्रक्रियाभन्दा बाहिरबाट खोज्न चाहनुहुन्छ ? देशको जिम्मेवार प्रधानमन्त्रीलाई म यस्तो आरोप लगाउन सक्दिनँ, तर तराई–मधेसको असन्तुष्टिको समाधान संविधान संशोधनको फाइल नखोली अन्य प्रक्रियाबाट गर्न सकिने सूत्रले दीर्घकालीन समाधान कम र भुसको आगो सल्किने बढी सम्भावना देखिन्छ । के त्यो आगोको भुङ्ग्रोमा शक्ति थप वृद्धिको रोटी राम्रैसँग सेकिने भ्रम छ प्रधानमन्त्रीमा ?


४) विप्लव प्रकरण : बन्दुकले न शक्ति न समृद्धि ! : अट्ठाइस सालका ‘विप्लव जस्तै’ ओलीले, बाउन्न सालका ‘विप्लव’ जस्तै प्रचण्डलाई साथ लिएर आजको मितिका ‘यी विप्लव’ लाई सफाया गरे भने त्यसको दुष्परिणामस्वरूप भोलि ‘कोही अर्को विप्लव’ जन्मने छैनन् त ? हामीले उस बेलै भनेका हौं- शक्ति नागरिकको रगत होइन मतबाट पैदा हुन्छ, बन्दुक होइन ब्यालेटबाट पैदा हुन्छ । हिजो एकथरी कम्युनिस्टले बुझेनन् र रगतको खोलो बग्यो, आजत झन् सत्तारूढ र विद्रोही दुईथरी नेकपा हतियारमा साँध लगाइरहेका छन् । प्रचण्डहरूको जीवन लिएर ‘जनगणतन्त्र’ आउन्न भनी विप्लवले बुझ्नुपर्छ र विप्लवहरूको रगत चढाएर हाम्रो लोकतन्त्र बलियो बन्दैन भन्ने प्रधानमन्त्रीले पनि बुझ्नुपर्छ ।


प्रतिबन्धको घोषणा र प्रधानमन्क्रीका तित्त अभिव्यक्तिबाट समाधान आउँदैन । वार्ताको अनौपचारिक प्रक्रियामा तीव्र गतिले प्रवेश गरेर आउन सक्ने औपचारिक समाधानको मुलुक प्रतीक्षा गरिरहेको छ । प्रधानमन्त्रीलाई भ्रम नरहोस्, स्टालिनले पार्टीभित्रैका ट्रटस्कीलाई सफाया गरेर आफ्नो शक्ति सुदृढ गरेजस्तो विषय होइन विप्लव प्रकरण । एक वर्षमा उहाँको नेतृत्वले दिएको निराशाबाट बरु कम्युनिस्ट पार्टीका कैयौं युवा विप्लवतर्फ आकर्षित भइरहेका छन् कि ? उहाँले गम्भीर विमर्श गर्न जरुरी छ ।


गम्भीर विमर्श जरुरी

यस्ता राष्ट्रिय संवेदनशीलताका मुद्दामा सत्ता र प्रमुख प्रतिपक्षको समान धारणा बन्नुपर्थ्यो । समान धारणाले सघाउ सरकारलाई पुग्थ्यो । यस्ता मुद्दामा राष्ट्रिय विमर्श गर्ने र साझा धारणाकोखोजी गर्न अग्रसरता लिने दायित्व सत्तापक्षको हो । यो हाम्रो विगतदेखिकै परम्परा पनि हो । ‘कृपा गरेर साझा धारणा बनाऔं न’ भन्दै प्रतिपक्ष निवेदन बोकेर हिँड्दैन र यस्तो परम्परा सुरु गर्न सकिँदैन ।


पाँच वर्षका लागि नेपाली मतदाताले कम्युनिस्ट पार्टीलाई सरकार सुम्पिएका र व्यक्तिगत रूपमा केपी ओलीको नेतृत्वलाई विश्वास गरेका हुन् । त्यो विश्वास क्रमश: खण्डित स्वयं उहाँकै कारण भइरहेको छ । समन्वय, सद्भाव र सहकार्यको ‘ओदान’ मा संस्कार बसालेर समृद्धिका लागि सरकारको कुशल नेतृत्व उहाँको आजको कार्यझार हो । शक्ति, त्यसको आसत्ति र अहंकारको निरन्तरता रहे, कोही सल्लाहकारले विनम्र भाषामा मेरा यी शब्दहरू सुनाइदिए हुन्छ- सिंगो महाभारतको सार केवल एक लाइनमा भन्न सकिन्छ, अहंकारको वृक्षमा सदैव विनाशको फल लाग्छ ।


लेखक नेपाली कांग्रेसका प्रवक्ता हुन् । प्रकाशित : चैत्र २०, २०७५ ०९:०६

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

एक सफल स्ट्राइकर

विश्वप्रकाश शर्मा

काठमाडौँ — चक्र बाँस्तोला अब हुनुहुन्न । सभापतिका रूपमा पार्टीको या प्रधानमन्त्रीका रूपमा देशको क्याप्टेन उहाँ बन्नुभएन ।

तर क्याप्टेन नबने पनि जिम्मेवारीको जर्सी भिरेर मैदानमा ओर्लंदा जहिल्यै गोल गर्न सफल स्ट्राइकर ।

सामान्यतया राजनीतिज्ञको निधनपछि चर्चा हुने गर्छ, कति सफल या असफल भनेर । दुई साताअघि दिवंगत कांग्रेस नेता चक्र बाँस्तोलाबारे यस्तो चर्चा यतिबेला भइरहनु स्वाभाविक छ । बीपी कोइरालाले झैं देशका लागि अलग मिसनको निर्धारण नत उहाँले गर्नुभयो न जीपी कोइराला र अन्य नेताझैं प्रधानमन्त्री पदको शासकीय दायित्व सम्हाल्न पाउनुभयो ।

यात्रामा पूर्णविराम लागिसकेपछि अब विचार प्रक्षेपणको पाटो या पदीय उचाइको कोणबाट मापन गरिने अर्को ढंगको सफलता विश्लेषणको च्याप्टर क्लोज भइसकेको छ । तर उहाँको जीवनका केही महत्त्वपूर्ण खण्डहरूको समीक्षा गरिरहँदा ठहर गर्न सकिन्छ– बाँस्तोला सफल स्ट्राइकर हुनुहुन्थ्यो, मैदानमा बल पास गर्न या गोल गर्न सफल रहनुभयो । तर सिङ्गो टिमको क्याप्टेन बन्ने अवसर भने उहाँलाई प्राप्त भएन ।

बीपीले पत्याएको व्यक्तित्व
समाजको रूपान्तरणका लागि आफूले प्रक्षेपण गरेको सिद्धान्त र बाटोमा दह्रिलोसँग उभिनसक्ने अनुयायीहरूको खोजी त्यसका प्रस्तोताले अनिवार्यसँग नै गर्छन् । बीपीको नजरले भरोसा गरेको त्यस्ता व्यक्तिहरू मध्येको एक प्रखर व्यक्तित्व हुनुहुन्थ्यो, बाँस्तोला । ‘आत्मवृत्तान्त’मा बीपीले यसको संकेत प्रस्टसँग गर्नुभएको छ । बीपीको विश्वासको कोण सिद्धान्तका लागि अड्ने, लड्ने या मर्ने सन्दर्भमा मात्रै होइन, उहाँको भरोसा यसको भाष्यको सामयिकीकरण सन्दर्भमा प्रधान थियो ।

सिद्धान्तको अमूर्तताले सुदूर भविष्यको दृष्टि, तत्कालीन कालखण्डमा यसले पक्षपोषण गर्ने वर्ग र समूह, बोक्ने मुद्दा र हिँड्ने बाटोबाट मूर्तता प्राप्त गर्छ । बाँस्तोलासँग सामयिकीकरणको मस्तिष्क थियो, इतिहासमा गम्भीर प्रतिकूलता व्यहोरेको घडी त्यसको उपयोग गर्ने अवसर हामी कांग्रेसजनले गुमाएका छौं । आजको कतिपय अल्झन र गांँठाहरू विषयगत र वस्तुगत ढंगले फुकाउन उहाँले गर्नसक्ने ‘क्लिक’ पक्कै महत्त्वपूर्ण हुने थियो । एक ढंगको त्यो विज्ञताको व्यावहारिक इमेज छाडेर जानु एक राजनीतिज्ञका लागि मरणोपरान्त प्राप्त सफलता नै हो ।

संघर्ष र सत्ताका बाँस्तोला
स्कुल पढाइरहेको शिक्षक अपहरण गर्नसक्ने ‘क्रान्तिकारी’हरू त नेपालमा थुप्रै पैदा भए, तर ०३० साल जेठ २८ गते भएको जहाज अपहरणको घटना नेपालको राजनीतिक संघर्षको इतिहासमा सबैभन्दा क्रान्तिकारी घटना हो ।

दुर्गा सुवेदी, बसन्त भट्टराई र नगेन्द्र ढुङ्गेल कांग्रेसका ३ युवाले राष्ट्र बैंकको तीस लाख भारु बोकेर काठमाडौंका लागि विराटनगरबाट उडेको नाइन एन एबीबी कल साइन भएको तत्कालीन शाही नेपाल वायुसेवाको जहाज अपहरण गरेर फारबिसगन्ज पुर्‍याएका थिए ।

बीपीको प्रेरणा र जीपीको डिजाइनमा भएको त्यो विशिष्ट मिसनको एक सदस्य हुनुहुन्थ्यो, बाँस्तोला । त्यही मुद्दामा भारतीय जेलमा बस्नुभयो । हरेक रूपको संघर्षको अन्तिम रूप शान्तिपूर्ण हुनसक्दा मात्रै समाजलाई अग्रगतिमा लैजान सकिन्छ भन्ने मान्यता राख्ने बाँस्तोलाले सो घटनाको ३० वर्षपछि माओवादी विद्रोहको सेफल्यान्डिङका लागि गिरिजाप्रसाद कोइराला र प्रचण्ड बीचको सुरुवाती समन्वयमा भूमिकासमेत खेल्नुभयो ।

संघर्षमा सफल प्रमाणित धेरै नेता सत्ताको वास्तविक परीक्षामा अनुत्तीर्ण भएका छन् । बाँस्तोला अपवाद मध्येमा पर्नुहुन्छ । ‘भिजिट नेपाल’ वर्षको पहिलो प्रयोग ‘नाइन्टी एट’मा यिनै स्ट्राइकरको परिकल्पनामा भयो र पर्यटन हाम्रो समृद्धिको एक महत्त्वपूर्ण आधार बन्न सक्छ भनेर ‘ब्रान्डिङ’को प्रक्रियाले गति लियो । सत्तामा रहेर दाग लाग्न वर्ष या दिन होइन, छिन भए पुग्छ, तर बाँस्तोला सफल हुनुभयो मन्त्रीमण्डलबाट बेदाग बाहिरिन ।

धेरैले नरुचाएको खरो बोली
कुनै पनि राजनीतिज्ञ या कोही पनि व्यक्ति सर्वगुण सम्पन्न हुन सक्दैन । चक्र बाँस्तोलाका दुई कमजोरीबारे टिप्पणी हुन्छ । एक– कुशल संगठक हुनुहुन्थेन उहाँ । दुई– बोली अलि खरो र टर्रो ढंगको थियो । संगठकका सवालमा निश्चय नै उहाँमा त्यो योग्यता अभाव देखियो ।

तर खरो बोली उहाँको कमजोरी कम योग्यता बढी हो भन्ने मेरो विश्लेषण छ । नेतासँग मिठो बोलीको अपेक्षा कार्यकता या नागरिकले राख्नु गलत होइन, तर अभ्यासको परिणाममा पनि मिठो बोली अभिव्यक्त हुनसक्छ । तर पुरै स्वभाव नै हक्की र बोलीमा खरोपना प्राकृतिकमात्रै हुन्छ । स्वाद बुझ्नेका लागि खोर्सानीको पिरो पनि प्रिय हुन्छ ।

गणेशमान सिंहलाई राजनेता बनाएको राजासँगको खरो बोली, प्रधानमन्त्री पदको त्यागसँगै नागरिककै खुला आलोचना गर्नसक्ने साहसले पनि हो । अत: बाँस्तोलाको खरो र प्रस्ट कुरा गर्ने शैली मलाईचाहिँ उहाँको सबैभन्दा मनपर्ने गुण थियो । के बोल्दा लोकप्रिय भइन्छ भन्ने ढंगले बोलेर क्षणिक लोकप्रियता हासिल गर्न निश्चय नै सकिन्छ, तर त्यसको दीर्घायु हुन्न । बाँस्तोला धेरै बोल्नुभएन, जति बोल्नुभयो, कुरा लुकाएर बोल्नुभएन । हुन्छ, भैहाल्छ, गर्दिन्छु, गर्दिहाल्छु, तपाई नै त हो, भोलि, पर्सि, निपर्सि यस्ता शब्दहरू बाँस्तोलाका डिक्सनरीमै थिएनन् ।

पार्टीभित्र फरक मत राखिराख्दा पनि ठिक ठाउँमा ठिक ढंगले राख्ने संयमता र समाधानका लागि सूत्रहरूको खोजी गर्ने बौद्धिकता पनि उहाँ प्रस्तुत गर्नुहुन्थ्यो । आफूलाई केन्द्रमा राखेर पार्टी भित्रका कमजोरीहरूको विस्कुन सुकाइरहने ढंगको ‘क्षणिक रूपमा धेरैलाई मनपर्न सक्ने’ शैलीको खरो बोली भने उहाँमा थिएन । हामी धेरैले सिक्नुपर्ने अपवाद हुनुहुन्थ्यो, यी स्ट्राइकर ।

२ हजार १ सय ८ दिन
विधिवत निधनमात्रै असोज २७ गते राति भयो, तर दुई हजार एक सय आठ दिनदेखि उहाँ सो सरहकै अवस्थामा हुनुहुन्थ्यो । जीवित हुनुहुन्थ्यो, तर जीवन थिएन । आफ्नो पतिलाई काखको बच्चाजस्तो गरेर यतिका दिनसम्म पलपल स्याहार गर्नु एक ढंगको तपस्यासरह थियो । उहाँकी जीवनसाथी कुसुम बाँस्तोलाको प्रशंसा सबैले यसकारण पनि गरिरहेका छन् कि त्यो एउटा उदाहरणीय नमुना बनेको छ, सबै दम्पतिका लागि, खासगरी त्यस्तो बेला जुन बेला हाम्रा पारिवारिक सम्बन्धहरूमा प्रेम, विश्वास र समर्पणको मात्रामा ह्रास हुँदै गएको छ ।

.. र अन्त्यमा,
एक पटक प्रधानमन्त्री बनेर देशका लागि केही नवीन प्रस्तुति गर्छु भन्ने आकांक्षा राजनीतिज्ञमा हुनु अनौठो होइन । तर प्रधानमन्त्री नबनी दिवंगत भएका सबै असफल र प्रधानमन्त्रीको पद हासिल गर्ने सबै सफल भन्ने हुन्न ।

प्रधानमन्त्री हेरल्ड विल्सनले मन्त्री बन्न गरेको आग्रहलाई बर्टेन्ड रसेलले अस्वीकार गरे । मन्त्री बनेको सयौंलाई बिर्सिसक्यो बेलायतले, तर सम्झन्छ, यी दार्शनिक रसेललाई । मन्त्री या प्रधानमन्त्री बन्नु नै सम्पूर्ण सफलताको मानक होइन । वडाध्यक्षकै रूपमा सही कर्म र छवि के छाडेर गए, त्यसको सम्झनाको दीर्घायुलाई राजनीतिकर्मीको सफलता मान्नुपर्छ भन्ने लाग्छ ।

बीपीले एक ठाउँमा भन्नुभएको छ, जीवनको सफलता कुनै निश्चित प्राप्तिमा होइन, निरन्तरको प्रयत्नमा हुन्छ । गान्धी र गणेशमानले प्रधानमन्त्रीको प्राप्ति अवसरलाई अस्वीकार गर्नुभयो । महेन्द्रनारायण निधि, शेख इद्रिस, रामनारायण मिश्र, मंगलादेवी सिंह, शैलजा आचार्य, भीमबहादुर तामाङ, बलबहादुर राई र भूविक्रम नेम्बाङहरूको नाम श्रद्धापूर्वक विशेष रूपले सम्झना गरिन्छ, तर उहाँहरू कोही पनि प्रधानमन्त्री बन्नुभएन । प्रधानमन्त्री बनेका कम्युनिष्ट नेताहरूभन्दा मन्त्रीसम्म नबनेका मदन भण्डारीको व्यक्तित्वको ओझ आज पनि अग्लो छ । उचाइमा पुगेको राजनीतिज्ञको सफलता उसले दिने विचार, तत्कालीन सन्दर्भको नेतृत्व क्षमता, व्यक्तिगत छवि र प्रत्यक्ष–अप्रत्यक्ष रूपमा गाउँ–समाजले प्राप्त गरेको परिणामको जगमा मापन गरिनु नै व्यावहारिक हुन्छ ।

चक्र बाँस्तोला अब हुनुहुन्न, अब न रङ्ग थप्नुको अर्थ छ, न घटाउनुको । जे हो, जति हो, त्यति नै हो । सभापतिका रूपमा पार्टीको या प्रधानमन्त्रीका रूपमा देशको क्याप्टेन उहाँ बन्नुभएन । तर क्याप्टेन नबने पनि जिम्मेवारीको जर्सी भिरेर मैदानमा ओर्लंदा जहिल्यै गोल गर्न सफल स्ट्राइकर उहाँ । अनि यस्तो स्ट्राइकर जसले सफल हुन कहिल्यै ‘फल्ट’ खेलेन ।
लेखक नेपाली कांग्रेसका प्रवक्ता हुन्।

@bishwaprakash77

प्रकाशित : कार्तिक १०, २०७५ ०७:५८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×