भ्रष्टाचारीलाई ज्वाइँ सम्मान !

गौरीबहादुर कार्की

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज सञ्चालक लम्बोदर न्यौपानेलाई बयानका क्रममा साधारण तारेखमा छाड्यो । न्यौपाने पछि भागे । अनुसन्धान अधिकारीको लापरबाहीले भागेको भन्ने अख्तियारको भनाइ छ ।

अख्तियारकै पूर्वआयुक्त राजनारायण पाठकले न्यौपानेबाट ७८ लाख रुपैयाँ घूस लिनुखानु गरी भ्रष्टाचार गरेको अडियो–भिडियो गत फागुन १ गते सार्वजनिक भएको थियो । सोभन्दा चार महिनापहिले नै प्रधानमन्त्री, सरकारी पदाधिकारी लगायत नेकपाका नेताहरूले भिडियो हेरिसकेका थिए । अख्तियारमा नेकपाका नेता पूर्वसभामुख सुवास नेम्वाङले सो भिडियो हस्तान्तरण गरेका थिए ।

दुई पटक गरी ४० लाख र ३८ लाख नगद रकम लम्बोदर न्यौपानेका तर्फबाट अख्तियारका आयुक्त पाठकलाई बुझाएको भनी घूस रकम बुझाउने ज्ञानेन्द्र झाले अख्तियारमा बयान दिइसकेका छन् । यो इन्जिनियरिङ कलेज भ्रष्टाचार काण्डमा ७८ लाख रुपैयाँ घूस खुवाउने न्यौपानेलाई अख्तियारले सजिलै भगायो । घूस खुवाउनेले अख्तियारमा साबित नभई अदालतमा आएर अस्वीकार गरेपछि कसरी घूस खुवाएको हुनसक्छ र भन्ने ग्रान्ड डिजाइनमा भाग्ने–भगाउने काम भएको बुझ्न गाह्रो छैन । अस्ट्रेलियाका यी ग्रिनकार्डधारीलाई नेपालमा फर्काउन पनि सजिलो नहुने भएरै भगाइएको हो ।

अन्य प्रजातान्त्रिक मुलुकमा जस्तै नेपालको संविधानले कुनै पनि व्यक्तिको स्वतन्त्रता र हकको सुरक्षाको प्रत्याभूति गरेको छ । कुनै पनि व्यक्तिलाई पक्राउ भएको समय तथा स्थानबाट बाटोको म्यादबाहेक चौबीस घण्टाभित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउनुपर्छ । त्यस्तो अधिकारीबाट आदेश भएमा बाहेक पक्राउ भएको व्यक्तिलाई थुनामा नराखिने न्याय सम्बन्धी हक संविधानको धारा २० (३) ले दिएको छ ।

गम्भीर फौजदारी अपराधमा भने थुनामा राखेर अनुसन्धान र तहकिकात गर्नसक्ने कानुनी व्यवस्था छ ।नेपाल कानुनमा फौजदारी मुद्दाको अनुसन्धानको अवस्थामा अभियुक्तलाई भाग्न नदिन केही प्रावधान राखिएका छन् । सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को दफा ४ अनुसार विभिन्न फौजदारी अपराधमा प्रमाण लोप वा नाश हुन नदिने र अपराधी उम्कन नपाउने व्यवस्था प्रहरीले गर्नुपर्छ भन्ने कानुनी व्यवस्था छ ।

दफा १४ ले अपराधमा संलग्न रहेको छ भन्ने शंका गर्नुपर्ने मनासिब कारणमा पक्राउ गर्नसक्ने अधिकार दिएको छ । दफा १५ अनुसार, तहकिकातका लागि चौबीस घण्टाभन्दा बढी थुनामा राख्नुपरेमा मुद्दा हेर्ने अदालतको आदेशले एकैपटक वा पटक–पटक गरी पच्चीस दिनसम्म थुनामा राख्न सकिन्छ ।

भ्रष्टाचार मुद्दाको हकमा भने भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग (संशोधनसहित) को ऐन, २०४८ बमोजिम अनुसन्धान तहकिकात गर्ने–गराउने कानुनी प्रावधान छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २८ ले भ्रष्टाचारको आरोप लागेको व्यक्तिसंँग बयान लिइसकेपछि खोजेको बखत हाजिर हुने कागज गराई छाड्ने वा तारेखमा राख्ने वा ऊ फरार हुनसक्छ भन्ने मनासिब कारण भए वा बिगो हानि–नोक्सानी भएको देखिए प्रचलित कानुन बमोजिम धरौटी वा जमानत मागी तारेखमा छाड्ने वा त्यो नदिए थुनामा राख्न सक्छ ।

दफा ३१ मा अभियुक्तलाई थुनामा राख्ने सम्बन्धमा विशेष व्यवस्था छ । भ्रष्टाचारको कसुरमा कारबाही चलाइएको व्यक्तिले कुनै प्रमाण नाश गर्नसक्ने वा अनुसन्धान र तहकिकातको कारबाहीमा बाधा–व्यवधान गर्नसक्ने पर्याप्त कारण भए अनुसन्धान अधिकृतले निजलाई प्रचलित कानुन बमोजिम थुनुवा पुर्जी दिई थुनामा राख्न सक्नेछ ।

त्यस्तो व्यक्तिका हकमा, चौबीस घण्टाभित्र तहकिकात पूरा नहुने भई थुनामा राखी तहकिकात जारी राख्न मुद्दा हेर्ने अधिकारीको अनुमतिले एकैपटक वा पटक–पटक गरी तीस दिनमा नबढ्ने गरी बढीमा ६ महिनासम्म थुनामा राख्न सक्ने अधिकार दिएको छ । अन्य फौजदारी मुद्दामा अनुसन्धान तहकिकातका लागि बढीमा पच्चीस दिनसम्म थुनामा राख्न सकिन्छ भने भ्रष्टाचार मुद्दामा सन्तोषजनक रूपमा तहकिकात भएको अवस्थामा ६ महिनासम्म ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग (संशोधनसहित) को ऐन, २०४८ ले भ्रष्टाचार मुद्दामा अनुसन्धान र तहकिकातका लागि अभियुक्तलाई थुनामा राखेर पुर्पक्ष गर्नसक्ने विशेष अधिकार दिएको छ । ऐनको दफा १६ ले भ्रष्टाचारको आरोपमा कारबाही चलाएको कुनै व्यक्तिले कुनै प्रमाण नाश गर्नसक्ने वा आयोगको कारबाहीमा बाधा पार्न सक्ने पर्याप्त कारण भए आयोगले निजलाई अदालतको अनुमतिले थुनामा राख्नसक्ने अधिकार दिएको छ ।

सोही ऐनको दफा १९(४) अनुसार, भ्रष्टाचारको आरोपमा कारबाही चलाइएको व्यक्ति फरार हुनसक्छ भनी सम्झनुपर्ने मनासिव कारण भए वा बिगो हानि–नोक्सानी भएको देखिए आयोगले निजसँंग धरौटी वा जमानत माग्नसक्ने र नदिएमा समेत थुनामा राखेर अनुसन्धान तहकिकात गर्नसक्ने विशेष अधिकार आयोगलाई दिएको छ ।

यस्तो विशेष अधिकार अख्तियारको भित्तामा झुन्ड्याएर राख्ने तस्बिर वा नागरिक बडापत्र जस्तो भयो । लम्बोदर न्यौपानेले ७८ लाख रुपैयाँ घूस खुवाएको र उनले कलेजको रकम हिनामिना गरेको प्रत्यक्ष प्रमाणमा असर पार्न सक्ने तथा विदेश भाग्न सक्ने अवस्थामा थुनामा नराखी साधारण तारेखमा छाडेर अनुसन्धान र तहकिकात गर्नु अख्तियारको गम्भीर लापरबाही मात्र होइन, पछि सफाइ दिलाउने मिलेमतो हो ।

उच्च नैतिक चरित्र झएको व्यक्ति नियुत्त हुनुफर्ने अख्तियार जस्तो संवैधानिक निकायमा नियुक्त आयुत्त राजनारायण पाठकले पदमै रहेका बेला ७८ लाख रुपैयाँ नगद घूस खाएकामा के उनलाई र उनलाई घूस खुवाउने न्यौपानेलाई ज्वाइँ जस्तोगरी सम्मान गरेर राख्नुपर्ने थियो र ? अरू उपर भ्रष्टाचारमा कारबाही गर्ने संवैधानिक निकाय अख्तियारका आयुक्त भएरै ७८ लाख रुपैयाँ घूस खाने पाठकलाई अख्तियारले आफ्नो पूर्वआयुक्त भएरै होला, सम्मानसाथ निजकै घरमा निगरानीमा राखेर बयान लिइरहेको छ ।

अख्तियारका पूर्वआयुक्तका नाताले प्रत्यक्ष प्रमाणले पुष्टि भएका अभियुक्तलाई तारेखमा राखेर बयान लिने हो भने भोलि अन्य अभियुक्तलाई पनि त्यस्तै व्यवहार गर्नुपर्ने हुन्छ । अख्तियारको यो क्रियाकलाप र व्यवहार भोलि अन्य अभियुक्तलाई पनि थुनामा नराखी घरमै राखेर अनुसन्धान तहकिकात गर्न नजिरको रूपमा रहन जाने हुन्छ ।

थुनामा राखेर अनुसन्धान तहकिकात गर्न थालेकै खण्डमा पनि यही नजिरका आधारमा अरूले अदालतमा पाठकलाई गरेजस्तै समान व्यवहारको माग गर्न सक्छन् । त्यतिबेला अदालतले पनि अख्तियारकै पूर्वव्यवहार र नजिरलाई मान्नुपर्ने स्थिति आउने त होइन ?
घूस खुवाउने मुख्य अभियुक्त न्यौपाने भागिसकेको अवस्थामा घूस खाने अभियुक्त अख्तियारका पूर्वआयुक्तलाई थुनामा राखेर अनुसन्धान तहकिकात गर्न अख्तियारलाई केले बाधा पुर्‍यायो कुन्नि !

अडियो–भिडियो, अन्य व्यक्तिका बयान लगायत प्रत्यक्ष प्रमाणबाट घूस खाएको देखिएको अवस्थामा पाठकलाई भागेर जान्छ कि भनी निगरानीमा राख्नुको कारण के हो ? आगो लागेपछि पोखरी खन्नेजस्तो भयो यो । पाठकलाई यतिविघ्न माया गर्नुपर्ने कारण अन्य भ्रष्टाचारीले पछि मागे भने अख्तियारले के भन्ला ?

अख्तियार दुरुपयोग अनुसन्धान र भ्रष्टाचार निवारण ऐनले दिएका अधिकारको दुरुपयोग अख्तियार आफैंले गरिरहेको प्रमाण हो यो । प्रत्यक्ष प्रमाणले भ्रष्टाचार भए–गरेको देखिइसकेको अवस्थामा अब अख्तियारले माया गरिरहनु र प्रहरीले सलाम ठोकिरहनुपर्ने किन हो ? दस–पन्ध्र हजार घूस खाने अभियुक्त र अपराधभन्दा अख्तियारका आयुक्त लगायत विरुद्धको यो मुद्दा अति गम्भीर र संवेदनशील छ ।

त्यसैले पनि अख्तियारले घूस खुवाउने लम्बोदर न्यौपाने भागेको अवस्थामा अब भ्रष्टाचार आरोपितमाथि कडा निगरानी राख्ने र अनुसन्धानमा लापरबाही गर्नेमाथि कारबाहीको जति चेतावनी दिए पनि अनुसन्धान अधिकारीको थाप्लोमा पन्छाएर हुँदैन । न्यौपानेलाई भगाएको जिम्मा अख्तियारले नै लिनुपर्छ ।

चाहे अख्तियारका पूर्वआयुक्त वा अन्य भ्रष्टाचारी हुन्, प्रमाणले पुष्टि गर्छ भने प्रमाण लोप गर्ने वा भागिजाने अवस्थामा नेपाल कानुनले दिएको विशेष अधिकार बमोजिम थुनामा राखेर अनुसन्धान र तहकिकात गर्न ठूलो शिक्षा अख्तियारले पाएको छ । राजनारायण पाठकलाई अझै कति दिन आयुक्त र ज्वाइँको रूपमा हेर्ने हो, हेर्दै जाऔँ ।

लेखक विशेष अदालतका पूर्वअध्यक्ष हुन् ।

प्रकाशित : चैत्र १४, २०७५ ०८:०२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

नफुटेको ढिकुरो

अनुराधा शर्मा

काठमाडौँ — नियास्रा चेहरा लिएर आउनेहरूको भीड । हातहातमा पोलिथिनका झोला । कुनै फलफूलले भरिएका, कुनै चिनीले भरिएका अनि कुनैको मुखबाट जुसको डिब्बा देखिएका । दुई दिन भएको थियो, प्रेमको मृत्यु भएको । २८ वर्षकी श्रीमती र दुई बालकलाई छाडेर । उषाको भक्कानो, ठूलो छोराको तोते बोली अनि दुधे बालकको रुवाइ । आँगनदेखि बैठककोठासम्म आगन्तुकको निरन्तर भुनभुन ।

के भयो ? कसरी भयो ? अस्पतालमै ? दाहसंस्कार कहाँ गरियो ? अन्तिम बेला केही भनेको थियो ? प्राण जाने बेला साथमा को थियो ? सबै सवाल–जवाफ त्यहाँ बसुन्जेल समय बिताउने अनि फर्कंदा कतै कसैले केही सोध्यो भने जवाफ दिएर आफू शोकसन्तप्त परिवारनिकट रहेको प्रमाणित गर्न मात्र ।

कति जवाफ सही थिए त कति अनुमानित । तर जे होस्, जवाफ दिने र लिने दुवै सन्तुष्ट थिए । हरेक सवाल–जवाफको अर्न्त्ययउटै प्रश्न वा अनुमानबाट भइरहेको थियो– ‘बिचरी उषा, अब के गर्छिन् होला !’ यो भीडको जिज्ञासा थियो, चासो थियो वा सरोकार, त्यो कसैलाई थाहा थिएन । भीड फेरिन्थ्यो, नयाँ आउने भीड पनि त्यही भुनभुनमा हराउँथ्यो, मानौं भीड भुनभुनको रिले दौडमा छ ।
केही बेर भुनभुनाइसकेपछि धेरैजसोको सवाल एउटै हुन्थ्यो, ‘उषा कहाँ बसेकी छन् ?’ केही बेरको औपचारिकतापछि उनीहरू उषालाई सान्त्वना दिने अर्को औपचारिकता निभाउन अर्को कुनातिर गइरहेका थिए ।

उषा सेतो धोतीमा बेरिएर कुनामा भित्ताको अडेस लागेर सेतो कम्बलमा बसेकी थिइन् । ठूलो बैठककोठाको एउटा कुनालाई खरले बेरेर अलग्याइएको थियो । शून्यतातिर एकटक हेरिरहेका उनका रित्ता आँखाले शून्यतासँग ती तमाम प्रश्न सोधिरहेका थिए, जसको जवाफ सायद अब कसैसँग छैन । सिवाय समयसँग । कतिपय आगन्तुकलाई उषा किरिया बसेकामा पनि आपत्ति थियो ।
छातीमा आएर बिसाउने ती आगन्तुकका आँखा उषाका लागि तिखो भालासरि हुन्थे, जसले उनको छाती चिर्दै आत्मामा समेत घाउ बनाइरहेका हुन्थे । उषाले कालो लामो छरिएको कपाल आफ्नो छातीतिर ल्याई सेतो धोतीको लहरोले ढाक्न नसकेको छातीलाई छोपेर हरेक नजरको तीरलाई रोक्ने असफल प्रयास गरिरहेकी थिइन् ।

उषाको हाँसो अनि हार्दिकतालाई निमन्त्रणा सम्झिनेहरूले हिजो उनलाई सर्वांग वस्त्रमा हुँदा त उदांगो देख्थे भने, आज भित्री वस्त्रविहीन, एकसरो धोतीमा बेरिएकी उनको अर्धनग्नतालाई के छाड्थे !

भन्दै थिए, ‘चिन्ता नगर्नू, हामी छौं ।’ तिनलाई एक नजर हेरेर उषा आँखा फेरि शून्यतामा पुर्‍याउँथिन्, अनि सोच्थिन्— तिमीहरू छौ र त चिन्ता छ !

उषाको वेदना त्यति बेला बढेर आउँथ्यो, जब त्यस्ता व्यक्ति उनलाई हेर्दै निकै बेर त्यहीं बस्थे, आँखा तृप्त पार्थे अनि भोलि फेरि आउने वाचा गर्दै निस्किन्थे । उनी फेरि भित्तामा अडेस लागेर सुस्केरा हाल्थिन्, अनि सोच्थिन्— आगन्तुकहरूभन्दा यो भित्ता कति जाती छ !
हरेक बिहान उषा आमा अनि छिमेकी महिलाहरूसँग नजिकैको घाटमा नुहाउन जान्थिन् । पण्डित पनि नियमित किरियाकर्मका लागि सधैं अघि लागेका हुन्थे । पण्डितले विभिन्न मन्त्रोचारणसहित घाटमा नित्यकर्म गराउँथे । मृतकको आत्माको शान्तिका लागि, स्वर्गमा बास भन्नका लागि ।

वरपरको माटो बटुलेर पण्डितले उषालाई एउटा ढिकजस्तो बनाउन लगाएका थिए । उनले भनेका थिए, ‘यो ढिकुरो हो । मृतकको काजक्रियाका सबै काम यसैमाथि गर्नुपर्छ । अन्तिम दिनमा मृतकको छटपटिएको आत्मा शान्त भई यहाँबाट बिदा हुन्छ, अनि यो ढिकुरो फुटाउनुपर्छ ।’

हरेक दिन उषा त्यही माटाको थुप्रोमा सबै कर्म पूरा गर्थिन् ।

बाटामा पर्ने वरको रूखमा पण्डितले एउटा माटाको भुर्को झुन्ड्याउन लगाएका थिए, जसमा हरेक दिन फर्किने बेला उषाले पानी हाल्नुपर्थ्यो । ‘यो प्रेतघडा हो, मृतकको आत्मा अनि यत्रतत्र घुम्ने प्रेतहरूलाई प्यास लाग्दा यहाँ पानी पिउन आउँछ । अन्तिम दिनमा यो भुर्को पनि फुटाउनपर्छ’, पण्डितले भनेका थिए ।

उषा घाटको काम सकेर घर आइपुग्दा आँगनमा पहिलेझैँ भुनभुन चलिरहेकै हुन्थ्यो । बिहानको चर्को घाममा उषा भिजेको कपाल काँधभरि फिँजाएर जसै आँगनमा पुग्थिन्, त्यो बेला एकाएक केही बेरका लागि भुनभुन रोकिन्थ्यो । आँखाहरूले उषालाई आँगनदेखि भित्र कोठामा पुग्दासम्मपछ्याउँथे । जसै उषा कुनामा पुगेर आफूलाई भित्ताको जिम्मा लगाउँथिन्, पुनः भुनभुन सुरु हुन्थ्यो । घाटमा नुहाएर शुद्ध पारेको शरीरलाई आँगनमा जम्मा भएका आँखाहरूले क्षणभरमै अशुद्ध बनाइदिइसकेका हुन्थे ।

आज अन्तिम दिन, आगन्तुकहरू खचाखच थिए । उषा, उनकी आमा अनि पण्डित घाटतर्फ लागेका थिए ।‘आज घाटको सबै काम सकिन्छ, पिण्ड दिइसकेपछि ढिकुरो फुटाउने अनि फर्कंदा वरको रूखमा झुन्ड्याएको भुर्को पनि फुटाउने,’ अघिअघि लागेका पण्डित भन्दै थिए ।

‘उषा नानी, ल अब यो ढिकुरोलाई फुटाऊ । मृतककोभड्किएको आत्मा आफ्नो बाटो लागिसक्यो ।’ तामाको भाँडामा पकाएको पिण्ड ढिकुरोमाथि राखेर अन्तिम दिनका सबै काम सकेपछि पण्डितले भने ।उषा उभिएर एकटक पहिलो दिनमा बनाएको त्यो माटाको ढिकलाई हेरिरहेकी थिइन् ।

‘के हेरेको नानी त्यसरी ? यसको काम सकियो, अब फुटाऊ’, पण्डितले फेरि भने ।‘फुटाऊ छोरी, अब पीर नगर । प्रेमको आत्मा शान्त भैसकेको छ, उसको आत्मा अब आफ्नो बाटो लागिसकेको छ । ढिकुरो फुटाऊ छोरी, अब ढिला नगर’, उषाको काँधमा हात राखेर आमाले भनिन् ।

‘नाइँ आमा, म यो ढिकुरो फुटाउँदिनँ’, बिस्तारै दृढताका साथ टाउको हल्लाउँदै उषाले भनिन् । उनका आँखा अझै पनि ढिकुरोमै केन्द्रित थिए ।

‘के भनेको छोरी यस्तो ? किन पीर गरेको ? सुनिनौ पण्डितजीले भनेको, प्रेमको आत्मा अब शान्त भैसक्यो । तिमी यो ढिकुरो फुटाऊ ।’ ‘मलाई चिन्ता प्रेमको आत्माको होइन, आमा ! उहाँ तआफ्ना सबै जिम्मेवारीबाट मुक्त भएर गैसक्नुभयो । मलाई त यो पनि थाहा छैन, उहाँको आत्मा कहाँ छ र कुन दिशाको बाटो समातेको छ ।’ उषाले आमातिर फर्केर भनिन्, ‘मलाई चिन्ता ती अतृप्त आत्माहरूको छ, जसलाई जिउँदा शरीरहरूले बोकेर डुलाएका छन् । ती आत्माहरू यो समाजमा रहेसम्म म यो ढिकुरो फुटाउँदिनँ ।’
आमाले उषाको अनुहारमा हेरिरहिन् । ढिकुरोको पारिपट्टि उभिएका पण्डितका ओठ थरथराइरहेका थिए ।

सधैं पण्डितको मन्त्रले गुन्जिने घाटको त्यो छेउ आज उषा र आमाको भक्कानोले थर्किएको थियो ।‘आमा, जाऔँ अब । फर्किंदा वरको रूखमा झुन्ड्याएको भुर्कोमा पनि पानी राख्नु छ । म यो ढिकुरो अनि त्यो प्रेतघडारूपी भुर्को साबुतै छाडेर जान्छु,’ उषाले खुला कपाल समेटेर जुडो बनाउँदै भनिन् ।

उषाले आमाको हात समातिन्, अनि दुवै जनाले एक पटक ढिकुरो र त्यो माथिको पिण्डतिर हेरे, अनि आफ्नो बाटो लागे । पण्डित पनि तामाको कसौँडी उठाएर बाटो लागे । आज भने उनी पछाडि थिए । उषा र आमा वरको रूखतर्फ जाने उकालो चढ्दै
थिए । पछाडि थियो त त्यो अन्तिम दिनको पिण्ड थामेको ‘नफुटेको ढिकुरो’ ।

पारिजात बालसाहित्य पुरस्कार विजेता लेखिका बालबालिकाका लागि कथा लेख्छिन् ।

प्रकाशित : चैत्र १४, २०७५ ०८:०१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×