महिला र बालबालिका पीडितका पीडितै

मञ्चला झा

काठमाडौँ — जुनसुकै मुलुकमा जेसुकै कारणले भएका द्वन्द्वमा महिला र बालबालिका सबभन्दा बढी प्रभावित भएका छन् । प्रथम र दोस्रो विश्वयुद्धकालमा महिलालाई यौनतुष्टि पूरा गर्ने साधनका रूपमा प्रयोग गरिएदेखि उक्त प्रवृत्ति निरन्तर चली नै रहेको छ । अहिले पनि यौनजन्य हिंसा र बलात्कारलाई द्वन्द्वको रणनीतिक हतियारका रूपमा अपनाइने प्रचलन प्रायः सबै मुलुकमा देखिन्छ ।

युगान्डा, रुवान्डा, केन्या, सोमालिया, नाइजेरिया, सिरिया, दक्षिण अफ्रिका, बोस्निया हर्जगोभिना, क्रोएसिया, साइप्रस, हाइटी, लाइबेरिया, कम्बोडियालगायतमा द्वन्द्वका क्रममा महिलामाथि भएका यौनजन्य हिंसा र बलात्कारका कहालीलाग्दा तस्बिर केही उदाहरण मात्र हुन् ।

यद्यपि नेपालसहित द्वन्द्वबाट गुज्रिएका धेरैजसो मुलुकमा महिला र बालबालिका बन्दुक बोकी मैदानमा उत्रेका दृष्टान्त प्रशस्त भेटिन्छन्, तथापि यस्ता महिला र बालबालिकाको अवस्था द्वन्द्वोत्तर समाजमा पनि निकै चुनौतीपूर्ण रहेको देखिन्छ । यसबाहेक महिला र बालबालिकाको प्रयोग सुराकी, भान्से र मनोरञ्जक वस्तुका लागि समेत भएको पाइन्छ ।

नेपालका सन्दर्भमा दसवर्षे सशस्क्र द्वन्द्वका त्रममा महिलाहरू चार प्रकारले पीडित भएका देखिन्छन् : परिवार र आफन्त गुमाएर, द्वन्द्वमा प्रत्यक्ष सहभागी भएर समाजमा फर्केपछि उपेक्षित हुनु परेर, शारीरिक तथा मानसिक यातना पाएर अनि यौनजन्य हिंसा र बलात्कारमा परेर । यो आलेख यौनजन्य हिंसा तथा बलात्कार पीडितमा केन्द्रित छ ।

द्वन्द्वका क्रममा महिलामाथिको यौनजन्य हिंसा र बलात्कारका घटनाबाट अन्य मुलुकमा झैँ नेपाली समाज पनि अछुतो छैन । द्वन्द्वसित सरोकारै नराख्ने सर्वसाधारण महिला र बालिकालाई मनोरञ्जनको साधनका रूपमा प्रयोग गर्नु, यौनजन्य क्रियाकलाप गरेर पीडा दिनु, बलात्कार गर्नु, जबरजस्ती गर्भपतन गर्न लगाउनु, बिहे गर्छु भनेर आश्वासन दिई शारीरिक सम्बन्ध बनाएर बिचल्लीमा पार्नु नेपाली द्वन्द्वका कटु यथार्थ हुन् ।

द्वन्द्वका कारण उत्पन्न परिस्थितिको असहजताले तत्कालीन समयमा रोजगारीका लागि बिदेसिएका परिवारका मूली पुरुषहरूको अनुपस्थितिमा महिलाहरू मात्र घरमा भएको अवस्थामा ललाइफकाई तिनीहरूसित शारीरिक सम्बन्ध बनाएका गुनासा पीडित महिलाहरूले गर्ने गरेका छन् ।

आयोगमा परेका उजुरी
सत्य निरुपण तथा मेलमिलाप आयोगमा हालसम्म दर्ता भएका ६२ हजार ९५० उजुरीमध्ये यस्ता उजुरी ३२२ मात्र छन् । यस्ता पीडितको उजुरी अपेक्षित रूपमा नआउनुको मुख्य कारण हो– सामाजिक अबगालको त्रास, प्रमाण अभाव, पुराना घटना, न्याय प्राप्तिमा अविश्वास ।

लोकलाजका कारण बलात्कारजस्ता जघन्य घटनाको पीडा चुपचाप सहने र परिवारलाई बताउँदा पारिवारिक विचलनमा पर्न सक्ने त्रासका कारण पीडितहरू खुल्न नचाहेका हुन् । यस्ता घटना अत्यन्त संवेदनशील हुने भएकाले र बीस–बाइस वर्षअघि आफूमाथि भएको ज्यादती कुन पक्षबाट र कसबाट घटाइएको हो भन्ने पहिचान गर्ने अवस्थामा पीडितहरू नरहेकाले पनि उजुरी कम परेका हुन सक्छन् । न्यायप्राप्तिका लागि लामो अदालती झन्झटले गर्दा पनि पीडितहरू उजुरीप्रति उत्साहित नभएका हुन् ।

पीडितको सवालमा आयोग
बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा १७ (६) मा यस्ता पीडितका लागि आयोगले छुट्टै व्यवस्था गर्न सक्नेछ भनी उल्लेख छ । यसअनुसार आयोगले बलात्कार तथा यौनजन्य हिंसापीडित महिलाका लागि विशेष प्रकारको नीति अख्तियार गरेको छ ।

आयोगले तयार पारेका निर्देशिका तथा कार्यविधिहरूमा पीडितहरूसित बकपत्र गराउँदा संवेदनशीलता तथा गोपनीयताको अधिकतम ख्याल राख्ने, अनुशासित व्यवहार गर्ने, शिष्ट भाषाको प्रयोग गर्ने र तिनको आत्मसम्मानमा ठेस पुग्ने कुनै सबाल नगर्ने लगायत बुँदाको उल्लेख छ । छानबिन निर्देशिकामा यस्ता पीडितहरूको उजुरीको छानबिन प्रक्रियालाई पहिलो प्राथमितामा राखिएको छ । आयोगले नियुक्त गरेका तीन सदस्यीय अनुसन्धान अधिकारीमा एक महिला विज्ञ अनिवार्य हुने गर्छन् ।

सातै प्रदेशका लागि नियुक्त गरिएका महिला विज्ञहरूले पीडितको बकपत्र अत्यन्त गोपनीयताका साथ लिन सुरु पनि गरेका थिए । पीडितको चाहना र सहजताका लागि प्रदेशस्थित मुकाम कार्यालयहरूमा छुट्टै अनुसन्धान कक्षको समेत व्यवस्था गरी प्रारम्भिक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको थियो तर त्यो अहिले स्थगित छ ।

कानुनी जटिलता
आयोग ऐनको दफा २ (ञ) ले बलात्कारलाई गम्भीर प्रकृत्तिको मानव अधिकार उल्लंघनको घटना भनी परिभाषा गरेको छ । दफा २६ ले बलात्कारका घटनामा क्षमादान दिन मिल्दैन भनी ऐनमै स्पष्ट व्यवस्था छ । सर्वोच्चले २०७१ फागुन १४ मा गरेको फैसलामा अन्तर्राष्ट्रिय कानुनअनुसार बलात्कारजस्ता गम्भीर प्रकृतिको मानव अधिकार उल्लंघनका घटनामा क्षमादान दिन मिल्दैन भनी परमादेश दिएको छ ।

यसले बलात्कारका पीडकलाई कानुनीकारबाहीको सिफारिस गर्नैपर्ने हुन्छ तर हालको मुलुकी अपराध संहिता ऐनमा करणीसम्बन्धी कसुरको दफा २१९ मा ‘जबर्जस्ती करणी’ भनिएको छ र यसको स्पष्टीकरणमा समेत कतै ‘बलात्कार’ शब्द उल्लेख छैन । यसबाट भोलिका दिनमा द्वन्द्वकालीन यस्ता घटनाका पीडितको न्यायिक प्रक्रियामा कानुनी छिद्र उत्पन्न हुन सक्ने सम्भावना देखिन्छ । त्यसैले हाल संशोधन क्रममा रहेको आयोगको ऐनमा बलात्कारलाई जबर्जस्ती करणीअन्तर्गत राखी स्पष्ट पार्नु अत्यावश्यक छ ।

करणीसम्बन्धी कसुरको दफा २२९ मा गरिएको हदम्यादसम्बन्धी व्यवस्थाले यस्ता घटनाका पीडितले एक वर्षभित्र उजुरी दिनुपर्ने प्रावधान छ, जुन द्वन्द्वकालीन घटनाका हकमा पर्याप्त छैन । त्यसैले संक्रमणकालीन न्यायिक प्रक्रियमा हदम्याद लागू हुनु हुँदैन भनी स्पष्ट उल्लेख हुनुपर्छ, संशोधन क्रममा रहेको आयोगको ऐनमा ।

यस विषयमा आयोगले २०७२ पुस १ गते ऐन संशोधनका लागि सरकारलाई पठाएको आठबुँदे प्रस्तावमै उल्लेख गरिसकेको छ । यसबाहेक बलात्कार र यौनजन्य हिंसाका पीडितहरूलाई तत्कालै क्षतिपूर्ति र राहतका लागि ऐनमै विशेष व्यवस्था हुनु आवश्यक छ ।

यस्ता घटनामा क्षमादान या मेलमिलापको कुनै गुन्जाइस हुनु हुँदैन । नेपाल अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी सन्धिसम्झौताको पक्षराष्ट्र भएको र द्वन्द्वकालमा यससम्बन्धी छ वटा सन्धिसम्झौतामा हस्ताक्षर गरिसकेकाले यसबाट उम्किने प्रश्नै उठ्दैन ।

हालैजेनेभामा सम्पन्न संयुक्त राष्ट्रसंघीय मानव अधिकारपरिषद्को ४० औँ महासभामा भाग लिनपुगेका परराष्ट्रमन्त्रीले समेत द्वन्द्वकालीन गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघनका घटनामा क्षमादान हुँदैन भन्ने प्रतिबद्धता अन्तर्राष्ट्रिय समुदायसामु गरिसकेका छन् । त्यसैले द्वन्द्वकालीन यौनजन्य हिंसा तथा बलात्कारपीडितहरूको पीडाको सम्बोधन अविलम्ब हुनुपर्छ । कुनै पनि पीडित न्याय र परिपूरणको अधिकारबाट वञ्चित हुनु हुन्न ।

लेखक सत्य निरुपण तथा मेलमिलापआयोग सदस्य हुन् ।

प्रकाशित : चैत्र १२, २०७५ ०८:३५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

त्यो अनुत्तरित प्रश्न

गाउँभरका केटाकेटी चोकमा जम्मा भएर माघे नाचको तयारीमा थिए त्यस दिन । दुई दिनअघि नै सानीले यसपालि तिमीले पनि नाच्न जानुपर्छ है भनेर कर गरेपछि मैले नाइँ भन्ने कुरै थिएन ।
मञ्चला झा

काठमाडौँ — आज मैले न उनलाई रोक्न सकें न त आफूलाई नै  । विचित्रको अवस्था भयो हाम्रो  ।

आज मैले न उनलाई रोक्न सकें न त आफूलाई नै । विचित्रको अवस्था भयो हाम्रो । उनी सुस्केरा हाल्दै कतिचोटि भक्कानिन् र मैले कतिचोटि टिस्यु पेपरले आफ्ना आँखाहरू पुछें, यादै भएन । बन्द कोठामा हाम्रो कुराकानीको क्रम जारी थियो । उनले पहिला नै मबाहेक मेरो कथा कसैले थाहा पाउनुहुँदैन भनी सर्त राखेकी थिइन् । हुन पनि त्यो यस्तो कथा थियो जो मैले कसैलाई सुनाउने प्रश्न नै थिएन । उनको र मेरो पहिलो भेट एउटा कार्यक्रममा भएको थियो जहाँ न त उनी धेरै खुल्न चाहिन्र न मैले धेरै सोध्न नै उचित ठानं । त्यसपछि हाम्रो भेट आज अर्थात् २ वर्षपछि मात्र हुन पाएको थियो । हुन त त्यो पहिलो भेटको निरन्तरता हामीले टेलिफोन संवाद मार्फत जारी राखेका थियौँ । सुरुआती दिनमा उनी केही महिनासम्म मैले उनलाई दिएको नम्बरमा मिस कल हान्थिन् र म यताबाट उनलाई फोन गर्थें । हामीबीचको सम्बन्ध यसरी गहिरिंदै गयो कि उनले कुनै साता मिस कल गरिन् भने मलाई उनलाई केही पर्‍यो कि भन्ने चिन्ताले सताउन थाल्थ्यो ।


गजबको जादु थियो— उनको रूप लावण्य र वाणीमा जसले मलाई पहिलो भेटमा नै उनीप्रति आकर्षित गरेको थियो । हुन त म जुन कामका लागि खटिएकी छु, त्यस क्रममा सयकडौँ यी र यस्ता घटनाका पीडितलाई नभेटेकी होइन । र, सबैप्रति मेरो सहानुभूति माया र न्यायको प्रत्याभूति पनि समान नै थियो । तर, उनीसितको मेरो आत्मीयता खास हुनुको पछाडि बेग्लै कारण थियो । फोनमा उनको पहिलो प्रश्न नै हुन्थ्यो— दिदी चिया खानुभो ? अनि त्यसपछि क्रमशः हजुरलाई कस्तो छ ? हजुरलाई फेरि भेट्न मन लाग्यो, हजुरसित कुरा गरेर पनि निकै सन्तोष लाग्छ ।


आफ्नो पीडा र अभाव सुनाउनुभन्दा नि मेरो सन्चो–विसन्चोको ख्याल राख्ने र कुनै गुनासोबिना उनले गर्ने गरेको मसितको वार्तालापले यतिबिघ्न मलाई उनीप्रति तानेको थियो कि कहिलेकाहीं म उनको महानताको अगाडि आफूलाई तुच्छ ठान्थें । हो, यही कारण थियो जसले उनलाई मेरा लागि विशेष बनाएको थियो र म उनीप्रति बेपत्ता तानिएकी थिएँ । उनले यसरी फmोनमा बोलिरहने क्रममा मैले कहिले त्रमभंग गरिनँ र न त कहिले उनीसित भएको घटना सम्बन्धमा कुनै प्रश्न नै तेर्साउन उचित ठानें । उनी जे जति बोलेर हलुंगो हुन चाहन्थिन्, म ती सबै सुनेर थोरै भए पनि उनलाई हलुको पार्न चाहन्थें । यसरी उनी र मबीच करिब दुई वर्ष टेलिफोन संवाद जारी रह्यो । आज दुई वर्षपछि जब उनले मलाई भेटिन्, हाम्रो बीचको धकको सीमा पार भइसकेको थियो । सायद त्यसैले होला हामी टाढा भएर पनि एक अर्कासित निकै निकट थियौँ र हाम्रोबीचको त्यो घनिष्ठताले नै उनलाई मेरो अगाडि खुल्न सहज बनाएको थियो । बिस्तारै उनी खुल्न थालिन् ।

दसैँ–तिहारको भन्दा पनि हाम्रोमा मनाउने सबभन्दा ठूलो चाड झनेको माघे संक्रान्ति नै हो । एक साताअघिदेखि नै माघे संत्रान्तिको रमझम गाउँमा सुरु भइसकेको थियो । पुसको कठ्यांग्रिने जाडोले पनि कसैलाई केको छेक्थ्यो र ? गाउँभरका केटाकेटी चोकमा जम्मा भएर माघे नाचको तयारीमा थिए त्यस दिन । दुई दिनअघि नै सानीले यसपालि तिमीले पनि नाच्न जानुपर्छ है भनेर कर गरेपछि मैले नाइँ भन्ने कुरै थिएन । काग डाक्नुअघि नै बिछ्यौना छाडेकी थिएँ त्यस दिन मैले । सुकुलमा ओछ्याएको थाँग्नो र सिरकमा गुटुमुटु परेर न्यानो भइरहूँ लागे पनि आमाले हिजो साँझ नै बिहानै आँगन लिप्नुपर्छ है कान्छी भनी अह्राउनुभाथ्यो । यसपालिको माघीमा हाम्रोमा मामा–माइजू पनि आउने भनेपछि आमाको मात्र हैन मेरो मन पनि फुरुंग थियो । घरीघरी मामा–माइजूले यसपालिको माघीमा उपहारमा ल्याइदिने कल्ली लाएर नाच्ने सोचले मन कुतकुत्याएको थियो मेरो । चाँदीको कल्ली ! आहा मेरो गोडामा कति सुहाउँला है भर्खर १२ पुगेर १३ मा टेकेको वसन्तकालीन यौवनमा सोच पनि कतिथरि आउँदो हो । आखिर रमाउनलाई सपना हेर्ने छुट त सबैलाई छ हैन र ? बरु साकार हुनु र नहुनु छुट्टै कुरो तर सपनाले धनी र गरिबबीच कुनै अन्तर कहाँ देख्छ ! आज त झन् मेरो बाल्यकालको सपना पूरा हुँदै थियो । अर्थात् यसपालिको माघीमा म पनि साथीहरूसित गोडामा चाँदीको कल्ली लाएर नाच्नु जो थियो । त्यस बिहान कतिचोटि मैले मेरो निदाउँदो अनुहार ऐनामा हेरें भनी साध्य छैन । अघिल्लो रात नै आमाले अह्राउनुभएजस्तो काग डाक्नुअघि नै पुसको जाडोमा नि आँगन लिपेकी थिएँ म त्यस बिहान । मान्छेको मनमा उमंग हुँदो हो त जेठको धुप वा माघको कठ्यांग्रिने जाडोले पनि केही गर्न कहाँ छेक्दो रहेछ र ? आजको उमंगको वेग त झन् थामीनसक्नु थियो । मामा–माइजूले ल्याइदिनुहुने कल्ली पाउमा लाएर नाच्ने भएपछि आज सबले मतिर नै त हेर्ने होलान् नि पोहोर माघीमा रमदैयाले चाँदीको हँसुली लाएर नाचेपछि मुक्तकण्ठले सबैले प्रशंसा गरेको कुरो आमाले सुनाउनुभएको अझै याद छ मलाई ।


पुसको अन्तिम साता बाक्लो कुहिरोले धुम्म परेको आकाश बिहानको सात बज्न लाग्दा नि अन्धकारले घेरेको तर चोकमा म पुग्दा बाटुली सानी मन्तोरीलगायतका मेरा सबै दौंतरीहरूको भीड लागिसकेको थियो त्यस दिन । टाढैबाट मलाई हेरेपछि पुलकित हुँदै सानीले भनिन्— ओहो, उजेली किन ढिलो गरेकी हँ ? हामी त अघिदेखि नै तँलाई कुरेर बसिराथ्यौँ । कस्तो निश्छल र स्निग्धपूर्ण बालापन थियो हाम्रो । गाउँभरिका केटाकेटी हामी जम्मा हुन्थ्यो डन्डी–बियो खेल्नुदेखि छुरसम्मको खेल होस् या पोखरीमा वंशीले माछा मार्नु सबमा अघि सर्थें म । त्यसैले त दौंतरीहरूको प्यारो बनेकी थिएँ । आमा सधैं भन्नुहुन्थ्यो— आँटेली छोरी छे कमाएर खान सक्छे । तर, आमाकी ती आँटेली छोरी कति निरीह बनिन् त्यस दिन ।


‘सुराकी गर्छेस् ? तँ...’ भनी हुत्याउँदै आठ जनाको समूहमा आएका ती नरपिशाचहरूले नुहाउनलाई बाँध्न लागेको पेटिकोटको तुनालाई पनि राम्ररी कस्न दिएनन् र अर्धनग्न शरीरलाई घसार्दै छातीमा बुट बजार्दै लगे । बिहान चोकमा माघी नाचको छलफल सकिएर दिउँसो खोलामा नुहाउन भनी गाउँका एक हूल केटाकेटी खोला पुगेका थियौँ हामी । बालुवा छ्यापेर जिस्किँदै गरेको बाल्यपनको त्यो रमाइलो खेल नै अन्तिम भयो मेरा लागि । त्यसपछि सुरु भए ती कहालीलाग्दा क्षणहरू । अचानक आएको त्यो हूलले तितरबितर बनाएको हाम्रो समूहबाट को कता गए, केही थाहा भएन । आँखामा कालो पट्टी बाँधिदिएपछि यो संसार नै अँध्यारो भयो मेरा लागि । त्यसपछि कसले कतिपल्ट खेले यो देहसित, होसै भएन । १२ वर्षे कलिलो ज्यानलाई कतिचोटि केरकार गरे केही पत्तो पाइनँ । १५ दिनपछि जंगलको एक झाडीमा त्यही पेटिकोटमा बेरिएको मेरो देहमा प्राण त बाँकी थियो । तर, चेतनशून्य रहेछु म ।


‘आमा कसम मेरो मुटुमा एक मुठी सास रहुन्जेल म तँलाई छाडदिनँ । मार मलाई, जति मार्नु छ मार ! धिक्कार छ तेरो यो कायरपूर्ण मर्दाङ्गीलाई । थुक्क नरपिशाच !’ होस आउँदा मैंले यही वाक्य दोहर्‍याएछु ! ‘सिस्टर सिस्टर बेड नं १०३ को बिरामीलाई होस आएजस्तो छ’, नजिकै बेड नं १०२ की आफ्नी बिरामी छोरीको कुरुवा बसेकी एक आमाले चिच्याउँदै भनिन् । मलाई अस्पतालसम्म कसले पुर्‍याए थाहा भएन । दुर्भाग्य नै भन्नुपर्ला, म बाँचेछु । तीन महिनाको अस्पताल बसाइमा मलाई जन्म दिने आमा पनि किन भेट्न आउनुभएन होला भन्ने वास्तविकता त पछि पो थाहा भयो मलाई, जब घर लिन आउने मेरो मामाले बताउनुभयो । त्यस दिन मामा हाम्रो घरमा आउने खबर तिनीहरूले पहिला नै थाहा पाइसकेका रहेछन् र मामाले पनि आफ्नो ज्यानमाथि खतरा रहेको पत्तो पाएपछि हाम्रोमा आउनुभएन रहेछ । तर, मामालाई कहाँ लुकाएर राखिस् भन्दै मेरी आमालाई आँगनबाट चोकसम्म लछार्दै लगेको र आमाको कारुण्य विलापको साक्षी बनेका गाउँलेहरू चुइँसम्म बोल्न आँट गर्न सकेनन् । त्यो एउटा यस्तो त्रासदीपूर्ण समय थियो जहाँ आफ्नो ज्यान रक्षाका निम्ति झूटलाई नि साँचो र साँचोलाई झूट भनेर स्विकार्नुपर्ने विवशता । आकाश–धर्ती सबै मौन भएको अवस्था ।


मेरी निर्दोष आमाको विलापले ती निष्ठुरीहरूको कानलाई नै बहिरा बनाएको हुनुपर्छ सायद । त्यसैले होला, उनको कारुणिक चीत्कारले तिनलाई छोएन र लछार्दैपछार्दै पर चौरतिर लगेर उनीसित पनि गर्नसम्म गरेछन् र, पछि उनको शरीरलाई चिरा पारेर फालेका रहेछन् । बोल्दाबोल्दै अवरुद्ध भएको गलालाई विश्राम दिँदै उनी नजिकै टेबुलमा राखिएको सिसा गिलासबाट घुटघुट पानी एकै सासमा पिउँदै फेरि थपिन्— थाहा छ हजुरलाई म जुन कोखबाट जन्मे,ं ती आमा र मेरो कोख दुवै गुमाएकी छु मैले । म पलासको फूल भएछु । हो, सुगन्धहीन फूल जो हेर्दा आकर्षक भए नि देउतालाई चढ्दैन । मेरो रूप र सौन्दर्यको गुणगान गर्ने हजार छन् । तर, मेरो यथार्थ बुझेर मलाई अपनाउने आजसम्म कोही भेटेकी छैन मैले । फेरि भक्कानो छुट्यो र उनको कपकपाउँदो ओठले दोहोर्‍यायो म अब कहिले आमा बन्न सक्दिन । उनको त्यो अन्तिम वाक्यमा छुपेको वेदनाको गहिराइमा कहाँसम्म पुगें म, थाहा छैन । तर, आजसम्म उनको त्यही वाक्यले मलाई पछ्याइरहेको छ । उनको भक्कानोसँगै आफूलाई आफैं सम्हालें मैले । शब्दमा केही सम्झाउनु या बुझाउनुभन्दा यतिखेर निःशब्द नै रहनु बेस थियो मेरा लागि किनकि आज मैले उनलाई हल्का पार्नु थियो । १२ वर्षअघिदेखि उनको अन्तर मनको पीडाको पोको बिसाउँदै उनी फेरि आक्रोश र पीडा मिश्रित स्वरमा थपिन्, तपाईं नै भन्नुस् मेरो के कसुर थियो ? मैले कस्तो न्याय पाउने हो ? पहिलो र अन्तिमचोटि उनले सोधेका ती प्रश्नहरूको जवाफ खोज्न धेरै कोसिस गरें मैले । कतिपटक एक्लै केही गर्ने आँट र साहस नि नजुटाएको हैन तर अपसोस चाहेर पनि गर्ने परिवेश पाइनँ मैले र आजसम्म ती प्रश्नहरूबारम्बार मन मस्तिष्कमा आएर ठोक्किन्छन् र कम्प पैदा गरी अन्तरआत्माले सोध्छ के म असफल भएकी हुँ?

प्रकाशित : फाल्गुन ११, २०७५ ११:५५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT