सामाजिक सुरक्षाको विरोधाभास

साधना प्रतीक्षा

काठमाडौँ — बसबाट झर्दै गर्दा उनले भाडासँगै ज्येष्ठ नागरिक परिचयपत्र झिकिन् र सहुलियतको भाडा तिरेर बाटो लागिन् । उनी पुरै भाडा तिर्न नसक्ने वर्गकी महिला थिइनन् । म उनलाई राम्ररी चिन्छु । काठमाडौंमै घर भएकी उनी केही समय अघिमात्र सरकारी सेवाबाट निवृत्त भएकी हुन् । उनले कञ्जुस्याइँ गरेकी होइनन्, सरकारले दिएको सुविधा उपयोग गरेकी हुन् ।

मैले चिनेका अर्का एक जनाका चार भाइ छोरा कमाउने छन् । उनको प्रशस्त सम्पत्ति पनि छ, तर उनी नियमित रूपमा वृद्धभत्ता बुझ्ने गर्छन् । उनको नागरिकताको प्रमाणपत्रले उनलाई सो सुविधासँग आबद्ध गराएको छ । उनी ‘सरकारले दिएको सुविधा किन नलिनु’ भन्दै ‘हात्तीको मुखमा जिरा’जस्तो भत्ता रकम थाप्न पुग्छन् । नागरिकको हैसियतले पाएको सुविधा उपयोग गर्नु आलोचनाको विषय होइन ।

म दैनिक हिँड्ने बाटो छेउमा उनी प्रायः भेटिन्छन् । बाटो छेउका पोथ्रा–पोथ्री फाँडेर दाउराको भारी बनाउनु उनको दैनिकी हो । उमेरले असीको हाराहारी होलान्, आँखा राम्ररी देख्न सक्दैनन् । पुस–माघको जाडोको पर्वाह छैन । पर्वाह छ, केवल दैनिक एक–दुई भारी दाउराको । यही दाउराले धानिएको छ, उनको जीवन । घरेलु मदिरा बनाउनेकहाँ दाउरा पुर्‍याएपछि पेटभरि खान र ‘पिउन’ पनि पाउँछन् । लगाउनलाई कसैले दया गरी दिएका तथा फालेका जडाउरी छँदैछन् ।

उनको घर त्यतैतिरका थोत्रा सत्तल–पाटी तथा सडक–पेटी हो । उनले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् । किनकि उनीसँग नागरिकताको प्रमाणपत्र छैन । एकजना आफन्तकहाँ घरेलु काम गर्ने प्रौढ थिइन् । दुई–चार घरमा काम गरेर मुस्किलले गुजारा चलाउँथिन् । बिरामी पतिको बोझ उनैमाथि थियो । उपचारका क्रममा पतिको मृत्यु भयो । उपचारमा लागेको ऋण छँदै थियो । उमेरका आधारमा सरकारले घोषणा गरेको एकल महिलाको भत्ता पाउन सक्थिन् । तर पाइनन् । उनीसँग न नागरिकताको प्रमाणपत्र थियो, नत विवाह दर्ता ।

उनीहरू त केवल प्रतिनिधिमात्र हुन् । कागजी प्रमाणका आधारमा अनागरिक भएर नागरिक अधिकारबाट बञ्चित असंख्य नागरिक पीडादायी जीवन जिउन बाध्य छन् । अनौठो विरोधाभाष छ । जसलाई आवश्यक छैन, उनीहरू सरकारी सेवा–सुविधा लिन बाध्य छन्, जसलाई अति आवश्यक छ, उनीहरूको पहुँच त्यहाँसम्म पुग्नसकेको छैन ।

सर्वसाधारणका ओझेलमा परेका यस्ता मुद्दा कसले उठाउने ? चाकडी र प्रभुताका उचालिनसक्नुका पुष्पहारभित्र छिरेर निर्लज्ज मुस्कुराउने ‘जनवादी’ नेताहरूलाई सर्वहारा जनताका पीडाको के सम्झना ? सडक पेटीमा लुगलुग काम्दै भुस्याहा कुकुरसँगै गुडुल्किएर रात बिताउने सडक बालबालिका पनि यसै देशका नागरिक हुन् भन्नेहेक्का अब उनीहरूलाई कहाँ रहला र ?

जुन देशमा मुठ्ठीभर पुँजीपतिहरूको हितमा बलपूर्वक एकलौटी निर्णय गर्ने जनवादी सरकार छ, बिना कुनै एजेन्डा सडक र सदनमा प्रस्तुत हुने हावादारी प्रतिपक्ष छ, त्यहाँका हामी जनताले समृद्धिको सपना देख्नुको औचित्य नै के छ र ? नवधनाढ्यको आतिथ्यमा गमक्क पर्दै समृद्धिका सपना बाँड्ने सरकारले अति विपन्न वर्गलाई कसरी चिनोस् ? भोको पेटले रन्थनिएर एक पोको समोसा र मिठाइमा लोभिंँदै यौनहिंसाको सिकार भैरहेका विपन्न बालिकाको पीडा उनीहरूलाई एकादेशको कथा लाग्दो हो !

सय किलोभन्दा माथिको फूलको मालाबाट आएको मगमगाउँदो बासनाले किसान–मजदुरहरूको ठसठसी गन्हाउने पसिनालाई पनि बिर्साउँदो हो ! उनीहरूलाई लाग्दो हो, सयौं थुँगा फूलको यो मगमगाउँदो फूलबारीमा सर्वत्र सौन्दर्य र पूर्णता छ । यस्तै रुमानी सपनाभित्र हराइरहने शासक वर्गका कारण यस मुलुकमा आम नागरिकले सुशासनको अनुभूतिगर्न पाएका छैनौं ।

हामी भन्छौं, सरकार सचेत छैन । तर हाम्रो सरकार कति सचेत छ भन्ने कुराको प्रमाण एउटा कलाकारले मुलुकको राजनीतिक विसङ्गतिलाई गीत बनाएर गाउनासाथै उसको ध्यानाकृष्ट हुनु होइन र ? पशुपति शर्माको गीत आपत्तिजनक भन्दै विरोधमा उत्रने सत्तापक्षीय युवालाई निर्मला र निर्मलाजस्ता अबोध बालामाथि भएका जघन्य अपराधका घटना आपत्तिजनक किन नभएका होलान् ? यहाँ एकातिर विशिष्टहरू सुविधामाथि सुविधा थप्ने होडबाजीमा देखिन्छन् भने अर्कातिर आम नेपालीलाई इमानदारीको कमाइले छाक टार्न धौधौ भैरहेको छ ।

भूकम्प पीडित तथा अति विपन्न वर्गका निम्ति बस्ती बनाइदिनेदेखि लिएर अन्तर्राष्ट्रिय रङ्गशालासम्म निर्माणको दायित्व एकजोडी कलाकारले लिनुपर्दा राज्यको हैसियत उदाङ्गिएको यथार्थबोध नगरी उल्टै गर्वका साथ उनीहरूकै नेतृत्वमा आफ्नो सहभागिता जनाउने सरकारको लाचारीपन देख्दादेख्दै पनि म पुनःसामाजिक सुरक्षाकै परिभाषा खोज्न पुग्छु ।

हाम्रो मुलुकमा सामाजिक सुरक्षाका नाममा सबै वर्गका नागरिकलाई समान रूपले ज्येष्ठ नागरिक तथा एकल महिलाको भत्ता, सार्वजनिक यातायात तथा सरकारी अस्पतालमा ज्येष्ठ नागरिकलाई विशेष सहुलियत, विपन्न वर्गका लागि सरकारी अस्पतालमा निःशुल्क उपचार आदि व्यवस्था गरिएको छ ।

समावेशिता तथा आरक्षणको व्यवस्था वर्गका आधारमा हुनुपर्नेमा जातीयताका आधारमा भैदिनाले त्यसबाट लक्षित वर्गभन्दा पहुँच हुनेहरू नै बढी लाभान्वित भएजस्तै घोषित सामाजिक सुरक्षाले पनि उपयुक्त गन्तव्य पहिल्याउनसकेको देखिँदैन । यस्तो सुविधा प्राप्त गर्न निश्चित अभिलेखीकरण र प्रमाणीकरण आवश्यक पर्ने हुनाले अति विपन्न, निरक्षर तथा प्रशासनिक निकायसम्म पहुँच नभएका नागरिक यसबाट बञ्चित भइरहेका देखिन्छन् ।

संघीय संरचना भित्रको जनप्रतिनिधित्वले पनि लक्षित वर्ग पहिचान तथा प्रमाणीकरणभन्दा औपचारिकतामा सीमित भक्ता वितरण कार्यत्रमलाई प्राथमिकता दिइरहनुले सस्तो लोकप्रियतातर्फ संकेत गरेको देखिन्छ । राजधानीका फराकिला सडक, सपिङ मल, भ्युटावर, मोनोरेल, पानीजहाज आदिमा समृद्धिका सपना देखाउनुभन्दा बहुसंख्यक विपन्न वर्गलाई यस्ता सपना देख्न योग्य बनाउने कार्यक्रम तय गर्नुसरकारको प्राथमिकता बन्नुपर्छ ।

प्रकाशित : फाल्गुन १६, २०७५ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्

छोरीलाई स्वस्थानी सुनाऔं

साधना प्रतीक्षा

काठमाडौँ — साथीकामा गएकी थिएँ । उनकी दसवर्षे छोरीले स्कुलबाट आएर हस्याङ–फस्याङ गर्दै भनी, ‘आज म्यामले हामीलाई स्वस्थानीको कथा सुनाएको नि !’ मैले सोधेँ, ‘के थियो त नानु त्यसमा ?’ हौसिएर उसले भनी, ‘मभन्दा सानी सात वर्षकी केटीको बिहे भएको ! बालविवाह रे क्या । त्यो दुलाहा भने बूढो मान्छे । कस्तो अचम्म ! पहिलाको समयमा त्यस्तो हुन्थ्यो रे ।’ ‘अरु के–के रहेछ त स्वस्थानीको कथामा ?’ मेरो अर्को प्रश्न थियो ।

‘राक्षसहरूले सधैं अरूलाई दु:ख दिने र नराम्रो काम गर्दारहेछन् । भगवानले कस्तो कस्तो रूप लिएर उनीहरूलाई मारेको । अर्कालाई दु:ख दिनु पाप हो रे । पापीलाई भगवानले सजाय दिएको रे । म त कहिल्यै पाप गर्दिन र भाइलाई पनि अरुलाई दु:ख नदेऊ भनेर सिकाउँछु । हाम्रो म्यामले भनेको,’ उसले भनी ।

बच्ची आफ्नो बालसुलभ भनाइ राखेर गृहकार्य गर्न थाली । उसकी शिक्षिका स्वस्थानीको सानो कथा प्रसङ्गबाट बालबालिकालाई सामाजिक तथा नैतिक दुवै शिक्षा दिन सफल भइन् । मनमनै साधुवाद दिएँ, उनलाई ।
स्वस्थानीको कथा सुन्न उत्सुक मेरी छोरीलाई मैले त्यहाँ वर्णित मत्र्यलोकको कथा सुनाउन उपयुक्त ठानेँ । बाँकी देवलोकका प्रसङ्ग उसले हिन्दी धारावाहिकमा हेरिसकेकी थिइ ।

गोमाको जन्मको कथा सुन्दा चकित भएकी ऊ गोमाको बिहेको प्रसङ्गमा आक्रोशित बन्न थाली । ‘सात वर्षकी बालिकाको बिहे गरिदिने त्यो पनि सत्तरी वर्षको बूढोसित ? अझ कस्तो कुरूप † त्यही भएर पो सोह्र वर्षदेखि बिहे गर्न खोज्दा पनि केटी नपाएको रहेछ † त्यो त अन्याय हो । छोरी भन्दैमा जे पायो, त्यही गर्न पाइन्छ ? कसैले मर्छु भनेर घुर्की लाउँदैमा छोरी दिइहाल्ने ? गोमा पनि कस्ती ? जे गरे पनि सहेर बस्ने,’ छोरीको प्रतिक्रिया थियो ।

मेरी तेह्रवर्षे छोरीलाई मैले स्वस्थानीको बाँकी कथा होइन, त्यतिबेलाको सामाजिक परम्परा, त्यसभित्र छोरीहरू दबिएर बस्नुपर्ने कारणबारे बताउन थालेँ । सात वर्षमा बिहे गरेर बुहार्तन झेलेकी मेरै आमाको कथा सुनाएँ । केही समयअघि १२ वर्षमा आमा बनेकी चेपाङ किशोरीको कुरा सुनाएँ । हरिमाया भेटवालको ‘कल्ली’ उपन्यासकी कल्लीको बालविवाहको पृष्ठभूमि र उसको बुहार्तनको कथा सुनाएँ । छोरी झनै चकित भएर भन्न थाली, ‘गाउँघरतिर अझै यस्तो छ ? यस्ता कुराको विरोध गर्नुपर्छ । लैंगिक विभेद पनि अपराध हो ।’

अधिकांशले स्वस्थानी कथाको आलोचना गर्ने विषय यही हो । त्यहाँ नारी जातिलाई निरीह, दासी तथा वस्तुरूपमा प्रस्तुत गरिएको छ । देवताका अन्य प्रसङ्गका आधारमा पनि विगतमा धेरै आलोचना गरिए । स्वस्थानी व्रत आरम्भ भएदेखि नै पत्रपत्रिका तथा सामाजिक सञ्जालमा यसको आलोचना हुन्थ्यो ।

तर पुस–माघको जाडोमा साली नदी स्नान गरी व्रत बस्ने महिलाको संख्यामा कमी आएन । सायद हिन्दु महिलाको यही आस्थाका कारण कसैले इशाई धर्म प्रचारका लागि स्वस्थानीको कथामा ईशुको कथा घुसाइदिएको प्रसङ्ग पनि चल्यो । यस्तै आस्था र आलोचनाबीच हरेक वर्ष स्वस्थानी महात्मे सम्पन्न हुने गर्छ । आस्था र आलोचनाको बीचमा यसको सामाजिक पक्ष ओझेलमा परेको देखिन्छ ।

समाज विकासको इतिहास हेर्दा आदिम युग अर्थात् जङ्गली अवस्थाका मानिस हिंस्रक थिए । मानिसको क्रूरता दमन गरी उसमा दया, माया, करुणा जगाउन सर्वोच्च शक्तिका रूपमा धार्मिक आस्थाको प्रादुर्भाव भएको मानिन्छ । राज्य र कानुनको आरम्भ भइनसकेको अवस्थामा मानिसमाथि नियन्त्रण राख्न धर्मको अवधारणा आएको हो ।

समाजशास्त्री धर्मलाई राज्यभन्दा जेठो सामाजिक संस्था मान्छन् । यही धार्मिक आस्थाले परिवार तथा समाजलाई व्यवस्थित र नियन्त्रित गर्न विभिन्न मूल्य–मान्यता निर्माण गर्दै गयो । समाज विकासको क्रममा महिला वर्ग जैविकीय गुणका कारण घरपरिवारमा सीमित हुनुपर्‍यो । उक्त मूल्य–मान्यताका निर्माणकर्ता पुरुष बन्न गए । उनीहरूले आफू अनुकूल निर्माण गरेका हुनाले यस्ता धार्मिक–सांस्कृतिक मूल्य पुरुषप्रधान देखिन्छन् ।

स्वस्थानीको कथामा पनि केन्द्रमा पुरुष रहेको तथा नारीको अवस्था सिमान्तीकृत हुनुलाई नौलो मानिँदैन । जहाँ उत्पीडन हुन्छ, विद्रोहको आरम्भ त्यहीँबाट हुने गर्छ । समाजमा युगौंदखि स्थापित पुरुषप्रधान संस्कृतिबाट महिला वर्गले खेप्नुपर्ने उत्पीडनका कथा यसरी बाहिर नआएको भए आज हामीमा विद्रोहको आवश्यकताबोध हुने थिएन ।

स्वस्थानीका गोमा, चन्द्रावती, सती–पार्वती आदिका कथा छोरीहरूलाई सुनाउनुपर्छ, ताकि उनीहरूमा समाज विकासको ऐतिहासिक अवस्थाको जानकारी होस् र नारी उत्पीडन विरुद्ध मुक्तिको चाहना पनि प्रबल बन्दै जाओस् ।
धर्म–कर्म, व्रत–पूजामा महिलाकै सहभागिता किन ? पाप पखाल्ने दायित्व महिलाको मात्र हो ? पुरुषले जे गरे पनि ऊ पापी किन नहुने ?

महिलाले कठोर अनुष्ठान गरेर परिवारका पुरुषको वरत्र र परत्र सुधारिदिनुपर्छ भन्ने के छ र ? यस्ता नारीवादी प्रश्न पनि आफ्नो ठाउँमा सही होलान् । तर धर्म–कर्म, व्रत–अनुष्ठानको अभिप्राय: पाप पखाल्नु हो भन्ने गलत मानसिकताबाट मुक्त हुनु पनि आजको आवश्यकता हो । नारीवादकै कुरा गर्ने हो भने पनि अबको नारीवादले समानताको मात्र नभएर अग्रताको खोजी गर्नुपर्ने हुन्छ । पुरुषले गर्न नसक्ने काम महिलाले गर्छन् ।

नारीवादलाई पश्चिमको देन भनिए पनि पूर्वीय सनातन परम्परामा आदिकालदेखि नारीवादी मूल्यको विम्बन देखिन्छ, त्यो पनि समानताको भन्दा अग्रताको । शिव र शक्ति अर्थात् पार्वतीको महाकाली स्वरूप यसको उदाहरण हो । स्वस्थानी देवी भनेकी पनि शिव–पार्वतीकै रूप मानिएको हुँदा यस व्रतकथाको मूलमर्म शिवशक्तिकै प्रसङ्ग हुनुपर्छ । शिव र सतीको कथा दाम्पत्य प्रेम र त्यागको अनुपम नमुना हो ।

उनीहरूको विवाहको प्रसङ्गलाई अपत्यारिलो ढङ्गले प्रस्तुत गरिए पनि उनीहरू एकअर्काका पूरक हुनाले पिताको इच्छा विपरीत बिहे भयो । पतिको अपमान सहन नसकेर सतीले आत्महत्या गरिन् भने शिवले पत्नी वियोगमा पागल बनेर उनको शव बोकेर पृथ्वी भ्रमण गरिरहे । वर्तमानमा यसरी पत्नीलाई प्रेम गर्ने पति सायदै पाइएलान् ।

अहिले अनेक नामकरण गरी हप्तादिनसम्म मनाइने आयातित प्रेम दिवस अर्थात् भ्यालेन्टाइन्स डेको संस्कृतिभन्दा शिव–सतीको समानता, सहअस्तित्व र त्यागको प्रेमकथा अनुकरणीय उदाहरण बन्न सक्छ । तर स्वस्थानी पढ्नेहरूले पत्नी प्रेमको यो प्रसङ्ग उठाएको देखिँदैन ।

यस कथाका अन्य कतिपय प्रसङ्गमाशृङ्गारिकताको अत्यधिक प्रस्तुतिका कारण अश्लीलता पनि देखिन्छ, जुन परिवारसामु बसेर भन्दा र सुन्दा असहज लाग्छ । यसमा परिमार्जन आवश्यक देखिन्छ । तत्कालीन अवस्थामा मनोरञ्जनको साधनका रूपमा यस्तै कथा प्रसङ्गलाई लिइने हुनाले पनि यस्तो प्रस्तुति भएको हुनसक्छ ।

मनोरञ्जनलाई स्वस्थ र अस्वस्थ गरी दुई रूपमा हेर्न सकिन्छ । पूजा–अनुष्ठानमा स्वस्थ मनोरञ्जन हुने गर्छ । युगौंदेखिको पुरुषप्रधान समाजमा महिला घर–व्यवहारको बोझले थिचिएर हैरान भएको अवस्थामा यस्ता अनुष्ठान उनीहरूका लागि केही समय भए पनि उन्मुक्ति र मनोरञ्जनका माध्यम बने होलान् ।

व्रत बस्ने महिलालाई मिठो–चोखो खान दिने, सम्मान गर्ने गरिन्थ्यो होला । उनीहरूले केही समय सामूहिक रूपमा भजन–कीर्तन, नाचगान गरेर ईश्वर भक्तिका माध्यमबाट आध्यात्मिक आनन्द प्राप्त गर्थे होलान् । मौका पाए आपसमा पीरव्यथा साटेर बोझ हलुको पार्दा हुन् । अझै गाउँघरतिर महिला यस्तै अनुष्ठानबाट मनोरञ्जन गर्छन् ।

त्यसैले यसको विरोध होइन, संशोधनसहित निरन्तरता हुनुपर्छ । स्वस्थानीका जस्ता कथा एउटा कालखण्डको समाजको चित्र हो । तत्कालीन अवस्थाको सामाजिक सम्बन्ध, अन्तरक्रिया र सामाजिक आस्थालाई यसले उजागर गरेको छ । यसलाई तत्कालीन नजरले हेरिनुपर्छ । त्यहाँ भित्रको नारी उत्पीडनलाई एक्काइसौं शताब्दीको चस्माले हेरेर आलोचना गर्नुभन्दा त्यही पीडा बोधद्वारा नयाँ पुस्तालाई चेतनशील बनाउनु उपयुक्त हुन्छ ।

मलाई सम्झना छ, म सानाी छँदा गोमाको पीडा र विभेदकारी मान्यताप्रति मनमनै रिस उठ्थ्यो । तर मेरी छोरीजस्तै आक्रोशित हुन भने डराउँथेँ । कलेज पढ्ने भएपछि वधुशिक्षाको उपदेश, सहनशिला सुशीला र इन्दिराको उत्पीडनले आक्रोशित हुनथालेँ ।

साहित्यका माध्यमबाट जति–जति समाजको चित्र र महिलाको अवस्था बुझ्दै गएँ, ममा विद्रोह र परिवर्तनकारी भाव जागृत हुँदै गयो, पहिचनाको खोजी प्रबल बन्दै गयो । स्वस्थानीको कथा पनि एउटा साहित्य हो । यसले धार्मिक–पौराणिक मिथकहरूका माध्यमद्वारा समाज दर्शन गराइरहेको छ । मिथकहरू अपव्याख्या हुने, कर्मकाण्डीय पद्धतिको आरम्भपश्चात्लैङ्गिक विभेदले बढावा पाउने आदिका कारण पौराणिक–धार्मिक कथाहरू अलोकप्रिय बन्दै गएका देखिन्छन् ।

यस्ता कथाहरूमा देखिएका विरोधाभाष, अत्यधिक शृङ्गारिकता तथा पूर्वाग्रहका प्रसङ्गमा परिमार्जन गरी यिनीहरूलाई प्रसारमाल्याइनुपर्छ । यसले नयाँ पुस्तामा आध्यात्मिक आस्था, नैतिक शिक्षा तथा उत्पीडन विरुद्ध चेतना जागृत गराउन सक्छ ।

प्रकाशित : फाल्गुन २, २०७५ ०७:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्