विषादीको जैविक गुणोत्तरी 

रामचन्द्र अधिकारी

काठमाडौँ — विषादीले किराहरूबाट तरकारी, अनाजलाई बचाएर मानिसलाई लाभ दिएको छ तर यसले पार्ने दूरगामी असरबाट सिंगो जीवजगत छटपटाएको छ । 

रूपन्देहीको सूर्यपुरामा तरकारी टिप्दै किसान । तस्बिर : अमृता अनमोल

जीव जगतमा प्रवेश गरेको विषादी कहिल्यै नासिँदैन । बरु खाद्यजालमा यसको घनत्व र गाढापन झन् बढ्दै जान्छ । यो प्रक्रियालाई जैविक गुणोत्तरी (बायोम्याग्निफिकेसन) भनिन्छ । कुनै हानिकारक जीवलाई लक्षित गरी हानिएको विषादीले अरु सबै किसिमका जीव र पुरै वातावरणलाई नोक्सान गरिरहेको हुन्छ । बानीनालीलाई किराबाट जोगाइन्छ । तर उक्त विष–अंश हाम्रो जीउमा आइपुग्दा खतरनाक भइसकेको हुन्छ ।

एक अनुसन्धानले देखाए अनुसार डीडीटी विषादी छर्किंदा बाली या झारमा ०.०४ पीपीएम सोसिएको रहेछ । प्रथम उपभोक्ताको जीउमा ०.२३ पीपीएम पाइन्छ । द्वितीय उपभोक्तामा पुग्दा गाढापन बढेर २.०७ पीपीएम र तृतीय उपभोक्तामा पुग्दा १३.८ पीपीएम हुँदोरहेछ ।तृतीय उपभोक्ता वर्गका सर्वाहारी मानिस, चिल, गिद्ध लगायतका चराहरूका जीउमा विषादीको
अंश औधि पाइने अन्य अनुसन्धानले पनिजनाएका छन् ।

पारो, लिड, क्याडमियम, आर्सेनिक लगायत सबै गह्रौं धातु, डीडीटी, बीएचसी, हेक्जाक्लोरोवेन्जिन, पीसीबीएस, टेक्साफेन लगायत लगभग शतप्रतिशत विषादीको बायोम्याग्निफिकेसन भएको हुन्छ । ‘साइन्स’ पत्रिकाको ३४२ औं अंकमा छापिएको एक आलेखले भनेको छ– समुद्रको पानीमा जति अंशमा पारो पाइयो, त्यसको करोडौं गुणा बढी ठूला माछाहरूमा पाइयो । यी माछा खाने मानिसमा झन् बढी मात्रामा हुने निश्चित छ । माछा र मानिसको स्वास्थ्यमा समस्या देखिएपछि जापानले सन् १९५२ मा अध्ययन गरायो ।

निष्कर्ष निस्कियो– मर्करी (पारो) को बायोम्याग्निफिकेसन भएर यस्तो समस्या आएको रहेछ । अनुसन्धानमा यो धातु मिथाइल मर्करीको रूपमा लेउमा ०.०००००३ पीपीएम, लेउ खाने किटमा ०.०४ पीपीएम, साना माछामा आइपुग्दा ०.५ पीपीएम र ठूला माछामा सो पदार्थको गाढापन दुई पीपीएम देखियो । लेउमा भएको अंश नै जीवका लागि हानिकारक हो ।

खास गरेर बोसोमा घुल्ने (लिपोफिलिक) रासायनिक पदार्थहरू कसै गरे टुक्रिँदैनन्, बरु तत्जीवको बोसोमा स्थिर प्राथमिक ‘उत्पादन’भएर बस्छन् । अनि पुरै परिमाण माथिल्लो खाद्यसिँढी वा त्यस जीवलाई खानेमास्थानान्तरण भइजान्छन् ।

अकार्बनिक पदार्थहरूको आयु लामो हुन्छ । त्यसमाथि विषादी बनाउन प्रयोग गरिने रासायनिक पदार्थहरू जब्बर किसिमका छन् । जैविक गुणोत्तरीका कारण यो प्रकृतिमा हराउने कुरै भएन, झन्–झन् बढेर जैविक जगतलाई असर पारिरहने समस्या छ । अनाज, बालीनाली, बागवानी, फूलबारी आदिमा विषादी छिटेर हानिकारक जीवबाट जोगाएर ढुक्क भइयो भन्नु मूर्खता हो । त्यो विषादी सोझै त्यही उत्पादनमार्फत र घुमाउरो बाटोबाट पनि मानिस लगायत अन्य जीवका जीउमा आउँछ ।

‘बायोलोजी पेज’ नामक विज्ञान पत्रिकामा छापिएको एउटा अनुसन्धानात्मक लेखका अनुसार मसिना किराहरूमा भन्दा मर्करी, लिड, डीडीटी आदिको मात्रा चराहरूमा हजारौं गुणा बेसी पाइयो । चिल, गिद्ध, बाज आदि चरा नासिनुको प्रमुख कारण पनि यही हो भन्ने विवरण अुनसन्धानकर्मीले दिए । सन् १९७२ मा अमेरिकामा डीडीटीलाई प्रतिबन्ध लगाएपछि चराको संख्या ह्वात्तै बढ्यो ।

जैविक गुणोत्तरीबाट मानिस एक नम्बरमा सिकार भएको छ, कम संख्यामा भएका र दुर्लभ मानिएका उच्च खाद्यसिँढीका जनावरहरू पनि उत्तिकै प्रताडित छन् । बाघ, सर्प, भ्यागुता, चिल, गिद्ध, भारद्वज चरा, बाज, आसामिज बाँदर, छेपारा र प्रायशः चराहरू यस प्राकृतिक जैविक प्रक्रियाको मारमा परेका छन् । विषादी जीउमा पसेपछि यसले गर्ने असरहरूमा क्यान्सर, मुटुको रोग, स्नायु प्रणालीमा गहिरो र आजीवनको असर, मृगौला खराबी, प्रजनन स्वास्थ्यमा गम्भीर असर मुख्य छन् । यिनले आनुवांशिक पदार्थको बनावटमा परिवर्तन गराई सन्ततिमा उत्परिवर्तन ल्याउँछन्, अनि त अपांगता हुन्छ ।

हाम्रा खानेकुरा विषादीमुक्त सायदै होलान् । कृषिउपज हुन् या उद्योग निर्मित खाद्य पदार्थ अधिकांशमा विषादीको अंश छ । कृषि मन्त्रालयका अनुसार नेपालमा प्रतिहेक्टर जमिनमा ०.४२ किलोग्राम विषादी प्रयोग हुने गरेको छ । भारतमा ०.५ किलोग्राम प्रतिहेक्टर र चीनमा १४ किलोग्राम प्रतिहेक्टरको दरमा कृषिमा विषादी प्रयोग हुन्छ । विकसित देशहरूमा प्रयोगदर
अझै उच्च छ ।

भारतीय मेडिकल एसोसिएसनको तथ्यांक अनुसार विश्व बजारमा पाइने चिसा पेय पदार्थमध्ये कोकमा सबैभन्दा कम अर्थात् ९.४ देखि फेन्टामा २९.१ प्रतिशतसम्म हानिकारकएवं जैविक गुणोत्तरी हुने किसिमका रसायनछन् । विश्व स्वास्थ्य संगठनले भन्छ– २.१ प्रतिशतभन्दा बेसी विषादी भए कलेजोमा गम्भीर असर गरिहाल्छ । नेपालमा प्रयोग हुने विषादीमध्ये १५ प्रकारलाई बिक्री–वितरणमा प्रतिबन्ध लगाइएको छ ।

मानव लगायत जीव समुदायको रक्षा र स्वच्छ वातावरण निर्माणका लागि विषादीको प्रयोगमा न्युनीकरण गर्न जरुरी छ । होइन भने विषादी प्रयोगले जोगिएको उत्पादनको आम्दानीभन्दा स्वास्थ्य उपचारमा लाग्ने खर्च बढी हुन्छ ।

लेखक स्नातकोत्तर क्याम्पस, विराटनगरका उपप्राध्याफक हुन् ।
ramchandra.adhikari@gmail.com

प्रकाशित : फाल्गुन १३, २०७५ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जैविक घडीको भर

रामचन्द्र अधिकारी

काठमाडौँ — हिउँदमा बिहान उठ्न गाह्रो लाग्ने कारण जाडो मात्र होइन, अर्को कारण पनि छ –उज्यालो ढिलो हुनु । उज्यालो ढिलो हुनाले निद्रा नभाग्ने वा शरीरमा जाँगर नभरिने अर्को भित्री कारण छ । त्यो हो– मेलाटोनिन हर्मोन । यो हर्मोन उज्यालोको अनुपस्थितिमा जीउमा उत्पादन हुन्छ, जसले निद्रा लगाउँछ । 

उहिले घडी थिएन, मानिस घाम हेरेर वा आफ्नो शरीरले दिने छनकका आधारमा कामबाट घर फर्किने गर्थे । बिहान उठ्नेदेखि राति सुत्नेसम्मका गतिविधि प्राय: जीउले अनुभव गराउने संकेतअनुसार हुने गर्थे । अहिले घडीको भरमा जीउ चलाउन खोजिएला तर जीउले आफ्नै तालमा चल्न खोजिरहेको हुन्छ । अधिकांशको सुत्ने र उठ्ने तालिकालाई जीउले निर्धारण गर्छ । हाम्रो शरीरमा हुने गतिविधि जस्तै– भोक लाग्ने, अल्छी लाग्ने, जोश आउने, यौन उत्तेजना हुने, बानी–व्यहोरा आदि जैविक घडीले निर्धारण गर्छ ।

सजीवको शरीरका आन्तरिक जैविक प्रक्रियाको चक्र नियमितता वा वातावरणअनुसार जीवजन्तुले आफूलाई सञ्चालन गर्ने प्राकृतिक नियम जैविक घडी हो । जैविक घडी ठिक समयका साथ चल्छ । एउटा उदाहरण– अफगानिस्तानको ‘काफल पाक्यो’ चरा नेपाल घुम्न आइपुग्ने समय हरेक साल उही हुन्छ । साइबेरियाका चरा नेपाल आउने समय सालपिच्छे खास फरक पर्दैन । दिउँसो गतिविधि गर्ने जनावरहरू हुन् या राति सक्रिय हुनेहरू, उनीहरूलाई आफ्नै जीउले कति बेला के गर्ने भन्ने संकेत दिइरहेको हुन्छ । कुखुराको भाले बास्नु पनि जैविक घडीको उदाहरण हो ।

धेरै वैज्ञानिकले अलग–अलग गरेका अनुसन्धानको निचोड अनुसार मानिसको शरीरमा जैविक घडी यसरी चलेको हुन्छ– बिहान ४ बजेतिर शरीरको तापक्रम सबैभन्दा कम हुन्छ, ६ बजे कोर्टिसोलको मात्रा बढेको हुन्छ र ६ बजेदेखि ९ बजेसम्म रक्तचाप ह्वात्तै बढ्छ । साढे ७ बजेदेखि मेलाटोनिन हर्मोनको मात्रा घटिदिन्छ र पुरै निद्राको ह्याङओभर हट्छ । ९ बजेतिर पुरुषका अन्डकोषले धेरै परिमाणमा टेस्टेस्टेरोन हर्मोन उत्पादन गर्छन् र उनीहरूलाई उत्तेजना पनि बढी हुने हुन्छ । बिहान १० बजेको समय दिमाग एकदम जाँगरिलो र काम गर्न तम्तयार हुन्छ ।

१२ बजेको समयमा जीउका सबै प्रणाली अति संगठित र समन्वयको अवस्थामा हुन्छन्, यो बेला गरिएको निर्णय दर्बिलो हुन्छ । दिउँसो १ देखि ३ बजेतिर आन्तरिक जैविक रासायनिक प्रतिक्रियाको दर उच्च बन्छ । साँझ ६ बजे शरीरको तापक्रम सबैभन्दा उच्च हुन्छ । ८ बजे रक्तचाप उच्च हुन्छ । ९ बजे मेलाटोनिन हर्मोनको मात्रामा वृद्धि हुन गई निद्रा लाग्छ र राति १२ बजेदेखि २ बजेसम्म मानिस गहिरो निद्रामा परेको हुन्छ ।

जैविक घडीको गति कारणवश ढिलो–चाँडो भयो भने परिणाम राम्रो आउँदैन । युरोपमा भएका एक दशकका अध्ययनले देखाएका छन् कि सडक दुर्घटना गराउने चालक र कार्यस्थानमा भएका दुर्घटनाका घाइते आधा घण्टा मात्र निद्रा बिग्रिएकाहरू थिए । जैविक घडीमा कुनै किसिमको अवरोध वा अवचलन आए मुटुको विराम, मानसिक विराम, मधुमेह, क्यान्सरलगायत विविध रोगव्याध लाग्ने वैज्ञानिकहरूको ठम्याइ छ ।

जैविक घडीलाई सञ्चालन गर्न मस्तिष्कको हाइपोथालामस भनिने भागमा सुप्राचाइस्माटिक न्युक्लियस हुन्छ भन्ने कुरा स्नायु वैज्ञानिकहरूले पत्ता लगाएका छन् । यसलाई केन्द्रीय घडी पनि भनिन्छ । जीउमा थुप्रै अरू क्षेत्रीय र स्थानीय घडी छन् । जसरी भौतिक घडीलाई दम दिनुपर्छ या ब्याट्रीको ऊर्जा चाहिन्छ, यसलाई चलाउन या समय निर्धारण गर्न प्रकाश जरुरी पर्छ, जुन आँखाबाट छिरेको हुन्छ । सो न्युक्लयसभित्रको जिनले दिमागी, ग्रन्थि र मुटु सम्बन्धीका प्रक्रियालाई सञ्चालन गर्छ ।

सम्बन्धित क्षेत्रका विज्ञहरूका अनुसार जैविक घडीको प्रत्येक पल ख्याल गरिनुपर्छ । जस्तै– कुन भ्याक्सिन कति बजे, कुन अंग र भाग (मासु, नसा वा अन्य तन्तु) मा हान्दा बढी बलियो प्रतिरोधात्मक क्षमता दिने हो भन्ने परिभाषित छ । जैविक घडी अनुसार पिल्स लगायतका रक्तचाव बढाउने औषधी सुत्ने बेला वा राति ९ बजेपछि खान भनिएको हो । क्यान्सरको केमोथेरापी राति गर्दा अन्य तन्तुमा पर्ने अतिरिक्त असर कम हुनजान्छ । बेलुका गरिष्ठ भोजन गर्नुहुन्न । जैविक घडी अनुसार राति शरीरलाई चाहिने प्रोटिन आफंै बनिन्छ । हामीले बढ्ता खाए शरीरलाई हानि मात्र गर्छ ।

बेलायतको किङ्गस कलेजका पोषण विज्ञानका वैज्ञानिक गेर्डा पटले लन्डनका पाँच हजार मानिसका खानपिनसम्बन्धी बानी–व्यहोरा अध्ययन गरे । सन् १९४६ देखि लगातार दशकाैं अध्ययन गर्दा निष्कर्ष निस्कियो– जो जैविक घडीअनुसार चलेर नियमित समयमा खाना खाँदैन, ऊ मुटु र मधुमेहको विराम हुने खतरामा पुग्यो । राति काम गर्ने र दिउँसो सुत्नेहरू जैविक घडीविपरीतका भएकाले उनीहरूमा निको नहुने थकाइ रोग र भोक नलाग्ने समस्या आइपर्छ ।

सन् २०१७ को औषधि विज्ञानमा नोबेल पुरस्कार जैविक घडीकै अनुसन्धाताले पाएका थिए । जेफेरी सी हल, माइकल रोसबस र माइकल डब्लु योङले दिनको २४ घन्टामा जीवन कसरी अनुकूलित भएको हुन्छ भनेर अनुसन्धान गरेर लेख प्रकाशित गरेका थिए । उनीहरूले यसैसँग आधारित भएर जीउमा क्यान्सर कसरी विकास हुन्छ भन्ने पनि पत्ता लगाएका थिए ।

जैविक घडीको निर्धारक जीनलाई तन्दुरुस्त राखिनुपर्छ । यसलाई दुरुस्त राख्न उसले संकेत गरे अनुसार चल्नुपर्छ । यसको प्रक्रिया स्वस्थ जीवनशैली र परिणाम स्वस्थ जीवन र दीर्घ आयु हो । स्वस्थ जीवन जिउने हो भने मानिसले भौतिक घडी होइन, जैविक घडीको समय पछ्याउन जरुरी छ ।

लेखक स्नातकोत्तर क्याम्पस विराटनगर, प्राणीशास्त्र विभागका उपप्राध्यापक हुन् ।
ramchandra.adhikari@gmail.com

प्रकाशित : माघ २२, २०७५ ०८:००
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×