महत्त्वहीन मुसहर !- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महत्त्वहीन मुसहर !

डेटलाइन तराई
चन्द्रकिशोर

काठमाडौँ — दलित आन्दोलनसंँग जोडिएका सामग्री अभाव देखिन्छ । विशेषगरी तिनका संघर्षको प्रारम्भिक कालका सामग्री । दलितद्वारा गरिएका सभा, सम्मेलन र संघर्षका विवरण ठिकसँंग उपलब्ध छैनन् । यस सम्बन्धी अध्ययन गर्दा प्राथमिक स्रोतमाथि निर्भर हुनुपर्छ ।

आफ्नै इतिहासहरूबाट अपरिचित हुनु बञ्चित समूहका लागि दु:खान्त हुन्छ । सँंगसँंगै तिनीप्रति सार्वजनिक दृष्टिकोण निर्माण गर्नेहरूले संघर्षको निरन्तरतालाई क्रमभंग गरेर व्याख्या, विश्लेषण गरिदिन्छन् । यो समस्या खासगरी मधेसी दलितहरूको सन्दर्भमा बढी देखिएको छ ।


सन्तदासको सीमावर्ती संघर्ष

उत्तर विहार (भारत) मा मुसहर आन्दोलन सन् १९३६–३८ को बीचमा उत्कर्षमा थियो, जुन अहिले प्रदेश २ को सीमाको समानान्तर भूभाग पर्छ । त्यसबारे १३ सेप्टेम्बर १९३७ को विहार विधान सभामा सैयद मोहिउद्दीन अहमदले कार्यस्थगन प्रस्ताव पेस गरेका थिए ।


प्रस्ताव माथिको बहसमा विहारका तत्कालीन अग्ला कांग्रेसी नेताहरू श्रीकृष्ण सिंह, सच्चिदानन्द सिन्हा, चन्देश्वरप्रसाद नारायण सिन्हा, सर गणेशदत्त आदिले हिस्सा लिएका थिए । त्यस आन्दोलनका अगुवा एकजना मधेसी दलित थिए । मुसहर समुदायका सन्तदास भगत जो ‘दादाजी’का नामले चर्चित थिए, तिनले त्यसको नेतृत्व गरेका थिए ।


उनका बारेमा ‘स्टिफेन हेनिङघम’ले एक आलेखमा चर्चा गरेका छन् । नेपाली समाज उनको संघर्षबाट अपरिचित थियो । पारिपट्टि पनि उनका बारे खासै लेखिएको पाइँदैन । त्यतिखेर विहारबाट प्रकाशन हुने केही अंग्रेजी अखबारले यिनको संघर्षबारे खबर दिने गरेका थिए । त्यही हेनिङघमका लागि स्रोत सामग्री भयो । छोटो समयमा प्रभावकारी भएको त्यो संघर्ष एक ठाउँबाट अर्को ठाउँमा फैलिँदै जानुको मुख्य कारण मुसहर जातिमा एक–अर्कामाझ प्रतिरोधको कम्पन सर्दै जानु हो भनी व्याख्या गरिन्छ ।


भनिन्छ, त्यो आन्दोलन जातीय उन्नयनदेखि सुरु भई कृषि मजदुरी बढाउने, जमिनदारको थिचोमिचो विरोध गर्ने र औपनिवेशिक भारतीय प्रहरी विरुद्ध संघर्ष गर्ने उभारका रूपमा देखापर्‍यो । त्यतिखेर सवर्णहरूले यो विस्फोटलाई ‘महत्त्वहीन’, ‘मूर्ख मुसहरहरूको उपद्रव’, ‘मुसहरले पनि आन्दोलन गर्छन् ?’ भनी अनेक तरिकाले खिस्सी उडाए । सन्तदास भगतको आन्दोलनले देखाएको अर्को पाटो के हो भने सीमावर्ती भारतीय क्षेत्रमा जागरणका लागि नेपालको तराईबाट अनेक प्रयत्न भएका छन्, जुन इतिहासको कार्पेटमुनि लुकेको छ ।


मुसहरहरूका किंवदन्ती नायक दीना–भद्रीको कथाको गाथाजस्तै सन्तका कथा पनि किंवदन्ती बन्ने सम्भावनायुक्त कथा हो । दीना–भद्रीको जन्म र कर्मथलो पनि तराई क्षेत्र छ ।


स्थानीय प्रादेशिक सरकारको सकस

रातलाई दिन होइन भन्न तारा गनिराख्नु पर्दैन । घाम लागेको छैन भन्दिए पुग्छ । अहिले सञ्चालन गरिएको ‘खुला दिसामुक्त’ अभियान यस्तै एउटा कालो अभियान भएको छ । यसले वञ्चितमा परेको समुदायको अपमान गरेको छ । दाताको अह्रन–खटनमा चलाइएको यो अभियान भुइँ सतहको यथार्थभन्दा निकै टाढा छ ।


एउटा राम्रो मनसायका साथ राष्ट्रिय रूपमा सञ्चालन गरिएको अभियान भुइँ सतहको यथार्थसँंग समिप हुन नसक्दा अनेक समस्या खडा भएका छन् । खुला दिसामुक्त अभियानलाई सार्थक पार्न अहिले जारी अपमानजनक शैली बदल्नुपर्छ । बहुसंख्यक मुसहर भूमिहीन छन् । उनीहरू अरु कसैको निजी वा सार्वजनिक जग्गा ओगटेर बसेका छन् ।


कतिपयसंँग घरको नाममा एककोठे फुसको छाप्रो छ । मुसहर मधेसी दलितमध्ये असाध्यै वञ्चितीमा परेको जाति हो । जोसँंग एउटा छाप्रोले ओगटेको जमिन छ, तिनीहरूलाई त्यहीभित्र चर्पी बनाऊ भन्दा थपिने मानसिक तनाव र स्वास्थ्य सम्बन्धी समस्याको ध्यान दिएको पाइएन । यस सम्बन्धमा प्रादेशिक सरकार र स्थानीय सरकारले पनि हेक्का राखेन ।


एक वर्ष पहिला मैले तराई मधेसका दलितका लागि खुला दिसामुक्त अभियान अन्याय बनेर आएको उल्लेख गरेका थिएँ । जनजरुरत र जनमानसलाई नबुझेर अभियान चलाइँदा विगतमा पनि विसंगति खडा गरेकै हो । बहुतहको निर्वाचित संरचना खडा भइसके पश्चात पनि यो विषय ओझेलमा परिराख्नु दुर्भाग्य हो । बितेको एक वर्षमा प्रतिनिधित्व गर्न पुगेका स्थानीय वा

प्रादेशिक प्रतिनिधिले पनि यसबारे कुरा उठाएनन् । घरदैलोको सरकार भनेकै स्थानीय आवश्यकता र उपादेयतालाई लिएर काम गर्ने हो ।


प्रतिनिधिमूलक संस्थाहरूले खुला दिसामुक्त अभियानसंँग जोडिएर मुख्यत: पाँचवटा कुरामा ध्यान दिनुपर्छ । पहिलो, गाउँघरको जनसंख्या चौगुना बढेको छ । त्यही अनुसार मलमूत्रको मात्रा थपिएको छ । तर त्यसलाई व्यवस्थापन गर्ने तरिका बदलिएन । दोस्रो, कति जनासँंग शौचालय छैन भनेर लेखाजोखा गर्नुपूर्व कति जनासँंग आफ्नो घडेरी छैन, हेर्नुपर्‍यो । तेस्रो, अहिले जुन मोडलको चर्पी सिफारिस गरिएको छ, त्यसमा बढी पानी चाहिन्छ ।


मुसहरको मूलप्रवाही– करणका लागि पाँचवटा खुड्किला उक्लिनुपर्छ– सुरक्षित बसोबास, भूमिमाथि अधिकार, चर्को ब्याजबाट उन्मुक्ति, रैथाने सीप संरक्षण र सरकारी सेवामा सहज पहुँच ।


तराईकै विभिन्न क्षेत्रमा पानीको कमीले सामुदायिक जनजीवनमा बदलाव आउँदै गरेको छ । यस्तोमा एउटा समस्याको खोजीमा अर्को समस्याको विजारोपण हुँदैछ । चौथो, दलित बस्तीहरूमा सामुदायिक चर्पी व्यवस्था गर्ने कि ? यसले कम जग्गामा गुजमुज्जिएर बसेको बस्तीका लागि यो पायक प्रबन्ध हुनसक्छ । यसको निर्माण सरकारले गरिदिनुपर्छ ।


पाँचौं, गाईवस्तुको घट्दो संख्यासंँगै जैविक खेती कठिन हुँदै गएको छ । यस अवस्थामा मानव दिसा–पिसाबलाई मलखादका रूपमा कसरी उपयोग गर्ने ? त्यसको वैज्ञानिक व्यवस्थापनसँंगै आर्थिक लाभबारे पनि सोच्ने कि ? आखिर पहिला पनि मधेसी समाजमा ‘टट्टीपर मिट्टी’ अर्थात त्याग गरिएको दिसा–पिसाबमाथि माटो हाल्ने चलन थियो । यसले मलखादको काम पनि गथ्र्यो । यसबाट कृषि लाभ पुर्‍याउने बुझाइ थियो । पारम्परिक ज्ञानलाई अहिलेको व्यवस्थापनसँंग जोड्न नसक्दाको रित्तोपन अहिले देखापरेको छ ।


माटो दिवस

मुसहरहरू वर्षेनि माघ महिनामा माटो दिवस मनाएर आफ्नो जातीय एकता प्रकट गर्छन् । यो प्रयासले विस्तारै एउटा संगठित प्रतिरोधी स्वरको स्वरुप ग्रहण गर्दैछ । माटो दिवस मनाउनुका पछाडि उनीहरूको भूमिसंँगको सम्बन्ध र सरोकार प्रकट गर्नु हो ।


मुसहरहरूमा विस्तारै फैलिँदै गएको प्रतिरोधी मनोविज्ञानप्रति समाजको ठूलो हिस्सा अनभिज्ञ छन् । मुसहरहरूप्रति सरोकार तिनकै समुदायको विषयमात्र होइन, नत दलित आन्दोलनमा रुचि राख्नेहरूका लागि हो । यो भुइँ सतहमा लोकतन्त्र पुर्‍याउने आकांक्षा राख्ने सबैको लागि हो ।


मुसहरहरूको खराब सामाजिक–आर्थिक दशाप्रति गोहीको आँसु बगाउने एउटा वर्ग छ, जो उसलाई फगत ‘भोट बैंक’का रूपमा हेर्छ । तर पछिल्ला चुनावहरूले देखाएको तथ्य के हो भने मुसहरहरूको ठूलो हिस्साको श्रम र सीपको शोषण भएजस्तै तिनको मताधिकारमाथि नवजमिनदारले कब्जा जमाउने गरेका छन् । आजीविका र अधिकार दुइटै कसैको बन्धकीमा अहिले पनि छ । हो, यिनै कुरालाई सामाजिक तवरमा प्रकट गर्न ‘माटो दिवस’ निमित्त पर्व भएको छ ।


यो समुदाय आफ्नो नियति आफ्नो हातमा लिने र आफ्नो भविष्य स्वयं लेख्ने तत्परताको जागरण कालका रूपमा विकसित गर्न आन्तरिक संघर्षमा छ । राज्यसँंगको संघर्ष त छँदैछ, स्वयं समाज पनि आफैमा राज्यभन्दा कम विभेदकारी छैन, यिनीहरूका लागि । मिथहरू, कल्पित स्वर्ग वा सामाजिक समता प्राप्तिको अवस्थाबाट अलग्याइएका बञ्चित समुदाय आफ्नो आत्मसम्मानका साथ उठ्न जुर्मुराउँदैछन्, प्रतिक्रिया दिँदैछन्, मिथहरूलाई भत्काउँदैछन् र आफ्नो सामाजिक, धार्मिक, आर्थिक र राजनीतिक अधिकारको आयतन फराकिलो गर्न खोज्दैछन् ।


त्यतिखेर आफ्नै बारेमा जान्न र बताउन त्यतिकै खाँचो छ । इतिहाससँंगको परिचयले वर्तमानको समीक्षा र भविष्यको रेखांकन गर्न तागत प्राप्त हुन्छ । राजनीतिक रूपमा यसले सम्वेदनशील र विस्फोटक अवस्थाका साथै आर्थिक रूपमा पनि एउटा शक्तिशाली कम्पन निर्माण गर्न सक्छ ।


मुसहरको मूलप्रवाहीकरण

मुसहरहरूको प्राय: बसोबास प्रदेश २ भित्रै छ । उनीहरूको सामाजिक, शैक्षणिक, आर्थिक, पोषणीय, राजनीतिक र धार्मिक स्थितिको अध्ययन स्थानीय तहसँंगको समन्वयमा प्रदेश २ को सरकारले गर्नुपर्छ । मुसहर बस्तीको अवस्थितिले पनि तिनको सवाल र सरोकारलाई परिभाषित गर्छ ।


मुख्य गाउँभन्दा बाहिर अवस्थित मुसहर बस्ती, सवर्णहरूको बीचको मुसहर बस्ती, मधेसकै अन्य जातिहरूसंँगको बसोबास वा पहाडी समुदायसंँगको बस्ती बीचको भिन्नता र स्वीकार्यता पनि अध्ययनको विषय बनाइनुपर्छ । स्थानीय सरकारले गर्नैपर्ने र गर्नैहुने काममध्ये यो प्राथमिकतामा पर्नुपर्छ ।


मुसहरको मूलप्रवाहीकरणका लागि कमसेकम पाँचवटा खुड्किला तत्काल उक्लिनुपर्छ । पहिलो, सुरक्षित बसोबासको व्यवस्था, दोस्रो, भूमिमाथिको अधिकार, तेस्रो, चर्को ब्याजको चक्रव्यूहमा गिरहतहरूद्वारा पिल्सिएको परिस्थितिबाट उन्मुक्ति, चौथो, रैथाने सीपको संरक्षण र पाँचौं, सरकारी सेवामा सहज पहुँच । यी खुड्किलामा क्रमश: उक्लिन सरकारले नसघाएसम्म यो समुदायको सशक्तीकरण हुँदैन । मुसहरहरूले सरकार कहाँ हो भनेर जानेकै छैनन् ? प्रादेशिक र स्थानीय सरकारलाई एकफेर फेरि ऐना नदेखाई नहुने भइसक्यो ।


प्रकाशित : माघ १७, २०७५ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्

बच्चाले घरमै बढी सिक्छन् 

बिना थिङ

काठमाडौँ — सिकाइ अनन्त छ । सिकाइबाटै व्यक्ति (बालबालिका समेत) ले आफूमा निहित ज्ञान, सीप, व्यवहार, मूल्य, क्षमतामा निखार ल्याउँछ । यसले मानिसमा घर, परिवार र समाजमा जस्तोसुकै परिस्थितिमा पनि अन्तरघुलन वा समायोजन गर्नसक्ने क्षमता अभिवृद्धि गराउँछ ।

जसरी एउटै गह्रामा उम्रिएको बालीमा एकरुपता, एकरसता भेटिँदैन, त्यसरी नै एउटै उमेर समूहका सबै बालबालिकाका स्वभाव एउटै र उस्तै हुँदैन । उनीहरूको पारिवारिक वातावरण, सामाजिक परिवेश, वंशाणुगत गुण जस्ताको आधारमा पनि सिक्ने क्षमता निर्भर रहन्छ । कोही छिटै सिक्छन्, कोही विस्तारै ।

सिकाइ प्रक्रिया गर्भावस्थादेखि आरम्भ हुन्छ भनी वैज्ञानिकहरूले प्रमाणित गरिसकेका छन् । यसैलाई आधार मानेर हेर्दा बच्चाको मानसिक र शारीरिक विकासमा उसको आमाको स्वास्थ्य, आचरण र परिवेशले महत्त्वपूर्ण भूमिका खेल्छ । बालबालिका जन्मेको ५ वर्षभित्रमा उसको ९० प्रतिशत बौद्धिक क्षमता विकास भइसकेको हुन्छ । ८ वर्षको उमेरसम्ममा मानसिक विकास ८० प्रतिशत भइसक्छ । सामान्यतया यो केटाकेटीले आमा, बाबु तथा घरपरिवारसँग अत्यधिक समय बिताउने उमेर हो । यसैकारण पनि बालबालिकाको पहिलो पाठशाला घर हो भनिन्छ ।

बालबालिकाले आफ्नाले बोलेको, गरेको सुनेर–देखेर शब्द उच्चारणदेखि बानीव्यवहार निर्माण गर्दै जान्छन् । प्रत्यक्ष ज्ञानेन्द्रियहरूबाट प्राप्त अनुभव बाहेकको अस्तित्वलाई स्वीकार्दैनन् । यतिखेर सिकेको कुरा बालकको हृदयमा गढेर बसेको हुन्छ । बालबालिकाको सिकाइ प्रक्रियामा जति विद्यालय, शिक्षकले जिम्मेवारी बहन गर्नुपर्छ, त्योभन्दा बढ्ता अभिभावकको काँधमा त्यो जिम्मा रहन्छ ।

सिकाउने कामको मुख्य जिम्मेवारी विद्यालयले लिनुपर्छ भन्ने आम बुझाइ छ । त्यहाँ लगेर बालबालिका हुलिदिएपछि सिकिहाल्छ भन्ने सोच बलियो छ । हाम्रो बुझाइको गल्ती यसैमा छ । विद्यालय एउटा त्यस्तो संस्था हो, जहाँ बालकमा निहित क्षमता वृद्धि अथवा परिवर्तन गर्न आवश्यक परिवेश प्रदान गरिन्छ । बालबालिकाको उमेर, रुचि, क्षमता अनुरुप सिकाइको परिवेश उपलब्ध गराइन्छ । उनीहरूको आवश्यकता र क्षमता अनुरुप रचनात्मक वातावरण विद्यालयले दिनुपर्छ । सिक्ने बालबालिकाले नै हो । शिक्षकले सहजकर्ताको भूमिका निर्वाह गर्छ । यो आलेखमा अभिभावकको उत्तरदायित्वबारे मात्र चर्चा गर्ने प्रयास गरिएको छ ।

बालबालिकाले विद्यालयमा भन्दा बढी समय घर, परिवार, समाजमा बिताइरहेका हुन्छन् । उनीहरूको धार्मिक, सांस्कृतिक, नैतिक आचरणमा यही समुदायको प्रभाव परिरहेको हुन्छ ।

अभिभावकले आफ्ना बालबालिकालाई कुन वातावरणमा घुलमिल हुनदिने, कुनमा नदिने, बालबालिकाको सामुन्ने कस्तो क्रियाकलापलाई प्रश्रय दिने कस्तोलाई नदिने भन्ने हेक्का राख्नुपर्छ । बालबालिकाका अघिल्तिर प्रयोग गर्ने शब्दमा समेत अभिभावकले ध्यान दिनु जरुरी हुन्छ । हामी चाहन्छौं, बालबालिका आदर्शवान बनुन्, असल बनुन् । तर हामी नै उनीहरूसामु धूमपान, मद्यपान सेवन गरिरहेका हुन्छौं ! उनीहरूकै सामु झुट बोलिरहेका हुन्छौं । झैझगडा लगायतका गलत गतिविधि गरिरहेका हुन्छौं । अब स्वाभाविक प्रश्न उठ्छ, बालबालिकाले के सिक्छन् ?

बालबालिका स्वाभावैले जिज्ञासु, चञ्चल र अत्यधिक क्रियाशील रहन्छन् । बालबालिका आफ्ना कुतूहलता अभिभावकसँग पोख्छन् । अभिभावकले उनीहरूले सोधेको प्रश्नलाई भिँmजोको रूपमा लिने गरेको देखिन्छ ।

हामी चाहन्छौं, ती सबै कुतूहलता विद्यालयले शान्त पार्नुपर्छ ।

बालबालिका यति क्रियाशील हुन्छन् कि तिनीहरूसँग फाल्तु समय हुँदैन । केही न केही गरिरहेकै हुन्छन् । विद्यालय समय बाहिर (विद्यालयमा त अनुशासनको नाममा बाँधिएका हुन्छन्) उनीहरू अत्यधिक सक्रिय हुन्छन् । तर अभिभावकका आँखामा तिनको गतिविधि खेलमात्रै हुन्छ । यहाँनेर अभिभावकले बुझ्नुपर्छ, उनीहरू आफ्ना अवयवको सक्रियतामा धेरै कुरा सिकिरहेका हुन्छन् ।

अभिभावकले बालबालिका कस्तो गतिविधिमा संलग्न छन् भनेर समय–समयमा संवाद गरेर बुझ्ने प्रयास गर्नुपर्छ, नकि झपारेर उनीहरूको क्रियाकलापमा दक्खल पुर्‍याउने । बालबालिका समय अनुसार प्रविधिप्रेमी बनिसकेका छन् । उनीहरूलाई त्यसबाट विमुख गराउने सोच्नुभन्दा त्यसको सकारात्मक प्रयोगमा प्रोत्साहन दिनुपर्छ ।

एउटा घटना यहाँ जोडिहालुँ । यो शैक्षिक सत्रको हिउँदे बिदामा कक्षा ६ मा अध्ययनरत मेरो छोरोको गृहकार्यको सूची अलि लामै थियो । विदाको दिन पनि उसको हरेक बिहान गृहकार्य ‘आतङ्क’बाट सुरु हुन्थ्यो । गृहकार्यमा सरस्वती पूजाको महत्त्वबारे निबन्ध पनि समेटिएको रहेछ । यसबारे उसले मलाई कुनै बेला सोधेको थियो । म व्यस्त थिएँ । सायद बताउन भ्याइन ।

एक दिन ऊ मोबाइल चलाइरहेको थियो । गृहकार्य नगरी मोबाइल खेलाएकामा मलाई एकदम रिस उठ्यो । मैले निकै ठूलो आवाजमा उसलाई गृहकार्य नगरेको भनेर झपारेँ । नजिकै गएर कान उखेल्न मन लाग्यो । ऊ त मोबाइलमा सरस्वती पूजाको महत्त्वबारे गुगल सर्च गरेर पढिरहेको रहेछ । सिकाइको यो नवीन पाटो अर्थात् प्रविधिमैत्री सिकाइलाई उसले राम्रोसँग लिएको देखेर म खुसी भएँ ।

व्यस्त जीवन बाँचिरहेका हामीबीच आत्मीयता, सम्बन्धको न्यानोपन विस्तारै कमजोर हुँदै जानथालेको छ । मानिस रुखो हुनथालेका छन् । मानिस बाँच्ने भनेको सम्बन्धहरूले पनि हो । यो अत्यन्तै व्यावहारिक सिकाइ र अनुभव पनि हो । यस्तो बेला विद्यालयले त्यो न्यानोपनको अनुभूति उपलब्ध गराउन सक्दैन ।

त्यसैले बालबालिकालाई समय अनुकूल पारिवारिक जमघट, सामाजिक गतिविधि (हाट–बजार, जात्रा, विवाह उत्सव, मृत्यु परम्परा) मा अभिभावकले संलग्न गराउनुपर्छ । यसबाट उनीहरूले सामाजिक उत्तरदायित्वका साथै नैतिकता सिक्न सक्छन् । यस्ता गतिविधि विद्यालयले चाहेर पनि गर्न–गराउन सक्दैनन् ।

अहिले प्रविधि, परिस्थितिले अभिभावक र बालबालिकाबीच नदेखिने खालको ‘पर्दा’ टाँगिदिएको छ । अभिभावकले आफ्नो जागिर, करिअर सम्हाल्ने धुनमा बालबालिकालाई पर्याप्त समय दिन सकिरहेका छैनन् । उनीहरूको आवश्यकता के छ ? स्नेह–प्रेममा खाडल कहाँ परिरहेको छ ?
बालबालिकाका लागि उपयुक्त परिवेश कसरी निर्माण गर्न सकिन्छ ? भन्नेबारे कतिपय अभिभावक बेपर्वाह छन् ।

यो पनि बालबालिकामा सिकाइप्रतिको उदासीनता उत्पन्न हुनुको एउटा प्रमुख कारण बनेको छ । बालबालिका खुसी नभएसम्म सिकाइका लागि तत्पर हुँदैनन् । जबर्जस्ती सिकाइएको ज्ञान, कला अर्थहीन हुन्छ । बालबालिकालाई पर्याप्त समय, प्रेम–स्नेह र उनीहरूको न्युनतम आवश्यकतालाई सम्बोधन गर्ने कार्यप्रति अभिभावक हरदम सचेत हुनुपर्छ ।

प्रकाशित : माघ १७, २०७५ ०८:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×