कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनुपम उपलब्धि

सम्पादकीय

काठमाडौँ — ‘ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल’ भनेको सायद यही हो जुन नेपाली क्रिकेट खेलाडीले प्रमाणित गर्दै आएका छन् । न देशमा क्रिकेटको सर्वोच्च संस्था छ न कुनै पूर्वाधार । न पर्याप्त लगानी, न कुनै संस्थागत प्रयास । न देशभित्र कुनै पनि प्रकारको आधिकारिक प्रतियोगिता । तैपनि नेपाली खेलाडीले एकपछि अर्को सफलता हात पारिरहेका छन् । मुलुकको नाम चम्काइरहेका छन् । नेपालीलाई खुसी बनाइरहेका छन् । जति भइरहेको छ, सबै खेलाडीकै मिहिनेतले । 

अनुपम उपलब्धि

खेलले खुसी दिए पनि क्रिकेटको सम्पूर्ण परिवेश ‘हाँस्नु न रुनु’ को स्थितिमा छ । नेपाल क्रिकेट संघ (क्यान) को विवाद भएको लामो समय भइसक्यो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले क्यानमाथि प्रतिबन्ध लगाएको पनि तीन वर्ष पुग्न लागिसक्यो । विवाद निकै जटिल छ । उत्तिकै जेलिएको छ । कहाँबाट सुरु भयो र कहाँ गएर टुंगिन्छ भन्ने सबैमा अन्योल छ । सरकार प्रत्यक्ष मध्यस्थकर्ता बन्ने अवस्था आएको कतिपयको अनुमान छ । खेलमा सरकारको प्रत्यक्ष हस्तक्षेप स्वीकार्य हुन्न । तर समस्या समाधानका लागि सरकारको न्यायोचित पहलकदमी वाञ्छित देखिइसक्यो ।


नेपाली क्रिकेटका अहिले मुख्य दुई पाटा छन्– मैदानभित्र र बाहिर । मैदान बाहिरको पाटो– क्यानमाथि निलम्बन । यो व्यवस्थापकीय पक्ष विवादमै रुमलिएको छ । मैदानभित्र भने खेलाडीले एकपछि अर्को उच्च प्रदर्शन दिइरहेका छन् । नेपालले यूएईसँगको एकदिवसीय शृंखला ऐतिहासिक रूपमा आफ्नो पक्षमा पार्‍यो । त्यससँगै नेपाल एकदिवसीय वरीयतामा आउन सफल भयो । गत वर्ष विश्व क्रिकेट लिग च्याम्पियनसिप, विश्व क्रिकेट लिग डिभिजन २ हुँदै विश्वकप छनोटबाट नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । नेपालजस्तो देशका लागि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त १६ राष्ट्रभित्र पर्नु आफैंमा अनुपम उपलब्धि थियो ।


सफलता हात पार्न जति कठिन छ, त्यसलाई जोगाइराख्न अझ मुस्किल । नेपाली क्रिकेटको अवस्था उसै भयावह छ । चुनौती नै चुनौतीका चाङ छन् । यी सबै क्यान निलम्बनमा आएर ठोक्किन्छन् । यस्तो अवस्थामा मुलुकको आधिकारिक निकाय नहुँदाको पीडा बेग्लै छ । आईसीसीको मातहतमा मात्र नेपाली क्रिकेट ‘चल्न’ पाएको छ । यूएई भ्रमणकै उदाहरण– तीन साताको तयारीमै प्रमुख प्रतियोगिता खेलिएको थियो । पछिल्लो तीन वर्ष यसरी नै चलिरहेको छ । धन्न खेलाडीको उत्कृष्ट प्रदर्शन र सफलताले विवादको पीडा केही छिनलाई भुलाइदियो ।


एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने पहिलो नेपाली खेलाडी बनेका कप्तान पारस खड्का यूएईको सफलतालाई सुरुआत मात्र मान्छन् । उनले आईसीसीलगायतलाई नेपालमै आफ्ना समर्थकमाझ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न पाउने व्यवस्था मिलाइदिन अनुरोध गरेका छन् । क्यान निलम्बनको अवस्थामा नेपाल आफैंले अन्तर्राष्ट्रिय खेल आयोजना गर्ने स्थिति छैन । त्यही कारण, नेपालले सबै ६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल विदेशी भूमिमा खेलेको छ ।


नेपाली क्रिकेटसँग जति पनि निकट छन्, उनीहरूले नै यी ६ खेल आयोजनाको व्यवस्था मिलाएका थिए । कति हतारमा थिए, कति मिलेका थिएनन् । नेपाललाई एकदिवसीय वरीयताभित्र पुर्‍याउन यो सबै जरुरी थियो । अन्यथा चार वर्षका लागि नेपालले पाएको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताको अर्थ नहुन सक्थ्यो । ५ वर्षअघि ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता पाउँदा संघ भएर पनि द्विपक्षीय शृंखला मिलाउन नसक्दा ‘जसरी आयो, त्यसरी नै गएको’ थियो ।

क्रिकेट नेपालका लागि गौरवशाली खेल हो । मैदानभित्र खेलिनुपर्ने खेल हो । तर विवाद र निलम्बनले मैदान बाहिरै बढी ‘खेलिएको’ छ । देशको गौरव बढाउने खेलको प्रगतिका लागि यसलाई विवादमुक्त र निलम्बनबाट फुकुवा गराउनै पर्छ । त्यसका लागि सरकारको उचित पहलकदमीको खाँचो छ । तर हस्तक्षेपको अस्त्र अपनाए, त्यसले झन् विवाद बढाउनेछ । निलम्बन झन् लम्ब्याउनेछ । सरकारले सुझबुझपूर्ण, समन्वयकारी र रचनात्मक भूमिका खेलेर क्रिकेट खेललाई मैदानभित्र सीमित गर्नुपर्छ ।

प्रकाशित : माघ १६, २०७५ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?