कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

शुक्रबारदेखि आन्दोलन गर्ने सहकारी पीडितको घोषणा

काठमाडौँ — आउँदो शुक्रबारदेखि मुलुकभरका सहकारी पीडितले तेस्रो चरणको आन्दोलन गर्ने भएका छन् । सरकारले यसअघि गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेको भन्दै पीडितहरुको संगठन सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले जेठ ११ गते (शुक्रबार) ११ बजेदेखि आन्दोलन सुरु गर्ने घोषणा गरेको हो ।

शुक्रबारदेखि आन्दोलन गर्ने सहकारी पीडितको घोषणा

पीडितको पैसा फिर्ता गर्ने सम्बन्धमा यसअघि भएका कुनै पनि सम्झौता कार्यान्वयन नगरेको कारण तेस्रो चरणको आन्दोलन गर्नुपरेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघलेका अध्यक्ष कुशलव केसीले बताए ।

‘यही जेठ ११ गते ११ बजे माइतीघर मण्डलाबाट हामी आन्दोलन सुरु गर्छौं । र्‍याली गर्छौं । र्‍यालीपछि कोणसभा गरेर हामी रिले अनशन सुरु गर्छौं,’ उनले भने, ‘सहकारी पीडितहरुको माग पूरा नभएसम्म अब आन्दोलन देशैभर सशक्त रुपमा अगाडि बढ्छ । नेपालगञ्ज, चितवन र धरानमा पनि आन्दोलन एकैपटक सुरु हुन्छ ।’ आन्दोलनका लागि सबै बचतकर्तालाई जेठ ११ गते ११ बजे माइतीघर मण्डलामा उपस्थित हुन पनि उनले आग्रह गरे ।

पत्रकार सम्मेलनमा अध्यक्ष केसीले सबै राजनीतिक दलहरुलाई सहकारीका बचतकर्ताको पक्षमा आवाज उठाइदिन र समस्या समाधानका लागि पहल गर्न उनले अनुरोध गरे । आफूहरुले तत्कालीन भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीसँग विभिन्न सम्झौता गरेपनि अहिलेसम्म ती सम्झौता तथा सहमति पालना नभएको जिकिर गरे । उनले हालका मन्त्री बलराम अधिकारीसँग पनि सम्झौता भएको बताए । तर, अहिलेका मन्त्रीले पनि बचतकर्ताको पक्षमा कुनै काम नगरेको कारण संघर्षका कार्यक्रम घोषणा गर्नु परेको उनको आरोप थियो ।

‘हामीले यसअघि भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, अहिलेका मन्त्री बलराम अधिकारीसँग सम्झौता गर्यौं । तर, कसैले पनि हाम्रो माग पूरा गरेनन् । हाम्रो माग पूरा भएकै छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यू हामीलाई न्याय चाहियो,’ उनले थपे ।

सहकारी पीडितहरुले न्याय नपाए आगामी ०८४ को निर्वाचन हुन नसक्ने उनको भनाइ छ । ‘तपाईँहरु मिसन ०८४ भन्नुस् । हामी मिसन ०८४ बहिस्कार गर्न अगाडि बढ्दैछौं । सहकारी पीडितको माग पूरा भएन भने ०८४ मा तपाईँहरुको लेभल पनि हाम्रो लेभलमा आउँछ । त्यतिखेर हामी देखाउँछौं जनताको तागत,’ उनले भने, ‘हामीहरुले घर–घरबाट तपाईँहरुलाई लखेट्छौं, सहकारी पीडितले न्याय पाएनन् भने ०८४ मा चुनाव हुँदैन ।’

साथै, अध्यक्ष केसीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई समाचार लेखेकै भरमा पक्राउ गरिएको हो भने आफूहरुलाई सहृय नहुने चेतावनी दिए । ‘सहकारी पीडितको आवाज उठाएकै भरमा पक्राउ गरिएको हो भने हामी घोर भर्त्सना गर्छौं । तर, कसैलाई गल्ती गरेको हो भने छुटकारा पाउन हुँदैन,’ उनी थप्छन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका उपाध्यक्ष पुरुषोतम कार्की, कोषाध्यक्ष देवकुमार श्रेष्ठ वरिष्ठ सल्लाहकार भीमकुमार श्रेष्ठलगायतले सरकारले सहकारी पीडितको पक्षमा काम गर्न नसकेको बताए । उनीहरुले अब सशक्त आन्दोलनमा होमिनुको विकल्प नरहेको बताए । सबै सहकारी पीडितलाई उक्त आन्दोलनमा होमिन उनीहरुले आग्रह गरे ।

प्रकाशित : जेष्ठ ९, २०८१ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?