२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

भारतमा चार राज्यको चुनाव : भाजपा थप सशक्त 

चार राज्यको चुनावी रुझानमा तीनमा भाजपा र एकमा कांग्रेस जित्दै 
भाजपाले आफ्नो सरकार रहेको मध्यप्रदेश जोगाएको मात्रै छैन, राजस्थान र छत्तिसगढमा पनि जित हासिल गर्दैछ 
दुई राज्य गुमाएर कांग्रेसले तेलंगानामा जित हात पार्दै 

नयाँ दिल्ली — चार राज्यमा भएको चुनावको मतगणनाको नतिजा अन्तिम चरणमा पुग्दा केन्द्रमा सत्तासीन भारतीय जनता पार्टी (भाजपा)ले हिन्दीभाषी क्षेत्रका प्रमुख तीन राज्यहरुमा बहुमतसहितको जित हासिल गर्दैछ । जारी मतगणना अनुसार मध्यप्रदेश, राजस्थान र छत्तिसगढमा भाजपाले बहुमत प्राप्त गर्दैछ ।मध्यप्रदेशमा आफ्नो सरकारलाई जोगाएको मात्रै छैन । त्यहाँ थप जित हात पारेको छ । 

भारतमा चार राज्यको चुनाव : भाजपा थप सशक्त 

त्यस्तै, राजस्थान र छत्तीसगढ राज्यमा पनि जित हात पारेको छ । ती दुवै राज्यमा कांग्रेसको सरकार थियो । नोभेम्बरमा चरणबद्ध रुपमा मध्यप्रदेश, राज्यस्थान, छत्तिसगढ, तेलंगाना र मिजोरम राज्यमा चुनाव भएको छ ।

मिजोरम बाहेकका चारवटा प्रदेशको मतगणना आइतबार एकैसाथ भएको हो । मतगणना भएका चारवटा राज्यमध्ये तीनवटामा भाजपा र दक्षिणी राज्य तेलंगानामा कांग्रेसले जित हासिल गर्दैछ । साढे ५ महिना पछि अर्को वर्ष २०२४ को मई महिनामा केन्द्रीय चुनाव हुँदैछ ।

त्यसअगाडि भएका राज्य तहका विधानसभाहरुको चुनावलाई केन्द्रीय चुनावको तस्बिरको रुपमा हेरिँदै आएको थियो । विपक्षी दल कांग्रेसले सरकार चलाईरहेको राजस्थान र छत्तीसगढमा पनि जित हासिल गरेको भाजपा यतिबेला उत्साहित देखिएको छ । सम्बन्धित प्रदेश र देशैभरका भाजपा पार्टी कार्यालयहरुमा कार्यकर्ताहरुले खुसी मनाएका छन् ।

कांग्रेस नेता राहुल गान्धीले गतवर्ष गरेको ‘भारत जोडो यात्रा’ वा उनका अन्य विभिन्न प्रयासहरुको जादू हिन्दी भाषी प्रदेशमा देखिएन । यसअघि दक्षिणी राज्य कर्नाटकमा जित हात पारेको कांग्रेसले पुनः त्यही क्षेत्रको तेलंगानामा भने सफलता पाएको छ । त्यहाँ क्षेत्रीय पार्टी बीआरएसको सरकार थियो । मिजोरमको मतगणना सोमबार हुने छ । त्यहाँ ‘हंग पार्लियामेन्ट’ हुनसक्ने अनुमान गरिएको छ । त्यहाँ अहिले नेसनल फ्रन्ट पार्टीको सरकार छ ।

चुनाव भएका प्रदेशहरु मध्ये सबैभन्दा बढी विधानसभा क्षेत्र रहेको राज्य मध्यप्रदेश हो । २ सय ३० सिटको विधानसभामा भाजपाले १ सय ६६ सिट जित्दै छ । १७ सिटमा जितिसकेको भाजपा १ सय ४९ सिटमा अगाडि छ । जारी गणनाअनुसार अघिल्लो चुनावभन्दा ३९ सिट बढी भाजपाले जित्दै छ । कांग्रेस जम्मा ६३ सिट जित्दैछ । कांग्रेसले अघिल्लो चुनावभन्दा ३३ सिट गुमाउने स्थितिमा देखिएको छ ।

कांग्रेसले राजस्थान गुमाएको छ । १ सय ९९ सदस्यीय विधानसभामा बहुमतका लागि एक सय सिट आवश्यक पर्छ । जारी गणनाअनुसार भाजपाले १ सय १५ सिटमा जित हात पार्दैछ । त्यहाँ कांग्रेसको सरकार थियो । तर, पछिल्लो पाँच वर्ष पार्टी भित्रको अन्तरकलहले कांग्रेस समस्यामा थियो । कांग्रेसले विगतकोभन्दा ३९ सिट गुमाएर ६९ सिट जित्दैछ । राजस्थानमा प्रत्येक चुनावमा सत्तासिन पार्टीलाई विपक्षमा पुर्‍याउने परम्परालाई यसवर्षपनि मतदाताले कायम राखेका छन् ।

त्यस्तै, छत्तीसगढ पनि कांग्रेसले गुमाएको छ । ९० सिटको विधानसभामा सरकार बनाउन ४६ सिट आवश्यक पर्छ । जारी गणनाअनुसार भाजपा ५६ सिटमा अगाडि छ । त्यस्तै, कांग्रेसले विगतको भन्दा ३७ सिट गुमाउने देखिदैंछ । जम्मा ३४ सिटमा कांग्रेस अगाडि छ ।

१ सय १९ विधासनभा क्षेत्र रहेको तेलंगानामा भने त्यहाँको सत्तारुढ पार्टी बीआरएसलाई कांग्रेसले पराजित गरेको छ । बहुमतका लागि ६० सिट आवश्यक रहेकोमा कांग्रेस बहुमतको नजिक देखिन्छ । जारी गणनाअनुसार कांग्रेस ६३ सिट जित्ने देखिदैंछ । बीआरएस पार्टी ४० सिटमा खुम्चिँदैछ । भाजपाले ९ सिट जित्ने सम्भावना छ ।

प्रकाशित : मंसिर १७, २०८० १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?