२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

प्रधानमन्त्रीले अराजकता फैलाउँदै छन् : कोइराला

देवनारायण साह

मोरङ — प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा अराजकता फैलाइरहेको आरोप लगाएका छन् ।

प्रधानमन्त्रीले अराजकता फैलाउँदै छन् : कोइराला

विराटनगरका पत्रकार शंकर खरेलले लेखेको लघुकथा ´ॐ तृप्यन्ताम` पुस्तक विमोचन कार्यक्रममा शनिबार कोइरालाले दाहाल आफैं प्रधानमन्त्री भएर सडकमा लाखौं मान्छे उतार्नेलगायतका अभिव्यक्ति दिएर मुलुकमा अराजकता फैलाउन खोजेको बताएका हुन् ।

´मुलुकको अर्थतन्त्र धरासायी बन्दै गएको छ तर प्रधानमन्त्रीले आफैं सडक आन्दोलनमा उत्रने अभिव्यक्ति दिएर उद्योगी व्यवसायीलाई आतंकित बनाइरहेका छन्,` कोइरालाले भने, ´मुलुकभरि रहेका ६ लाख ५० हजार सटरमध्ये ३५ प्रतिशत खाली भएर उद्योगी व्यवसायी पलायन भइसकेको अवस्थामा आन्दोलनको त्रास देखाएर उद्योगी व्यवसायीलाई झन् आतंकित बनाइराखेका छन् ।`

उनले मुलुकमा भ्रष्टाचार, दण्डहिनता नियन्त्रण र सुशासन कायम गर्नबाट राज्य चुकेका कारण आमसर्वसाधारण निरास बनेको बताए । ´मुलुकमा बहुविश्वविद्यालय र प्रादेशिक विश्वविद्यालय खोल्ने लहर छ तर कलेजहरू रित्तिँदै गएका छन्,` उनले भने, ´विद्यार्थीहरू लाम लागेर विदेशी पलायन भइरहेका छन् । त्यसैले विद्यार्थी विदेश पलायन हुने कारण खोजेर निकास दिनु आवश्यक छ ।`

सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा रहेकोलाई चुनोति दिँदै अंग्रेजी माध्यमको नाममा सामुदायिक विद्यालयहरूले अभिभावकसँग अवैधरूपमा रकम असुली गरिरहेको प्रति कोइरालाले आपत्ति जनाए । माध्यमिक तहको शिक्षा निःशुल्क र गुणस्तरीय बनाउन सकेमात्रै देश उँभो लाग्ने उनको भनाइ छ ।

वैदेशिक रोजगारीका लागि युवा पलायनले मुलुकभरि वृद्धवृद्धा बेसहारा भएर पारिवारिक विचलनका साथै विकृति बढ्दै गएको भन्दै कोइरालाले चिन्ता व्यक्त गरे ।

´युवा विलेश पलायनले देशमा विकृति बढिरहे पनि राज्यले रेमिट्यान्स भित्रिरहेकोमा गर्व गरिरहेको छ,` उनले भने, ´रेमिट्यान्सले सधैं देश चल्दैन । यो एउटा पार्टमात्रै हो, देश चलाउन उत्पादन बढाउनु आवश्यक छ । र, त्यसका लागि युवा शक्ति अपरिहार्य छ ।`

मुलुकमा देखिएका यावत समस्याको समाधान राजनीतिक नेतृत्वले दिनुपर्ने कोइरालाको भनाइ थियो ।

प्रकाशित : मंसिर २, २०८० १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?