२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६१

बिनासूचना भारतीय प्रधानमन्त्रीको भ्रमण नेपालमाथिको नाङ्गो र ठाडो हस्तक्षेप : महामन्त्री थापा

हरिराम उप्रेती

गोरखा — कांग्रेस महामन्त्री गगन थापाले बिनासूचना नेपाली भूमिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण नेपालमाथिको नाङ्गो र ठाडो हस्तक्षेप भएको बताएका छन् । शुक्रबार कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले सबै राजनीतिक दल एक नभई यस्ताखाले अतिक्रमणलाई परास्त गर्न नसक्ने बताए । 

बिनासूचना भारतीय प्रधानमन्त्रीको भ्रमण नेपालमाथिको नाङ्गो र ठाडो हस्तक्षेप : महामन्त्री थापा

‘दुई दिनअघि समाचार पढ्यौँ, नेपालको भूभागमा नेपाललाई सूचना नदिइकन भारतीय प्रधानमन्त्रीको भ्रमण भयो भनेर,’ उनले भने,‘यो नेपालमाथिको नाङ्गो र ठाडो हस्तक्षेप हो । नेपालले यसको सशक्त प्रतिरोध र प्रतिवाद गर्छ, हामी के ठान्छौँ भने भारतीय प्रधानमन्त्रीले गर्ने यो अतिक्रमण वा कुनै बेला चिनियाँ प्रम गर्ने वा कसैले गर्ने कुराको सन्दर्भमा कांग्रेस मात्र होइन, एमाले, माओवादी, राप्रपा, पुरानो पार्टी नयाँ पार्टी सबैको साझा दृष्टिकोण हुनुपर्छ भन्ने विश्वास राख्छौँ ।’

नेपालले सबै देशसँग समान ढंगले अन्तर्राष्ट्रिय सम्बन्ध राख्न चाहेको महामन्त्री थापाले बताए । ‘अन्तर्राष्ट्रिय सम्बन्धलाई घरभित्रको राजनीतिले प्रभाव नपारोस् भन्न चाहन्छौँ,’ उनले भने,‘यसको नेतृत्व कसले गर्ने हो, बीपी कोइरालाको पार्टी कांग्रेसले गर्ने हो नि । त्यो ठाउँमा हामीले पुर्‍याउने हो ।’

त्यस्तै थापाले गठबन्धनको नाममा देश ४/५ जना नेताको प्राइभेट क्लबजस्तो बनेको आरोपसमेत लगाए । ‘म कांग्रेसको महामन्त्री छु, बेला–बेला के सुन्छु भने गठबन्दन दलको बैठक बस्यो,’ उनले भने, ‘कहाँ बस्यो ? म पत्रकार साथीहरूलाई पनि आग्रह गर्न चाहन्छु, गठबन्धन दलको बैठक होइन, गठबन्धन दलको नेताको बैठक बस्यो भन्न मिल्छ ।’

महामन्त्री थापले केही दिनअघि प्रधानमन्त्री पुष्पकमदल दाहालसँगको भेटमा सरकारका विषयमा कुरा राखेको बताए । ‘सरकारले यो गर्नुपर्छ, त्यो गर्नुपर्छ भन्ने थुप्रै कुरा छन्, यो हाम्रो वैरी सरकार होइन, मेरो पार्टी पनि सम्मिलित सरकार हो, मैले पनि मत हालेको सरकार हो,’ उनले भने,‘कहाँ छ छलफल ? दुई–तीन जना नेता अँध्यारो कोठामा बसेर कुराकानी हुने गरेको छ ।’ सरकारले गरेको सबै राम्रा काम आफूले गरेको र नभएका कामलाई कांग्रेसलाई दोष लगाउने परिपाटी रहेको उनले बताए ।

प्रकाशित : आश्विन २६, २०८० १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?