कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

भारतद्वारा अतिक्रमित नेपाली भूमिमा मोदीको भ्रमणबारे सांसदहरूको आपत्ति

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतद्वारा अतिक्रमित नेपाली भूमिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमण गरेकोप्रति सांसदहरूले आपत्ति जनाएका छन् । भारतीय प्रधानमन्त्री मोदीले नेपालको भूमिमा जानकारीबिना आएर सामान्य शिष्टाचार, कूटनीतिक मर्यादा उल्लंघन गरेको भन्दै सांसदहरूले प्रश्न उठाएका हुन् । 

भारतद्वारा अतिक्रमित नेपाली भूमिमा मोदीको भ्रमणबारे सांसदहरूको आपत्ति

प्रतिनिधिसभाको बिहीबारको बैठकपछि सांसदहरूले संघीय संसद् भवन नयाँ बानेश्वरमा भारतीय प्रधानमन्त्रीले नेपाली भूमिमा अनधिकृत रूपमा प्रवेश गरेको भन्दै आपत्ति जनाएका हुन् । प्रमुख प्रतिपक्ष एमालेका सांसद ठाकुर गैरेले भारतीय प्रधानमन्त्री मोदीले मर्यादालाई उल्लंघन गरेर नेपाली भूमि कालापानी क्षेत्रको भ्रमण गरेको भन्दै आपत्ति जनाए । मोदीले सामान्य शिष्टाचार र कूटनीतिक मर्यादाविपरीत कालापानी क्षेत्रको भ्रमण गरेको उनको भनाइ थियो ।

‘भारतका प्रधानमन्त्रीले एउटा सामान्य शिष्टाचार, सामान्य कूटनीतिक मर्यादा र एउटा स्वतन्त्र, सार्वभौम सत्ता सम्पन्न भौगोलिक रुपले अखण्ड नेपाल र त्यससँगको भारत र नेपाल बीचको सम्बन्ध र त्यसको सामान्य मर्यादालाई समेत उल्लंघन गरेर भ्रमण गर्नुभएको छ । यो कुनै पनि हिसाबले नेपालले यसको पक्षमा अथवा यो कुरा सही हो भन्न सक्दैन,' गैरेले भने, 'यो अत्यन्त गलत काम भएको छ । कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको भूमि हो । हामी कालापानीबाट भारतीय सेना फिर्ता हुनुपर्छ भनिरहेका छौँ । भारतको प्रधानमन्त्रीले जसरी नेपाली भूमिमा भ्रमण गर्नुभयो त्यो नेपाल र भारतबीचको सम्बन्धको विपरीत छ । सामान्य कूटनीतिक मर्यादाको विरुद्ध छ ।’

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका सांसद माधव सापकोटाले नेपालले कूटनीतिक सक्रियता र भूमिका बढाउन जरुरी रहेको बताए । भारतीय प्रधानमन्त्री मोदी नेपालको कालापानी क्षेत्रमा आएको कुरालाई उल्लेख गर्दै उनले छिमेकी देशलाई विश्वासमा लिँदै कूटनीतिक सक्रियता बढाउनु जरुरी देखिएको बताएका हुन् । 'कूटनीतिक हिसाबले हाम्रो सक्रियता र भूमिका जिम्मेवार र बुद्धिमतापूर्ण ढंगले कूटनीतिक सक्रियता जरुरी छ भन्नेकुरा यी तथ्यले देखाउँछन् । मलाई लाग्छ सरकारले पनि सुन्यो होला । म यतिमात्र भन्न चाहान्छु कि नेपालका तर्फबाट छिमेकीहरूलाई विश्वासमा लिदैँ हाम्रो कूटनीतिक सक्रियता बढाउनु जरुरी छ,’ उनले भने ।

कांग्रेस सांसदसमेत रहेका राज्यव्यवस्था समिति सभापति रामहरि खतिवडाले भारतीय प्रधानमन्त्री मोदीको नेपाली भूमिमा भ्रमण औपचारिक भ्रमण नभएकाले चासो लिनुपर्ने आवश्यकता नभएको बताए । उनले राजकीय भ्रमणका रूपमा नेपाली भूमिमा आएको भए सम्मान र सत्कार गर्नुपर्ने भन्दै मोदीको व्यक्तिगत भ्रमणका बारेमा जानकारी गराउनु नगराउनु उनीहरूकै कुरा भएको बताए । ‘उहाँ राज्यलाई थाहा दिएर आधिकारिक रुपमा प्रवेश गर्नुभएको होइन । त्यसैले राज्य व्यवस्था समितिले त्यो बारेमा धेरै चासो लिएन । उहाँ सरकारको तर्फबाट राजकीय भ्रमणको रुपमा आउनु भएको भए राज्यले नै सत्कार र सम्मान गर्नुपर्थ्यो,' उनले भने, 'व्यक्तिगत भ्रमणमा आएको कुरा हो यो । व्यक्तिगत भ्रमणमा पनि सामान्य परराष्ट्र मन्त्रालयलाई जानकारी छ कि छैन, राज्यका कुन–कुन संयन्त्रलाई जानकारी दिनुभयो उहाँहरूको कुरा हो । यसमा राज्यको तर्फबाट चासो लिएको छैन ।’

राप्रपाका सांसद दीपकबहादुर सिंहले छिमेकी देशका प्रधानमन्त्री बिना जानकारी नेपाली भूमिमा आउँदा पनि सरकार टुलुटुलु हेरेर बसिरहेको भन्दै सरकारप्रति आपत्ति जनाए । ‘दुर्भाग्य हामी नेपालीहरुको हो । यसरी छिमेकी राष्ट्रका प्रधानमन्त्री नेपालको भूमिमा जानकारी नै नदिएर आउँदाखेरी पनि सरकार लाचार भइकन टुलुटुलु हेरिराखेको छ,' उनले भने, 'यो सरकारबाट हामीले के आशा राख्ने ?'

मोदीले नेपाली भूमिमा प्रवेश गरेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले सरकारको जवाफ माग गरेका थिए ।

प्रकाशित : आश्विन २५, २०८० १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?